बैंकिङमा ‘बोल्ड’ बज्राचार्य : कडा स्वभाव, तत्काल निर्णय
काठमाडौं । बैंकिङ क्षेत्रमा अधिकांशले सुनेको, बुझेको र प्रेरणाकोरूपमा लिने नाम हो रत्नराज बज्राचार्य । उमेरको उत्तरार्धमा पनि आफूलाई सक्रिय बनाएर सफल बैंकरको छवि बनाएका बैंकर बज्राचार्य हाल ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिरहेका छन् । पाँच दशक बढी बैंकिङ अनुभव भएका सीईओ बज्राचार्यको अहिलेसम्मको सक्रियता र कामप्रतिको इमानदारिताले धेरैलाई उत्प्रेरणा र उर्जा मिल्छ । यो परिचर्चा, प्रशंसा र प्रख्यातिभित्र ठूलो परिश्रम लुकेको छ । ललितपुरको एउटा सामान्य परिवारमा जन्मेका रत्नराजले कलेजको पढाईसँगै काम पनि गर्न थाले । जहाँ उनले जागिर गर्ने योजना बनाए, त्यहाँ उनी सफल पनि बने । त्यसको एउटा कारण थियो, उनको संघर्ष । भनिन्छ नि- ‘जिन्दगीको यात्रामा जसले आफूलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ, उसले नै नयाँ सफलता हासिल गर्छ ।’ हो, त्यो सफलताको स्वाद रत्नराज बज्राचार्यले चाखेका छन् । विद्यार्थी जीवनमा पढ्दै गर्दाका ती संघर्षपूर्ण दिनहरू हुन् वा जागिरे जिन्दगीमा पनि बढुवाका लागि गरेको परिश्रम नै किन नहोस्, उनको मानसपटलमा सधैं अतित घुमिरहन्छ । उनका बुबा ललितपुरको मंगलबजारमै सानो व्यापार गर्थे । तर, त्यतिबेला पनि स्कूलमा खाजा खाने पैसाको पनि अभाव भएको स्मृति उनको मानसपटलमा अझै पनि ताजै छ । ‘बुबा पसलमा जाँदा घरव्यवहार चलाउन आमालाई दैनिक तीन मोहोर दाम दिएर जानुहुन्थ्यो, म पाटनढोका क्याम्पसमा पढ्थेँ, क्याम्पसमा चिया खान मन लाग्थ्यो, पैसा हुन्थेन, आमासँग माग्दा दिनु हुन्थेन,’ विद्यार्थी जीवन स्मरण गर्दै उनले भने, ‘पैसा कमाउन भएपनि काम गर्नुपर्छ भन्ने पाठ त्यहाँबाट पनि सिकेँ ।’ उनले एसएलसी (हालको एसईई) पास हुने बित्तिकै काम सुरु गरे । पहिलो जागिर उनले पुनर्वास कम्पनीमा गरे । तलब थियो १५० रुपैयाँ । कम्पनीले उनलाई नेपालगञ्जमा खटायो । उनी भन्छन्, ‘जीवनमा पहिलो पटक जहाज पनि त्यतिबेला नै चढें ।’ उनी नेपालगञ्जमा ६ महिना काम गरेर काठमाडौं फर्किए । रत्नराजसँग काम गरेकाहरुसँग एउटा ज्ञान हुन्छ । सीईओको टेबुलमा फाइल पुर्याउनु मात्र पर्छ, काम आजै हुन्छ । उनको यो कार्यशैलीले अरुलाई पनि आजको काम आजै गर्न प्रेरित गरेको हुन्छ । उनको इच्छा थियो पढ्ने । काठमाडौं आएर आइकममा भर्ना भए । त्यसपछि पुनः जागिर गर्ने सोच पलायो । कृषि विकास बैंकमा लेखापालमा नाम निकाले । तलब थियो २५० रुपैयाँ । बैंकले गौर पठायो । त्यहाँ पनि उनले ५/६ महिना काम गरे । उनले आइकम पास गरिसकेका थिए । थप पढ्नुपर्छ भन्ने योजना उनले बनाइसकेका थिए । उनले बैंकलाई काठमाडौं सरुवा मागेका थिए । काठमाडौं सरुवा नदिएपछि उनले कृषि विकास बैंक नै छाडे । उनले अब बिकमको पढाइसँगै जागिर गर्ने योजना बनाए । राष्ट्र बैंकमा आवेदन माग गरिएको थियो । आवेदन दिए । नाम निकाले । उनले वि.सं. २०२९ भदौ १ गतेबाट राष्ट्र बैंकमा सहायक तहको काम सुरु गरे । तलब थियो २४३ रुपैयाँ । उनका संघर्षका यात्राहरू जारी थिए । सुरुमा थापाथलीको कार्यालयमा जागिर गरेका उनले पछि बढुवा भएर हेड असिस्टेन्ट भएपछि बालुवाटार कार्यालयमा पुगे । त्यसपछि उनका दिनहरू थप संघर्षपूर्ण बन्दै गए । एमकम पढ्नु पर्ने थियो शंकरदेव कलेजमा । अफिस बालुवाटारमा । पछि कलेजले कीर्तिपुरमा क्लास सारेपछि उनलाई थप गाह्रो भयो । पढाइ र कामलाई सँगसँगै अगाडि बढाउनु पर्ने चुनौती थपियो । उनले अब नियमित कक्षा नलिने निणर्य गरे । ती दिनहरू स्मरण गर्दै उनले भने, ‘मलाई काम पनि गर्नु थियो, दिउँसो अफिस सकेर कीर्तिपुरमा पढ्न जान सक्ने अवस्था थिएन, त्यसपछि मैले सरसँग म नियमित कक्षामा आउन सक्दिनँ, क्लास टेस्टमा मात्रै आउँछु, हाजिर मिलाई दिनुहोला भनेर आग्रह गरें, सरले पनि मेरो आग्रहलाई स्वीकार गर्नुभयो ।’ त्यसपछि उनको नियमित कक्षा छुट्न थाल्यो । दिउँसो अफिसको काम भ्याएर साँझ शंकरदेवको लाइब्रेरीमा पुगेर पढ्नु उनको दैनिकी बन्यो । उनले एमकम पनि पास गरे । त्यतिखेर राष्ट्र बैंकका डेपुटी गभर्नर थिए केशबनाथ शर्मा । नेपाल राष्ट्र बैंकलाई त्यतिखेर चार्टर्ड एकाउन्टेन्ट (सीए)को आवश्यकता थियो । सोही कारण राष्ट्र बैंकले सीए पढ्न चाहनेलाई खर्चको व्यवस्था गरेर भारत पठाउँथ्यो । उनै डेपुटी गभर्नर शर्माले रत्नराजलाई पनि सीए पढ्न आग्रह गरे । अब रत्नराजले सीए पढ्न भारततर्फ लाग्नु पर्ने भयो । ‘मलाई राष्ट्र बैंकले नै सीए बनाएको हो, म राष्ट्र बैंकको हेड असिस्टेन्ट हुँदा नै सीए पढ्न गएँ, त्यसबेला राष्ट्र बैंकले प्राविधिक जनशक्ति बढाउनका लागि आफैंले सीए उत्पादन गर्नु पर्यो भनेर सीए पढाउँथ्यो,’ उनी भन्छन्, ‘म त्यतिखेर २३ नम्बरको सीए थिएँ ।’ उनीसँग अब एमकमसँगै सीएको योग्यता पनि भयो । राष्ट्र बैंकले विभिन्न जिम्मेवारी दिन थाल्यो । राष्ट्र बैंकमै हुँदा वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत उनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको एकाउन्टिङ रेकर्ड सुधारको जिम्मेवारी पाए । त्यसले पनि उनलाई थप परिपक्व बनायो । अब उनी २० वर्ष राष्ट्र बैंकमा काम गरेर बिदा भए । यो बीचमा उनले कन्सल्टेन्सी पनि स्थापना गरेर काम गरे । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको नेतृत्व पनि गरे । त्यहाँ पनि उनले सफल नेतृत्व गर्दै अन्यलाई अवसर दिए । त्यसपछि निजी क्षेत्रमा प्रवेश २० वर्ष केन्द्रिय बैंकमा काम गरेका रत्नराजले केही समय आफ्नै कन्सल्टेन्सी चलाए । त्यतिखेर सबैभन्दा बढी चलेको कन्सल्टेन्सी नै आफ्नो रहेको उनी दावी गर्छन् । केन्द्रिय बैंकमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेका उनी अब निजी क्षेत्रको बैंकिङमा प्रवेश गरे । त्यो प्रवेशको परिस्थिति पनि गज्जबको छ । तत्कालीन नेपाल बंगलादेश बैंक ‘बैंक रन’को अवस्थामा थियो । बजारमा नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई ‘टेकओभर’ गर्ने हल्ला थियो । त्यहीबेला नेपाल बंगलादेश बैंकको बोर्डले उनलाई सीईओका लागि प्रस्ताव गरेको थियो । उनले सहमति जनाएर बैंकको बोर्डले माइन्युट पनि गरिसकेको थियो । उनी सोही समयमा विदेशको एउटा कार्यक्रममा गए । विदेशबाट फर्केपछि काम सुरु गर्ने दुवै पक्षबीच सहमति भइसकेको थियो । त्यहीबीचमा एनबी बैंकको नेतृत्व गर्न तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबाट नरेन्द्र भट्टराई गए । सो सुझाव उनै रत्नराजको थियो । त्यतिबेला नै राष्ट्र बैंकले एनबी बैंकलाई टेकओभर गर्यो । अब उनी एनबी बैंकमा होइन एनसीसी बैंकको नेतृत्व गर्ने भए । तत्कालीन एनबी बैंक र एनसीसी बैंक एउटै व्यवसायिक घरानाको थियो । त्यसैले पनि सो विषय सम्भव भएको रत्नराज बताउँछन् । राष्ट्र बैंक छोडेको साढे एक दशकपछि उनी निजी क्षेत्रको एनसीसी बैंकको सीईओ बने । जतिखेर एनसीसी बैंक पनि ठूलो समस्यामा थियो । ‘म एनसीसीमा जानुअघि राष्ट्र बैंकले टेकओभर गर्ने हल्ला थियो, म गएपछि बैंकभित्रको सबै समस्या हल गरें, कसैको दबाब र प्रभावमा नरहेर बैंकलाई एउटा लयमा ल्याएँ, राष्ट्र बैंक पनि कामबाट सन्तुष्ट भयो, लगानीकर्ता र सेवाग्राही पनि खुसी भए,’ उनले भने । कडा स्वभाव रत्नराजको पहिचानको एउटा पहिचान हो । लिएको जिम्मेवारी पूरा गरेरै छाड्ने उनको अर्को खुबी हो । विभिन्न बैंकमा ४ पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिए । सबैमा ४ वर्षको कार्यकाल पूरा गर्नु, बैंकलाई थप उचाईमा पुर्याउनु, सञ्चालक समिति, कर्मचारी ग्राहक सबैलाई खुशी बनाउनु तर सोही संस्थामा कार्यकाल थप्न नमान्नु उनले छोडेको ट्रेन सेट हो । उनले एनसीसीमा चार वर्षको कार्यकाल सफलताका साथ पुरा गरे । एनसीसी बैंकमा काम गर्दा धेरै कुरा सिकेको उनी बताउँछन् । एनसीसी बैंकको सफल उडानपछि उनी ग्लोबल आइएमई बैंकमा नेतृत्व सम्हाल्न पुगे । त्यतिखेर राष्ट्र बैंकले मर्जरको नीति अघि सारेको थियो । उनै रत्नराजको रणनीति र योजनाले ग्लोबल आइएमई बैंक मर्जर तथा प्राप्तिमा आक्रमक बन्यो । ‘मेरो कार्यकालदेखि ग्लोबल आइएमई बैंकमा मर्जर एक्विजिसनको नीति अगाडि सारेका हौं, क्रस होल्डिङका अधिकांश संस्था बैंकमा गाभिए, बैंकले ग्रो नै गर्ने हो भने मर्जर आवश्यक भएको भन्दै बैंकले मर्जरको नीति अघि सार्यो, ग्लोबलमा मेरो सफलता भनेको कर्मचारीबीच सिनर्जी उत्पन्न गर्ने र मर्जर गराउने नै हो,’ उनले भने । अर्को महत्वपूर्ण विषय भनेको त्यतिखेर २ अर्ब पुँजी रहेको ग्लोबल आइएमई बैंकले हकप्रदबिनै मर्जर गराएर ८ अर्बको पुँजी पुर्यायो । सेयरधनीले पैसा थप्नु परेन । हालसम्म करिब दुई दर्जन बढी संस्थाहरू ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् । जसको नेतृत्व उनै रत्नराजले गरे । उनले ग्लोबल आइएमई बैंकमा सीईओको ४ वर्षे कार्यकाल पुरा गरे । बैंकलाई एउटा उचाइ पनि दिए । त्यसपछि उनी सो बैंकबाट पनि बाहिरिए । त्यसपछि उनी सम्हाल्न पुगे तत्कालीन सनराइज बैंकको नेतृत्व । ‘म सनराइज बैंकको सीईओ बनेर जाँदा बैंकले खासै राम्रो बिजनेस गर्न सकेको थिएन, त्यो बेला बैंक हायर पर्चेज, निर्माण क्षेत्रमा केन्द्रित थियो, पछि विस्तारै बिजनेस बैंकिङ सुरु गर्यौं, भूकम्पको प्रभाव रहेको बेला बैंकमा बिजनेस थिएन, त्यस्तो अवस्थामा पनि मैले सनराइजलाई बजारमा एक महत्वपूर्ण बैंकका रूपमा अगाडि बढाएँ, बजारमा सनराइज बैंकको हिस्सा बढ्दै गयो,’ उनले भने । सनराइज बैंकमा पनि एक किसिमको सफलता हासिल गरेपछि उनी अहिले पुनः ग्लोबल आइएमई बैंकको नेतृत्व गरिरहेका छन् । उनकै नेतृत्वमा ग्लोबल आइएमई बैंकले तत्कालीन बैंक अफ काठमाण्डूसँग मर्जर गर्न सफल भयो । अहिले ग्लोबल आइएमई बैंक निक्षेप, कर्जा, पुँजी, जगेडा कोष, ग्राहक, शाखा संख्या, सरकारलाई बढी राजस्व दाखिला गर्ने लगायत सूचकमा नम्बर वान बनेको छ । ‘म सीईओ बन्दै गर्दा संस्था कसरी चलिरहेको छ र कुन फाउन्डेसनमा चलिरहेको छ भनेर बुझ्छु, त्यसमा विश्वास पनि गर्छु, विस्तारै कर्मचारीहरूको काममा कुनै डिस्टर्ब नगरेर परिस्कृत गराउनका लागि रणनीतिक योजना अघि सार्छु, म व्यक्तिको स्वार्थभन्दा पनि संस्थालाई सेन्टरमा राखेर काम गर्छु,’ आफ्नो काम गर्ने स्वभाव सुनाउँदै बज्राचार्यले भने । कस्तो हुनुपर्छ व्यवस्थापक ? हुन त आफूसँग धेरै खुबी नभएको बताउँछन् उनी । तर, आफूले गर्ने काम, कर्मचारी र संस्थाको विषयमा भने पूणर्रूपमा जानकार हुने बताउँछन् । ‘एउटा व्यवस्थापकले आफूले गर्ने बिजनेसको विषयमा जानकार हुनु पर्यो, त्यो बिजनेसको विषयमा गहिरो ज्ञान हुनुपर्छ, ग्लोबल आइएमई बैंकमा अहिले ४ हजार कर्मचारी छन्, ती सबैको निगरानी त मैले एक्लैले गर्न सक्दिनँ । तर, त्यसको लागि सिस्टमको विकास गर्न सक्नु पर्यो,’ उनी भन्छन्, ‘कर्मचारीको कामबाट आफू सफल हुने हो ।’ उनको बुझाइमा एउटा अब्बल व्यवस्थापकमा दुइटा विषयको ज्ञान हुन आवश्यक छ । एउटा, कर्मचारीहरूलाई प्राविधिक ज्ञान सिकाउने, त्यो सकिन्न भने त्यो ज्ञान सिकाउने मान्छेलाई हायर गर्ने, संस्थाको व्यवस्थापकलाई यो कुरा अतिआवश्यक रहेको उनको भनाइ छ । व्यवस्थापकले सही ढंगले कम्युनिकेसन गर्न सकेन भनेपनि संस्थाले प्रभावकारीरूपमा पफर्मेन्स नपाउने उनको भनाइ छ । ‘हरेक समस्याको समाधान हुन्छ, समाधान कसरी गर्ने त्यसमा म आफूलाई विश्वास गर्छु, त्यो क्षमता पनि छ जस्तो लाग्छ, कुनै समस्याको समाधान नहुन पनि सक्छ, समाधान नभएको समस्या नै होइन,’ उनी भन्छन्, ‘त्यो समस्या हो भन्दै टाउको नै दुखाउनु हुँदैन ।’ आफू कामको दबाबले टेन्सन लिने व्यवहारको मान्छे नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘म टेन्सनमा बस्न कम रूचाउँछु, टेन्सनमा बसेर काम गर्नु हुँदैन ।’ लामो समय राष्ट्र बैंकमा काम गरेका उनको अनुभवले आफूलाई ‘क्विक’ र ‘बोल्ड डिसिजन’ गर्न सिकाएको उनी बताउँछन् । ‘म सीईओ भएर काम गरेको संस्थामा सकेसम्म राम्रो काम गरें जस्तो लाग्छ, संस्थालाई अब्बल बनाउनका लागि पनि आत्मविश्वास चाहिन्छ,’ उनले भने । उनका अनुसार एउटा व्यवस्थापकले सकेसम्म संस्थालाई बढी समय दिन सक्नुपर्छ । उनी अहिले बिहान ९ बजे अफिस पुगेर साँझ ८ बजे घर फर्किन्छन् । ‘हुन त मेरो संस्थामा म नभए पनि केही हुन्न भन्नेमा म विश्वास गर्छु, म जहाँ गएपनि टीमसँग सम्कर्पमा हुन्छु, सकेसम्म टीमलाई क्विक डिसिजन दिन रूचाउँछु,’ उनी भन्छन्, ‘आफूसँगै टीमलाई पनि ग्रो गर्दै जानु नै सफल व्यवस्थापकको कला हो ।’ सफल नेतृत्वकर्ता र व्यवस्थापकसँग क्विक डिसिजन पावर हुनु पर्ने उनको भनाइ छ । ‘कुनै विषय डिसिजनका लागि तपाईंको टेबलमा आयो भने त्यसलाई भोलि हेर्छु भनेर म पर्खिदिनँ, भोलि नयाँ कुरा आउला, कसैले केही भन्ला भनेर धेरैले कामलाई पेन्डिङ राख्छन् । तर, म त्यस्तो गर्दिनँ, तपाईंले कुनै बिजनेस डिसिजन लिनु भयो भने भोलि गर्छु भनेर सोच्नु हुँदैन, सकेसम्म आजै गर्नुस्,’ उनी भन्छन्, ‘म टीमका साथीहरूलाई पनि यही सल्लाह दिन्छु ।’ तपाईंको डिसिजन गर्ने आधार के हो ? जुन आधारमा डिसिजन लिने हो त्यसको प्यारामिटरहरू मूल्यांकन गर्नुपर्ने उनको धारणा छ । उनीसँग अहिलेसम्म कुनै डिसिजन भोलिका लागि गर्छु भनेर राखेको अनुभव छैन । आजको काम आजै गर्ने बानी रत्नराजको छ । रत्नराजसँग काम गरेकाहरुसँग एउटा ज्ञान हुन्छ । सीईओको टेबुलमा फाइल पुर्याउनु मात्र पर्छ, काम आजै हुन्छ । उनको यो कार्यशैलीले अरुलाई पनि आजको काम आजै गर्न प्रेरित गरेको हुन्छ । ‘मैले अहिले बैंकमा ५० करोड रुपैयाँसम्मको कर्जाको फाइल सदर गर्छु, त्योभन्दा माथिको बोर्डले हेर्छ, बोर्डले त्यसमा सीईओ कन्फिडेन्स पनि हेर्छ, उहाँहरुको पनि आफ्नै किसिमको विज्ञता हुन्छ । ऋण प्रवाह हुन लागेको क्षेत्रको अवसर र जोखिमका विषयमा उहाँहरुले निणर्य गर्नुहुन्छ, कर्जा दिने संस्थाको प्रमोटर पनि हेरिन्छ, प्रमोटरको सस्टेनाविलिटी पनि हेर्ने हो, सोही आधारमा निर्णय लिने हो,’ उनले भने । बोर्डको अपेक्षाअनुसार काम नहुँदा, प्रभावकारी सेवा प्रवाह नहुँदा एकअर्काबीच आक्षेप हुन सक्छ । नियामकले पनि प्रश्न गर्न सक्छ । सेवाग्राहीले पनि गुनासो गर्छन् । सबै ठाउँबाट गुनासो आएपछि सीईओ बिचमै बाहिर जानु पर्ने बाध्य हुन सक्छ, एउटा असल व्यवस्थापकले ग्राहक, बोर्ड, कर्मचारी र नियामकसँगको सम्बन्ध पनि समधुर पार्नुपर्छ, आएको प्रश्नलाई ‘ट्याकल’ गर्न सक्नुपर्छ । शिक्षालयभन्दा कार्यालयमा बढी सिकिने रत्नराजको अनुभव छ । ‘डिसिजन मेकिङ क्षमता कसरी लिने भन्ने कुरा शिक्षालयबाट सिकिन्छ । तर, कार्यालयले कस्तो निणर्य लिने, के लिने भन्ने विषय सिकाउँछ,’ उनले भने । विश्वासिला बैंकर, तितो अनुभव नेपाली बैंकिङ क्षेत्रमा रत्नराज बज्राचार्यको विषयमा आलोचना गर्नेहरू सायदै भेटिएलान् । बैंकिङ करिअरमा जसरी रत्नराजले सफलता प्राप्त गरेका छन्, ती भन्दा धेरै तितामिठा अनुभवहरूको स्वाद पनि चाखेका छन् । उनले अहिलेसम्म जुन संस्थामा काम गरे, पुरा कार्यकाल गरे । बैंकिङमा एउटा ठाउँमा रहेको सीईओ अर्को बैंकमा राम्रो अवसर पाउने बित्तिकै बिचमै काम छोडेको अभ्यास प्रयाप्त भेटिन्छन् । तर, रत्नराजले त्यस्तो कहिल्यै गरेनन् । जति संस्थामा काम गरे, मिठो छाप छोडे । ‘बैंकको बोर्ड र व्यवस्थापकको चाहना संस्थामा राम्रो नै गरौं भन्ने हुन्छ, सोच र काम गर्ने कल्चर नै तपाईंको एसेट हो, दिएको टार्गेट पुरा नगरेर पनि कतिपयले बिचमै काम छोड्छन्, कहिलेकाहीँ सोचेअनुसार काम नहुन पनि सक्छ,’ उनी भन्छन्, ‘त्यसमा बोर्डले पनि बुझ्नुपर्छ, व्यवस्थापकले बुझाउन सक्नुपर्छ ।’ आफ्नो इमानदारिता नै सम्पत्ति भएको उनको धारणा छ । काम गर्दै गर्दा कहिले काहीँ असफल भइन्छ । भनिन्छ नि- ‘घोडा चढ्ने लड्छ ।’ हो, त्यो लडाइको अनुभव पनि रत्नराजले नराम्रोसँग गरेका छन् । हुनत बैंकको कर्जा डुब्ने भन्ने हुँदैन । बैंकले कर्जा दिँदा धितो पनि राखेको हुन्छ । तर, कहिले काहीँ यस्तो केस आउँछ, जसले बैंकको बोर्ड र व्यवस्थापकको पनि टाउको दुखाउँछ । एउटा यस्तै उदाहरण रत्नराजले सुनाए,- ‘नेपालमा लगानी रहेको भारतीय एउटा कम्पनीलाई बैंकले ऋण दिएको थियो, सो कम्पनीले सेजमा उद्योग चलाइरहेको थियो, केही समयपछि १०/१५ दिन कम्पनीले उद्योग बन्द गर्यो, श्रमिकलाई पनि भित्र प्रवेश गर्न दिइएन, पछि हामीले प्रहरीको रोहबरमा ताला फुटाएर हेर्दा भित्र कुनै सामान थिएन, ऊ नेपालबाट भागिसकेको रहेछ, सामान सबै भारत लगिसकेको रहेछ, त्यो ऋण असुल गर्न पछि ठूलो संघर्ष गर्नुपर्यो, त्यो व्यक्तिलाई इन्टरपोल पनि गर्यौं । तर, पक्राउ परेन ।’ यस्ता घटनाहरूले बैंकरलाई नमिठो पाठ सिकाउँछ । नेपालमा कर्जा असुलीको लामो प्रक्रियाले केही समस्या हुने गरेको उनको अनुभव छ । बैंकबाट कर्जा लिएर नतिर्नेहरूको धितो लिलाम गर्न खोज्दा पछि नातेदारबाट हक दाबी गराउने प्रवृतिप्रति उनी असन्तुष्टि व्यक्त गर्छन् । ‘एउटा व्यवस्थापकले आफूले गर्ने बिजनेसको विषयमा गहिरो ज्ञान हुनुपर्छ । कर्मचारीको कामबाट आफू सफल हुने हो । ग्लोबल आइएमई बैंकमा अहिले ४ हजार कर्मचारी छन्, ती सबैको निगरानी त मैले एक्लैले गर्न सक्दिनँ । तर, त्यसको लागि सिस्टमको विकास गर्न सक्नु पर्यो ।’ उनी नेपाली बैंकिङ क्षेत्रबाट अन्य क्षेत्रले पनि धेरै कुरा सिक्न आवश्यक रहेको धारणा राख्छन् । ‘वित्तीय क्षेत्रमा अनुशासन, पारदर्शिता र कर्पोरेट गभर्नेन्स छ, यसमा राष्ट्र बैंकको भूमिका पनि महत्वपूणर् छ, स्वतन्त्ररूपमा व्यवस्थापकलाई जिम्मेवारी दियो भने साँच्चिकै सुधार हुन्छ,’ उनी भन्छन्, ‘बैंकमा आफ्नै इन्टरनल कन्ट्रोल सिस्टम र इन्टरनल अडिट पनि हुन्छ, यो सबै क्षेत्रमा हुन आवश्यक छ ।’ ४०० प्रतिशत लाभांश नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा बढी चर्चाको विषय नाफा र लाभांश बन्छ । अझ कुन संस्थामा कसले नेतृत्व गरिरहेको छ । र, संस्थाको ब्यालेन्सिट कस्तो छ भन्ने विषयले पनि पछिल्लो समय प्राथमिकता पाउन थालेको छ । ग्लोबल आइएमई बैंक स्थापना भएको १७ वर्ष भयो । यो अवधिमा बैंकको सेयरधनीले हालेको पुँजीका आधारमा ४०० प्रतिशत लाभांश वितरण गरिसकेको सीईओ बज्राचार्य बताउँछन् । ग्लोबल आइएमई बैंकले सुरुको दुई/तीन वर्ष बाहेक नियमित लाभांश वितरण गरिरहेको छ । यो अवधिमा औसत २० प्रतिशत लाभांश सेयरधनीले पाइरहेका छन् । बैंकको सुरुको २ अर्बको पुँजीलाई आधार मान्ने हो भने बैंकले सेयरधनीलाई १० वर्षमा ४०० प्रतिशत लाभांश दिइसकेको छ, यो नराम्रो होइन, बिओके मर्जर भइसकेपछि बिजनेसको रिजल्ट देखाउन बाँकी छ,’ सीईओ बज्राचार्य भन्छन्, ‘यो वर्ष पनि २० प्रतिशतको हाराहारीमा लाभांश दिन सक्ने अवस्थामा छौं ।’ सुरुमा २ अर्ब पुँजी हालेदेखि बैंकका सेयरधनीले अहिलेसम्म पुँजी थप्नु परेको छैन । बैंकले मर्जर तथा प्राप्ति गरेर नै पुँजी बढाइरहेको छ । त्यसरी नै अहिले देशको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ अर्बको हाराहारीमा नाफा गर्ने देखिएपनि बढी प्रोभिजन गर्नु परेको कारण नाफा केही कम भएको उनको भनाइ छ । ‘अब यो वर्ष २० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छौं, सोही किसिमले काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘संसारको कुनै पनि बैंकलाई २० प्रतिशतभन्दा बढी लाभांश दिन गाह्रो नै हुन्छ ।’ ग्लोबल आइएमई बैंक सम्पत्तिको हिसाबले मात्रै ठूलो नभई सरकारलाई बढी कर दाखिला गर्ने बैंकको रूपमा समेत नम्बर वान बन्नु आफैंमा गर्वको विषय रहेको उनको भनाइ छ । ‘अहिले ग्लोबल आइएमई बैंकको ४५ लाख ग्राहक छन्, सेवाको गुणस्तरको विषयमा सर्वेक्षण गर्ने तयारीमा छौं, सेवाको हिसाबमा पनि बैंकलाई नम्बर वान बनाउने योजना छ,’ उनले भने । सीईओ बज्राचार्य आफूभन्दा टीमको विषयमा बढी सोच्ने गरेको बताउँछन् । नेपाली बैंकिङ क्षेत्रका अनुभवी बैंकरको छबि बनाएका उनको पारिश्रमिकको विषयमा पनि धेरैको चासो हुन्छ । तर, उनी आफू तलबको लागि काम नगर्ने धारणा राख्छन् । ‘मलाई तलब कम भयो भनेर कहिल्यै टेन्सन हुँदैन, मेरो तलब बढाउनुपर्छ भनेर बोर्डले महसुस नगरेको पनि होइन । तर, मैले सबैको बढाएपछि मात्रै बढाउनु अहिले बढाउनु पर्दैन भनेपछि मेरो तलब पनि बढेन, सबै साथीहरु सँगै अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो,’ उनी थप्छन्, ‘मेरो तलब कम छ भनेर म कहिल्यै सोच्दिनँ, असल व्यवस्थापकका लागि तलब गौण विषय हो ।’ घुमघामका सोखी सीईओ रत्नराज बज्राचार्यलाई विभिन्न ठाउँमा घुम्नु आदत नै बनिसकेको छ । उनका अनुसार उनी हालसम्म नेपालको अधिकांश जिल्ला घुमिसकेका छन् भने विभिन्न ७५ वटा देशमा भ्रमण गरिसकेका छन् । उनी वर्षको एक पटक विभिन्न देशमा घुम्नका लागि पुगेकै हुन्छन् । बैंकको फोर्स विदाको समयमा उनको घुम्ने सेड्युअल बन्छ । केही वर्षअघि उनीसँग घुम्ने उनको जीवन साथी हुन्थिन् । तर, पछिल्लो समय श्रीमतीको स्वास्थ्यको कारण उनी एक्लै घुम्ने गरेको बताउँछन् । ‘मेरो व्यक्तित्व निर्माणमा श्रीमतीको भूमिका महत्वपूणर् छ,’ उनी भन्छन्, ‘अहिलेसम्म उनलाई मैले रिसाएको देखाएको छैन ।’ रत्नराज घरको जेठो छोरा हुन् । उनको चार दाजुभाइ र दुई दिदीबहिनी छन् । त्यो समयमा पनि प्रेम विवाह गरेका उनले एमकम पास गरेपछि विवाह गरे । रत्नराज आफूले बैंकर नै बन्छु भनेर पढेको भन्दा पनि असल मान्छे बन्छु भनेर पढेको धारणा राख्छन् ।
राष्ट्र बैंकले हबिबलाई तत्काल सेयर बिक्री गर्न नदिने, बोर्डलाई थाहै नदिई कसरी ठोक्कियो हिमालयन रिसँग ?
काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्री गरेर बाहिरिने तयारी थालेको लामो समय भयो । हबिबले नियामक नेपाल राष्ट्र बैंकसँग औपचारिक तथा अनौपचारिक छलफल गरेर आफू बाहिरिने बताएको तीन/चार वर्ष भयो । तर, राष्ट्र बैंकले नबाहिरिन गरेको आग्रह र हिमालयन बैंकको मर्जरको प्रक्रियाले हबिबको बाहिरिने निर्णयले सफलता पाउन सकेको छैन । हिमालयन बैंकको संस्थापक सेयरधनी सेयर बिक्री गरेर बाहिरिने विषयले अहिले थप चर्चा पाएको छ । बैंक तथा वित्तीय क्षेत्रसँगै मिनी संसदमा पनि यो विषयले प्रवेश पाएको छ । गत बुधबार भएको अर्थसमितिको बैठकमा सांसद डा.स्वर्णिम वाग्लेले हिमालयन बैंकबाट हबिब बाहिरिन खोजेको विषयमा धारणा राखेका थिए । उनले हबिबको सेयर खरिदकर्ताको विषयमा पनि चासो राखेका थिए । हबिबले आफ्नो स्वामित्वमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर बिक्री गर्ने तयारी गरिरहेको छ । तर, त्यसका लागि विदेशी खरिदकर्ता पाउन सकेको छैन । स्वदेशी खरिदकर्ता पाएपनि त्यसको क्षमतामाथि नियामकले प्रश्न उठाइरहेको छ । लामो समयदेखि बाहिरिने तयारी गरिरहेको हबिब यस पटक जसरी पनि सेयर बिक्री गर्ने रणनीति बनाइरहेको छ । त्यो रणनीति अन्तर्गत हबिबले सुरुमा ‘मिडिया ट्रायल’ गरेको हो । हिमालयन रिले सेयर किन्ने चर्चा पछिल्लो समय हबिबले आफ्नो नाममा रहेको सेयर हिमालयन रिइन्स्योरेन्सले खरिद गर्ने विषय बाहिर ल्याएको छ । तर, यस विषयमा न हिमालयन बैंकको सञ्चालक समितिलाई जानकारी छ नत नियामक नेपाल राष्ट्र बैंकलाई नै । हबिबले नेपाल राष्ट्र बैंकका गभर्नर तथा उच्च अधिकारीहरूलाई भेटेर बाहिरिने विषय सुनाउँदा राष्ट्र बैंकले नबाहिरिन आग्रह गरेको थियो । तर, हबिबले राष्ट्र बैंकको आग्रहलाई ‘इग्नोर’ गर्दै हिमालयन रिइन्स्योरेन्सले आफ्नो सेयर खरिद गर्ने कार्ड फ्याँकेको हिमालयन बैंकका एक सञ्चालक बताउँछन् । ती सञ्चालकका अनुसार हिमालयन बैंकबाट हबिब बाहिरिने विषय बोर्डमा औपचारिकरूपमा छलफल भएको छैन । ‘हबिबले बैंकबाट बाहिरिन्छु भनेको लामो समय भयो, पहिले बैंक मर्जरको प्रक्रियामा थियो, त्यसले बाहिरिने विषय रोक्यो, मर्जरपछि पनि सेयर रोक्का भयो, त्यसले पनि बाहिरिन सकेन, अब बाहिरिन्छु भनेर हबिबका साथीहरू लागिरहनु भएको छ, बैंकका एक सञ्चालकले विकासन्युजसँग भने, ‘तर, पछिल्लो समय यस विषयमा बोर्डमा कुनै छलफल भएको छैन ।’ ती सञ्चालकले पनि हबिबको सेयर हिमालयन रिले खरिद गर्ने विषय सञ्चार माध्यमबाट जानकारी पाएको बताए । हबिबले वातावरण मिलाउनका लागि पनि त्यो कार्ड फालेको हुन सक्ने अनुमान ती सञ्चालकको छ । सेयर किन्न तयार छन् बैंककै संस्थापक आफ्नो सेयर बिक्री गरेर बाहिरिने रणनीति बनाइरहेको हबिबले बैंककै संस्थापक सेयरधनीलाई खरिद गर्न आग्रह गरेको छैन । बैंकको बोर्डको निर्णयबिनै हबिबले राष्ट्र बैंकमा सेयर खरिदको लागि अनुमति माग गरेको ती सञ्चालकले बताए । यद्यपि, राष्ट्र बैंक स्रोत भने सेयर खरिदबिक्रीको स्वीकृतिका लागि हबिब नआएको बताउँछ । यस विषयको स्पष्टता गत बुधबार अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले पनि गरेका थिए । उनले हबिब स्वीकृति मागका लागि राष्ट्र बैंक नआएको बताएका थिए । तर, बैंक व्यवस्थापन भने स्वीकृतिको पत्र राष्ट्र बैंक पुगेको बताउँछ । सेयर बिक्री गर्ने नै भएपनि कानुनी प्रक्रिया पुर्याएर अगाडि बढ्नु पर्ने हिमालयन बैंकका एक सञ्चालकले बताए । हबिबले सेयर खरिदबिक्रीको कानुनी प्रक्रिया नपुर्याएको धारणा राखे । ‘सेयर खरिद बिक्रीको कानुनी प्रक्रिया पनि बुझ्नु पर्छ, बोर्डमा कुनै जानकारी नगराई र सूचना नै ननिकालेर कुनै कम्पनीलाई सेयर बिक्री गर्छु भनेर हुँदैन, यो विषय नियामकले पनि बुझ्ला,’ ती सञ्चालकले भने, ‘पहिलो प्राथमिकता बैंककै सेयरधनीलाई दिनु पर्ने हो, मूल्य मिल्यो भने हामी खरिद गर्न तयार छौं ।’ हिमालयन रिको क्षमतामाथि प्रश्न हिमालय रिइन्स्योरेन्स नयाँ कम्पनी हो । हाल ७ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले हबिबको सेयर खरिद गर्न सक्ने क्षमतामाथि पनि नियामकले प्रश्न उठाएको छ । नयाँ कम्पनी भएकोले पनि त्यसको ‘फिट एण्ड प्रोपर टेष्ट’को विषयलाई गम्भीरताका रूपमा लिनुपर्ने राष्ट्र बैंक स्रोतको भनाइ छ । सेयर खरिद गर्नका लागि आवेदकले ‘फिट एण्ड प्रोपर टेस्ट पास’ गर्नुपर्ने प्रावधान छ । हिमालयन रिइन्स्योरेन्स ‘फिट एण्ड प्रोपर टेष्ट’मा पास हुन सकेन भने सो सेयर खरिदका लागि कम्पनी अयोग्य हुनेछ । ‘सेयर खरिदबिक्रीका लागि निवेदन आउने बित्तिकै हामीले स्वीकृति दिने भन्ने पनि हुँदैन, खरिद गर्ने कम्पनीको फिट एण्ड प्रोपर टेष्ट पनि हुन्छ, फेरि हिमालयनले मर्जरको प्रक्रिया सकेको त्यति लामो समय पनि भएको छैन, यो बिचमा संस्थापक बाहिरिनु राम्रो विषय होइन, यस विषयलाई हामीले गम्भीरताका साथ हेरेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘फेरि खरिदकर्ता पनि नयाँ कम्पनी नै त होनी ।’ बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा ११ को उपदफा ५ मा बैंकका संस्थापकको सेयर कुनै कम्पनी वा संगठित संस्थाले लिएको अवस्थामा त्यस्तो कम्पनी वा संगठित संस्थाको उल्लेख्य स्वामित्व भएका शेयरधनीहरूमा हेरफेर, सेयर बिक्री वा हस्तान्तरण गर्नुअघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु पर्ने व्यवस्था छ । तर, बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको दुई प्रतिशतभन्दा कम सेयर धारण गर्ने कम्पनी वा संगठित संस्थाले सेयर बिक्री वा हस्तान्तरण गर्नुअघि राष्ट्र बैंकको पूर्व स्वीकृति लिन आवश्यक हुँदैन । हबिबको सेयर राष्ट्र बैंकको व्यवस्थाको सीमाभन्दा बढी भएकोले स्वीकृति लिनु परेको हो । हिमालयन बैंकका एक सञ्चालकले बैंककै प्रमोटरलाई प्राथमिकतामा नराखेर हिमालयन रिइन्स्योरेन्सलाई खरिद गर्न प्रस्ताव गर्नु आफैमा रहस्यमय विषय रहेको शंसय राखे । गभर्नरको त्यो आग्रह र यो अभिव्यक्ति हिमालयनको संस्थापक सेयरधनी हबिब यसअघि नै बैंकबाट बाहिरिन चाहन्थ्यो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसअघि नै बैंक नेपालबाट बाहिरिने योजना हबिबले बनाइरहेको थियो । तर, त्यसबेला राष्ट्र बैंकले स्वीकृति नदिने संकेत पाएपछि हबिब हच्कियो । बैंकले बाहिरिन खोजेपछि गभर्नर अधिकारीले हबिब बैंकका अधिकारीहरूलाई पाकिस्तानमा पनि भेटेका थिए । एउटा कार्यक्रममा सहभागी हुन पाकिस्तान पुगेका गभर्नर अधिकारीले त्यतिबेला हबिबका अधिकारीसँग भेटेर हिमालयनबाट नबाहिरिन आग्रह गरेका थिए । गभर्नर अधिकारीले विदेशी बैंकको अभ्यास नेपाली बैंकमा अहिले पनि आवश्यक रहेकोले सेयर बिक्री नगर्न हबिबलाई अनुरोध गरेको राष्ट्र बैंक स्रोतको भनाइ छ । सेयर बिक्री नै गर्ने भएपनि अन्तर्राष्ट्रिय खरिदकर्ता ल्याउनु पर्ने सर्त उनले राखेका थिए । गभर्नर अधिकारीको उक्त आग्रहपछि हबिबले विदेशी खरिदकर्ता पनि खोजेको थियो । हबिबले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) ले सेयर खरिद गर्ने सम्झौता गरेको थियो । तर, पछि विषय बिचमै रोकियो । अहिले पुनः सेयर खरिदबिक्रीको विषय चर्चामा आएको हो । बुधबार भएको अर्थसमितिको बैठकमा पनि गभर्नर अधिकारीले राष्ट्र बैंकले सुझबुझका साथ निर्णय लिने बताएका थिए । कम्पनीकै संस्थापक सेयरधनीले सेयर खरिद नगरेको अवस्थामा मात्रै संस्थापकभन्दा बाहिर सेयर बेच्न पाइने व्यवस्था छ । तर, हबिबले भने आफूहरूलाई ‘इग्नोर’ गरेर फ्लोर क्रस गरेको बुझाइ हिमालयन बैंकका संस्थापकहरूको छ ।
१५ बैंकमा १६ शक्तिशाली महिला सञ्चालक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्मचारीसँगै सञ्चालक समूहमा पनि महिलाको सहभागिता बढ्दो छ । बैंकमा कार्यरत महिलाहरु बैंकबाट विदा भएसँगै उनीहरु धमाधम सञ्चालकका रुपमा नियुक्त हुने अभ्यास बढिरहेका छन् । अहिले अधिकांश वाणिज्य बैंकले महिलालाई विशेष प्राथमिकतामा राखेर सञ्चालकको रुपमा नियुक्त गर्ने अभ्यास बढाउँदा त्यसले सञ्चालक समितिमा पनि एक किसिमको सुन्दरता देखिन्छ । कतिपय महिला सञ्चालकहरु सेयरधनी भएर सञ्चालक बनिरहेका छन् भने कतिपय महिलाहरु अनुभव र ज्ञानका आधारमा स्वतन्त्र सञ्चालक बन्ने अवसर पाइरहेका छन् । नेपालको संविधानले नै हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । कम्पनी ऐनले पनि पब्लिक कम्पनीमा सेयरधनी महिला छ भने सञ्चालक समूहमा पनि महिलाको सहभागिता हुनु पर्ने व्यवस्था गरेको छ । तर, पनि कतिपय बैंकमा भने अहिले पनि महिला सञ्चालक छैनन् । कतिपय बैंकले दुई जना महिलासम्म महिला सञ्चालक राखेका छन् । बैंकको सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु ठूलो लगानी, लामो बैंकिङ अनुभव, सीप र योग्यताका आधारमा सञ्चालक समितिमा शक्तिशाली देखिन्छन् । सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु पूर्व बैंकर, प्राध्यापक, सरकारी निकायको उच्च तह तथा वित्तीय क्षेत्रमै लामो समय काम गरेकाहरु देखिन्छन् । आज हामीले कुन बैंकमा कसको सहभागिता छ भन्ने सामग्री तयार पारेका छौं । लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइज बैंकमा ६ जना सञ्चालकमध्ये दुई जना महिला सञ्चालक छन् । स्वती रुङ्गटा र विद्या बस्न्यात सञ्चालकको रुपमा काम गरिरहेका छन् । लक्ष्मी बैंकमा सनराइज बैंक मर्ज हुनुअघि सनराइज बैंकमा शारदा शर्मा सञ्चालक थिइन् । तर, अहिले उनी सञ्चालकबाट विदा भइसकेकी छन् । लक्ष्मी सनराइज बैंकमा विद्या बस्न्यातले स्वतन्त्र सञ्चालकको रुपमा काम गरिरहेकी छन् भने रुङ्गाटा सन् २०१२ देखि सञ्चालकको रुपमा काम गरिरहेकी छन् । रुङ्गाटाले ग्लोबल इक्विटी फण्डमा म्यानेजिङ पाटर्नरको रुपमा पनि काम गरिरहेकी छन् भने उनीसँग वित्तीय क्षेत्रको राम्रो अनुभव छ । माछापुच्छ्रे बैंक : सात जनाको सञ्चालक समिति रहेको यस बैंकमा बन्दना कार्की सञ्चालक छिन् । उनी पब्लिक डाइरेक्टर हुन् । कार्कीले सिक्किम मणिपाल विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छन् । उनीसँग विभिन्न क्षेत्रका विभिन्न संस्थाहरूमा काम गरेको अनुभवका साथै उत्कृष्ट प्रशासनिक सीप पनि छ । उनले गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हिमश्री फुड्स प्रालिको प्रोक्योरमेन्ट म्यानेजरको रूपमा पनि पनि काम गरेकी छन् । नबिल बैंक : नबिल बैंकमा आशा राणा अधिकारीले महिला सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालक हुन् । तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएकी उनीसँग यसअघि विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ । उनले तत्कालीन सनराइज बैंकको डेपुटी सीईओ भएर पनि काम गरिसकेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए पास गरेकी उनीसँग साढे तीन दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एनआईसी एशिया : सात जना सञ्चालकमा एनआईसी एशिया बैंकका एक जना महिला सञ्चालक छन् । सो बैंकमा विजया स्वारले महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । कृषि विकास बैंकको विभिन्न पदमा रहेर काम गरिसकेकी उनीसँग बैंकिङ क्षेत्रमा चार दशक बढीको अनुभव छ । उनले यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सञ्चालकको रुपमा तथा फण्ड म्यानेजमेन्ट कम्पनीको अध्यक्षको रुपमा कार्य गरेको अनुभव छ । उनले एशियन ईन्स्टिच्यूट अफ म्यानेजमेन्ट, मनिला, फिलिपिन्सबाट डेभलप्मेन्ट म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । हाल उनी एनआइसी एशिया बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि समितिको संयोजक र कर्मचारी सेवा सुविधा समितिको सदस्यका रुपमा काम गरिरहेकी छन् । एनएमबि बैंक : एनएमबी बैंकले बन्दना पाठकलाई बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको छ । तत्कालीन एनसीसी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिरहेकी उनी एनसीसी कुमारी बैंकसँग मर्ज भएपछि उनले बैंक छाडेकी थिइन् । उनले जागिर छोडेपछि एनएमबि बैंकले स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग तीन दशकसम्म बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एभरेष्ट बैंक : एभरेष्ट बैंकमा उर्मिला श्रेष्ठले पब्लिक सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनको बैंकमा सेयर लगानी छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनले महिला सहयात्रा लघुवित्तको अध्यक्ष भएर पनि काम गरिसकेकी छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : यस बैंकको स्वतन्त्र सञ्चालकका रुपमा मञ्जु बस्नेत काम गरिरहेकी छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुनु अघि मेगा बैंकमा सबिनादेवि काफ्लेले काम गरिरहेकी थिइन् । नेपाल एसबिआई बैक : नेपाल एसबिआई बैकको सञ्चालकका रुपमा अप्सरा उप्रेती काम गरिरहेकी छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । बैंकिङ क्षेत्रमा करिब एक दशकको अनुभव भएको उनको भूमिका बैंकमा महत्वपूर्ण छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरेकी छन् । सानिमा बैंक : सानिमा बैंकको महिला सञ्चालको रुपमा गायत्री थापा काम गरिरहेकी छन् । उनी २०७६ जेठमा बैंकको सञ्चालकका रुपमा नियुक्त भएकी थिइन् । बैंकमा ६ जना सञ्चालकमध्ये उनी एउटा मात्रै महिला सञ्चालक हुन् । उनी बैंकमा महत्वपूर्ण सञ्चालकका रुपमा परिचित छन् । उनी कर्मचारी सेवा सुविधा समितिको संयोजक समेत हुन् । प्रभु बैंक : प्रोफेसर डा. गिता प्रधान प्रभु बैंकको सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी पनि एक महत्वपूर्ण सञ्चालक हुन् । यसअघि उनी सेञ्चुरी बैंकको सञ्चालक थिइन् । प्रभुमा सेञ्चुरी गाभिएपछि उनी प्रभु बैंकको सञ्चालक बनेकी हुन् । कृषि विकास बैंक : सरकारी स्वामित्वको कृषि विकास बैंकमा महिला सञ्चालकको रुपमा रिता सुवेदीले काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी लेक्चर पनि हुन् । सिद्धार्थ बैंक : मिना कुमारी सैंजुले सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनीसँग ३० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि उनी पञ्चिमाञ्चल ग्रामीण विकास बैंक, नागरिक लघुवित्त संस्था लिमिटेड र जनता बैंक नेपाल लिमिटेडकी निर्देशक थिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी नेपाल बैंकको उपमहाप्रबन्धक भएर पनि काम गरेकी थिइन् । नेपाल बैंक : सात जना सञ्चालक रहेको नेपाल बैंकमा डा. सावित्री रञ्जित श्रेष्ठ महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । उनले नेपाल सरकारबाट प्रतिनिधित्व गरेकी हुन् । प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकको महिला सञ्चालकको रुपमा डा. तारादेवि चित्रकार काम गरिरहेकी छन् । उनी गत वर्षको पुसमा बैंकको सञ्चालकमा नियुक्त भएकी थिइन् । उनी प्राध्यापक पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरी रहेकी थिइन् । उनी सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् । राष्ट्रिय वाणिज्य बैंक : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकको रुपमा रोमिला ढकाल उप्रेतीले काम गरिरहेकी छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले यसअघि एभरेष्ट बैंकमा २० वर्ष काम गरेको अनुभव छ । प्रभावकारी भूमिका तीन दशक बढी समय बैंकको कर्मचारी भएर काम गरेकी एनएमबि बैंकका स्वतन्त्र सञ्चालक बन्दना पाठक पछिल्लो समय बैंकहरुको बोर्डमा महिलाको सहभागितासँगै आवाज पनि निर्णायक हुन थालेको बताउँछिन् । उनले बैंकको सञ्चालक समितिमा बस्ने अधिकांश महिलाहरु ज्ञान, सीप र अनुभवले निखारिएका हुनाले पनि बैंक सञ्चालक समितिले महिलाको कुरालाई निर्णायकका रुपमा लिने गरेको सुनाउँछिन् । ‘म पनि एनसीसी बैंकबाट बाहिरिएको १५ दिनमै एनएमबि बैंकको सञ्चालक बनें, महिलाको सहभागिताकै लागि मात्रै भएको भए उहाँहरुले अरुलाई नै सञ्चालक बनाउन सक्थे तर क्षमता र अनुभव भएको मान्छे उहाँहरुले खोज्नु भयो, देखाउनका लागि मात्रै भन्दा पनि सीप, ज्ञान र अनुभव भएका महिलाहरुको सहभागिता सञ्चालक समितिमा देखिन्छ, यसले सिंगो बैंकको पफर्मेन्समा फाइदा भइरहेको छ,’ उनले विकासन्युजसँग भनिन् । उनका अनुसार बैंकको तल्लो तहमा कर्मचारीहरु बढी भएपनि माथिल्लो तहमा भने न्यून सहभागिता छ । माथिल्लो तहमा पुगेका महिलाहरु कुनै न कुनै बेला सञ्चालक बन्ने सम्भावना बढी हुन्छ । बैंकको सञ्चालकमा महिलाको प्रतिनिधित्व हुनै पर्ने व्यवस्थाले पनि महिलालाई सञ्चालकसम्म पुग्न केही सहज भएको हुन सक्ने उनको बुझाइ छ । ‘निर्णायक तहमा पुग्दा महिलाहरुको कुरा सुन्ने, उहाँहरुको सुझावलाई बैंकले कार्यान्वयन पनि गरिरहेको हुन्छ, अहिले जति बैंकको सञ्चालकमा महिलाहरु हुनु हुन्छ, उहाँहरु सबै कुनै न कुनै हिसाबले परिपक्व हुनुहुन्छ, त्यसैले पनि बैंक सञ्चालक समितिले महिलाको सुझावलाई कार्यान्वयनको तहमा पुर्याउँछ,’ उनले भनिन् । आधा दर्जन बैंकमा छैनन् महिला पाँच वटा वाणिज्य बैंकले महिला सञ्चालक नियुक्त गरेको छैन । स्ट्याण्डर्ड, हिमालयन, ग्लोबल आइएमई, कुमारी र सिटिजन्स बैंकले महिला सञ्चालक राखेको छैन । ग्लोबल आईएमई बैंकमा सात जनाको सञ्चालक टिम भएपनि महिलाको सहभागिता छैन । ग्लोबलमा गाभिनुअघि बैंकअफ काठमाण्डूमा २ जना सञ्चालकहरु अमृता उप्रेती र मोहना लोहनी सञ्चालकका रुपमा काम गरिरहेका थिए । ग्लोबल र बिओके मर्ज भएपछि उनीहरु सञ्चालकबाट बाहिरिएका थिए । यस्तै, यसअघि सिता कार्की केसीलाई स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । तर, अहिले बैंकले उनको विदाई गरिसकेको छ । ६ जना सञ्चालक रहेको कुमारी बैंकले पनि महिला सञ्चालक राखेको छैन । यसअघि कुमारी बैंकमा अनुराधा चौधरी सञ्चालक थिइन् । तर, कुमारी बैंक र एनसीसी बैंकबीच मर्ज भएपछि उनी सञ्चालकबाट विदा भएकी हुन् । यस्तै, तत्कालीन एनसीसी बैंकमा पनि सुमन जोशी महत्वपूर्ण महिला सञ्चालकका रुपमा थिइन् । तर, अहिले उनी पनि सञ्चालकको रुपमा छैनन् । कम्पनी ऐन, २०६३ ले पब्लिक कम्पनीहरुमा रहने सञ्चालक समितिको बारेमा स्पष्ट व्याख्या गरेको छ । जसअनुसार पब्लिक कम्पनीमा एक जना महिला सञ्चालक अनिवार्य राख्नु पर्ने व्यवस्था छ । पब्लिक कम्पनीहरुमा सेयरधनी महिला छन् भने ती कम्पनीले एक जना महिला सञ्चालक राख्नै पर्ने व्यवस्था रहेको कम्पनी रजिष्ट्रार महेश बराल बताउँछन् । उनका अनुसार पछिल्लो समय नयाँ दर्ता गर्न आउने पब्लिक कम्पनीलाई भने सञ्चालक समितिमा महिला भए÷नभएको विषय प्राथमिकताका साथ हेर्ने गरिएको छ । ‘कुनै पनि पब्लिक कम्पनीको सेयरधनी महिला छन् भने सञ्चालक समितिमा महिलाको सहभागिता अनिवार्य गरिएको छ, त्यो विषयलाई हामीले पनि सुक्ष्म ढंगले हेर्ने गरेका छौं,’ उनले विकासन्युजसँग भने । यस्तै, राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेल बैंक तथा वित्तीय संस्था ऐनले बैंकको सञ्चालक समितिमा महिलाको सहभागिताको विषयमा कुरा नगरेको भएपनि बैंकले भने महिलाहरुलाई प्राथमिकतामा राखेर सञ्चालकमा राख्नु पर्ने धारणा राख्छन् । उनका अनुसार बैंकको बोर्डमा महिला र पुरुषको समान सहभागिता देखिँदा पनि एक किसिमको समावेशिता देखिँदा राम्रो हुन्छ । सम्बन्धित सामग्री : बैंक हाँक्न तम्तयार १५ ‘लेडी बैंकर्स’
सन्तानहरुलाई कुरिरहेको सुवासको शव
काठमाडौं । व्यक्तिलाई कहिले अपत्यारिलो खबरले रुवाउँछ, कहिले अप्रत्यासित मृत्युले रुवाउँछ त कहिले देशको दर्दनाक तस्वीरले भावविभोर बनाउँछ । त्यो भावविभोरता र त्यो अप्रत्यासित रुवाइको घटना नेपाल र नेपालीका लागि मंगलबार पनि घट्यो । नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको मृत्युले देश शोकमा डुब्यो । एक शालिन र कुशल राजनीतिज्ञ, आफ्नै पार्टीका सहकर्मीसँगै अन्य राजनीतिक दलका प्रतिस्पर्धी नेताहरुसँग पनि सुमधुर सम्बन्ध कायम गर्नमा खप्पिस उनको निधनले देशलाई ठूलो क्षति पुर्याएको छ । उनको सोही क्षमताको यतिखेर सिंगो देशले जयजयकार गर्दैछ । उनी अहिले सञ्चार माध्यमको हेडलाइन बनिरहेका छन् । विपक्षी दल तथा असन्तुष्ट पक्षलाई पनि सहमति र समझदारीमा ल्याउने वातावरण निर्माण गर्न सक्ने खुवी भएका उनको निधनले नेकपा एमालेसँगै देशलाई पनि ठूलो नोक्सानी भएको छ । उनको मृत्युको दुःखद खबरसँगै अर्को एउटा समाचारले तपाईं/हामीलाई भावविभोर बनाएको छ । उसो त त्यो भावविभोरता तपाईं/हामीले दिनहुँ महसुस गर्नु परेको छ, देख्नु परेको छ र सुन्नु परेको छ । दैनिक हजारौं युवाहरुले त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आँसु चुहाउँदै यो देश छोड्नु परेको छ । एकछिन कल्पना गर्नुस् त ! तपाईं/हाम्रो छोराछोरी, भाई/बुहारी, भतिज/भतिजी वा श्रीमान/श्रीमतीलाई बिदाइ गर्दाका ती पलहरु कति हृदयविदारक बनिदिन्छन् । अझ काँधभरी खादामालाहरु भिडाएर बिदाइका हातहरु हल्लाएको त्यो तपाईंको मान्छे एउटा बाकसमा मृत शरिर बनेर फर्कियो भने आफुलाई सम्हाल्न सक्नु हुन्छ ? अर्थात्, तपाईंले अँगालो मारेर बिदाइ गरेको त्यो प्रिय मान्छे तपाईंको मृत्युमा उपस्थित हुन सकेन भने तपाईंले स्वास छोडेर यो संसार छोड्दै गर्दा कस्तो गाह्रो र असह्य हुन्छ होला । देशको सभामुख भइसकेको व्यक्ति । संविधानसभा अध्यक्ष भएर देशको प्रमुख राजनीतिक दल नेकपा एमालेको उपाध्यक्ष जस्तो मान्छेको मृत्युमा उनका उत्तराधिकारी अर्थात् दुइटै छोराहरु उनको अन्तिम स्वासमा उपस्थित छैनन् । बुबाको मृत्यु भएको दुई दिनपछि उनका छोराहरु विदेशबाट स्वदेश आइपुग्दैछन् । कस्तो विडम्वना ! कसैलाई छोरा नभएर दुःख । कसैलाई छोरा बढी भएर दुःख त कसैलाई छोरा विदेश भएर दुःख । दुःख सबैका आ-आफ्नै किसिमका । स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट बुधबार दिउँसो चार बजे नेपाल आइपुग्दैछन् । उनी सपरिवार बेलायत बस्दै आएका छन् । उनका कान्छा छोरा सुहाङ नेम्वाङ आज राति ११ बजे फर्किने बुझिएको छ । देशको ठूलो राजनीतिज्ञको छोराहरु विदेश भएको कारण उनको मृत्युमा उनका छोराहरु उपस्थित हुन सकेनन् । उनीहरु बुबाको अन्तिम स्वासमा सारथी बन्न सकेनन् । हामी स्वदेशमै रोजगारीको कुरा गर्छौं । त्यो कुरा सबैभन्दा बढी गर्ने राजनीतिक नेतृत्वले नै हो । तर, एकछिन सरसर्ती हेरौं त, यो देशका शिर्ष नेताहरुका छोराछोरीहरु कहाँ छन् ? के गर्दैछन् ? के राजनीतिक नेतृत्वहरुले भनेजस्तै उनीहरुका छोराछोरी पनि स्वदेशमै रोजगारी गरिरहेका छन् ? स्वदेशमै पढिरहेका छन् ? वा स्वदेशमै उद्यमी बनेका छन् ? यो सामग्री तयार गर्दै गर्दा पंक्तिकारले पनि देशका शिर्ष नेताहरुका छोराछोरी कहाँ छन् ? स्वदेशमै कार्यरत छन् वा विदेशमै छन् ? भन्ने विषय सरसर्ती केलाए । तर, अधिकांश शिर्ष नेताका छोराछोरीहरु विदेशमा भेटिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयबिर देउवा विदेश–स्वदेश गर्दै आइरहेका छन् । उनी नेपालमा भन्दा बढी विदेशमा बस्छन् । उनले बेलायतबाट नै राजनीतिकशास्त्रमा विद्यावारिधी गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल पनि बेलायतमै बस्ने गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका छोरा सौरभ नेपाल पनि अष्ट्रेलियामा रहेको बुझिएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्छ भनेर गफ दिने पूर्व अर्थमन्त्री जनार्दन शर्माका छोरा प्रकाश शर्मा र छोरी कविता शर्मा पनि अमेरिकामै बस्छन् । पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी श्रृखला खतिवडा पनि विदेशमै छिन् । उनले केही समयअघि अमेरिकाको हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् । उर्जामन्त्री शक्ति बस्नेतको छोरी पनि अमेरिकामै रहेको बुझिएको छ । यी केही प्रतिनिधि पात्रहरु मात्रै हुन् । अहिले मन्त्रिमण्डलमा भएका अधिकांश मन्त्रीहरुका छोराछोरीहरु विदेशमा छन् । उनीहरु विदेशमै पढेर उतै सेटल भइसकेका छन् । नेताहरु देश बनाउँछौैं, स्वदेशमै राजगारी सिर्जना गर्छौं भनेर दिनप्रतिदिन गफको ग्राफ बढाउँदैछन् । उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरुको ग्राफ बढ्दो छ । त्यो ग्राफमा तिनै देश बनाउँछु भनेर लागेका नेताहरुका छोराछोरी पनि समाहित छन् । आफ्ना छोराछोरीलाई विदेश पठाएर म देश बनाउँछु भनेर देश बन्छ ? आफ्ना सन्तानलाई विदेशी महँगा विश्वविद्यालयहरुमा पढाएर यता गरिबका छोराहरुलाई निःशुल्क शिक्षा प्रदान गर्छौं भन्दै गफ लगाएर हुन्छ ? आफु र आफ्ना छोराछोरीहरुलाई विदेशी सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गराएर देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्छौं भनेर गफ दिन मिल्छ ? नेताज्यूहरु ख्याल गर्नुस्, तपाईंको मरणमा पनि तुलसी जल पिलाउनेहरुको कमि हुन सक्छ । प्राण प्यारा तपाईंका छोराहरु तपाईंको अगाडि नहुन सक्छन् । त्यतिखेर तपाईंलाई डलरभन्दा तुलसी पानीको प्यासले छटपटाउन बाध्य पार्न सक्छ । त्यतिखेर तपाईंलाई डलरको गड्डीभन्दा प्रिय पुत्रको प्यास बढी लाग्न सक्छ । अहिले देश दुखेको छ । तपाईंहरुको मन दुखेको छैन । पछि तपाईंको मन दुख्न सक्छ । तर, त्यतिबेला तपाईंहरुसँग न गर्न सक्ने पद रहन्छ , न प्रतिष्ठा हुन सक्छ नत गर्न सक्ने हैसियत नै । समुन्द्र पारी रहेको छोरालाई भिडिओ कल गर्दै घर फर्किने विलौनासहितको विकल्प तपाईंसँग हुने छैन । परिणाम निस्कन्छ, सुवास नेम्वाङ । जसले आफ्नो छोराको हातबाट दागबत्ती पाउन दुई दिन कुर्नु पर्ने । आदारणिय नेता सुवास नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली ।
बंगालीलाई नबिलको सेयर बेच्न राष्ट्र बैंकले दिएन, चौधरीको प्रयास अब ढुङ्गानालाई गभर्नर बनाउने
काठमाडौं । नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने योजना बनाएको इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी)लाई नेपाल राष्ट्र बैंकले सेयर बिक्रीको अनुमति नदिने भएको छ । सेयर बिक्रीका लागि अनुमति माग्न राष्ट्र बैंक पुगेको आइएफआईसीलाई राष्ट्र बैंकले सेयर खरिद बिक्रीको अनुमति नदिने भएको हो । खरिदकर्ता खोजेर समेत सेयर बिक्रीका लागि राष्ट्र बैंक पुगेको लामो समय हुँदा पनि राष्ट्र बैंकले सेयर खरिद/बिक्रीको लागि अनुमति दिने फाइल अगाडि बढाएको छैन । नेपाल राष्ट्र बैंकका एक उच्च स्रोतका अनुसार राष्ट्र बैंकले आइएफआईसीलाई सेयर बिक्रीको अनुमति नदिने भएको हो । स्रोतका अनुसार राष्ट्र बैंकले चाहेको भए अहिलेसम्म प्रक्रिया सकिसक्थ्यो । राष्ट्र बैंकले नचाहेरै सेयर बिक्रीको फाइल अगाडि नबढेको हो । ‘बैंकिङ चाहेको बेला आउने र नचाहिएको बेला बाहिरिने बिजनेस होइन, यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले दीर्घकालीन योजना बनाएर लगानी गर्नु पर्छ, सेयरधनीले म सेयर बेच्छु भन्ने बित्तिकै हामीले अनुमति दिनु पर्छ भन्ने पनि हुँदैन, अहिलेसम्मको छलफल अनुसार बंगाली सेयर बिक्रीको अनुमति दिनु हुँदैन भन्नेछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । आइएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नबिलबाट बाहिरिने निर्णय गरेको लामो समय भइसकेको छ । आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि अहिले आइएफआईसी नबिल बैंकको सेयरधनी बनेको छ । स्रोतका अनुसार सेयर बिक्री गर्नको लागि अनुमति दिनु पर्ने कुनै कानुनी अड्चन नभएपनि व्यवहारिक रुपमा दिन सक्ने अवस्था छैन । ‘हामीलाई अझै पनि विदेशी बैंकको अभ्यास सिक्नु छ, विदेशी बैंकले गरिरहेको बैंकिङको अभ्यास हामी नेपालमा पनि लागू गर्न चाहन्छौं, विदेशी बैंकको लगानी भएका बैंकको बोर्डमा विदेशीहरु पनि हुनुहुन्छ, उहाँहरुले बोर्ड र व्यवस्थापनलाई त्यहाँको अभ्यास र अनुभव पनि सेयर गर्छन्, कुनै बेला निश्चित प्रतिशत व्यवस्थापन पनि विदेशी आउनु पर्ने नियम थियो, हामी अहिले नै विदेशी लगानीलाई बाहिर जान दिनु हुन्न भन्ने पक्षमा छौं,’ स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको धारणा पनि यस्तै रहेको स्रोतको दावी छ । ‘गभर्नरले उहाँहरुलाई (विदेशी सेयरधनीहरु)लाई पनि तपाईंहरुको एक्सपर्टिज हामीलाई चाहिन्छ, तपाईंहरु बाहिरिनु हुन्न भन्ने कुरा राखिराख्नु भएको छ, उहाँहरुले बिक्री गर्न चाहे पनि नेपालीलाई बिक्री गर्न पाउनु हुन्न, त्यसका लागि विदेशी बैंकको नियामकले नै नियमन गरिरहेको संस्थाले किनोस् भन्ने चाहना गभर्नरको छ,’ स्रोतले भन्यो । गभर्नर अधिकारीले आइएफआईसीसँगको छलफलमा पनि नेपाली लगानीकर्तालाई नभई विदेशीलाई नै बिक्री गर्न तयार भए बिक्रीको अनुमति दिने विषय पनि राखिसकेको बुझिएको छ । तर, आइएफआईसीले भने नेपाली लगानीकर्ता नै खोजेको छ । त्यसैले पनि राष्ट्र बैंक यसमा सहमत नभएको हो । ‘आइएफआईसीले नेपाली लगानीकर्तालाई नै बिक्री गर्ने प्रस्तावसहित आएको छ, एउटा विदेशी लगानीकर्ताले बिक्री गरेपनि अर्को विदेशी लगानीकर्ता आओस् भन्ने अपेक्षा गभर्नरको हो, हामी विदेशी लगानीकर्तालाई फर्काउन चाहन्नौं, अहिलेकै गभर्नर राष्ट्र बैंकको नेतृत्वमा हुँदासम्म आइएफआईसीले नेपालीलाई सेयर बिक्री गर्न पाउँदैन भन्नेमा ढुक्क हुँदा हुन्छ,’ स्रोतले भन्यो । विनोद चौधरीलाई पटक-पटक असफलता नबिल बैंकका प्रमुख सेयरधनी विनोद चौधरीले आइएफआईसीको सेयर खरिद गर्ने कसरतमा नियमित लागि परेका छन् । तत्कालीन नेपाल बंगलादेश बैंक (एनबी बैंक)लाई नबिलमा गाभ्नका लागि बुनेको एउटा रणनीतिमध्ये उनको पहिलो रणनीति थियो आइएफआईसीको सेयर खरिद गर्ने । उनले त्यतिबेला एनबी बैंकमा रहेको आइएफआईसीको सेयर खरिद गर्न ठूलो संघर्ष गर्नु पर्यो । तर, त्यो संघर्षले उनलाई सफलता मिलेन । नेपाली बैंकबाट बाहिरिने आइएफआईसीको योजना भने पहिलेदेखिको नै हो । त्यतिबेला सो सेयर खरिद गर्न तत्कालीन एनबी बैंकको संस्थापक समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले पनि प्रयास गरे । तर, राष्ट्र बैंकले मापदण्ड नपुगेको भन्दै सेयर खरिद बिक्रीको अनुमति दिएन । आइएफआईसी बैंकले संस्थापक सेयरधनीहरुबाट रितपूर्वक निवेदन नपरेको भन्दै जोकोही व्यक्ति तथा संस्थालाई बिक्री गर्न राखेको थियो । त्यसबेला नबिल बैंकका मुख्य लगानीकर्ता तथा उद्योगी विनोद चौधरी, शेखर गोल्छा, पशुपति मुरारका, मोतिलाल दुगड लगायतले उक्त सेयर खरिद गर्न चासो देखाए । तत्कालीन सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले बढी मूल्य बोलकबोल गरेको विषय बाहिरिएको थियो । स्रोतका अनुसार तत्कालिन सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेका थिए । सो इच्छापत्र अनुसार आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा बिक्री गने सहमति पनि भइसकेको थियो । सोही बेला आईएफआईसीले चौधरी ग्रुपलाई पनि १५७ रुपैयाँमै सेयर बिक्री गर्नका लागि सम्झौता गरिसकेको विषय बाहिरिएपछि दुगड अदालत पुगेका थिए । त्यो बिचमा नबिल बैंकले एनबी बैंकलाई गाभ्यो । केही समय सेयर खरिद बिक्रीको विषय सामसुम बन्यो । तर, २०७९ को मंसिरमा फेरि सार्वजनिक सूचना नै जारी गर्दै नबिल बैंकले आईएफआईसीको संस्थापक सेयर बिक्रीका लागि आव्हान गर्यो । सेयर खरिद गर्ने इच्छा देखाए तिनै उद्योगी विनोद चौधरीले । उनले आफ्नी श्रीमती सारिका चौधरीको नाममा आईएफआईसीको सयर खदि गर्ने प्रक्रिया अगाडि बढाका थिए । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवालीका अनुसार सबै सेयर खरिदका लागि सारिका चौधरीको नाममा निवेदन परेकाे छ । आईएफआईसी र चौधरी ग्रुप सेयर खरिद बिक्रीको अनुमति माग्न राष्ट्र बैंक पुगेको लामो समय भइसक्यो । तर, राष्ट्र बैंकले सेयर बिक्रीको अनुमति नदिने अनौपचारिक रुपमा बताइसकेको बुझिएको छ । एनबी बैंक मर्ज पूर्व नबिल बैंकमा चौधरीको ५५ प्रतिशतभन्दा बढी सेयर थियो । मर्जपछि चौधरी ग्रुपको हिस्सा करिब ४५ प्रतिशत छ । आइएफआईसीको ७.७७ प्रतिशत सेयर खरिद गर्न संघर्ष गरिरहेका चौधरी आफ्नो पक्षमा बहुमत अर्थात् ५२.७७ प्रतिशत सेयर बनाउने रणनीतिमा छन् । प्रतिनिधिसभा सांसद सदस्य समेत रहेका चौधरीले आईएफआईसीको सेयर खरिद गर्नको लागि ठूलो लबिङ गरे पनि त्यो सेयर हात पार्न पटक–पटक असफल भइरहेका छन् । स्रोतका अनुसार अहिले सोही कारण चौधरी र गभर्नर अधिकारीबीच एक किसिमको ‘इगो’ नै चलेको छ । ढुङ्गाना गभर्नरको उम्मेदवार अहिले नबिल बैंकको व्यवस्थापकीय नेतृत्व ज्ञानेन्द्र ढुङ्गानाले गरिरहेका छन् । एनबी बैंकलाई नबिल बैंकमा गाभ्नका लागि सबैभन्दा बढी खटिने पात्र मध्येका एक हुन् सीईओ ढुङ्गाना । त्यसैले पनि उनलाई चोधरीले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को ताज पहिराए । ढुङ्गाना त्यतिखेर तत्कालीन नेपाल बंगलादेश बैंकबाट बाहिरिसकेको भएपनि पछि एनबी नबिलमा गाभिसकेपछि उनैले नबिलको नेतृत्व गरे र सेलिब्रेटी सीईओ अनिलकेशरी शाह बैंकबाट बाहिरिए । चौधरीले आइएफआईसीको सेयर खरिद गर्नमा ठूलो बाधक बन्ने पात्रका रुपमा गभर्नर महाप्रसाद अधिकारीलाई लिएका छन् । गभर्नर २०७६ चैतमा नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा नियुक्त भएका अधिकारीको कार्यकाल २०८१ चैतमा सकिँदैछ । तर, सांसद चौधरीले भने नयाँ गभर्नरका लागि अहिले नै तयारी थालिसकेको स्रोतको भनाइ छ । उनले तिनै ढुङ्गानालाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने तयारीमा छन् । ‘आफ्नो नजिकको पात्रका रुपमा चोधरीले ढुङ्गानालाई लिएका छन्, उनले जसरी भएपनि राष्ट्र बैंकबाट आइएफआईसीको सेयर आफुले खरिद गर्न अनुमति चाहिरहेका छन्, त्यसका लागि गभर्नर अधिकारी तयार छैनन्, त्यो निर्णय गराउनका लागि पनि उनले अहिले नै नयाँ गभर्नरका लागि ढुङ्गानालाई गभर्नर बनाउनु पर्ने विषय पार्टीपंक्तिका नेताहरुसँग राख्न सुरु गरिसकेको सुनिन्छ,’ स्रोतले भन्यो । उसो त ढङ्गानाका दाजु आनन्द ढुङ्गाना पनि काँग्रेसकै नेता हुन् । उनले अहिले नेपाली काँग्रेस अन्तर्गतको सहकारी विभागको नेतृत्व गरिरहेका छन् । त्यसैले पनि सीईओ ढुङ्गानालाई पार्टीसमक्ष लविङ गर्न केही सहज हुन सक्ने आँकलन बैंकिङ उद्योगमा हुन थालिसकेको छ । गभर्नरकाे रूपमा तयार पार्न नबिलले प्रमुख कार्यकारी अधिकृत ढुंगानालाई अगामी असार मसान्तमा विदा गर्ने भएको छ । कार्यकाल २ वर्षको लागि मात्र तोकिएकोले उनलाई अवकाश दिन पनि बैंकलाई सजिलो भएको स्राेतले बतायाे । साउनदेखि नबिलबाट अवकाश पाउने ढुंगानाले आगामी चैतमा नेपाल राष्ट बैंकको गभर्नर बन्ने सम्भावना प्रवल रहेको जानकारहरु बताउँछन् ।
भीआईपी व्यवसायी : जो आफू पनि डुबे, बैंकलाई पनि फसाए
काठमाडौं । ऋणीले ऋण नतिरेपछि बैंक तथा वित्तीय संस्थाले धितो लिलाम गर्छन् । खराब कर्जामा वर्गिकरण भएको कर्जालाई बैंकहरुले ७ दिने, १५ दिने र ३५ दिने सूचना जारी गर्दै धितो लिलामको प्रक्रिया अगाडि बढाउँछन् । सो भन्दा अगावै पनि बैंकहरुले ऋणीलाई आन्तरिक रुपमा नै ऋण तिर्न पटक–पटक ताकेता गर्छन् । उक्त ताकेता पत्रको अवेज्ञा गरेर ऋण नतिरेपछि बैंकहरुले सूचना जारी गर्छन् । यस्तो प्रक्रियामा समेत ऋण तिर्न ऋणी नआएपछि बैंकले धितो लिलामीमा चढाउँछन् । लिलाम गरिएको धितोको मूल्यांकन गरी बैंकहरुले गोप्य शिल्बन्दी बोलपत्र आव्हानकोे ७ दिने सुचना प्रकाशित गरी धितो बिक्री गरी ऋण असुल गर्छन् । यदि धितोको मूल्य सावाँ ब्याजभन्दा बढी आएमा बढी भएको रकम सम्पत्तिवालालाई फिर्ता गर्छन् । यही नै हो बैंकले आफ्नो ऋण असुल गर्ने प्रक्रिया । तर, यो प्रक्रिया सानालाई मात्रै लागू हुन्छ भन्दा कसैलाई अन्याय नहोला । वर्तमान नेपाली बैंकिङको अभ्यास यस्तै छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भनाई बैंकको धितो लिलामीमा पनि लागू हुन्छ । बैंकबाट करोडौं ऋण लिएर पछि नतिर्ने परिपाटी अहिलेको मात्रै होइन, यस्तो प्रवृति र पात्रहरु नेपाली व्यवसाय र बैंकिङ क्षेत्रमा पहिलेदेखि नै छन् । मेरो सम्पत्ति यति धेरै छ भनेर धाक लगाएर ठूलो मात्रामा ऋण लिएर पछि नतिर्ने र बैंकमा राखेको धितो पनि लिलाम गर्न नदिने प्रवृति नेपाली बैंकिङमा ब्याप्त छ । उल्टै आफ्नो ऋण मिनाहा गर्नका लागि शक्तिकेन्द्र धाउने व्यक्तिहरुको संख्या पनि कम छैन । अब सुरु गरौं त्यस्ता ऋणीहरुको विषय, जसले बैंकबाट अर्ब ऋण लिएर न कर्जा तिरे नत बैंकमा राखेको धितो लिलाममा सघाए । बरु उनीहरु आफु पनि व्यवसायमा असफल भए र बैंकहरुलाई पनि ठूलो घनचक्करमा फसाए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका चण्डिराज ढकालले राष्ट्रिय वाणिज्य बैंकको करिब ४ अर्ब बढी ऋण नतिरेको ३० वर्षभन्दा बढी समय भइसकेको छ । ढकालले वि.स २०५० सालमा मोमेन्टो एपरल्सको नाममा साढे ३१ करोड रुपैयाँ कर्जा लिएका थिए । अहिले उक्त ऋणको सावाँ ब्याज जोड्दा ४ अर्ब रुपैयाँ बढी पुगिसकेको बैंक स्रोतको भनाइ छ । यो बिचमा ढकालले बन्द अवस्थामा रहेको मोमेन्टो एपरल्सको ऋण मिनाह हुनु पर्ने माग राख्दै शक्ति केन्द्र नधाएका होइनन् । तर, उनको प्रयास सफल हुन सकेन । राष्ट्रिय वाणिज्य बैंकले न उनको धितो लिलाम गर्न सक्यो नत त्यति धेरै ऋण असुल नै गर्न सक्यो । तीन दशक पुरानो ऋण उठाउन संघर्ष गरिरहेको राष्ट्रिय वाणिज्य बैंकको प्रयास सफल हुन सकेको छैन । कुनै बेला नेपालबाट सबैभन्दा बढी गार्मेन्ट निर्यात गर्ने उद्योगका रुपमा परिचित थियो मोमेन्टो एपरल्स । सो उद्योगको धितो हेर्न राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन सीईओ जनार्दन आचार्य हेलिकप्टरमा झापा पुगेका थिए । त्यतिखेरको सफल र उदाहरणिय गार्मेन्ट उद्योग थियो मोमेन्टो एपरल्स र प्रशंसा गर्न लायक थिए उद्योगी चण्डिराज ढकाल । तर, त्यो कर्जाले उनलाई माथि उठ्न दिएन । मोमेन्टो एपरल्सको अवसानसँगै ढकालको व्यवसायिक जीवन पनि ओरालो लाग्यो । त्यो ओरालो यात्राबाट उकालो लाग्ने हाँगो उनले कतै भेटाउन सकेका छैनन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त रुपमा लगानी गरेको कैलालीको बासुलिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनीको नाममा रहेको ऋण असुल गर्न पनि निकै सकस परेको छ । बैंकहरुले केही रकम असुल गरेपनि अझै धेरै रकम उठाउन बाँकी रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकत किरण श्रेष्ठ बताउँछन् । कम्पनीले चिनी उद्योग खोल्नका लागि बैंकसँग लिएको ऋणको सावाँ ब्याज साढे ३ अर्ब बढी थियो । तर, केही रकम सेटलमेन्ट भइसकेको छ भने अझै केही बाँकी छ । कृषि विकास बैंकले कैलाली जिल्लामा रहेको उक्त कम्पनीको नाममा रहेको ५१ बिघा १३ कठ्ठा ६ धुर जग्गा लिलामी प्रक्रिया पनि अगाडि बढाएको थियो । तर, त्यो प्रयास सफल हुन सकेन । यो बिचमा कम्पनीका सञ्चालक अरुण चन्द अदालत पनि पुगे । सीईओ श्रेष्ठका अनुसार कम्पनीले बैंकको ६५ करोड रुपैयाँ तिर्न बाँकी छ । उनले यो ऋणलाई रिस्ट्रक्चरको प्रस्ताव गरेको पनि जानकारी दिए । बासुलिङ्ग चिनी उद्योग पनि पुरानो उद्योग हो । हाल बन्द अवस्थामा रहेको यो चिनी उद्योग पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका जेठा छोरा अरुण चन्दले सञ्चालन गरेका थिए । कैलालीमा मात्रै होइन सुदूरपश्चिमै चन्द परिवारको राजनीतिसँगै व्यवसायमा पृथक किसिमको छवि थियो । धेरैका लागि उत्कृष्ट उदाहरण बनेको थियो बासुलिङ्ग सुगर मिल । तर, राजनीतिसँगै व्यवसायमा पनि चन्द परिवार असफल बन्यो । चन्द परिवारको असफलताको कथा सोही उद्योगबाट सुरु भएको भन्नेहरु पनि कमि छैनन् । हाल चन्दले उक्त उद्योगलाई पुनः सञ्चालनको तयारी गरिरहेको बुझिएको छ । ‘हामीले ऋणीलाई उसको धितो हेरेर ऋण दिने हो, कसको नियत के हुन्छ थाहा हुँदैन, ऋण असुलीमा लामो नेगोसिएसन हुन्छ, अन्डरस्टाडिङ्ग भंग गर्न मिल्दैन, बिचमा केही समस्या आउँदा यस्ता धितो असुलमा समय लाग्छ, फेरि बैंकहरुले सकेसम्म ऋण नै असुल गर्न चाहन्छन्, धितो लिलाम गर्ने नियत बैंकको हुँदैन,’ सीईओ श्रेष्ठले भने । यस्तै, बैंकले चाहेर पनि अगाडि नबढेको धितो हो फूलवारी रिसोर्ट । फूलवारी रिसोर्टका सञ्चालक पीयुसकुमार अमात्य कुनैबेला विश्वका पर्यटक पोखरामा ओराल्ने ‘गफ’ दिन्थे । तर, उनको त्यो गफ अब एकादेशको कहानी बनेको छ । रिसोर्ट चलाउन लिएको ऋण तिर्न नसक्दा उनको अर्बौंको साम्राज्य डुबेको छ । यही होटल चलाउन लिएको ऋणले उनका अन्य व्यवसाय पनि संकटमा छन् । दक्षिण एसियाकै उत्कृष्ट आतिथ्यताको सेवा दिने महत्वाकांक्षी चाहना अमात्यमा थियो । महत्वाकांक्षी योजना बुनेर ठूलो प्रोजेक्टमा हात हालेका उनी अन्ततः आफ्नै सम्पत्ति जोगाउन पनि नसक्ने अवस्थामा पुगे । परिणामस्वरुप अहिले उनका दिनहरु हातमा एक थान फाइल बोक्दै कहिले बैंकरको कार्यकक्ष र त कहिले वकिलको क्याबिनमा बितिरहेका छन् । फूलबारी रिसोर्ट निर्माणका लागि लिएको ऋणको सावाँ-ब्याज गरेर झण्डै चार अर्ब रुपैयाँ अमात्यले तिर्नु पर्ने नेपाल बैंकको दाबी छ । नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा लगानी गरेका थिए । सो रिसोर्टमा नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंक ३५ करोड र सञ्चय कोषको ३१ करोड रुपैयाँ लगानी गरेका थिए । नेपाल बैंकले गत वर्षको असारमा फूलबारी रिसोर्ट लिलामीको सूचना समेत प्रकाशित गरेको थियो । बैंकको लिलामी प्रक्रियामा तीन/चार वटा ठूला व्यवसायिक घरानाले सहभागिता समेत जनाएका थिए । तर, अमात्यको आग्रहमा बैंक लिलाम गर्नबाट पछि हट्यो । उनले गत असार मसान्तसम्म ऋण तिरिसक्ने कबुल गरेपछि बैंकले धितो लिलाम गर्नबाट पछि हटेको थियो । तर, उक्त समयसम्म ऋण नतिरेपछि अब पुनः प्रक्रिया अगाडि बढाउने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण अधिकारीको भनाइ छ । अमात्यले असारसम्म सावाँ-ब्याज तिरिसक्ने प्रतिवद्धता जनाए पनि हालसम्म ऋण नतिरेको जानकारी सीईओ अधिकारीले दिए । अधिकारीका अनुसार उनले प्रतिवद्धता जनाए अनुसार बैंकको किस्ता पनि तिरेका छैनन् । ‘हामीले यसअघि नै लिलामीको प्रक्रिया अगाडि बढाउँदा उहाँ बैंकमै आएर अहिले लिलाम नगर्नुस्, म असारभित्रै सावाँ–ब्याज चुक्ता गर्छु भन्नु भएको थियो । तर, उहाँ त्यसपछि सम्पर्कमा आउनु भएन, अब हामी कसरी अगाडि बढ्ने भनेर लाग्छौं,’ उनले विकासन्युजसँग भने । अध्यक्ष अमात्य बैंकको ऋण नतिर्ने भन्दै यसअघि अदालत समेत पुगेका थिए । तर, उच्च अदालतबाट अन्तरिम आदेश नपाएपछि नेपाल बैंकले सम्पत्ति बेच्ने तयारी अघि बढाएको थियो । पर्यटन व्यवसायी अमात्यजस्तै महत्वांक्षी व्यवसायी थिए इच्छाराज तामाङ । जसको बास अहिले जेलमा छ । उनले पनि आफ्नो व्यवसायिक साम्राज्य विस्तार गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ठूलो परिमाणमा ऋण लिए । रातारात अर्बपति बन्ने दाउमा सहकारी खोले र सोही सहकारीको बचत घरजग्गामा लगाए । अन्ततः उनले बचतकर्ताको रकम फिर्ता गर्न सकेनन् र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि तिर्न सकेनन् । परिणामतः उनको जेलबास भयो । उनको स्वामित्वमा रहेको सीटीसी मल ऋण नतिरेको भन्दै लिलामीमा पनि चढ्यो । तर, बिक्री हुन सकेन । कर्मचारी संचय कोषले लिलामको सूचना पनि निकाल्यो । तर, उक्त प्रक्रिया अझै अगाडि बढ्न सकेन । कोषले काठमाडौँ महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा फैलिएको तथा सिभिल स्टेट्सको नाममा रहेको पसल कवलहरु लिलाम गर्नको लागि सूचना जारी गरेको थियो । तामाङले २१ करोड रुपैयाँ नतिरेपछि कोषले लिलामीको सूचना निकालेको थियो । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङ घरजग्गाबाट उदय भएका व्यवसायी हुन् । उनको राजकीय शैली र उनको महत्वांक्षा योजनाले नै उनलाई डुबाएको बताउनेहरु धेरै छन् । विडम्वना, अहिले उनीसँगै उनकी श्रीमती सृजना शाक्य पनि जेलमै छिन् । उनका व्यवसायहरु तितरबितर छन्, साहुहरुले धितो लिलाम गर्न खोजिरहेका छन्, उनी सम्पत्ति लिलाम नगर्न जेलबाट हारगुहार गर्दैछन् । कुनै बेला नेपाली जुत्ता उद्योगमा एक छत्र राज गरेका विराट थापा पनि असफल व्यवसायीका रुपमा दर्ज भइसकेका छन् । पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका भतिज विराटले पनि जुत्ता उद्योगबाट राम्रै कमाउँथे । राजनीतिक पृष्ठभूमीको परिवार, त्यसमाथि व्यवसायी भएकोले पनि उनलाई नपत्याउने कोही थिएनन् । बैंकहरुले पनि ऋण दिन तछाडमछाड गर्थे । सेनाहरुले पनि विराटकै उद्योगबाट उत्पादित जुत्ता प्रयोग गर्थे । तर, विडम्वना यो उद्योग पनि संकटमा पर्यो र बैंकको ठूलो उनको उद्योगमा फस्यो । न विराटले बैंकहरुको ऋण तिर्न सके नत बैंकले उनको धितो लिलाम गर्न सक्यो । यो विषय लामो समयदेखि अन्योलमै छ । यस्तै, कुनैबेला नेपाली व्यवसाय क्षेत्रमा एकछत्र राज गर्ने जीतबहादुर श्रेष्ठ दाजुभाईले पनि व्यवसायबाट हात धुनु पर्यो । २०५० को दशकमा श्रेष्ठ दाजुभाई (जीत बहादुर श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठ)को व्यवसाय विस्तार अहिलेका अर्बपति विनोद चौधरीलाई पनि चुनौति दिने किसिमको थियो । राजनीतिक नेतृत्वसँगको पहुँचको आधारमा सरकारले गरेको निजीकरणको लाभ लिँदै हरिसिद्धीको सम्पत्ति कब्जा गरेको श्रेष्ठ परिवारको एकताका नेपाली व्यवसाय क्षेत्रमा ठूलो प्रभाव थियो । सोही समयको चर्चित इट्टा टायल कारखाना थियो हरिसिद्धि । चीन सरकारको सहयोगमा २०२१ सालमा स्थापना भएको यो कारखाना पछि एनबी समूहले खरिद गर्यो । तत्कालीन नेपाल बंगलादेश बैंकका तत्कालीन सञ्चालक जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले सो कारखाना खरिद गरेर सञ्चालनमा ल्याए । यो कारखाना एनबी समूहले खरिद गरेपछि भने बिजनेस चौपट बन्यो । कम्पनीको बिजनेस बढाउनका लागि श्रेष्ठ दाजुभाइले कारखानाको नाममा रहेको जग्गा धितो राखेर तत्कालीन एनसीसी बैंकबाट ऋण लिए । हरिसिद्धिले २०५५ सालमा २०१ रोपनी जग्गा एनसीसी बैंकमा धितो राखेर १५ करोड ऋण लियो । एनसीसीमा पनि एनबी समूहको केही अंश सेयर थियो । पछि उक्त ऋण तिर्न नसकेपछि एनसीसी बैंकले हरिसिद्धीको ११९ रोपनी जग्गा लिलाम गर्यो । एनसीसी बैंकसँगै अन्य बैंकमा पनि यस कारखनाको जग्गा धितोमा राखिएको पनि बुझिएको छ । तर, एनसीसी बैंकले आफ्नो सम्पूर्ण कर्जा उठाउन भने अहिलेसम्म सकेको छैन । अहिले एनसीसी कुमारी बैंकमा मर्ज भएको छ । सो कर्जा उठाउन कुमारी बैंकले कसरत गरिरहेको छ । तर, पूरा धितो भने लिलाम गर्न सकेको छैन । बैंक स्रोतका अनुसार हरिसिद्धीबाट बैंकले २ अर्ब बढी रकम असुल्न बाँकी छ । २०५० को दशकमा एकछत्र व्यवसाय विस्तार गर्न लागेको श्रेष्ठ परिवारको व्यवसायले ६० को दशकमा भने आरालो बाटो समात्यो । त्यो बाटो मोड्न अनेक प्रयास भए । बैंकबाट ऋण लिएर उम्किने प्रयास श्रेष्ठ परिवारले गर्यो । तर, त्यसले आरालो गतिलाई थप प्रशय दियो । जीतबहादुर र लक्ष्मी बहादुरले आफ्नै लगानी रहेको बैंकबाट लिएको कर्जा तिर्न सकेनन् । २०७०को दशकसम्म आइपुग्दा उनीहरुको व्यवसाय मात्रै होइन छविले पनि सतह छोइसकेको थियो । व्यवसाय टाट पल्टेको छनक पाएपछि अन्य बैंकले पनि उनीहरुले राखेको धितो लिलाम गर्ने प्रक्रिया अगाडि बढाए । केहीले लिलाम पनि गरे । केहीले सकेनन् । श्रेष्ठ परिवारले ऋण नतिरेकै कारण तत्कालीन वल्र्ड मर्चेण्ट फाइनान्स डुब्यो । जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठलाई विश्वास गरेर सहकार्य गर्ने कयौं व्यवसायीले व्यवसायबाट हात धुनु पर्यो । श्रेष्ठ दाजुभाईको व्यवसायिक सहयात्रीहरु छुटे, विश्वास गर्ने बैंकहरु डगमगाए । अहिले जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठका परिवारका सबै सदस्य कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचिकृत छन् । उनीहरुले न बैंकबाट ऋण पाउने अवस्था छ नत व्यवसायिक साझेदार नै पाउने अवस्था छ । बैंकबाट ठूलो मात्रामा ऋण लिएर ऋण नतिर्ने यस्ता पात्रहरुको प्रवृतिले बैंकहरुलाई समस्या सिर्जना गरिरहेको छ । बैंकको खराब कर्जा दिनानुदिन बढिरहेको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल यस्ता ठूलो धितो बिक्री गर्न ग्राहक नपाउनाले लिलाम नहुने बताउँछन् । उनका अनुसार बैंकहरुको धितो कब्जा गर्नु पर्ने मनसाय नभएपनि लामो समयसम्म सावाँ ब्याज नतिर्दा बैंकमा समस्या सिर्जना हुन्छ । ‘लिलामी प्रक्रिया सकसपूर्ण हुन्छ, अधिकांशमा मुद्दा मामिला पनि हुन्छ, मान्छेले सजिलै आफ्नो सम्पत्ति खान दिँदैनन्, यसमा समय लामो नै लाग्छ, कुनै स्पेस नभएपछि बैंकले धितो लिलाम गर्न खोज्ने हो,’ सीईओ पोखरेलले भने ।
मीनबहादुरले ३५ बैंकको ९ अर्ब ऋण तिर्न बाँकी, यी ९ कम्पनीमा लगानी
काठमाडौं । पछिल्लो समयका उदयमान व्यवसायी मीनबहादुर गुरुङसँग विभिन्न ३५ वटा बैंक तथा वित्तीय संस्थाको ९ अर्ब रुपैयाँ ऋण रहेको देखिएको छ । उनले विभिन्न ३५ वटा बैंक तथा वित्तीय संस्थाको ८ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ ऋण तिर्न बाँकी देखिएको हो । स्रोतका अनुसार उनको सबैभन्दा बढी कर्जा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा छ । उनले आफ्नो व्यवसाय विस्तारका लागि सो ऋण प्रयोग गरेका हुन् । सरकारी जग्गा ललिता निवास प्रकरणमा प्रक्राउ परेका व्यवसायी गुरुङ अहिले हिरासतमा छन् । उनी पक्राउ भएसँगै बैंकरहरु पनि ऋण असुल हुने वा नहुने भन्ने विषयमा चिन्तित बनेका छन् । उसो त व्यवसायी गुरुङले पनि हिरासतमै आफ्नो ऋणको विषयमा चिन्ता व्यक्त गरिरहेको बुझिएको छ । उनले अनुसन्धानकर्ताहरुसँग आफुसँग अर्बौं ऋण भएको र सो ऋणको किस्ता कसले तिर्छ भन्ने लगायतका प्रश्नहरु राखिरहेको बुझिएको छ । विकासन्युजलाई प्राप्त सूचना अनुसार व्यवसायी गुरुङले हालसम्म साढे २७ अर्ब रुपैयाँ कर्जा प्रयोग गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट उनले सो कर्जा प्रयोग गरेको देखिएको हो । तर, उनले उक्त कर्जा भुक्तानी गरेर करिब ९ अर्ब रुपैयाँ मात्रै बाँकी रहेको हो । उनले सो ऋण लिएर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनीका सञ्चालक गुरुङले थप अन्य व्यवसाय पनि गरिरहेका छन् । उनले उर्जा, रेष्टुरेन्ट, फर्निचर, स्टील, सुनचाँदी लगायत व्यवसाय सञ्चालन गरिरहेका छन् । उनले विभिन्न ९ वटा कम्पनीको नाममा ऋण लिएको देखिएको छ । उनले हालसम्म लिएको साढे २७ अर्ब रुपैयाँ कर्जामा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरका लागि ५ अर्ब ३२ करोड ६७ लाख १५ हजार रुपैयाँ कर्जा लिएका छन् भने माउन्टेन इनर्जी नेपाल र रोबुष्ट इनर्जीका लागि ६ अर्ब २३ करोड ६२ लाख ४६ लाख रुपैयाँ कर्जा लिएका छन् । यो रकम भने उनले करिब भुक्तानी गरिसकेका छन् भने केही बाँकी छ । यस्तै, उनले मरुन्स ट्रेडिङका लागि १७ करोड ४२ लाख ९१ हजार रुपैयाँ, काठमाण्डू स्टीलका लागि १५ अर्ब ४५ करोड ३१ लख ४३ हजार, भाटभटेनी ज्वेलर्सका लागि ४ करोड, द अंकल्स स्पाइसी फुडका लागि १ करोड, भाटभटेनी मनी ट्रान्र्फरका लागि २ करोड ७२ लाख रुपैयाँ, भाटभटेनी फर्निचरका लागि ५८ लाख रुपैयाँ र भाटभटेनी इन्टरनेशनलका लागि २८ करोड ४९ लाख ८८ हजार रुपैयाँ ऋण लिएका थिए । तर, सबै रकम भुक्तानी गरेर ८ अर्ब ९३ करोड रुपैयाँ ऋण मात्रै तिर्न बाँकी रहेको हो । एक बैंकका प्रमुख कार्यकारी अधिकृतले व्यवसायी गुरुङ पक्राउ भएसँगै बैंकरहरुमा एक किसिमको चिन्ता सिर्जना गरेको बताएका छन् । यद्यपि, गुरुङको व्यवसाय भने निर्वाध रुपमा सञ्चालन भइरहेको छ । बालुवाटारको सयौं रोपनी जग्गा ब्यक्तिका नाममा गराउने मुख्य भूमिका गुरुङले नै खेलेको विषय यसअघि अख्तियारले दायर गरेको अभियोग पत्रमा पनि उल्लेख थियो । ललिता निवास क्षेत्रमा हडपीएको ११३ रोपनी जग्गा मध्ये २९ रोपनी अहिले पनि गुरुङको नाममा रहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
५ हजार बोकेर काठमाडौं छिरेका गणेशराज : चित्रकारपछि पत्रकार, शिक्षकदेखि सीईओसम्म
काठमाडौं । तपाईं कामलाई सर्वोपरी ठान्नुहुन्छ वा किस्मतलाई ? मिहेनतलाई महान मान्नुहुन्छ वा भाग्यलाई ? यो विषय आफैमा अनुत्तरित छ । कतिपय मिहेनत गर्दा गर्दै थाक्छन् र भाग्यलाई सराप्छन् । काम नगरेर भाग्यको भरमा चल्नेहरु पनि त कहाँ नभएको हो र समाजमा । अभावको जिन्दगी जिउनु धेरैलाई अत्यास लाग्छ, कतिपयलाई त्यसमै आनन्द लाग्छ त कयौं मान्छेहरुले अभावमै रमाउँछन् । अभावलाई संघर्ष ठान्दै मन थुमथुम्याउँछन् । कतिपय अभाव नहुँदा नहुँदै पनि त्यसमै जीन्दगी जिउन रुचाउँछन् । यो सब मान्छेको मन न हो । तर, संघर्ष त गर्नै पर्छ । एउटा व्यक्ति पेन्टर, पत्रकार, लेखक, राजनीतिज्ञ, शिक्षक र बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने कुरा तपाईंले कल्पना गर्न सक्नुहुन्छ ? अहँ, हामीले सहजै स्वीकार्दैनौं यो विषयलाई । किनकी हामीलाई दुई/चार वर्ष संघर्ष गरेर थाक्ने बानी परिसकेको छ । एउटा क्षेत्रमा असफल हुने बित्तिकै अर्थात् त्यो क्षेत्र मन नलाग्ने बित्तिकै म सकिएँ, म बर्बाद भएँ, अब अगाडि बढ्ने कुनै बाटो छैन भनेर भाग्यलाई सराप्दै बस्ने बानीले थिचोलिसकेको छ हामीलाई । सपनाभित्रको त्यो सकस लक्ष्य भेट्टाउने मान्छेले मात्रै महसुस गर्न सक्छ । हामीले एउटा पेशा अँगाल्दा पनि त्यति धेरै थाक्छौं र बरालिन्छौं भने पाँच वटा पेशा अगाँलेर सफलताको स्वाद चाखेका सिटिजन्स बैंक इन्टरनेश्नलका सीईओ गणेशराज पोखरेल कति थाके होलान् ? कति सोचे होलान् ? उनले सपना पुरा गर्न कति सकसहरु भोगे होलान् ? हो, आज हामी तिनै पोखरेलको जीवन कहानी पस्किँदैछौं । हुन त गणेशराज पोखरेलको परिवारमा कुनै अभाव थिएन । बर्दियाको जमिनदार नै थियो उनको परिवार । राजनीतिक पृष्ठभूमीको परिवार भएकोले पनि जिल्लामा सबैले चिन्थे । बाजे काँग्रेस पार्टीको जिल्ला अध्यक्ष । राजनीतिक पृष्ठभूमीमा हुर्केका पोखरेललाई आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने मानसिकता सानैदेखि थियो । उनी आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘राजनीतिक पृष्ठभूमीको परिवार भएकोले पनि घरमा नयाँ–नयाँ मान्छेहरु आइरहनुहुन्थ्यो, त्यो माहोल देख्दै हुर्कें, बुबाले राजनीतिभन्दा पढ्नु पर्छ भनेपछि पढाइमा ध्यान दिएँ, म संघर्षमा विश्वास गर्छु ।’ ५ हजार बोकेर काठमाडौं वि.स २०२६ सालमा बदिर्याको गुलरियामा जन्मेका पोखरेलको स्कूले जीवन गाउँमै बित्यो । उनले महाकवी देवकोटा माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पुरा गरे । उनले आइकम (हालको प्लस टु) नेपालगञ्जबाटै पास गरे । थप अध्ययन गर्नु पर्छ भन्ने मानसिकताका साथ उनी काठमाडौं छिरे । बर्दियाको एउटा जमिनदार परिवार । त्यतिबेला आफ्नो परिवारको ६ बिघा जमिन भएको पोखरेल सुनाउँछन् । तर, उनी काठमाडौं आउँदा ५ हजार बोकेर आए । ‘मलाई आफ्नै पौरखमा रमाउनु पर्छ भन्ने लाग्छ, आफैले मिहेनत गरेर खर्च गर्नु पर्छ जस्तो लाग्छ, हुन त धेरै पैसा लिएर काठमाडौं आउन नसक्ने थिइनँ, तर पाँच हजार बोकेर काठमाडौं आएँ, आफैले संघर्ष गरें, अहिले खुसी लाग्छ, संघर्ष पछिको सफलतामा आत्म–सन्तुष्टि मिल्छ,’ पोखरेलले आफ्नो जीवन कहानी सुनाउँदै भने । पोखरेलले काठमाडौंको शंकरदेब कलेजमा बिकममा भर्ना गरे । औसत विद्यार्थीको रुपमा चिनिने पोखरेलको सरलता र अनुशासनको भने शिक्षकहरुले पनि खुब प्रशंसा गर्थे । ‘म विद्यालयमा औसत विद्यार्थी थिएँ, गणितमा भने तेज विद्यार्थी हो, म पढाइमा भन्दा पनि खेलकुदमा चासो राख्थें, फुटबल राम्रो खेल्थें, अहिले पनि दैनिक बिहान २ वटा गेम ब्याडमिन्टन खेल्छु,’ सीईओ पोखरेल भन्छन् । पोखरेलले शंकरदेबबाट नै एमबिए पास गरे । सीईओ पोखरेललाई चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्ने इच्छा थियो । तर, बाटो अन्तै मोडियो । उनी पढाइ सँगसँगै लेखनमा पनि लागे । ‘मैले घरपरिवारसँग सीए पढ्ने प्रस्ताव गरेँ, मेरो भिनाजु पुरुषोत्तम दाहालले तिम्रो भविष्य नेपाल मै राम्रो छ, सीए पढेपनि के नै हुने हो र भन्नु भयो, बुवालाई पनि उहाँले कन्भिन्स गराउनु भयो, त्यसपछि सीए पढिनँ,’ उनले विगत स्मरण गर्दै भने । उनले दुई विषयमा स्नातकोत्तर गरे । उनले काठमाडौं विश्वविद्यालयबाट फाइनान्समा एमबिए पास गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबिए पूरा गरेका छन् । विद्यार्थी नेतादेखि हिरासतसम्म घरपरिवार राजनीतिक पृष्ठभूमी भएकोले पनि उनलाई राजनीतिले छोइसकेको थियो । बाजे काँग्रेस पार्टीसँग आवद्ध थिए । विस्तारै उनी पनि विभिन्न सभा सम्मेलनमा भाग लिन थाले । नेपालगञ्जमा विद्यार्थी राजनीति गरे । वि.स २०४६ सालभन्दा अगाडि उनी नेपाल विद्यार्थी संघमा आवद्ध थिए । त्यतिखेर उनी विद्यार्थी संघको जिल्ला उपसभापति भए । देशमा पञ्चायत व्यवस्था थियो । उनी विद्यार्थी राजनीतिमा सक्रिय भए । आन्दोलन आम हड्तालको अग्रमोर्चामा उनी देखिन्थे । ‘बुझेर वा नबुझेर संगठनमा आवद्ध भएको थिएँ, प्रतिबन्धित अवस्थामा म जिल्ला उपसभापति थिएँ, त्यतिखेर सक्रिय भएर पनि होला प्रहरीले पक्राउ गर्यो, एक साता हिरासतमा पनि बस्नु पर्यो, संस्थामा राजनीति हुनु हुँदैन भनेर मान्यता राख्छु,’ उनले विद्यार्थी राजनीति स्मरण गर्दै भने । चित्रकारपछि पत्रकार देशमा पञ्चायत विरुद्दका आन्दोलनले उग्ररुप लिइरहेको थियो । पञ्चायत विरुद्दका नाराहरु घन्किरहेका थिए । उनी सक्रिय राजनीतिबाट केही निष्कृत भइसकेका थिए । मिहेनती स्वभावका पोखरेल पेन्टिङ्गमा पनि रुची राख्थे । त्यतिबेला अहिलेको जस्तो कम्युटरले लेख्ने अवस्था थिएन । हस्त लिखित वस्तुहरु आन्दोलन र चुनावमा प्रयोग हुन्थे । सोही समय पोखरेलले पनि विभिन्न रंङहरुको तस्वीर, ब्यानर तथा चित्रहरु बनाएर राम्रै पैसा कमाएको सुनाउँछन् । पोखरेलले कोरेको पूर्व राजा स्व. बिरेन्द्र शाहको चित्र । ‘वि.स २०४८ सालको चुनावमा मैले धेरै कमाएँ, त्यो बेला पहिलो पटक चुनाव भएको थियो, चुनावमा ब्यानरमा सिल्भर कलरले लेख्नुपथ्र्याे, फलानो पार्टीको कर्मठ उम्मेदवारलाई अत्याधिक मतले विजयी गराऔं, लगायतका शब्दहरु ब्यानरमा लेख्नु पथ्र्यो, एउटा ब्यानर लेखेको ५० रुपैयाँ पाइन्थ्यो, त्यो पैसाले ६२५ रुपैयाँमा क्याल्कुलेटर किनेको अहिलेसम्म याद छ, आफ्नो पढाइ खर्च आफै जुटाउँथे,’ उनले भने । उनी राम्रो चित्र पनि बनाउँछन् । त्यतिखेर उनले बनाएका धेरै चित्रहरु चर्चित पनि बने । उनले त्यतिबेलाको राजा तथा नेताहरुको तस्वीरहरु चित्रमार्फत् जस्ताको त्यस्तै उतार्थे । उनी भन्छन्, ‘चित्रकला पनि मेरो रुचीको विषय हो ।’ काठमाडौं प्रवेश गरेपछि पोखरेल पत्रकार बने । २०४६ सालदेखि पत्रकारिता गरेका उनले तीन वर्ष बढी समय पत्रकार भएर काम गरे । राष्ट्र पुकार साप्ताहिकमा लेख लेख्थे । र, एउटा अर्को रेडियोमा पनि उनले काम गरे । स्वीडेनको गोथेनवर्ग विश्वविद्यालयमा तीन सातासम्म मास मिडिया र डेमोक्रेसी विषय पढेपछि आफु पत्रकार बनेको उनी सुनाउँछन् । मध्यपश्चिमाञ्चलबाट छनोट भएर पढ्न गएको उनी बताउँछन् । उनलाई अहिले पत्रकारिता पेशा अँगालिरहेको भए पनि हुने भन्ने महसुस हुन्छ । ‘पत्रकारिता गर्दा धेरै जनाको अन्तर्वार्ता लिएँ, विनोद चौधरी, शैलजा आचार्य लगायत सयौं जनाको मैले अन्तर्वार्ता लिएको छु, पत्रकारिता गरेर नै मेरो लेखनशैली राम्रो भएको हो, धेरै मान्छेहरुसँग चिनजान पनि भयो,’ उनी त्यतिखेरको पत्रकारिताको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यतिखेर धेरै गाह्रो थियो, प्रेसमा अक्षर टाइप गर्नुपथ्र्याे, पत्रिकामा एउटा लेख लेख्दा १५ सय रुपैयाँ आउँथ्यो ।’ सीईओ पोखरेलले लेखेका दुई पुस्तकका आवरण । वि.स २०५० सालमा उनले पत्रकारिता छोडे । पत्रकारिताले उनको लेखनशैली राम्रै भइसकेको थियो । अब उनलाई किताब लेख्ने हुटहुटी आयो । त्यही बिचमा तीन वटा पुस्तक लेखेको उनी बताउँछन् । ‘राप्ती पश्चिमको प्रजातान्त्रिक आन्दोलन, ‘नयाँ मुलुकमा प्रजातान्त्रिक आन्दोलन’ उनले लेखेका पुस्तक हुन् । पार्टटाइमरदेखि प्रिन्सिपलसम्म पत्रकारिता छोडेपछि पोखरेलको बाटो अध्यापनतर्फ मोडियो । उनले काठमाडौंका केही कलेजहरुमा स्ट्राटेजिक म्यानेजमेन्ट, मार्केटिङ म्यानेजमेन्ट पढाउन थाले । अध्यापनका दिनहरु बित्दै गए । उनी काठमाडौंको म्यानेजमेन्ट डेभलपमेन्ट क्याम्पसको प्रमुख पनि बने । उनले म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) मा पनि १४ वर्ष काम गरे । उनले पढाएको र व्यवस्थापन सम्हालेको डेढ दशक भइसकेको थियो । ‘पत्रकारिता छोडेपछि २०५० सालमा म्यानेजमेन्ट एसोसिएसन अफ नेपालमा काम गर्न थालेँ, सुरुमा एकाउन्ट अफिसर थिएँ, ६ महिनामा नै डाइरेक्टर भएँ, काम गर्दै गर्दा पढाइ पनि अघि बढाएँ, सातै दिन काम गर्थें, क्याम्पस प्रमुख हुँदा पनि सातै दिन अफिस जान्थे, ठूलो मिहेनत गरेर म्यानलाई एउटा उचाइमा पुर्याइयो,’ उनी भन्छन्, ‘म मिहेनत गर्न रुचाउँछु, दत्तचित्तले काम गर्ने बानी अहिले पनि निरन्तर छ ।’ अध्यापन गर्दै गर्दा उनले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका संस्थाहरुमा गएर पढाउने तथा तालिम दिने काम पनि गरे । सोही समय वि.स २०५५ सालमा उनले विवाह गरे । उनले धनगढीबाट विवाह गरेका हुन् । उनका अहिले दुइटा बच्चाहरु छन् । छोरा न्यूयोर्कमा काम गर्छन् । छोरी उनीसँगै नेपालमा छिन् । त्यसपछि जुर्यो सीईओ बन्ने अवसर क्याम्पस प्रमुख हुँदा नै उनलाई सिटिजन्स बैंकमा काम गर्ने अवसर आयो । वि.स २०६४ सालमा सिटिजन्स बैंकको स्थापना भएपछि उनी क्याम्पस प्रमुख छोडेर बैंकमा सिनियर म्यानेजर भएर गए । पर्शुराम कुँवरले २०६५ सालमा बैंक छाडे । पोखरेल दोस्रो वरियतामा पुगे । रातदिन मिहेनत गर्ने बानी सानैदेखि भएको उनी सुनाउँछन् । ‘मलाई क्याम्पसमा काम गर्दा पनि एचआरमा बढी ज्ञान थियो, बैंकमा काम गर्ने आग्रहपछि बैंकमा काम गर्न सुरु गरेको हुँ, धेरैले मेरो व्यवहार देखेर राजदूत हुन्छ भन्थे, तर सीईओ बनेँ,’ उनले भने । उनको कामलाई बैंक सञ्चालकले रुचायो । स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा काम गरिरहेका उनले २०७५ सालमा सीईओको जिम्मेवारी पाए । अहिले उनको सीईओको रुपमा दोस्रो कार्यकाल चल्दैछ । ‘म अहिले पनि १६/१७ घण्टा काम गर्छु, मलाई पढ्न खुब आनन्द लाग्छ, म धेरै पढ्छु, म बैंकमा नआएको भए सम्भवतः अमेरिकाबाट पिएचडी गरिसक्थें,’ उनले सुनाउँदै भने ‘तर अहिले जे गरिरहेको छु, यसमा पूर्ण सन्तुष्ट छु ।’ उनको रुची सीए पढ्ने थियो । तर, उनलाई सीए नपढेकोमा कुनै पश्चाताप नभएको उनी बताउँछन् । त्यो दिनचर्या र यो जीवनशैली ५४ वर्ष पुगेका गणेशराज पोखरेलले अभावमा जिन्दगीमात्रै जिएनन्, शुखसयलको दिन पनि अनभुव गरे । तर, उनको व्यवहारमा भने कुनै परिवर्तन आएन । उनले २३ वर्षसम्म काठमाडौंमा बिताएको कोठे जिन्दगी र करोड कमाउने बैंकको सीईओ भएर पनि साधारण जीवनशैली रोजे । उनी सुरुमा काठमाडौं आएपछि रातोपुलमा १० वर्ष भाडामा बसे । त्यसपछि मैतीदेवी र बानेश्वरमा १२/१३ वर्ष भाडामै दिन गुजारे । अहिले भैसेपाटीमा आफ्नै घर छ । तर, उनलार्ई बदिर्याको गुलरियामा बिताएको त्यो शैशवकाल र मैतीदेवी, बानेश्वर र रातोपुलमा बिताएको कोठे जिन्दगी नै आनन्दित लाग्ने गरेको सुनाउँछन् । ‘जीवनमा धेरै हण्डर खाएँ, पैसा कमाउने, घुम्न पाए हुन्थ्यो, यो/त्यो खान पाए हुन्थ्यो भन्ने अपेक्षा छैन, म साधारण जीवनशैली रुचाउँछु, आजका दिनमा पनि मलाई आलु टमाटरको बाक्लो झोल र भुजामा एक चम्चा घ्यू हालेर दियो भने जीवनमा त्यो जति मिठो अरु केही लाग्दैन, दुनियाँभरका आइटम खान पनि जान्दिनँ, पत्रकारिता गर्दा सबै पार्टीले होटलमा कार्यक्रम गर्थे, तर, मलाई कहिल्यै पनि त्यसले आकर्षित गरेन, लुगा लगाउँदा पनि साधारण कपडा नै प्रयोग गर्छु., साधारण जीवनशैली नै मेरो विशेषता हो,’ सीईओ पोखरेल भन्छन् । पोखरेल अझै पनि अध्ययन गर्न चाहन्छन् । उनलाई अमेरिकाको कुनै विश्वविद्यालयबाट एक वर्षे म्यानेजमेन्ट कोेर्ष पढ्न मन छ । ‘मैले जागिर गरेको ३४ वर्षभन्दा बढी समय भइसक्यो, अब धेरै दौडधूप गर्ने इच्छा छैन, आफुले गरेको संघर्षको फलप्रति म सन्तुष्ट छु, अब छोराछोरीले देशका लागि केही काम गर्दिए भने म खुसी हुनेछु, उनीहरुले पढेको कुरालाई देशका लागि प्रयोग गरे भने म खुसी हुन्थें, उनले भने,‘ सीईओको कार्यकाल सकिएपछि गृह जिल्लामै गएर बस्ने मन छ ।’ उनी अब नयाँ युवाहरुलाई बैंकमा अवसर दिनु पर्ने बताउँछन् । सीईओ पोखरेल युवाहरुलाई बैंकमा आउन आग्रह गर्छन् । क्षमता देखाउन सक्नेलाई बैंकिङमा राम्रो अवसर भएको उनी सुनाउँछन् । ‘म बटम अफ एप्रोचमा विश्वास राख्छु, विदेश जानु पर्दैन, स्वदेशमै राम्रो करिअर बनाउन सकिन्छ, मिहेनत गरेर अघि बढ्नेलाई बैंक भर्सटाइल छ,’ उनी भन्छन्, ‘म टीममा विश्सास गर्छु ।’ भुल्नै नसकिने ती पल कतिपय घटनाहरु मान्छेको मानसपटलमा घुमिरहन्छन् । मनबाट नमेटिने घाउ बनिदिन्छन् केही घटनाहरु । सीईओ पोखरेलको जीवनमा पनि त्यस्ता अविस्मरणीय घटना भए । सिटिजन्स बैंकको सीईओ बनेपछि उनी ठूलो दुर्घटनामा परे । भाग्यवस्, उनी बाँचे । ‘भर्खर सीईओ बनेको थिएँ, सीईआ बनेपछि शाखा कार्यालय भिजिट गर्न पथलिया पुगेको थिएँ, शाखा भिजिट सकेर खाना खान जाँदा स्पीडमा रहेको गाडी दुर्घटनामा पर्यो, सँगै रहेका साथीहरु बहोस भए तर म ढोका फोडेर बाहिर निस्केँ, पछि सबैको अप्रेसन भयो, भाग्यवस बाँच्न सफल भैयो,’ त्यो दिन स्मरण गर्दै पोखरेलले भने । उनी दुर्घटनामा परेको केही समयपछि पोखरेलकी आमाको मृत्यु भयो । तर, उनले आमालाई भेट्न सकेनन् । गत चैतमा उनको बुबाको पनि निधन भयो । यी पलहरु उनका लागि निकै पीडादायी बनेर मानसपटलमा घुमिरहेका छन् । तर, सीईओ गणेशराज पोखरेलको जीवनमा घटित घटना र उतार चढावहरु संघर्ष गर्ने हर कोहीको लागि पनि प्रेरणादायी हुनसक्छ ।