चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
काठमाडौं । पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ । कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार चलचित्र परानले करिब १७ करोडको व्यापार गरेको छ । गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा १६ करोड ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको छ । बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । 'चलचित्र परानलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिनुभएको छ, यो हाम्रै समाजको कथा हो', निर्देशक आचार्यले भने । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रका लागि हालसम्म पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । साथै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएका चलचित्र ‘जेरी अन टप’ ले तीन लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै १२ करोड २६ लाख छ हजार २४० को व्यापार गरेको छ । अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले दुई लाख सात हजार ७१४ टिकट बिक्री गरी छ करोड २३ लाख ६९ हजार २०० को व्यापार गरेको छ । दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङलगायतकका कलाकारले अभिनय गरेको उक्त चलचित्रमा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ । यो चलचित्र गत कात्तिक २१ गतेदेखि प्रदर्शनरत छ । बाल गायकका रुपमा परिचित भएका अशोक दर्जीको जीवनीमा आधारित रहेर तयार गरिएको चलचित्र ‘मनबिनाको धन’ ले सोही अवधिसम्म तीन करोड ७९ लाख दुई हजार ८७९ को व्यापार गरेको छ । टङ्क बुढाथोकीले निर्देशन गरेको उक्त चलचित्रका लागि हालसम्म एक लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन् । गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा गायक दर्जीसँगै नीता ढुङ्गाना, सरोज खनाल, एआर बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् । यही मङ्सिर १२ गतेदेखि प्रदर्शनरत चलचित्र ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा रु २८ लाख दुई हजार ३४६ को व्यापार गरेको छ । एकता पौडेलले निर्देशन गरेको उक्त चलचित्रका लागि आठ हजार ४३६ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् । रासस
चैतन्य पाठशालाले माग्यो गणित शिक्षक, खानबस्नको व्यवस्थासहित तलब एक लाख रुपैयाँ
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको चैतन्य पाठशालाले खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै दरखास्त माग गरेको छ । निजी विद्यालयमा शिक्षकले आफ्नो दक्षताअनुसार पारिश्रमिक नपाइरहेको गुनासो आइरहेको बेला चैतन्य पाठशालाले एक लाख रुपैयाँ तलब दिने भन्दै शिक्षक माग गरेको हो । चैतन्यले एक लाख रुपैयाँ तलब त्यसमा पनि बस्न खाना र खाजाको सुविधा दिने विज्ञापन सार्वजनिक गर्दा धेरै नागरिक अचम्मै मानिरहेका छन् । पाठशालाले आफ्नो फेसबुक पेजमा राखेको सूचनामा पनि धेरै जनाले सत्य हुन नसक्ने र बरु लेखाइमा गल्ती भएको हुनसक्ने लख काटेका छन् । तर पाठशालाले भने यो सूचना सही भएको र दक्ष गणित विषय पढाउन सक्यो शिक्षक आवश्यकता परेको जनाएको छ । शिक्षकलाई पाठशालाले गरेको सामाजिक सञ्जाल फेसबुकमा राख्दै दरखास्त माग गरेको हो । पाठशालाका प्रिन्सिपल प्रेमनिधि ओझाले गणित विषयमा दक्ष र योग्यता भएको जुनसुकै नेपालीले दरखास्त दिन सक्ने बताए । उनी भन्छन्, ‘एक लाख तलब भन्दै अचम्म मान्नु पनि पर्दैन र यो भ्रम पनि होइन । गणित र विज्ञान निकै महत्त्वपूर्ण विषय भएकाले एकजना शिक्षकलाई बिहानदेखि साँझसम्म विद्यालय नै राख्ने गरी आवश्यक परेकाले दरखास्त माग गरेको हौं ।’ ओझाका अनुसार छनोट शिक्षकले कक्षा पाँचदेखि दशसम्म पढाएर घर फर्किने नभई बिहानदेखि साँझसम्म विद्यालयमै रहनुपर्ने छ । उनले २९ गतेसम्म डेडलाइन भएपनि अहिलेसम्म जानकारी लिनमात्रै फोन आउने गरेको र दरखास्तकै लागि भनेर कुनै आवेदन नपरेको बताए । ‘अहिले शैक्षिक बजारमा शिक्षक उत्पादनमा निकै खडेरी छ । शिक्षक बन्न कसैको रुचि हुँदैन,’ उनी भन्छन्, ‘विद्यार्थीको मोह कि विदेश र की प्राविधिक विषयमा बढ्दो छ । शिक्षक पाउन निकै गाह्रो छ । विज्ञापन दोहोरो तेहोरो गर्दा पनि शिक्षक आउन पाउन नसकेको अवस्था छ ।’ विगतमा एउटा विज्ञापनमा ५०–६० आवेदन पर्थ्यो, त्यसबाट उत्कृष्ट व्यक्तिलाई छनोट गर्न सकिन्थ्यो तर अहिले त्यो माहोल छैन, मुस्किलले आवेदन परे पनि, आठ देखि १० जनासम्मको मात्र आउँछ । चैतन्य पाठशालामा प्रीस्कुलदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । पाठशालाले कमजोर समूहका विद्यार्थीलाई विद्यालयभित्रै डाइग्नोसिस कक्षा लिने गर्छ । विद्यालयमा हाल १ हजार विद्यार्थी छन् भने ७५ जना कर्मचारी छन् ।
नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि पाटन हेल्थ ल्याबमा छुट दिने
काठमाडौं । नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रालिबीच स्वास्थ्य सेवामा सुविधा प्रदान गर्ने सम्झौता भएको छ । मंसिर २२ गते सम्पन्न सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले पाटन हेल्थ ल्याब (थसिखेल, ललितपुर) मा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौता बमोजिम प्याथोलोजी ल्याबका विविध सेवा तथा स्वास्थ्य प्याकेजहरूमा १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । साथै, विभिन्न परीक्षणका लागि निःशुल्क होम डेलिभरी सेवा पनि प्रदान गरिने पाटन हेल्थ ल्याबले जनाएको छ । सम्झौता पत्रमा नेपाल बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रालिका तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै नेपाल बैंकका कर्मचारी तथा बैंकका ग्राहकहरूले पाटन हेल्थ ल्याबले प्रदान गर्ने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने भएका छन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा अनिल जोशी नियुक्त
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी तोकेको छ । कम्पनीका अनुसार मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । पूर्व प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेदेखि सकिएको छ । अर्को व्यवस्था नहुँदासम्म वा अधिकतम ३ महिनासम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अनिल जोशीलाई सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । निर्णय अनुसार जोशीको कायम मुकायम सीईओको कार्यभार मंसिर २३ गतेदेखि लागू हुनेछ ।
इन्धनबाट चल्ने कारहरूको लोकप्रियता फेरि बढ्दै
काठमाडौं । विश्वभरका गाडी किन्नेमध्ये धेरै उपभोक्ता पुनः आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीतर्फ फर्किन थालेको अर्न्स्ट एण्ड यङ (ईवाई) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टले देखाएको छ । अस्थिर नीति, व्यापार युद्ध र ईभीसम्बन्धी पूर्वाधार तथा लागतप्रतिको बढ्दो शंकाका कारण यस्तो भएको रिपोर्टमा उल्लेख छ । डिजेल तथा पेट्रोलबाट चल्ने कारको बिक्री सहज बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्ना पुख्र्यौली सरकारद्वारा तयार गरिएका फ्युल–इकनोमी स्ट्यान्डर्डहरू ठूलो मात्रामा घटाउने प्रस्ताव पेश गरे । युरोपेली युनियनले समेत सन् २०३५ पछि आईसीई बन्द गर्ने योजना फितलो पारिएको संस्करण छिट्टै ल्याउन सक्ने संकेत छ । ईवाई ग्लोबल एयरोस्पेस, डिफेन्स एण्ड मोबिलिटीका प्रमुख कोन्स्टान्टिन एम. गालका अनुसार ईभीतर्फको रूपान्तरण अपेक्षाभन्दा ढिलो गतिमा अघि बढेपछि नीतिहरू परिवर्तन भइरहेका हुन् । उनका अनुसार चिनियाँ उपभोक्ताहरू धेरै ईभी किनिरहे पनि उनीहरूका लागि गाडी केले चल्छ भन्ने भन्दा पनि कति राम्रोसँग डिजिटल लाइफस्टाइलसँग एकीकृत हुन्छ भन्नेमा बढी चासो छ । जहाँ एकातिर परम्परागत गाडी निर्माता कम्पनीहरूले जीवाश्म इन्धनको प्रयोग कम गर्ने गति सुस्त चाहन्छन् भने विद्युत् यातायात समर्थक समूहहरूले सीओटू उत्सर्जन नियन्त्रणका लागि ईभीतर्फ छिटो संक्रमण अत्यावश्यक भएको बताउँदै आएका छन् । पश्चिमी नीतिनिर्माताहरूले चीनका भारी रूपमा अनुदान प्राप्त ईभीहरूबाट आफ्ना बजार जोगाउन आयात शुल्कजस्ता कडा उपायहरु अपनाइरहेका छन् । तर अमेरिकन र युरोपेली कार निर्माताहरूले विश्वबजारमा चीनका पेट्रोलबाट चल्ने कारहरूसँग समेत कडा प्रतिस्पर्धा भोगिरहेका छन् । विश्वभरका ५० प्रतिशत गाडी खरिदकर्ताहरू आगामी २४ महिनामा नयाँ वा पुरानो पेट्रोलरडिजेलबाट चल्ने कार किन्न चाहन्छन्— यो दर २०२४ को तुलनामा १३ प्रतिशतले बढेको हो । ब्याट्री–इलेक्ट्रिक कारप्रतिको रुचि १० प्रतिशत बिन्दुले घटेर १४ प्रतिशतमा पुगेको छ । हाइब्रिड कारप्रतिको रुचि ५ प्रतिशतले घटेर १६ प्रतिशत मात्र बाँकी छ । सम्भावित ईभी खरिदकर्तामध्ये ३६ प्रतिशतले भू–राजनीतिक परिस्थितिका कारण खरीद पुनर्विचार वा ढिलाइ गरिरहेका छन् । ‘हामीले हालै युरोपेली युनियनसँग छलफल गरेका छौं । उनीहरूले ग्रिन डिलको पुनर्मूल्यांकनका लागि ‘ड्यु–डिलिजेन्स’ गरिरहेका छन्... अहिले उनीहरू धारणा वा विश्वासभन्दा वैज्ञानिक तथ्यमा बढी ध्यान दिन थालेका छन्,’ गालले भनिन् ।
तारागाउँ रिजेन्सी होटलले ५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।
इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न, उत्कृष्ट विद्यार्थी लेनिसा घिमिरे सम्मानित
काठमाडौं । इटहरी इन्टरनेशनल कलेजले इटहरीको सोल्टी वेस्टेन्डमा वार्षिक दीक्षान्त समारोह २०२५ रूपमा सम्पन्न गरेको छ । सोमबार आयोजित कार्यक्रममा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता थियो । अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उपस्थिति रहेको समारोहमा स्नातकहरूको उपलब्धि, सिकाइ यात्रा र भविष्यका अवसरबारे चर्चा गरियो । कलेजका अनुसार यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको छ । निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताका आधारमा प्रदान गरिने यस छात्रवृत्तिले विद्यार्थीलाई आगामी शैक्षिक यात्रामा थप प्रेरणा दिने विश्वास कलेजले व्यक्त गरेको छ । कार्यक्रममा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक प्रमुखलगायत प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति थियो । स्नातकहरूलाई बधाई दिँदै अध्यक्ष बुढाथोकीले भने, 'विद्यार्थीहरूको मेहनत, धैर्य र समर्पण नै आजको सफलता हो ।' सोही कार्यक्रममा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिष्टोफर लेनले कलेज तथा विद्यार्थीहरूको प्रगतिको प्रशंसा गर्दै आइएनजी–लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाइने बताए । कलेजले दीक्षान्त समारोह आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आयोजना गरिएको जनाउँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तर र विद्यार्थी क्षमताविकासलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।