छायाँमा पर्दै भेट्रान सीईओहरू, धेरै भए गुमनाम
काठमाडौं । बैंकिङ जागिर नचाहने व्यक्ती समाजमा सायदै होलान् । आकर्षक तलब, चिटिक्क लवाई, ठूल्ठूला उद्योगी व्यवसायीहरुसँग उठ्बस् । र, अन्य धेरै सेवा सुविधाकै कारण धेरैको रुची र रोजाइ बन्छ बैंकिङ क्षेत्र । युवाहरुले आकर्षक पेशाको रुपमा बैंकिङ क्षेत्रलाई रोज्छन् । बैंकको नेतृत्व तह अर्थात् प्रमुुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सपना साकार पार्न अधिकांश बैंकरहरु रातदिन काम गर्छन् । बैंकले दिएको ‘टार्गेट मिट’ गर्न ठूलो दौडधूप गर्छन् । बैैंकमै काम गर्ने इच्छा बोकेर रातदिन तयारी गर्ने युवायुवतीहरुको जमात पनि कम छैन । तर, सबैको रोजाइ एउटै कहाँ हुन्छ र ? त्यो दौडधूप, त्यो सकस, त्यो अत्यास र त्यो तनाब चटक्कै छोडेर बैंकिङमा जमेका, रमेका र भिजेका भेट्रान अनुभवी बैंकरहरु सदाका लागि बैंकिङ क्षेत्रबाट गुमनाम बनेका छन् । वार्षिक करोड कमाएर समाजमा पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाएका ती भेट्रान बैंकरहरु आकर्षकको क्षेत्र छोडेर कतिपय निजी व्यवसायमा लागेका छन् भने कतिपय विदेश वा कयौं व्यक्तीहरु राजनीतिमा पनि होमिएका छन् । आज हामीले बैंकिङ क्षेत्रमा लामो समय नेतृत्व गरेर बाहिरिएका बैंकका पूर्व सीईओहरुको बारेमा सामग्री तयार पारेका छौं । अजय घिमिरे तत्कालीन भिवोर विकास बैंकका प्रमुख कार्यकारी अधिृकत अजय घिमिरे एक फरक शैलीको बैंकिङ गर्न रुचाउँथे । घरजग्गा कारोवार बुम भएको बेला उनले सो बैंक सुरु गरेका थिए । भिवोरले बैकिङ्गसहित घरजग्गाको कारोवार गर्ने महत्वाकांक्षी योजना बनाएको थियो । रविभवनको ४५ रोपनी जग्गा एक अर्ब ३७ करोड विक्री प्रकरणमा घिमिरे समस्यामा परेका थिए । जग्गा बिक्री गर्दा भिवोरले मध्यस्थता गरेवापत सहदेव कक्षपतीलाई पाँच करोड रुपैयाँ ‘फि’ दिएकाे थियाे । राष्ट्र बैंकले यो रकम बैंकका सञ्चालकहरुबाट असुल गर्न निर्देशन दिएपछि घिमिरे समस्यामा परेका हुन् । पछि बैंकमा पनि समस्या सिर्जना भयो । सो समस्याले बैंक माथि उठ्न सकेन । विडम्वना, बैंक पनि विलय भयो र घिमिरे पनि बैंकिङबाट सदाका लागि विदा भए । पृथ्वी बहादुर पाँडे नेपाली बैंक स्थापनामा अग्रणी रुपमा नाम आउँछ पृथ्वी बहादुर पाँडेको । हिमालयन बैंक स्थापनामा उनको ठूलो योगदान छ । उनले नेपाली बैंकिङ क्षेत्रमा काम गरेको साढे चार दशक भइसकेको छ । नेपाल राष्ट्र बैंकबाट जागिर सुरु गरेका पाँडेले पछि आफैले बैंक खोले र त्यसको नेतृत्व गरे । लामो समय बैंकको व्यवस्थापनको नेतृत्व गरेका उनी अहिले नेपाल इनभेष्टमेन्ट मेगा बैंकको अध्यक्ष छन् । बैंकिङमा पाँडेलाई नचिन्ने सायदै होलान् । तर, पछिल्लो समय उनी पहिलेको तुलनामा कम सक्रिय छन् । उनी अहिले निजी व्यवसायमा पनि सक्रिय भएका छन् । जनकराज शर्मा पौड्याल सनराइज बैंकका पूर्व सीईओ हुन् जनकराज शर्मा पौड्याल । शर्मा सनराइजभन्दा अघि ग्लोबल आइएईमा कार्यरत थिए । ग्लोबलमा चार वर्षको लागि नियुक्त भएका उनी आफ्नो कार्यकाल नसकिँदै राजीनामा दिएर बैंकबाट निस्केका थिए । शर्मासँग नबिल, एनआइसी एसिया र लक्ष्मी बैंकमा समेत काम गरेको अनुभव छ । अहिले उनी बैंकिङ क्षेत्र बाहिर छन् । अनिल ज्ञवाली नबिल र ग्लोबल आइएमई बैंकको सीईओ बनिसकेका ज्ञवालीले नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशक काम गरे । पूर्वाधार विकास बैंकमा पनि सीईओ भएर काम गरिसकेका उनी हाल सिटिजन्स बैंकको सञ्चालक समितिमा छन् । उनले विदेशी बैंकमा पनि काम गरेको अनुभव छ । उनी कर्मचारीबाट अहिले बैंकका मालिक बनेका छन् । सशिन जोशी स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका जोशीले पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समयसम्म काम गरे । उनले एनआईसी एसिया बैंकमा ११ वर्षसम्म नेतृत्व गरे । नबिल बैंकमा सीईओको कार्यकाल पूरा नहुँदै छोडे । व्यवस्थापनमा दख्खल राख्ने जोशी हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको कार्यकारी निर्देशकको रुपमा काम गरिरहेका छन् । उनलाई पनि धेरैले एक अनुुभवी बैंकरका रुपमा चिन्छन् । राधेश पन्त तत्कालीन बैंक अफ काठमाण्डूको प्रबन्ध संचालक, कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका अर्का भेट्रान बैंकर हुन् राधेश पन्त । सरकारी निकाय लगानी बोर्डको समेत प्रमुख कार्यकारी अधिकृत भएर बैंकिङ क्षेत्रबाट बाहिरिएका उनी पनि पछि बैंकको सञ्चालक बने । तत्कालीन बैंक अफ काठमाडूको संचालक समिति सदस्य समेत रहेका उनी बिओके ग्लोबल आइएमई बैंकमा मर्ज भइसकेपछि पनि सञ्चालकै रुपमा कार्यरत छन् । सुरेन्द्र भण्डारी १२ वर्ष कुमारी बैंकको सीईओ भएर काम गरेका भण्डारी पनि एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकमा दुई कार्यकाल नेतृत्व गरेपछि पुनः उनी कुमारी बैंकमै सीईओका रुपमा काम गरे । कुमारी बैंक नै उनको लागि बैंकिङ क्षेत्र बिदाईको अन्तिम संस्था बन्यो । शभ्भुनाथ गौतम सिद्धार्थ बैंकको सीईओ रहेका उनी एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकलाई एउटा लेभलसम्म पुर्याउन राम्रो नेतृत्व गरे । उनीसँग नबिल बैंकमा काम गरेको अनुभव पनि छ । उनी पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् । लक्ष्मण रिसाल एनआईसी एसियामा दुई कार्यकाल सीईओ भएर काम गरेका लम्साल एक अनुशासित बैंकरको छवि बनाएका थिए । बैंकिङ छोडे पनि उनी अहिले गोल्डस्टार जुत्ताको सीईओ भएर काम गरिरहेका छन् । उनी पनि व्यवस्थापनमा दख्खलता राख्ने सीईओका रुपमा परिचित थिए । किशोर महर्जन हिमालयन बैंकको महाप्रबन्धक भएर काम गरिसकेका महर्जनसँग तत्कालीन सनराइज र तत्कालीन सिभिल बैंकमा पनि सीईओका रुपमा काम गरेको अनुभव छ । उनले सनराइज बैंकको संस्थापक सीईओ भएर काम गरे । तत्कालीन सिभिल बैंक स्थापनामा पनि उनले ठूलो भूमीका खेले र सोही बैंकको सीईओ पनि बने । एउटा भेट्रान बैंकरको छवि बनाएका उनलाई नेवार समुदायले आदर सम्मान गर्ने गरेको छ । उनकै सक्रियतामा स्टार हस्पिटल स्थापना भएको हो । अहिले उनले सोही अस्पतालको नेतृत्व गरिरहेका छन् । सुमन जोशी स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट जोशी लक्ष्मी बैंकमा दुई कार्यकाल सीईओ भएर काम गरे । उनी बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेर बाहिरिए । अहिले उनी आफ्नै व्यवसाय गरिरहेका छन् । सुरेन्द्र प्रधान नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका सुरेन्द्र प्रधान सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरे । सनराइज बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिए । सनराइज बैंक स्थापना गर्दा उनै प्रधान राष्ट्र बैंकको नियमन विभागको प्रमुुख थिए । उनी अहिले बैंकिङ क्षेत्रमा प्रत्येक्ष रुपमा जोडिएका छैनन् । डा. विनोद आत्रेय नेपाल बैंकको सीईओ भएर काम गरेका डा. आत्रेय एक अनुभवी बैंकरका रुपमा परिचित थिए । उनले लामो समय राष्ट्र बैंकमा पनि काम गरे । त्योसँगै उनले नेपाल पूर्वाधार विकास बैंकमा पनि काम गरेका छन् भने इमर्जिङ नेपालको सीईओ भएर पनि काम गरिसकेका छन् । उनी अझै पनि प्रतयक्ष अप्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रसँग रहेर काम गरिरहेका छन् । उनी हाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेनस इन्स्टिच्युटको प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका छन् । नरेन्द्र भट्टराई चार्टर्ड एकाउन्टेन्ट भट्टराई तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल बंगलादेश बैंकमा समस्यामा परेपछि राष्ट्र बैंकले बैंकको व्यवस्थापन आफ्नो कब्जामा लियो । सो बेला भट्टराई नै सीईओका रुपमा काम गरिरहेका थिए । त्यसपछि उनी बैंकिङ क्षेत्रमा देखिएनन् । उनी बैंकिङ क्षेत्रबाट बाहिरिएको डेढ दशक बढी समय भइसकेको छ । उनी अहिले सीए फर्म सञ्चालन गरिरहेको बुझिएको छ । सुमन न्यौपाने तत्कालीन ग्लोबल बैंकको सीईओ भएर काम गरेका न्यौपानेले सनराइज बैंकको महाप्रबन्धकका रुपमा पनि काम गरिसकेका छन् । उनले साढे दुई वर्ष ग्लोबल बैंकको सीईओका रुपमा काम गरेका थिए । उनी पछि विवादमा परेपछि बैंक नै छोडे र सदाका लागि बैंकिङ क्षेत्रबाटै गुमनाम भए । न्यौपाने अहिले आफ्नै ब्यवसायमा सक्रिय छन् । भुवन दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) का रुपमा काम गरेका दाहालसँग नबिल बैंकमा दुई दशक लामो समय काम गरेको अनुभव छ । सरकारी सेवामा काम गरिसकेका उनले पछि बैंकिङ रोजे र सो क्षेत्रमा तीन दशक बढी समय काम गरे । उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । अहिले उनी फाइनान्सियल लिट्रेसी नेपाल संस्था स्थापना गरेर काम गरिरहेका छन् भने लेखनमा पनि व्यस्त छन् । अनिल केशरी शाह अनिल केशरी शाह बैंकिङ क्षेत्रका सेलिब्रेटी नै हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनी नबिल बैंकको सीईओ भएर बैंकिङ क्षेत्रबाट नै बाहिरिए उनले मेगा बैंकको सीईओ भएर पनि काम गरे । उनी बैंकिङ क्षेत्रबाट कहिल्यै नफर्किने गरी राजनीतिमा लागिसकेका छन् । उनी हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रशिक्षण विभागको जिम्मेवारी सम्हालिरहेका छन् । राजनसिंह भण्डारी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि भण्डारी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत बने । उनले सो बैंकमा दुई कार्यकाल काम गरे । बैंकिङ क्षेत्रको व्यवस्थापन टीमबाट बाहिरिए पनि उनी सञ्चालक समूहमा भने काम गरिरहेका छन् । उनी हाल सिटिजन्स बैंकको अध्यक्ष छन् । उपेन्द्र पौड्याल लामो समय बैंकिङ क्षेत्रमा व्यवस्थापन सम्हालेका पौडेल हाल नबिल बैंकको सञ्चालक समितिको अध्यक्षका रुपमा काम गरिरहेका छन् । उनले १६ वर्ष एनएमबि बैंकको कार्यकारी प्रमुख भएर काम गरे । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । हाल उनी नेपाल व्यवस्थापन संघको अध्यक्षका रुपमा पनि काम गरिरहेका छन् । सुधिर खत्री तत्कालीन ग्राण्ड बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा डेढ दशक काम गरेका खत्री ग्राण्ड बैंकको अवशानपछि बैंकिङ क्षेत्रबाटै हराए । उनले बैंकिङ छाडेर केही समय अमेरिका बसे । अहिले उनी नेपालमै व्यवसाय गरेर बसिरहेका छन् । कमल ज्ञवाली तत्कालीन किष्ट बैंकका सीईओ ज्ञवाली महत्वाकांक्षी बैंकरका रुपमा परिचित थिए । हाल उनी बैंकिङ कसुर अभियोगमा जेलमा छन् । बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेका उनले एकताका बैंकिङ क्षेत्रमा राज नै गरेका थिए भन्दा फरक नपर्ला । सुरुमा नाम, त्यसपछि बदनाम कमाएका ज्ञवाली र किष्ट बैंक परिपुरक जस्तै थिए । । तर, अहिले उनलाई धेरैले बिर्सिसकेका छन् । अजय श्रेष्ठ तत्कालीन बैंक अफ काठमाण्डूको सीईओ श्रेष्ठले सो बैंकमा दुई कार्यकाल काम गरे । उनीसँग तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बिओकेअघि श्रेष्ठले २ वर्ष एनएमबि बैकमा काम गरेका थिए । उनले त्यसअघि १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरे । उनी बैंकिङ कसुर अभियोगमा जेलमा समेत बसे । उनले अदालतबाट सफाई पनि पाइसकेका छन् । ५५ वर्षदेखि निरन्तर बैंकिङमा बिक्रम सम्बत् २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका नारायणदास मानन्धर अहिले पनि बैंकिङ क्षेत्रमै सक्रिय छन् । उनी अहिले प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । उनले सो बैंकमा चार पटक सीईओका रुपमा काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा ५५ वर्षभन्दा बढी समय बिताइसकेका मानन्धर अन्य बैंकका सीईओहरुको तुलनामा बढी अनुुभवी मानिन्छन् । कृषि विकासको स्थापनादेखि काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकमा पनि काम गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसम्म समेत पुुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । त्यसयता उनी प्राइम कमर्सियल बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । कृष्ण प्रसाद शर्मा राष्ट्रिय वाणिज्य बैंकको सीईओ भएर काम गरेका शर्मा पनि अहिले व्यवस्थापन समूहबाट सञ्चालक समूहमा प्रवेश गरिसकेका छन् । उनले ३३ वर्ष लामो समय बैंकिङमा काम गरेर अहिले ग्लोबल आइएमई बैंकको सञ्चालकका रुपमा काम गरिरहेका छन् । यसअघि उनी नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक थिए । अनिल उपाध्याय कृषि विकास बैंकको सीईओको रुपमा काम गरेका उपाध्याय केही समयअघि मात्रै बैंकबाट बाहिरिएका हुन् । नेपाल बैंकर्स संघको अध्यक्षको रुपमा समेत काम गरिसकेका उनी अहिले एउटा निजी कम्पनीको व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । अनलराज भट्टराई तत्कालीन सानिमा विकास बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका भट्टराई अहिले बैंकिङमा सक्रिय छैनन् । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमइ बैंकमा मर्ज भएपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । उनी अहिले नेपाल उद्योग परिसंघ (सिएनआई) मा बैंकिङ विज्ञको रुपमा काम गरिरहेका छन् । जनार्दन आचार्य राष्ट्रिय वाणिज्य बैंकमा सीईओका रुपमा काम गरिसकेका आचार्य पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् । उदयकृष्ण उपाध्याय कुमारी बैंकको सीईओका रुपमा काम गरिसकेका उपाध्याय सीईओ हुँदा नै उनको एउटा काण्ड बाहिरिएको थियो । सीईओ बहाल हुँदै काण्ड बाहिरिएपछि उनले बैंक छोड्नु परेको थियो । त्यसपछि उनी युनाइटेड इन्स्योरेन्सको अध्यक्ष पनि बने । सो घटनापछि उनी बैंकिङमा फर्किएनन् । विजय पन्त पन्त तत्कालीन जनता बैंकका सीईओ हुन् । उनले साढे दुई दशक बैंकिङ क्षेत्रमा काम गरे । अहिले उनी मर्कन्टाइलमा कार्यरत छन् । रमेश कुमार भट्टराई तत्कालीन जनता बैंकका सीईओ भट्टराई पनि बैंकिङ क्षेत्रबाट पनि हराएका छन् । उनी विजय पन्तको बर्हिगमनपछि बैंकको सीईओ बनेका थिए । उनी कर्मचारी सञ्चय कोषको पूर्व प्रशासक पनि हुन् । मनोज गोयल तत्कालीन बैंक अफ काठमाण्डूको सीईओका रुपमा काम गरिसकेका गोयल पनि अहिले बैंकिङ क्षेत्रमा छैनन् । उनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सीइओ पनि बने । सो बैंक पछि एनएमबि बैंकमा गाभियो । सिद्धान्तराज पाण्डे तत्कालीन एस डेभलपमेन्ट बैंकका सीइओ सिद्धान्तराज पाण्डे पनि चचिर्त बैंकर हुन् । अहिले उनी पनि गुमनाम छन् । एस बैंक पछि नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएको थियो । उनी पनि बैंकिङ क्षेत्रबाट सदाका लागि बाहिरिएका छन् । कुमार लम्साल सानिमा, प्रभु र जनता बैंकको सीईओ भएर काम गरिसकेका लम्साल पनि बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकरका रुपमा चिनिन्छन् । उनी अहिले नेपाल बैंकिङ इन्सिच्युटको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । देवेन्द्रप्रताप शाह कृषि विकास बैंक र नेपाल बैंकको सीईओका रुपमा काम गरिसकेका शाह एक अनुभवी बैंकरका रुपमा चिनिन्छन् । उनले बीमा प्राधिकरणको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । उनी साहित्यकार पनि हुन् भने उनी अहिले उमेरका कारण बजारमा देखिँदैनन् । अनुपमा खुञ्जेली मेगा बैंकको सीईओ भएर काम गरिसकेकी खुञ्जेली पनि एक सफल बैंकर हुन् । नेपालको पहिलो महिला सीईओ समेत रहेकी उनी एक कार्यकाल नबित्दै मेगा बैंकबाट बिदा भइन् । करिब तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीले तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेकी हुन् । पर्शुराम श्रेत्री कुँवर नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गर्ने व्यक्तीमध्ये कुँवर पनि पर्छन् । कुँवरले तीनवटा बैंकमा सीईओको रुपमा काम गरे । बैंकिङ क्षेत्रमा ३५ वर्ष बिताइसकेका उनी पछिल्लो समय बैंकिङमा छैनन् । उनको अन्तिम संस्था नै ग्लोबल आइएमई बैंक बन्यो । तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड)बाट बैंकिङ्ग करिअर सुरु गरेका उनले जनता बैंक र ग्लोबल आईएमई बैंकको नेतृत्व गरे । नेपालको बैंकिङ इतिहासमा ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर सबैभन्दा ठूलो हो । जसको मर्जर गर्न कुँवरको भूमीका पनि महत्वपूर्ण रह्यो । अहिले उनी बैंकिङमा सक्रिय नभएपनि विभिन्न बैंकिङ सम्बन्धि तालिममा भने भेटिने गरेका छन् । उनी हाल इ–सेवाको अध्यक्ष बनेर काम गरिरहेका छन् । शोभनदेव पन्त शोभनदेव पन्त पनि एक सफल बैंकरका रुपमा परिचित थिए । तत्कालीन नेपाल अरब बैंक (हालको नबिल बैंक) बाट बैंकिङ करिअर सुरु गरेका पन्तले नबिल बैंकको उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरे । तत्कालीन नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरिसकेका उनले लुम्बिनी बैंकको नेतृत्व गरे । समस्यामा रहेको लुम्बिनी बैंकलाई स्वस्थ बैंक बनाउन उनले ठूलो भूमीका खेलेका थिए । त्यसपछि तत्कालीन बैंक अफ काठमाण्डूमा अजय श्रेष्ठको कार्यकाल सकिएपछि उनी नै सो बैंकको सीईओ बने । बैंक अफ काठमाण्डूमा एक कार्यकाल सकाउँदै उनी ३६ वर्षको बैंकिङ अनुभव बिट मार्दै यो क्षेत्रबाटै बाहिरिए । गणेश कुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि श्रेष्ठले पनि तत्कालीन सेञ्चुरी बैंकको सीईओ भएर काम गरे । एक कार्यकाल सीईओ भएपछि उनी पनि बैंकिङबाट बाहिरिए । अहिले सेञ्चुरी बैंक प्रभु बैंकका विलय भइसकेको छ । लिलाप्रकाश सिटौला सिटौला पनि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकबाट अवकाश पाएपछि उनी कृषि विकास बैंकको सीईओ बने । उनले सो बैंकमा आफ्नो एक कार्यकाल सकाउँदै बैंकिङ क्षेत्रबाटै बाहिरिए । अहिले उनी प्रभु बैंकको अध्यक्षका रुपमा कार्यरत छन् ।
हाई प्रोफाइल व्यवसायी आर्थिक संकटमा पर्दा बैंकरलाई तनाव, २२ अर्ब ऋण डिफल्ट
काठमाडौं । अहिले नेपाली व्यवसायमा ‘लोभले लाभ, लाभले विलाप’का घटनाहरु बढ्न थालेका छन् । रातारात धन कमाएर धनाड्य हुने महत्वकांक्षा र व्यक्तिगत लहडले कतिपय व्यवसायीहरु आर्थिक संकटमा मात्रै फसेका छैनन्, जेलको बास गर्नु पर्ने बाध्यता पनि सिर्जना भएको छ । रातारात अर्बपति बन्ने सपना बोकेका इच्छाराज तामाङ होस् वा कृषि व्यवसाय गरेर नेपाली मेडिकल क्षेत्रमा राज गर्ने चाहना बोकेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसम्मका व्यवसायी अहिले ठूलो आर्थिक संकटमा छन् । कुनै समय नेपाली घरजग्गा क्षेत्रबाट मनग्य कमाएर अर्बपतिको लाइनमा देखिएका व्यवसायी हुन् इच्छाराज तामाङ । कुनै बेला उनलाई भेट्न सिभिल ग्रुपको कार्यालयमा जाने जोकोहीलाई पनि कुनै राजकीय पृष्ठभूमिको व्यक्तिको घरमा प्रवेश गरेको आभास हुन्थ्यो । उनको लवाई-खवाई मात्रै होइन, उनको राजकीय शैलीले पनि धेरैलाई छक्क पार्थ्यो । तामाङले आफ्नो कार्यालयलाई पनि सोही किसिमले ‘डेकोरेट’ गरेका हुन्थे । उनी निकट भएर काम गरेकाहरु भन्छन्, ‘इच्छाराज तामाङलाई भेट्न जाने जोकोहीलाई पनि उनी खुशी बनाएर पठाउँथे ।’ तर, त्यो दिन धेरै टिकेन । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको पैसा ठगेको आरोपमा अहिले उनको बास जेलमा छ । उनी मात्रै होइन, उनकी जीवन संगिनी सिर्जना शाक्य तामाङ पनि उनीसँगै जेलमा छिन् । सहकारीमा आफै साहु र आफै ऋणी बन्दा उनको बास जेलमा हुन पुग्यो । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनीसँग वाणिज्य बैंकको करिब ५ अर्ब रहेको बैंकरहरु बताउँछन् । तामाङको सबैभन्दा बढी ऋण प्राइम कमर्सियल बैंकमा रहेको बुझिएको छ । त्यससँगै सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष, सनराइज बैंक लगायतमा पनि उनको कर्जा रहेको बैंकरहरु बताउँछन् । सिटिजन्स बैंकका सूचना अधिकारी नारायण अधिकारी भने तामाङको नाममा सिटिजन्स बैंकमा रहेको ऋण राफसाफ भइसकेको बताउँछन् । तामाङले अन्य बैंकको ऋण भने तिर्न सकेका छैनन् । इच्छाराज जस्तै अहिले सहकारीको रकम हिनामिना गरेर प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी हुन् केदार शर्मा । केदारको कहानी पनि इच्छाराजको भन्दा फरक छैन । यद्यपि, सहकारीको उनको ठगी हालसम्मकै ठूलो हो । तुलसी सहकारीका अध्यक्ष र शिबशिखर सहकारीका सञ्चालक रहेका उनले दुई सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड बढी रकम हिनामिना गरेको आरोप छ । अहिले उनीसहित उनकी श्रमती गिता शर्मा र अन्य दुई सञ्चालकहरु पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । ४३ वटा कम्पनीमा लगानी गरेका उनले पनि बैंकहरुबाट ठूलो रकम ऋण लिएका छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको खुलेको छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयनबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रेबाट ६८ करोड, प्रभुबाट ४० करोड, नबिलबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको हो । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । यस्तै, सुमेरु समूहको नाममा कम्पनीहरु खडा गरेर रातारात अर्बपति बन्ने व्यवसायीको लाइनमा थिए भरत महर्जन । उनलाई पनि घरजग्गाले नै डुबाएको छ । सुमेरु समूहको नाममा सुमेरु अस्पताल, कलेज, हाउजिङ, मार्ट, पर्यटन व्यवसाय लगायत डेढ दर्जन क्षेत्रमा हात हालेका उनी अन्ततः ठूलो फसादमा परे । उनको व्यवसायिक साम्राज्य पनि सामान्य थिएन । उनले पनि सुमेरु सहकारीका बचतकर्ताको रकम आफ्नो विभिन्न कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । तर, सहकारीको रकम हिनामिना गरेर उनी विदेश पलायन भइसकेका छन् । सुमेरु सहकारीको जिम्मेवारी पूर्व कर्मचारी हेमराज दाहाललाई दिएर उनी बेलायत फरार भएको बुझिएको छ । जसको कारणले बैंकहरुलाई पनि पैसा उठाउन ठूलो सकस परेको बुझिएको छ । स्रोतका अनुसार उनले विभिन्न बैंकबाट दुई अर्ब कर्जा लिएका छन् । उनको नाममा कुमारी बैंकले १ अर्ब बढी र प्रभु बैंकले २० करोड लगानी गरेको बुझिएको हो । यस्तै, अन्य बैंकमा पनि उनको स-सानो रकममा ऋण रहेको स्रोतको दाबी छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामचन्द्र खनालले महर्जनले गत पुससम्म नियमित किस्ता दिर्दै आएको भएपनि त्यसयता भने नतिरेको बताए । ‘पहिले नियमित तिर्दै आउनु भएको थियो, पछिल्लो समय तिर्नु भएको छैन, सम्पर्कमा पनि हुनुहुन्न,’ डीसीईओ खनालले भने । सहकारीकै बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका अर्का व्यवसायी हुन् रविन्द्र चौलागाईं । देउराली सहकारीका अध्यक्ष समेत रहेका उनले सहकारीका बचतकर्ताको ७ अर्ब बढी रकम हिनामिना गरेको बुझिएको छ । उनले आरआर ग्रुप अफ कम्पनी, देउराली प्रोपर्टी, श्री पूजा पोल्ट्री फार्म, मून भेन्चर इन्भेष्टमेन्ट, आरआर रिसर्च एन्ड डेभलपमेन्ट, पूजा मार्केटिङ, श्रीश्री ब्रदर्स मार्केटिङ, अन्नपूर्ण डिस्टीलरी र पूजा ट्रेडिङ एन्ड मार्केटिङ लगायतका कम्पनी खोलेर सहकारीको रकम ती कम्पनीमा लगाएको बुझिएको छ । अहिले उनीमाथि पनि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ । चौलागाईंले ती कम्पनीहरु सञ्चालनका लागि बैंकहरुबाट चार अर्ब बढी ऋण लिएको बुझिएको छ । उनले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकबाट २५ करोड, तत्कालीन मेगा (हालको इन्भेष्टमेन्ट मेगा) बाट साढे १८ करोड ऋण लिएका छन् भने एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकबाट पनि ५ करोड १० करोड बढी ऋण लिएको स्रोतको दाबी छ । बैंकहरुको सो रकम ठूलो जोखिममा रहेको स्रोतको भनाइ छ । उनी पनि अब छ्टिै प्रहरीको नियन्त्रणमा जाने निश्चित छ । त्यसपछि झन् बैंकको ऋण जोखिममा पर्नेछ । किनकी उनले कमजोर धितो राखेर बैंकबाट ऋण लिएका छन् । प्रभु बैंकले पटक-पटक सार्वजनिक सूचना निकालेर उनलाई ऋण तिर्न ताकेता पनि गरिरहेको छ । यस्तै, सहकारीभन्दा फरक पृष्ठभूमिका व्यवसायी हुन् दुर्गाप्रसाद प्रसाईं । प्रसाईं पनि पछिल्लो समय आफु ठूलो संकटमा परेको बताइरहेका छन् । उनले पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सकेका छैनन् भने बैंकहरुले उनलाई थप कर्जा प्रवाह नगर्ने सहमति नै गरिसकेका छन् । प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा लगानी गरेका छन् । प्रसाईंले बनाएका बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, पाँच तारे ‘होटल एट्रियम’ असफल बन्दैछन् । प्रसाईंका अनुसार सरकारले अनुमति नदिँदा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । होटल निर्माणको ६० प्रतिशत मात्र काम भएको छ । तर, बैंकले थप कर्जा दिन नमानेपछि निर्माण कार्य रोकिएको छ । बैंकले पहिलो चरणमा १२५ करोड र दोस्रो चरणमा ७४ करोड रुपैयाँ कर्जा बैंकबाट स्वीकृत गराएको थियो । तर, पुरै पैसा नपाएपछि होटल निर्माण रोकिएको प्रसाईंले बताए । उनले बैंक तथा वित्तीय संस्थाको चौतर्फी रुपमा विरोध गरेर बैंकरलाई कालोमोसो दल्ने अभियान अगाडि बढाएपछि बैंकरहरु उनीप्रति कठोर बनेका हुन् । परिणामस्वरुप उनलाई थप कर्जा प्रवाह नगर्ने र लगानी भएको ऋण पनि उठाउने प्रयासमा बैंकर लागेका हुन् । तर, उनले ऋण नतिरेर अदालत धाउन थालेका छन् । प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी कुल १ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरेपछि उनी उच्च अदालत विराटनगर पनि पुगे । प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । बैंकबाट ऋण लिएर ठूला प्रोजेक्टहरुका मालिक बन्न खोजेका उनलाई बैंकले पत्याउन छोडेपछि अहिले उनी आत्तिएका छन् । झापामा एक सामान्य परिवारमा जन्मिएका उनले सुरुमा कृषि गर्थे । झापामा ठूलो चिया बगान चलाएर बसेको गिरि परिवारको छोरीसँग विवाह गरेपछि उनलाई व्यवसाय गर्ने चेत आएको उनी निकटहरु बताउँछन् । त्यसपछि उनी स-सानो व्यवसाय गर्न थाले । सुरुमा उनले कृषि विकास बैंकबाट ऋण लिएर भैंसी पालन गरे । उनको आर्थिक हैसियत विस्तारै उकासिँदै गयो । बैंकले पनि पत्याउन थाले । एकपछि अर्को व्यवसायमा हात हालेपछि उनी समाजमा चिनिन थाले । तर, उनलाई सम्पत्तिको मात लागेपछि उनले भने अरुलाई चिन्न छाडे र तथानाम गाली बेइज्जतमा उत्रिए । जसको बलमा ठूला प्रोजेक्टहरु निर्माण गरेका थिए उनकै विरोधमा उत्रिएपछि अहिले उनी संकटमा परेका हुन् । उनी संकटमा पर्दा उनीमाथि कर्जा लगानी गरेका बैंकहरु पनि समस्यामा परेका हुन् । अहिले ठूला ऋणीहरुले बैंकको सावाँ ब्याज नतिर्दा बैंकलाई ऋण असुलीमा समस्या भइरहेको बताइरहेका छन् । चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा राम्रो रिकभरि गरेर बैंकको वित्तीय विवरण बलियो देखाउने रणनीतिमा रहेका बैंकरहरुलाई ठूला व्यवसायीले ऋण नतिर्दा वित्तीय विवरणमै ठूलो असर पर्ने देखिन्छ । यसले गर्दा बैंकको खराब कर्जा पनि बढ्ने आँकलन बैंकरले गरेका छन् भने २२ अर्ब बढी कर्जा डिफल्ट हुने जोखिम छ । सम्बन्धित सामग्री : सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो
अध्यक्षको लहलहैमा लाग्दा सहकारीका सय बढी सञ्चालक फसे, बैंकबाट ऋण लिन पनि नपाउने
काठमाडौं । नेपालका ठूल्ठूला सहकारीहरु डुब्ने । सञ्चालकहरु फरार हुने । पक्राउ पर्ने । जेल जाने र बचतकर्ताहरु विरोधमा उत्रिने अभ्यास नौलो होइन । ठूला सहकारी ठगीका घटनामा जोडिएका गुण कोअपरेटिभ होस्, आरेन्टल सहकारी होस् वा सिभिल र अहिलेको शिवशिखर नै किन नहोस् । बचतकर्ता ठगिने र विकल्पमा माइतीघरमा विरोध गर्ने सहकारी क्षेत्रका लागि यो एउटा परम्पराका रुपमा नै स्थापित भइसकेको छ । पछिल्लो समय एउटा नयाँ अभ्यास पनि थालनी भएको छ कि सहकारीका सञ्चालकहरु नै सडकमा उत्रिने । उनीहरुले सहकारीमा मात्रै नभई अर्थतन्त्रमा नै समस्या भएको र तत्काल बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने भन्दै दबाब दिन सडकमा नै उत्रिए । जुन नेपाली सहकारी क्षेत्रका लागि नयाँ अभ्यास हो । जसले बचतकर्ताको रकम दुरुपयोग गरेको छ, उसैले सडकमा उत्रिनु कत्तिको जायज वा नाजायज हो । त्यो आफैमा अनुत्तरित विषय हो । तर, बचतकर्ताको अर्बौं रकम जम्मा गर्ने, त्यसलाई घरजग्गा र सेयरमा लगानी गरेर पछि तिर्न सक्दिन भन्नु अपराध हो । यद्यपि, त्यो अपराध भने सबै सहकारीले गरेका छैनन् । गर्नेहरु एकदिन जालमा पर्ने निश्चित छ । सहकारी विभागका पूर्व रजिष्ट्रार रुद्र पण्डितले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘व्यक्ती छिटो धनी बन्न चाहन्छ भने उसले सहकारी खोल्छ, बचतकर्ताको रकम सेयर र घरजग्गामा लगानी गर्छ र छोटो समयमै राम्रो नाफा कमाउँछ, यो प्रवृति जताततै छ, हामीले यो क्षेत्रको सुधार नै गर्न सकेनौं ।’ पण्डितले भनेजस्तै देखिएको छ सहकारीमा । रातारात अर्बपति बन्ने व्यक्तीको व्यक्तीगत महत्वकांक्षाले त्यो व्यक्तीलाई मात्रै होइन सो व्यक्तीसँगै सहकारीका अन्य सञ्चालकहरु फसेका छन् । बचतकर्ताको रकम हिनामिना गरेर त्यो असर सहकारी संस्थाका बचतकर्तालाई मात्रै परेको छैन सहकारीका सञ्चालक पनि त्यो चक्रव्युमा फसेका छन् । यस्तै उहादरण अहिले समस्यामा परेका अधिकांश सहकारीमा देखिएको छ । गत बैशाखमा काभ्रेको बनेपा नगरपालिका–७ स्थित दौपदा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार गौतमले सहकारीका बचतकर्ताको रकम हिनामिना गरेर फरार भए । अध्यक्ष गौतम परार भएको भन्दै संस्थाका सञ्चालकहरु न्याय माग्दै विभिन्न निकायहरुमा पुगे । गौतमले सहकारीका बचतकर्ताको १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि जिल्ला प्रशासन कार्यालयदेखि मन्त्रालयसम्म पुगे । उनीहरुले आफुहरु सञ्चालकमा भएपनि अध्यक्षले नै सबै काम एकलौटी ढंगले गर्ने र रकम पनि मनोमानी किसिमले प्रयोग गर्ने गरेको आरोप लगाएका थिए । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) अहिले आधा दर्जन बढी सहकारीहरुमाथि अनुसन्धान गरिरहेको छ । सिआईबीले सिभिल, भरोसा, प्रज्ञान, शिवशिखर, तुलसी, एकता बुद्ध र देउराली सहकारीका सञ्चालकमाथि अनुसन्धान गरिरहेको छ । ती सबै सहकारीमा अध्यक्ष नै हाबी भएर समस्या आएको हो । जसको मारमा ती सहकारीका सञ्चालकहरु परेका छन् । सिभिल सहकारीका पूर्व अध्यक्ष तथा सञ्चालक समेत रहेका तामाङले सहकारीमा एकलौटी निर्णय गरेर बचतकर्ताको अर्बौं रकम हिनामिना गरेकै आरोपमा अध्यक्ष केशबलाल श्रेष्ठसहित अन्य सञ्चालकहरु पक्राउ परे । अहिले उनीहरु छुटिसकेका छन् भने तामाङ र उनकी श्रमती सृजना शाक्य कारागारमा छन् । तुलसी सहकारीका अध्यक्ष केदार शर्मा र उनकी श्रीतमी गिता शर्माँगै दुई जना सञ्चालक पनि अहिले प्रहरीको नियन्त्रणमा छन् । शर्माको पनि तुलसी र शिवशिखर सहकारीमा हालीमुहाली थियो । अध्यक्ष शर्माकै कारण अन्य दुई जना सञ्चालकहरु पक्राउ परे । धेरैले दुःख पाए । यति मात्रै होइन अध्यक्षले एकलौटी रुपमा काम गरेर अन्य दर्जनौं सहकारीका सञ्चालकहरु पनि समस्यामा परेका छन् भने उनीहरुले बैंकिङ प्रणालीमार्फत् काम नै गर्न नसक्ने अवस्था सिर्जना भएको छ । कतिपय सहकारीका सञ्चालकहरु अध्यक्षकै सिको गरेर रातारात धनाड्य हुने महत्वकांक्षाले फसेका छन् । सहकारीका सदस्यहरुको रकम फिर्ता गर्न सकेका छैनन् । परिणामस्वरुप उनीहरु धमाधम कालोसूचीमा पर्न थालेका छन् । बैशाखयता २७ सहकारीका अध्यक्ष र सञ्चालकहरु कालोसूचीमा परेका छन् । २७ सहकारीका २७ जना अध्यक्षको मनोमानी र आफुखुसी निर्णयले सय बढी सञ्चालकहरु समस्यामा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार बैशाख यता २७ सहकारीका सय बढी सञ्चालकहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रको कालोसूचीमा बचत तथा ऋण सहकारी, बहुद्देश्यीय सहकारी र कृषि सहकारी संस्था लगायत छन् । कर्जा सूचना केन्द्रले तुलसी सहकारीका अध्यक्ष समेत रहेका शिवशिखरका सञ्चालक केदार शर्मासहित अमिशराज भण्डारी, लिलानाथ गौतम, पुस्कर मल्ल, राजु शखरकर्मी, सुशिल बानियाँ, तेज बहादुर तामाङ, रमेश न्यौपाने, युवराज थापा, विष्णु प्रसाद भुषाल र सविना न्यौपाने कालोसूचीमा राखेको छ । यी दुइटै सहकारीमा शर्माको एकलौटी निर्णय चल्थ्यो । उनले शिवशिखर सहकारीको ‘डमी’ अध्यक्षको रुपमा पूर्व कर्मचारी सुशिल बानियाँलाई जिम्मेवारी दिएका थिए । अहिले ती सबै अध्यक्ष र सञ्चालकहरु प्रहरीको निगरानीसँगै बैंकिङ प्रणालीमार्फत् पनि कारोबार गर्न नसक्ने अवस्थामा पुगेका हुन् । यस्तै, सुमेरु बचत तथा ऋण सहकारी संस्थामा भरत महर्जनको राज चल्थ्यो । उनको कहानी पनि केदार शर्माको भन्दा कम छैन । अहिले उनी बेलायत पलायन भएका छन् । तर, उनको सहकारीमा ठूलो संकट देखिएको छ । उनले गलत गरेपछि सो सहकारीका सञ्चालकहरु अहिले समस्यामा परेका हुन् । सहकारीमा समस्या देखिएपछि उनले हेमराज दाहाललाई अध्यक्ष बनाएका थिए । कर्जा सूचना केन्द्रले अध्यक्ष दाहाल, विकास महर्जन, विनोद आचार्य, दिलिपकुमार डंगोल, रामकृष्ण अवाले, रमेश महर्जन, सुनिल डंगोल र स्वच्छन्द मानन्धरलाई कालोसूचीमा राखेको छ । काठमाडौंको लाजिम्पाटस्थित कैलाशचौरमा रहेको उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था समस्यामा परेको छ । श्रीमान् विपिन शर्मा र श्रीमती प्रतिभा निरौला शर्मा आलोपालो गर्दै अध्यक्ष र व्यवस्थापक भएर काम गर्दै आएका छन् । अहिले सो संस्थाको अध्यक्षका रुपमा प्रतिभा निरौला छन् । विपिनले सहकारीको पैसाले उपलब्धि प्रकाशन सञ्चालन गरेका छन् । सहकारीकै नाममा उनीहरुले उपलब्धि खाद्य भण्डार पनि सञ्चालन गर्दै आएका छन् । यो सहकारीमा श्रीमान र श्रीमतीकै कारण अनिल प्रसाद खनाल, देवराज शर्मा, योगराज कँडेल र अध्यक्ष निरौला नै कालोसूचीमा परेका छन् । शान्ति सन्देश बचत तथा ऋण सहकारी पनि कालोसूचीमा छ । सो सहकारीका अध्यक्ष राजेन्द्र कुमार कार्कीसँगै मुरारी कोइराला र शिवप्रसाद घिमिरे कालोसूचीमा परेका छन् । सो सहकारीको सचिव मुरारी कोइराला छन् । पश्चिमोदय बचत तथा ऋण सहकारीका अध्यक्ष देवराज न्यौपानेको एकलौटी निर्णयले अहिले सो सहकारी पनि समस्यामा छ । अध्यक्ष न्योपानेसहित सचिव सुस्मा सापकोटा, कृष्ण बहादुर रेग्मी, राजकुमार तामाङ र रमिला बस्नेत कालोसूचीमा परेका छन् । सहकारीका अध्यक्षले गरेको गल्ती अहिले अन्य सञ्चालकले पनि भोगिरहेका छन् । यस्तै, ग्लोबल बहुमुखी सहकारीका अध्यक्ष भोलाप्रसाद यादवको एकलौटी निर्णयले सो सहकारीका बचतकर्तासँगै सञ्चालकहरु पनि समस्यामा परेका छन् । अहिले कर्जा सूचना केन्द्रले लिलाकुमारी ठाकर र सविता गौतम पनि केन्द्रको कालोसूचीमा राखेको छ । जेष्ठ सहकारीका अध्यक्ष इन्दिरा अधिकारीसँगै कार्यकारी प्रमुख मधुसुदन पाठकको एकलौटी निर्णयले सो सहकारी पनि कालोसूचीमा परेको छ । सो सहकारीका सञ्चालकहरु बद्रि प्रसाद हुमागाईं र निशा रिमाल कार्की पनि कालोसूचीमा परेका छन् । कार्यकारी प्रमुख पाठक हाँस्यब्यङ्गय कालाकार पनि हुन् । चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्र बहादुर रिमालको एकलौटी निर्णयले अहिले सो सहकारीका सदस्यहरुले बचत फिर्ता पाउन सकेका छैनन् । त्यसको मारमा अन्य सञ्चालकहरु पनि परेका छन् । सो सहकारीका सञ्चालक ढुण्डिराज गौतम र कोषाध्यक्ष कृष्ण ज्ञवाली पनि कालोसूचीमा परेका छन् । सर्वोतम बहुउद्धेश्यिय सहकारी संस्था पनि बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । काठमाडौंको बागबजारमा रहेको यो सहकारीका अध्यक्ष विनोद खनाल हुन् । उनको लहलहैमा लागेर अन्य सञ्चालक पनि फसेका छन् । सो सहकारीकी देवकी सुनुवार पनि कालोसूचीमा परेकी छन् । जीवनदीप बचत तथा ऋण सहकारीका अध्यक्ष हुन् छत्र बहादुर बस्नेत । उनकै कारण सो सहकारीका सञ्चालक इन्द्रवती विष्ट र मनिषा श्रेष्ठ पनि कालोसूचीमा परेका छन् । नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको सन्ध्या बचत तथा ऋण सहकारीका सञ्चालक मनबहादुर राईले बचतकर्ताको रकम घरजग्गा र सेयरमा लगाउँदा त्यसको मारमा सदस्यहरु सँगै सञ्चालकहरु पनि परेका छन् । उनको कारणले नै खेम कुमारी राई र रामकृष्ण उप्रेती पनि अब कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने अवस्थामा पुगेका हुन् । श्री उमा गौरी कृषि सहकारी संस्थामा सम्भु प्रसाद रौनियार अध्यक्षको रुपमा काम गरिरहेका छन् । उनले पनि सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको बुझिएको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सो सहकारीका सञ्चालक आलम अन्सारी मिया र दिलमाया राई पनि कालोसूचीमा परेका छन् । सिद्धिविनायक बचत तथा ऋण सहकारीको अध्यक्षको रुपमा कुल बहादुर बोहराले काम गरिरहेका छन् । उनीसँगै विनोद सुवेदी र निर्मल खत्री पनि कालोसूचीमा परेका छन् । यस्तै, नाता सहकारीका अध्यक्ष अम्बर थापा र अर्जुन थापा पनि कालोसूचीमा परेका छन् । विद्याधरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्र घिमिरेको कारण सो संस्थाका सञ्चालकहरु मारमा परेका छन् । सो सहकारीका सञ्चालकहरु विश्वराम कार्की, चन्द्रमणी कट्टेल, मनिषा ढुङ्गाना, नमिता राई, नेत्र अधिकारी, रन्धोज विश्वकर्मा र रिकेश शाक्य पनि कालोसूचीमा परेका छन् । प्रारम्भिक बचत तथा ऋण सहकारीका संस्थाका सञ्चालकहरु गणेश न्यौपाने, मिकमार तामाङ, पुजा न्यौपाने, आशिस भुषाल, चन्द्रकला मिश्र, गिता भुषाल, जितेन्द्र बासुकला र सरिता केसी पनि कालोसूचीमा परेका छन् । आस्था बचत तथा ऋण सहकारीका सञ्चालक अनिल खड्का, कुम्भराज जोशी, सुनिल खड्का र जिवन बुढाथोकी पनि कालोसूचीमा परेका छन् । समावेशी श्रमिक बचत तथा ऋण सहकारीका चन्द्रबहादुर थापा, दलबहादुर बिष्ट, फुलमाया गोले, रञ्जिव सिंह, रिनु महर्जन, सविता श्रेष्ठ र सरस्वती गोले पनि बैंक तथा वित्तीय क्षेत्रको कालोसूचीमा परेका छन् । सम्वद्र्धन सहकारी चन्द्रिका खड्का, दिनेश कालिकोटे र प्रकाश लकाई पनि कालोसूचीमा परेका छन् । यस्तै, राजधानी बहुउद्धेश्यिय सहकारीका विकास बिसी र सञ्जिव पछाईले पनि अब बैंक तथा वित्तीय क्षेत्रबाट ऋण पाउने छैनन् भने शुभकार्य सहकारीका विवश मिन्धुन, गणेशमान रञ्जित, गौरी कुवँर, राजेश लामा, सान्त्वना मलाकार, सुमन कार्की र तेजु शाहु पनि कालोसूचीमा छन् । सामुदायिक विकास कृषि सहकारीका एञ्जिला देवी, बबिता शाह, विनितादेवी शाह, कविता कुमारी देवि, किरण कुमारी महरा, रामटोलर यादव र रेणु कुमारी पनि कालोचूीमा छन् भने नागरिक कल्याण सहकारीका भक्त बहादुर बुढाथोकी, भिमसेन बहादुर तामाङ, बीमा महर्जन, हस्त रावत, केशव श्रेष्ठ, शिलप्रसाद खनाल र कुमार बहादुर बुढा पनि कालोसूचीमा परेका छन् । मोबाइल सहकारीका इश्वरी प्रसाद गौतम र राजाराम साख पनि कालोसूचीमा छन् भने सुमार्ग सहकारीका गणेश कार्की र सन्ध्या थापा पनि कालोसूचीमा परेर बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाउने अवस्थामा पुगेका छन् । कर्जा सूचना केन्द्रका अपरेशन डिभिजन प्रमुख सुशिल जोशीले पछिल्लो समय कालोसूचीमा पर्ने सहकारीको संख्या बढ्दै गएको बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट सिफारिस भएकार आएका व्यक्ती तथा संस्था नै कालोसूचीमा पर्ने बताए । उनका अनुसार कालोसूचीमा पर्ने सहकारीसँगै निर्माण क्षेत्रका कम्पनीहरु बढिरहेका छन् । सहकारी विभागका उपरजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय अध्यक्षको नियत खराब भएपनि अन्य सञ्चालकहरुले त्यो गल्ती गर्ने स्पेश दिन नहुने धारणा राख्छन् । उनले एउटाको गल्तीले सबैलाई समस्या सिर्जना हुने भएकोले त्यस विषयलाई बुझेर सजकताका साथ काम गर्नु पर्ने बताए । सहकारीको अध्यक्षले तथा एउटा सञ्चालकले गल्ती गरे पनि त्यसको भागेदार सबै हुनु पर्छ, गल्ती गरेपनि नगरे पनि भोली सबैले कानुनी कठघरामा उभिनु नै पर्छ, एउटाले गल्ती गरिरहेको छ भने त्यसलाई ढाकछोप गर्ने भन्दा पनि सच्याउन तर्फ लाग्नु पर्छ,’ उनले भने ।
सेयर बजारमा पनि खुकुलो नीतिको तयारी, गभर्नरलाई कन्भिन्स गराइँदै
काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट मंगलबार खुला गर्यो । भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको भू–उपयोग नियमावली पहिलो संशोधन प्रस्ताव क्याबिनेटबाट स्वीकृत भएसँगै अब जग्गाको कित्ताकाट खुल्ने भएको हो । भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा समेत रोकिएको थियो । अब सहजै जग्गाको कित्ताकाट गर्न पाइनेछ । घरजग्गा व्यवसायीले लामो समयदेखि यो माग राख्दै आएका थिए । अन्तः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो । गत साता पोखराका व्यवसायीहरुसँगको भेटमा प्रचण्डले जग्गा वर्गीकरण सम्बन्धी नियम व्यवहारिक नभएको भन्दै कित्ताकाट खुलाउने विषयमा सरकारले सोचिरहेको बताएका थिए । उनले घरजग्गामा ठूलो रकम फसेको भन्दै यसलाई सहज बनाउन आवश्यक रहेको धारणा राखेका थिए । अर्थमन्त्री डा. प्रकाश शरण महतले समेत गत चैत १७ गते अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै घरजग्गा क्षेत्रमा मन्दी आएको र यो क्षेत्रलाई सहज नीति आवश्यक रहेको बताए थिए । उनले घरजग्गामा मन्दी सिर्जना भएकोले यो क्षेत्रको सुधारका लागि आफु लागि पर्ने बताए थिए । प्रधानमन्त्री र अर्थमन्त्रीको ती धारणापछि मंगलबार घरजग्गामा गरिएको कडाइ खुकुलो बनेको छ । सरकारको यो नीतिले घरजग्गा व्यवसायी खुसी भएका छन् भने अर्थतन्त्रलाई नजिकबाट नियालेका र बुझेका अर्थविदहरु चिन्तित बनेका छन् । घरजग्गा व्यवसायीहरु सरकारको निर्णयप्रति सन्तुष्ट छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष भेषराज लोहनी सरकारको यो निर्णय सकारात्मक र व्यवहारिक भएको धारणा राख्छन् । ‘घरजग्गा कारोबारको कित्ताकाट उद्धेश्य सही भएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सक्ने थिएन, अब घरजग्गा कारोबार सहज हुन्छ, अर्थतन्त्र खुकुलो बन्छ,’ उनले भने । उनका अनुसार घरजग्गा क्षेत्रलाई सबैले अनुत्पादक भनेपनि सबैलाई घरजग्गा नै चाहिएको छ । ‘घरजग्गा क्षेत्रलाई सिस्टमेटिक बनाउन आवश्यक छ, रोक्का गरेर गलत गरिएको थियो, सबैलाई घडेरी चाहिएको छ तर, गाली यह क्षेत्रलाई गरिन्छ, सिस्टमलाई व्यवस्थित गर्न सकियो भने सरकारलाई राजश्व पनि आउँछ, अर्थतन्त्र पनि सहज हुँदै जान्छ,’ उनले भने । सरकारको यो निर्णयले घरजग्गा व्यवसायी खुसी भएपनि अर्थविदहरु भने सन्तुष्ट छैनन् । यसअघि विकासन्युजसँग कुराकानी गर्दै अर्थविद् विश्वास गौचनले अर्थतन्त्र सुधार गर्न घरजग्गामा मन्दी लगाउनु पर्ने धारणा राखेका थिए । उनले सरकारले घरजग्गा क्षेत्रमा खुकुलो नीति अघि सार्यो भने त्यसको प्रभाव नकारात्मक नै हुने बताएका थिए । विकासन्युजसँग कुरा गर्दै उनले भनेका थिए, ‘प्रतिव्यक्ति आम्दानीका आधारमा नेपालको जग्गाको मूल्य हेर्ने हो विश्वमा नै अगाडि रहेको अवस्था छ, जुन कुरा हुन सम्भव नै छैन, त्यसैले पहिलो यसको करेक्सन भनेको जग्गामा मन्दी लाग्नु पर्छ, घरजग्गाको कारोबार शतप्रतिशत रुपमा बैंकिङ कारोबारबाट हुनुपर्छ, जग्गा किन्ने व्यक्तिले स्रोत देखाउनुपर्छ, अहिले अवैधानिक पैसालाई ह्वाइट बनाउने सजिलो उपाय भनेको जग्गाको कारोबार भएको छ ।’ सेयर बजारमा पनि खुकुलो नीतिको तयारी अर्थमन्त्री महतले पदभार ग्रहण गर्दै बोलेको अर्को क्षेत्र हो सेयर बजार । उनले पदभार ग्रहण गर्दा मुख्यतः घरजग्गा, बैंकको ब्याज र सेयर बजारको विषयमा बोलेका थिए । बैंकको ब्याज घटेर ९.९ प्रतिशत कायम भइसकेको छ भने जग्गामा पनि खुकुलो नीति अघि सारिएको छ । अब सेयर बजारको विषयमा वहस भइरहेको बुझिएको छ । अर्थमन्त्री डा. महतले पदभार ग्रहण गर्दै सेयर बजारमा एक किसिमको मन्दी आएको बताउँदै यस विषयमा सरकार सकारात्मक भएको बताएका थिए । उनले केही पुनरावलोकन गर्नु पर्ने नीति भए त्यसका सरकार छलफल गर्न तयार भएको समेत बताएका थिए । त्यसको तीनपछि अर्थात् चैत २० गते उनले सेयर लगानीकर्ताहरुसँग भेटवार्ता समेत गरेका थिए । पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वको टोलीले सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका थिए । उनीहरुले मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्नु पर्ने, चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग राखेका थिए । अर्थमन्त्री महत उनीहरुका केही माग पुरा गर्नका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीसँग निरन्तर छलफलमा रहेको स्रोतको भनाइ छ । गभर्नर अकिारीले मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ करोडको सीमा तोकेका थिए । पछि उनले ४ करोडको सीमा हटाएर १२ करोड रुपैयाँ मात्रै कायम गरेका थिए । अहिले लगानीकर्ताहरु सो सीमालाई पनि हटाउनु पर्ने माग गरिरहेका छन् । अर्थमन्त्री महत पनि सो सीमालाई हटाउन गभर्नरलाई कन्भिन्स गरिरहेको स्रोतको भनाइ छ । तर, गभर्नर अधिकारी अहिलेसम्म त्यसमा सकारात्मक नभएको स्रोतको भनाइ छ । गभर्नर अधिकारीले अर्थमन्त्री महत समक्ष आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस विषयमा सोच्न सकिने बताइरहेका छन् । तर, अर्थमन्त्रीले मिलेर अगाडि बढ्नु पर्ने भएकोले ‘कुरो’ बुझिदिन आग्रह गरिरहेको बुझिएको छ । पदबहाली गर्दा पनि उनी गभर्नरसँग छुट्टै वार्ता गरेका थिए । तयसपछि पनि उनी पटक–पटक गभर्नरसाग छलफलमा बसिसकेका छन् । अर्थमन्त्रीले प्रत्येक बैठकमा आफुलाई सहयोग गर्न गभर्नरलाई आग्रह गरिरहेका छन् । यसअघि बैंकको ब्याज घटाउन पनि गभर्नर सहमत थिएनन् तर अर्थमन्त्रीको आग्रहमै उनले ‘ग्रिन सिग्नल’ दिएपछि र बैंकहरु पनि घटाउन सहमत भएपछि बैंकको ब्याज घटेको थियो । तर, उनलाई बैंकको ब्याज घट्दा आयात बढ्न सक्ने चिन्ता छ ।
जसले कारागारमै सुने आफैले जन्माएको बैंक विलयको सन्देश
काठमाडौं । स्वागत र बिदाइको क्षण पृथक हुन्छ । स्वागतमा सबैले खुशी मनाउँछन् । बिदाइमा अधिकांशका आँशु बर्सिन्छन् । कतिपय निरास हुन्छन्, विगत सम्झेर भक्कानिन्छन् । बाआमाले छोरीलाई पराइको घरमा पठाउँदाको क्षणहरु तपाईंले नियाल्नु भएको छ नी ? हो, त्यही विवाहलाई एकछिन सम्झनुस् त, कति भावविहल हुन्छ त्यो माहोल । हुन त कतिपय बिदाइहरुले नयाँ सम्भावना र अवसरहरुको पनि सञ्चार गर्छन् । तर, आफ्नो अस्तित्व मेटाउँदाको बिदाइ भने धेरैलाई असहज लाग्छ । पछिल्लो समय बैंकहरुको मर्जरलाई पनि धेरैले विवाहको रुपमा चित्रण गर्छन् । तर, शुक्रबार एकीकृत कारोबार भएको हिमालयन र सिभिल बैंकबीच विवाह होइन, विलय भयो । सिभिल बैंक हिमालयन बैंकमा विलय भयो । ९ महिनाको लामो छलफल र अनेक विषयहरुलाई समाधान गर्दै शुक्रबार दुई बैंकबीच एकीकृत कारोबार भयो । यो एकीकृत कारोबारसँगै अब सिभिल बैंकको नाम नामेट भएको छ । ब्राण्ड सधैंका लागि सकिएको छ । जसले सिभिल बैंकलाई जन्माए, यो बैंकलाई एउटा ब्राण्डका रुपमा स्थापित गर्ने योजना बुने, ती व्यक्ति नै सिभिल बैंकको विलयमा भौतिक रुपमा उपस्थित हुन सकेनन् । अर्थात् सिभिल बैंक हिमालयन बैंकमा विलय भएको सन्देश तिनले सञ्चार माध्यमबाट सुने । २०६० को दशकमा वाणिज्य बैंक स्थापना गर्ने लहर थियो । त्यो लहर सुरु भएको एक दशक नबित्दै राष्ट्र बैंकले मर्जरको अवधारणा अघि सार्यो । दुई दशक नबित्दै मर्जरको लहरको सुरु भइसकेको छ । बैंक स्थापनाको लहरमा बैंक स्थापना गर्ने रहर पलायो व्यवसायी इच्छाराज तामाङलाई पनि । एक प्रतिष्ठित रियलस्टेट व्यवसायी । हाउजिङमा एकपछि अर्को सफलता । त्यही सफलताले इच्छाराजलाई पनि बैंक खोल्ने इच्छा जाग्यो । सुरुमा उनले रियलस्टेटमा मात्रै लगानी गर्ने बैंक स्थापना गर्ने प्रस्ताव लिएर राष्ट्र बैंक पुगे । राष्ट्र बैंकले उनको त्यो प्रस्ताव अस्वीकार गर्यो । पछि अन्य बैंक सरह नै स्थापना हुने भनेपछि राष्ट्र बैंकले वाणिज्य बैंकको लाइसेन्स दियो । त्यसबेला सिभिल समूहलाई नपत्याउने कोही थिएनन् । र, इच्छाराजकै सक्रियतामा वि.सं. २०६७ सालमा स्थापना भयो सिभिल बैंक । इच्छाराजकै अध्यक्षतामा १४८ जना मिलेर कान्छो सिभिल बैंक स्थापना भयो । त्यतिखेर सञ्चालकमा प्रकाश पायल, अम्बिर बोगटी, जुनी गुरुङ, त्रिमीर महर्जन थिए । सीईओ किशोर महर्जन बने । सुरुमा बैंकको पुँजी १ अर्ब ६० करोड रुपैयाँ थियो । हाउजिङ तथा रियलस्टेटमा सफल व्यवसायीका रुपमा परिचित इच्छाराजको प्रवेश बैंकिङ इन्ड्रष्टीमा भएपछि धेरैले उनी बैंकिङमा पनि सफल हुन्छन् भन्ने अनुमान नगरेका होइनन् । तर, नियामक राष्ट्र बैंकसँग ट्युनिङ नमिल्दा उनले सोचे जस्तो बैंक सिभिललाई बनाउन सकेनन् । एकताका सफल उदाहरणीय व्यवसायीका रुपमा प्रोफाइल बनाएका इच्छाराज दिनहुँ खस्किँदै गए । व्यापार व्यवसाय चौपट बन्यो । आफैले खोलेका संस्थाहरु एकपछि अर्कोमा संकट उत्पन्न हुन थाल्यो । सिभिल सहकारीका बचतकर्ताको पनि पैसा फिर्ता गर्न सकेनन् । र, उनी बचतकर्ताको पैसा ठगेको आरोपमा कारागार पलायन हुन विवश भए । अहिले उनी कारागारमा छन् । उनैले ठूलो संघर्ष गरेर स्थापना भएको सिभिल बैंक हिमालयनमा विलय भयो । उनी प्रत्यक्ष रुपमा एकीकृत कारोबार कार्यक्रममा सहभागी हुन सकेनन् । उनले आफैले जन्माएको संस्था सधैंका लागि विलय भएको सन्देश सञ्चार माध्यमबाट सुने । ‘सिभिल बैंक स्थापना गर्दा इच्छाराज तामाङजीले १० वर्षमा टप टेन बैंकका रुपमा चिनाउनु पर्छ भन्नु भएको थियो, हामीले १० वर्षमा टप टेन बैंक बनाउने लक्ष्य पनि राखेको हौं तर टप टेन बैंक बन्न सकेनौं,’ इच्छाराज तामाङले विगतमा भनेका कुराहरुलाई स्मरण गर्दै संस्थापक सञ्चालक अम्बिर बोगटीले भने, ‘लक्ष्य हासिल गर्न क्रम भंग गर्नै पर्दो रहेछ ।’ सिभिल बैंक अब तत्कालीन सिभिल बैंक बनिसकेको छ । तत्कालीन सिभिल बैंकका सञ्चालक बोगटी १० वर्षमा टपटेन बैंक बन्न नसकेपनि १२ वर्षपछि छैठौं बैंकको सेयरधनी बनेकोमा खुशी व्यक्त गर्छन् । ‘हामीलाई विकास बैंकले टप्न थालिसकेका थिए, हामी कान्छो बैंक भएपनि देशको जेठो बैंकसँग जोडिएका छौं,’ बोगटी भन्छन्, ‘यो अस्तित्व नामेट होइन, सिभिल बैंकको त्याग हो ।’ शुक्रबार भएको हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार कार्यक्रममा सिभिल बैंकका सबै सञ्चालकहरु निराश देखिन्थे । कार्यक्रममा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र शम्भुप्रसाद पन्त पनि मलिन देखिन्थे । उनीहरुलाई आफ्नो आफैले जन्माएको ब्राण्ड गुमेको पीडा थियो । तर, राष्ट्र बैंकको मर्जर नीति र प्रतिस्पर्धी बैंकसँगको प्रतिस्पर्धाकै लागि भएपनि विलय वाहेकको विकल्प सिभिलसँग थिएन । यो विषयको स्वीकार तत्कालीन सिभिल बैंकका अध्यक्ष पाण्डे पनि गर्छन् । पाण्डे भन्छन्, ‘कुनै पनि डिल गर्दा मेरो हैसियत के हुने भनेर अपनत्व खोज्यो भने त्यो कहिल्यै पनि पुरा हुँदैन, डिल गर्दा आफूलाई अन्तिममा राख्यो भने मात्रै सफल हुन्छ, सिभिल बैंकको व्यवस्थापन र सञ्चालक समितिले कहीँ पनि आफ्नो हिस्सा खोजेको छैन तर पनि हामी सन्तुष्ट छौं, खुशी छौं ।’ सिभिल बैंकको ब्राण्ड बैंकिङ इन्ड्रस्टीबाट गुम्दा नरमाइलो भने पक्कै लाग्छ । त्यो नरमाइलो कारागारभित्रै संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पनि नलागेको होइन । एक साताअघि सिभिल बैंकको सञ्चालक समूह तामाङलाई भेट्न कारागार पुगेको थियो । त्यो भेटघाटमा पनि तामाङले सिभिलको ब्राण्ड नै स्मरण गरेका थिए । ‘हामीले संस्थापक अध्यक्ष र बैंकको सक्रिय सेयरधनी भएकोले पनि एक साताअघि इच्छाराजजीलाई भेट्न गएका थियौं, उहाँले प्रतिस्पर्धाका लागि मर्जर आवश्यक भएपनि सिभिल ब्राण्ड पनि जोडिनु पर्ने अर्थात् सिभिल बैंकको नाम पनि हिमालयन बैंकमा जोडिनु पर्छ भन्ने कुरा राख्नु भएको थियो तर त्यो सम्भव भएन,’ तामाङसँग भएको कुरा उद्दृत गर्दै पाण्डेले विकासन्युजसँग भने ।
भारुको मूल्य र माग घटेको राष्ट्र बैंकको निष्कर्ष, नेपाललाई फाइदा कि बेफाइदा ?
काठमाडौं । अहिले एक सय भारतीय रुपैयाँ (भारु) को कति नेपाली रुपैयाँ (नेरु) हुन्छ ? सबैको जवाफ हुन्छ, १ सय ६० रुपैयाँ । हुन पनि हो, नेपाल र भारतबीचको स्थीर विनिमय दर (पेग) नै त्यही हो । तर, अहिले १ सय रुपैयाँ भारुको एक सय ६० रुपैयाँ नेपाली पाइँदैन । अहिले एक सय भारु बराबर एक सय ५५ या १५० रुपैयाँमा खुलेआम कारोबार भइरहको छ । हामीले सधैं भारतीय रुपैयाँ नेपाली रुपैयाँको तुलनामा बलियो हुँदै गएको सुनेका छौं । विनियम दर १६० भएपनि कालोबजारी मार्फत् १६५/१६८ रुपैयाँमा कारोबार भइरहेको सुनेका थियौं तर अहिले भने त्यही कालोबजारी मार्केटमा भारुको मूल्य घटेको खुलेको छ । यो विषयको निष्कर्श राष्ट्र बैंकले पनि निकालेको छ । बजारमा अनौपचारिक रुपमा कारोबार हुँदा एक सय रुपैयाँ भारुको १५० या १५५ रुपैयाँमा कारोबार भइरहेको विषय राष्ट्र बैंकले पनि स्वीकारेको छ । सीमावर्ती बजारमा भारतीय रुपैयाँका अवमुल्यन भएको बुझिएको छ । यसअघि सरकारले आयातमा कडाइ गर्दा अवैध च्यानलमार्फत् वस्तु आयात गर्नकै लागि भारतीय रुपैयाँ महँगोमा खरिद बिक्री भइरहेको थियो । तर, अहिले आयात फुकुवा तथा भारतीय मुद्राको पनि माग कम भएपछि भारुको अवमुल्यन भएको बुझिएको हो । भारतीय रुपैयाँ अनौपचारिक रुपमा कारोबार भइरहेको र मूल्य पनि सस्तिएको भन्ने गुनासोपछि राष्ट्र बैंकले विभिन्न प्रादेशिक कार्यालयहरुलाई अनुगमन गरेर प्रतिवदेन पठाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार विभिन्न प्रादेशिक कार्यालयहरुले अनुगमनसहित प्रतिवदेन तयार पारेर केन्द्रिय कार्यालयमा पठाएका छन् । सो प्रतिवेदनमा भारतीय रुपैयाँको माग कम भएपछि मूूल्य पनि सस्तिएको निष्कर्श छ । नेपाल राष्ट्र बैंक धनगढी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख विनोदराज लेखकले आफुहरुले अनौपचारिक रुपमा भारुको कारोबार भइरहेको र मूल्य पनि घटेको जानकारी पाएपछि अनुगमन गरेको जानकारी दिए । उनका अनुसार भारतीय रुपैयाँको माग घटेपछि मूल्य पनि घटेको हो । ‘अहिले बजारमा प्रयाप्त मात्रामा भारु पाइन थालेको छ, विभिन्न नाकामा प्रयाप्त रुपमा क्यासिनो खुलेका छन्, प्रतिबन्ध भएपनि ठूलो दरका भारतीय नोट पनि सस्तोमा पाइरहेका छन्, यति धेरै पैसा अनौपचारिक च्यानलमा कहाँबाट आयो भन्ने विषय पनि हामीले अध्ययन गरिरहेका छौं, एउटा अध्ययन प्रतिवदेन केन्द्रिय कार्यालयमा पठाइसकेका छौं,’ उनले विकासन्युजसँग भने । अहिले नेपाली बजारमा १ सय रुपैयाँभन्दा बढीको नोटको कारोबार गर्न मिल्दैन । अर्थात् भारतीय ५ सय र २ हजारका नोट चलन चल्तीमा छैनन् । नेपाल राष्ट्र बैंक सूदुरपश्चिम प्रादेशिक कार्यालयले अध्ययन गरेको प्रतिवदेनको निष्कर्श भारुको मूल्य घटेको र मागमा कमि आएको छ । ‘अहिले एक सयभन्दा माथिका नोट पनि कारोबार हुने गरेको हामीले भेटेका छौं, पहिलेको तुलनामा बैंकबाट भारतीय रुपैयाँ साट्ने तुलनात्मक रुपमा कमै छन्, यसरी सस्तोमा भारु पाइँदा नक्कली नोट पनि बढ्छन् कि भन्ने चिन्ता पनि छ, माग पनि घटेको छ, मूल्य किन घट्यो भन्ने विषयमा भने हामी अध्ययन गर्दैछौं,’ उनले भने । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल पनि नोटको सटहीमा कालोबजारी भइरहेको सूचना राष्ट्र बैंकमा आएको बताउँछन् । उनले भारतसँग जोडिएका सीमा नाकाहरूमा भारु नोटको सटही बढेको र मूल्य पनि सस्तो भएको सूचना आएको बताए । ‘राष्ट्र बैंकले पनि यस विषयमा जानकार छ, यसलाई तत्कालै रिभाइज गर्न पनि राष्ट्र बैंकले सक्दैन, यसमा सरकारले नै काम थाल्नु पर्छ, भारु सस्तैमा पाइने सम्भावना पछिसम्म कहाँ हुन्छ, यो क्षणिक हो,’ उनले भने । ‘यो क्षणिक अवसर हो’ भारतीय रुपैयाँ हालसम्म कालोबजारी मार्फत् सस्तोमा पाइएको प्राय कमै छ । नेपालीहरुले भारु साट्नका लागि जहिल्यै प्रिमियम तिर्नु पर्ने हुन्छ । १ सय रुपैयाँ भारु पाउनका लागि नेपालीले अनौपचारिक बजारमा १६५ देखि १७० रुपैयाँसम्म तिर्नु पर्थ्यो तर अहिले त्यो परिपाटी छैन । अहिले विनिमयदरभन्दा पनि मूल्य सस्तो भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार यो भारतीय रुपैयाँ ‘कलेक्ट’ गर्ने एउटा अवसर हो । ‘भारतीय मुद्रा सस्तोमा पाइनु भनेको नेपालीहरुका लागि अवसर हो, नेपाली बजारमा भारुको बढी माग भएको अवस्थामा राष्ट्र बैंकले डलर खर्च गरेर भारु खरिद गर्नु पर्ने हुन्छ, अहिले भारुको माग कम छ, यतिबेला सस्तो पाएको बेला पैसा उठाउनु नेपालीका लागि अवसर हुन सक्छ,’ स्रोतले भन्यो । राष्ट्र बैंक स्रोत भने भारतीय बैंकहरुमा ब्याजदर कम भएको र नेपाली बैंकहरुमा बढी भएको कारण नेपालको बैैंकमा पैसा राख्नकै लागि पनि कतिपयले सस्तोमै सटही गरेको हुन सक्ने धारणा राख्छ । तर, त्यो अनुसारको निक्षेप भने नेपालीमा बैंकमा भित्रिएको तथ्यांकले देखाउँदैन । अहिले भारतको बैंकहरुमा ६ प्रतिशतको हाराहारीमा ब्याजदर छ तर नेपाली बैंकहरुमा ११ प्रतिशत बढी छ, बढी ब्याज पाइने भएपछि भारी साटेर नेपाली बैंकमा आफन्त वा साथीहरुसँग मिलेर बैंकमा राख्न सक्छन्, अहिलेको सटही दर भने दीर्घकालसम्म रहँदैन, यो क्षणिक हो,’ स्रोतले भन्यो । राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री पनि अहिलेको अनौपचारिक मार्केटमा भइरहेको सटही दर नेपालका लागि क्षणिक लाभ भएको बताउँछन् । ‘भारतीय नोट सस्तो हुनु भनेको नेपालका लागि फाइदा हो तर त्यो क्षणिक हो, भारतीय पर्यटकका लागि पनि गन्तब्य महँगो पर्न सक्छ, तर पछि आयात बढ्न सक्छ, किनकि हिजो एक सय ६० रुपैयाँ पर्ने सामानको मूल्य १५५ पर्ने भयो, त्यसले आयात बढाउन प्रोत्साहन गर्छ, क्षणिक भएपनि यो खुसी बन्नु पर्ने अवस्था हो,’ क्षेत्रीले भने । उनका अनुसार अनौपचारिक व्यापार बढेकोले भारुको माग पनि घट्दै गएको हो । भारतसँग नेपालको ब्यापार बढी भएकोले पनि पछिल्लो समय महँगी बढ्नु र उपभोग घट्नुले भारुको माग कम भएको हुन सक्ने उनको तर्क छ । नेपालीलाई कुन ठीक ? नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर परिवर्तन गर्नु पर्छ भन्ने आवाज अहिलेको होइन । बेला–बखत भारतीय रुपैयाँसँगको विनिमयदर परिवर्तन गर्नु पर्ने आवाज उठ्दै आइरहेको छ । नेपाल र भारतबीच स्थिर विनिमय दर (पेग) भएका कारण पनि नेपाली उपभोक्तालाई महँगीको मार परेको पनि बताइन्छ । सन् १९९३ देखि नै नेपाल र भारतबीचको विनियमदर परिवर्तन भएको छैन । भारतीय रुपैयाँ डलरसँग कमजोर हुनेबित्तिकै नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने तर्क धेरैको छ । त्यसैले पनि भारतसँगको विनिमय दर परिवर्तन हुनु पर्ने आवाज उठिरहन्छ । तर, भारतीय रुपैयाँसँग नेपाली रुपैयाँलाई कति विनिमय तोक्दा ठीक हुन्छ भन्ने विषय भने खासै कसैले खुलाउँदैनन् । तर, धेरैले अहिलेको भन्दा भारतीय रुपैयाँ सस्तो हुँदा नेपाललाई फाइदा हुने धारणा राख्छन् । नेपाली उद्योगीले एक सय ६० रुपैयाँ पर्ने वस्तु भारतमा निर्यात गर्यो भने त्यसको मूल्य भारतमा एक सय रुपैयाँ पर्न जान्छ । यदि नेपाली रुपैयाँलाई सस्तो बनाएर १७० विनिमय दर तोकियो भने यहाँ उत्पादन भएको वस्तु १७० मा भारतमा निर्यात हुन्छ । र, त्यही समान भारतमा १०० रुपैयाँ पर्छ । त्यो समान भारतीय नागिरकलाई सस्तो पर्न जान्छ । त्यसको माग भारतीय बजारमा बढी हुन्छ । तर, यसले नेपालको व्यापार घाटा बढ्न सक्ने सम्भावना रहने जानकारहरु बताउँछन् । पेग परिवर्तन भए नेपाली मुद्राको अधिमूल्यन हुन सक्ने र भारतीय वस्तुको मूल्य नेपालमा सस्तो पर्ने क्षेत्रीको भनाइ छ । उनले अहिलेको विनिमयदरले नेपाललाई भन्दा बढी फाइदा भारतलाई छ ।
साथीहरू मिलेर बनेको एफवान सफ्ट, फिनटेकमा उत्कृष्ट
काठमाडौं । तपाईं आफ्नो साथी, सहकर्मी वा घरपरिवारलाई पैसा पठाउन आग्रह गर्दै हुनुहुन्छ भने, कसरी पठाउनु भन्नुहुन्छ ? इसेवा, फोनपे वा मोबाइल बैंकिङ ? हो, अधिकांशले लिने नाम यिनै हुन् । व्यावसायिक जगत् वा युवा पुस्ता माझ डिजिटल कारोबारको लागि इसेवा, फोनपे सर्वाधिक प्रयोग हुने डिजिटल एप्लिकेशन हुन् । इसेवा नेपालमा सर्वाधिक डाउनलोड भएको एपमध्ये एक हो । अहिलेसम्म ७० लाख मानिसले इसेवा एप डाउनलोड गरेको कम्पनीले जनाएको छ । मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने इसेवा अहिले अधिकांशको दैनिकी बनेको छ । घरमै बसेर जोकोहीलाई पनि पैसा पठाउन, घरभित्रै बसेर किनमेल गर्न र घरमै बसेर अनेकौं बिल भुक्तानी गर्न सक्ने सुविधा इसेवाले प्रदान गरिरहेको छ । कसैलाई पैसा पठाउन वा पाउन मान्छेलाई भेट्नै पर्दैन । इसेवाबाट सहजै सकिन्छ । इसेवा, फोनपे लगायत अन्य केही डिजिटल प्लेटफर्महरुको मदर कम्पनी भने एफवान सफ्ट हो । जुन कम्पनीको स्थापना गरेका हुन् विश्वास ढकालले । संस्थापनादेखि नै ढकाललाई साथ दिने अन्य तीन जना संस्थापक सेयरधनी हुन्, सुवास शर्मा, अस्गर अली र सुवास सापकोटा । सुवास सापकोटा चार्टर्ड एकाउन्टेन्ट हुने भने अन्य तीनै जना इञ्जिनियर हुन् । सन् २००४ सालमा स्थापना भएको यो कम्पनीले १८ वर्षको अवधिमा प्रविधिमा धेरै ठूलो फड्को मारेको छ । नेपाललाई प्रविधि सिकाएको छ । ‘हामी कलेजमै हुँदा कम्पनीको स्थापना भएको हो, त्यतिबेला विश्वास ढकालले एक्लै कम्पनी दर्ता गरे, एक आपसमा चिनजानले हामी चारै जना कम्पनीमा जोडियौं, पछि विस्तारै काम गर्न थाल्यौं, बजारले चिन्न थाल्यो, अहिले सबैले प्रविधिको क्षेत्रमा एउटा अग्रणी कम्पनीका रुपमा लिँदा खुसी लाग्छ,’ कम्पनीका सञ्चालक तथा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा भन्छन् । एफवान सफ्ट ठूलो महत्वकांक्षा लिएर सुरु भएको कम्पनी होइन । विस्तारै सम्भावनाहरु देखिँदै गए । सुरुमा कम्पनीले बैङ्कको एसएमएस बैंकिङ्गको उत्पादन सुरु ग¥यो र बैङ्कहरुलाई बेच्यो । अधिकांश बैङ्कले त्यो प्रडक्ट प्रयोग गरे । त्यसपछि इसेवा सार्वजनिक भयो । सन् २००९ मा सार्वजनिक भएको इसेवाले अहिले डिजिटल कारोबारको बजार तताइरहेको छ । इसेवाले मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने सुविधा ल्यायो । विस्तारै टेलिकम कम्पनी, सिनेमा हल, एयरलाइन्स, स्कुल/कलेज, बिजुली तथा पानीको बिल, यातायात कम्पनीलगायतले अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्था भयो । ‘इसेवाबाट भुक्तानी गर्न सकिने धेरै सेवा भइसकेका छन्, यी विभिन्न सेवा हामीले सुरुवात गरेपछि अन्य कम्पनीहरु पनि आइरहेका छन्, हाम्रै कारणले यो क्षेत्र एउटा उद्योगका रुपमा स्थापित हुँदा खुसी लाग्छ,’ सीईओ शर्मा भन्छन् । अहिले एफवान सफ्टकै वार्षिक आम्दानी करिब ५५ करोड रुपैयाँ हुन्छ । इसेवा, फोनपे लगायत अन्य कम्पनीको कारोबार आ-आफ्नै छ । अहिले एफवान सफ्टका प्रडक्टहरु सबैको घर-घरमा पुगेका छन् । बिजुलीको बिल तिर्ने ६० प्रतिशतले इसेवाबाट भुक्तानी गर्छन् । एफवान सफ्टले बैङ्कहरुलाई चाहिने सफ्टवेयर बनाउँछ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र इसेवा मनी ट्रान्सफर पनि यसकै प्रडक्ट हो । विदेशी कम्पनीसँगको प्रतिस्पर्धा प्रविधिको दायरा असीमित छ । तर, मान्छेहरूले यसको दायरा सीमित बनाइदिएका छन् । भनिन्छ नि, ‘प्रविधिले विश्वलाई एउटा एउटा गाउँ बनाएको छ ।’ तर, विडम्बना, स्रोत साधन र नीतिगत व्यवस्थाकै कारण सीमित घेराभित्र रहेर व्यवसाय गर्नु पर्ने बाध्यता नेपालमा छ । अहिले नेपाली कम्पनीहरूलाई विदेशमा लगानी गर्न सक्ने नीतिगत व्यवस्था छैन । तर, विदेशी कम्पनीहरू भने नेपालमा आएर सजिलै व्यवसाय गर्न पाउँछन् । ‘विदेशी इन्टरनेट कम्पनीहरु पनि नेपालमा आउन सक्छन्, हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्नु पर्छ, उनीहरुभन्दा सस्तो, भरपर्दो र राम्रै सेवा दिन सक्नु पर्छ, त्यसका लागि हामी तयार भएर बस्नु पर्छ,’ शर्मा भन्छन्, ‘तर, नीतिगत रुपमा नेपालमा प्रतिस्पर्धा गर्ने वातावरण नै छैन ।’ हुन त नेपाली कम्पनीलाई विदेशमा गएर प्रडक्ट बेच्न चुनौती नै छ । ‘सुरुमा त नेपाल भन्ने ब्राण्ड नै राम्रो छैन, नेपाल सफ्टवेयर बेच्ने देश हो र ? भनेर सोध्छन् । किन्नै परेपछि नेपालको सफ्टवेयर किन किन्ने भन्ने प्रश्न गर्छन्, नेपालको सफ्टवेयर किन्ने बनाउन हामीले सस्तोमा बेच्न सक्नुपर्छ, धेरै विषयहरु कन्ट्री इमेजले पनि फरक पार्छ, हामीलाई अहिले नेपालमै बिक्री गर्न चुनौती छ, विदेशमा त झन् कति–कति,’ शर्माले भने । १८ वर्षअघि स्थापना भएको एफवान सफ्ट नेपालको पहिलो फिनटेक कम्पनीमात्र होइन, सबैभन्दा बढी प्रयोगकर्ता भएको र सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो, जहाँ ३०० इन्जिनियर्ससहित १००० भन्दा बढीले रोजगारी पाएका छन् । क्षमताका हिसाबले एफवान सफ्टमा धेरै अनुभवी र क्षमता भएका व्यक्तिहरु छन् । एफवान सफ्ट समूहका अध्यक्ष ढकाल रेस्ट अफ व¥ल्डले सार्वजनिक गर्ने विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा पनि परेका छन् । रेस्ट अफ व¥ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैङ्कहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने उल्लेख गरेको छ । दक्ष जनशक्तिको अभाव शर्मा पछिल्लो समय नेपाली युवाहरुको विदेश पलायनको ट्रेण्ड देखेर चिन्तित बनेका छन् । स्वदेशमा राम्रो जागिर र त्यसको पनि स्थीरता नदेखेर विदेशिने युवाहरुको ट्रेण्ड देखेर उनी नेपालको भविश्य के होला ? भन्ने विषयमा प्रश्न गर्छन् । ‘नेपालमा बस्न चाहने धेरै कम छन्, राम्रो जागिर र करियर राम्रो बनाउनका लागि विदेशिने क्रम बढ्दो छ, हाम्रोमा पनि दुई/तीन वर्ष काम गरेर विदेश जान्छौं भन्छन्, हामी केही स्थीरताको वातावरण सिर्जना गरिरहेका छौं, नेपालमा कसैलाई बस्ने रहर नै छैन, यो एकदमै ठूलो समस्या हो, हामी गर्न नसक्नेको देश बन्दैछौं, उनी भन्छन्, ‘नेपालमा कम्पनी चलाउने जो कोहीलाई पनि सम्मान गर्नुपर्छ ।’ एफवान सफ्टले ल्याएका सेवाहरु सबै नेपालीले प्रयोग गर्दछन् कुनै न कुनै रुपमा । फोन, पानी, बिजुलीको पैसा तिर्न, रकम ट्रान्सफर गर्न, किनमेलपछि डिजिटल भुक्तानी गर्न वा मोवाइल तथा इन्टरनेट बैकिङ्ग सुविधा लिन । नेपालमा बिजनेस गर्नेहरु माफिया नै हुन् भन्ने भ्रम राजनीति र बुझाइमा छ । जुन गलत छ । ‘राम्रो काम गरिरहेको मान्छे नेपाल छोडेर विदेश जान्छु करिअर बनाउँछु भन्दा नजा भन्न सकिँदैन, उसले गएर स्थीर अर्थतन्त्रमा यहाँको भन्दा राम्रो काम गर्न सक्छ भने नजा कसरी भन्ने ? कि उनीहरुलाई विदेशको सुविधा यतै दिन्छु भन्न सक्नु प¥यो, तर, सकिँदैन’ उनले थपे, ‘यहाँको वातावरणले दिँदैन, हामी निकै कमजोर छौं ।’ हाल एफवान सफ्ट समूहमा १ हजार बढीले रोजगारी पाएको उनी बताउँछन् । त्यसमा करिब ३ सय इञ्जिनियर छन् । ईसेवा भारतको पेटिएमभन्दा दुई वर्ष अगाडि आएपनि भारतमा पेटिएमले जसरी ठूलो बजार लिन नसकेको उनी बताउँछन् । नेपालमा जति नै राम्रो प्रडक्ट बनाए पनि ठूलो मार्केट लिने सम्भावना न्यून रहेको उनी बताउँछन् । इसेवामा ७० लाख ग्राहक आवद्ध रहेको बताउँदै उनी अब नेपालमा बजार विस्तार गर्न समस्या भइरहेको बताउँछन् । एफवान सफ्टले केही नयाँ प्रडक्टहरु ल्याउने तयारी गरिरहेको छ । कम्पनी अझै डिजिटल फाइनान्सियलसँग सम्बन्धित केही सर्भिसहरु ल्याउने योजनामा छ । स्रोत साधनको सीमितताको बाबजुत पनि काम भइरहेको उनी बताउँछन् । ‘हुन त गर्न मिल्ने ठाउँ धेरै छ, हामीले जुन फिल्डमा काम गर्ने सोच बनायौं, त्यो क्षेत्रलाई भाइब्रेन्ट बनायौं, अहिले यो क्षेत्र एक उद्योगकै रुपमा चिनिन थालेको छ, कुल ३७ वटा कम्पनी थपिए । अर्बौं लगानी भएको छ, हजारौंले रोजगारी पाएका छन्, हामीले गर्न सकिन्छ भन्ने बाटो देखायो, यसको विस्तार हुन आवश्यक छ,’ उनले भने । ५ लाख लगानीबाट सुरु भएको एफवान सफ्टले गरेको कामप्रति सञ्चालकहरु सन्तुष्ट छन् । कम्पनी अहिले ५० करोडको हाराहारीमा पुगेको छ । कम्पनीले गर्नुपर्ने धेरै विषय बाँकी रहेको उनको भनाइ छ । इसेवा र फोनपेले पब्लिकमा जाने तयारी पनि गरेका छन् । कोभिड–१९ ले गर्दा केही ढिलाई भए पनि अबको एक वर्षभित्र पब्लिकमा जाने उनले बताए । ‘नेपालमा प्रविधिमा भविश्य छ, जागिरभन्दा पनि सकेसम्म उद्यमी बन्न सक्नुपर्छ, चुनौती मोल्न र दुःख गर्न तयार भयो भने नेपालमा पनि अवसरहरु छन्, नेपालमै समस्या समाधान गर्छु भन्यो भने पनि सम्भावना छन्,’ उनले भने । अहिले एफवान सफ्ट विज्ञ तथा अनुभवीहरुलाई कम्पनीहरुमा भित्र्याएर एग्रेसिभ बिजनेसभन्दा पनि यसको स्थिरतामा ध्यान दिइरहेको उनले बताए । युवाहरुले सुरु गरेर बजारको लिडिङ पोजिसनमा स्थापित यस कम्पनीमा शशिन जोशी, परशुराम कुँवर क्षेत्री जस्ता भेट्रान पूर्व बैङ्कर्सलाई सञ्चालकको भूमिका दिइएको छ । यसको उद्देश्य कम्पनीलाई अझ विश्वासिलो र दीगो बनाउनु रहेको उनी बताउँछन् । (देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर
काठमाडौं । न्यूरोडको एउटा साँघुरो गल्ली । त्यो गल्लीभित्र एउटा सानो कोठा । कोठाभित्र तीन वटा कुर्सी र एउटा टेबल । यो दृश्य विजय राजभण्डारीको मानसपटलमा अझैँ ताजै छ । ३० वर्ष अगाडि यसरी स्थापना भएको सीई कन्स्ट्रक्सनको अहिले काठमाडौंको मुख्य क्षेत्र त्रिपुरेश्वरमै आफ्नै भव्य भवन । मासिक करोडौंको कारोबार । डोरम्यानदेखि चेयरम्यानसम्म आ-आफ्नै काममा व्यस्त । काम गर्न भ्याइनभ्याई । ‘अरु काम भएन भन्छन्, काम लिन बजारमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्, हाम्रोमा भने यो प्रोजेक्ट तपाईंहरुले नै बनाइदिनु प¥यो भनेर आउने धेरै हुन्छन्’ राजभण्डारी भने । ठिक एक वर्षअघि २०७८ पुसमा विकासन्युजमा प्रकाशित अन्तरवार्तामा उनले भनेका थिए– ‘अरुहरु बैङ्कले कर्जा दिएनन् भन्छन्, हामीलाई बैङ्कले बोलाएर कर्जा लैजानुहोस् भन्छन् ।’ कम्पनीका अध्यक्ष राजभण्डारी भन्छन्, ‘दिनहरु फेरिए, समय फेरियो, कम्पनीमा काम गर्ने कर्मचारीहरु फेरिए तर कर्मचारीहरुको मिहिनेत फेरिएन, सबैले आफ्नै कम्पनी भएको महसुस गर्दै काम गर्नुभयो, हामी झन् सशक्त भएर लागि रह्यौं, सबैको मिहिनेत, लगाव र झुकावले सीई कन्स्ट्रक्सन आज देशकै गर्व गर्न लायक कम्पनीका रुपमा स्थापित छ, मलाई पनि यसमै गर्व छ ।’ ६ जना मिलेर ५०/५० हजार रुपैयाँ गरेर ३ लाख रुपैयाँ जम्मा गरी स्थापना भएको यो कम्पनी अहिले दैनिक करोडौंको कारोबार गर्छ । सबैले पत्याउने मात्रै होइन, सबैले अनुसरण गर्ने काम गरेर निर्माण क्षेत्रमा आफ्नो हिस्सा फैलाउँदै गएको छ । नेपाली निर्माण क्षेत्र, हाउजिङ क्षेत्र र जलविद्युत् क्षेत्रमा एक ‘ट्रेण्ड सेटर’ कम्पनीका रुपमा सीई कन्स्ट्रक्सन परिचित छ । जसको नेतृत्व गरिरहेका छन् उनै विजय राजभण्डारी । काठमाडौंको बसन्तुपरमा वि.सं.२०१६ सालमा जन्मिएका राजभण्डारी पढाई र पेशाले इञ्जिनियर हुन् । प्लसटुमा विज्ञान विषय पढेका उनले भारतको जबलपुर विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ गरे । उनले पुल्चोक इञ्जिनियरिङ कलेजमा लेक्चरका रुपमा पनि काम गरे । पछि अमेरिका गए । त्यहाँ पनि एउटा कम्पनीमा कन्स्ट्रक्सन म्यानेजरका रुपमा काम गरे । निर्माण क्षेत्रका विषयमा धेरै कुरा सिकेपछि उनी नेपाल फर्किए । अनि सन् १९९२ मा खोले सीई कन्स्ट्रक्सन । ‘म त्यतिखेर नेपालमा जस्तोसुकै राम्रो जागिर पाउन सक्थेँ तर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मानसिकता ममा थियो, सुरुमा ५ लाख रुपैयाँमा एउटा कामको ठेक्का लियौं, निर्माण सम्पन्न हुँदा ७ लाख रुपैयाँ लाग्यो, काम तोकिएको समयभन्दा अगाडि नै सकायौं तर कम्पनीलाई २ लाख रुपैयाँ घाटा भयो,’ सीई कन्स्ट्रक्सनले सुरुमा गरेको प्रोजेक्टको कामलाई स्मरण गर्दै उनी भन्छन्– ‘तर, हामीले हरेश खाएनौं, काम गर्न सकिन्छ भन्ने आत्मबल थियो, धैर्यतापूर्वक अगाडि बढ्यौं ।’ हुन त त्यतिखेर पनि देशमा हजारौं कन्ट्याक्टर थिए । त्यो भीडमा पृथक काम गर्ने योजनाका साथ ‘डी क्लास’को कम्पनी स्थापना गएर निर्माण क्षेत्रमा प्रवेश गरेका थिए विजयले । जुन प्रोजेक्टमा हात हाल्यो त्यसलाई समयमै सक्ने र गुणस्तरीय बनाउनुपर्छ भन्ने योजनाका साथ उनी लागे । विदेशी प्रविधिलाई भित्र्याएर समयमै काम सम्पन्न गरी क्लाइन्टलाई खुसी बनाउन सके बजार आफै बन्छ भन्ने सोच उनमा थियो । ‘देश विकासको लागि निर्माण क्षेत्रको भूमिका ठूलो हुन्छ, विकास निर्माणको कामले आर्थिक गतिविधि बढ्छ, त्यसले आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ, नेपालमा निर्माण क्षेत्रको सम्भावना पनि धेरै छ, त्यसैले पनि मैले निर्माण क्षेत्रलाई रोजेँ, उनले कन्ट्रक्सन क्षेत्र रोज्नुको कारण प्रष्ट्याउँदै भने । उनी निर्माण क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन् । ‘निर्माण क्षेत्रले सबै क्षेत्रलाई जोड्छ, हाइड्रोपावरमा कन्ट्याक्टरले समयमा काम नगरेर परियोजना निर्माण ढिलाई हुन्छ, ढिला भयो भने धेरै घाटा हुन्छ, आफैले लगानी गरेको परियोजना छिटो सकिन्छ, समयमै सकेपछि त्यसको सेयर मूल्यमा पनि एक किसिमको आकर्षण हुन्छ, डेभलपर र कन्ट्याक्टर आफै भएपछि धेरै फाइदा हुन्छ, उनी भन्छन्–‘डेभलपर र कन्ट्याक्टर आफै भएकोले पनि हामीलाई काम गर्न धेरै सहज भयो ।’ सीई कन्स्ट्रक्सन एक ‘टेण्डसेटर’ तीन दशक अगाडि नेपालको निर्माण क्षेत्र खासै विश्वास गर्न लायक थिएन, क्षमता र कामको गुणस्तरिताको हिसावले । प्राइभेट क्षेत्रको ठूलो भवन बनाउनु प¥यो भने विदेशी कन्ट्याक्टरले काम पाउँथे । तर, सोही समय निर्माण क्षेत्रमा प्रवेश ग¥यो सीई कन्स्ट्रक्सन । सुरुमा राजभण्डारीले आफ्नै चार तले घरको निर्माण ६ महिनाभित्रै सम्पन्न गरेर देखाइदिए । समयभित्रै गुणस्तरीय निर्माण कार्यका लागि परियोजनाका लगानीकर्ताहरु सीई कन्स्ट्रक्सनलाई नै काम दिन चाहन्छन् । धेरै निर्माण व्यवसायी नयाँ काम पाउनका लागि बजारमा प्रतिस्पर्धा गर्दै गर्दा सीई ग्रुपलाई भने काम भ्याई–नभ्याई छ । बैंकले कर्जा दिएन भनेर अरु व्यवसायी छट्पटाइरहँदा सीई ग्रुपलाई बैंकले बोलाएर कर्जा दिन्छन् । बजारले यसरी पत्याउनु नै उद्यमीको ठूलो उपलब्धि ठान्छन् विजयराज भण्डारी । सीई कन्स्ट्रक्सनले विदेशबाट नयाँ प्रविधि भित्र्यायो । त्यो प्रविधिको विषयमा क्लाइन्टलाई बुझाउन सक्यो । अहिले धेरै निर्माण कम्पनीलाई काम पाउन सकस छ तर सीई कन्स्ट्रक्सनलाई भने काम गर्न भ्याइनभ्याई छ । रोजेर मात्रै काम लिन्छ । ‘नेपाली कन्ट्याक्टरले पनि गुणस्तर काम दिन सक्छ र समयमै सकाउन सक्छ भन्ने सन्देश दिन सफल भयौं, सुरुमा विदेशी प्रविधि ल्यायौं, अन्यले पनि त्यसको सिको गर्दै गए, आज ठूल्ठूला निजी भवन निर्माणमा नेपाली कन्ट्याक्टर मात्रै छन्, यसमा हामी गर्व गर्छौं,’ राजभण्डारी भन्छन् । नेपालका सबैभन्दा ठूला अपार्टमेन्ट सीई कन्स्ट्रक्सनले नै निर्माण गरेको छ । ग्राण्डी टावर, थापाथली हाइट लगायत एक दर्जन ठूला अपार्टमेन्टहरु सीई समूहले बनाएको छ । केही वर्षअघि नेपाली कम्पनीहरुले ठूला हाइड्रोपावर निर्माणको जिम्मा पाउँदैनथे । तर, सीई कन्स्ट्रक्सनले प्रयोग गर्ने प्रविधि, समयमै सक्ने क्षमता र गुणस्तरीय कामकै कारण धेरैले पत्याउन थाले । सीई कन्स्ट्रक्सन नै पहिलो नेपाली कम्पनी हो जसले ८६ मेगावाटको जलविद्युत आयोजना तोकिएका समयभित्रै निर्माण सम्पन्न ग¥यो । त्यो पनि विदेशी कन्ट्याक्टरको संलग्नताविनै । नेपालीले मात्र बनाएको यो नै सबैभन्दा ठूलो जलविद्युत् योजना थियो । ‘सुन्नेलाई शब्द जस्तो मात्रै लाग्छ, त्यसको पछाडि कति ठूलो मिहिनेत छ, कति ठूलो सङ्घर्ष छ, त्यो काम गर्नेलाई मात्रै थाहा हुन्छ, नेपाली निर्माण क्षेत्र, रियलस्टेट र जलविद्युतमा हामी ट्रेण्ड सेटर नै हो,’ अध्यक्ष राजभण्डारीले दावीका साथ भने । हाइड्रोपावरमा ५०० मेगावाट भन्दा बढीका परियोजना नेपालीले नै गर्न सक्छ भनेर अब सीई समूहले काम गरेर देखाउने उनी बताउँछन् । सन् २०३० सम्म १ हजार मेगावाट उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको उनी सुनाउँछन् । त्यसका साथै स्याटेलाइट सिटीको अवधारणासँगै विदेशी लगानी बढी ल्याउने कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने योजना सीई समूहको छ । यस विषयमा अहिले उनले धेरै निकाय तथा व्यक्तिसँग छलफल गरिरहेका छन् । लुम्बिनी र नगरकोट हब बनाउँदै सीई ग्रुपको अर्को पायोनियर प्रोजेक्ट हो लुम्बिनी र नगरकोट हब । यो आफैमा अर्को नयाँ ‘ट्रेण्डसेट’ हो । जुन नेपालका लागि नौलो अभ्यास पनि हो । एउटै ठाउँमा बच्चालाई मनोरञ्जन गर्न सकिने मनोरञ्जन स्थलदेखि स्वीमिङ्ग पुल, रेष्टुराँ, सपिङ कम्प्लेक्स र इभेन्टका लागि मेगा हलहरु लगायतका सेवा सुविधाहरु ती हबभित्र हुनेछन् । पर्यटकहरुलाई चार/पाँच दिनसम्म नेपालमै बस्न सक्ने पूर्वाधार र सेवा सुविधाहरु सीई ग्रुपले निर्माण गर्दैछ । त्यसका लागि कम्पनीले तयारी थालिसकेको छ । ‘अहिले पर्यटकहरु लुम्बिनीमा आउँछन्, एकदिन ध्यान गरेर फर्किहाल्छन्, अब हामी लुम्बिनी हब निर्माण गरेर कम्तिमा चार/पाँच दिन यतै बस्ने सेवा सुविधासहितको हब निर्माण गर्दैछौं, जहाँ पर्यटकले सबै सुविधाहरु एउटै छानाभित्र पाउन्,’ अध्यक्ष राजभण्डारीले योजना सुनाए । जसलाई सीई समूहले पाइलट प्रोजेक्टको रुपमा काम गर्न खाजेको छ, यसमा ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । जुन ७ बिघा जग्गामा बन्दैछ । अर्को यस्तै प्रोजेक्ट कम्पनीले नगरकोटमा पनि निर्माण गर्दैछ । ‘हामी रणनीतिक साझेदारहरुको सहयोगमा काम गर्दैछौं, जुन क्षेत्रमा जसको विज्ञता छ, तिनीहरुसँग साझेदारी गरेर काम गरिरहेका छौं, यसले हामीलाई सफलता हासिल गर्न सहयोग मिलिरहेको छ ।’ सफता चुम्नेहरुलाई अझ धेरै गर्न मन लाग्छ, जोश पनि हुन्छ विजय राजभण्डारीमा पनि त्यो जोश (प्यासन) छ । ‘मैले आफ्नो पढाइको १० प्रतिशत मात्रै व्यवहारमा उतारेको छु, धेरै काम गर्न अझै बाँकी नै छ’ उनले भने । सीई समूह सातै प्रदेशमा सीई कन्स्ट्रक्सन खोल्ने योजनामा छ । ती सबै प्रदेशलाई कसरी ‘सेल्फ सस्टेन’ गराउने भन्ने योजना राजभण्डारीले बुनिरहेका छन् । अहिले सीई समूहले सम्झौता गरेअनुसार समयमै काम सकेकोले सबैको रोजाइमा आफ्नो कम्पनी परेको उनी बताउँछन् । ‘मास पार्टिसिपेन्ट मोडेल’ र ‘रणनीतिक साझेदार’को मोडेलले काम गर्दा सीई समूह सफल भएको पनि उनको धारणा छ । पब्लिकमा जाने तयारी पछिल्लो समय राम्रो नाफा गरेका कम्पनीहरु सेयर बजारमा सूचीकृत हुने अभ्यास बढ्दो छ । सरकारले पनि वार्षिक ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले सेयर बजारमा सूचीकृत हुनु पर्ने नीतिगत व्यवस्था गरेको छ । सीई समूहले पनि पहिलेदेखि नै पब्लिकमा जाने योजना नबनाएको होइन । तर, विभिन्न प्राविधिक कारणले जान नसकेको राजभण्डारी बताउँछन् । आगामी चैतसम्म सिई कन्स्ट्रक्सलाई पब्लिक कम्पनी बनाउने गरी प्रक्रियागत काम थालिएको छ । पहिला कर्मचारीलाई सेयर दिने र त्यसपछि पब्लिकको लागि सेयर निष्काशन गर्ने उनको तयारी छ । ‘कम्पनी स्थापना हुँदा नै सेयरधनी र कर्मचारी दुवै यस कम्पनीकोे मालिक हौं भन्ने अवधारणाका साथ काम ग¥यौं, हामी पनि सुरुवातदेखि नै तलब नै खाएर आयौं, कर्मचारीले आफ्नै कम्पनी ठानेर काम गरिरहनु भएको छ, कर्मचारीलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो योजना छ र काम पनि अगाडि बढेको छ ।’ १० प्रतिशत सेयर कर्मचारीलाई दिने किसिमले तयारी भइरहेको उनले बताए । कम्पनीको १ अर्ब १० करोड पुँजी रहने छ । अध्यक्ष राजभण्डारी भन्छन्, ‘डोरम्यानदेखि चेयरम्यानसम्म यस कम्पनीको मालिक हो, कम्पनीको हिस्सेदार सबै कर्मचारीहरु हुन्, हाम्रो काम गर्ने वातावरण पनि सहज छ ।’ ६३ वर्षीय राजभण्डारीलाई आफ्नो टीमप्रति भरोसा छ । टीम वर्कले नै सीई कन्स्ट्रक्सन सफल भएको उनको भनाइ छ । सक्षम र काम गर्न सक्ने व्यक्तिलाई सधैं स्वागत गर्न सीई तयार रहेको उनको धारणा छ । सफल उद्यमी बन्न के गर्ने ? नयाँ उद्यम गर्न धेरै चाहन्छन् । तर, चाहनाले मात्रै मूर्त रुप कहाँ लिन्छ र ? सफल बन्नका लागि कडा मिहिनेत, कुशल जिम्मेवारी, लगाव, झुकाव चाहिने राजभण्डारीको तर्क छ । ‘हुन त नपढेको मान्छले पनि राम्रै पैसा कमाउँछ, पैसा कमाउनु र सफल बन्नु फरक विषय हो, मान्छे सफल बन्नका लागि एजुकेशन, एक्सपोजर र एक्सपेरियन्स चाहिन्छ,’ उनी भन्छन् । व्यापार छनोट सफल उद्यमी बन्ने पहिलो खुड्किला रहेको उनको धारणा छ । व्यक्तिले बिजनेस सेलेक्सन गर्दा ध्यान दिनुपर्ने उनी बताउँछन् । निर्माण, आवास विकास, जलविद्युत् परियोजना निर्माणको क्षेत्रमा उदाहरणीय पदचिह्न छोड्नै गएको सीई कन्स्ट्रक्सनले पर्यटन क्षेत्रमा पनि ‘टुरिजम हब’को विकास गरी नयाँ ट्रेण्ड सेट गर्दैछ । यसको शुरुवात लुम्बिनी र नगरकोटबाट हुनेछ । पैसा भएर मात्रै बिजनेस हुँदैन, सबैभन्दा महत्वपूर्ण बिजनेस सेलेक्सन हो, जति बढी नाफा हुने बिजनेस हे¥यो, त्यति बढी रिक्स (जोखिम) मोल्न सक्ने क्षमता हुनुपर्छ, क्षमता नहुँदा धेरैको लगानी डुब्छ,’ उनले एउटा उदाहरण दिँदै भने– ‘अहिले रेष्टुरेन्टको मालिकहरु परिवर्तन भइरहन्छन् किनकी उनीहरुसँग बिजनेस गर्ने योजना नै छैन, त्यसका चुनौतीहरु के–के छन् त्यो पनि बुझ्नु पर्छ, जुन बिजनेस पछिसम्म रहिरहन्छ त्यस्तो बिजनेस छनोट गर्नुपर्छ, हामीले निर्माणको क्षेत्र रोज्यौं किनकी यो कहिले पनि अन्त्य हुँदैन ।’ बिजनेसमा चार वटा क्याट्यागोरी हुन्छ । वर्कर, सुपरभाइजर, म्यानेजर र लिडर । एउटा उद्यमीमा यी चारवटै क्याट्यागोरी हुनु पर्ने उनको राय छ । तब मात्रै एउटा उद्यमी सफल हुन्छ जब उ एउटा कामदारदेखि कम्पनीको अध्यक्ष हुनेसम्मको ल्याकत राख्न सक्छ । एउटा उद्यमीले आफ्नो संस्थामा प्रफर्मेन्स, विश्वसनियता, ओनरसिप र जिम्मेवारीको विषयमा थाहा पाउनु पर्ने पनि उनी बताउँछन् । ‘कम्पनी मेरो हो भन्ने महशुस सबैमा हुनुपर्छ, साँच्चिकै उद्यमी बन्ने चाहना छ भने बाटो बदल्नु हुँदैन, एउटा उद्यमीले उद्यमी नै बन्नुपर्छ, अहिलेको भन्दा धेरै राम्रो अवसर पनि आउन सक्छ तर बाटो बदल्नु हुन्न, त्यसले दुर्घटना निम्त्याउँछ, सफलता दिन सक्दैन, बीचमै बाटो मोडेको भए सीई कन्स्ट्रक्सन अहिले एक पायोनियर कम्पनीका रुपमा परिचित हुन्थ्यो र ? उनी प्रश्न गर्छन् । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल