विकासन्युज

पोखरा महानगरपालिका  स्थापना दिवस : ‘पोखरेली नवरत्न’बाट ९ जना सम्मानित

काठमाडौं । पोखरा महानगरपालिकाको ६७औं स्थापना दिवसका अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्‍याउने ९ जनालाई आज ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ । महानगरपालिकाले गायन/सङ्गीत क्षेत्रबाट अमृत गुरुङ, धार्मिक पर्यटनरकृषि उद्यम क्षेत्रबाट चन्द्रकान्त बराल, समाजसेवारउद्योग क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य र साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठलाई सम्मान गरेको हो । त्यस्तै पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्राडा. बुद्धिबहादुर थापा, खेलकुद/शिक्षा क्षेत्रबाट प्राडा विरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र शिक्षा सेवा/उद्योगबाट हरिप्रसाद पाण्डेलाई सम्मान गरिएको छ । उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जनही दुई लाख दुई हजार २०२ रुपैयाँसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गरेका हुन् ।  

पाँच महिनामै साढे ३८ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, कृषि तथा वनजन्य क्षेत्रमा मात्रै २२ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।  उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको हो ।  समीक्षा अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन् । परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र शीर्ष स्थानमा देखिएको छ ।  कुल स्वीकृत परियोजनामध्ये २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित छन्, जसले आधाभन्दा बढी हिस्सा ओगटेको छ । आईसीटी क्षेत्रको विकाससँगै यसले अगामी दिनमा मुलुकको अर्थतन्त्रमा आफ्नो योगदानलाई बढाउने देखिएको छ ।   यद्यपि लगानी रकमका हिसाबले भने कृषि तथा वनजन्य उद्योग क्षेत्र सबैभन्दा बढि लगानी प्रतिवद्धता आएको छ । यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।  त्यस्तै, पर्यटन क्षेत्रले उल्लेख्य स्थान ओगटेको छ, सो क्षेत्रका १ सय ३५ वटा परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । क्षेत्रगत रूपमा हेर्दा पाँच महिनामा कुल लगानी प्रतिबद्धतामध्ये सूचना तथा प्रविधि क्षेत्रमा ५४ प्रतिशत, पर्यटन क्षेत्रमा ३१ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ६ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ । परियोजनाको संख्या धेरै भएपनि आईसीटी क्षेत्रमा आएको लगानी रकम भने करिब १ अर्ब रुपैयाँमै सीमित छ ।  परियोजनाको आकारका आधारमा हेर्दा स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ ।  उद्योग विभागका अनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिव १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । तीमध्ये अधिकांश साना उद्योग रहेका छन् । यसै अवधिमा विदेशी लगानीकर्ताले रोयल्टीवापत १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान विभागबाट स्वीकृति पाएका छन् ।  

कालिका रिफाइनरीको आम्दानी एक वर्षमै दोब्बर, भारतीय भन्सार नीतिले बढायो व्यापार

काठमाडौं । खाने तेल उत्पादन गर्ने कालिका रिफाइनरी प्रालिले एक वर्षमै ४ अर्ब रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले सन् २०२५ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको जनाएको छ ।  यो आम्दानी अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ९४.७४ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड २० लाख रुपैयाँ बढी हो । कम्पनीले सन् २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कच्चा तथा प्रशोधित खाद्य तेलमा भारत सरकारले अपनाएको अनुकूल भन्सार नीतिका कारण नेपाली तेल उद्योगहरूको आम्दानी बढेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सो अवधिमा विश्व बजारमा कच्चा पदार्थको मूल्य अत्यधिक बढ्दा उद्योगको आम्दानी प्रभावित भएको थियो । यद्यपि कच्चा पदार्थको मूल्यमा हुने तीव्र उतार–चढाव तथा वैदेशिक मुद्रा विनिमय दरमा हुने परिवर्तनले आगामी दिनमा पनि व्यवसायमा चुनौती सिर्जना हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल आम्दानीको करिब ४७ प्रतिशत हिस्सा भारततर्फ हुने प्रशोधित खाद्य तेल निर्यातमा निर्भर रहेको छ । कालिका रिफाइनरीले खाद्य तेल उत्पादनका लागि कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै आएको छ । कच्चा पदार्थका रूपमा प्रयोग हुने कच्चा तेल अर्जेन्टिना, अस्ट्रेलिया, न्युजिल्यान्ड, नेदरल्याण्ड्स, ब्राजिल, इन्डोनेसिया तथा युक्रेनबाट आयात गरिँदै आएको छ । रिफाइनिङमार्फत खाद्य तेल उत्पादन गर्ने कालिका रिफाइनरी उद्योग सन् २०१९ जनवरी २२ मा स्थापना भएको हो भने सन् २०२१ जुन ८ देखि औपचारिक रूपमा उत्पादन सुरु गरेको हो । नवलपरासीको गैंडाकोटस्थित उद्योगले सूर्यमुखी, सोयाबिन, पामोलिन तथा तोरीको तेल उत्पादन गर्दै आएको छ । उद्योगको कुल उत्पादन क्षमता प्रतिदिन १ सय मेट्रिक टन रहेको छ । कालिका रिफाइनरीले तीन वर्षभन्दा बढी समयदेखि खाद्य तेल प्रशोधन गर्दै स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउन सफल भएको छ । छोटो अवधिमै खाद्य तेल उद्योगमा आफ्नो पहिचान स्थापित गर्न सफल कम्पनीका अध्यक्ष मदन सापकोटा रहेका छन् । सापकोटासँग यस क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव रहेको छ । कालिका रिफाइनरीले आफ्ना खाद्य तेलहरू ‘बेला’, ‘अम्बे’ र ‘एग्रो गोल्ड’ ब्रान्डबाट बजारमा बिक्री वितरण गर्दै आएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १० करोड रुपैयाँ ऋण लिएको छ । जसमध्ये १४ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ९५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । रेटिङ संस्था केयर नेपालले कम्पनीलाई दीर्घकालीन ऋणका लागि केयर एनपी डबलबी माइनस र अल्पकालीन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ । 

सेयर बजारमा हरियाली, नेप्से २ हजार ६२५ बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार (आज) नेप्से परिसूचक ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

ओली र लेखकलाई बोलाउने तयारी, जाँचबुझ आयोगले माग्यो एक महिनाको थप समय

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको यथार्थ उजागर गर्न गठित जाँचबुझ आयोगले आफ्नो काम अझै अधुरो रहेको जनाउँदै सरकारसँग एक महिनाको म्याद थपको आग्रह गरेको छ ।  आयोगका पदाधिकारीहरूले बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी म्याद थपका विषयमा छलफल गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा ५ असोजमा गठन भएको जाँचबुझ आयोगको कार्यकाल सकिन लाग्दा पनि बयान लिने प्रक्रिया जारी रहेकाले थप समय आवश्यक परेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष कार्कीले केही महत्त्वपूर्ण व्यक्तिहरूको बयान लिन बाँकी रहेकाले एक महिना समय अपुग भएको भन्दै प्रधानमन्त्रीसमक्ष म्याद थपको प्रस्ताव राखिएको जानकारी दिए । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आयोगको कामको गम्भीरतालाई ध्यानमा राख्दै समय थप गर्ने आश्वासन दिएको उनले बताए ।  उनले आगामी सातादेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको पनि उल्लेख गरे । आयोगले यसअघि नै जेनजी घटनासम्बन्धी सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । तीन महिनाको म्यादसहित असोज ५ गते गठन भएको आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम थालेको थियो ।  आयोगको म्याद पुस ९ गते सकिँदैछ । सत्यतथ्यमा आधारित प्रतिवेदन तयार पार्न थप एक महिना समय आवश्यक रहेको निष्कर्ष आयोगले निकालेकोले आयोगको म्याद थप्न आग्रह गरिएको कार्कीले जानकारी दिए ।

गत वर्षभन्दा राजस्व बढ्यो, भद्रपुर कार्यालयले मङ्सिरसम्म उठायो १ अर्ब १४ करोड

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा १ अर्ब १४ करोड ९९ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो ।  आन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । ‘चालु आवको पहिलो पाँच महिनामा एक अर्ब ३६ करोड नौ लाख ७० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन भयो’ उनले भने । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट ४२ करोड ८८ लाख ३८ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ४० करोड ५२ लाख ५८ हजार रुपैयाँ अन्तःशुल्कबापत २६ करोड १० लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  गत आव २०८१/०८२ को मङ्सिर मसान्तसम्ममा १ अर्ब ८ करोड ८५ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यवहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताए । 

छ घण्टामा खस्यो ६५० मत

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा ६ घण्टामा ६ सय ५० मत खसेको छ । निर्वाचनमा प्रयोग भएका ८० विद्युतीय भोटिङ मेसिन (ईभीएम)मा ६ सय ५० मत खसेको र ८० महाधिवेशन प्रतिनिधिले समाचार तयार पार्दासम्म मतदान गरिरहेका छन् । निर्वाचन आयोगका सचिव डाक्टर कुन्साङ लामाका अनुसार पछिल्लो समय मतदानको गति अलि बढेको छ ।  ‘राति १० बजेसम्म मतदान सकिएला कि भन्ने हाम्रो अनुमान छ,’ लामाले भने । एमालेका २ हजार २ सय महाधिवेशन प्रतिनिधि नै यस निर्वाचनका मतदाता हुन् ।  लामाका अनुसार औसतमा एक मतदाताले पुरै मत दिन औसतमा २७ मिनेट लागेको छ ।

काठमाडौं र चितवनमा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर

काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३) तीन दिनसम्म काठमाडौं र चितवनमा यो विशेष अफर लागू हुनेछ ।  काठमाडौं उपत्यकामा कार्यक्रम ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा आयोजना गरिनेछ भने चितवनमा मिलनचोकस्थित प्रोटोन ईमासको शोरुममै कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम अवधिमा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका मोडल, तिनका प्रमुख विशेषता, सेवा–सुविधा तथा विशेष अफरबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।  एक्सचेन्ज अफरअन्तर्गत प्रोटोन ईमास ७ को मूल्य ४७ लाखबाट सुरु हुने बताइएको छ । प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर, १८० मिमी ग्राउन्ड क्लियरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ किलोमिटर रहेको छ । उन्नत सुरक्षा प्रणाली, प्रिमियम डिजाइन र ४६१५ मिमी लम्बाइले यस इभीलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ । यस विशेष एक्सचेन्ज अफरमार्फत ग्राहकहरूले अत्याधुनिक, सुरक्षित र वातावरणमैत्री इलेक्ट्रिक सवारीसाधनमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीले जनाएको छ ।