विकासन्युज

ज्ञवालीले गराए केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता, ओली प्यानललाई झड्का

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन नगर्ने निर्णय गरेका छन् ।   ज्ञवालीको यो निर्णयले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र उम्मेदवारी प्रक्रियामा असर पर्ने अनुमान गरिएको छ । ज्ञवालीले यसअघि अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने चर्चा चलेको थियो । तर उनले आफ्नो निर्णय बदल्दै उपाध्यक्षमा उम्मेदवारी नदिइकन केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गरेका हुन् ।

प्याब्सन अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन जेठ १० देखि १९ गतेसम्म क्यानाडामा हुँदै

काठमाडौं । ग्लोबल हेल्प फाउन्डेसनको आयोजना तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  (प्याब्सन)को संयोजनमा क्यानाडामा अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन आगामी वर्ष २०८३ जेठ १० गतेदेखि १९ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा प्रधानाध्यापक, सदस्य र व्यवस्थापन तहका शिक्षकहरूले सहभागी भई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर पाउने प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए । कार्यक्रममा सहभागीहरूले क्यानाडाका विद्यालयहरू भ्रमण गर्दै आधुनिक शिक्षण प्रणाली, प्रविधिको प्रयोग र प्रभावकारी कक्षाको सञ्चालन प्रत्यक्ष अवलोकन गर्नेछन् । यसले नेपाली शिक्षकहरूको पेशागत क्षमता बढाउने र शिक्षाको गुणस्तर सुधार्न योगदान पुग्ने प्याब्सनको विश्वास छ । सम्मेलनमा मुख्य सत्र, कार्यशाला र प्यानल छलफल आयोजना हुनेछन् । सहभागीहरूले आधुनिक पाठशिक्षा पद्धति, प्रविधिको समावेशीकरण र कक्षाको सञ्चालनबारे विस्तृत प्रशिक्षण पाउनेछन् । साथै, क्यानाडेली शिक्षकहरूसँग विचार साटासाट गर्ने अवसरले अन्तर्राष्ट्रिय समझदारी र नेटवर्किङमा पनि सहयोग पुग्ने प्याब्सनका महासचिव कटवालले बताए । प्याब्सनका अनुसार अधिकांश सहभागीताका सिट भरिसकेको र केही सिमित सिटहरू अझै उपलब्ध रहेका छन् ।  प्याब्सनले यस सम्मेलनलाई नेपाली शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसरको रूपमा प्रस्तुत गरेको छ । सहभागीहरूले व्यावहारिक शिक्षण रणनीति सिक्ने, नेतृत्व क्षमता विकास गर्ने र अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने अवसर पाउने अपेक्षा राखिएको छ ।  

आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री 'एसएआरएसोसिएट्स' चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ । फाइनान्सका अनुसार चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

केन्द्रीय सदस्य पदका लागि उम्मेदवार दिँदै झाँक्रीले गरिन् यस्तो अनुरोध

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन प्रक्रियाअन्तर्गत रामकुमारी झाँक्रीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन गरेकी छन् ।  उनले आफ्नो उम्मेदवारीमार्फत व्यक्तिगत उपलब्धीभन्दा बढी देश, पार्टी र पार्टी नेतृत्वका लागि योगदान दिन इच्छुक भएको स्पष्ट पारेकी छन् । उम्मेदवार झाँक्रीले आफ्नो सम्बोधनमा भनिन्, ‘मैले उम्मेदवारी दिएको कारण आफूले के पाउने भन्नेभन्दा पनि म देश र पार्टीका लागि के योगदान गर्न सक्छु भन्ने सोच हो । यही भावना बोकेर मआफ्नो पार्टीमा फर्केकी हुँ । पार्टीले जुनसुकै मोर्चा वा जोखिमपूर्ण जिम्मेवारी दिए पनि त्यसलाई बहन गर्न म सधैं तयार छु ।’ उनले आफना पछिल्ला दिनहरूलाई अत्यन्तै रोमाञ्चक र अविस्मरणीय भएको अनुभव सुनाउँदै सबै नयाँ र पुराना कमरेडहरूसँगको भेटघाटलाई विशेष रूपमा स्मरण गरेकी छन् ।  ‘नयाँ–पुराना सबै कमरेडहरूसँगको पुनर्मिलनले एक प्रकारको आत्मीयता र ऊर्जा थपेको छ । यहाँहरूको माया, स्नेह र भरोसा देख्दा लाग्छ, मैले साँच्चिकै धेरै कुरा मिस गरेको रहेछु। अब त्यो भरोसा मतमार्फत् विश्वासमा रूपान्तरण हुने आशा लिएको छु,’ उनले भनिन् । झाक्रीले सबै प्रतिनिधि कमरेडहरूलाई पार्टी र देशको हितलाई प्राथमिकतामा राखेर मतदान गर्न आग्रह गर्दै भनिन्, ‘मेरो विनम्र अनुरोध छ, पहिले पार्टी जोगाऔं, देशको भरोसा बचाऔँ। मेरो उम्मेदवारी यही मूल्य र उद्देश्यको प्रतिबिम्ब हो । मलाई दिने तपाईंहरूको अमूल्य मत नै त्यो विश्वासको प्रतिक हुनेछ ।

ईसेवाको ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

काठमाडौं । ईसेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत विदेशबाट रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार हरेक हप्ता चार सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्पर पुरस्कारको रूपमा एक भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछ । विजेताको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ । ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले योजना सम्बन्धमा जानकारी दिँदै भने, 'अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं । रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू यसमा सहभागी भई आकर्षक नगद पुरस्कार जित्न सक्नेछन् । साथै, सम्पूर्ण प्रयोगकर्तालाई सुख, शान्ति र समृद्धिको कामना सहित नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।' यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ईसेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताका लागि लागू हुने कम्पनीले जनाएको छ ।

ज्योति विकास बैंक कर्मचारीमाथि आक्रमण, कानुनी कारबाही अघि बढाइयो

काठमाडौं । ज्योति विकास बैंकको रुपनी शाखाका दुई कर्मचारीहरूलाई सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक, उनका परिवार सदस्य र सहयोगीहरूले नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको घटनाप्रति बैंकले घोर भर्त्सना जनाएको छ । बैंकका अनुसार कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफलका लागि ऋणीसँग टेलीफोनमार्फत पूर्व संवाद भएपश्चात क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरू फर्म पुगेका थिए । त्यहाँ कर्मचारीहरूलाई घण्टौंसम्म नियन्त्रणमा राखी धम्की दिइएको र धितो लिलामी स्थगनसम्बन्धी पत्र उपलब्ध नगराएमा ज्यान लिने चेतावनी दिएको बैंकले जनाएको छ । बैंकले यस क्रममा सुरक्षा निकायबाट कुनै सहयोग नपाएको पनि जनाएको छ । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरू राष्ट्रिय स्तरको विकास बैंकमा कार्यरत व्यवसायिक साधक भएको र नीति तथा निर्देशनको पालना गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको स्मरण गराउँदै, यस्ता आपराधिक गतिविधि प्रति घोर निन्दा व्यक्त गरेको छ । बैंकले अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही अघि बढाइएको र भविष्यमा पनि यस्ता घटनाविरुद्ध सदैव कडा उभिने प्रतिबद्धता जनाएको छ ।

यहूदी-विरोधी आतंकको कहर : बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको आक्रमणपछि इजरायल र अरब देशहरूबाट कडा प्रतिक्रिया आएको छ । यो आक्रमण यहूदी समुदायको एक कार्यक्रमको दौरान भएको थियो, जसमा १५ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाली प्रहरीले यसलाई यहूदी समुदायलाई लक्षित गरेर गरिएको ‘आतंकवादी हमला’ भनेको छ । न्यू साउथ वेल्सका प्रहरी कमिसनर मेल ल्यान्यानले बताएअनुसार दुबै बन्दुकधारी ५० वर्षीय बुवा र उनका २४ वर्षीय छोरा थिए । स्थानीय मिडियामा उनीहरूको नाम साजिद र नवीद अकरम भनिएको छ । इजरायली अखबार ‘हारेट्स’ का अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस आक्रमणलाई लिएर अष्ट्रेलियाका नीतिहरूले ‘यहूदी–विरोधी आगोमा घ्यू हाल्ने’ काम गरिरहेको आरोप लगाएका छन् । नेतन्याहूले भनेका छन्, ‘यहूदी–विरोध एक क्यान्सर हो, जुन फैलिन्छ जब नेताहरू मौन बस्छन् ।’ ‘केही महिना अघि मैले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई पत्र लेखेको थिएँ । मैले उनलाई लेखेको थिएँ कि तपाईंको नीति यहूदी–विरोधी आगोमा घ्यू हाल्छ, जसले तपाईंको सडकमा यहूदीहरू प्रतिको घृणा बढाउँछ,’ उनले थपे । यहूदी–विरोधीहरू विरुद्ध कमजोर दृष्टिकोणको सट्टा उनीहरूलाई कडाइका साथ सम्हाल्नुपर्ने उनको भनाइ छ ।  त्यसैगरी, इजरायलका राष्ट्रपति इसाक हरजोगले यस आक्रमणलाई ‘क्रूर’ भनेका छन् । उनले भनेका छन्, ‘हामीले बारम्बार अष्ट्रेलियाली सरकारलाई कारवाही गर्न र अष्ट्रेलियाली समाजमा फैलिएको यहूदी(विरोधी भावनासँग लड्न आग्रह गरेका छौं ।’ इजरायली मिडियाले बोन्डी बीच आक्रमणलाई व्यापक रूपमा रिपोर्ट गरेको छ र अष्ट्रेलियाको कडा आलोचना गरेको छ । इजरायली मिडियाले के भने ? ‘द यरूशलम पोस्ट’ र ‘हारेट्स’ जस्ता इजरायली अखबारहरूले यहूदी समुदायमा भएको आक्रमणको विषयमा अष्ट्रेलियाको आलोचना गरेका छन् । ‘द यरूशलम पोस्ट’ले सोमबार आफ्नो सम्पादकीयमा यो लेखेको छ, शीर्षक ः ‘बोन्डी आक्रमणले बढ्दो यहूदी–विरोधको सामना गर्न अष्ट्रेलियाको असफलता देखाउँछ ।’ अखबारले लेखेको छ, ‘बोन्डी बीचमा हनुक्का फेस्टिभलको दौरान भएको भयानक आतंकवादी आक्रमणले यो भ्रम हटाउनु पर्छ कि अष्ट्रेलिया लोकतान्त्रिक विश्वमा फैलिरहेको हिंसात्मक भावनाबाट अछुतो छ ।’ ‘यो अचानक घटेको घटना वा आन्तरिक ‘यहूदी मुद्दा’ थिएन । यो सार्वजनिक सुरक्षा र सामाजिक एकतालाई लक्षित गरेको हमला हो । जब यहूदीहरूलाई सार्वजनिक स्थलमा आफ्नो धार्मिक उत्सव मनाउन निशाना बनाइन्छ, समस्या विदेश नीति होइन । समस्या हो देशको आफ्नै आधारभूत जिम्मेवारी पूरा नगर्नू,’ अखबारले थपेको छ । अखबारका अनुसार गत एक वर्षमा अष्ट्रेलियामा १ हजार ६०० भन्दा बढी यहूदी–विरोधी घटनाहरू दर्ता भएका थिए, जसमा दर्जनौं आक्रमण र तोडफोड र सयौं अन्य अपमानजनक वा धम्कीपूर्ण घटना समावेश छन् । साथै, ‘द यरूशलम पोस्ट’ले बोन्डी बीच आक्रमणसँग सम्बन्धित सामाजिक सञ्जालमा फैलिरहेको ‘गलत जानकारी’ को विषयमा अर्को रिपोर्ट पनि प्रकाशित गरेको छ । ‘हारेट्स’ले ‘अष्ट्रेलियामा यहूदीहरूविरुद्ध पहिलो घातक हमला दुई वर्षको अभूतपूर्व यहूदी–विरोध पछि’ शीर्षकमा रिपोर्ट प्रकाशित गरेको छ । अखबारले लेखेको छ, ‘बोन्डी बीच हमला त्यस ठूलो रिपोर्ट आएको एक हप्ता पछि भएको हो, जसमा इजरायलमा ७ अक्टोबरको हमलापछि दुई वर्षमा अष्ट्रेलियामा यहूदी–विरोधी घटनाहरू बढेको तथ्य उल्लेख गरिएको थियो ।’ अरब–मुस्लिम देशहरूमा प्रतिक्रिया साउदी अरबले बोन्डी बीचमा भएको ‘आतंकवादी हमला’को कडा निन्दा गरेको छ । यस आक्रमणमा प्रतिक्रिया दिँदै साउदी विदेश मन्त्रालयले आइतबार बयान जारी गरेको छ । साउदी अरबले आफ्नो बयानमा हिंसा, आतंकवाद र अतिवादको कडा विरोध गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्रालयले बोन्डी बीच आक्रमणको कडा निन्दा गर्दै भनेका छन्, ‘हिंसा र आतंकवादका सबै रूपहरूलाई हामी अस्वीकार गर्छौं ।’ मुस्लिम वल्र्ड लीगले पनि सिड्नीमा भएको यस आक्रमणको निन्दा गरेको छ । इस्लामी संगठनले आफ्नो महासचिव मोहम्मद बिन अब्दुलकरीम अल–ईशाको हवाला दिँदै मुस्लिमहरू आतंकवाद र हिंसाका सबै रूपहरू अस्वीकार गर्ने बताएको छ । जोर्डनले अष्ट्रेलियालाई ‘मैत्रीपूर्ण देश’ भन्दै बोन्डी बीच आक्रमणको निन्दा गरेको छ । जोर्डनको विदेश मन्त्रालयका प्रवक्ता फुआद अल–मजालीले हिंसा र आतंकवादका सबै कृत्यहरू अस्वीकार रहेको बताएका छन् । कतारको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ र प्रभावित परिवारप्रति संवेदना व्यक्त गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बोन्डी बीच आक्रमणको निन्दा गर्दै भनेको छ, ‘आतंकवादी हिंसा र सामूहिक हत्या अस्वीकार्य छन्, चाहे यो जहाँसुकै भए पनि । यी गैरकानुनी र अपराधजन्य कृत्य हुन् ।’ अरब र मुस्लिम देशहरूको मिडियामा फरक–फरक रिपोर्टिङ देखिएको छ । यूएईका ‘खलीज टाइम्स’, ‘गल्फ न्यूज’ र साउदी अरबको ‘साउदी गजट’ जस्ता अखबारहरूले बोन्डी बीच घटनाको सामान्य रिपोर्ट गरेका छन् । साउदी अरबको ‘अरब न्यूज’ले पनि बोन्डी बीच आक्रमणको रिपोर्ट प्रकाशित गरेको  छ । अखबारले लेखेको छ, ‘आधिकारिक तथ्याङ्कअनुसार साउदी अरबमा २८ मिलियन मानिस बस्छन्, जसमा १ लाख १७ हजार यहूदी छन् । सरकारले जुलाईमा विशेष दूत जिलियन सेगलमार्फत् जानकारी दिँदै ७ अक्टोबर २०२३ मा इजरायलमाथि हमासको हमला भएपछिका दिनहरूमा अष्ट्रेलियामा यहूदीहरूविरुद्ध आक्रमण, तोडफोड र धम्की दिने घटनाहरू तीन गुणासम्म बढेको बताएको थियो ।’  ‘गत वर्ष सिड्नी र मेलबर्नमा यहूदीहरूविरुद्ध भएका आक्रमणले देशलाई हल्लायो । यी सहरमा अष्ट्रेलियाका ८५ प्रतिशत यहूदी बस्छन्,’ अखबारले लेखेको छ । ‘अरब न्यूज’ले लेखेको छ, ‘अगस्टमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले तीमध्ये दुई आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराए र कूटनीतिक सम्बन्ध तोडिदिए ।’  कतारको ‘अल जजिरा’ले पनि बोन्डी बीच आक्रमणको रिपोर्ट प्रकाशित गरेको छ । अखबारले अर्को रिपोर्टमा यस आक्रमणमा धेरै देशहरूको प्रतिक्रिया पनि समावेश गरेको छ । (बीबीसीबाट अनूदित तथा सम्पादित)

बागी बने रघुजी, उपाध्यक्ष पदमा दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदका लागी रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली पक्षवाट उपाध्यक्ष पदको उमेदवार बन्न चाहन्थे । तर ओलीले पन्तलाई नसमेटेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  ईश्वर पोखरेल पक्षका एक नेताका अनुसार पन्तलाई आफ्नो समूहमा समेट्नेगरी वार्ता भइरहेको छ । पन्तले भने आफू अहिलेसम्म कुनै प्यानलको उमेदवार नरहेको बताएका छन् ।  उनले सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा भने, ‘म ०४९ सालको पाँचौ महाधिवेशनमा त फरक विचार राखेको मान्छे हुँ । अहिले पनि म स्वतन्त्र उम्मेदवार हुँ ।’