विकासन्युज

‘कुलडाउन’ हुन समय नलिई अधुरा काम पूरा गर्न कार्यक्षेत्रमा खटिएँ : पहाडी

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले आफू ‘कुलडाउन’ हुन समय नलिई कम्पनीका अधुरा काम पूरा गर्न र कम्पनीलाई थप उचाइमा पुर्‍याउन कार्यक्षेत्रमा खटिएको बताएकी छन् । नेपाल टेलिकम वर्कर्स युनियनको ३५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्पनीको हितमा आफू पूर्ण प्रतिबद्ध भएर काम गरिरहेको बताएकी हुन् । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेपछि पहाडी स्वतः निलम्बनमा परेकी थिइन् । उनी २०८१ भदौ २१ मा नेपाल टेलिकमको पहाडी प्रबन्ध निर्देशकमा नियुक्त भएकी  थिइन् । तर अदालतबाट सफाइ पाएपछि पुनः कार्यालय फर्किएकी हुन् । आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो । पहाडीसहित टेलिकमका १४ जना कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । हाल ती सबैजनाले सफाइ पाएका छन् ।  उनले ‘न्याय मरेको छैन, न्याय जीवितै छ’ भन्दै कर्मचारीहरूलाई नीति तथा नियमको पालना गर्दै नडराई काम गर्न आग्रह गरिन् ।  कम्पनी र कर्मचारीको हितका लागि अझ बढी प्रतिबद्ध भएर काम गर्न उनले कर्मचारीहरूलाई शुभकामना पनि दिइन् । प्रबन्धक निर्देशक पहाडीले भनिन्, ‘यस कम्पनीमा पुनर्बहाली मेरोमात्र भएको छैन, अरू साथीहरूको पनि पुनर्बहाली भएको छ र उहाँहरूलाई पनि हामीले आ-आफ्नो कर्म क्षेत्रमा खटाइसकेका छौं ।’  कर्मचारीहरूलाई अहिले केही समय कुलडाउन हुन समयसमेत दिएको उनले बताइन् । 

काठमाडौं महानगरले महेन्द्र भवन विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौं महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबीच सम्झौता भएको हो । सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरे । सम्झौतामा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, मानव स्रोत सुदृढीकरण तथा दीर्घकालीन गुरुयोजनामार्फत विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ‘नमूना विद्यालय’ बनाउने उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महेन्द्र भवन र महानगरबीच भएको सहकार्य विद्यालयको शैक्षिक पुनर्जीवनको ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरिन् । विगतमा उत्कृष्ट शैक्षिक पहिचान बनाएको महेन्द्र भवनलाई पुनः उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्ने जिम्मेवारी महानगर र गुठी दुवैको रहेको उनको भनाइ छ । उनले महेन्द्र भवनलाई ‘सेन्टर अफ एजुकेसन एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताइन् । विद्यालयलाई पुनः उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘महेन्द्र भवन माध्यमिक विद्यालय, काठमाडौं र महानगरबीचको यो सम्झौता विद्यालयका लागि टर्निङ प्वाइन्टका रूपमा होस् । यो अब उकालो चढ्ने टर्निङ प्वाइन्ट हुनुपर्छ । महेन्द्र भवन विद्यालय पहिले धेरै राम्रो थियो । सबैलाई त्यो विद्यालयमा पढ्न मन लाग्थ्यो । त्यो विद्यालयले छुट्टै पहिचान बोकेको थियो । हाल विद्यालय केही ‘डाउनफल’ मा गएको भन्ने छ ।’ सम्झौताअनुसार अब विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ राखिनेछ, जसका लागि आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया अघि बढाइने सम्झौतामा उल्लेख छ । समझदारीपत्रमा विद्यालय सञ्चालनका लागि निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको छ । समितिको संयोजक काठमाडौं महानगरपालिकाका उपप्रमुख रहनेछन् भने गुठीका अध्यक्ष सह–संयोजक हुनेछन् । सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, महानगरको शिक्षा विषयगत समितिका संयोजक तथा शिक्षा विभाग प्रमुख समितिमा रहने व्यवस्था गरिएको छ । यस्तै, हाल कायम नौ सदस्यीय शैक्षिक गुठीमा महानगरबाट आठ सदस्य थप गरी १७ सदस्यीय बनाइने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार विद्यालयको पूर्वाधार मर्मत, पुनर्निर्माण तथा विस्तारका लागि गुरुयोजना तयार गरी त्यसअनुसार बजेट व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाले लिएको छ । विद्यालय परिसरमा विशेष विद्यालय, खेलकुद एकेडेमी तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ । विद्यालयको नाम कुनै सहयोग वा साझेदारीका कारण परिवर्तन गर्न नपाइने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ । महेन्द्र भवन माध्यमिक आवासीय विद्यालय वि.सं. २०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा स्थापना भएको थियो । पछिल्लो एक दशकदेखि विद्यार्थी सङ्ख्या घट्दै जाँदा विद्यालय सञ्चालन तथा व्यवस्थापनमा चुनौती देखिएको थियो । महानगर र गुठीबीचको सहकार्यले विद्यालयको भौतिक तथा शैक्षिक पुनरुत्थान गर्ने अपेक्षा गरिएको छ ।

सडक निर्माणमा ८ लाख अनियमितता, १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी फागोटी ग्रामीण सडक निर्माणका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजनाअन्तर्गत वास्तविकभन्दा बढी काम भएको देखाई झुट्टा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तथा बिल–भरपाई तयार गरी ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बढी भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ । अख्तियारका अनुसार कार्यसम्पन्न प्रतिवेदनमा एक हजार २०० घनमिटर ग्याबिन जालीसहित ढुङ्गा भरिएको उल्लेख गरिए पनि स्थलगत नापजाँचमा ९३९ दशमलव ५० घनमिटर मात्र काम भएको पाइएको थियो । अर्थात् २६० दशमलव ५० घनमिटर कम काम गरेर पनि बढी भुक्तानी लिएको आयोगको निष्कर्ष छ । यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, तत्कालीन लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, तत्कालीन सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह विरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो, कैद र जरिवानाको मागदाबी गरिएको छ । यस्तै, तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बम तथा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमलबहादुर बम विरुद्ध पनि भ्रष्टाचारमा मतियार बनेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं । व्यवसायी शंकर अग्रवाल पुन: पक्राउ परेका छन् । बुधबार (आज) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्बेदीले उनलाई पक्राउ गरिएको विकासन्युजलाई जानकारी दिए।  शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाललाई बैंक कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । अग्रवाल यसअगाडि पनि पक्राउ परेका थिए । उनी गतवर्षको  चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए र सोही प्रकरणको बयान सकिएपछि हाजिरी जमानीमा छुटेका थिए ।

रास्वपा एकीकरण : गाभिएको ७ महिनापछि बल्ल राजपत्रमा सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विवेकशील साझा पार्टी र हाम्रो पार्टी नेपाल समाहित भएको सात महिनापछि राजपत्रमा बल्ल ती दल गाभिएको सूचना प्रकाशित भएको छ । विवेकशील पार्टी गत वर्षको मंसिर १४ गते रास्वपामा समाहित भएको थियो । त्यस्तै, हाम्रो पार्टी नेपाल पुस २९ गते समाहित भएको थियो । तर राजपत्रमा सूचना भने साउन ४ गते मात्रै आयो  । ती दल एकीकरण भएर निर्वाचनमा भाग लिएको ७ महिनापछि निर्वाचन आयोगले विवेकशील साझा पार्टी र हाम्रो पार्टी नेपाललाई रास्वपामा गाभ्ने निर्णयको औपचारिक सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो । पार्टी एकता भएको यति लामो समयपछि बल्ल किन सूचना प्रकाशित भएको होला भन्ने जिज्ञासामा निर्वाचन आयोगका प्रवक्ता सुमन घिमिरेले आफूलाई जानकारी नभएको बताए ।  उनले भने, ‘आयोगले त पहिल्यै निर्णय गरेको थियो । तर राजपत्रमा ढिलोगरी सूचना कसरी प्रकाशित भयो ? मलाई यसबारेमा केही पनि थाहा छैन ।’ नेपाल राजपत्र भाग–५, खण्ड ७६, संख्या २२ मा प्रकाशित सूचनाअनुसार आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम दुवै राजनीतिक दललाई राष्ट्रिय स्वतन्त्र पार्टीमा गाभी सोही नाममा राजनीतिक दल कायम गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका निमित्त सचिव नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा उक्त निर्णय ऐनको दफा १० को उपदफा ८ बमोजिम राजपत्रमा प्रकाशन गरिएको उल्लेख छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै विवेकशील साझा पार्टी र हाम्रो पार्टी नेपालको छुट्टै कानुनी अस्तित्व समाप्त भई उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् ।  अब दुवै दलका संगठनात्मक संरचना, सदस्यता तथा राजनीतिक गतिविधि रास्वपाकै नामबाट सञ्चालन हुनेछन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दुई वा दुईभन्दा बढी राजनीतिक दल आपसी सहमतिमा एकीकरण हुन सक्ने व्यवस्था गरेको छ ।  आयोगले त्यस्तो एकीकरणलाई स्वीकृति दिएपछि राजपत्रमा सूचना प्रकाशन गरी त्यसलाई औपचारिक कानुनी मान्यता दिने व्यवस्था रहेको छ ।

जब एकैपटक चार समान चम्ल्याहा छोरी जन्मिए...

काठमाडौं । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् । चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ ।      क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले गत १४ जुलाईमा सिजेरियन शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिएकी हुन् । यसअघि नै चार सन्तानकी आमा रहेकी नामोना र उनका पति जोर्थमले थप सन्तान जन्माउने योजना नबनाएका बेला चौगुना गर्भ रहेको जानकारी पाएपछि परिवार नै आश्चर्यमा परेको अस्पतालले जनाएको छ ।      नामोनाको उपचारमा संलग्न मातृ–भ्रूण विशेषज्ञ डा. एलेक्सा बेन्डलका अनुसार चारै शिशु एउटै निषेचित अण्डाबाट विकसित भएका हुन् । गर्भाधानपछि अण्डा चार भागमा विभाजित हुँदा समान चम्ल्याहा शिशुको जन्म भएको उनले बताए । उनका अनुसार यस्तो घटना विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र अस्ट्रेलियामा यसअघि यस्तै प्रकृतिको जन्म भएको जानकारी उनीहरूसँग छैन ।      चिकित्सकीय तथ्याङ्कअनुसार प्राकृतिक रूपमा चम्ल्याहा गर्भधारण हुने सम्भावना करिब सात लाखमध्ये एक मात्र हुन्छ । तर एउटै निषेचित अण्डाबाट समान चम्ल्याहा (चार) शिशु जन्मिने सम्भावना अझ निकै कम रहने भएकाले यस घटनाले चिकित्सकहरूको समेत ध्यान आकर्षित गरेको छ । अधिकांश चम्ल्याहा गर्भधारण भने सहायक प्रजनन प्रविधिको प्रयोगपछि हुने गरेका छन् ।      चारै भ्रूणले एउटै प्लेसेन्टा साझा गरेका कारण नामोनाको गर्भावस्था उच्च जोखिमयुक्त थियो । यस्ता अवस्थामा समयपूर्व प्रसूति, गर्भपतन, जन्मजात समस्या तथा अन्य जटिलता देखिने जोखिम उच्च हुने भएकाले गर्भावस्थाको १०औँ सातादेखि नै विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको नियमित निगरानी गरेको थियो । २५औँ सातामा उनलाई अस्पतालमै भर्ना गरी निरन्तर उपचार तथा निगरानी गरिएको थियो ।      डा. बेन्डलले २८ हप्ता चार दिनको गर्भावस्थामै चार स्वस्थ शिशुको जन्म हुनु निकै उत्साहजनक उपलब्धि भएको बताए । शल्यक्रियाका क्रममा आमामा सामान्य रक्तस्राव भए पनि अवस्था नियन्त्रणमै रहेको र अहिले उनको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिए ।      हाल चारै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसीयू) मा उपचार भइरहेको छ । उनीहरूको नाम एमिली, ह्यारिएट, क्याथरिन र एलेक्सा राखिएको छ । तीमध्ये एक शिशुको नाम आफ्नो सम्मानमा राखिएको जानकारी दिँदै डा. बेन्डलले यसलाई सुन्दर सम्मानका रूपमा लिएको बताए ।      उनले चिकित्सकीय रूपमा यो घटना अत्यन्त अध्ययनयोग्य भए पनि आफूका लागि सबैभन्दा ठूलो खुसी स्वस्थ आमासहित चार स्वस्थ शिशुलाई सुरक्षित रूपमा संसारमा ल्याउन सफल हुनु रहेको उल्लेख गरे । रासस   

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक भएका छन्  । बुधबार (आज) अपरान्ह बसेको बैठकले विभिन्न ७ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू : १. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने। २. श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारीलाई तोक्ने । ३. गुठी संस्थानको प्रशासक पदमा श्री शैलेशराज कुँवरलाई नियुक्त गर्ने । ४. २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने । ५. अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति, र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबिच मिति २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने ।  सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखितहरु आजैका मितिदिेखि अवैध घोषणा गर्ने । ६. गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने । ७. आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने ।

गणेश नेपालीको आत्मदाह प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन

काठमाडौं । सरकारले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।  बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको हो ।