निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को साधारण सभा रोक्न पत्र काटेको छ । बुधबारका लागि तय गरिएको ४९औँ वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक्न आदेश दिएको हो । आकाश गोल्छा पक्षको उजुरीपछि प्रशासनले मंगलबार नाडालाई पत्र लेख्दै महासंघमा लैजाने प्रस्ताव कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको हाे । साथै नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरेर मात्र साधारण सभा सम्पन्न गर्न प्रशासनले निर्देशन दिएकाे छ । ‘साधारण सभाको लागि प्रस्ताव गरिएका एजेण्डामा नयाँ कार्यसमितिको चयन सम्बन्धी कुनै प्रस्ताव नराखी सूचना प्रकाशित भएकोले सो साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन कार्य तालिका प्रकाशन गरी साधारण सभा सम्पन्न गर्न हुन र हाल अस्तित्वमा रहेको नाडालाई नै महासंघमा लैजाने भनि गरिएको प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धिt कार्य नगर्नु र नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ,’ पत्रमा भनएिको छ । प्रशासनको पत्रले नाडालाई महासंघ बनाउने विवाद पनि समाधान भएको आकाश गोल्छाले बताए । महासंघ बनाउने नाममा संस्था कब्जा गर्ने र आफ्ना विरोधीहरूलाई पाखा लगाउने अध्यक्ष करण चौधरीको षड्यन्त्र अन्त्य भएको गोल्छाले बताए । गोल्छाका अनुसार नाडालाई महासंघमा लैजाने एजेण्डा नयाँ होइन, तर यसलाई अघि सार्ने समय र मनसाय भने शंकास्पद हो । गोल्छा भन्छन्, ‘ध्रुव थापा अध्यक्ष हुँदा नै वैश्विक संरचनामा जाने योजना थियो, तर विभिन्न कारणले भएन । करण चौधरीले कार्यकाल सम्हालेको डेढ वर्षसम्म यसबारे एउटा पनि बैठक गरेनन् । अटो शो सम्म पनि महासंघको चर्चा थिएन। तर जब कार्यकाल सकिन लाग्यो, अचानक यो एजेण्डा ल्याइयो ।’ अध्यक्ष चौधरीले महासंघको प्रस्ताव नाडाको उचाइका लागि नभई आफ्नो शक्ति टिकाउनका लागि ल्याएका गोल्छाको दाबी छ । ‘महासंघ बनाएपछि वर्तमान कार्यसमिति भंग गरी ३ जनाको तदर्थ समिति बनाउने र त्यसमा आफ्ना मान्छे मात्र राखेर अरू सबैलाई हटाउने उनको योजना छ। यो नाडा सुधार्ने प्रयास होइन, षड्यन्त्र हो,’ उनले भने । गोल्छाले नाडामा अहिले मौलाएको प्रवृत्तिलाई अराजकताको संज्ञा दिए । ‘हामी महासंघको विरोधी होइनौ, तर नाडा महासंघ बन्न सक्दैन, यो त महासंघको सदस्य मात्र बन्न सक्छ । यदि करण चौधरीलाई महासंघ बनाउनु नै थियो भने कार्यकालको सुरुमै वा असारभन्दा अघि विशेष साधारण सभा किन गरेनन् ? अहिले निर्वाचनबाट भाग्नका लागि यो प्रपञ्च रचिएको हो,’ गोल्छाले आक्रोश पोखे । उनले थपे, ‘अहिले जे हुँदैछ, त्यो विधान विपरीत छ। निर्वाचन नगर्ने र तदर्थ समितिमार्फत संस्था कब्जा गर्ने दाउपेच विरुद्ध हामी लडिरहन्छौँ ।’ विवाद र प्रशासनको पत्रका बाबजुद नाडा नेतृत्वले भने बुधबारको साधारण सभालाई निरन्तरता दिने संकेत गरेको छ । नाडाले विज्ञप्ति जारी गर्दै बाहिर आएका समाचारलाई निराधार हल्ला भनेको छ । तर, निर्वाचन तालिका बिना नै हुन लागेको यो साधारण सभाले नाडालाई झन् ठूलो कानुनी संकटमा धकेल्ने निश्चित छ । २०८२ पुस २० गते चुनिएको वर्तमान कार्यसमितिको म्याद पुस १९ गते सकिँदैछ । नियमत: यो साधारण सभाले नयाँ नेतृत्व छानिसक्नुपर्ने थियो । तर, नेतृत्वको इगो र सत्ता मोहका कारण अटोमोबाइल क्षेत्रको यो प्रतिष्ठित संस्था अहिले अनिर्णयको बन्दी बनेको छ । नाडाको विधानअनुसार हरेक दुई वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनुपर्छ । २०८० पुस २० गते चुनिएको वर्तमान कार्यसमितिको कार्यकाल आगामी पुस १९ गते सकिँदैछ । विधानतः साधारण सभा हुनु १५ दिनअघि नै निर्वाचन तालिका सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । तर अध्यक्ष चौधरीले निर्वाचनको एजेण्डालाई थाँती राखेर महासंघ बनाउने प्रस्तावलाई प्राथमिकता दिएपछि विवादले उग्र रूप लिएको हो ।
नगरकोट रिसोर्टले ल्याउँदै आईपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति
काठमाडौं । नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको छ । नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नेछ । जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुको लागि जारी गर्नेछ । रिसोर्टको साधारण सेयर निष्काशनको कार्य गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको छ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ । पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।
बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३७ पैसा र बिक्रीदर २० रुपैयाँ ४५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ २६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ २१ पैसा , बहराइन दिनार एकको खरिददर ३७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २४ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
एनटीसीको ३० प्रतिशत लाभांश घोषणा, सेयरधनीलाई ५ अर्ब ४० करोड रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम कम्पनी- एनटीसी) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले जानकारी दिए । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले ३० प्रतिशतका दरले ५ अर्ब ४० करोड रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो । उनका अनुसार उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले लाभांशसँगै गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यस्तै, महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐनको प्रावधान अनुरूप कम्पनीको चालु आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
पाथिभराको ७ करोडको सुनचाँदी बिक्रीमा, सुन मात्रै १७८.८२ तोला
काठमाडौं । पाथीभरा क्षेत्र विकास समितिले करिब ७ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री गर्ने भएको छ । फुङलिङ नगरपालिका-४ ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले ६ करोड ९७ लाख ८७ हजार ७४४ रुपैयाँ बराबरको सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको हो । समितिका अनुसार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँका दरले १७८ तोला ८२ लाल सुन बिक्रीमा राखिएको छ । जस अनुसार ४ करोड ७२ लाख ४४ हजार २४४ रुपैयाँको सुन बिक्रीमा राखेको हो । यस्तै, प्रतितोला ४ हजार २५५ रुपैयाँका दरले ५ हजार २९८.१२ तोला चाँदी बिक्रीमा राखिएको हो । सो आधारमा सिमतिले २ करोड २५ लाख ४३ हजार ५ सय रुपैयाँको चाँदी बिक्री गर्ने भएको हो । सुन तथा चाँदी जेजस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने भएकाले पुस २९ गतेभित्र उक्त सुनचाँदी खरिद गर्न इच्छुकले सिलबन्दी बोलपत्र पेस गर्नुपर्ने समितिले जनाएको छ बोलपत्र साथ कबोल गरेको कुल रकमको १० प्रतिशतले हुन आउने रकम पाथीभरा क्षेत्र विकास समितिको बैंक खतामा धरौटी रकम जम्मा गर्नुपर्नेछ । बोलपत्र स्वीकृत भएको जानकारी ३ दिनभित्र सम्झौता गर्नुपर्नेछ । अन्यथा बोलपत्र रद्द गरी धरौटी बापत जम्मा गरेको रकम जफत गरिने समितिले जनाएको छ । बोलपत्र फाराम बापत २ हजार रुपैयाँ समितिको कार्यालयबाट लिन सकिनेछ । १ फाराममा कुनै १ मात्र प्याकेज वा दुवै प्याकेजको महलमा कबोल अंक भर्न पाइने छ । यदि सुन तथा चाँदी खरिद गर्न चाहेमा १ वटा फाराम मात्र खरिद गर्नुपर्ने हुन्छ ।
मलेसियाले बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति लागू गर्ने
काठमाडौं । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति लागू गर्ने योजना समावेश छ, जसले सफा ऊर्जा र सम्बन्धित पूर्वाधारको माग बढाउने विश्वास गरिएको छ । ‘टीए अनुसन्धान संस्था’ को प्रतिवेदन अनुसार, राष्ट्रिय ऊर्जा रूपान्तरण मार्गचित्र अन्तर्गत सन् २०५० सम्म ७० प्रतिशत नवीकरणीय ऊर्जा लक्ष्य राखिएको छ, जसले ऊर्जा रूपान्तरणलाई गति दिनेछ । यसअन्तर्गत चार गीगावाट क्षमताको ठूलो स्तरको घाम परियोजना कार्यान्वयन हुने छ । बजेट सन् २०२६ अनुसार अर्को ठूलो स्तरको घाम परियोजना पनि आगामी वर्ष सञ्चालन हुने अपेक्षा छ । साथै, बायोग्यास र सानो जलविद्युत उप-क्षेत्रका लागि ३०० मेगावाट विद्युतीय मूल्य सुनिश्चित कोटा उपलब्ध गराइनेछ । टीए अनुसन्धान संस्थाले सन् २०२६ मा कार्बन कर लागू भएमा ग्रिडबाट प्राप्त विद्युतीय ऊर्जा महँगो हुन सक्ने भनेको छ, जसले नवीकरणीय ऊर्जा प्रयोग बढाउनेछ । सीजीएस अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले सन् २०२५ मा ऊर्जा भण्डारण प्रणालीको प्रयोग पनि बढ्ने अपेक्षा गरिएको छ । कर्पोरेट क्षेत्रले नवीकरणीय ऊर्जा आपूर्ति योजनामा पहुँच शुल्क घटेपछि हरित ऊर्जा प्रयोग बढाउनेछ र परियोजनाको आर्थिक लाभ सुधारिनेछ । फोहोरबाट ऊर्जा उत्पादन र बायोमास परियोजनामा पनि ध्यान दिइने योजना छ, किनभने सरकारले परिपत्र अर्थतन्त्र अघि बढाउन जोड दिएको छ । क्षेत्रीय पावर क्षेत्रले मलेसियाको ऊर्जा क्षेत्रमा ठूलो विकासको अवसर सिर्जना गर्नेछ । यसले स्थानीय विद्युत कम्पनीहरूलाई क्षेत्रीय नवीकरणीय ऊर्जा आपूर्तिकर्ता बन्न सहयोग पुर्याउनेछ । लाओस, थाइल्याण्ड, मलेसिया र सिङ्गापुरबीचको पावर संयोजन परियोजना यस प्रयासको उदाहरण हो ।
पूर्वीनाकाबाट भित्रियो पौने ८ अर्बको पेट्रोलियम पदार्थ, ३.८० अर्ब रुपैयाँ राजस्व सङ्कलन
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट ७ अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार रुपैयाँ अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पाँच महिनामा ३ अर्ब ८२ करोड ७० लाख रुपैयाँका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, २ अर्ब ५३ करोड १६ लाख रुपैयाँका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, उक्त पाँच महिनामा १ अर्ब १ करोड ६० लाख रुपैयाँका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाख रुपैयाँको ३ हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाख रुपैयाँका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।
विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गर्ने भएको हो । साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ । सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा पुस २४ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा माघ ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।