इसेवाको ३० करोड ६० लाख नगद लाभांश पारित, आईपीओ जारी गर्ने तयारी
काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्‌सिर २४ गते काठमाडौं स्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ । त्यसैगरी, आ.व. २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने निर्णयसमेत सभाले स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुबास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि पारित गरिएको छ । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउँदै प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ताहरूको विश्वास, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको निरन्तर मिहिनेतका कारण कम्पनीलाई सुदृढ अवस्थामा पुर्याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरणमा कम्पनी केन्द्रित रहेको जानकारी पनि दिए । साधारण सभामा कम्पनीका सेयरधनीहरूले कम्पनीको उत्कृष्ट वित्तीय अवस्था, बढ्दो ब्राण्ड मूल्य र देश तथा विदेशमा इसेवाको सेवा तथा प्रभाव विस्तारबारे खुसी व्यक्त गरेका थिए । त्यस्तै, व्यवसाय विस्तारसँगै जोखिम र नियमनसम्बन्धी चुनौतीहरू बढ्दै गएकाले नवप्रवर्तन, लगानी, नाफा वितरण योजना, जोखिम न्यूनीकरण तथा दिगोपनमा ध्यान दिन सुझाव दिए । त्यस्तै, साधारण सभामा कम्पनीले निकट भविष्यमा आईपीओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जानकारी दिइएको थियो ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८२ रुपैयाँ २४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरमा सुरु हुँदै, ३ लाख मानिस सहभागी हुने
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबार बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष समारोहबीच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भक्तपुरको सल्लाघारीस्थित करिब १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुला चौरमा महाधिवेशन आयोजना गरिएको हो । महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउने तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । उद्घाटन समारोहका लागि विशाल मञ्च निर्माण गरिएको छ भने अत्याधुनिक ध्वनि तथा दृश्य प्रविधि जडान गरिएको छ । हजारौँ प्रतिनिधि, पर्यवेक्षक र अतिथिहरूको सहभागिता रहने अपेक्षा एमालेले गरेको छ । एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्रमा करिब तीन लाख मानिस सहभागी हुने जनाएको छ । महाधिवेशन व्यवस्थापन समिति प्रमुख राजन भट्टराईका अनुसार २९ भन्दा बढी विदेशी नियोगका प्रमुख प्रत्यक्ष सहभागी हुनेछन् भने ३२ मित्रराष्ट्रका राजनीतिक दलहरूले शुभकामना सन्देश पठाएका छन् । भट्टराईले स्वदेशका सबै राजनीतिक दललाई उद्घाटन सत्रमा आमन्त्रण गरिएको दाबी गरे। सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको छ । महाधिवेशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ भने यातायात, स्वास्थ्य तथा स्वयंसेवक व्यवस्थापनलाई पनि व्यवस्थित बनाइएको छ । उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने जानकारी पनि भट्टराईले दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यस महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
आजदेखि सञ्चालनमा आयो मोक्सी होटल
काठमाडौं । काठमाडौंको कमलादीमा निर्माण भएको मोक्स होटल शुक्रबार (आज)देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक शशिकान्त अग्रवाल हुन् । इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलमार्फत निर्माण भएको होटल मोक्सी मेरियट ब्राण्डमा आधारित छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा १०१ वटा लक्जरियस कोठाहरू छन् । होटलमा क्याफेटेरिया, बार, स्वीमिङ पुल, साउना स्टीम, हेल्थ क्लबलगायतका सुविधा हुने छ । यो होटल युवावर्ग र विदेशी पाहुना लक्षित हो । यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिला जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिइसकेको छ । असोजदेखि होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि जेनजी आन्दोलनको कारण ढिलाइ भएको थियो । यसअघि ठमेलमा म्यारियटको चारतारे र नक्सालमा पाँच तारे होटल सञ्चालन भइसकेकोमा यो तेस्रो होटल हो । पौने २ अर्ब लागतमा कमलादीमा ठडियो १२ तले मोक्सी होटल, छिट्टै ओपनिङ (फोटोफिचर)
एमालेको ११ औं महाधिवेशनको उद्घाटन भव्य हुने, यस्तो छ तयारी (तस्बिरसहित)
काठमाडौं । नेकपा एमालेले आगामी ११ औं महाधिवेशनलाई ऐतिहासिक बनाउने दाबी गरेको छ । महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता राजन भट्टराईले उद्घाटन समारोहमा करिब ३ लाख सहभागी हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार यसअघि कुनै पनि राजनीतिक कार्यक्रममा नदेखिएको सर्वाधिक ठूलो एलईडी स्क्रिनसहितको आधुनिक मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्क्रिनमा देशको सांस्कृतिक पहिचानका रूपमा चिनिने कालिन्चोक मन्दिरलाई मुख्य प्रतीकका रूपमा प्रस्तुत गरिनेछ । त्यसमाथि महाधिवेशनको सङ्केतात्मक प्रतिनिधित्वका लागि कालीन्चोक मन्दिरको दायाँतर्फ राष्ट्रिय झण्डा र धरहरा सहित ‘११’ अंक प्रदर्शन गरिने तयारी गरिएको छ । उद्घाटन समारोह व्यवस्थित र व्यवस्थापन प्रभावकारी बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने उद्घाटन समारोह व्यवस्थापन समितिका संयोजक भट्टराईले बताए । तस्बिरहरू :
जुम्लामा ४ हजारभन्दा बढी साना तथा घरेलु उद्योग
जुम्ला । जुम्लामा ४ हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका ५ हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् । कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार हजार ४६१ उद्योग रहेका बताए । उनका अनुसार वाणिज्यतर्फ १० लाखभन्दा माथिका तीन हजार उद्योग उपभोक्ता हित संरक्षण कार्यालय र तीन लाखमुनिका दुई सय चार नयाँ साना उद्योग स्थानीय तहमा दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फ उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख योगीले बताए । यी उद्योगबाट गत आवमा ५२ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए । उक्त कार्यालयले गत आवमा यहाँका आठवटै स्थानीय तहका २०४ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित छन् ।
दिपल एस ०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ
काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस ०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ । स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस ०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रदर्शन गरेको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । यी नतिजाले दिपल एस ०५ लाई नवीनतम र कडा युरो एनक्याप मापदण्ड अन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रूपमा आफूलाई उभ्याएको छ । युरो एनक्याप रेटिङले दिपल एस ०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो । नाडा अटो सो २०२५ मा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो । यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किंग, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विनको पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन् । यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको ईभी ब्याट्री हो, जसले ५ हजारभन्दा बढी चार्जिङ साइकल प्रदान गर्छ ।
वातावरणीय उत्तरदायित्वमा अग्रसर माछापुच्छ्रे बैंक, पीसीएएफसँग जोडियो
काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) सँग सहकार्य गरेको छ । पीसीएएफ विश्वव्यापी साझेदारीको रुपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरितगृह ग्यास (जीएचजी) उत्सर्जनको मूल्याङ्कन र सो को विवरण प्रकाशन गर्न एक सामंजस्यपूर्ण दृष्टिकोण विकास र कार्यान्वयन गर्न मुख्य भूमिका खेलिरहेको छ । पीसीएएफले विश्वव्यापी मान्यताप्राप्त मापदण्डमार्फत बैंक तथा वित्तिय संस्थाहरूलाई आफ्ना वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन हरितगृह ग्यासको पहिचान गरी भरपर्दो जलवायु रणनीति अपनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । विश्वमा बढ्दै गईरहेको हरितगृह ग्यास र यसबाट भविष्यमा उत्पन्न हुनसक्ने जटिल समस्याका बारेमा सचेत रहेको माछापुच्छ्रे बैंकले पनि पीसीएएफमा सहभागी भएर आफ्नो व्यवसायिक कार्यप्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता गरेको छ । यो कदमले बैंकको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै, वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न, जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउनतथा नेपालले लिएको कम कार्बन उत्सर्जनको नीति तथा जलवायु–लचकदार अर्थतन्त्रतर्फको यात्रालाई सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ ।