विकासन्युज

विदेशी पर्यटकलक्षित नेपालमै पहिलोपटक टुर प्याकेज बीमा, अन्डरराइटर आईजीआई प्रुडेन्सियल

काठमाडौं । हिमालयन गार्डियन नेपाल (एचजीएन) ले नेपालमै पहिलो पटक यन्त्र आधारित टुर प्याकेज बीमा पोलिसी कम्प्रेहेन्सिभ टुरिजम गार्ड (सीटीजी) सुरु गरेको छ । एचजीएनले नेपाल बीमा प्राधिकरणको सहकार्य तथा नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा विदेशी पर्यटकलक्षित टुर प्याकेज बीमा सुरु गरेको हो । यन्त्र आधारित यो बीमा प्रणालीको अन्डराइटर आइजीआई प्रुडेन्सियल रहेको छ । एचजीएनका अनुसार आइजीआई प्रुडेन्सियलले जोखिमको मूल्यांकन गरी पोलिसी जारी गर्नेदेखि जोखिम बहन गर्ने र दाबी भुक्तानीको जिम्मेवारी लिएको छ । एचजीएनले आईजीआईसँगै विदेशी बीमा कम्पनीहरू लिओडिस अफ लन्डन, (इग्ल्यांन्ड), एभरेष्ट रि (बेरमुडा, ह्यान्डओभर रि (जर्मनी), ह्वाटवाई इन्स्योरेन्स (चीन) र इभरप्रो इन्स्यारेन्स (चीन) सँग पनि साझेदारी गरेको छ । त्यस्तै, चिकित्सकीय सहयोगमा ह्याम्स अस्पतालसँग साझेदारी गरेको छ भने उद्दारको लागि अलपाइन रेस्क्यू सर्भिसँग साझेदारी गरेको कम्पनीले जनाएको छ । नेपाल साहसिक पर्यटनका लागि विश्वकै प्रमुख गन्तव्यको रूपमा मानिन्छ । तर पछिल्लो दशकमा हेलिकप्टर सेवाको तीव्र विकाससँगै बीमा ठगीसम्बन्धी गतिविधिहरू बढ्दै गएका छन् । केही हेलिकप्टर कम्पनीहरूले उद्दार खर्च कृत्रिम रूपमा देखाउने गरेका घटनाहरू पनि बेलाबेला बाहिर आउने गरेका छन् ।  साथसाथै केही अस्पतालहरूले पनि अनावश्यक परीक्षण गरी उपचार बिल अस्वाभाविक रूपमा बढाउने, यसमा केही ट्रेकिङ व्यवसायीरूको पनि संलग्न रहेको घटनाहरू आउने गरेका छन् । एचजीएनले साहसिक पर्यटनमा हुने यस्ता गतिविधि रोक्न नसक्नुमा केही कारण औंल्याएका छन् । एचजीएनका अनुसार एउटा कारण अधिकांश अवस्थामा बीमा दाबीहरू सिधै विदेशी बीमा कम्पनीहरूमा दर्ता हुनु  र उनीहरूले उद्दार, हेलिकप्टर र अस्पताललाई सिधै भुक्तानी गर्नु हो । यो अवस्थामा नेपाल सरकार, बीमा प्राधिकरण र अन्य नियामक निकायसँग आवश्यक तथ्यांक र जाँच गर्ने अधिकार नहुँदा समस्या बढेको हो ।  बीमामा मौलाएको यो समस्या उजागर हुन थालेपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन भएपनि समितिले. दोषीलाई निरीक्षण गर्नु, कारबाही नहुनु र आजसम्म पनि छानबिन प्रतिवेदन सार्वजनिक नगर्दा यसले विश्वमा पनि नकारात्मक सन्देश प्रवाह हुने गरेको कम्पनीको धारणा छ । नयाँ प्रणालीबाट हुने व्यवस्था कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रीहरि आचार्यले यो बीमा प्रणाली सञ्चालनमा आएसँगै उद्धार, उपचार र बीमा दाबी प्रक्रियामा देखिँदै आएको विकृति तथा ठगी नियन्त्रणमा सुधार हुने बताए । डीसीईओ श्रीहरि आचार्य । उनका अनुसार सेवा जिपिएस ट्र्याकर डिभाइसमार्फत सञ्चालन हुन्छ । जसले वास्तविक समयममा ट्र्याकिङ र एसओएस अलर्ट सुविधा प्रदान हुने उनले बताए । यसले आपत्कालीन अवस्थामा उद्दार टोली परिचालन गर्नेदेखि लिएर चिकित्सकीय उपचार उद्दार खर्च आकस्मिक सेवा तथा शव वा यात्रु फिर्ता पठाउने सुविधा उपलब्ध हुने छ । डीसीईओ आचार्यका अनुसार यो प्रणालीमार्फत उद्दार र उपचारसम्बन्धी गतिविधि वास्तविक डेटा र ट्र्याकिङ प्रणालीमा आधारित हुने छ । यसले हेलिकप्टर उद्दार खर्चमा हुने अनियमितता, अनावश्यक मेडिकल परीक्षण तथा झुटा बीमा दाबी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । ‘बीमा दाबी यथार्थ, जीपीएस डेटामा आधारित स्वीकृत हुन्छ,’ डीसीईओ आचार्यले भने, ‘यसले झुटा दाबी स्वत : रोकिन्छन् ।’ बीमा प्याकेजहरू एचजीएनले हाललाई यो प्याकेज विदेशी पर्यटकको लागि मात्रै सुरु गरेको छ । कम्पनीका अनुसार साधारण पर्यटकदेखि व्यावसायिक पर्वतारोहीसम्मको लागि फरक–फरक प्याकेजहरू उपलब्ध छन् । सामान्य पर्यटकको १६ डलरदेखि व्यावसायिक पर्वतारोहीको लागि ५ सय डलरसम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ ।  एचजीएनका अनुसार प्याकेजहरूको अवधि न्यूनतम ७ दिनदेखि अधिकतम ६० दिनको हो । अहिलेको लागि १८ देखि ६० वर्षसम्मको लागि यी प्याकेजहरू उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यो प्रणालीअन्तर्गत विदेशी पर्यटकका लागि हाल तीन प्रकारका बीमा प्याकेज उपलब्ध गराएको छ । जसअन्तर्गत टुर बीमा प्याकेज (३, ५०० मिटर सम्म), ट्रेकिङ बीमा प्याकेज (५,५०० मिटर सम्म) र ट्रेकिङ बीमा प्याकेज (५,५०० मिटर सम्म) रहेको छ। टुर बीमा प्याकेजअन्तर्गत चिकित्सकीय तथा दुर्घटना बीमा, उद्धार र अस्पताल सेवा समावेश गरिएको छ । त्यस्तै, ट्रेकिङ बीमा प्याकेजमा चिकित्सकीय तथा दुर्घटना बीमा, उचाइसम्बन्धी उपचार, हेलिकप्टर उद्दार र रियल टाइम ट्र्याकिङ सेवा सुविधा समावेश रहेको छ ।  क्लाइम्बिङ बीमा प्याकेजअन्तर्गत उच्च उचाइ जोखिम बीमा, एएमएस उपचार, आपतकालीन उद्दार र अस्पताल सेवा, उचाई डाटा आधारित निगरानी  समावेश गरिएको छ। एचजीएनले आगमी दिनमा थप नयाँ प्याकेजहरु पनि ल्याउने घोषणा गरेको छ । कम्पनीले सुपर बेसिक (२००० मिटरसम्म) को प्याकेजलगायत नयाँ प्याकेज ल्याउने तयारी गर्नुका साथै आगामी दिनमा नेपालीहरूको लागि पनि बीमा प्रणाली सुरु गर्ने जनाएको छ । 

महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी माघ महोत्सव' सञ्चालन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सुविधा अभिवृद्धिका लागि 'महालक्ष्मी माघ महोत्सव' सञ्चालन गर्ने भएको छ । बैंकले प्रत्येक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिना घोषणा गरेको छ । हाल बैंकको दैनिक कुल कारोबारमा डिजिटल कारोबारको हिस्सेदारी औसतमा ८० प्रतिशत रहेको छ । यसलाई अझ बढावा दिन बैंकले 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एपमार्फत विभिन्न आकर्षक सुविधा थप गरेको छ।  ग्राहकहरूले एपमार्फत मुद्धती खाता खोल्दा व्यक्तिगत मुद्धतीमा प्रदान हुने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याज पाउने छन् । साथै, भर्चुअल र साधारण क्रेडिट कार्डको वार्षिक शुल्कमा १०० प्रतिशत छुट, डेबिट कार्ड जारी र मोबाइल बैंकिङ दर्ता गर्दा १०० प्रतिशत छुट प्राप्त हुनेछ । ग्राहकहरूले मोबाइल एपबाट फार्मेसी बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा २०० रूपैयाँसम्म क्यासब्याक पाउनेछन् । अडियो मार्फत भुक्तानी पुष्टि गर्ने 'कोइली' सेवा दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाका लागि मात्र लागू हुनेछ । बैंकले यस अभियानमार्फत डिजिटल बैंकिङ पहुँच विस्तार, नगद रहित कारोबार बढाउने र प्रत्यक्ष बैंक उपस्थितिको आवश्यकता न्यून गर्ने उद्देश्य राखेको छ । 'सबल बैंक, सफल सहकार्य'को नारासहित बैंकले देशभर १०३ शाखा कार्यालय र करिब ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यस अघि बैंकले भारतीय भुक्तानी सेवा प्रदायक जस्तै फोनपे, भिमपे, यु.पि.आई र गुगलपे मार्फत क्युआर कोड भुक्तानी सुविधा पनि उपलब्ध गराइसकेको छ ।

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

काठमाडौं । एशिया बैंक लिमिटेडको सर्वसाधारण सेयरधनी समूहबाट अनुपा प्रधान राजभण्डारीलाई सञ्चालक पदमा नियुक्त भएकी छन् । बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव भएकी राजभण्डारीले बैंकको सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले यसअघि तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेकी थिइन् । एनआईसी एशिया बैंकले नवनियुक्त सञ्चालक राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारको तर्फबाट स्वागत तथा बधाई ज्ञापन गरेको छ ।  

‘रुख र झन्डा हामीसँगै हुन्छ, संविधान र आयोगले हामीलाई आधिकारिक मान्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गर्ने दाबी गरेका छन् । भृकुटीमण्डपमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले  पार्टीको विधान अनुसार नै विशेष महाधिवेशन भएकोले देशको संविधान र आयोगले यही विशेष महाधिवेशनको निर्णयलाई नै आधिकारिक मान्ने बताएका हुन् । ‘यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, नेपालको संविधान र निर्वाचन आयोगले उसैलाई मान्छ,’ उनले भने, ‘त्यसकारण पार्टीको झन्डा र चुनाव चिह्न के होला भनेर चिन्ता लिनु पर्दैन ।  ‘साथीहरूले झन्डा के होला, रूख के होला भन्ने चिन्ता लिनु भएको होला, चिन्ता लिनु पर्दैन,’ कांग्रेस दुइटा भए पो झन्डा के होला, रूख के होला भन्ने चिन्ता । यो यहीँ छ, यहीँ रहन्छ । कहाँ जान्छ ? कसले लान्छ?,’ थापाले थपे । यस्तै, उनले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।  ‘हामीलाई कारबाही गरेको सुनेका छौं, यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन,’ थापाले भने ।  कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासँगै सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षसम्मका लागि पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।  उनीहरुले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशनको आयोजना गरेका थिए । तर, देउवा पक्ष भने विशेष महाधिवेशनमा सहभागी नभएपछि कांग्रेस फुटेको हो । 

इन्फिनिटी लघुवित्तको ९औं साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध निर्वाचित

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा बुधबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटस्थित सहमति संस्थान, विजय चोकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गर्दै उपस्थित सञ्चालक, अतिथि तथा सेयरधनीहरूलाई स्वागत गरेका थिए । सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्तावहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ। यसैगरी, निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालका अनुसार आगामी कार्यकालका लागि विष्णु कुमार घिमिरे, रामकृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सिनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरिएको छ। सभाको अन्त्यमा उपस्थित सम्पूर्ण सञ्चालक, अतिथि तथा सेयरधनीहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संस्थाले दिएको छ।

कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं : शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू र अर्का महामन्त्री गगन थापा विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् ।  पार्टी सभापति शेबहादुर देउवा पक्षले कारबाही गरेपछि आफूहरू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो प्रतिक्रिया केवल यत्ति छ( कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं ।’ ‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ,’  उनले थपे। साथै शर्माले ‘सहमतिका लागि प्रस्तावित ८ बुँदामा कुन कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?’ भन्दै प्रश्नसमेत गरेका छन् । कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मूल्लाह मंसूरलाई कारबाही गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।  

कांग्रेस फुट्यो, आधिकारिकता खोज्न दुवै पक्ष आयोग र अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेस विभाजन भएको छ । नेतृत्व परिवर्तन गर्न भन्दै महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व चयनको अन्तिम तयारी गरेपछि संस्थापन पक्षले उनीहरूलाई पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेपछि पार्टी विभाजन भएको हो ।  संस्थापन पक्षले सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई समेत कारवाही गरेको छ । उनीहरूले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशनको आयोजना गरेका थिए । तर, देउवा पक्ष भने विशेष महाधिवेशनमा सहभागी भएन ।  विशेष महाधिवेशन पक्ष भने अहिले नेतृत्व चयन गर्दैछ । सभापतिमा गगन कुमार थापाको मात्रै उम्मेदवारी परेको छ भने महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । यो समूहले सबै पदमा निर्विरोध गर्ने तयारी गरेको छ ।  गगन-विश्व पक्षले विशेष महाधिवेशन नै गरेर नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्दा देउवा पक्षले भने उनीहरूलाई कारवाही गरेपछि यो विषयले अर्को नयाँ बहस जन्माएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि गाली नगर्न बताएका हुन् । 'तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनूहोला। कसैको बारेमा टिप्पणी नगरिदिनूहोला। ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्नेछ। केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ। नयाँ निर्णय सुनाउँछौं । दुई दिन पछाडि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छँदैछ,’ उनले भने ।  अब दुवै पक्षले आधिकारिकताका लागि संघर्ष गर्नु पर्नेछ । त्यसका लागि दुवै पक्षले निर्वाचन आयोग र अदालत पनि धाउनेछन् । कांग्रेसका एक नेताले अब यो विषय आयोग र अदालतमा पनि प्रवेश गर्ने जानकारी दिए ।   

विशेष महाधिवेशनले नयाँ समिति चयन गर्छ, देउवा नेतृत्वको टिम भंग भइसक्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा नेतृत्वकाे कार्यसमिति भंग भइसकेकाे बताएका छन् । विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका हुन् । अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने उनको भनाइ छ । कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मूल्लाह मंसूरलाई कारबाही गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।