चिनियाँ बजारबाट सामान खरिद गर्न १ हजार ३३८ ले लिए सीमा पास
काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट १ हजार बढी नागरिकले सीमा पास लिएका छन् । वि.सं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथाङ्का नाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए । उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि १ हजार ३३८ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा १ हजार ८२ जना र २०८३/८३ मा २५६ जनाले सीमा पास लिएको सीमा प्रशासन कार्यालयकी सृजना मेहताले बताए । त्यसैगरी, हालसम्म ६४८ जनाले सीमा पास नवीकरण गरेका छन् । सीमा पास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु र रोजगारीका लागि सीमावर्ती नाका आवतजावत गर्न सहज भएको छ । भोटखोला र मकालु गाउँपालिका भित्र नागरिकले सीमा पास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । भोटखोला गाउँपालिकाका-१, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब ५ हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदोमात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए । उत्तरी क्षेत्रमा किमाथाङ्कामा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट २ दिन हिँडेर मात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी-किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १६२ किलोमिटर छ ।
४ वर्षदेखिका लाइसेन्स लिनेको भिड, १ लाख ७६ हजार लाइसेन्स बाँड्न ६ महिना लाग्ने
काठमाडौं । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका १ लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) ६ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा ३ हजार सवारी अनुमतिपत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए । अझै एक लाख सवारीपत्र छपाइ भएर आउन बाँकी रहेको उनले बताए । उनले भने, ‘मङ्गलबारदेखि लाइसेन्स वितरण सुरु गरेका छौँ, पहिलो दिन ८०० वितरण गर्यौँ, दोस्रो दिन र तेस्रो दिनसम्म गरेर ३ हजार वितरण गर्यौँ, ८ जना कर्मचारी लाइसेन्स वितरणमा ९ बजेदेखि ५ बजेसम्म खटिँदा पनि १ हजारभन्दा बढी वितरण गर्न सकिँदैन, यही अवस्थामा सबै लाइसेन्स वितरण गर्न ६ महिना समय लाग्छ ।’ सरकारले पठाएको लाइसेन्स लिन दैनिक भीड नगर्न सेवाग्राहीलाई आग्रह गर्दै उनले लाइसेन्सको बिलदेखि मोबाइल एप्स प्रयोग गरेर लाइसेन्स देखाउन सकिने बताउन सकिने भएकाले भीड नगरी विस्तारै आइदिन सेवाग्राहीलाई आग्रह गरे । कार्यालयले सवारी अनुमतिपत्र वितरण सुरु गरेपछि ४ वर्षदेखि लाइसेन्स लिन कुरिरहेका सेवाग्राहीको कार्यालयमा भीड बढेको छ । बिहान ७ बजेदेखि नै कार्यालय अगाडि सेवाग्राहीको भीड लागेपछि कार्यालयले बिहान ९ बजे कार्यालय खुल्ने बित्तिकै सवारी अनुमतिपत्र वितरण गर्ने गरेको बस्नेतले जानकारी दिए । नवीकरणका लागि आवेदन दिएका र लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्सका लागि चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीले अहिलेसम्म रसिदका भरमा सवारीसाधन सञ्चालन गर्दै आएका थिए ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने, यस्तो छ देशभरको मौसम
काठमाडौं । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू-भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । यसैगरी, मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना छ । आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
साझाको रात्रिकालीन सेवामा एक सातामै ४ हजार यात्रु
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित साझा यातायातको रात्रिकालीन बस सेवामा यात्रुहरूको आकर्षण बढ्दो देखिएको छ । साझा यातायातले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाख १ गतेदेखि ७ गतेसम्मको पहिलो एक सातामा कुल ४ हजार २३ जना यात्रुले यस सेवाको लाभ लिएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकासँगको सहकार्यमा बूढानीलकण्ठ(लगनखेल र एयरपोर्ट(थानकोट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बसहरू सञ्चालन भइरहेका छन् । साझा यातायातका सीईओ भूपेन्द्र अर्यालका अनुसार सुरुवाती दिनहरूमा यात्रु सङ्ख्या उत्साहजनक रहेको छ । पहिलो दिन ५०४ जनाबाट सुरु भएको यात्रा पाँचौँ दिन पुग्दा सबैभन्दा बढी ६८३ जना पुगेको थियो । 'अहिलेको यात्रु सङ्ख्या सन्तोषजनक छ, घाटामै रहे पनि सेवालाई निरन्तरता दिनेछौं,' अर्यालले भने । आगामी असारसम्म घाटा भएमा दुवै महानगरपालिकाले बजेट व्यवस्थापन गर्ने सहमति भइसकेको छ । यात्रुको चाप बढ्दै गएमा रुट र बसको सङ्ख्या थप्ने योजना रहेको र यसमा बूढानीलकण्ठ तथा चन्द्रागिरी नगरपालिकाले समेत चासाे देखाएका छन् । राति अबेरसम्म काम गर्ने र यात्रा गर्नुपर्ने सर्वसाधारणका लागि यो सेवा निकै सहयोगी सावित भएको छ।
'लु' सम्बन्धी राष्ट्रिय कार्ययोजनाका लागि सुझाव सङ्कलन: विद्यालय बन्द गर्नेसम्मको तयारी
काठमाडौं । अत्याधिक गर्मी अर्थात् तातो हावाको लहर (लु) सम्बन्धी शीघ्र प्रतिकार्य राष्ट्रिय कार्यायोजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार यहाँ सरोकार भएका निकायका प्रतिनिधिसँग सुझाव सङ्कलन गरेको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतले अत्यधिक गर्मी वा तातो हावाको लहरबाट बच्नका लागि ‘पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’को मस्यौदामाथि सरोकार भएकाहरूसँग छलफल गरी सुझाव सङ्कलन गरिएको जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सुरक्षा निकाय, विषयगत क्षेत्रका सरकारी निकाय तथा सहयोगी निकाय, नेपाल स्काउटलगायत सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । अत्यधिक गर्मी र तातो हावाको लहरका कारण हुनसक्ने समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा सहभागीहरूको जोड थियो । ठाउँठाउँमा माटोको भाडामा पानी राख्ने व्यवस्था गर्ने, स्थानीय ज्ञानको पनि सदुपयोग गर्नुपर्ने, तातो हावाको लहरका बेला अवस्था हेरी विद्यालय बन्द गर्नेसम्मका योजना बनाउनुपर्ने उनीहरूको सुझाव थियो । सुझावलाई एकीकृत गरी राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न चरणमा अघि बढाइएको प्राधिकरणले जनाएको छ । पछिल्लो साता देशभर तातो बढेको र कतिपय जिल्लामा तापक्रम ४१ डिग्रीभन्दा माथि पुगिसकेकाले आवश्यक सर्तकता अपनाउन प्रधिकरणले सबैमा आग्रह गरेको छ ।
स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्
काठमाडौं । सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै सेवा प्रवाह सञ्चालन गर्ने भने पनि जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा अझै सञ्चालनमा ल्याउन सकेका छैनन् । आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाट लिने व्यवस्था गरेको छ । यसअघि करदाता सेवा कार्यालहरुबाट प्रवाह भइरहेको प्यान अब स्थानीय तहबाट पाउन लिन सकिने भने पनि यहाँका एक नगरपालिकासहित सात गाउँपालिकाले ती सेवा सञ्चालन गरेका छैनन् । सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाबाटै स्थायी लेखा नम्बर (प्यानकार्ड) जारी गर्ने दुई कर्मचारीले तालिम लिइसकेका बताए । 'चाहिने सबै प्रक्रिया पूरा भइसकेको छ । आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर चााडै करदाता सेवा सञ्चालन हुने छ', उनले भने । चाहिने प्रविधि उपकरणको व्यवस्थापन र कर्मचारीलाई तालिम दिएर गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन छिट्टै गरिने गुठीचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाको भनाइ छ । सरकारले स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले भने उक्त सेवा सञ्चालनमा ल्याउन सकेका छैनन् । गाउँपालिकाको राजस्व शाखालाई करदाता सेवा प्रवाह शुभारम्भ गर्ने चाहिने आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले जानकारी दिए । स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्ने कार्य सञ्चालनमा ल्याउन पटकपटक स्थानीय तहलाई जानकारी दिँदा पनि कुनै सुनुवाइ नभएको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले बताए । स्थानीय तहले करदाता सेवा सञ्चालन ल्याउनसके पालिकाबाटै व्यावसायिक तथा व्यक्तिगत प्यान नम्बर लिनेलाई सहज हुने देखिन्छ । स्थानीय तहलाई चाहिने केही करसम्बन्धी प्राविधिक सहयोगका लागि आन्तरिक राजस्व कार्यालयसँग समन्वय गर्ने सकिने प्रमुख कर अधिकृत घिमिरेको भनाइ छ । जिल्लाका आठवटै स्थानीय तहले करदाता सेवा सञ्चालन गरेका खण्डमा पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी गर्ने सकिने छ । व्यवसायलाई आयकर दर्ता कार्य, आयकर दर्तामा करोबार थप गर्ने कार्य, स्थायी लेखा नम्बर दर्तासँगै सम्बन्धित संशोधन कार्य गर्ने र दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण गर्ने कार्य हुने प्रमुख कर अधिकृत घिमिरेको भनाइ छ । सरकारले आन्तरिक राजस्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय खारेज गरेसँगै अब स्थानीय निकायबाटै प्यान नम्बर लिन सकिने व्यवस्था गरिएको छ ।
थापाथलीको सुकुम्वासी बस्ती खाली गराउन प्रहरीको अल्टिमेटम: माइकिङ गर्दै भोलि साँझसम्मको समय सीमा
काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्ती खाली गराउन सुरक्षा निकायले प्रक्रिया अगाडि बढाएको छ । बिहीबार साँझ बस्ती क्षेत्रमा माइकिङ गर्दै प्रहरीले त्यहाँ रहेका स्थानीयलाई तत्काल ठाउँ खाली गर्न सूचित गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग विशेष छलफल गर्दै आगामी शनिबार र आइतबारभित्रै सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयनका लागि प्रहरीले बस्तीमा पुगेर भोलि (शुक्रबार) बेलुकासम्म सुरक्षित रूपमा ठाउँ खाली गरिसक्न चेतावनी दिएको छ । वालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै यो बस्ती हटाएर बागमती कोरिडोरलाई व्यवस्थित बनाउने प्रयास गर्दै आएका थिए । विगतमा पटक/पटक भएका त्यस्ता प्रयासहरू स्थानीयको चर्को विरोध र विभिन्न कानुनी एवं प्राविधिक जटिलताका कारण सफल हुन सकेका थिएनन् । यद्यपि, अहिले प्रधानमन्त्रीकै तहबाट सुरक्षा निकायलाई परिचालन गरी समय सीमा नै तोकेर निर्देशन आएपछि थापाथली क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । भोलि बेलुकासम्म बस्ती खाली नभए प्रशासनले बल प्रयोग गर्न सक्ने सङ्केत समेत दिएको छ ।
संविधान संशोधन कार्यदलको कार्ययोजना स्वीकृत, सोमबारदेखि विज्ञहरूसँग सुझाव संकलन गरिने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ को दोस्रो बैठक बिहीबार (आज) सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि झन्डै दुई घण्टासम्म चलेको उक्त बैठकमा कार्यदलका सदस्य सचिव एवं कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकले कार्यदलका सबै सदस्यहरूको सुझावसमेत समेटेर उक्त कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको छ । स्वीकृत कार्ययोजनाअनुसार आगामी सोमबारदेखि हरेक दिन दिउँसो ३ बजे विज्ञ तथा सरोकारवालाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आमन्त्रण गरी संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै, बैठकको अध्यक्षता गरेका कार्यदलका संयोजक शाहले कार्यादलले पूर्वनिर्धारित समयमै आफ्नो जिम्मेवारी सम्पन्न गरेर सरकारलाई बहसपत्र पेश गर्ने दृढता व्यक्त गरे । साथै, उनीहरुले कार्यदलका सदस्यहरुले पनि खुलेर साथ दिइरहेको र आगामी दिनमा पनि सोही किसिमको साथको अपेक्षा गरेको बताएका थिए ।