विकासन्युज

गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले उत्प्रेरित गरोस्: उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नव सङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता र सकारात्मकता ल्याउने उल्लेख गरे । उनले नयाँ वर्षले सामाजिक र सांस्कृतिक स्तरमा अपनत्व, सहिष्णुता र भाइचारालाई मजबुत बनाउने अवसर पनि प्रदान गर्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपति यादवले यस अवसरमा आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा जलवायु परिवर्तनजस्ता विषयमा एकजुट भई अघि बढ्ने दृढ सङ्कल्प लिन जरुरी रहेको उल्लेख गरे । उनले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरे ।  उनले नववर्षको शुभारम्भसँगै तराई-मधेसका केही क्षेत्र विशेषमा मनाइने ‘सतुवाइन’ ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ पर्व तथा काठमाडौँ उपत्यकामा आयोजना हुने ‘विस्काजात्रा’ (विश्वध्वजपातन) को पनि सबै नेपालीमा शुभकामना व्यक्त गरे ।  यी पर्व/जात्राले आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिव्यक्त गर्न सघाउने र यसले सांस्कृतिक विविधता र ऐतिहासिक परम्पराको गौरवलाई पनि उजागर गर्ने उनको भनाइ छ । ‘हाम्रा पर्व/जात्रा/विशेष अवसरले नेपालको मौलिक पहिचानलाई थप बलियो बनाउँदै सामाजिक समरसता र राष्ट्रिय एकतालाई जीवन्त राख्ने कार्यमा योगदान पुर्याउँछन्,’ उपराष्ट्रपति यादवले भने, ‘सिरुवा पावनीमा परिवारजनबीचको आत्मीयता र विस्का जात्रामा समुदायगत सहभागिताले हाम्रो सांस्कृतिक विरासतलाई पिँढीदर पिँढी जीवित राख्न सघाउँछ ।’

लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीको उनीहरुको साथबाट खैरो हेरोइन २२४ ग्राम र अफिम ५२ ग्रामसहित १० जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ । सो ब्यूरोबाट खटिएको प्रहरीले झापा गौरीगञ्ज गाउँपालिका-३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोसी गाउँपालिका-६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका ३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो । यसैगरी, दोलखा शैलुङ गाउँपालिका-२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहितबहादुर राना र पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७६० मिलिग्रामसहित पक्राउ गरेको हो । यसैगरी, काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई किलो ९६० ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीलङ्कन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो । 

अण्डाको मूल्य १५ रुपैयाँ बढ्यो, उत्पादन लागत प्रतिगोटा १९.१२ रुपैयाँ

काठमाडौं । अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ । लेयर्स कुखुरा पालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५ रुपैयाँले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो अण्डा ४०० रुपैयाँमा बिक्री हुँदै आएको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट ५५० रुपैयाँ थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ । नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आउने क्रम घटेको छ । यिनै कारणले अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढेको हो । यद्यपि लागत मूल्यमा पुग्न सकेको छैन । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९.१२ रुपैयाँ पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका छन् । मूल्य बढ्ने आशमा किसान रहेका छन् । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ । अध्यक्ष पोखरेलले अब अण्डाको मूल्य बढेर लागत मूल्यसम्म पुग्ने अपेक्षा गरिएको बताए । 

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् ।  नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक पर्ने धारणा राखे । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका संवत् हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्वपूर्ण हिस्सा भएका उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताए ।  ‘हामी नेपालीले नववर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यका लागि प्रतिज्ञा र सङ्कल्प गर्ने शुभसाइतका रूपमा लिँदै आएका छौँ,’ उनले भने, ‘विशेष पर्व र दिनमा जीवनका लक्ष्य निर्धारण गर्ने र त्यसलाई पूरा गर्न सङ्कल्पबद्ध रहने हाम्रो परम्परा रहिआएको छ ।’ राष्ट्रपति पौडेलले हालै मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको बताउँदै जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको उल्लेख गरे । ‘यो निर्वाचनमार्फत नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन्,’ उनले भने, ‘यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने सङ्कल्प गरौँ भन्ने पनि चाहेका छन् ।’ हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न केही सङ्कल्प गर्नुपर्ने उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, वचन र कर्मले निष्ठ रहने सङ्कल्प गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने, सुशासनप्रति प्रतिबद्ध रहनुपर्ने, समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध हुनुपर्ने तथा जस्तोसुकै परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने गरी काम गर्नुपर्ने उल्लेख गरे । राष्ट्रपति पौडेलले नयाँ वर्षले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्प र सामर्थ्य पैदा गरोस् र नेपालीका बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरित गरोस् भन्ने कामना गरे ।

नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै

काठमाडौं । विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ । योसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लास पूर्वक मनाइँदैछ । वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने जुडशीतल पर्वमा मिथिलाञ्चलनमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ । वैशाख १ र २ गते मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ । विक्रम सवत् सुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने परम्परा रहिआएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्णले बताए । उनका अनुसार आज ‘सतुवाइन’ विधिसँगै यो पर्व मनाउन सुरु भएको हो । मिथिलामा सौरमास गणनामा मनाइने थोरै पर्वमध्ये ‘जुडशीतल’ पनि पर्दछ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर यो पर्वलाई ‘जुडशीतल’ भनिएको प्राचार्य कर्णले जानकारी दिए । ‘पर्वको पहिलो दिन आज चना वा बदाम, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ,’ उनले भने ।  बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको प्राचार्य कर्णले जानकारी दिए । उनका अनुसार पर्वको दोस्रो दिन घरघरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशिर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृतिका ज्ञाता एवं संस्कृतिविद् ध्रुव रायले बताए । यही कारणले पर्वमा चना वा बदामको सातु, दाल, सोहिजन ९मुँग० को तरकारी, बदामको पिठोबाट बनाइएका बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा रहिआएको उनले जानकारी दिए । संस्कृतिविद् रायका अनुसार सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मिथिलाबासी एकापसमा धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा छ । नयाँ वर्षको प्रारम्भमा धुलो र हिलो खेल्ने परम्पराले कृषि कर्ममा निरन्तर जुटिरहन प्रेरित गर्ने उनको भनाइ छ । ‘यो पर्वमा माटोसँग जोडिएर रहन प्रतिकात्मक रूपमा हिलो खेल्ने परम्परा छ । यो प्रचलनभित्र कहिल्यै कृषि कामको कमी नहोस् भन्ने सन्देश छ,’ स्थानीय ज्येष्ठ नागरिक भुवनेश्वर प्रसाद सिंहले भने । उनका अनुसार पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । मधेसका मिथिला क्षेत्रका जिल्ला र सीमावर्ती भारतका सीतामढी, झञ्झारपुर, शिवहर र सीतामढीसहित जिल्लामा यो पर्व उल्लासका साथ मनाउने गरिन्छ । यो पर्वले आपसी सद्भाव, सहकार्य, समन्वयको सन्देश दिने पाका मैथिली सदस्य बताउँछन् । नयाँ वर्षको प्रारम्भ कृषिसँग जोडेर पूर्वजहरूले ‘कृषि मूलश्च जीवनम्’ भन्ने सन्देश पर्वमार्फत् दिएका लोकपरम्परा र संस्कृतिका ज्ञाता कामेश्वर झाले बताए । 

अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३७ पैसा र बिक्रीदर २०१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ छ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९० पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ छ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ तीन पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र बिक्रीदर २३ रुपैयाँ ४४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

वाणिज्य विभागको सक्रियता, एकै दिन ५४ फर्ममा अनुगमन

काठमाडौं । बजार अनुगमन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकै दिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुगमन गरेको हो । कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले एकै दिन ५४ वटा फर्ममा अनुगमन गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले उल्लेख गरेको छ । विभागले काठमाडौं महानगरपालिका-१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुगमन गरेको थियो । विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, सरोकार भएकाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजारको अनुगमन गर्दै आएको जनाएको छ । 

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, देवर-भाउजूबीच सिस्नो लगाएर ठट्टा गर्ने चलन

काठमाडौं । ‘वर्ष दिनकी एकै बिसु: बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका सीमा नाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ । जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको सङ्ख्या उल्लेख्य छ । नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन् । बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुख दुःख साटासाट गर्ने चलन रहिआएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूर्वअध्यक्ष हरिप्रसाद जोशीले बताए । उनका अनुसार यस पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, लाउन (पुरी), बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारिन्छन् । यी परिकार केवल खानाका रूपमा सीमित नभई पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीको प्रतीकका रूपमा रहेको जोशीले बताए । उनका अनुसार बिसु पर्वको अर्को महत्वपूर्ण पक्ष बिहानै अनिवार्य स्नान गर्ने हो । उनले भने, ‘बिहान ब्रह्ममुहूर्तमा नुहाएपछि रोगव्याध हट्ने र शरीर शुद्ध हुने जनविश्वास रहिआएको छ । ननुहाए ‘विष लाग्ने’ भन्ने मान्यता पनि प्रचलित छ ।’ स्नानपछि देव दर्शन गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने र परिवारसँग बसेर मिठामसिना परिकार खाने चलनले धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने जोशीको भनाइ छ । उनका अनुसार बिसु पर्वमा बिहानैदेखि महिलाहरू घरायसी परिकार तयार पार्न व्यस्त हुन्छन् । स्नानपछि देव दर्शन गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर टिकोटालो गर्ने, मिलेर मौलिक परिकार खाने र भलाकुसारी गर्ने परम्पराले सामाजिक एकता र आत्मीयता बढाउने उहाँले विश्वास व्यक्त गरे । ‘यो पर्वको सबैभन्दा रोचक र मौलिक पक्ष ‘सिस्नो लगाउने’ चलन हो । देवर-भाउजूबीच रमाइलोका रूपमा सिस्नो लगाएर ठट्टा गर्ने चलनले परिवारभित्रको सम्बन्धलाई हाँसो, माया र नजिकपनले भरिदिने गर्छ,’ स्थानीय संस्कृतिका जानकार तर्कराज भट्टले भने, ‘भाउजू नभएकाहरूले आफैंले सिस्नो छुने चलन पनि छ । यसले शरीरका विकार हट्ने, जाडोको असर कम हुने र बाथजस्ता रोग नलाग्ने विश्वास गरिन्छ ।’  शुक्लाफाँटा नगरपालिका-११ का शङ्करदत्त जोशीका अनुसार पहिले पर्वमा सिस्नु लगाउने चलन निकै उत्साहका साथ मनाइन्थ्यो । ‘सिस्नो लगाउन आएका देवर देखेर भाउजू लुक्ने गर्दथे । लुकेको ठाउँ पत्ता लगाएर सिस्नो लगाइन्थ्यो । भाउजूले पनि यसलाई सहज रूपमा स्वीकार्थे । लुकेर देवरलाई खोज्न लगाउने र सिस्नो लगाउनेसम्मको रमाइला दृश्य हुन्थे,’ उनले भने । पछिल्लो समय यस्तो रौनक विस्तारै हराउँदै गएको उनको भनाइ छ । ज्योतिषीय दृष्टिले बिसु पर्वलाई ‘अकाट्य’ वा ‘अपुच्छय’ दिनका रूपमा लिइन्छ । स्थानीय दामोदर जोशीका अनुसार यसदिन विवाह, व्रतबन्ध, गृह प्रवेशलगायत शुभकार्यका लागि साइत हेर्नु वा ज्योतिषलाई सोध्नु आवश्यक पर्दैन । आज सिधै गरिएका कार्य पनि शुभ फलदायी हुने विश्वास रहेको उनले बताए । बिसुलाई वर्षभरिका चाडपर्वहरूको समापन र नयाँ वर्षको स्वागत गर्ने दिनका रूपमा लिने गरिएको जोशीले बताए ।  ‘यसदिन पुराना दुःख, असफलता र थकानलाई बिदाइ गर्दै नयाँ उर्जा र आशासहित जीवनलाई अगाडि बढाउने सांस्कृतिक सन्देश दिइन्छ । यही कारण बिसु सुदूरपश्चिमको मौलिक पहिचान बोकेको महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ,’ उनले भने ।  आधुनिक जीवनशैली, बसाइँसराइ र व्यस्तताका कारण केही परम्परागत अभ्यासहरू ओझेलमा पर्दै गएकामा जोशीले चिन्ता व्यक्त गर्नुभयो । विशेषगरी देवर-भाउजूबीचको सिस्नो लगाउने चलन, सामूहिक भेटघाट र लामो समयसम्म चल्ने भलाकुसारी अहिले घट्दै गएको उनले बताए ।   परिवर्तनका बीच पनि बिसु पर्वको मूल सार भने अझै जीवित रहेको उनको भनाइ छ । उनका अनुसार परिवारप्रतिको माया, आफन्तबीचको सम्बन्ध, सामाजिक सहकार्य र सांस्कृतिक निरन्तरताको भावना यस पर्वमा अझ मजबुत रूपमा देखिन्छ ।​​​​​​​ सुदूरपश्चिममा मनाइने बिसु पर्वले समयसँगै रूप परिवर्तन गरे पनि यसको आत्मा भने उस्तै सशक्त र जीवन्त रहँदै आएको जानकारहरू बताउँछन् ।