यस्तो छ कांग्रेसको महाधिवेशन तालिका, सदस्यता वितरणदेखि केन्द्रीय महाधिवेशनसम्म
काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन लक्षित क्रियाशील सदस्यता वितरणदेखि विभिन्न तहका अधिवेशनसम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । सबैभन्दा पहिले मंसिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील सदस्यता फारम वितरण सक्ने निर्णय गरिएको छ । त्यसपछि पुस ८ गतेभित्र देशभरका सबै निर्वाचन क्षेत्रमा सदस्यता वितरणको काम पूरा गरिनेछ । नवीकरण भएका क्रियाशील सदस्यहरूको अन्तिम सूची पुस १४ गते कार्यवाहक सभापति र सभापतिसमक्ष बुझाइने कार्यतालिका रहेको छ । विदेशमा रहेका संरचनालाई पनि प्रक्रियामा समावेश गर्दै पुस १५ गतेभित्र जनसम्पर्क समितिहरूको अधिवेशन सम्पन्न गर्ने तयारी पार्टीले गरेको छ । आन्तरिक संरचनाको अधिवेशन श्रृंखला पुस १६ गते सुरु हुने तालिकामा सार्वजनिक गरिएको छ । जसअन्तर्गत गाउँ र नगरका वडा तहका अधिवेशन पुस १५ गते हुने जनाइएको छ । पुस १७ गते गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन र पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गरिने छ । एक मात्र क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन पुस २१ मा गरिने तालिकामा जनाइएको छ । पुस २२ गते एकभन्दा बढी क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरिनेछ । प्रदेशस्तरीय अधिवेशन पुस २३ र २४ गते सम्पन्न हुनेछन् । यस्तै, केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा सञ्चालन गरिने छ ।
सौरभ ग्रुपको सर्वोत्तम स्टील्सले एक वर्षमै गर्यो पौने ९ अर्ब आम्दानी
काठमाडौं । सौरभ ग्रुपको सर्वोत्तम स्टील्सले एक वर्षमा पौने ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) बराबरको कुल सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा २७.२३ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । न्यौपानेले मार्च २०१७ मा सर्वोत्तम स्टील्स प्रालि स्थापना गरेका हुन् । पछि जुलाई २०२१ मा कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरेका थिए । पर्साको वीरगञ्जमा प्लान्ट रहेको कम्पनीले टीएमटी स्टील बार, बिलेट र तारहरू उत्पादन गर्दै आएको छ । कम्पनीको उक्त प्लान्टको उत्पादन क्षमता कुल ७ लाख ६४ हजार १६० मेट्रिक टन रहेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । जसमा दीर्घकालीन ऋण १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ र ५ अर्ब ४१ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले अल्पकालीन ऋणका लागि एफोर प्लस र दीर्घकालिन ऋणका लागि डबल बी प्लस रेटिङ प्रदान गरेको छ । सौरभ ग्रुपको उदय म्यानमारबाट भएको हो । सन् १९६० सम्म विष्णुप्रसाद न्यौपानेका बुबा लीलाराम न्यौपानेले म्यानमारमा रिटेल व्यापार गर्थे । त्यसबाहेक म्यानमार कै शानस्थित लासियो सहरमा उनले बटर बनाउने उद्योग पनि चलाउँथे । सन् १९६० मा राज्यले बाैद्ध धर्म अपनाउने आदेश दिएपछि नेपाली र भारतीय नागरिकहरू म्यानमारबाट निकालिए । त्यसैबेला लीलाराम न्यौपानेले म्यानमार छाडेर नेपालमै व्यापार गरेर स्थापित हुने सोच लिए । व्यापारिक एजेन्सी र बस व्यवसायको थालनी गरेर उनले व्यापार थाले । यस्तै भैरहवामा टेक्सटाइलको होलसेल स्टोर सुरु गरे । त्यो बेला काठमाडौंबाट टेक्सटाइल मगाएर भैरहवामा वितरण गरिन्थ्यो । पछि न्यौपानेले नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडको नेतृत्व पनि लिए । सन् १९६४ मा न्यौपानेको व्यापारले ठूलो रुप लिदै गयो । सन् १९८६ मा जगदम्बा सिमेन्ट उद्योग स्थापना गरे । सन् १९९० को सुरुवातीमा म्यानुफ्याक्चर भेन्चर सुरु गरे । सौरभ फोटो इन्टरनेसनलले कोन्का प्रोडक्ट्सको आधिकारिक डिस्ट्रिब्युटरको काम गर्थ्यो । सन् १९९० मा नेपाली बजारमा उनको बलियो उपस्थीति भयो । आयात निर्यात व्यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले सौरभ ग्रुप सिमेन्ट, स्टील, चिया, धागो, पीपी वुभन फ्याब्रिक, क्याल्सियम कार्वोनेट आदि सामग्रीहरूको उत्पादनमा केन्द्रित छ । यस ग्रुपले कोन्का प्रोडक्टहरू, सिटिजन घडीका पार्टपूजाहरू र अरू चाइनिज सामानहरूको आयात गरेर व्यापारिक क्रियाकलापहरुलाई निरन्तरता दिएको छ । लीलारामको निधनपछि उनका छोरा विष्णुप्रसाद न्यौपानेले सन् १९८८ देखि ग्रुपको नेतृत्व गर्दै आएका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितलाई दियो न्यानो कपडा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । सोमबार आयोजित विभिन्न कार्यक्रममा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बाढी प्रभावितलाई बैंकका तर्फबाट कपडा हस्तान्तरण गरेका थिए । सूर्योदय नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा, तथा इलाम नगरपालिकाका बाढी प्रभावितका लागि १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापना दिवसको अवसरमा इलामका बाढी प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा अनुसार यो कार्यक्रम सम्पन्न गरेको हो ।
समृद्धि फाइनान्सको हिमाल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले हिमाल कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मध्यवर्ती स्तर तथा बीबीए प्रथम सेमेस्टरका ३० जना विद्यार्थी लक्षित उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्था (बीएफआई) सम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रम समृद्धि फाइनान्सका शाखा प्रबन्धक दीपक कुमार श्रेष्ठको नेतृत्वमा सम्पन्न भयो । कार्यक्रममा बीएफआईहरूको कार्यक्षेत्र, रोजगारीका अवसर, बैंक वर्गीकरण, सहकारी तथा बैंकबीचको भिन्नता लगायतका विषयमा विस्तृत जानकारी दिइयो । साथै, वित्तीय क्षेत्रमा रहेको करियर र अवसरबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो । विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्तै जानकारीमूलक तथा उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आरटीजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोडजस्ता डिजिटल सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ ।
राजपत्रमा सूचना प्रकाशित भएसँगै नेपाली कम्युनिस्ट पार्टीले पायो आधिकारिकता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आधिकारिक मान्यता प्राप्त गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूबीच भएको एकीकरण र पुनर्गठनसम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गरेको हो । सोमबार प्रकाशित नेपाल राजपत्रमार्फत पाँचवटा कम्युनिस्ट पार्टीहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको सूचना सार्वजनिक गरिएको हो । राजपत्रमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, जनमत समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी र नेपाल कम्युनिस्ट पार्टी मालेबीच भएको दल पुनर्गठन तथा एकीकरण प्रक्रियाले राजनीतिक दलसम्बन्धी कानुनमा उल्लेखित प्रावधानहरू पूरा गरेको जनाइएको छ । दर्ता, अद्यावधिक र नाम परिवर्तनसहितका सम्पूर्ण कागजातहरू विधिसम्मत भएको पुष्टि गर्दै राजपत्रको अनुसूची ‘ङ मा उल्लेखित आधारमा सूचना प्रकाशित भएको हो ।
कामना सेवा विकास बैंकले पायो अग्राधिकार सेयर निष्कासनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ । विकास बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि धितोपत्र बोर्डमा पेस गरिएको थियो । बोर्डले सबै प्रक्रिया पूरा भएपछि सेयर जारी गर्ने अनुमति दिएको हो । अग्राधिकार सेयर निष्कासनपछि बैंकको पूँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्ने तथा बैंकले व्यवसाय विस्तारका अवसरहरू थप पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार हालको बजार तरलता तथा प्रतिफल दरको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर संस्थागत लगानीकर्ताका लागि उचित माध्यम हुनेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सुदृढीकरणका लागि हकप्रद सेयरका विकल्प स्वरूप अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न सर्कुलरमार्फत गरेको थियो ।
केन्द्रीय समितिको अवैज्ञानिक तालिका, तोकिएको मितिमा महाधिवेशन असम्भव : केसी
काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकले सहमतिमा सार्वजनिक गरेको तालिकाअनुसार १५ औं महाधिवेशन हुनेमा कांग्रेसकै नेताहरूले आशंका व्यक्त गरेका छन् । संस्थापन इतर पक्षका नेता जगदीश्वर नरसिंह केसीले सार्वजनिक गरेको तालिकामा महाधिवेशन गर्न सम्भव नरहेको बताएका हुन् । केसीले एक वर्षमा नसकिएको क्रियाशील सदस्यता नवीकरण र वितरण अब केही दिनमा नसकिने दावी गर्छन् । केन्द्रीय समितिले गर्न नसकिने महाधिवेशनको निर्णय गरेको उनको भनाइ छ । ‘एक सातामा वडादेखि प्रदेशसम्मको अधिवेशन सम्भव हुँदैन । वडाबाट सुरु भएको दश दिनमा केन्द्रीय महाधिवेशन सकाउने तालिका अवैज्ञानिक छ । महाधिवेशन नगर्ने र विशेष महाधिवेशनको प्रस्तावलाई भुत्ते बनाउने उद्देश्यसहित यो तालिका आयो,’ उनले भने ।
५० अर्बको परियोजना अघि बढाउने काम थालिएको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालका अनुसार नेपालकै पुँजीबाटै धेरै ठूला आयोजना निर्माण गर्न सकिने सम्भावना छ । ठूला पूर्वाधार निर्माणका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) स्थापनाको उद्देश्य पनि यही रहेको उनले बताए । उनका अनुसार व्यवसायीलाई समेटेर नेपालकै पुँजी परिचालन गरी ४०–५० अर्ब रुपैयाँका परियोजना अघि बढाउने काम थालिएको छ । नेपालमै लगानीको सकारात्मक वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको उनले स्पष्ट पारे । ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको पनि बताए । महासंघ अध्यक्ष ढकालले भने– ‘वास्तवमा सुरक्षाको कुरा अत्यन्तै महत्वपूर्ण छ । आउने दिनमा कुनै एउटै व्यवसायी वा व्यक्तिभन्दा पनि आम नागरिकलाई आत्मविश्वास दिलाउने खालको सुरक्षा व्यवस्था मिलाइनुपर्छ ।’ सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरन्द्रबहादुर पाण्डेले मुलुकमा चुनावपछि निजी क्षेत्रले लगानी वातावरणमा सुधार हुने अपेक्षा राखेको बताए । निर्वाचनअघि बनेको यो सरकारले नीतिगत विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष पाण्डेले भने– ‘अर्थतन्त्रको कुनै एउटै क्षेत्रमा समस्या आउँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार अनिवार्य छ ।’ उनका अनुसार जेनजी आन्दोलनपछिको सिथिलतालाई सबैले मिलेर सामना गर्दै सबल अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।