सन्तोष रोकाया

अब कतै सुनिने छैन ‘बैंक अफ काठमाण्डू’ (भिडियोसहित)

काठमाडौं । कुनै बेला अब्बल र अग्रणी बैंकका रुपमा परिचित बैंक अफ काठमाण्डू (बिओके) अब सदाका लागि नसुनिने नाम बनेको छ । सोमबार ग्लोबल आइएमई बैंककै नामबाट दुई बैंकबीच एकीकृत कारोबार भएपछि बैंक अफ काठमाण्डू सदाका लागि नसुनिने नाम बनेको हो । मुलुकमा ८/१० वटा मात्रै बैंक थिए । जतिखेर बैंक खोल्नु भनेको ठूलो जोखिम मोल्नुको विषयका रुपमा लिइन्थ्यो । भएका बैंकहरुमा पनि विदेशी लगानी थियो । कतिपय बैंकको उच्च व्यवस्थापन नै विदेशबाट ल्याइन्थ्यो । त्यतिखेरै स्वदेशी पूर्ण लगानीमा स्थापना भएको बैंकमध्ये एक हो बैंक अफ काठमाण्डू । पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका चौथो गभर्नर स्वर्गीय यादवप्रसाद पन्तको नेतृत्वमा स्थापना भएको थियो बिओके । त्यतिखेर पन्तसँगै डम्बर बहादुर मल्ल, दिपक बोहरा लगायत चार/पाँच जना मिलेर बैंक अफ काठमाण्डू खोलेका थिए । त्यतिखेर थाइल्याण्डको सियाम कमर्सियल बैंकसँग ज्वाइन्ट भेन्चरका रुपमा सुरु भएको बिओकेको सुरुवाती दिनहरु निकै सुखद रहे । बिजनेसमा सर्वोत्कृष्ट नै रह्यो । टीम व्यवसायिक थियो । फरक–फरक क्षेत्रमा कार्यानुभव भएकाहरुको संलग्नता बैंकमा थियो । सञ्चालक सबै नीति निर्माण तहमा काम गरेकाहरु थिए । त्यसैले पनि  बैंक अफ काठमाण्डू एक अब्बल बैंकका रुपमा परिचित थियो । वि.स २०५६ देखि २०६६ सालसम्म बैंकको बिजनेस राम्रै भयो । तर, पछि राष्ट्र बैंकले एकपछि अर्को बैंकलाई लाइसेन्स दियो । बैंकिङ बजार अस्वस्थ रुपमा अगाडि बढ्यो । व्यवसायिक रुपमा चलेको बैंक अफ काठमाण्डूलाई च्याउ जस्ता उम्रेका बैंकहरुका अगाडि केही लागेन । बैंकले खासै बिजनेस गर्न सकेन । बैंक स्थीर बन्दै अगाडि बढ्यो । त्यही बीचमा बैंक अफ काठमाण्डूका सञ्चालकहरुबीच विवाद बल्झियो । विवाद राष्ट्र बैंकसम्म पुग्यो । अकिकांश सञ्चालकको माग बैंकमा सीईओका रुमा काम गरिरहेका राधेश पन्तलाई हटाउनु थियो । १० वर्षसम्म बिओकेको प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकको रुपमा राधेश पन्तले पनि काम गरेका थिए । जो यादवप्रसाद पन्तका छोरा हुन् । उनले सन् २००० देखि २००९ सम्म बिओकेको सीईओका रुपमा काम गरे । अहिले उनै पन्तले दुई बैंकबीच मर्जर सफल पार्नका लागि मर्जर समितिको संयोजक नै भएर काम गरे । बैंकमा सञ्चालकहरुबीच विवाद बढेको विषयले राष्ट्र बैंकसम्म प्रवेश पायो । राष्ट्र बैंकले मिल्न भन्यो । तर, बैंक सञ्चालकहरु नमिलेपछि राष्ट्र बैंकले सञ्चालक समिति विघटन गर्यो । र, आफ्नो पकडमा बैंकलाई लियो । ६ महिनापछि वार्षिक साधारणसभा गरेर नयाँ समिति आयो । राधेश पन्त बैंकको सीईओबाट बाहिरिए । बैंकले राम्रो नेतृत्व पाएन । सन् २०१० देखि नै हो बैंकले खासै प्रगति गर्न नसकेको । बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेपछि राष्ट्र बैंकले मर्जरको नीति अगाडि सार्यो । त्यो नीतिको अनुसरण गर्दै बिओकेले २०७३ सालमा लुम्बिनी बैंकसँग मर्जर गर्यो । नाम बैंक अफ काठमाण्डू लुम्बिनी रह्यो । पछि लुम्बिनी हटाएर बैंक अफ काठमाण्डू मात्रै राखियो । लुम्बिनीसँग मर्जर गरेपछि पनि बिओकेका लागि सुखद रहेन । न लुम्बिनीबाट आएका सञ्चालकहरुले बैंकप्रति अपनत्व अपनाए नत बिओकेकै सञ्चालकले आफ्नो बैंक भएको महसुस गरे । बैंक झन-झन कमजोर बन्दै गयो । तर, बिओकेसँग तीन दशककको इतिहास छ । लामो अनुभव छ । र, विभिन्न समयमा भोगेका विभिन्न आरोह र अवरोहहरु छन् । करिब तीन दशक इतिहास बोकेको यो बैंकको नाम अब सदाका लागि सकिएको छ । बिओके भनेपछि धेरैले स्वर्गीय यादव प्रसाद पन्तलाई सम्झन्छन् । एक अब्बल र सफल अर्थशास्त्रीका रुपमा परिचित पन्तले नेपाली अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छन् । तर, विडम्वना, आज उनै पन्तले स्थापना गरेको बैंकको नाम रहेन तर खुसीको कुरा उनै पन्तले स्थापना गरेको बैंक ग्लोबल आइएमईसँग मर्जर गरेर देशकै ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंकसँग देश विदेशको बिजनेसको आइडिया छ । एग्रेसिभ बिजनेस गर्न सक्ने कौशलता छ । विज्ञ व्यवस्थापन छ । यो बैंकसँग आफ्नै किसिमको छवि छ । यी विषयहरुको समिश्रणमा सिनर्जी सिर्जना गर्ने रणनीति अब नयाँ बनेको ग्लोबल आइएमई बैंकको व्यवस्थापनमा छ । स्वर्गीय पन्तका छोरा राधेश पन्त मर्जर कमिटिको संयोजक रहेर काम गरे । उनैले बिओकेलाई ग्लोबल आइएमईसँग मर्ज गराउन महत्वपूर्ण भूमिका खेले । ‘बिओकेको नाम हटेको प्रति कुनै दुःख छैन, बुबाले एक किसिमको दुःख गरेर बैंक स्थापना गर्नु भयो, नाम हट्नु ठूलो कुरा होइन तर काम राम्रो हुनु पर्छ, मेरै सक्रियतामा बैंक आज देशको ठूलो भएको छ, मलाई यसमै गर्व छ,’ पन्तले विकासन्युजसँग भने । उनले बिओकेको २८ वर्ष एक महत्वपूर्ण इतिहास भएको बताउँदै त्यो इतिहास नमेटिएको धारणा राखे । ‘हाम्रो नाम मात्रै हटेको हो, सञ्चालकहरु छौं, सेयरधनीहरु छौं, ग्लोबलको आफ्नै किसिमको प्रोफाइल छ, रेमिट्यान्सको बिजनेस पनि छ, नेटवर्क राम्रो छ, बिओकेसँग तीन दशकको इतिहास छ, यसले पनि सिनर्जी आउँछ, त्यसैले पनि हामी नाम हटेकोमा दुखी छैनौं,’ उनले भने । नियामकको कारण नै नाम हटेको उनको धारणा छ । मर्जर समितिले ग्लोबल आइएमई बिओके लिमिटेड भनेर पठाए पनि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिँदा ग्लोबल आइएमई बैंक भनेर पठाउँदा त्यसमै सहमत हुनु पर्ने बाध्यता आएको उनको भनाइ छ । यस्तै, बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठ नाम हटेकोमा पक्कै पनि दुखी भएको धारणा राख्छन् । ‘हुन त देशकै ठूलो बैंक बन्दा गर्व लागेको छ, हामीले बिओकेको पनि नाममा आओस् भन्ने सोचका थियौं तर आएन, तीन दशकको इतिहास भएको बैंकको नाम मेटिँदा अवश्य नै दुःख लाग्छ , भोलिदेखि आफ्नै बैंकको नाम सुनिने छैन, ग्लोबल बैंक ठूलो हुनुमा हाम्रो पनि योगदान छ, त्यसमै हामी खुसी छौं,’ उनले भने । उनले दुवै बैंक एक भएपछि कर्मचारी व्यवस्थापनमा ठूलो समस्या आउने भएपनि त्यसमा दुवै बैंक सचेत भएको बताए । विभिन्न समयमा विभिन्न किसिमका छलफल गरेर यस विषयमा कुरा भएको बताउँदै ग्लोबल आइएमई बैंकका कर्मचारीको व्यवस्थापनको समस्या नआउने उनको भनाइ छ । यस्तै, बिओकेका सञ्चालक गोविन्द्र प्रसाद शर्मा पनि नाम हटेकोमा खासै दुखी नभएको धारणा राख्छन् । ‘बोर्डमा नाम हुँदा अस्तित्व नै मेटिन पुगेको भन्न मिल्दैन, अब साइन बोर्ड रहेन तर यस बैंकको मान-प्रतिष्ठा ग्राहक संस्थापकको लगाव यो बैंकसँग रही रहन्छ, नाम भन्दा पनि कामले हैसियत निर्धारण गर्छ, यसमा हाम्रो चित्त दुखेको छैन,’ उनले भने । भिडियो हेर्न यहाँ थिच्नुस् ।

चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अबको तीन महिनापछि अध्यक्ष हुँदैछन् । यो त उनले पछिल्लो समय पाउँदै गरेको जिम्मेवारी हो, नयाँ पहिचान हो । त्यसभन्दा पनि उनको छुट्टै पहिचान छ- ट्रेन्ड सेटर उद्यमी । नेपालको सबैभन्दा पहिलो र अग्रणी रेमिट्यान्स कम्पनी आइएमई रेमिटका संस्थापक अध्यक्ष । नेपालको सबैभन्दा ठूलो बैङ्क ग्लोबल आइएमई बैङ्कका अध्यक्ष । नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत आधा दर्जन बढी कम्पनीका संस्थापक । दुर्गम पहाडमा जन्मेको एउटा निम्नमध्यम वर्गीय किसानको छोरो । त्यो भन्दा पनि १६ वर्षको उमेरमा आफ्नो बुबा गुमाएको व्यक्तिले आफ्नो व्यक्तिगत पहल र मिहिनेतबाट कसरी सबैलाई लोभ्याउने नतिजा निकालिरहेको छ ? यो प्रोफाइल, पर्सनालिटी र पोर्टफोलियो बनाउन कति समय लाग्यो होला ? उनले कसरी यति ठूलो सफलता प्राप्त गरे ? एकपछि अर्को सफलता चुम्दै गरेका व्यक्तिको बारेमा चासो, जिज्ञासा र कौतुहलता रहनु स्वभाविक नै हो । वि.सं. २०२२ सालमा बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल आर्थिक रुपमा एक निम्न मध्यम वर्गीय परिवारमा हुर्किए । विडम्वना, उनी १६ वर्षको हुँदा नै बुबाको निधन भयो । जेठो छोरा भएकोले पनि अब उनको काँधमा सम्पूर्ण परिवारको जिम्मेवारी आयो । पढाइसँगै उनले घरायसी काममा पनि ध्यान दिनुपर्ने भयो । मैले गाउँघरमा नगरेको कुनै काम छैन । डोको, नाम्लो, डोरी आफै बनाउनेदेखि खेतीपातीका सबै काम गर्दथे, मलाई अहिले पनि सबै काम गर्न आउँछ’ उनले विगत स्मरण गर्दैै भने जसरी भए पनि आमा र भाइबहिनीको हेरचाह गर्नु थियो, घरको अभाव टार्नकै लागि काठमाडौं आएँ ।’ पढाइ पनि गर्ने र कमाइ पनि गर्ने भन्ने उद्देश्यका साथ उनी काठमाडौं आए । सुरुमा पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा काम गरे । पढ्दै अगाडि बढ्दै गए । पछि राष्ट्रिय वाणिज्य बैङ्कमा नाम निकाले । राष्ट्रिय वाणिज्य बैङ्कमा सहायक लेखापालको जागिर सुरु गरे । त्यहाँ करिब चार वर्ष काम गरेपछि व्यवसाय गर्ने उनमा चाहना आयो । वि.स २०४८ सालतिर कोल्ड स्टोर स्थापना गरे । त्यसपछि कार्गो व्यवसायमा हात हाले । व्यवसाय विस्तार गर्ने सोचका साथ बैङ्कबाट ऋण लिन खोजे । तर, आफू काम गर्ने बैङ्कले पत्याएन । उल्टै बैङ्कले उनलाई ऋण चाहिएमा जागिर छोड्नु पर्ने बतायो । व्यवसाय गर्ने उनमा हुटहुटी जन्मिसकेको थियो । व्यावसायिक जोशका साथ उनले जागिर छोडे । ‘साथमा भाइ हेमराज ढकाल छन्, उमेरले म भन्दा १० वर्ष कान्छो तर ऊ मेरो बिजनेसको सारथी हो, सानैदेखि सँगै काम ग¥यौं, धेरै मिहिनेत ग¥यौं, अहिले ठूलो टिम बनेको छ, मभन्दा बढी मिहिनेत मेरो टीमले गर्छ,’ उनी भन्छन्, ‘मेरो सफलतामा मेरो टीमको भूमिका महत्वपूर्ण छ ।’ उनले पछि कार्गो व्यवसाय पनि गरे । कार्गो व्यवसायकै सिलसिलामा विभिन्न देश पनि गए । उनले विस्तारै व्यावसायिक सफलता पाउन थाले । मान्छेहरुले पनि चिन्न थाले । त्यसपछि जन्मियो आइएमई अहिले धेरैले रेमिट्यान्स पठाउनुलाई आइएमई गर्नु भन्छन् । उनै चन्द्र ढकालले सुरु गरेका हुन् आइएमई रेमिट । त्यतिबेला नेपालीहरुले विदेशमा कमाएको पैसा पठाउने औपचारिक माध्यम थिएन । अनौपचारिक माध्यमबाट पैसा आइरहेको थियो । जसलाई हुण्डी भनिन्छ । ढकालले यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ सोचे । व्यावसायिक योजना बनाए । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । त्यही अनुभवलाई सदुपयोग गर्दै उनी इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) खोल्ने निर्णयमा पुगे । तर, सहज भने थिएन । त्यतिखेर रेमिट्यान्स गर्न धेरै गाह्रो थियोे । तर, सरकार र आम सर्वसाधारणका लागि अति आवश्यक थियो । ‘मिहिनेत गरेर आर्जन गरेको पैसा आफ्नो घरपरिवारसम्म पु¥याउने माध्यम थिएन, व्यवसाय गर्न खोजेका उद्यमीका लागि राम्रो अवसर थियो, सरकारले औपचारिक रुपमा रेमिट्यान्स आइदिए हुन्थ्यो भन्ने सोचेको थियो तर काम गर्न समस्या थियो, सुरु गर्दा धेरै सकस भोगियो,’ अध्यक्ष ढकाल भन्छन्, अहिले रेमिट्यान्सको पर्यावाची आइएमई बन्दा खुसी लाग्छ ।’ रेमिट्यान्स बैङ्क र पर्यटनको विकासमा ट्रेण्ड सेटर बनेका चन्द्र ढकालले नयाँ र उदीयमान उद्यमीको रुपमा आफूलाई चिनाएका मात्र छैनन्, इमान्दार र मिहिनेतले एकै पुस्तामा पनि व्यावसायिक पहिचान निर्माण गर्न सम्भव छ भन्ने पुष्टि गरिदिएका छन् । त्यतिखेर नेपाल राष्ट्र बैङ्कको गभर्नरका रुपमा डा. तिलक रावल थिए । डा. रावलले उनको प्रस्ताव सहर्ष स्वीकार गरे । आइएमईले सञ्चालनको अनुमति पायो । सेवाको गुणस्तरले बिस्तारै कम्पनीको ब्रान्डिङ’ ग¥यो । अहिले आइएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायबाची नै बनेको छ, कुनै बैङ्क या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले पैसा आईएमई गरिदिनुस’ भन्छन्, मनी ट्रान्सफरको अनुमतिपत्र माग्न राष्ट्र बैङ्क पुग्नेले समेत । आइएमईको लाइसेन्स पाउ’ भन्छन्, आइएमई अहिले ब्राण्ड बनेको छ,’ कुनै व्यावसायिक पृष्ठभूमि नभएको व्यक्तिले यो किसिमको उपलब्धि हासिल गर्दा खुसी पनि लाग्छ,’ ढकालले आफ्नो अनुभवहरु सुनाउँदै भने । सुरुमा स्थापना गर्दा अनौपचारिक माध्यमबाट कारोबार गर्नेहरुबाट पनि धेरै धम्की आएको उनी सुनाउँछन् । तर, धेरै मिहिनत गरेर अनुशासित भएर काम गरेकै कारण आइएमई रेमिट सफल कम्पनीका रुपमा चिनिएको उनी सुनाउँछन् । वैदेशिक मुद्रालाई औपचारिक रुपबाट भित्र्याउनका लागि आइएमई एउटा कोशेढुङ्गा नै बनेको उनी बताउँछन् । अहिले कुल रेमिट्यान्सको ३० प्रतिशतको हाराहारीमा आइएमई रेमिटबाट नै रेमिट्यान्स भित्रिने गरेको छ । आइएमई रेमिटले ‘ट्रेण्ड–सेट’ गरेकै आधारमा अहिले देशमा धेरै मनि ट्रान्सफर कम्पनीहरु सञ्चालनमा छन् । धेरैले रोजगारी पाएका छन् । रेमिट्यान्स पनि औपचारिक माध्यमबाट आउन थालेको छ । मर्जरमा पनि बसाले ट्रेण्ड आइएमईको सफलतापछि ढकालको प्रवेश बैंकिङ्ग क्षेत्रमा भयो । उनकै अगुवाईमा आइएमई फाइनान्सियल इन्स्टीच्यूट स्थापना भए । राष्ट्र बैङ्कले वित्तीय क्षेत्र सुधारको नीति ल्यायो । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरु स्वःस्फूर्त रूपमा मर्ज होउन् भन्ने उद्देश्यले बैङ्क तथा वित्तीय संस्था गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने नीति ल्यायो । क्रस होडिल्ङ भएका कम्पनी मर्जमा जोड पनि दियो । राष्ट्र बैङ्कको उक्त नीति अबलम्बन गर्दै ढकालले दुई संस्था मर्जमा लगे । ग्लोबल बैङ्क र आइएमई फाइनान्सियल इन्स्टीच्यूट मर्ज भएर ग्लोबल आईएमई बैङ्क बन्यो २०६९ सालमा । ग्लोबल आइएमई बैङ्कले आफुमा बैङ्क तथा वित्तीय संस्था गाभ्ने क्रम त्यतिमै रोकेन । ग्लोबल आइएमई बैङ्कमा हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था गाभिसकेका छन् । सोमबार मात्रै बैङ्क अफ काठमाण्डूसँग एकीकृत कारोबार गरेको छ । जसमा ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क र ६ वटा फाइनान्स कम्पनी गाभिएका छन् । ग्लोबल बैङ्क स्थापनादेखि अहिलेसम्म अध्यक्षको हैसियतमा उनले निरन्तर नेतृत्व गर्दै आएका छन् । अहिले उनलाई धेरैले मर्जर किङ्ग’का उपमाले पनि चिन्छन् । राष्ट्र बैङ्कले मर्जरको नीति ल्याएपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा हामी अगाडि छौं, धेरै बैङ्क तथा वित्तीय संस्थालाई गाभेर बैङ्कलाई पुँजीमा ठूलो बनायौं, सेवाग्राहीलाई पनि विश्वास गर्न लायक बैङ्क बनाएका छौं, ठूलो नेटवर्क भएको छ, गुणस्तरीय सेवा र दक्ष जनशक्ति छन्,’ उनी भन्छन्, ‘बैङ्क मर्जर तथा एक्विजिसनमा हामी ट्रेण्ड सेटर नै हौं ।’ उनले राज्य स्तरबाट पनि राम्रो सहयोग पाइरहेका छन् । यसअघि विभिन्न बैंकहरुको बिग मर्जर हुँदा सरकारीस्तर वा राष्ट्र बैंकका अधिकारीहरुको पनि सहभागिता हुन्थेन । तर, सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डौंको एकीकृत कारोबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य सचिव शंरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतको सहभागीले पनि उनलाई सरकारी स्तरबाट राम्रो सहयोग मिलेको बुझ्न सकिन्छ । दर्जनौं कम्पनीमा अर्बौं लगानी ढकाल अहिले देशको एक सफल र अग्रणी व्यवसायीको सूचीमा पर्छन् । उनले रेमिटेन्स, बैङ्क, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन कम्पनीमा लगानी ग¥यो त्यसमा उनी सफल बनिरहेका छन् । आफ्नो व्यवसायप्रतिको लगाव–झुकाव, इमान्दारिता र सहकर्मीहरुको सहयोगले नै आफू यो अवस्थामा आइपुगेको उनी बताउँछन् । ढकालले आफैले स्थापना गरेका दुई दर्जनभन्दा बढी कम्पनी छन् । तीमध्ये आधा दर्जन कम्पनी सेयर बजारमा सूचिकृत भइसकेका छन् । आइएमई समूह संलग्न जलविद्युत क्षेत्रतर्फ दुइवटा कम्पनी हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जी कम्पनी सञ्चालनमा छन् । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । वित्तीय क्षेत्रतर्फ ८ वटा कम्पनी छन् । आइएमई रेमिट, ग्लोबल आइएमई बैङ्क, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलमा आइएमई समूहको लगानी भएका कम्पनी मात्रै होइनन्, ढकालले आफै संस्थापक रहेका कम्पनीहरु हुन् । यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा. लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आईएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता रहेको छ । अन्य धेरै कम्पनीमा यो समूहको लगानी छ । यी कम्पनीहरुमा आइएमईले अर्बौंको लगानी गरेको छ । कम्पनीले नेपाल पूर्वाधार बैङ्कमा पनि लगानी गरेको छ । जसको पुँजी मात्रै साढे २१ अर्बको छ । सेयर बजारमा सूचिकृत भएका आधा दर्जन कम्पनीहरुको पुँजी ३० अर्ब बढीको छ । आइएमई समूहले सुरु गरेको अर्को नयाँ प्रोजेक्ट चन्द्रागिरि हिल्स हो । अहिले चन्द्रागिरि काठमाडौं उपत्यका नजिकैको सबैभन्दा उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ । ढकाललाई नचिन्ने मान्छेले पनि चन्द्रागिरि चिन्छन् । काठमाडौं बसेर चन्द्रागिरिमा एक पटक नगएको मानिस सायद बिरलै भेटिएला । 'त्यसबेला काठमाडौंमा एकदमै ठूलो प्रदुषण थियो, आन्तरिक र विदेशी पर्यटकलाई पनि पर्यटकीय गन्तव्यको खाँचो थियो, सरकार र सर्वसाधारणले पनि त्यस्तो ठाउँ चाहिरहेका थिए, पछि हामीले चन्द्रागिरि बनायौं, त्यो गन्तव्य सबैको रोजाइमा प¥यो, अब सातै प्रदेशमा चन्द्रागिरि जस्तै पूर्वाधार बनाउनु पर्छ भन्ने योजना छ,’ ढकालले भने । अहिले उनलाई धेरैले ‘मर्जर किङ्ग’का उपमाले पनि चिन्छन् । राष्ट्र बैङकले मर्जरको नीति ल्याएपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा आफूहरु अगाडि रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘बैङ्क मर्जर तथा एक्विजिसनमा हामी ट्रेण्ड सेटर नै हौं ।’ यस्तै, उनी आयात प्रतिस्थापन गर्ने नीतिका साथ आइएमई समूहले नेपालमा पहिलो पटक उच्च गुणस्तरको पेपर उत्पादन गर्ने तयारी गरिरहेको बताउँछन् । ६ महिनापछि पेपरको उत्पादन सुरु हुने उनले बताए । आयात प्रतिस्थापनका साथै निर्यातको लक्ष्य लिएर हामीले उद्योग तयार गर्दैछौं । यसले अर्थतन्त्रमा राम्रो योगदान गर्नेछ’ उनले भने । आइएमई समूहले जति कम्पनीमा काम गरिरहेको छ ती सबै कम्पनीलाई सूचिकृत गराउनेछ । आफ्नो सबै कम्पनीहरुमा सर्वसाधारणलाई पनि समेट्ने योजना ढकालको छ । कुनै पनि काम गर्दा मिहिनेत र प्राथमिकता राखेर गर्छु, कामलाई सर्वोपरी ठान्छु, मभन्दा बढी काम गर्ने मेरो टीम छ, सर्वसाधारणहरुको सहयोग छ, मेरो प्रत्येक बिजेनसमा म सर्वसाधारणहरुलाई जोड्न चाहन्छु, ढकाल भन्छन्, मेरो कम्पनीहरुको मालिक उनीहरुलाई पनि बनाउन चाहन्छु ।’ हामी आम मानिसको आवश्यकता पूरा हुने, सरकारको नीति र प्राथमिकतामा सहयोग पु¥याउने र लगानीबाट प्रतिफल पनि आउने व्यवसायलाई हामी छनौट गर्दछौं’ ढकालले भने, म जे गर्दछु, इमान्दारिपूर्वक गर्दछु । त्यसैले हामीलाई विश्वास गरेर धेरै लगानीकर्ताले लगानी गर्नुभएको छ । सबै कर्मचारीहरुले विश्वास र भरोसा गर्नुभएको छ ।’ उनको सफलताको आधार पनि यही हो । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री :   सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

काठमाडाैं । आरनमा फलामलाई जति पिट्यो, त्यति नै झन् बलियो बन्छ नि । हो, सेयर बजार पनि लगानीकर्ताहरुका लागि त्यस्तै हो । जति पैसा गुमायो, जति घाटा खायो, जति बढी समय दियो त्यति अनुभव, त्यति नै क्षमता र त्यति नै बढी आदती बनाउँदो रहेछ सेयर बजारले । त्यो नशा सेयर बजारमा लाग्ने जो कोहीलाई पनि लाग्छ । सेयर बजारमा अधिकांशले घाटा नखाएर नाफा मात्र गरेका उदाहरण बिरलै होलान् । लगानीकर्ताहरु असफल नभएर सफल भएको बिरलै होलान् । सेयर बजारका वादशाहको उपमाले परिचित वारेन वफटले सन् १९७० ताका मरेतुल्य गरि घाटा बेहोरेका थिए । घाटाको पीडाले बफेट सिकिस्त बिरामी भएको समाचार पनि बनेको थिए । उनी अहिले विश्वका चर्चित मात्रै होइनन्, सफल लगानीकर्ताको रुपमा पनि परिचित छन् । सुरुमै ठूलो नोक्सानी व्यहोरेँ भनेर उनी सेयर बजारबाट बाहिरिएका थिए भने अहिले उनको नाम विश्व चर्चित बन्थ्यो होला त ? नेपाली सेयर बजारका एक परिचित नाम अम्बिका प्रसाद पौडेल जवाफ दिन्छन्, ‘बन्थेनन्, जोसँग धैर्यता छ, जोसँग परिस्थितिसँग जुध्न सक्ने क्षमता छ, उसैले कमाउँछ, एकदिन त्यही व्यक्ति सफल हुन्छ ।’ अम्बिका पौडेल पनि सेयर बजारमा बारम्बार बजारिएका छन् । थिचिएका छन् । करोडौंको सम्पत्ति शुन्यमा झारेका छन् । पीडा भोगेका छन् । पसिना बगाएका छन् । कति रातहरु वित्तीय विश्लेषणकै नाममा अनिदो बसेका छन् । त्यसैले त उनी पनि अहिले नेपाली सेयर बजारमा एक सफल र अनुभवी लगानीकर्ताका रुपले परिचित छन् । कतिपयले त उनलाई ‘भेट्रान’ लगानीकर्ताको संज्ञा पनि दिन्छन् । सेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष पौडेल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा पुँजीबजार फोरमका सभापति समेत हुन् । पौडेल वि.सं २०२८ सालमा स्याङ्जाको एउटा सामान्य परिवारमा जन्मिए । एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पूरा गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं आए । काठमाडौंको शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरे । स्नातकोत्तर पढ्दै गर्दा उनले पुँजी बजारको विषयमा सिके । २०४९ मा पुँजी बजारमा प्रवेश गरेका उनले सुरुमा त नोक्सानै व्यहोरे । त्यतिखेर उनले पनि सेयर बजार मेरो लागि होइन भन्ने नसोचेका होइनन् । तर, मनको बाघ न हो, कसले पो रोक्न सक्छ र ? सेयर बजारको उनको प्यासन थियो । २०६५ सालमा सरकारी जागिर छोडेर सेयरमा होमिएका अम्बिका पौडेल अहिले नेपाल टेलिकम, हिमालयन पावर पाटर्नर, एनआरएन इन्भेष्टमेन्ट, चन्द्रागिरि र आईजीआईको सञ्चालक समितिमा छन् भने सूचीकृत नभएका २० बढी कम्पनीको पनि बोर्डमा छन् । ‘हिमालयन, नेपाल एसबिआई र नेपाल बंगलादेश बैंकको आईपीओमा लगानी गरेर सेयर बजारमा प्रवेश गरेको हुँ, बैंक अफ काठमाण्डू र नबिल बैंकको सेयर खरिद गरेर २०५१ सालमा दोस्रो बजारमा प्रवेश गरेँ,’ उनी विगतलाई स्मरण गर्दै भन्छन्, ‘सुरुमा ३ लाख लगानी गरेको थिएँ तर घटेर २ लाख मात्रै बाँकी रह्यो,’ उनी थप्छन्, त्योभन्दा नमिठो अनुभव मलाई कहिल्यै भएन ।’ सुरुमै १ लाख घाटा भएपछि उनले दोस्रो बजारमा लगानी नगर्ने योजना पनि बुने । केही समय आईपीओ मात्रै भरे । दोस्रो बजारमा सेयर खरिदबिक्री केही समयका लागि रोके । केही समयपछि पुनः लगानी गर्नु पर्छ भन्ने मानसिकता आएको उनी सुनाउँछन् । तर, उनको नोक्सान व्यहोर्ने शिलसिला भने त्यतिमै रोकिएन । ‘आज कमाएको जस्तो देखिन्थ्यो, फेरि भोलि बियरिस सुरु हुँदा सबै सकिन्थ्यो, सम्पत्ति बच्दैनथ्यो, पीडा मात्रै बच्थ्यो, धेरै निराश भइयो, तर धैर्यता राखियो, २०५२ देखि २०६९ सालसम्म गुमाउने मात्रै काम गरियो, मैले राम्रो कमाएको भनेको पछिल्लो ८/९ वर्ष मात्रै हो, उनी भन्छन्, ‘सेयरमा गुमाए पनि त्यो बिचमा अनेकौं सम्बन्धहरु, अनुभव, विज्ञता र ज्ञान धेरै कमाएँ ।’ सरकारी जागिरे, सेयरमा कारोबार पौडेल कुनै बेला निजामति कर्मचारी पनि थिए । वि.सं २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका उनले जागिरसँगै सेयर बजारमा पनि कारोबार गरिरहे । महालेखा परीक्षकको कार्यालयमा लेखा अधिकृत भएर काम गरेका उनले २०६५ सालमै सरकारी जागिर छाडे । सेयर बजारमा पूर्ण रुपले सक्रिय हुुने उद्देश्यका साथ सरकारी जागिर छाडेको उनी बताउँछन् । ‘स्नातकोत्तर पास गरेपछि निजामति सेवामा प्रवेश गरेको हुँ, सामाजिक सुरक्षाका हिसाबले पनि सरकारी जागिर गर्नु पर्छ भन्ने मानसिकता सानैदेखि थियो तर पछि पुँजी बजारमै काम गर्न मन लाग्यो, सरकारी जागिर गर्दैगर्दा अलिकति पैसा कमाइसकेको थिएँ, दुइटा डुङ्गामा खुट्टा राख्नु हुन्न भन्ने महशुस भएपछि मैले जागिर छोडेँ,’ उनले भने, ‘घरको कसैलाई थाहै नदिई जागिर छोडेको त्यो पल सम्झेर अहिले पनि अचम्म लाग्छ ।’ हुन त मान्छेले श्रमभन्दा सन्तुष्टि खोज्छ । पेशाभन्दा प्यासन खोज्छ । पौडेलले पनि त्यही रोजे । हुँदाखाँदाको सरकारी जागिर छोडेर नाफा/घाटाको भर नहुने सेयर बजारलाई आफ्नो दैनिकी बनाए । उनले सेयर बजारमा पक्कै पनि चुनौति देखेका थिए । तर, आफुलाई चुनौति मोल्न सक्ने क्षमता भएकै कारण सेयर बजार राजेको तर्क दिन्छन् । ‘मेरो आधारबिन्दु भनेकै पुँजी बजार हो, अहिले जति व्यापार व्यवसायमा विविधीकरण गरेको छु, त्यसको आधार पुँजीबजार नै हो, हिजो मेरो पोर्टफोलियो सानो थियो, अहिले ठूलो भयो होला, अम्बिका पौडेल सेयर बजारको लगानीकर्ता हो भनेर सुन्दा पनि आनन्द आउँछ, किनकी सेयर बजारसँगको मेरो सामिप्यता गहिरो छ,’ उनी भन्छन्, ‘अब पनि जे गर्छु जति काम गर्छु, सेयर बजारमै गर्छु ।’ ठूलो पोर्टफोलियोलाई एउटै ठाउँमा केन्द्रिकृत नगरेर लगानीलाई विविधीकरण गर्ने योजनाका साथ आफूले अन्य धेरै कम्पनीमा लगानी गरेको उनी बताउँछन् । अहिले सेयर बजारको कारोबारमा दिनप्रतिदिन सक्रिय नभए पनि पुँजी बजारको गतिविधिमा भने सक्रिय रहेको उनी सुनाउँछन् । उनी आफ्नो लगानी फेरि पनि पुँजी बजारमै आउने धारणा राख्छन् । कमाउँदा र गुमाउँदाका ती पलहरु सेयर बजारमा कमाउनु र गुमाउनु सामान्य नै हो । एउटाले कमाउँछ त अर्कोले गुमाउँछ । आज बजार घट्छ त भोलि बढ्छ । यो स्वभाविक नै हो । तर, अधिकांशले सेयर बजारमा गुमाएँ भन्ने सुनिन्छ । मान्छे कमाउँदा खुसी हुन्छ । गुमाउँदा दुःखी हुन्छ । त्यो हर्ष र त्यो रोदन अम्बिका पौडेलले पनि अनगिन्ती भोगे । धेरै पटक महशुस गरे । र, कयौंलाई नजिकबाट नियाले पनि । ‘बियरिस ट्रेण्डमा पुगेको लगानीकर्ताले बुल मार्केटमा पुग्दासम्म राम्रै कमाएको हुन्छ, राम्रो कमाउँदा उसलाई एक किसिमको घमण्ड हुन्छ, अन्यसँग त्यही किसिमको ट्रिट गर्छ, जब बजार घट्छ, त्यसपछि उसले आफूलाई चिन्छ, महशुस गर्छ, यो समयले दिएको प्रतिफल हो, मेरो विवेकले पाएको प्रतिफल हो भनेर आफूलाई सम्हाल्ने प्रयास गर्छ, आफू सक्किएको महशुस हुन्छ,’ उनले देशविकाससँग आफ्नो अनुभव सुनाउँदै भने, ‘यस्ता अनुभव त कति भोगियो, कति देखियो ।’ सेयर बजारमा कमाउने र गुमाउने विषय व्यक्तिमा भएको अनुभव, ज्ञान र विश्लेषण गर्न सक्ने क्षमताले निर्धारण गर्ने उनी बताउँछन् । ‘क्षमता भएकाहरुका लागि सेयर बजार लगानीको सबैभन्दा उपयुक्त र सजिलो क्षेत्र भएको उनको धारणा छ । ‘सेयर बजारमा दलालहरु लाग्दैनन्, शत्रुहरु लाग्दैनन्, आफूले विश्लेषण गरेको आधारमा लगानी गर्ने हो, कम्पनीको विषयमा ज्ञान लिएपछि विगतका ट्रेण्डहरुको विषय विश्लेषण गरेर कारोबार गर्‍यो भने त्यसले अवश्य नै प्रतिफल दिन्छ,’ उनले भने, ‘क्षमता नभएकाहरुका लागि सबैभन्दा कठिन क्षेत्र पनि सेयर बजार हो, सबैका लागि होइन यो क्षेत्र ।’ लगानीकर्ताले बजारको चरित्रलाई नियाल्न सक्नुपर्छ । बजारको ट्रेण्ड र अर्थतन्त्रको हाउभाउ केलाउन सक्नुपर्छ । लगानी गरेको कम्पनीको वित्तीय सूचकहरुको विश्लेषण गर्न सक्नुपर्छ । तब मात्रै सेयर बजारबाट कमाउन सक्ने सम्भावना रहने उनी बताउँछन् । सरकारले पनि लगानीका सुरक्षित उपकरणहरु ल्याएर सबैलाई त्यसमा सहभागी गराउनु पर्ने उनको राय छ । ‘मैले शतप्रतिशत सफल हुन्छु भेनर लगानी गर्दिन, लगानी गरेपछि २०० प्रतिशत नेटवर्थ बनाउनु पर्छ भन्ने मेरो लक्ष्य हुन्छ, मैले असफल भएका कम्पनीलाई सफलतातर्फ लिनको लागि धेरै भूमिका खेलेको छु, अरुले गरेका गल्तीहरु पहिचान गरेर ती गल्ती नदोहोर्‍याउने हो भने पनि कम्पनीलाई सजिलै सफलतामा पुर्याउन सकिन्छ,’ पौडेलले भने । सेयर बजारमा कारोबार गर्दै गर्दाका पौडेलसँग नमिठा अनुभवहरु छन् । ‘कतिपयले लगानीको विषयमा सोध्नुभयो भने म भनिहाल्छु, तर, सेयर मूल्य घट्यो भने दोष मलाई थुपार्नु हुन्छ, कतिपयले मप्रति त्यसैले पनि गलत धारणा राख्नुहुन्छ, कतिपयले बाटोमा भेट्यो भने पिट्छु पनि भने । तर, पछि उहाँहरुले बुझ्नुहुन्छ, महशुस गर्नु हुन्छ, म नै गलत रहेछु भनेर मलाई नै भन्न आउनुहुन्छ,’ उनले थप्दै भने, ‘कतिपय अम्बिकाले बजार तलमाथि पार्न सक्छ भन्छन्, मैले पानी पर्‍यो भने छाता दिन सक्छु, पानी रोक्न सक्दिन ।’ चार दर्जन बढी कम्पनीमा लगानी सेयर बजारमा लागेको करिब तीन दशक भएपनि सेयर बजारबाट पौडेलले कमाएको भने ८/९ वर्ष मात्रै भयो । यो अवधिमा उनी चार दर्जन बढी कम्पनीको सेयरधनीको रुपमा स्थापित भइसकेका छन् । उनी ५ वटा सूचीकृत कम्पनी नेपाल टेलिकम, हिमालयन पावर पाटर्नर, एनआरएन इन्भेष्टमेन्ट, चन्द्रागिरि र आईजीआईको सञ्चालक समितिमा छन् भने सूचीकृत नभएका २० बढी कम्पनीको पनि बोर्डमा छन् । हाल उनी स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सलटेण्ट तथा ए एण्ड ए बिल्डर, काञ्जिरोवा हायेर सेकेण्डरी स्कूल लगायतका संस्थामा अध्यक्ष छन् । बिग इन्ड्रस्टीज, हाइलाइफ, हाथवे इन्भेष्टमेन्ट, बूढानीलकण्ठ हेरिटेज, न्यूलिंक कपी उद्योग, ग्रेट हाइड्रोपावर कम्पनी लगायतमा सञ्चालक रहेका छन् भने उनी निर्माण क्षेत्रमा पनि संलग्न छन् । अहिले जति नेटवर्थ छ, त्यो सबै पुँजी बजारबाट कमाइ गरेको पौडेल बताउँछन् । ‘२० करोडको पार्टफोलियो शून्य र एक अर्बको नेटवर्थ ५ करोडमा झरेको छ, पाइला-पाइलामा ठक्कर खाइयो, म अहिले जहाँ छु, त्यो पछिल्लो ८/९ वर्षको कमाइले हो,’ उनले भने । अब उनी अरुको कम्पनीमा होइन आफ्नै कम्पनीमा सेयर कारोबार गर्न चाहन्छन् । आफूले लगानी गरेर स्थापना गरेका कम्पनीहरुलाई सूचीकृत गराएर त्यसमै कारोबार गर्ने योजना पौडेलको छ । ‘मैले आफूलाई फरक स्थापित गर्न चाहन्छु, हिजो ८ हजारमा खरिद गरेको एउटा कम्पनीको सेयर मूल्य आज ४ सय छ, मैले त्यसमै लागेको भए आज के हुन्थ्यो, मैले त्यसबाट आएको प्रतिफलले आफ्नै कम्पनी खोलेर त्यो कम्पनीलाई नै सूचीकृत गराउने तयारी गरिरहेको छु, हरेक विषयमा विकल्प खोज्नु पर्छ,’ उनी भन्छन्, ‘म नेपाली सेयर बजारमा एउटा ट्रेण्डसेट गर्न चाहन्छु, धेरै काम त गरिसकेको छु ।’ नेपाली पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि जति काम भएको छ, त्यति काम कसैले नगरेको उनी दावी गर्छन् । आफ्नो काम आवाज उठाउने भएको भन्दै सेयर बजारमा सही नीति निर्माणका लागि आफुले ठूलो भूमिका खेलेको उनी बताउँछन् । ‘स्टक एक्सचेञ्जको निजीकरण, पुँजीगत लाभकर घटाउन, पुँजीबजारमा लाग्ने दोहोरो कर हटाउन, धितोपत्र बोर्डको संरचनागत सुधार, हकप्रद सेयर, सेयरधितो कर्जा लगायतका विषयमा मैले धेरै काम गरेको छु, सेयर बजारमा भएका ८० प्रतिशत विषय मैले उठान गरेको छु, महासंघमा गएपछि पनि धेरै सुझाव दिएको छु,’ उनले भने, ‘कहिले अगाडि नै गएर त कहिले ब्याकमै बसेर काम गरिरहेको हुन्छु ।’   १० वर्षपछि अम्बिका अर्कै हुन्छ हामीले अम्बिका पौडेललाई सोध्यौं- भाग्य ठूलो कि कर्म ? उनले जवाफमा भने, ‘कर्मबिनाको भाग्य हुँदैन, कर्मबिनाको भाग्यमा म विश्वास गर्दिन, आफूले गरेका कर्मले सफलता पाउन सकिन्छ तर कहिलेकाहीँ भाग्य पनि चाहिन्छ, नेता कर्मले बन्न सकिन्छ, प्रधानमन्त्री बन्नका लागि भाग्य पनि चाहिन्छ, भाग्य र कर्मको संयोजनले उत्कृष्ट र सफल बन्न सकिन्छ ।’ उनी आफूले धेरै मिहेनत गरेर यो अवस्थासम्म आइपुगेको बताउँछन् । ‘म अब क्षमता, ज्ञान, अनुभव, सम्बन्ध र नामको हिसावले पूर्ण भएको छु, अब सक्रिय भएर २५ वर्ष काम गर्छु, हिजोको दिनमा सबै कुराको अभाव थियो, यहाँसम्म आइपुगेँ, आज मसँग यी सबै चिज छ, यो चिजको सदुपयोग गरेर साँच्चिकै देखिने काम गर्छु भन्ने कन्फिडेन्ट छ, अहिले सुरु मात्रै गरेको छु, अब परिणाम आउँछ,’ उनले भने, ‘अम्बिका अबको १० वर्षपछि फरक क्यारेक्टर र फरक क्षेत्रमा स्थापित हुन्छ ।’ पुँजीबजारबाट उठेका पौडेलले पछिल्लो समय कृषि, उद्योग, पर्यटन, शिक्षा, निर्माण क्षेत्रमा लगानी गर्दै नयाँ कम्पनी अगाडि बढाईरहेका छन् । उनले सबै कम्पनीहरुलाई नेप्सेमा सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढाउँदै छन् । उनी आफूले गरेको कामले सबैलाई सेवा दिन चाहन्छन् । आफूले उत्पादन गरेको वस्तु सबैको जीवनशैली बनेको हेर्न चाहन्छन् । उनी सकेसम्म धेरैलाई रोजगारी दिने चाहना राख्छन् । आफ्नो कामले आफूलाई मात्रै होइन सिंगो देशलाई लाभ हुने काम गर्न चाहन्छन् अम्बिका । ‘अहिले जुन-जुन क्षेत्रमा लगानी गरेको छु, यसलाई विस्तार गर्छु, मैले गरेको व्यवसायका उत्पादन नेपालको प्रत्येक घरमा पुगोस्, त्यो उत्पादन प्रत्येक मानिसको जीवनशैली बनोस्, त्यो वस्तु प्रयोग गर्दा धेरैले मलाई सम्झिउन्, सबैले भनुन् वा अम्बिका,’ उनी भन्छन्, ‘अब मेरो सम्पूर्ण ध्यान त्यसमै केन्द्रित हुन्छ, सकेसम्म धेरैलाई रोजगारी दिन सक्ने काम गर्छु ।’ अबको १०/१५ वर्षमा आफूले सोचेको काम गर्न सक्ने आँट रहेको उनी सुनाउँछन् । आफ्नो निणर्यमा घरपरिवारको पनि धेरै साथ रहेकोले पनि आफु यो अवस्थामा पुगेको उनी बताउँछन् । ‘करोडौं रुपैयाँ गुमाउँदा घरपरिवारले साथ दियो, कमाउँदा पनि साथ दियो, राम्रो गर्दा गर्दै नराम्रो भए पनि एकदिन राम्रो भैहाल्छ भन्ने सान्त्वना मैले घर परिवारबाट पाउँछु,’ अम्बिका भन्छन्, ‘मेरो कामको उर्जा नै मेरो परिवार हो ।’ (देशविकास साप्ताहिक पत्रिकाकाे वर्षअंकबाट)

तीन पटक सरकारी जागिर छोडेर लघुवित्तमा जमेका ‘प्रकाश सर’को कथा

काठमाडौं । हरेक व्यक्तिभित्र कथा हुन्छ । ती व्यक्तिले भोगेका अनुभव र सम्हालेका कहानीहरु पस्किने माध्यम भने जोकोहीले पाउँदैनन् । ती व्यक्तिको सफलताको पछाडि एउटा लामो र गर्व गर्न लायक संघर्षको कथा हुन्छ । जिन्दगीको एउटा अत्यास लाग्दो संघर्षशिल गोरेटोबाट एउटा सुन्दर जीवनशैली पाउने प्रेरणादायी र उदाहरणीय पात्र बन्ने शौभाग्य बिरलै पाइन्छ । एउटा भुइमान्छे बन्दाका पलहरु र सबैको प्रेरणाको स्रोत बन्ने दिनहरुभित्र ठूलो विरासत लुकेको हुन्छ । हो, आज हामी यस्तै एउटा गरिमामय गाथा सम्हालेको र संर्घषशील पृष्ठभूमि बोकेको व्यक्तिको संघर्ष, जीवनयात्रा र सफलताको कथा पस्कदैछौं । प्रकाशराज शर्मा । नेपाली लघुवित्त क्षेत्रमा एउटा पृथक पहिचान बोकेको नाम हो प्रकाशराज शर्मा । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका शर्मा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत हुन् । दाङको एउटा दुरदराज हेकुली गाविसमा जन्मेका शर्माभित्रको कथा साँच्चिकै हृदयस्पर्शी, उदाहरणीय र धेरैका लागि प्रेरणाको स्रोत बन्न योग्य छ । वि.स २०१४ साल भदौ महिनामा जन्मेका शर्मालाई ६६ वर्ष पुगिसक्दा पनि नेपाली लघुवित्त क्षेत्रमा केही नयाँ काम गरौं भन्ने हुटहुटी ताजै छ । केही पृथक, समाजलाई भलो हुने काम, जसले धेरैलाई सकारात्मक उर्जा दियोस्, शर्मा अझै पनि यस्तै–यस्तै काम गर्न चाहन्छन् । हामीले सुरुमै उनलाई प्रश्न गर्यौं, ‘६६ वर्षको भइसक्नु भयो, एउटा लघुवित्तको नेतृत्व गरिरहनु भएको छ, लघुवित्त बैंकर्स संघको पनि अध्यक्ष हुनुहुन्छ, अब आफुलाई बुढो भएँ भन्ने महसुस हुँदैन ? अब आराम गरौं भन्ने सोच आउँदैन ? उनले जवाफमा भने, ‘ज्यान बुढो भएपनि मन बुढो नहुँदो रहेछ, काम गरौं भन्ने मनोबल उच्च छ भने ज्यानको वास्ता नगरिँदो रहेछ, मलाई अझै केही गरौं भन्ने हुटहुटी छ, सकारात्मक सोच राखियो भने काम गर्ने उर्जा आफै आउँदो रहेछ, म नकारात्मक चिजमा पनि सकारात्मक कुरा देख्छु, त्यसले मलाई झन् उर्जा थप्छ ।’ प्रकाशराज शर्मा सानैदेखि राम्रो विद्यार्थी । सानोमा डाक्टर बन्ने सपना । १५ वर्षको उमेरमै एसएलसी (हालको एसईई) दिए । १५ वर्षको उमेरमा एसएलसी दिन नपाइने भएपछि उनले एक वर्ष उमेर बढाएर त्यतिखेर २०१३ सालमा जन्म भएको लेखेको सुनाउँछन् । उनले २०२९ सालमा एसएलसी दिए । ‘पढ्नको लागि दुइ घण्टाको पैदल यात्रा गर्नु पर्थ्यो, ९ र १० कक्षा डेरा लिएर महेन्द्र हाइस्कुल पढेँ, कहिलेकाँही घोडामा चढेर विद्यालय गइन्थ्यो, विद्यालय जीवन सकसपूर्ण भएपनि पढ्नु पर्छ भन्ने मानसिकता भने ममा सानैदेखि थियो,’ उनले विगत स्मरण गर्दै सुनाए । त्यतिखेर दाङको तुल्सीपुरटाडी गाँउदेखि बाँकेको खजुरासम्म जहाज पनि चल्थ्यो । जहाजको टिकट भने ४० रुपैयाँ । नेपालगञ्जमा कान्छा बाजेको घरमा बसेर नारायण हाइस्कुलबाट एसएलसी परिक्षा दिएको पनि उनी अहिलेसम्म स्मरण गर्छन् । उनको एसएलसीको नतिजा पनि आयो । उनको सानैदेखि डाक्टर बन्ने रुची थियो । नेपालगञ्जमा नै बसेर प्लस टुमा विज्ञान विभागमा भर्ना गरेर बायोलोजी विषय लिए । त्यतिखेर नयाँ शिक्षा प्रणाली लागू भयो । डाक्टर पढ्न ६० प्रतिशत अंक आउनु पर्थ्यो तर उनको ५९ प्रतिशत आयो । डाक्टर पढ्ने बुनेका उनको सपना चकनाचुर भयो । नेपालगञ्जबाट रक्सौल हुँदै रेल चढेर काठमाडौं डाक्टर पढ्ने सपना सपनामै सीमित भएपनि शर्माले हार खाएनन् । उनले काठमाडौं जाने योजना बनाए । त्यतिखेर अहिलेको जस्तो सवारी साधन थिएन । काठमाडौं आउनका लागि उनले रक्सौलबाट रेल चढे । उनी २०३२ सालमा सपनाको शहर काठमाडौं छिरे । अमृत साइन्स क्याम्पस अस्कलमा बिएस्सीमा भर्ना गरे । तर,अस्कल क्याम्पसबाट ६ महिनापछि उनी त्रिचन्द्र कलेजमा ट्रान्सफर भए । बीएस्सी पढ्दापढ्दै कोलोम्बो प्लानमा बिएस्सी डेरी टेक्नोलोजी छात्रवृत्तिमा आवेदन दिए । उनी बिएस्सी डेरी टेक्नोलोजी भारतको अहमदाबादमा पढ्नका लागि छनोट भए । तर, बिडम्वना, उनी समक्ष कन्फरमेसन आइपुगेन । ‘कन्फरमेसन आउनु अघि गाउँ गएँ, गाउँको एउटा सरकारी विद्याययमा विज्ञान विषय पढाएँ, तलब २२५ रुपैयाँ, ६ महिनापछि ३२५ रुपैयाँ पुग्यो, सोही समयमा उनले गाउँमा विवाह पनि गरे, ५/६ महिनासम्म कन्फरमेसन नआएपछि काठमाडौं फर्किएँ तर मेरो ठाउँमा वैकल्पिकमा परेको मान्छे गइसकेछन्, भारत जाने कुरा पनि सक्कियो,’ उनले बिएस्सी पढ्दै गर्दाका दिनहरु सम्झिँदै भने । एकपछि अर्को ठक्करले उनलाई निरास बनाउँदै गयो । एक दिन केही काम गर्न किर्तीपुर जाँदै थिए । उनले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा कृषि तथा पशु विज्ञानको डिन कार्यालयमा एउटा भीड देखे । सोधपुछ गर्दा पहिलो पटक बिएस्सी एजिको विज्ञापन खुलेको रहेछ । ‘मैले त्यहाँ आवेदन दिएँ, जुन मेरो अर्काे टर्निङ प्वाइन्ट थियो, प्रवेश परीक्षामा ठूलो प्रतिस्पर्धा भयो, म साइन्स पढेको थिएँ, अरु आइएस्सी एजि, ४० जनाको कोटाका लागि १२ नम्बरमा नाम निकालेँ,’ उनले भने । उनले २०३७ सालमा ८३.५ प्रतिशत अंक ल्याएर बिएस्सी एजि पास गरे । उनको प्रतिस्पर्धीले ८४ प्रतिशत ल्याए । उच्च अंक भएकाले गोल्ड मेडल पाउँथ्यो । तर, उनको ०.५ प्रतिशत कम अंक आएर गोल्ड मेडल पाउन सकेनन् । बिएस्सी एजि पास गरेपछि उनी कृषि वैज्ञानिक बने । थोत्रो मोटरसाइकलले तानेको ध्यान नेपालगञ्जमा आइएस्सी पढ्दा उनको मनमा एउटा कुराले कृषि विज्ञान पढन् आकर्षित गरेको थियो । नेपालगञ्जमा हजुरमुवाको घरबाट रुपडिया रोडमा महेन्द्र बहुमुखी क्याम्पस छ । त्यहाँबाट उनले आइएस्सी पास गरेका थिए । साइकल चलाएर क्याम्पस जानुपर्थ्यो । बाटोमा कृषि विकास कार्यालय थियो । कार्यालयको अगाडि उनले सधैं मोटरसाइकल देख्थे । साइकल चढ्ने मान्छे मोटरसाइलक चढ्न पाएपछि कस्तो हुन्थ्यो भन्ने उनले मनमा कुरा खेलाइ रहन्थे । सानो बुवाको छोरा दाइले यो कृषि कार्यालय हो । कृषि विषय पढ्यो भने मोटरसाईकल चढ्न पाइन्छ भनेपछि त्यो कुरा उनको मस्तिष्कमा रहिरह्यो । ‘मलाई त्यो मोटरसाइकलले कृषि पढ्न लोभ्यायो, आइएस्सी एजी पास गरेपछि शाखा अधिकृत भएर नियुक्ती लिएँ, नारायाणी अञ्चल सिँचाई विकास आयोजना विरगञ्जमा पठाइयो, त्यहाँबाट बाराको कृषि विकास कार्यालयमा सहायक कृषि विकास अधिकृतमा खटायो, त्यसपछि मेरो फर्मल जागिर सुरु भयो २०३७ सालमा, कृषि विकास कार्यालयमा काम गरेपछि मोटरसाइलक पाइन्छ भनेर ठ्याक्कै त्यहि कार्यालयमा जागिर पाएँ, मोटरसाइकल पनि पाएँ, लाग्यो म जति भाग्यमानी त कोही रहेनछ,’ उनले त्यो पल स्मरण गर्दै भने ।’ उनले कृषि विकास कार्यालयमा एक वर्ष जति काम गरे । पछि लोकसेवाले विज्ञापन नखोलेपछि उनले बैंकमा काम गर्ने योजना बनाए । १३ वर्ष बैंकमा काम वि.स.२०३८ सालमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले सघन बैंकिङ्ग कार्यक्रम (प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम) का लागि कृषि अधिकृतका विज्ञापन निकाल्यो । कृषि विकास कार्यालयमा हुँदा रजिष्टर्ड तहको ७५० रुपैयाँ तलव र प्रोजेक्ट भत्ता ३० प्रतिशत थियो । जम्मा एक हजार रुपैयाँ बराबर तलव हुन्थ्यो । उनले दुईवटै बैंकमा आवेदन दिए । लिखित परिक्षाको दुवैमा पास भएपछि नेपाल बैंकमा पहिला अन्तवार्तामा दिए । पास पनि भए । उनी सातौं तह अर्थात् सहायक प्रबन्धकमा नियुक्त भए । एक महिनाको तालिम पुरा गरेपछि उनलाई नेपालगञ्जको क्षेत्रिय कार्यालयमा खटाइयो । उनले तत्कालिन मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल हेर्नुपर्थ्यो । उनले त्यहाँ हुँदा अछामको विनायक पञ्चदेवल, बझाङको बुंगल, बैतडीको पुर्चाैडी हाट, कञ्चनपुरको झलारी, कैलालीको चौमालालगायत थुप्रै ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याए । उनले राम्रो काम गरेपछि राष्ट्र बैंकको सघन बैंकिङ्ग राष्ट्रिय पुरस्कार समेत पाए । राष्ट्र बैंकले अगुवा बैंक (लिड बैंकिङ्ग प्रोग्राम) सार्वजनिक गर्याे । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको समन्वयमा सिराहको हाकिम भएर गए । ‘२०४६ सालको आन्दोलन हुँदा म दाङमा थिए, आन्दोलन सफल भएपछि अगुवा बैंकलाई सरकारले हटायो, मलाई नेपाल बैंकको क्षेत्रीय कार्यालय नेपालगञ्जमा पठाइयो, ८ औं तहको प्रमोशन भएपछि म हेड अफिस तानिएँ, हेड अफिसमा हुँदा केही समय मेरो पुरुषोत्तम पाण्डे हाकिम हुनुहुन्थ्यो, पुरुषोत्तम पाण्डे महाप्रबन्धक भएपछि मलाई डिपार्टमेन्टको जिम्मेवारी दिइयो,’ उनले भने । उनी १३ वर्ष नेपाल बैंकमा काम गरेपछि बाहिरिने सोच बनाए । निरन्तर छ लघुवित्तको यात्रा वि.स. २०४९ सालमा धनगढी र विराटनगरमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र केही निजी बैंकको लगानीमा ग्रामीण विकास बैंक स्थापना भयो । बझाङका शेर बहादुर थापा नेपाल बैंकको सिनियर हाकिम थिए । उनी पनि कृषि विषय पढेका थिए । नेपाल बैंकमा काज राखेर कार्यकारी निर्देशक भएर धनगढी र रमेश पौडेल विराटनगर गए । नेपाल राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर डा. हरिदेव पन्त लघुवित्तका विज्ञका रुपमा परिचित । उनी ग्रामीण विकास लघुवित्तका अध्यक्ष थिए । शर्माले नेपाल बैंकमा १३ वर्ष काम गरिसकेका थिए । उनले नेपाल बैंक छोडेर ग्रामीण विकास लघुवित्तको सहायक निर्देशक (सेकेण्ड) बनेर धनगढी जाने निर्णय गरे । वि.स. २०३८ देखि २०५१ साल बैशाखसम्म नेपाल बैंकमा काम गरेर राजीनामा दिए । त्यसपछि ग्रामीण विकास लघुवित्तबाट औपचारिक रुपमा उनको लघुवित्तको यात्रा सुरु भयो । उनका लागि ग्रामीण विकास लघुवित्त प्रथम पाठशाला बन्यो र लघुवित्त सिके । ग्रामीण विकास लघुवित्तमा ५/६ वर्ष काम गर्दा गर्दै २०५५ सालमा लघुवित्तको कार्यकारी प्रमुख अधिकृत (सीईओ) बने । उनी सीईओ भएका बेलामा भरतकृष्ण शर्मा नेपाल राष्ट्र बैंकबाट अध्यक्ष चुनिएका थिए । ग्रामीण विकास लघुवित्तमा काम गर्दा गर्दै उनको मनमा फेरि खुलदुली बढ्यो । त्यहि बेलामा निर्धन उत्थान लघुवित्त स्थापना भयो । ग्रामीणमा छोड्न चाहेको भन्ने थाहा पाएपछि नेपालमा लघुवित्तका गुरुका रुपमा परिचित डा. हरिदेव पन्तले फोन गरेर निर्धन उत्थान लघुवित्तमा आउन आग्रह गरे । सरकारी लगानी भएको ग्रामीण लघुवित्त छाड्ने निर्णय गरे । तत्कालीन गभर्नर गणेश बहादुर थापा र हिमालयन शमसेर राणा निर्धनको बोर्डमा भएकाले उनको अन्तवार्ता लिए । निजी क्षेत्रको लगानी रहेको निर्धन उत्थान लघुवित्तका सीईओ डा.हरिदेव पन्त निर्धनको प्रमुख कार्यकारी प्रमुख थिए । उनी निर्धनमा जाने भएपछि एउटा शर्त राखे डा.हरिदेव पन्त बाहेक अरुको सेकेण्ड म्यान बन्दैन । डा.पन्तको १० हजार रुपैयाँ तलब थियो । उनको ग्रामीणमा हुँदा साढे १२ हजार रुपैयाँ तलब थियो । सेकेण्ड म्यान भएपनि सीईओको तलब भन्दा धेरै थियो । सीईओ भन्दा तल्लो तहको कर्मचारीको तलब बढी हुँदा रोचक बन्यो । पछि उनले पाएको तलब भन्दा सीईओको तलब एक सय रुपैयाँ बढी बनाइयो । निर्धनल घुवित्तलाई यो उचाइमा पुर्याउनमा ठुलो योगदान भने शर्माको छ । लघुवित्तमा आधुनिकीकरण र इनोभेसनका काम उनै शर्माले गरे । उनले निर्धनलाई एउटा हाइटमा पुर्याए । त्यहि बेलामा उनले देशविदेश घुम्ने अवसर पाए । उनले हार्वड विजनेश स्कुलबाट ट्रेनिङ लिए, एशियन इन्स्च्युट अफ म्यानेजमेन्ट फिलिपिन्सबाट म्यानेजमेन्ट डेभलपमेन्ट कोर्स गरे, माइक्रोफाइनान्सका लागि संसारको प्रशिद्ध कोर्समा भाग लिए, अन्तर्राष्ट्रिय वक्ता भएर अमेरिका, कोलम्बिया लगायत २० भन्दा बढी देशमा अतिथि भएर आफ्नो अनुभव बाँडेका छन् । कुनै पनि संस्थामा ५ वर्ष पुरा नभई विदेश जान पाउँदैनथ्यो । तर, उनले नेपाल बैंकमा ४ वर्ष गर्दागर्दै विदेश (मनिला) जाने अवसर पाए । उनी फिलिपिन्समा मात्रै ५ पटक जति गएको अनुभव सुनाउँछन् । आजका दिनमा अधिकांश सीईओहरु उनका शिष्य भएकोमा उनी गर्व गर्छन् । निर्धन उत्थानमा उनले ११ वर्ष बढी काम गरे । निर्धनमा काम गर्दा पनि उनलाई आफू ओझेलमा परेको महसुस भयो । ‘मैले जति काम गरेपनि नाम अर्कैको आउँछ,डा. हरिदेव पन्त ठूलो रुख हो, म जहिले पनि ओझेलमा छु, ममा एउटा हुटहुटी थियो, नयाँ कुरा गर्न पाए हुन्थ्यो, स्वतन्त्र रुपमा काम गर्न पाए हुन्थ्यो भन्ने महत्वकांक्षी, सबै काम मैले गर्नुपर्ने नाम अर्काको आउने हुन्थ्यो, माओवादी जनयुद्धमा चारैतिरबाट बन्दुकको घेराबन्दीमा म पर्थें, मलाई आफै केही गर्ने हुटहुटी भयो, पछि त्यहाँ पनि छोडेँ,’ उनले भने । लक्ष्मी लघुवित्तमा कर्मचारी बिनाको सीईओ वि.स.२०६७ सालमा लक्ष्मी लघुवित्त दर्ता भयो । बैंकले मान्छे खोज्न सुरु गरेको थियो । शर्माले अब लक्ष्मी लघुवित्तमा काम गर्ने भए । ‘निर्धनमा छोड्दा धेरैले मलाई बौलायो भने, धेरैले रोक्ने प्रयास पनि गरे, तर मलाई मेरो चाहेको काम हुनु पर्छ, मैले निर्धन छोडेँ, कुनै संरचना र कर्मचारी पनि नभएको लक्ष्मी लघुवित्तमा आएँ,’ उनी भन्छन्, ‘म जहाँ काम गरेपनि केही आधारशिला निर्माण गर्न मन पराउँछु ।’ उनी लक्ष्मी लघुवित्तमा आउँदा कर्मचारी बिनाको सीईओ बने । लक्ष्मी लघुवित्तको कुनै पनि कार्यालय थिएन । ‘लक्ष्मी लघुवित्तमा आउँदा एउटा सिंगल मान्छे, कर्मचारी बिनाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएँ, अफिस कहाँ हो, घर छैन, कर्मचारी छैन, लक्ष्मी बैंकको सेकेण्ड फ्लोरमा एउटा कोठामा मलाई राखियो,’ शर्माले भने, ‘मेरो काम भनेको पोलिसी प्रक्रिया पुर्याएर लाइसेन्स लिने थियो, लक्ष्मी माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक दर्ता भयो, पछि लक्ष्मी लघुवित्त नामाकरण गरियो, लक्ष्मी बैंकबाट एक जना साथी सहयोगी दिइयो, अल्फाबिटा कम्प्लेक्समा रहेको लक्ष्मी बैंकको पछाडी ९ सय स्क्वायर फिटमा कार्यालय स्थापना गरियो, त्यसपछि के-के काम गर्ने भनेर योजना बनाइयो ।’ आगामी बैशाखमा लक्ष्मी लघुवित्तमा काम गरेको उनलाई १२ वर्ष पुग्दैछ । वि.स २०३७ सालदेखि उनी अनवरत रुपमा काम गरिरहेका छन् । ‘मैले जेजे काम गरेको छु सबैमा सन्तुष्ट छु, म कमर्सियल बैंकर भएको भए म त्यति सन्तुष्ट हुँदैनथे होला, समावेशी वित्तीय पहुँचमा ठूलो योगदान पुर्याएँ जस्तो लाग्छ, निम्न वर्गले सजिलै कर्जा पाएका छन्, साहु महाजनबाट मुक्त भएका छन्, एउटा सचेतना, इम्पावरमेन्टमा कुनै न कुनै रुपमा मेरो इट्टा परेको छ,’ उनी आफुले गरेका संघर्षका गाथाहरु सुनाउँदै भन्छन् । उनी अझै पनि जबसम्म शरिर र दिमागले साथ दिन्छ तबसम्म लघुवित्तमै सक्रिय रहने बताउँछन् । अब बैशाखदेखि रिटायर्ड हुन्छु, अहिलेको प्रावधानले पनि विदा हुनु पर्छ, अब कार्यकारी भूमिकाबाट बिदा लिन्छु, ‘टेन टू फोर’ काम गर्दिन तर यहि क्षेत्रमा रहिरहने छु, उनी भन्छन्, यो क्षेत्रले मलाई नाम, दाम, इज्जत, पोजिशन, एक्सपोजर दियो, रिटायर्डपछि पनि नीति नियम र लेखन तथा पठन पठनमा रहन्छु होला ।’ छोराको जन्मले दिएको खुसी हामीले शर्मालाई सोध्यौं, तपाईंको जीवनमा त्यस्तो अविस्मरणीय कुनै क्षण छ ?, उनले जवाफमा भने, ‘मेरो लागि सबै अविस्मरणीय क्षण छन्, तर एउटा जब मेरो छोराको जन्म भयो त्यो मेरो लागि निकै अविस्मरणीय रह्यो ।’ उनी थप्छन्, १९/२० वर्षको उमेरमा मेरो विवाह भयो तर १० वर्षपछि मात्रै छोरा जन्मियो, त्यो क्षण मेरो लागि निकै अविस्मरणीय र सुखद बन्यो ।’ शर्माका दुईटा आमा । ५ भाई र ६ दिदीबहिनी गरी ११ जना भाइबहिनी । उनी जेठो छोरा । उनकी आमा अहिले पनि ८१ वर्षको पुगिन् । अहिले उनी भैंसेपाटीमा बस्छन् । अहिले धेरै जसो समय नातीसँगै खेलेर बित्ने गरेको उनी सुनाउँछन् । उनी थप्छन्, जीवनमा जति गरेँ, यसमा मेरो श्रीमतिको ठूलो हात छ, श्रीमतिबाट यति साथ र सहयोग नमिलेको भए म यो अवस्थामा हुन्थेन की ।’

चुनावको मुखमा उद्योगी व्यवसायीलाई रिझाउने अर्थमन्त्रीको ‘टेक्निक’, खोसे राष्ट्र बैंकको अधिकार

काठमाडौं । केही दिन यता बैंकिङ क्षेत्रमा ब्याजदरको विषयले निकै प्राथमिकता पाएको छ । विगत ६ महिनादेखि स्थीर रहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर असोजमा भने बढेपछि सो विषयले बैंकिङ बजार निकै तातेको छ । ब्याजदर बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको पनि टाउको दुखाइको विषय बनेको छ भने अर्थमन्त्रालय पनि अनावश्यक रुपमा सो विषयमा प्रवेश गर्ने प्रयत्न गरिरहेको छ । वाणिज्य बैंकहरुले भदौ ३१ गते असोज महिनाका लागि भनेर १२.१३ प्रतिशत ब्याजदर सार्वजनिक गरे । एक वाणिज्य बैंकहले सोही दिन १२.१३३ प्रतिशत ब्याजदर सार्वजनिक गरेपछि अन्य बैंकहरु पनि दोस्रो पटक ब्याजदरको सूचना सार्वजनिक गर्दै आफ्नो बैंकको ब्याजदर पनि १२.१३३ प्रतिशत भएको जानकारी गराइरहेका छन् । अहिले वाणिज्य बैंकहरु एकले अर्कालाई दोषारोपण गर्दै गल्ती ढाकछोप गर्ने प्रयत्न गरिरहेका छन् । यो विषयमा गलत कार्य गर्नेलाई नेपाल राष्ट्र आवश्यक कानुनी कारवाही गर्ने तयारी पनि गरिरहेको छ । तर, अर्थमन्त्री जनार्दन शर्मा बैंकहरुले ब्याजदर बढाएपछि त्यसको विरुद्दमा बोलिरहेका छन् । हुनत अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई आफ्नो मातहतको विभाग सरहको ठानेर विभिन्न समयमा विभिन्न नीतिगत व्यवस्थामा हस्तक्षेप गरेको विषय नौलो भने होइन । राष्ट्र बैंकका गभर्नरलाई आफ्नो मातहतमा ल्याउने, ल्याउन नसके अनेक जुक्ती लगाएर निलम्बन गर्ने र राष्ट्र बैंकको स्वायत्ततामाथि नै प्रहार गर्ने प्रयास विभिन्न समयमा भएका छन् र त्यो सिलसिला अहिले पनि चलिरहेको नै छ । वर्तमान अर्थमन्त्री जनार्दन शर्मा पनि त्यो सिलसिलाको एउटा हिस्सेदार भएर अहिले काम गरिरहेका छन् । उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरदेखि अन्य नीतिगत व्यवस्थामा राष्ट्र बैंकलाई आफ्नो पकडमा राख्ने कसरत अझै पनि गरिरहेका छन् । गत साता विभिन्न संघ संस्थाले आयोजनामा प्रमुख वक्ताका रुपमा उपस्थित भएका तीन वटा सार्वजनिक कार्यक्रममा उनले बैंकहरुले बढाएको ब्याजदरप्रति आपत्ति मात्रै जनाएनन् सबैलाई बैंकमा निक्षेप नराख्नसम्मको धारणा दिनसम्म भ्याए । उनले उद्योगी व्यवसायीलाई अर्थमन्त्रालयमा बोलाएर ब्याजदरको विषयमा छलफल गरेर बैंकहरुलाई ब्याजदर घटाउन निर्देशन दिनेसम्म भन्न भ्याए । नभन्दै उनले अहिलेको अर्थतन्त्र र ब्याजदरको विषयमा बुझ्नका लागि आइतबार एक समिति गठन गरे । अर्थमन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजगत्वमा समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोग , नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघका २ जना, र निजी क्षेत्रका तीन जना सो समितिमाा छन् । अर्थमन्त्री शर्माले वर्तमान अर्थतन्त्रसँगै ब्याजदरको विषयमा बुझ्न समिति गठन गरेपछि धेरैले यसलाई राष्ट्र बैंकमाथिको हस्तक्षेपको रुपमा लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर अर्थात् राष्ट्र बैंकको कुनै प्रतिनिधिले बैंकहरुको ब्याजदरको विषयमा धारणा राख्नु स्वभाविक हो । किनकी बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक नै हो । तर, अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाले गरेको काम, उनीहरुको ब्याजदर परिवर्तनको नीतिगत व्यवस्थालगायतका विषयमा सार्वजनिक कायक्रममै धारणा राखेर बैंकिङ बजारलाई प्रभावित पार्न खोज्नु र अर्थमन्त्रालयको नेतउत्वमा ब्याजदरको विषयमा समिति गठन गर्नु राष्ट्र बैंकको अधिकार खोसिएको धारणा राखेका छन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपाल अर्थ मन्त्रालयको नेतृत्वमा ब्याजदरको विषयमा समिति गठन गर्नु ठाडै हस्तक्षेप भएको बताउँछन् । उनले अर्थतन्त्रको विषयमा धेरै कुराहरु अर्थमन्त्रालयभन्दा राष्ट्र बैंकलाई थाहा हुने हुँदा अर्थमन्त्रालयले राष्ट्र बैंकलाई नै जिम्मेवारी दिनु पर्ने बताए । ‘ देशको अर्थतन्त्रको विषयमा सबैभन्दा बढी राष्ट्र बैंकलाई थाहा हुन्छ, कुनै अध्ययन अुसन्धान गर्न खोजे पनि सरकारले राष्ट्र बैंकलाई सोध्ने हो, राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हो, सरकारले हस्तक्षेप गर्यो भने भोलि अर्कै किसिमको समस्या सिर्जना हुन्छ, ब्याजदर वा अर्थतन्त्रकै विषयमा अध्ययन गर्ने भएपनि राष्ट्र बैंककै नेतृत्वमा समिति बन्नु पथ्र्यो र त्यसको सम्पूर्ण जिम्मेवारी लिनु पर्थ्यो तर त्यस समितिमा राष्ट्र बैंकको एक प्रतिनिधि मात्रै राखिएको छ, यो राष्ट्रबैंकमाथिको ठाडै हस्तक्षेप र अधिकार खोजिएको मेरो बुझाइ छ,’ उनले विकासन्युजसँग भने । यस्तै, उनले देशको अर्थतन्त्र समस्यामा परिरहेको बेला अर्थमन्त्रीबाट आउने यस्ता खालको अभिव्यक्तीले अर्थतन्त्रलाई नकरात्मक हुन थप प्रशय दिने बताए । अहिले संसारभर ब्याजदर बढिरहेको र नेपाल राष्ट्र बैंकको नीतिले पनि थोरै बढाएको बताउँदै यसमा अर्थमन्त्रालय वा सरकारबाट हस्तक्षेप हुन नहुने धारणा राखे । उनका अनुसार उद्योगी व्यवसायीहरुको कुरा मात्रै सुनेर अर्थमन्त्रीले ब्याजदर घटाउनु पर्ने धारणा राखिरहेको र त्यही आधारमा पनि समिति पनि गठन गरेको बताउँदै ब्याजदरको विषयमा सम्पूर्ण अधिकार राष्ट्र बैंकको भएको बताए । ‘व्यापारीहरुलाई सधैं सस्तो ब्याजमा नै पैसा चाहिन्छ, तर उनीहरुको कुरा सुनेर मात्रै हुँदैन, देशको अर्थतन्त्रको अवस्था पनि हेर्नु पर्छ, सुस्तो ब्याज भएपछि भाउ पनि सस्तो हुनु पर्छ तर अहिले त्यो अवस्था छैन, ब्याजदरको विषयमा विशुद्ध निर्णय लिने काम राष्ट्र बैंकको हो,’ उनले भने । यस्तै, एक पूर्व सचिवले चुनाव वा अन्य समयमा राजनीतिक व्यक्तिले उद्योगी व्यवसायीलाई रिझाउनका लागि यस्ता किसिमका निर्णय गर्न कसर गर्ने भएको हुँदा ब्यूरोक्रेसीले त्यसलाई रोक्नु पर्ने धारणा राखे । आफु हाइलाइटमा आउन अर्थात् चुनावकै मुखमा पनि राजनीतिज्ञले जस्तोसुकै निर्णय पनि लिन सक्छन्, अहिलेको ब्याजदरको विषयमा अर्थमन्त्रीले गरेको निर्णय त्यसैको एउटा उदाहरण हो, मन्त्रीलाई कन्भिन्स गराउन सक्ने क्षमता सचिव अर्थात ब्यूरोक्रेसीमा हुनु पर्छ, प्रशासनले आफ्नो योग्यता, क्षमता, दक्षता र अनुभवका आधारमा काम गर्छ, राजनीतिज्ञ भनेको शक्तिको स्रोत हो, राज्य सञ्चालन गर्ने अधिकार पाउने शक्तिलाई सफल बनाउनका लागि व्यवसायिक सल्लाहकार चाहिन्छ, त्यो भनेको प्रशासनको नेतृत्व गर्ने सचिव हो, उसले तठस्थ व्यवहार गर्नु पर्छ, कुनै आग्रह पूर्वाग्रह विना कुनै व्यक्ति वा संस्थाको लागिभन्दा पनि राज्यको हितका लागि काम गर्नु पर्छ,’ उनले भने । उनले प्रशासनले मन्त्रीले गरेको निर्णयले समग्र मुलुकलाई के असर पुग्छ भन्ने विषयमा बुझेर अगाडि बढ्नु पर्ने धारणा राखे । उनले जब प्रशासनले त्यो काम गर्न छोड्छ अनि जहाज दुर्घटनामा पर्ने धारणा राखे । ‘प्रशासनको भूमिका राजनीतिज्ञले पनि सुन्छन्, तथ्य र तथ्यांकले उनीहरुलाई कन्भिन्स गराउने हो, राजनीतिज्ञ आदर्शमा चल्छन्, त्यसमा तथ्य राखेर हामीले कन्भिन्स गर्न सक्नु पर्छ,’ उनले विकासन्युजसँग भने । उनका अनुसार अर्थ मन्त्रालयबाटै ब्याजदरको विषयमा अनावश्यक गिजोल्ने प्रयास भने राम्रो संकेत नभएको बताए । अर्थमन्त्री शर्मा ब्याजदर बढ्नु हुन्न भन्ने पक्षमा छन् । आइतबारको छलफलमा पनि उनले ब्याजदर घट्नु पर्ने तर्क राखे । ‘ब्याजदर बढ्यो भने अर्थतन्त्र नै समस्यामा पर्छ, अब समितिले एउटा अध्ययन गर्छ, त्यसपछि यकिन निर्णय हुन्छ,’ उनले छलफल कार्यक्रममा भने । स्रोतका अनुसार उनले उद्योगी व्यवसायीहरुसँग ब्याजदर घटाएरै छाड्ने प्रतिवद्धता गरेका छन् । उनले अहिले राष्ट्र बैंकको कुुरा सुन्न चाहेका छैनन् । छलफलमा उनले पछिल्लो समय बैंकहरूले ब्याज वृद्धि गरेको गुनासो आफ्नो जिल्ला भ्रमणका क्रममा व्यवसायीहरूले गरेकोबारे ध्यानाकर्षण भएको बताउँदै उनले साना उद्यमीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन आफुले सक्दो प्रयास गर्ने बताएका छन् ।

१८ बैंक कर्जा दिनै नसक्ने अवस्थामा, यी हुन् सीडी रेसियो ‘मेन्टेन’ गर्ने ९ बैंक

काठमाडौं । १८ वटा वाणिज्य बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १८ वटा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा पनि माथि पुग्दा ती बैंकहरू कर्जा लगानी नगर्ने अवस्थामा पुगेका हुन् । सबैभन्दा बढी सीडी रेसियो भएको बैंकको रुपमा प्राइम कमर्सियल बैंक देखिएको छ । यस बैंकको ९९.६२ प्रतिशत सीडी रेसियो छ । यस्तै, नेपाल एसबिआई बैंकको सीडी रेसियो ९५.३५ प्रतिशत छ । बैंक अफ काठमाण्डूको ९४.६७ प्रतिशत, मेगाको ९४.४५ प्रतिशत, सेञ्चुरीको ९३.५७ प्रतिशत, ग्लोबल आईएमईको ९३.०७ प्रतिशत, कृषि विकासको ९२.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ९२.४३ प्रतिशत सीडी रेसियो पुगेको छ । यस्तै, ९१ र ९० प्रतिशतको हाराहारीमा सीडी रेसियो हुने बैंकहरूमा सनराइज बैंक, हिमालयन, एभरेष्ट, कुमारी, नबिल, नेपाल बंगलादेश, सिटिजन्स, एनएमबी, नेपाल बैंक र सिभिल बैंक छन् । नौ वटा बैंकले भने सीडी रेसियोको व्यवस्था कार्यान्वयन गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो अधिकतम ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार नौ वटा वाणिज्य बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा कम नै छ । सबैभन्दा कम सीडी रेसियो हुने बैंकको अग्रस्थानमा प्रभु बैंक छ । प्रभु बैंकको सीडी रेसियो ८२.११ प्रतिशत छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको ८२.६९ प्रतिशत, एनआईसी एसियाको ८६.१८ प्रतिशत, सानिमाको ८७.२२ प्रतिशत, लक्ष्मीको ८७.२४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८८.१७ प्रतिशत, माछापुच्छ्रेको ८९.१३ प्रतिशत, एनसीसीको ८९.१४ प्रतिशत र सिद्धार्थ बैंकको ८९.७८ प्रतिशत सीडी रेसियो छ । बैंकहरूले आगामी असारसम्म सीडी रेसियो ९० प्रतिशतभित्र पुर्‍याउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको थियो । अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत नाघेकोले कर्जा दिन सक्ने अवस्थामा  बैंकहरू नरहेको ग्लोबल आईएमई बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल बताउँछन् । उनले अहिले ठूलो कर्जाभन्दा पनि स–सानो घरायसी कामको लागि मात्रै बैंकहरूले कर्जा लगानी गरिरहेकाे बताए । ‘नेपाल राष्ट्र बैंकले सीडी रेसियो अधिकतम ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेसँगै बैंकहरू असारसम्म ९० प्रतिशतभित्र पुर्‍याउने कसरतमा छन्, अहिले अधिकांशको सो सीमा नाघेकोले पनि कर्जा दिन सक्ने अवस्था छैन, स–सानो घरायसी कर्जा गइरहेको छ, ठूलो कर्जा ठप्प छ,’ उनले भने । उनी अब जेठ असारमा अवस्था सहज हुन सक्ने धारणा राख्छन् । असारमा सरकारले पुँजीगत खर्च पनि बढाउने भएकोले बजारमा पैसा आउन सक्ने भएकोले पनि बैंकिङ प्रणालीमा पनि केही सहजता आउन सक्ने उनको भनाइ छ ।

अब्बल ठानिएका बैंक नै खुद तरल सम्पत्तिको समस्यामा, ६ बैंक सीमाभन्दा तल

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) सीमाभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरे पनि अहिले अधिकांश बैंकहरूको एनएलए घटेको हो । तरलता अभावको कारण बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) २० प्रतिशतभन्दा पनि कम हुन भएको हो । अहिले बैंकहरू तरलताको समस्या भोगिरहेका छन् । बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तीमा २० प्रतिशत एनएलए राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । २७ वटा वाणिज्य बैंकहरूको औसत एनएलए २१.३९ प्रतिशत भए पनि ६ वटा वाणिज्य बैंकहरूको भने २० प्रतिशतभन्दा कम देखिएको हो । खुद तरल सम्पत्ति कम हुने बैंकहरूमा सनराइज, सिद्धार्थ, कुमारी, नेपाल एसबीआई, सेञ्चुरी र प्राइम कमर्सियल बैंक छन् । यी बैंकहरूको खुद तरल सम्पत्ति क्रमशः १९.०४ प्रतिशत, १९.०२ प्रतिशत, १८.२३ प्रतिशत, १८.१४ प्रतिशत, १८.०८ प्रतिशत र १५.९१ प्रतिशत रहेको छन् । खुद तरल सम्पत्ति बढी हुने बैंकको अग्रस्थानमा नेपाल चार्टर्ड बैंक छ । यस बैंकको एनएलए ३३.१८ प्रतिशत छ भने एभरेष्ट बैंकको २९.४४ प्रतिशत, नेपाल इन्भेष्टमेन्टको २४.७२ प्रतिशत, नेपाल बंगलादेश बैंकको २४.५३ प्रतिशत, एनएमबी बैंकको २२.७८ प्रतिशत र नबिल बैंकको २२.७२ प्रतिशत र एनसीसी बैंकको २२.५७ प्रतिशत एनएलए छ । यस्तै, २१ प्रतिशतको हाराहारीमा खुद तरल सम्पत्ति हुने बैंकको संख्या चारवटा छ । २१ प्रतिशतको हाराहारीमा खुद तरल सम्पत्ति हुने बैंकहरूमा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु र माछापुच्छ्रे बैंक रहेका छन् । नेपाल राष्ट्र बैंकले न्यूनतम २० प्रतिशत तोकेको एनएलए हुने बैंकहरूको संख्या पनि १० वटा छ । सिभिल, सानिमा, नेपाल बैंक, मेगा, सिटिजन्स, हिमालयन, एनआईसी एसिया, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकको खुद तरल सम्पत्ति २० प्रतिशतको हाराहारीमा छ । अब्बल ठानिएका कतिपय बैंकहरू नै अहिले एनएलएको संकटमा देखिएका छन् । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले नेपाल राष्ट्र बैंकले खुद तरल सम्पत्ति न्यूनतम २० प्रतिशत कायम गर्ने व्यवस्था गरेको बताउँदै बैंकहरूले सोही अनुसार काम गर्नु पर्ने बताए । ‘अहिले धेरै बैंकहरूको एनएलए घटेको छ, हामीले एनएलए घटेका बैंकहरूलाई सचेत पनि गराएका छौं, कतिपय बैंकहरूलाई पत्र नै पठाएका छौं,’ उनले भने ।

गभर्नर अधिकारीको ‘त्यो निर्देशन’ जुन् आत्मघाती बन्यो

काठमाडौं । कोरोना भाइरसको महामारीसँगै विभिन्न समयमा भएको लकडाउन, निषेधाज्ञा र सटडाउनको कारण देशको आर्थिक अवस्था खस्कँदै थियो । उद्योगधन्दाहरु बन्द थिए । व्यापारीको सटरमा ताला थिए । बैंकहरु पनि आंशिक रुपमा सञ्चालन भइरहेका थिए । सडक शान्त थियो । सवारी साधनहरुको आवातजावत ठप्प थियो । सोही अवस्थामा तत्कालीन एमाले सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् बजेट ल्याए । अर्थतन्त्र नाजुक बन्दै गइरहेको अवस्थामा आएको बजेटले व्यापार व्यवसायी र उद्योगीहरुसँगै सर्वसाधारणहरु पनि खुसी हुन सकेनन् । अध्यादेशमार्फत् बजेट ल्याएको केही समयपछि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै नेपाली काँग्रेसका नेता शेबहादुर देउवालाई प्रधानमन्त्री बनायो । देउवा प्रधानमन्त्री बनेपछि असार २९ गते अर्थमन्त्रालयको नेतृत्व सम्हाल्न आए, जनार्दन शर्मा । यसअघि उर्जामन्त्रालय राम्रैसँग हाँकेका शर्मामाथि धेरैको विश्वास थियो कि उनी अर्थमन्त्रालय पनि राम्रैसँग सम्हाल्नेछन् । असार २९ गते अर्थमन्त्रालयको नेतृत्व सम्हालेका शर्माले भदौमा संशोधित बजेट सार्वजनिक गरे । विष्णु पौडेलेको बजेटमार्फत् निराश बनेका उद्योगी व्यवसायी जनार्दन शर्माको बजेटबाट पनि सन्तुष्ट हुन सकेनन् । तर, बजेटपछि सार्वजनिक भएको मौद्रिक नीतिले भने उद्योगी व्यवसायीसँगै बैंकरहरु पनि खुसी भए । सो समयमा गभर्नर महाप्रसाद अधिकारीले वाहीवाही पाए । उनले व्यापार व्यवसाय, उद्योग, पर्यटन व्यवसायसँगै कृषकहरुका लागि पनि विभिन्न राहात तथा सहुलियतका कार्यक्रमहरु ल्याए । राष्ट्र बैंकको मौद्रिक नीतिको कारणले नै अर्थतन्त्र सही ट्रयाकमा भएको धेरैको भनाइ थियो । त्यतिखेर धेरैले गभर्नर अधिकारीको प्रशंसा समेत गरे । तर, अर्थतन्त्र विस्तारै झन-झन जटिल अवस्थामा प्रवेश गर्न थाल्यो । अर्थविज्ञ, बैंकर तथा व्यवसायीहरुले समेत अर्थमन्त्रालय र राष्ट्र बैंकको आलोचना सुरु गरे । धेरैले राष्ट्र बैंकले राम्रो काम गरे पनि अर्थमन्त्रालयले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको आरोप पनि लगाए । अर्थमन्त्री र गभर्नरबीच समन्वय र सहकार्य नभएकोले पनि अर्थतन्त्र झन् समस्यामा परेको धेरैको तर्क थियो । दिन प्रतिदिन विदेशी मुद्रा सञ्चिती घट्नु, व्यापार घाटा बढ्नु, महँगी बढ्नु, रेमिट्यान्स घट्नु लगायत नकारात्मक आर्थिक सूचकले गभर्नर अधिकारीलाई ठूलो ‘प्रेसर’ मा पार्यो । व्यापार घाटा कम गर्न, विदेशी मुद्राको सञ्चिती बचाउनकै लागि उनले विभिन्न वस्तु आयातमा कडाइसँगै सुनको आयातमा पनि कटौती गरेका थिए । अर्थतन्त्रलाई सही दिशा दिन उनी अझै पनि मौद्रिक औजार प्रयोगमा प्रयासरत थिए । उनले कति प्रेसर लिएका छन् भन्ने कुरा शुक्रबार उनले राखेको प्रस्तुतिले पनि पुष्टि गर्छ । शुक्रबार राष्ट्र बैंकले नै आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा उनले यही अवस्था भए देश श्रीलङ्काको अवस्थामा पुग्न बेर नहुने धारणा राखे । यतिको ‘प्रेसर’ खेपिरहेका गभर्नर अधिकारीले गत सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंक बोलाउँदै अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा रोक्नुका साथै विलासिताको वस्तुमा आयातको एलसी रोक्न निर्देशन दिए । गभर्नरको त्यो निर्देशनपछि व्यवसायीहरु त्रसित बने । उनीहरुले निरन्तर शक्तिकेन्द्र धाउन सुरु गरे । शुक्रबार मात्रै अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एलसी खोल्न सहयोग गरिदिन आग्रह गरेका गरे । प्रधानमन्त्री देउवाले पनि व्यवसायीलाई वर्तमान अर्थतन्त्रको अवस्थाका विषयमा जानकारी गराएर सम्झाई बुझाई गर्नु पर्ने अवस्थामा गभर्नर अधिकारीलाई एलसी रोक्नुको कारण सोध्ने प्रतिक्रिया अटो व्यापारी समक्ष राखे । स्रोतका अनुसार गभर्नर अधिकारीको विलासिताको वस्तुमा आयातको एलसी रोक्ने निर्देशन नै उनका लागि आत्मघाती बन्यो । ‘गभर्नरले मौखिक रुपमा विलासिताका वस्तु रोक्नु भनेर निर्देशन दिए, सो निर्देशनपछि विजनेस कम्युनिटीमा त्रास उत्पन्न भयो, गभर्नरको सोही निर्देशनपछि व्यवसायीहरु नै गभर्नर हटाउनु पर्छ भन्नेतर्फ लागे, सोही अनुसार उनीहरु सरकारलाई दवाव दिन थाले, परिणाम स्वरुप गभर्नर निलम्बनमा पर्नु भएको हो, उनको एउटा मौखिक निर्देशन नै उनका लागि आत्मघाती बन्यो’ स्रोतले भन्यो । सम्बन्धि सामग्री:  निलम्बित गभर्नरसँग कसरी मञ्च ‘सेयर’ गरे अर्थमन्त्रीले ? सरकारले कुन अवस्थामा गभर्नरलाई निलम्बन गर्न सक्छ ? गभर्नर अधिकारी निलम्बनमा, कार्यबाहकको जिम्मा ढुङ्गानालाई