ङादी ग्रुप पावरको लाभांश घोषणा
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांश पारित गरी वितरणका लागि कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा हुनेछ । साधारण सभाले लाभांश प्रस्ताव पारित गर्नेबाहेक, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । साथै, कम्पनीले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन तथा समितिबाट भएका निर्णय र कार्य अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
५ करोडमा बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण हुँदै
तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण थालिएको छ । हाल ‘फाउण्डेसन’को काम जारी छ । पुलको लागत पाँच करोड १० लाख ३३ हजार रुपैयाँ हो ।
बालाचतुर्दशी : डोलेश्वर, ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज
भक्तपुर । डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लागेको हो । चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयमा पनि शतबीज छर्नेको भीड लागेको छ । केही वर्ष अगाडिसम्म शतबीज छर्न पाशुपत क्षेत्र जाने गरेका यहाँका स्थानीय डोलेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको निर्माण भएसँगै डोलेश्वर महादेवको मूल दीपबाट बत्ती सल्काएर यहीँ महादीप बालेर शतबीज र्छन थालेका हुन् । त्यसैगरी, चाँगुनारायण नगरपालिका–५गोकुलधाम एवं मच्छेनारायण मन्दिर, सूर्यविनायकको सिपाडोलस्थित आशापुरी महादेव गुण्डुको अनन्तलिङ्श्वर मन्दिर परिसरमा स्थानीयले शतबीज छरेका छन् ।
रोहित पौडेलले फिनिक्स कलेजमा सुरु गरे व्यवस्थापन अध्ययन, कलेजले दियो पूर्ण छात्रवृत्ति
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले क्रिकेट खेलसँगै शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन् । क्रिकेट खेलमा शिखर चुमिरहेका कप्तान पौडेलले अब व्यवस्थापन अध्ययनमार्फत आफ्नो करियरका नयाँ आयाम खोल्न लागेको फिनिक्स कलेजले जनाएको छ । क्रिकेटको स्टारडम बीच पनि पौडेलले शैक्षिक यात्रालाई प्राथमिकता दिएका पौडेललाई स्वागत गर्दै कलेजले १०० प्रतिशत छात्रबृत्ति उपलब्ध गराएको छ । पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास व्यक्त छ । कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने, 'हामी देशका लागि योगदान पुर्याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ । शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।' यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुबै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ ।
यस्तो छ बुधबारका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४८ पैसा र बिक्रीदर १४२ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८६ पैसा र बिक्रीदर १६४ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ९५ पैसा र बिक्रीदर १८६ रुपियाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७८ रुपियाँ २२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ९९ पैसा र बिक्रीदर ९२ रुपियाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८३ पैसा र बिक्रीदर १०१ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ६१ पैसा र बिक्रीदर १०९ रुपियाँ ०७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५२ पैसा र बिक्रीदर ३८ रुपियाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ९८ पैसा र बिक्रीदर ३४ रुपियाँ १२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६६ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९० पैसा र बिक्रीदर १४ रुपियाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १७ पैसा र बिक्रीदर १८ रुपियाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ २६ पैसा र बिक्रीदर ३७६ रुपियाँ ८६ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६९ रुपियाँ ०२ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
एआई र विद्युतीय गाडीमा साओमीको सफलता, कुल आम्दानी १ हजार ११० अर्ब भन्दा बढी
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी (साओमी) ले विद्युतीय गाडी, कृत्रिम बुद्धिमत्ता (एआई) तथा अन्य नयाँ प्रविधि समेटिएको आफ्नो व्यावसायिक शाखाले पहिलोपटक त्रैमासिक नाफा कमाएको घोषणा गरेको छ । कम्पनीका अध्यक्ष लु वेइबिङका अनुसार, आगामी वर्ष मोबाइलमा प्रयोग हुने स्मृति चिपको मूल्य तीव्र रूपमा बढ्ने भएकाले बजारमा थप चुनौती देखिनेछ । साओमीले किफायती मोबाइल, ट्याब्लेट र घरायसी उपकरणको माध्यमबाट विश्व बजारमा आफ्नो पहिचान बनाएको हो । तर विद्युतीय गाडीको भीडपूर्ण क्षेत्रमा यसले गत वर्ष मात्रै प्रवेश गरेको थियो । यससँगै, कम्पनीले यस वर्ष आफ्नै प्रविधिमा आधारित कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गर्दै प्रविधि प्रतिस्पर्धामा नयाँ चरण सुरू गरेको छ । कम्पनीका अनुसार, चालू वर्षको तेस्रो त्रैमासमा विद्युतीय गाडी, कृत्रिम बुद्धिमत्ता तथा नयाँ प्रविधि सम्बन्धी शाखाले करिब ७ अर्ब रुपैयाँ बराबरको सञ्चालन नाफा कमाउन सफल भयो । यही शाखाबाट प्राप्त आय अहिलेसम्मकै उच्च रहेको बताइएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म साओमीको कुल आम्दानी १ हजार ११० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जसमा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा २२ प्रतिशत वृद्धि देखिन्छ । समायोजित शुद्ध नाफा पनि ८१ प्रतिशतले बढेर ११३ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि आर्थिक नतिजा उत्साहजनक रहे पनि, पछिल्ला छ महिनामा कम्पनीको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको छ । विशेषज्ञहरूले कृत्रिम बुद्धिमत्ताका उपकरणप्रतिको बढ्दो मागका कारण स्मृति चिपको मूल्य तीव्र उकालो लाग्नु र बजारमा मूल्य युद्ध चर्किनु कम्पनीका प्रमुख चुनौती भएको बताउँछन् । अध्यक्ष लु वेइबिङले भने, ‘आगामी वर्ष मूल्य र आपूर्ति शृङ्खलामा पर्ने दबाब यस वर्षभन्दा धेरै ठूलो हुनेछ, जसले धेरै वस्तुको खुद्रा मूल्य उल्लेखनीय रूपमा बढाउनेछ ।’ चीनको सुस्त आन्तरिक खर्च, आवास क्षेत्रको दीर्घकालीन ऋण सङ्कट र कमजोर उपभोक्ता भरोसाले समग्र बजार वातावरण नै अनिश्चित बनेको विश्लेषकहरूको भनाइ छ ।
नेप्सेमा थपियो १८ अर्ब २ करोड रुपैयाँको सेयर, बोनस मात्रै पौने २ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा पौने २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । चालु आवको असोज मसान्तसम्ममा नेप्सेमा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । साथै, नेप्सेमा १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेप्सेमा असोज मसान्तमा सूचीकृत ८ अर्ब ९२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५३.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख रुपैयाँ बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौंले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौंको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेट किपर), सन्नी पटेल, जोन सिम्पसन (विकेट किपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् । सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । उनी नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेट किपर), अविनाश बोहरा, दीपक बोहरा (विकेट किपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेट किपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेट किपर) र हिम्मत महरा छन् । काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा ८ टोली सहभागी छन् ।