पेट्रोल २ र डिजेल ३ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ तथा डिजेलको मूल्य १ सय ४७ रुपैयाँ पुगेको छ । यो मूल्य कार्तिक ३० गते अर्थात् (भोली) बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ ।
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव कार्यक्रममा शनिबार सरिक भएकी छन् । नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भनिन्, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो । मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’ अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई उनले अत्यन्त मूल्यवान भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गरिन् । नेपाल र अस्ट्रेलियाबीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गरिन् । नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तरराष्ट्रिय तथा बहुपक्षीय मञ्चमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उनले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताइन् । हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै उनले थपिन्, ‘अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली हाम्रो दुई देशबीच जीवन्त सेतु बनेका छन्, जसले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ ।’ पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उनले प्रसन्नता पनि व्यक्त गरिन् । नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे । साथै उनको समर्पण तथा व्यक्तिगत सङ्लग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको प्रधानमन्त्री कार्कीले बताइन् ।
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ । विभाजन र एकताका शृङ्खला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरुमा दोहोरिएको छ । त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायत मुद्दा सारेर आन्दोलनमा होमिएका जेनजीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्यता छैन । विशेषगरी शासकीय स्वरुप, संविधान संशोधन, निर्वाचन प्रणालीलगायत विषयमा उनीहरुबीच पनि फरक मत छ । खासगरी दलहरुबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीबाट केही नेताहरु अलग्गिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न १० राजनीतिक दल र राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही नेता मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भइसकेको छ। विभाजन र एकताको शृङ्खलामा विगतमा झैं यसपटक पनि वामपन्थी विचारधाराका दलहरु नै अग्रस्थानमा छन् । वरिष्ठ अधिवक्ता रामनारायण बिडारी यस परिघटनालाई निर्वाचन लक्षित कार्यक्रमका रुपमा हेर्छन् । 'निर्वाचन घोषणा भएको हुनाले परिणाम आफ्नो पक्षमा पार्न दलहरु जुट्ने र विभाजन हुने यो निर्वाचन लक्षित कार्यक्रम मात्रै हो । यो असैद्धान्तिक छ, सिद्धान्त, विचार र दृष्टिकोणमा एकता देखिन्न', उनले भने । यसलाई सबै दलमा बढिरहेको असन्तुष्टि तथा जेनजी आन्दोलनपछि नेताहरुमा देखिएको विचलित र त्रसित मानसिकताको उपजका रुपमा हेरिनुपर्ने उनको मत छ । पछिल्लो समय राजनीतिक दल पुनः गठन गर्ने भन्दै आफ्नो दल त्यागेका नेताहरु फेरि नयाँ दल सिर्जना गर्ने अभियानमा विभिन्न कोणबाट छलफलमा जुटेका देखिन्छन् । सो क्रममा माओवादीबाट अलग्गिएर प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गरेका नेता सुदन किराँती, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र रास्वपा छाडेका नेता सन्तोष परियारबीच आगामी मङ्सिर पहिलो साता पार्टी एकता घोषणा गर्ने सहमति भइसकेको छ । साथै जेनजीका अगुवामध्येका एक मिराज ढुङ्गानाले पनि पार्टी गठन गर्ने भन्दै पत्रकार सम्मेलन नै आयोजना गरिसकेका छन् । यद्यपि उनले निर्वाचन आफूहरुको माग र प्राथमिकता नभएको उल्लेख गर्दै विकास र सुशासन पहिलो सर्त भएको बताउँछन् । अधिकारकर्मी डा. राधा पौडेललाई भने राजनीतिक दलमा देखिएको फुट र जुट ‘रमिता’ जस्तो लागेको छ । 'जेनजी विद्रोह र भोलिपल्टको घटनाभित्र लुकेका अन्तरनिहित कारण र आयामलाई जोड्नुपर्नेमा यसमा राजनीतिक दल चुके', उनी भन्छन्, 'त्यो कार्यभारप्रति ध्यान नदिएर दलमा एकता र विभाजन देखिएको छ। यसले हामीलाई कहीँ पनि पुर्याउँदैन ।' दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको र उनीहरुले आशा दिलाउन नसक्दा आफैंमा टुटफुटको अवस्थामा पुगेको उनको भनाइ छ । मुलुकमा देखिएको बेथितिको कारणबारे एकरुपता नदेखिँदा ‘बिरामी एउटा छ, उपचार अर्को’ जस्तो भइरहेको अधिकारकर्मी पौडेलको टिप्पणी छ । रासस
मन्त्री घिसिङले गरे बागमती करिडोर निरीक्षण, ढल व्यवस्थापन र सडक सुधारमा जोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाललगायत सम्बन्धित निकायका टोलीसहितको टोलीले गुह्येश्वरीबाट सुन्दरीजल क्षेत्रम्मको नदी कारिडोर र सडक स्तरोन्नति बारे जानकारी लिएको थियो । टोलीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्म क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवम् स्तरोन्नतिलगायतका विषयमा स्थलगत जानकारी लिएको थियो । मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए । उनले काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिरकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण निर्माण तथा मर्मत सम्भार देखिएको समन्वययको समस्यालाई छिटै समाधान गरिने प्रतिबद्धता जनाए । ‘काठमाडौं उपत्यकाका नदीलाई सफा बनाएमा मात्र शहर सफा हुने भएकाले अल्पकालीन र दीर्घकालीन रुपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौं, ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रुपमा गरिरहेका छौं, नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्नेलगायतकालाई उच्च प्राथमिकता राखी कार्य अगाडि बढाइरहेको छ, यसका लागि स्थानीय पालिकासँग समन्वयकासाथ काम गरिरहेका छौं, सडक किनारमा बेवारिसे अवस्थामा छाडिएका गाडी हटाउन उपकरण उउपकरण उपलब्ध गराउँछौं, त्यस्ता गाडीहरु तत्काल हटाउनुहोला,’उनले भने, ‘गोकर्णेश्वर मन्दिर नजिक बागमती नदी बायाँ किनारको करिब एक सय मिटर सडकलाई फराकिलो बनाउन सकिएमा माकलबारीबाट सिधै गोकर्णेश्वर मन्दिरतर्फ सवारी गाडी पास गराउन सक्ने अवस्था रहेछ, सडक फराकिलो बनाउन नेपाल ट्रष्टको कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गरिने छ ।’ चावहिल—सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरे ।
निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘यो सरकारको दायित्व नै निर्वाचन गराउने हो। जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभित रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ र निर्वाचन हुनुपर्छ,’ उनले भने । पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने बताउँदै जनसंख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकामा जोड दिए । उनले पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणाली सुधार हुनुपर्ने र संघीय संरचना सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइपर्ने धारणा राखे । पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिए ।
महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताएका हुन् । 'हामी (महासंघ)ले उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ । चाहे त्यो उद्योगको श्रम समस्या होस्, वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस् । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस्, वा कालाबजारी ऐन संशोधनको कुरा, हामी उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, सम्वाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौँ,' उनले भने । अध्यक्ष ढकालले लामो समयदेखि बल्झिरहेको डेडिकेटेड तथा ट्रंकलाइन विवादको समाधानका लागि आफूले प्रधानमन्त्री सुशिला कार्की तथा ऊर्जा मन्त्री कुलमान घिसिङलाई गरेको आग्रहलाई उनीहरुले गम्भीरतापूर्वक लिएको बताउँदै समस्याको समाधानका लागि पहल लिएकोमा प्रधानमन्त्री तथा ऊर्जामन्त्रीलाई धन्यवाद समेत व्यक्त गरे । उनले मुलुकमा उत्पादन वृद्धि तथा रोजगारी सृजनाका लागि ठूलो मात्रामा स्वदेशी तथा विदेशी पुँजीको आवश्यकता रहेको बताउँदै त्यसका लागि मुलुक तथा मुलुक बाहिर छरिएर रहेको सानोसानो पुँजी संकलन गरी ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गर्न आवश्यक रहेका उल्लेख गरे । उनले त्यसका लागि महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आवद्ध संघसंस्थाहरू र त्यसका सदस्यहरूको समेत सहभागितामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए । त्यस कम्पनीमार्फत ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गरि पूर्वाधार विकास, रोजगारी सृजना र उत्पादन तथा सेवा प्रवाहमा सहजता गराउन आफूहरू लागेको बताए । महासंघ अध्यक्ष ढकालले हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठमा ठूलो मात्रामा निजी क्षेत्र र निजी सम्पत्तिमाथि प्रहार गरिएको बताउँदै उक्त विध्वंसमा संलग्नहरुलाई कानुनी दायराभित्र ल्याउन सरकारसँग आग्रह गरे । उनले हामी सबैको साझा उद्देश्य मुलुकको विकास र समृद्धि रहेका उल्लेख गर्दै त्यसमा सबैको हातेमालो जरुरी रहेको बताए ।
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र, १० दिनभित्र कालोपत्र सकिने
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो । नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए । ‘दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो’, उनले भने, ‘रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रूपमा सडक विस्तार भइरहेको छ ।’ दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उनले बताए । कार्यतालिका बमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा यस सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले बताए । गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ । चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ । ‘दाउन्नेमा तीन किमी सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमी ढलानको काम भइरहेको छ’, उनले भने, ‘दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदैछ ।’ यस सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले जानकारी दिए । उनका अनुसार नारायणघाट–बुटवल खण्डको ११४ किमीमध्ये पूर्वी खण्डमा ६५ किमी र पश्चिम खण्डमा ४९ किमी पर्दछ । सडक विस्तारका क्रममा यस खण्डको १०० किमी चार लेनमा तथा दाउन्नेको १४ किमी सडक तीन लेनमा विस्तार हुँदैछ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताए । उनका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ । रासस
एनपिएलको तयारी पूरा, विजेता टोलीलाई एक करोड १० लाख पुस्कार
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।