विकासन्युज

‘पर्यटन प्रवर्द्धनका लागि महोत्सव पर्यटन दौड : भारत र चीनबाट आउने पर्यटकमा वृद्धि’

काठमाडौं । पोखराको लेकसाइडमा आयोजित फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पर्यटन दौड सम्पन्न भएको छ । नयाँ वर्ष २०८१ को स्वागतार्थ आयोजित यस दौडमा स्थानीय बासिन्दा, पर्यटक र खेलाडीहरू गरी ३५ जना भन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । दौडको मुख्य उद्देश्य पोखराको पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ ।  महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको यस दौडमा ३ किलोमिटरको विधा समावेश गरिएको थियो । दौड खहरेबाट अम्बोटसम्म भएको थियो । यस दौडमा विश्वका विभिन्न २८ देशका पर्यटकहरूले उत्साहजनक सहभागिता पर्यटन दौड संयोजक प्रतिक पहारीले बताए । अस्ट्रेलिया, क्यानडा, युरोप, भारत र चीन लगायतका विभिन्न मुलुकबाट आएका पर्यटकहरूले यस दौडमा भाग लिएका थिए ।  नयाँ वर्षको अवसरमा विदेशी पाहुनाहरूलाई नेपाली संस्कृतिसँग परिचित गराउने र उनीहरूलाई अपनत्व महसुस गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको पर्यटन दौड संयोजक पहारीले जानकारी दिए । २१ औँ फेवा नयाँ वर्ष महोत्सव (स्ट्रिट फेस्टिभल) को अवसरमा आयोजित यस कार्यक्रमले पोखराको पर्यटन क्षेत्रमा ठूलो ऊर्जा थपेको छ । संयोजक पहारीका अनुसार हाल पोखराका होटलहरूमा ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको छ, जसले व्यवसायीहरूमा उत्साह जगाएको छ । विदेशी पर्यटकहरूलाई नेपाली परम्परा र संस्कृतिसँग जोड्ने एउटा महत्वपूर्ण कडीको रूपमा यो इभेन्ट स्थापित भएको उनले बताए । उनले भने, ‘हाम्रो मुख्य योजना विदेशीहरूलाई नेपाली नयाँ वर्षको बारेमा जानकारी दिने, उनीहरूलाई सांस्कृतिक रूपमा घुलमिल गराउने र यो उत्सव उनीहरूकै पनि हो भन्ने महशुस गराउनु हो । होटल एशोसिएशनको टिम वर्कले गर्दा हामीले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्यौँ ।’ केही समयअघिको राजनीतिक आन्दोलन र अस्थिरताका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः लयमा फर्किन थालेको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका संयोजक मोडी लामिछानेले बताए । उनले नेपाल पर्यटन बोर्ड र स्थानीय पर्यटकीय संघसंस्थाहरूको सक्रियतामा सञ्चालित ‘टुरिजम रिभाइभल’ (पर्यटन पुनरुत्थान) कार्यक्रमहरूले पोखरामा पर्यटकको चहलपहल बढाएको बताए । उनकाअनुसार जेनजी आन्दोलनका कारण करिव डेढ महिना सुस्ताएको आन्तरिक तथा वाह्य पर्यटन अहिले सुधारोन्मुख छ ।  पर्यटन बोर्डले होटल संघसँग मिलेर पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्नुका साथै अन्य सम्भावित स्रोत बजारहरूमा ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गरिरहेको छ । पछिल्लो समय पश्चिम एशिया (मध्यपूर्व) मा भइरहेको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही नकारात्मक प्रभाव देखिएको छ । विशेष गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उनले जानकारी दिए ।  यद्यपि, पश्चिम पर्यटक घटे पनि छिमेकी मुलुक भारत र दक्षिण–पूर्वी एशियाली मुलुकहरूबाट आउने पर्यटकको संख्यामा १५ देखि २० प्रतिशतले वृद्धि भएको छ । जसका कारण समग्र पर्यटक आगमनको तथ्याङ्क गत वर्षकै हाराहारीमा रहेको छ । पर्यटन बोर्डले अब आफ्नो ध्यान दक्षिण–पूर्वी एशिया, जापान, कोरिया र अष्ट्रेलियातर्फ केन्द्रित गरेको छ । यी क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनका लागि भौतिक उपस्थिति जनाउने, चर्चित भ्लगरहरूलाई निम्त्याउने र अन्तर्राष्ट्रिय मिडियामार्फत नेपालको प्रचार गर्ने योजना अघि सारिएको छ । उनले भने, नेपाल आउने पश्चिमा पर्यटकहरू मुख्यतया टर्की वा मध्यपूर्वी देशहरूलाई ट्रान्जिट बनाएर आउने गर्छन् । द्वन्द्वका कारण ती क्षेत्र प्रभावित हुँदा युरोप र अमेरिकाबाट हुने आगमनमा गत वर्षको मार्चको तुलनामा यस वर्ष २० देखि २२ प्रतिशतले गिरावट आएको छ ।’ नयाँ वर्षको पहिलो दिन पोखरामा पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।     

सिंहदरबारभित्रै सुस्त इन्टरनेट : सुधारका लागि नेपाल टेलिकमको ‘स्पेशल फोर्स’ परिचालन गरिँदै

काठमाडौं । सिंहदरबारभित्र र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकार सक्रिय रूपमा अघि बढेको छ । प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूलाई सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन निर्देशन दिएका छन् । यसैक्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा अवरोधरहित रुपमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।  कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निगरानी र जोखिम व्यवस्थापनलाई मजबुत बनाउन उनले निर्देशन दिए । उनले सेवा प्रदायक तथा सम्बन्धित निकायलाई सम्भावित समस्याको समयमै पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिँदै जिम्मेवारी र जवाफदेहिता बढाउनुपर्ने बताए। यससँगै प्राविधिक र मानवीय कमजोरीका कारण सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दक्ष जनशक्ति परिचालनमा पनि जोड दिइएको छ ।  मन्त्री तिमिल्सिनाले नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली खटाई समस्या देखा परेमा तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले हालको अवस्थाबारे जानकारी दिँदै केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सेवा विच्छेद हुने समस्या देखिएको स्वीकार गरे । यस्ता समस्या समाधानका लागि प्राविधिक सुधार र व्यवस्थापनका उपायहरू अघि बढाइएको पनि उनले जानकारी दिए । उनका अनुसार सिंहदरबारभित्र हाल नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने ‘जी–क्लाउड’का लागि थप २५० एमबिपिएस क्षमताको इन्टरनेट प्रयोग भइरहेको छ ।  तर, अप्टिकल फाइबरमा हुने अवरोध, विशेषगरी सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने क्षतिले सेवा प्रभावित हुने गरेको उनले बताए ।  यसको दीर्घकालीन समाधानका लागि फाइबरलाई सुरक्षित रूपमा भूमिगत गरिनुपर्ने आवश्यकता पनि उनले औंल्याए ।  भट्टराइका अनुसार पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने ‘इन्टरनेट रिङ’ को व्यवस्था रहेकोमा हाल उक्त प्रणाली कमजोर बन्दै गएकोले त्यसलाई पुनः सुदृढ बनाउने प्रयास भइरहेको छ ।  साथै बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि प्रत्येक कार्यालयभित्रको नेटवर्क र सर्भर व्यवस्थापन सम्बन्धित निकायकै जिम्मा हुने भएकाले मन्त्रालय तथा निकायमा दक्ष सूचना प्रविधि जनशक्ति आवश्यक रहेको उनको भनाइ थियो । 

लघुवित्तमा बिग मर्जरः जीवन विकास, युनिक र मानुषीको सम्झौता, सीईओ मण्डल बन्ने

काठमाडौं । नेपालको लघुवित्त क्षेत्रमा ऐतिहासिक ठुलो मर्जर प्रक्रिया अघि बढेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था, बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तबीच मर्जर सम्झौता भएको हो ।  मर्जरसम्बन्धी समझदारी पत्रमा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रम राज सुवेदी, युनिक नेपाल लघुवित्तका अध्यक्ष शिवबहादुर चौधरी र मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले हस्ताक्षर गरे । तीन लघुवित्त संस्थाबीचमा भएको सम्झौता नेपालको लघुवित्तको क्षेत्रमा भएको हालसम्मको ठूलो मर्जर भएको दाबी गरिएको छ ।  लघुवित्तको पुँजीगत आधार सुदृढ बनाउँदै आधुनिक प्रविधिमैत्री वित्तीय सेवा प्रवाह गर्ने र वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ तीन संस्थाबीच मर्जर सम्झौता भएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जयकुमार मण्डलले बताए ।  मर्जरपछि  संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र केन्द्रीय कार्यालय जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका-२ मा रहनेछ । युनिक नेपाल र मानुषी लघुवित्तको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिने समझदारी पत्रमा उल्लेख छ । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत जीवन विकास लघुवित्तका (सीईओ) सञ्जयकुमार मण्डल रहनेछन् । मर्जरपछि तीन वटै संस्थाका कर्मचारी समायोजन गर्ने सहमति भएको छ । हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । जीवन विकासले १६० शाखा कार्यालय मार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ३ लाख १५ हजार बढी सदस्यलाई घरदैलोमा पुगेर लघुवित्त सेवा प्रवाह गरिरहेको छ । युनिक नेपालले १० जिल्लामा ८० हजार बढी र मानुषीले १४ जिल्लामा ३४ हजार ७ सय बढीलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ । मर्जर प्रक्रियालाई अगाडि बढाउन ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको संस्थाले जनाएको छ । मर्जर समितिको संयोजकमा जीवन विकास लघुवित्तका सञ्चालक प्रकाश कुमार श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा अशोक सिटौला, पुरनप्रसाद चौधरी, सन्तराम थारू, नवीना ढाख्वा शाक्य र ताराकुमार रिजाल सदस्य छन् । समितिको सदस्य सचिवमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी छन् । मर्जर प्रक्रिया २०८३ को असार मसान्तभित्रै सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्ने तयारी छ ।

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ ।        ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले सोमबार दिउँसो काठमाडौं महानगरपालिका–२६ त्रिदेवीमार्गस्थित ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल)ले नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । 'नयाँवर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नाका साथै मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ,' उपाध्यक्ष धमलाले भने ।      उनका अनुसार त्रिदेवीमार्गस्थित सडकमा ३२ वटा स्टल बनाएर खानाको प्रवद्र्धन र सामान बिक्री गरिनेछ । यस्तै, साँझ ६ः०० बजेदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँवर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ ।      नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । उक्त सडक महोत्सवमा उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने परिषद्ले जनाएको छ ।       

बिमेस्टेक स्तरीय रेडियोलोजी सम्मेलन ‘रेडकन २०२६’ सम्पन्न

काठमाडौं । काठमाडौंमा आयोजित बिमेस्टेक स्तरीय रेडियोलोजी सम्मेलन ‘रेडकन २०२६’ सम्पन्न भएको छ । बिम्स्टेकको संरचनाभित्र क्षेत्रीय रेडियोलोजी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको सम्मेलनले नेपालको रेडियोलोजी क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । सम्मेलनका क्रममा रेडियोलोजी क्षेत्रमा ज्ञान आदानप्रदान, अनुसन्धान विस्तार तथा आधुनिक प्रविधिको प्रयोगबारे विस्तृत छलफल भएको थियो । वैज्ञानिक सत्रहरू, कार्यशाला तथा विशेषज्ञ प्रस्तुतिहरूले सहभागीहरूलाई नयाँ अनुभव र सिकाइ प्रदान गरेको आयोजकहरूले जनाएका छन् । सम्मेलनमा डा. सुदीप केसीलाई एनआरए फेलोसिप अनुदान प्रदान गरिएको छ, जसले अनुसन्धान र उत्कृष्टतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ भने प्रसूति अल्ट्रासाउन्डसम्बन्धी मापदण्ड निर्देशिका, एनआरए वार्षिक क्यालेन्डर २०८३ तथा एनआरएको युट्युब च्यानल सार्वजनिक गरिएको छ । सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सदस्य राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रेडियोलोजीको सन्दर्भमा बिम्स्टेक राष्ट्रका प्रतिनिधिहरूले चिकित्सा इमेजिङ, डायग्नोस्टिक प्रविधि, अनुसन्धान र क्लिनिकल अभ्यासमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले आधुनिक रेडियोलोजिकल प्रविधिको उपयोग, दक्षता अभिवृद्धि, र ज्ञान तथा अनुभवको प्रभावकारी आदान–प्रदानमार्फत रोग निदान सेवाको गुणस्तर सुधार गर्न संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

उद्योगमन्त्री गौरीकुमारी यादवको सम्पत्तिः काठमाडौं र मधेसमा अर्बौंको घरजग्गा, १८० तोला सुन

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको विवरण अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको नाममा राजधानी र तराईका विभिन्न जिल्लामा ठूलो परिमाणमा घरजग्गा तथा सुनचाँदी रहेको  छ । सार्वजनिक विवरण अनुसार मन्त्री यादवको काठमाडौं महानगरपालिकाभित्रै चार स्थानमा जग्गा रहेको छ । मन्त्री गौरी यादवको काठमाडौं-९ मा १ रोपनी ३ आना २ पैसामा बनेको तीन तल्ले घर छ । त्यस्तै, वडा नम्बर १० मा १४ आना, ७ आना र ९ आना गरी तीनवटा जग्गा छन् ।  उनले बर्दिबास नगरपालिकामा १४ कट्ठा, १५ कट्ठा र साढे ५ बिघा गरी तीनवटा जग्गा देखाएकी छन् । त्यसबाहेक सम्सी गाउँपालिकामा १ बिघा र १ कट्ठा गरी दुई ठाउँमा र मनहराशिसवा गाउँपालिकामा एउटा पोखरी पनि रहेको उनले उल्लेख गरेकी छन् ।  सम्पत्ति विवरण अनुसार उनीसँग सुन १८० तोला र चाँदी २ किलो छ । विभिन्न बैंकमा १० लाख रूपैयाँ मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै, ३ करोड ३८ लाख ३५ हजार रूपैयाँ मूल्यको सेयर रहेको  उल्लेख छ । 

टोमलाल पाण्डे अक्षय कोषबाट कुमारी आधारभूत विद्यालयका विद्यार्थी सम्मानित

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकामा रहेको कुमारी आधारभूत विद्यालयमा विभिन्न अक्षय कोषमार्फत जेहेन्दार तथा सिमान्तीकृत विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयमा स्थापना गरिएका टोमलाल पाण्डे स्मृति अक्षय कोष, शान्ता तथा ओसन पन्थी अक्षय कोष र द्रुपदा पाण्डे अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको हो ।  विद्यालयकी प्रधानाध्यापक राधिका सापकोटा भण्डारीका अनुसार जनजाति तथा सिमान्तीकृत समुदायका विद्यार्थीको संख्या बढी रहेको विद्यालयमा स्थानीय समाजसेवीहरूले अक्षय कोष स्थापना गरी शिक्षामा प्रेरणा दिने प्रयास गरेका छन् । ती अक्षय कोषबाट प्राप्त ब्याज रकम उत्कृष्ट, अपांग तथा सिमान्तीकृत विद्यार्थीलाई पुरस्कारका रूपमा वितरण गर्ने गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिइन् । उनका अनुसार कक्षा १ देखि ५ सम्मका उत्कृष्ट तथा सिमान्तीकृत विद्यार्थीलाई नगद र जिन्सी सामग्री प्रदान गरिएको हो । पुरस्कृत हुने विद्यार्थीहरूमा आकृति कुमाल, बसन्त कुमाल, गीता कुमाल, पूजा मुखिया, मदन कुमाल, अशोक नेपाली र बुद्धिराम कुमाल रहेको प्राधानाध्यापक भण्डारीले जानकारी दिइन् । उनीहरूलाई जनही ५ सय रुपैयाँका साथै कापी, कलम लगायतका स्टेशनरी सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । यसैगरी, सोही अक्षय कोषबाट कक्षा १ का सबै विद्यार्थीलाई समेत स्टेशनरी सामग्री उपलब्ध गराइएको भण्डारीले जानकारी दिइन् । विद्यालयको वार्षिकोत्सव तथा नतिजा प्रकाशन समारोहको अवसरमा उत्कृष्ट शिक्षक र अभिभावकलाई समेत सम्मान गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिइन् ।    

नयाँ वर्षमा नेपाल टेलिकमको डाटा अफर, ४९९ मा दैनिक ५ जीबी

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष ‘नयाँ वर्ष अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज उपलब्ध गराएको जनाएको छ । न्यु इयर लाइट प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ । ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, न्यु इयर प्रिमियम प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजको वैधता अवधि ३० दिन रहनेछ । कम्पनीका अनुसार अफरअन्तर्गतका प्याकेज २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख २ गतेसम्म खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको छ । ग्राहकले मोबाइलबाट *१४१५*११# डायल गरी वा नेपाल टेलिकम एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन् ।कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण सेवाग्राहीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।