नेपाल र संयुक्त राष्ट्र संघको साझेदारीका ७० वर्ष, प्रधानमन्त्रीले दोहोर्याइन् प्रतिबद्धता
काठमाडौं । नेपाल र संयुक्त राष्ट्रसंघबीचको साझेदारीका ७० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्रसंघप्रति नेपालको प्रतिबद्धता पुनःदोहोर्‍याएकी छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले शान्ति, विकास र मानव अधिकारका क्षेत्रमा संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसंघ विश्व शान्ति, दिगो विकास र मानवीय सहयोगका लागि महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै नेपालले सधैं संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तअनुसार काम गर्दै आएको बताएको रावलले जानकारी दिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्तिलाई समर्थन गर्ने कार्यमा नेपाल विश्वकै अग्रणी योगदानकर्ता राष्ट्र बनेकोमा गर्व व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रधानमन्त्रीले आगामी फागुन २१ मा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनले २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट विकासशील हुने लक्ष्यतर्फ अग्रसर रहेको उल्लेख गरिन् । यस उपलब्धिलाई दिगो बनाउन लगानी, प्रविधि र संयुक्त राष्ट्रसंघसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपाल भविष्यमा पनि संयुक्त राष्ट्रसंघको विश्वसनीय साझेदार रहने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान, क–कसले पाए ?
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०७ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ । महानगरले स्थापना दिवसको अवसरमा कला, संस्कृति तथा सम्पदा संरक्षण, साहित्य, पत्रकारिता र विपद्, खेलकुद लगायत क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरूलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्दै आएको हो। पुरस्कृत हुनेहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले पुरस्कार वितरण गरेकी हुन् । पुरस्कृत हुनेहरूमा कला साहित्य र सामाजिक सेवातर्फ धर्मलाल महर्जन, खेलकुद (कराते) तर्फ रवि महर्जन, कला र नृत्यतर्फ नारायणदेवी प्रधान, चारकोल चित्रकलातर्फ बाबुराज द्यःला , संचारतर्फ नारायण किलम्बु, संंस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन तर्फ दिलेन्द्रराज श्रेष्ठ, विपद् व्यवस्थापनतर्फ सशस्त्र प्रहरी बल, नेपाल, दक्षिणकाली गण ललितपुर र ललितपुर चक्रपथ महानगर सरसफाई अभियानलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थिएको थियो । पुरस्कृत व्यक्ति र संस्थालाई एक/एक लाखसहित सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी, कार्यक्रममा पर्वतारोही योगन्द्र महर्जनलाई विशेष सम्मान प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट महानगर सेवा पुरस्कारबाट कर्मचारी राजेन्द्रप्रसाद अधिकारी पुरस्कृत भए । उनलाई पचास हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । महानगर सेवा पुरस्कारबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, किरण राजथला, सरिता महर्जन, सविता थापा, प्रकाश खनाल, लता महर्जन, प्रविन कुमार श्रेष्ठ पुरस्कृत भए । महानगर सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि ७ जनाको नाम सर्टलिस्ट, ८ गते अन्तर्वार्ता हुने
काठमाडौं । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्टार पदका लागि सात जनाको नाम सर्टलिस्ट गरिएको छ । विश्वविद्यालयको रजिष्टार छनोट तथा सिफारिस समितिको मंगलबार बसेको बैठकले आवेदनकर्तामध्ये ७ जनालाई अन्तिम चरणका लागि छनोट गरेको हो । सर्टलिस्टमा पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का खेमराज जोशी, बैतडीको पुर्चौडी नगरपालिका-१ का गोविन्दसिंह विष्ट, बझाङको छविसपाथिभरा गाउँपालिका-५ का डबलबहादुर धामी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१९ का डम्बरुप्रसाद पनेरु, धनगढी उपमहानगरपालिका-५ कैलालीका पदमराज जोशी, बैतडीको पाटन नगरपालिका-१ का भिमबहादुर चन्द तथा कैलालीको सहजपुर-७ बयालीका शिप्रसाद सापकोटा पनि सर्टलिस्टमा परेका छन् । सर्टलिस्टमा परेका सबै उम्मेदवारलाई पुस ८ गते मंगलबार बिहान ९ बजे शिक्षा मन्त्रालयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । आवश्यक कागजातसहित उपस्थित हुन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर गरिएको उक्त रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा पेशीका लागि परेको थियो । प्रारम्भिक सुनुवाइपछि अदालतले सरकार तथा सम्बन्धित पक्षसँग कारण देखाऊ आदेश जारी गरेको हो । रिट निवेदक घिमिरेले प्रतिनिधिसभा विघटन संविधानको मर्म र प्रावधानविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्रतिनिधिसभा विघटनले लोकतान्त्रिक प्रणाली र जनताको सार्वभौम अधिकारमाथि गम्भीर आघात पुर्याएको जिकिर गरेका छन् । कारण देखाऊ आदेश जारी भएसँगै अब सरकारलाई तोकिएको समयसीमाभित्र लिखित जवाफ पेश गर्नुपर्नेछ । त्यसपछि अदालतले विस्तृत सुनुवाइमार्फत रिटको अन्तिम टुंगो लगाउने प्रक्रिया अघि बढाउनेछ । उक्त रिटलाई प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका महत्त्वपूर्ण संवैधानिक मुद्दामध्ये एकका रूपमा हेरिएको छ ।
हामीले गरेका कामबाट अरूले पनि अनुसरण गर्न सक्छन् : चिरीबाबु महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाले पछिल्ला वर्षहरूमा अघि सारेका विकास, सुशासन र सेवा प्रवाहसम्बन्धी कामहरू महानगरभित्र मात्रै नभएर अन्य स्थानीय तहको लागि पनि उदाहरणीय बन्दै गएको महानगरका मेयर चिरीबाबु महर्जनले बताएका छन् । ललितपुर महानगरको १०७ औं स्थापना दिवसको अवसरमा मेयर महर्जनले महानगरले गरेको कामहरू उत्प्रेरक खालको भएको भन्दै त्यसबाट पालिकाले पनि सिक्न र अनुसरण गर्न सक्ने बताएका हुन् । ‘महानगरपालिकामा जे जति हामीले कामहरू गर्यौं, ती कामहरू उत्प्रेरक खालको छ, अरूले पनि अनुसरण गर्न मिल्ने किसिमले गर्दै आइरहेका छौं,’ प्रमुख महर्जनले भने । महानगरपालिकाले योजनाबद्ध विकास, पारदर्शिता, नागरिक सहभागिता र दिगोपनालाई प्राथमिकतामा राख्दै काम गरिरहेको महर्जनले बताए । त्यस्तै, उनले महानगरभित्र जनप्रतिनिधि, कर्मचारीबीच राम्रो मेलमिलाप रहेको र त्यसले नै हरेक कार्यक्रम सफललतापूर्वक गर्दै आइरहेको उल्लेख गरे । प्रमुख महर्जनले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको चुनावमा सबैले सहयोग गर्न आग्रह गरेका छन् । उनले पछिल्लो समय जेनजीले चुनाव हुन दिन्न भनेर आवाज उठाउन थालेपछि त्यसो नगर्न र जसरी पनि चुनाव गराउनको लागि वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन् । ‘ फागुन २१ गते चुनाव नगराउने भनेर जेनजीले नै स्वर परिवर्तन गरेको छ, त्यसो नगर्नुस्, जसरी पनि चुनाव गराउन सहयोग गर्नूस्,’ मेयर महर्जनले भने, जेनजीहरू भाइबहिनीहरू सानै छन्, अलिकति बुद्धि पलाएको छैन, बुद्धि पलाओस् ।’ महानगरले स्थापना दिवसको अवसरमा सबैभन्दा धेरै कर बुझाउने संस्था, व्यक्ति, उत्कृष्ट कर्मचारीलगायत विभिन्न क्षेत्रमा योगदान दिनेहरूलाई सम्मानसमेत गरेको छ।
विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका राजकुमार तामाङ पार्टी उपाध्यक्षबाट निलम्बित
काठमाडौं । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धान प्रक्रियामा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुंगो नलागेसम्म तामाङलाई आजैको मितिबाट उपाध्यक्ष पदबाट निलम्बन गरिएको हो । विज्ञप्तिमा कानुनी प्रक्रियालाई सम्मान गर्दै निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न पार्टीले यस्तो निर्णय लिएको उल्लेख छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको र त्यसको निष्कर्षपछि थप निर्णय लिइने पनि पार्टीले जनाएको छ ।
नबिल बैंकले गर्यो अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट
काठमाडौँ । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाट गरेको हो । संस्थागत लगानीकर्ताहरुलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार सेयर बाँडफाँट गरिएको हो । नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको हो । अविमोच्य असञ्चिति अग्राधिकार सेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश पाउने विशेषता भएको पुँजी बजार उपकरण हो । यस उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास लिएको छ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।
चार लेनको मादी पुलमा ७४ प्रतिशत काम सकियो, दैनिक एक सय ३० कामदार खटाएर निर्माण गरिँदै
काठमाडौं । मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको मादी पुल निर्माणले तीव्रता पाएको छ । चार लेनको उक्त पुल निर्माणका लागि दैनिक करिब एक सय ३० जना कामदार परिचालन गरिएको छ । व्यास नगरपालिका-४ र ५ लाई जोड्ने मादी नदीमाथि निर्माणाधीन पुललाई यातायातसँगै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले कलात्मक आर्क डिजाइनमा तयार पारिँदै छ । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुल केवल आवागमनका लागि मात्र नभई पृथ्वी राजमार्गकै पहिचान बन्ने गरी डिजाइन गरिएको हो । तीन सय १५ मिटर लामो पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सम्झौताअनुसार समयमै काम सम्पन्न हुन नसकेपछि ११ महिना म्याद थप गरिएको र थपिएको समयभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाइएको इञ्जिनियर पाण्डेले जानकारी दिए । हाल पुलमा ढलान अघि आवश्यक फर्मा लगाउने, डण्डी तान्ने, टेका लगाउनेलगायत संरचनागत काम भइरहेको छ । उनका अनुसार एउटै बेसमा निर्माण भइरहेको चार लेनको यो पुल पृथ्वी राजमार्गकै पहिलो र सबैभन्दा लामो आर्क डिजाइनको पुल हो । गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्म समय थप गरिएको छ । ‘जेठदेखि भदौसम्मको वर्षायामका कारण काम केही समय रोकिएको थियो,’ इञ्जिनियर पाण्डेले भने, ‘दसैं लगत्तै निर्माणले पुनः गति लिएको छ ।’ पुलमा छ वटा स्पान रहनेछन् । निर्माण कम्पनीले पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी विसं २०७९ साउन २६ गते एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । हाल प्रयोगमा रहेको दुई लेनको पुल ३७० मिटर लामो छ भने नयाँ चार लेनको पुल सोही पुलभन्दा करिब ५० मिटर दूरीमा निर्माण भइरहेको छ । मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । यस खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक कालोपत्रे कार्य समेत पूरा भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण कार्य सुरु भएको थियो ।