स्वास्थ्य हब बन्ने बाटोमा नेपाल, जटिल शल्यक्रिया स्वदेशमै सम्भव
काठमाडौं । केही वर्ष अगाडि नेपालीका धेरै अस्पतालमा विशिष्टिकृत उपचार पाउन सक्ने अवस्था थिएन । पैसा हुनेहरू छिमेकी देश भारत लगायत सुविधा सम्पन्न देशहरूमा उपचार गराउँथे । तर, अहिले अवस्था फेरिएको छ। एउटा व्यक्तिको अङ्ग झिकेर अर्को व्यक्तिमा जोड्ने प्रत्यारोपणको काम नेपाली चिकित्सक र स्वास्थ्य संस्थाले गरिरहेका छन् । पछिल्लो समय नेपालका सरकारी अस्पतालदेखि निजी अस्पतालले मिर्गौला, कलेजो लगायतका अङ्ग प्रत्यारोपणमा मात्र नभइ समग्र स्वास्थ्य सेवामा राम्रो फड्को मारिरहेका छन् । अझ निजी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरका सेवा पनि उपलब्ध गराउँदा विदेशीहरू पनि उपचारका लागि नेपाल आउने गरेका छन् । कलेजो प्रत्यारोपणमा मेडिसिटी नेपालीहरूको कलेजो खराब हुने क्रम अहिले रफ्तारमा बढेको छ । पछिल्ला दिनहरूमा मोटोपन, बदलिँदो जीवनशैलीका कारण पनि कलेजो खराब हुँदै गइरहेको चिकित्सकहरू बताउँछन् । करिब एक दशक अगाडिको नेपालको स्वास्थ्यलाई हेर्ने हो भने कलेजो खराब हुँदा पनि फेर्न नेपालीहरूले भारत आइपुग्नुपर्थ्याे । नेपालमा सम्भव थिएन । अझ पैसा भएकाहरू ठूला ठूला देशसम्म पुग्थे । अहिले नेपालमै सरकारीदेखि निजी अस्पतालले कलेजो प्रत्यारोपण गरिरहेका छन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको नेपाल मेडिसिटी अस्पतालले ६ वर्षको प्रयासपछि कलेजो सफल प्रत्यारोपण गरेको छ । ललितपुरको भैंसेपाटीमा अवस्थित यो अस्पतालले ६ वर्ष पहिले स्वास्थ्य सेवा विभागमा अनुमति माग गरेको अस्पतालले एक वर्षपछि मान्यता पाएको थियो । त्यसपछिको प्रयासका बाबजुद जेठ ८ गते सफल कलेजो प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ । अस्पतालका हेपाटोसर्जन डा. रामबाबु शाह, हेपाटोलोजिष्ट डा. उमिद श्रेष्ठ सहितको टोलीले पोखराका ५६ वर्षका ईश्वर कार्कीको सफल प्रत्यारोपण गरेको हो । कार्कीलाई उनका २६ वर्षका छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए । पहिलो पटक कलेजो प्रत्यारोपण सफल गरेको अस्पतालले यो कार्यलाई निरन्तरता दिने बताएको छ । अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपाललाई स्वास्थ्यको हब बनाउने घोषणा गर्दै विदेशी नागरिकलाई पनि स्वदेशमा उपचार गर्न आउने अवस्था निर्माणका लागि लागेको बताए । ‘हामी नेपालीलाई मात्र होइन, विदेशी नागरिकलाई पनि नेपालमा उपचार गर्न आउने वातावरण सिर्जनाका लागि लागिरहेका छौं, नेपालको प्रकृति, वातावरण नै उत्कृष्ट छ यही उत्कृष्टतालाई आधार बनाएर नेपाललाई स्वास्थ्यको हब बनाउन सकिन्छ,’ उनले भने । उनका अनुसार अहिले मेडिसिटीमा विदेशीहरू पनि उपचार गर्न नेपाल आउने गरेका छन् । लिंग परिवर्तनमा शिक्षणको सफलता नेपालमै पहिलो पटक लिंग परिवर्तनको शल्यक्रिया पनि भर्खरै सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले लिंग परिवर्तन शल्यक्रिया सफल गरेको हो । अस्पतालले गत जेठ १३ गते ६ घण्टा लगाएर शल्यक्रिया सफल गरेको जानकारी गराएको थियो । जनकपुरका २५ वर्षका ट्रान्सजेन्डर पुरुषको यौनाङ्गलाई महिलाको यौनाङ्गमा सफल रूपमा परिवर्तन गर्न अस्पताल सफल भएको हो । जेठ १२ गतेदेखि १५ गतेसम्म चार दिन लगाए जेण्डर एफर्मिङ सर्जरी अर्थात् स्तन वृद्धि, स्त्री रूपमा परिवर्तन सफलता पूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ । विदेशी प्लाष्टिक सर्जन डा. एलीरेजा हमिदियन जोरामीको नेतृत्वमा अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख प्रा.डा. जयमान श्रेष्ठको टोलीले सबै शल्यक्रिया सफलताका साथ सम्पन्न गरेको हो । शिक्षण अस्पतालले जेण्डर एफर्मिङ क्लिनिक स्थापना गरेर चाहाना भएका ट्रान्स जेण्डर महिला र पुरुषको शल्यक्रिया गर्ने योजना बनाएको छ । यसले लिंग परिवर्तन गर्न चाहने ट्रान्स जेण्डर महिला र पुरुषलाई सहज बनेको छ । नेपाल ब्लु डाइमण्ड सोसाइटीले त्रिवि शिक्षण अस्पतालले गरेका सफल शल्यक्रियाले धेरै ट्रान्स जेण्डरलाई सहज हुने बताएको छ । अध्यक्ष युनिसा पाण्डे भन्छिन्, ‘हाम्रा धेरै साथीहरूले यसैको लागि विभिन्न देश धाउनुपर्थ्यो, पैसा पनि उत्तिकै खर्च हुन्थ्यो, शल्यक्रियासमेत उस्तै महँगो हुन्थ्यो, अब नेपालमै यो सेवा पाउँदा धेरै साथीहरूलाई राहत पुग्ने छ ।’ विश्वका अन्य मुलुक जस्तै नेपालमा पनि यौनिक अल्पसंख्यक समुदायको संख्या बढ्दै गएको छ । समाजको डरले लुकेर बसेकाहरू खुलेर आउन थालेसँगै आफ्नौ चाहनाअनुरुप आफूलाई चिनाउने प्रयासमा लिंग परिवर्तन गर्न थालेको धेरै भइसक्यो । नेपालमा अंग परिवर्तन नहुँदा करोड रुपैयाँसम्म खर्च गरेर उनीहरू विदेश जानुपर्ने बाध्यता थियो । तर अब नेपालमै अंग परिवर्तन गर्न सकिने भएको छ । छाला प्रत्यारोपणमा कीर्तिपुरको कीर्तिमानी नेपालमा अन्य अंगजस्तै छाला प्रत्यारोपण पनि गरिन्छ । कीर्तिपुर अस्पतालले १२ वर्ष अगाडिदेखि नै छाला बैंक स्थापना गरे छाला प्रत्यारोपण गर्न सुरु गरेको हो । गहिरो जलनमा परेका बिरामीलाई छालाको आवश्यकता पर्ने भएकाले छाला प्रत्यारोपण सुरु गरिएको हो । जलनका बिरामीहरूका लागि सहजता होस् भन्ने उद्देश्यले कीर्तिपुर बर्न अस्पतालले सन् २०१४ मा अस्पतालमा छाला बैंक स्थापना गरेको थियो । जीवित र मरिसकेका व्यक्तिको छाला लिएर आवश्यकता भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । जीवित व्यक्तिबाट छाला लिन समस्या हुने भएकाले मरणपश्चात दान गरिएको छाला जलनबाट ग्रसित व्यक्तिमा प्रत्यारोपण गरिन्छ । यसको लागि कुनै व्यक्तिको मृत्यु भएको ६ घण्टा भित्र र फ्रिजमा भए १२ घण्टाभित्र छाला झिकि सक्नुपर्ने हुन्छ । तर नेपालमा व्यक्तिको मरणपश्चात पनि छाला दान गर्नेहरूको संख्या निकै कमी भएको अस्पतालले जनाएको छ । छाला दानमा परिवार आफन्त नै हिचकिचाहट गर्ने गरेको चिकित्सकहरू बताउँछन् । मिर्गौला प्रत्यारोपण नेपालका सबै अंग प्रत्यारोपणमध्ये सबैभन्दा पहिले सुरु भएको हो- मिर्गौला प्रत्यारोपण । नेपालमा २०६४ सालमा सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रत्यारोपण सुरु भएको थियो । हाल धेरै सरकार र निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । संख्याको हिसाबले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुर सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिएको छ भने अन्य निजी अस्पतालमा पनि प्रत्यारोपण गरिन्छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा १ सय ५३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ भने ५ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ३ सय १० जना बिरामीको मिर्गौला प्रत्यारोपण र २० जना बिरामीको कलेजो प्रत्यारोपण गरिएको थियो । बोनम्यारो प्रत्यारोपण नेपालमा बोनम्यारो प्रत्यारोपण सुरु भएको पनि केही वर्ष भइसकेको छ । सन् २०१२ मा सिनामंगलमा रहेको नोबेल अस्पतालले पहिलो पटक बोनम्यारो प्रत्यारोपण गरेको थियो । बोनम्यारो भनेको हड्डीभित्रको नरम स्पञ्जी तन्तु हो । जसले रक्तकोषहरू उत्पादन गर्छ । रातो बोनम्यारो र पहेंलो बोनम्यारो गरी यो दुई किसिमको हुन्छ । यी कोषहरूले काम गर्न छोडेपछि व्यक्तिको शरीरमा रगत उत्पादन बन्द हुन्छ । यसको प्रत्यारोपण गर्दा रक्त बनाउने कोषहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिन्छ । अहिले नेपालमा सिभिल अस्पताल लगायतका विभिन्न अस्पतालबाट यो सेवा सुरु छ । प्रविधिमा पनि फड्को अंग प्रत्यारोपणमात्र होइन अन्य विभिन्न स्वास्थ्य उपचारमा समेत नेपालले फड्को मारेको छ । अत्याधुनिक उपकरण औजार सामग्रीहरू पनि नेपालका निजी र सरकारी अस्पतालमा उपलब्ध छन् । पहिले बिरामीलाई कुनै पनि दुखाइ कम गर्ने औषधीको प्रयोग बिना शल्यक्रिया गरिन्थ्यो भने अहिले दुखाइ बिना नै ठूलो घाउ समेत नबनाइ शल्यक्रिया गरिन्छ । नाइलनको डोरीले बोरा सिलाएजस्तो अप्रेशन गर्नुपर्ने अवस्थाबाट दुरविनको सहायताले अप्रेसन गर्नुपर्ने अवस्थामा स्वास्थ्य क्षेत्र पुगेको उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जन डा. सुशीलमोहन भट्टराई बताउँछन् । उनी कोरोना कालपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, ‘धेरै लामो समय भएको छैन, छोटो समयमा नेपालको स्वास्थ्य क्षेत्रले चमत्कारिक उपलब्धि हासिल गरेको छ, अब कुनै पनि रोगको उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन ।’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वराज राजभण्डारी पनि समयसँगै स्वास्थ्य सेवाले अपत्यारिलो फड्को मारेको बताउँछिन् । चिकित्सकको संख्या पनि बढ्दो उपचारमा मात्र होइन, पछिल्लो समय चिकित्सक, विशेषज्ञहरूको संख्या समेत बढेको छ । ४० वर्ष अघि औंलामा गन्न सकिने प्रसूति रोग विशेषज्ञको संख्या अहिले निकै बढेको छ । नेपालभर ८ सयभन्दा बढी स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू मात्र छन् । यत्तिकै संख्यामा अन्य क्षेत्रमा पनि चिकित्सक, नर्स, एएनएमहरूको संख्या पनि बढेको छ । २०८१ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल परिषद, नेपाल फार्मेसी परिषद लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको छ । २०८१ फागुनसम्म यो सङ्ख्या ३ लाख २२ हजार २ सय ५४ रहेको थियो भने ३२ हजार २ सय ४७ मेडिकल चिकित्सक, ५ हजार ३ सय ४७ दन्त चिकित्सक, ११ हजार ६ सय १६ विशेषज्ञ चिकित्सक र ३ सय ९५ विदेशी चिकित्सक गरी कुल ११ हजार ६ सय १६ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । नर्सिङ काउन्सिलमा १ हजार ६९५ विशेषज्ञ नर्स, ८५ हजार ७ सय ७८ नर्स, ३७ हजार ५ सय २८ अनमी ९१ मिडवाईफ र ८ सय ५५ विदेशी नर्स समेत गरी १ लाख २५ हजार ९ सय ४७ नर्स दर्ता भएका छन् भने नेपाल स्वास्थ्य व्यवसायी परिषदमा कुल १ लाख ६२ हजार ४ सय ९२ स्वास्थ्यकर्मी दर्ता भएका छन् । नेपाल आयुर्वेद मेडिकल परिषद्मा ६५४२ र नेपाल फार्मेसी परिषदमा २१ हजार ९ सय ३७ स्वास्थ्यकर्मी दर्ता भएका छन् । पूर्वाधार विकासमा फड्को नेपाल भित्रैको कुरा गर्ने हो भने पनि केही वर्ष पहिलेसम्म काठमाडौं, पोखरा लगायतका ठूल-ठूला सहरहरूमा मात्र अस्पतालहरू केन्द्रित थिए । तर आजभोलि हरेक जिल्लामा ठूला अस्पतालहरू सञ्चालनमा आएका छन् । स्थानीय तहमा आवश्यकताअनुसार ५ शैया, १० शैया र १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुरूप २०८१ फागुनसम्म १ सय १३ स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्य भएको देखिन्छ । यसैगरी, ३ सय १६ स्थानीय तहमा अस्पताल निर्माण कार्य भइरहेको छ । साथै, सहरी विकास तथा भवन निर्माण विभागबाट निर्माण गरिने एक सय १९ स्वास्थ्य संस्था मध्ये १३ को निर्माण कार्य सम्पन्न भएको छ । विज्ञहरू नेपालमा अन्य क्षेत्रमध्ये सबैभन्दा विकासको गति लिएको क्षेत्र स्वास्थ्य भएको बताउँछन् । २०४७ साल पछि अहिलेसम्म हेर्ने हो भने स्वास्थ्य क्षेत्रले निकै फड्को मारेको उनीहरूको भनाइ छ । स्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘अहिले सबैभन्दा प्रगति केमा भएको छ भनेर कसैले सोध्दा म स्वास्थ्य क्षेत्रमा भन्छु, अंग प्रत्यारोपणदेखि जटिल रोगको उपचार पनि नेपालमै सम्भव हुनु सकारात्मक मात्र होइन निकै राम्रो हो ।’ नेपालीको औषत आयु ७२ वर्ष पुगेको छ । मातृ मृत्युदर पनि ५ सय ३९ बाट घटेर अहिले १ सय ५० मा पुगेको छ । बाल मृत्युदर पनि घटेको छ । यी गतिविधिले स्वास्थ्य क्षेत्रले राम्रो काम गरिरहेको डा. मरासिनी बताउँछन् । तर अहिलेसम्म पनि कुपोषण भने घटाउन नसकेको उनको भनाइ छ । उनका अनुसार अहिले पनि पाँच वर्ष भन्दामुनिको तीन बच्चामध्ये एक बच्चा कुपोषित रहेको पाइन्छ । अंग प्रत्यारोपणमा कानुन आवश्यक स्वास्थ्य क्षेत्रमा नेपालले मारेको फड्को राम्रो भएपनि अझै कानुनी जटिलता हुँदा भने जोखिम देखिने डा. मरासिनी बताउँछन् । २०५६ मा बनेको अंग प्रत्यारोपण ऐनले अंग प्रत्यारोपण गरेको २ वर्षभित्र त्यो व्यक्तिको मृत्यु भएमा सर्जनलाई जन्मकैद गर्ने भन्ने उल्लेख थियो तर त्यो लागू भएन । दोस्रो शंसोधनबाट यो कुरा कानुनबाट हटाइयो । त्यसपछि नेपाल कलेजो प्रत्यारोपण सुरु भएको हो । मिर्गौला र कलेजोको कुरा कानुनमा भएपनि लिंग परिवर्तन, टेस्टट्युब बेवी लगायतका विषयमा स्पष्ट कानुन छैन । कानुन नबन्दा भविष्यमा जोखिम आउन सक्ने भन्दै चिकित्सकले ठूलो चुनौती खेप्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । ‘टिचिङले लिंग परिर्वतन गर्न सक्यो, विभिन्न आइभीएफ केन्द्र छन् तिनले टेस्टट्युब बेवी बनाइरहेका छन्, सरोगेसी आमा बन्ने कुराहरू पनि छन् यसमा स्पष्ट कानुन हुनुपर्छ,’ उनले भने । यो गर्न हुन्छ कि हुँदैन कहाँबाट अनुमति लिइयो, कुन कानुनले त्यसलाई अनुमति दियो भन्ने कुरा आउँछ । चिकित्सकले राम्रो काम गर्यो तर, भोलि कानुनी रुपमा उनीहरू फस्न सक्ने सम्भावना आउन सक्छ,’ डा. मरासिनीले थपे । उनी अस्पताल ऐनको पनि जरुरी रहेको बताउँछन् ।
स्वास्थ्यकर्मीको व्यवहारले थप बिरामी बन्छन् बिरामी
काठमाडौं । दाङकी गोमती गाह मगर बहिनीको उपचारको लागि पाटन अस्पताल पुगिन् । दुई घण्टा लामो लाइन बसेर बल्ल टिकट पाइन् । त्यसपछि उनी चिकित्सकलाई भेट्न गइन् । त्यहाँ पनि लाइन उस्तै थियो । चिकित्सकलाई भेटिसकेपछि उनले बहिनीको समस्याबारे सबै कुरा बताइन् । समस्या अनुसार चिकित्सकले रगत जाँच अल्ट्रासाउण्ड गरेर आउन सल्लाह दिए । प्रायः सरकारी अस्पतालमा उपचार गर्नेहरूको सबैभन्दा ठूलो सास्ती नै लाइनमा बस्नु हो । यो स्वाभाविक पनि हो । किनकि जतिधेरै सेवाग्राहीको भीड हुन्छ त्यति अस्पतालको लाइनमा बस्नुपर्छ । २ घण्टा टिकटको लाइनमा, एक घण्टा चिकित्सक भेट्ने लाइनमा समय बिताइसकेकी गोमतीलाई झण्डै पौने घण्टा फेरि काउण्टरको लाइनमा उभिनुपर्ने भयो । ‘लाइनमा बस्नु त स्वाभाविक नै हो तर कर्मचारी नर्सहरूको बोली व्यवहार फिटिक्कै भएन,’ उनी भन्छिन्, ‘बिरामीले थाहा नपाएको कुरा बुझाइ दिनुपर्ने कर्तव्य, कर्मचारी, नर्स अनि चिकित्सक सबैको होला, तर अस्पतालमा दुई पटक भन्दा बढी सोध्दा कर्मचारी झर्को मान्छन् ।’ थाह नपाएको कुरा सोध्दासमेत नसुनेजस्तो गर्ने, झर्केर बोल्ने प्रवृत्तिले पीडा माथि झन् पीडा थपिने गरेको उनले दुखेसो पोखिन् । अधिकांश सरकारी अस्पतालका आउने सेवाग्राहीको गुनासो गोमतीको जस्तै छ । अस्पतालका नर्स, चिकित्सक लगायतको बोली व्यवहार भएन भन्ने गुनासो अहिले मात्र होइन, धेरै पहिलेदेखि उठ्दै आएको हो । तर अस्पताल प्रशासनले यो कुरामा खासै ध्यान दिएको पाइँदैन। केही दिनअघि पाटन अस्पतालमा बहिनीकै उपचारका लागि एकजना पत्रकारको भोगाइ पनि उस्तै छ । उनी भन्छिन्, ‘नर्स तथा चिकित्सकहरूको व्यवहार रुखो छ, यसले त झन् बिरामीलाई थप पीडा दिन्छ । नजानेको कुरा सोध्दा पनि झर्किन्छन् ।’ दुई महिना अगाडिको कुरा हो- वीर अस्पतालमा छोराको उपचारका लागि पुगेकी एक महिला रुँदै सूचना अधिकारीको कक्षमा पुगिन् । उनले लाइनमा बस्दाखेरि अस्पतालकै कर्मचारीले आफूमाथि हातपात गर्न खोजेको बताइन् । सेवाग्राही र अस्पतालका कर्मचारीबीच बोलाबोल हुँदा हात हालाहालसम्मको अवस्था आएको थियो । अस्पतालका कर्मचारीले नै आफूमाथि यस्तो व्यवहार गरेपछि बिरामीले प्रशासनमा उनको नाममा उजुरी दिइन् । उजुरीका आधारमा उनलाई प्रशासनले सोधपुछ गरेर सम्झाइ छाड्यो । अस्पतालका सूचना अधिकारी सीताराम खड्का अस्पताल पुगेका बिरामीहरू यस्ता उजुरी लिएर धेरै आउने गरेको बताउँछन् । ‘हामीले कतिपय कर्मचारीलाई सम्झाइबुझाइ पनि गरेका छौं, कतिपयलाई कारबाही पनि गरेका छौं,’ खड्का भन्छन्, ‘कहिले कर्मचारीले गाली गर्यो, कहिले हाम्रो पालो मिचेर अर्कोलाई राख्यो भन्ने गुनासा दिएर दैनिक सेवाग्राहीहरूको गुनासो आइरहन्छ ।’ चिकित्सकको व्यवहार पनि उस्तै अस्पतालका कर्मचारी मात्र होइन, नर्स र चिकित्सकको बोली पनि उत्तिकै कठोर छ । चिकित्सकले बिरामीको प्रेस्क्रिप्सनमा लेखिएका अक्षर बिरामीले सितिमिति बुझ्दैनन् । एक पटक भनेको कुरा सबै बिरामीले बुझन सक्दैनन्, दोस्रो पटक सोध्न खोज्दा झनक्क झन्कने गरेको गुनासो पनि सेवाग्राहीको छ । सिन्धुलीकी एक महिला स्त्री तथा प्रसूतिरोग अस्पतालको आईभीएफ केन्द्रमा उपचारको लागि पुगेकी थिइन् । चेकजाँच सकिएपछि चिकित्सकले फेरि तीन दिनपछि आउनू भनेर पठाए । उनले कुनै समस्या देखियो भनेर सोध्दा चिकित्सिकले सबै नर्मल छ भने तर कार्डमा धेरै लामो कुरा लेखिदिए । उनलाई कागजमा केके लेखियो भनेर जान्ने इच्छा भयो । त्यसपछि उनले अस्पताल बाहिर रहेकी एकजना महिला चिकित्सकलाई सोधिन् । ती चिकित्सकले झर्किँदै ‘सबै कुरा बुझ्नै पर्छ भन्ने छ र ?’ भनिन् । उनको तितो बोली स्मरण गर्दै उनी भन्छिन्, ‘अस्पताल जाँदा शारीरिक बिरामीभन्दा स्वास्थ्यकर्मीको बोली र व्यवहारले ठूलो मानसिक पीडा पर्छ ।’ 'भाषा र व्यवहार पनि औषधी हो' बिरामीहरू रोग निको पार्न अस्पताल जान्छन् । अस्वस्थ शरीरले थाकेका बिरामीहरूलाई बोली र व्यवहारले ठूलो ऊर्जा दिन्छ । पूर्वमन्त्री एवं संस्कृतिविज्ञ कान्ता भट्टराई नेपालका अस्पतालमा उपचार गर्न गएका बिरामीहरू चिकित्सक नर्सको व्यहारले झन् बिरामी पर्ने गरेको बताउँछिन् । अन्य देशमा अस्पताल पुगेका बिरामी नर्स डाक्टरको बोली व्यवहारले मजबुत भएर आउँछन् तर यहाँ ठ्याक्कै उल्टो अवस्था रहेको उनी बताउँछिन् । ‘यो विषयमा ठूलो बहस छलफल गर्न आवश्यक छ,’ उनी भन्छिन्,‘ नेपालका सरकारी अस्पताल आफैमा लथालिंग छन्, त्यसमाथि कर्मचारी अनि स्वास्थ्यकर्मीको रुखो व्यवहार छ । अब उहाँहरूलाई बिरामीसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने भन्ने विषयमा पनि सिकाउन आवश्यक छ ।’ चिकित्सकको एउटा मुस्कान र बोलीले पनि बिरामीको आधा रोग निको भएको अनुभव हुन्छ । जीवन मरणको दोसाँधमा रहेका बिरामी तथा आफन्त यस्तो बेला मानसिकरूपमा पनि उत्तिकै विछिप्त हुन्छन् । मनोविद सुकीर्ति देवकोटा ‘एकातिर के हुन्छ, कसो हुन्छ भन्ने डर, अर्कोतिर आर्थिक जोहो गर्नुपर्ने पीरले तनावमा हुने बताउँदै भन्छिन्, ‘यस्तो अवस्थामा चिकित्सक, नर्स वा कर्मचारीको रुखो बोलिले झन् दिकदार लाग्छ । शारीरिक समस्याभन्दा मानसिक समस्याले झन असर गर्ने भएकाले यस्ता कुरा सुधार गर्न आवश्यक देख्छु ।’ मानसिक पीडा शारीरिक जस्तो नदेखिएपनि यसले ठूलो असर पार्ने उनको भनाइ छ । ‘अस्पतालमा कर्मचारी झर्किँदा, नर्सले ठूलो स्वर गर्दा बिरामीलाई अस्पताल जान मन नलाग्ने, केही सोध्न पनि डर लाग्ने जस्ता मानसिक असर थपिन्छ जुन बिरामीहरूका लागि खतरनाक हो,’ उनले भनिन् । यस्ता खालका गुनासा सम्बन्धित निकायमा नपुगेको पनि होइन, दिनहुँ अस्पताल प्रशासनमा उजुरी समेत पर्छन् । स्वास्थ्य मन्त्रालय पनि यो विषयमा जानकार छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी कम जनशक्तिले धेरै बिरामीको हेरचाह गर्नुको परिणाम कहिलेकाँही यस्तो देखिने बताउँछन् । भन्छन्, ‘एकजना नर्सले ५/६ जना बिरामी हेर्नुपर्ने बाध्यता छ, एउटैले धेरैलाई हेर्नुपर्दा समयभन्दा धेरै खटिँदा देखिएको तनावको विष्फोटन बिरामीमाथि भएको हुनसक्छ ।’ नियमअनुसार जनरल वार्डमा एक नर्स बराबर ५ जना बिरामी हेर्नुपर्ने हो तर नेपालमा एकजना नर्सले १५/२० जनालाई हेर्नुपर्ने बाध्यता छ । चिकित्सकहरू पनि यो विषयमा दुई किसिमको धारणा राख्छन् । कतिपय असहमति जनाउँदै एकाध चिकित्सक नर्सहरूले गरेको व्यवहारलाई सबैसँग जोड्न नमिल्ने बताउँछन् भने कतिपय मान्छेको प्रवृत्ति फरक हुने भएकाले यस्ता समस्या हुन सक्ने बताउँछन् । वीर अस्पतालको न्यूरो विभागमा कार्यरत कन्सलटेन्ट न्यूरो सर्जन डा. सुशीलमोहन भट्टराई मान्छेको प्रवृत्तिअनुसार फरक-फरक चिकित्सक हुने बताउँछन् । ‘कोही नर्स यस्ता पनि हुन्छन्, जसले बिरामीको हेरचाह परिवारको भन्दा राम्ररी गर्छन्, कतिपय चिकित्सक पनि उस्तै हुन्छन् तर, मान्छेको प्रवृत्ति हरेकको फरक हुन्छ, तीमध्ये कसैले नराम्रो व्यवहार गर्दा सबै चिकित्सकको नाम जोडिन्छ,’ उनले भने । उनी कहिलेकाँही मान्छेबाट गलत व्यवहार हुनसक्ने भन्दै सुधार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् डा. भट्टराई यसका लागि अस्पतालमा चिकित्सक नर्सहरूका लागि कस्तो खालको वातावरण बनाउने, ड्युटी कति घण्टा कायम गरिने भन्ने बारे ध्यान दिनुपर्ने बताउँछन् ।
जसले आफ्नो कलेजोको टुक्रा काटेर बुवाको प्राण जोगाए
काठमाडौं । ‘बेलाबेला हातखुट्टा झमझम हुन्छ अनि एलर्जी जस्तै पनि हुँदो रहेछ, अरू त सबै नर्मल भइसक्यो, तर अझै बेडरेस्टमा छु,’ बिहीबार नेपाल मेडिसिटी अस्पतालमा भेटिएका आयुष कार्कीले भने । आयुष जसले आफ्नो कलेजाको टुक्रा काटेर बुवाको कलेजोमा जोडेका छन् । उनैको कलेजोले बुवाको प्राण जोगिएको छ । २४ दिन अगाडि बिना हिचकिचाहट आयुषले यो कदम नचालेका हुँदा हुन् सायद उनले बुवा गुमाइसक्नुपर्थ्यो । आफ्नै अङ्गले बुवाको प्राण जोगिँदा उनी निकै खुसी छन्। भन्छन्, ‘बुवाले दिएको यो जीवन बुवाकै लागि चाहिन्छ भने हरेक अंग दिन तयार छु, जसले कलेजको टुक्रा भन्दै हुर्काए, त्यही टुक्राले आमाको सिन्दुर र बुवाको श्वास जोगाउन पाउनु मेरा लागि सबैभन्दा खुसी हो । सबै सन्तान यस्तै हुँदैनन्, कसैले चाहेर पनि गर्न सक्दैनन्, कसैको चाहना नै हुँदैन । धेरैमध्ये कमै सन्तान आयुषजस्तै भाग्यमानी बन्न सक्छन्, जो आफ्ना बाआमाको लागी शरीर चिरेर दिन तयार हुन्छन् । आयुषको घर पोखरा हो । उनी अहिले २६ वर्षका भए । आजभन्दा सात वर्षअघि उनका बुवा ५६ वर्षीय ईश्वर कार्कीको कलेजोमा समस्या देखिएपछि आयुषले आफ्नो अङ्ग दिने निर्णय गरेका थिए । ईश्वर अहिले मेडिसिटी अस्पतालमै आराम गरिरहेका छन् । व्यक्तिको शरीर यस्तो चतुर हुन्छ कि उसलाई आफ्ना र अरूको अंग मजाले छुट्याउन सक्छ । अरूको अंगलाई आफ्नो अंगसम्म मिसाउन समय लाग्छ । त्यो बेलासम्म प्रायः बिरामी चिकित्सकको निगरानीमा बस्नुपर्छ । आयुष बुवाआमा खुसी भएकोमा निकै हर्षित छन् । भन्छन्, ‘ ‘बुबाको आँखामा हेर्छु आँसु र हाँसो सम्मीश्रण पाउँछु, आमाको अनुहारमा हेर्छु उस्तै देख्छु, ७ वर्षको प्रयासपछि हाम्रो परिवारमा खुसी फर्किएको छ,’ उनले भने । उनी घरको जेठो सन्तान हुन् । उनका एक भाइ छन् । पोखरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका उनले बुवाको उपचारका लागि पढाइ छोड्नुपर्यो । ७ वर्ष अगाडिको त्यो घटना ७ वर्ष अघि माघ २५ गते आयुषको परिवार चितवन घुम्न गयो । पोखराबाट चितवन जाँदा ईश्वरले नै गाडी चलाएका थिए । घुमेर फर्किने बेलामा ईश्वरलाई असहज महसुस भयो । पटकपटक बान्ता हुन थाल्यो । गाडी आयुष आफैले चलाएर घर फर्के । त्यो दिन अस्पताल नगई घरमै आराम गरे । ईश्वरलाई विस्तारै फरक लक्षण देखापर्न थाल्यो । उनले मोबाइल हातमा हुँदा कता गयो भन्न थाले, गाडी पार्किङमै हुँदा पनि खोइ कता छ ? भनेर सोध्न थाले । उनका क्रियाकलापले सबैजना छक्क परे । त्यसपछि उनलाई पोखराको ग्यालेक्सी अस्पतालमा लगियो । त्यहाँ जाँच गर्दा उनलाई सिरोसिस रोग लागेको पत्ता लाग्यो जुन कलेजोको खराबीका कारण भएको हो । ईश्वरले समस्या निदान हुँदा रोग तेस्रो चरणमा पुगिसकेको थियो । त्यही भएर डाक्टरहरूले छिटै उपचार गर्न सल्लाह दिए । त्यसपछि आयुषले ढिलो नगरिकन बुवालाई ललितपुरको नक्खुमा रहेको अस्पतालमा ल्याए । आयुषलाई उपचार गर्दा ठिक भइहाल्छ होला भन्ने लाग्यो । अस्पताल ल्याएर उपचार गरी औषधी खाँदा ठीक भएजस्तै देखिन थाल्यो । यतिबेलासम्म पनि सामान्य नै लागेको थियो । एक–दुई महिना सञ्चो हुने फेरि समस्या हुनेक्रम बढ्दै गयो । यो क्रम लामै समसम्म चल्यो । काठमाडौं आऊजाऊ गरेको देख्दा धेरैजनाले आयुषलाई भारतमा गएर उपचार गर्न सल्लाह दिए । उनका आफन्तहरू भारतमा पनि थिए । अहिले पनि धेरैजसो नेपाली बिरामी हुँदा उपचारका लागि भारत नै जान्छन् । ईश्वरलाई पनि भारतमै लिएर उपचार गर्न गाउँ आफन्तहरूले सल्लाह दिए । ‘छिमेकी तथा आफन्तीको सल्लाहबमोजिम मैले बुवालाई लिएर बुवालाई इण्डिया उपचार गर्न गएँ,’ उनले भने । आयुषले बुवालाई भारतको गंगाराम अस्पताल लगे । त्यहाँ जाँच गर्दा चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने उल्लेख गर्दै तत्कालै नगरे पनि हुने जानकारी दिए । नेपालमा गएर काजगपत्र बनाएर बिस्तारै आउनु भन्दै फर्काइदियो । नेपाल फर्किसकेपछि ६ महिनासम्म ईश्वर निको भयो । फेरि ६÷७ महिनापछि उस्तै समस्या सुरु भयो । आयुषले फेरि मेडिसिटी अस्पताल ल्याए । धेरै समय नेपाल अनि भारतका अस्पताल धाउने क्रम चलिरह्यो । फेरि आफन्तहरूले भारतको अपोलो अस्पताल पनि राम्रो भन्दै एक पटक त्यहाँ जान सल्लाह दिए । आयुषले फेरि बुवालाई बोकेर भारत गए । त्यहाँ जाँदा फेरि अर्को तनाव थपियो । चिकित्सकले कलेजोमात्र नभइ मिर्गौला पनि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘अपोलोमा अर्को पीडा थपियो अनि नेपाल आएर सोच्नुपर्छ भन्दै घर फर्कियौं,’आयुषले भने । अनि भयो प्रत्यारोपण कहिले काठमाडौं, कहिले पोखरा, कहिले भारतका अस्पताल धाउँदा आयुष र आमाको बेहाल भइसकेको थियो । मेडिसिटीका चिकित्सकहरूको सल्लाहमा कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो । कागजात मिलाउनु पर्ने प्रक्रिया उत्तिकै झन्झटिलो हुन्छ । अंग प्रत्यारोपण गर्न भने जति सजिलो छैन । परिवारभित्रैको अंग दिन चाहनेहरूले पनि चाहाना राखेरमात्र हुँदैन, यसका लागि रगतदेखि हरेक कुराहरू मिल्नुपर्ने हुन्छ । वडाको सिफारिस, पालिकाको सिफारिस, नाता प्रमाणीकरणदेखि लिएर हरेक कागजात तयार पार्नुपर्छ । ‘कागजात, रगत जाँच गर्न समय लाग्यो यो बीचमा बाबा पनि बिरामी भइरहनु भयोे, एकातिर प्रत्यारोपणको तयारी चलेको थियो अर्कोतिर बुवालाई आईसीयुमै राखेका थियौं, सारै नै तनावको अवस्था थियो,’ उनले भोग्नुपरेको पीडा सुनाए । यो तयारी गरिसकेपछि आयुषले आफ्नो स्वास्थ्यको पनि उत्तिकै हेरचाह गरे । चिकित्सकको सल्लाहपछि बल्ल जेठ ८ गते मेडिसिटी अस्पतालमा आयुषले आफ्नो कलेजेको टुक्रा काटेर बुवाको कलेजोमा जोडिदिए । १३ घण्टा लामो अप्रसेनपछि बाउ–छोराको अप्रेसन सफल भएपछि आमा र भाइको मुहारमा खुसी फर्कियो । चिकित्सकहरूले अंग प्रत्यारोपण जोखिम हुन सक्ने पहिल्यै भनेका थिए । तर बुवाका लागि जस्तोसुकै जोखिम लिन आयुष तयार थिए । भन्छन्, ‘मेरो आँट, बुवाको धैर्यता, आमाको मिहिनेत र चिकित्सकको प्रयासले ७ वर्षपछि बुवालाई कलेजो झिकेर दिन सफल भएँ ।’ सबैलाई यस्तो अवसर मिल्दैन आयुष आफ्नो शरीरको अंग चिरेर आफ्नै जन्मदातालाई दिने अवसर सबैलाई नमिल्ने बताउँछन् । यो मानेमा आफूलाई निकै भाग्यमानी भन्छन् । बुवालाई कलेजो दिने निर्णयले उनलाई धेरैले धेरैथरिका कुरा सुनाए । धेरैले सानै उमेर छ, अहिले नै अंग दिए भोलि के होला, बिहे पनि भएको छैन भन्नसमेत भने । तर उनले कसैका कुरा सुनेनन् । आफ्नो निर्णयमा अडिग रहिरहे । र अन्ततः बुवाको प्राण पनि बचाए । किड्नीको समस्या आफै निको शरीरका एक अर्को अंगको सम्बन्ध कति हुँदो रहेछ भन्ने कुरा ईश्वरमा देखिएको स्वास्थ्य समस्याले पनि थाहा हुन्छ । कलेजोमा खराबी आउँदा मिर्गौलामा समेत समस्या भएको भन्दै मिर्गौलासमेत प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। कलेजो प्रत्यारोपण गरेसँगै अहिले मिर्गौलाले पनि काम गर्न थालेको छ । जति स्वस्थ हुँदा काम गर्थ्यो त्यो मात्रामा नगरेपनि तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ ।
सियोमा सफलता पाएका उद्यमी सञ्जयको कथा
काठमाडौं । १४ वर्षको कलिलो उमेरमा ननिदाएर मेसिन चलाउन नसिकेको भए, दिनरात नभनी काम नगरेको भए सञ्जय तामाङको जिन्दगी अहिले कसरी चलिरहन्थ्यो थाहा छैन । तर, उनको मिहिनेत र सीपले उनलाई उद्यमी बनाएको छ । जुन व्यवसायले उनलाई आर्थिक रूपमा सबल मात्र बनाएन आत्मसन्तुष्टि पनि दिएको छ । तीन वर्षदेखि काठमाडौंको बागबजारमा काजबटन व्यवसाय गरिरहेका सञ्जय कमिज, कोटमा काज बनाइदिने टाँसिदिने काम गर्छन् । तामाङले यो व्यवसाय सुरु गरेको करिब तीन वर्ष भयो । १० लाख लगानीमा एउटा कोठामा सुरु गरेको व्यवसायमा तीन वर्षमा फेरि ७ लाखको अर्को मेसिन थपेर अहिले तीनवटा मेसिनबाट काम गरिरहेका छन् । ‘कोठा त उही छ, ठूलो बनाउन सकिएको छैन तर, तीन वर्षमा लगानी उठेर पनि धेरै फाइदा भइसक्यो,’ उनी भन्छन्,‘ आजभोलि कोट पेन्ट लगाउनेको संख्या बढ्दो छ, सख्या बढेसँगै लुगा सिलाउनेको संख्या पनि बढ्दा काम राम्रै चलिरहेको छ ।’ नेपालमा कोट पेन्ट लगाउने चलन चलेको धेरै भएको छैन । राष्ट्रिय पोशाक नै दौरा-सुरुवाल भएर पनि होला अधिकांशले दौरा-सुरुवाल नै लगाउँथे । समय परिवर्तनसँगै नेपालमा पनि कोर्ट प्वाइन्ट लगाउने चलन बढ्दै गयो । संख्या बढेसँगै बजारमा माग पनि बढी भयो । पहिले जस्तो हातले मात्र काम गरेर हुने अवस्था रहेन । हातको सट्टा सबै काम मेसिनले गर्न थाल्यो । बजारको माग र आवश्यकताको बेला व्यवसाय सुरु गर्दा कमाइ पनि राम्रै भएको तामाङ बताउँछन् । एउटा काज बनाए र बटन टाँसिदिए बापत २० देखि २५ रुपैयाँ लाग्छ । उनी केही कमाइ भएन भन्ने दिन पनि दुई हजारदेखि तीन हजारसम्म कमाइ हुने दाबी गर्छन् । भन्छन्, ‘सिजनमा त राम्रै कमाइ हुन्छ महिनामा डेढ लाख, दुईलाख सम्म पनि पुग्छ, सिजन नभएपनि मासिक ६०/७० हजार कहीँ कतै जाँदैन ।’ सञ्जयको घर रसुवाको सदरमुकाम धुन्चे हो । सदरमुकाम नजिकै घर भए पनि न आर्थिक अवस्था राम्रो थियो, न खान-लाउन पुग्थ्यो । उनी सानै हुँदा काठमाडौं आए । घरको आर्थिक अवस्था पनि कमजोर हुँदा उनको बालापन राम्ररी बित्न पाएन । पढ्न स्कुल समेत जान पाएनन् । कहिलेकाँही साथीहरूसँग गए पनि ड्रेस कापी किताब हुँदैनथियो । उनको यस्तो अवस्था देखेपछि उनको स्कुलको एकजना शिक्षकले उनलाई काठमाडौं ल्याए । ‘तिमी मसँग काठमाडौं जाने हो भने घुमाइदिन्छु भन्दै सरले ल्याएर यहाँ पुगेको हुँ,’ विगतका दिन सम्झँदै तामाङ भन्छन्, ‘यहाँ ल्याएर त मलाई बालमन्दिर राखेर पढ्नुपर्छ भन्नुभयो, सरले मेरो घरको अवस्था देखेरै ल्याउनुभयो होला,’ ‘पारिवारिक तथा आर्थिक अवस्था राम्रो नभएर मैले लगाएको झुत्रेझात्रे कपडा देखेर सायद सरलाई दया लाग्यो होला, सरले काठमाडौं पुर्याउँदा म सानै थिएँ,’ उनले आफ्नो विगत सुनाए । बालमन्दिर पुर्याउँदा विसं २०४६ सालमा सञ्जय तामाङ १२ वर्षका थिए । उनी शिक्षकसँगै काठमाडौं आए । काठमाडौं ल्याएर उनलाई बालमन्दिरमा बसेर पढ्न सल्लाह दिइयो । उनी पनि तयार भए । तर, गाउँको नजिकैको नाता पर्ने काकाले आफ्नो घरमा बस्न लगाए । उनको घर बालमन्दिर नजिकै थियो । उनी छिमेकी काकाको घरमा बसेर बालमन्दिर भर्ना भए । तर, उनले पढाइलाई निरन्तरता दिएनन् । गरिबहरूमाथि अवसर पाउँदा सम्पन्न व्यक्तिले मौका पाउँदा रहेछन् । शिक्षकले बालमन्दिरमा पढाइदिन राखेका तामाङलाई आफ्नै घरमा राखेका काकाले पनि त्यही फाइदा उठाए । उनलाई दिउँसो स्कुल पढाउने र साँझ बिहान घरको काम गर्न लगाए । जबकि अनाथ, गरिब परिवारका बालबालिकालाई बालमन्दिरमा निःशुल्क पढ्न बस्न सुविधा थियो । सञ्जयलाई घरको काम गर्दै पढ्न मन लागेन । उनले पाँच कक्षा पास गरिसकेपछि पढाइ छोडे । पढाइ छाडेर काकाकै घरमा काम गर्दै बस्ने गर्न थाले । तामाङको दैनिकी यसैगरी चलिरहेको थियो । उनी १४ वर्ष पुगिसकेका थिए । उनलाई घरमा काम गरेको देख्दा काकाको घर नजिकैका छिमेकी राजु ठकुरीलाई थाहा थियो । उनी गार्मेन्टमा काम गर्थे । सञ्जयको उनीसँग बोलचाल भइरहन्थ्यो । एकदिन उनले भने, ‘तिमी काम गर्ने हो ? एक ठाउँ काम भेटिएको छ ?’ तामाङले सहर्ष स्वीकार गरे । त्यसपछि उनले गार्मेन्टमा काम गर्न थाले । आफै कमाउन थालेपछि काकाको घर पनि छोडे । गार्मेन्टमा हेल्परको काम २०४८ तिर काठमाडौंको न्युरोडमा पसलैपिच्छे गार्मेन्ट उद्योगहरू थिए । व्यवसायी नेपाली थिएनन् । तर, कामदार सबै नेपाली थिए । लुगा सिलाउनेदेखि काज बटन लगाउनेसम्मको काम गार्मेन्टले दिइरहन्थ्यो । यही मौकामा सञ्जयले पनि गार्मेन्टमा काम सुरु गरे । उनको काम हुन्थ्यो सर्टको कुन ठाउँमा टाँके घर राख्दा हुन्छ भन्दै मार्किङ गर्नुपर्ने । काम पाएपछि उनले रातदिन मिहिनेत गरे । त्यो बेला काम गरेवापत मासिक ९ सय रुपैयाँ पाइन्थ्यो । तर उनले यति मिहिनेत गरेकी महिनाको दुई हजार थाप्न थाले । एक/दुई वर्ष काम गरिसकेपछि उनलाई मार्कर लगाएर बस्न मात्र रुचि भएन । उनलाई मेसिन चलाउने रहर लाग्यो । दिनभरि मार्किङ लगाउने काम गरेर राति कोही नहुँदा मेसिन चलाउन सिके । ‘दिउँसो सिक्ने समय पनि नहुने, अप्रेटरहरूले पनि नसिकाउने, राति सिक्न पाइन्छ भन्दै सुत्न नगइ सिकेको हुँ,’ तामाङ भन्छन्,‘ त्यो बेला अहिलेको जस्तो सीसी क्यामेरा पनि थिएन, राति अप्रेटरहरू सुत्न गइहाल्थे त्यो मौका छाप्दै मेसिन चलाउन जानियो ।’ तामाङले मेसिन चलाउन थालिसकेपछि हेल्परबाट अप्रेटर बने । अप्रेटर बनेपछि उनको तलब पनि बढ्यो । २ हजारबाट ३५ हजार पुग्यो । कामको चापाचाप हुन थाल्यो । उनले ठेक्कामा काम गर्न थाले । विभिन्न कम्पनी अफिसको ठेक्का लिएर काम गर्थे । काम राम्रै चलिरहेको थियो । देशमा सशस्त्र युद्ध सुरु भयो । गार्मेन्ट साहुले कामदारको तलब बढाएनन् । त्यसपछि ट्रेड युनियनले आन्दोलन सुरु गरे । जनआन्दोलन र ट्रेड युनियनको आन्दोलनले न्युरोडका गार्मेन्ट धमाधम बन्द भए । त्यहीबेला उनको जागिर पनि खोसियो । इराकको यात्रा तामाङले ६/७ वर्ष गार्मेन्टमा काम गरे । त्यो बेलासम्म उनी एक्ला थिएनन् । विवाह गरिसकेका थिए । छोरी पनि भइसकेकी थिइन् । जिम्मेवारी पनि थपिएको थियो । यही बेला जागिर खोसिँदा समस्या भयो । उनी विदेश जाने तयारीमा लागे । विदेशका लागि इराक रोजे । त्यहाँ उनको काम थियो वाइरिङ गर्ने । पाँच वर्ष त्यहीँ काम गरे । नेपाल र विदेशमा काम गर्दा अनुभव उनीसँग फरक छ । भन्छन्, ‘आफ्नो ठाउँ भनेको आफ्नै ठाउँ हो, दुःखी बिरामी हुँदा सकिँदैन भन्न पाइन्छ । तर, विदेशमा त्यस्तो हुँदैन । सञ्चो नहुँदा पनि काम गर्नै पर्छ ।’ विदेशमा तोकिएको तलब समयमै थाप्न पाइन्छ । पैसा पनि बच्छ । तर, नेपालमा न राम्रो तलब हुन्छ न पैसा बच्छ । विदेशमा दुःख गरे अनुसार पैसा पनि हुने उनी बताउँछन् । उनी पाँच वर्ष विदेश बसेर २०७१ सालमा स्वदेश फर्किए । होटलमा गरेको लगानी डुबेपछि... तामाङ नेपाल फर्किसक्दा पनि गार्मेन्टहरू बन्द नै थिए । उनलाई काठमाडौं यत्तिकै बस्न मन लागेन । अन्य जागिरको खोज्न न शैक्षिक योग्यता थियो न कुनै सीप । सीप भएका उद्योगहरू बन्द नै थिए । उनले अब आफ्नै व्यवसाय गर्ने योजना बनाए । यही सिलसिलामा उनको भेट एक जना होटल व्यवसायीसँग भयो । थोरै-थोरै लगानी गरेर पनि व्यवसाय गर्न सकिने भन्दै लगानी गरे आफू काममा सहयोग गरिदिने बतायो । उसकै कुरा विश्वास गरी उनले कालोपुलमा सञ्चालनमा रहेको होटल खरिद गर्ने योजना बनाए । ‘मलाई व्यवसाय कसरी गर्ने भन्ने खासै आइडिया थिएन, त्यो भाइले म सहयोग गर्छु भन्दै लगानी गर्न लगायो,’ तामाङ भन्छन्, ‘मलाई लगानीका लागि उक्सायो तर, उनी १५ दिनमा घरमा काम पर्यो भन्दै गएर त्यसपछि कता गए फर्केर आएनन् ।’ उनकै आशामा खोलेको होटल उनै फरार भएपछि चल्न सकेन लगानी डुब्यो । त्यसको केही समयपछि २०७२ सालमा भूकम्प आयो । भएको व्यवसाय पनि भताभुंग भयो । ‘भएको पैसा पनि सकियो, व्यवसाय पनि सकियो, थाहा नभएको व्यवसायमा लगानी गर्दा पाँच वर्ष बसेर विदेशबाट ल्याएको कमाइ यसैमा डुब्यो,’ तामाङले निराश हुँदै भने । व्यवसाय डुबेपछि उनी त्यत्तिकै घरमा बसे । पछि एक जना चिनेको दाईले हातमा सीप भएको मान्छे किन त्यत्तिकै घरमा बसेको काम गर भन्ने सल्लाह दिए । उनले आफ्नै पसलमा काम दिए । मासिक तलब २० हजार थियो । काम राम्रो चल्दै गएको थियो । तर, उनलाई अब आफैसँग भएको सीप प्रयोग गरेर आफै काम गर्न मन लाग्यो । त्यसपछि सुरु गरे काजबटन व्यवसाय । अब आफ्नै व्यवसाय अरूको काम गरिरहँदा तामाङलाई उनको छोरीले आफ्नै काम गर्न सल्लाह दिइन् । उनले पनि यसमा सहमति जनाए । पारिवारिक सल्लाहपछि २०७९ सालमा तामाङले सुरु गरे आफ्नै व्यवसाय । छोरीले पनि सहयोग गरिन् । श्रीमतीले पनि साथ दिइन् । परिवारको हौसलाले सुरु गरेको व्यवसाय सोंचेभन्दा राम्रो चलिरहेको छ । काम अनुसार तामाङलाई तत्काल कर्मचारीको आवश्यक थियो । तर, श्रीमतीलाई पनि काम सिकाएपछि अहिले सहज भएको छ । श्रीमतीले अकाउन्टेन्टको कामदेखि मेसिन चलाउने काम समेत गर्छिन् । ‘आफू पढेलेखेको नहुँदा हिसाबमा कमजोर पनि थिएँ, अहिले जिम्मेवारी श्रीमतीलाई सुम्पिँदा धेरै सहज भएको छ,’ उनले अनुभव सुनाए । उनकी छोरी एउटा कम्पनीमा मार्केटिङको काम गर्छिन् भने छोरा कक्षा ११ मा अध्ययन गर्छन् । ‘मसँगैका पढेका साथीहरू कोही शिक्षक छन्, कोही अधिकृत छन्, तर, मलाई नपढेकोमा पछुतो छैन, उनीहरूले कमाउने तलबभन्दा बढी पैसा मैले पनि कमाइरहेको छु,’ उनले खुसी हुँदै भने । तामाङ सानै हुँदा उनकी आमाको मृत्यु भयो । बुवाले अर्को विवाह गरे । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । स्कुल जानुभन्दा घरको काममा बाल्यकाल बित्यो । समय पाउँदा उनी स्कुल गइहाल्थे । सँगैका साथीहरू स्कुल जाँदा उनी घाँस काट्न जान्थे । ‘किताबका पाना पढ्न नपाए पनि जिन्दगीका पाना राम्रैसँग पढेको छु,’ उनी भन्छन्, ‘मलाई पढाइभन्दा सीप आवश्यक जस्तो लाग्छ, पढाइ नचाहिने भन्ने होइन तर पढाइमात्र भएर हुँदैन रहेछ, म नपढेकोले त सीप भएर जिविका चालइरहेको छु भने पढेकाहरूलाई पनि सीप अनिवार्य छ ।’
संसदीय समितिमै किन अड्कियो शिक्षा विधेयक ?
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दुई साताभन्दा बढी समय बितिसक्दा पनि बस्न सकेको छैन । ‘विद्यालय शिक्षा विधेयक’मा सहमति हुन नसकेका बुँदामा अहिले निरन्तर छलफल चल्नुपर्ने हो । तर सरोकारवालाको गैर-जिम्मेवारका कारण बैठक बस्न नसकेको हो । जेठ ११ गते शिक्षामन्त्री रघुजी पन्तले समितिलाई विधेयकमा देखिएका समस्या समाधानका लागि ७ दिनको समय मागेका थिए । सात दिन भित्रमा समस्या समाधान गरेर काम सुरु गर्ने वचनवद्धता गरेका मन्त्रीले अहिलेसम्म सुझाव दिन सकेका छैनन् । मन्त्रीले सुझाव दिन त परको कुरा संसद्लाई समेत समय दिन सकिरहेका छैनन् । जसकारण समितिको बैठक समेत बस्न सकेको छैन । मन्त्रीले नै बेवास्ता गर्दा समितिको छलफल रोकिएको भन्दै सांसदहरू तोकिएको समयमा विधेयक पारित हुने आंशका व्यक्त गरिरहेका छन् । समिति सभापति अम्बरबहादुर थापा मन्त्रीको व्यस्तताका कारण समितिको बैठक बस्न नसकेको बताउँछन् । ‘मन्त्रीज्यूले ३१ गतेमात्र बैठक बोलाउ भन्नु भएको छ, अब हाम्रो बैठक ३१ गते बस्ने छ, त्यसपछि छलफल गर्नुपर्ने विषयमा निरन्तर छलफल हुने छ,’ उनी भन्छन्, ‘उहाँले म्यादमात्र थप माग्नुभएको छ, सरकार तयार नहुँदासम्म हामीलेमात्र छलफल गरेर भएन, यही अवस्था हो भने १५ गतेभित्र विधेयक पारित हुन्छ हुँदैन भन्न सकिँदैन ।’ ‘हुन त उपसमितिदेखि समितिसम्म हामीले छलफल गर्दै आएका कुराहरू छन्, केही बुँदामा मात्र समस्या देखिएको छ । यसमा पनि सहमति जुटाउनु छ तर निरन्तर सांसद अवरुद्धले पनि के हुन्छ भन्ने भन्न सकिने अवस्था छैन,’ उनले थपे । सासंसदहरू सरकारको चाहना नै विधेयक पारित गर्ने नरहेको देखिएको बताउँछन् । ‘के कारण यस्तो गरिराख्नुभएको छ थाहा छैन तर, यो विधेयक निकै महत्वपूर्ण हो, आन्दोलनका बीचबाट सहमति गरेकाले समितिको धारणा तोकिएको समयमै विधेयक आओस् भन्ने हो,’ समितिका सदस्य एवं सासंद रेखा शर्माले भनिन् । उनी यो विषयमा सरकार नै सहमत नभएको जस्तो देखिएको बताउँछिन् । अधिकांश समितिका सदस्यको धारणा सरकारले नै विधेयक असार १५ मा ल्याउन नचाहेको छ । नेकपा माओवादी केन्द्रका शिक्षा विभाग प्रमुख माया शर्मा निरन्तर यही हिसाबले संसद् अवरुद्ध हुने र सरकारले लचकता नअपनाउने हो भने शिक्षकसँग गरेको सहमतिअनुसार विधेयक पास हुने छाँट नदेखिएको बताउँछन् । सांसदहरू मन्त्रीको वेवास्ता भनिरहँदा यता शिक्षामन्त्री पन्त भने तोकिएकै समयमा विद्यालय शिक्षा विधेयक पारित हुने बताउँछन् । विभिन्न सावर्जनिक कार्यक्रममा बोल्दै उनले विधेयकमा सहमति जुट्न नसकेका विषयमा अहिले पनि शिक्षकहरूसँग छलफल भइरहेको बताउँदै विधेयक पारित हुँदैन कि भन्ने कुरामा शंका नगर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘हामीले शिक्षकहरूसँग लिखित सहमति गरेका छौं, यो विषयबाट भाग्ने भन्ने हुँदैन, यो महिनाभरी मन्त्रालय भित्रको वर्कआउट सक्छौं, त्यसपछि बाँकी काम अरु दिनमा सकेर प्रतिनिधिसभाबाट विधेयक पास गछौं ।’ मन्त्री पन्तले प्रधानाध्यापक संघ नेपाल (पान)ले असार १५ मै भन्ने नभइ राम्रो कानुन असार १७ मा ल्याउँदा पनि हुने भनेको जानकारी दिए । २०७५ सालयता विद्यालय शिक्षा विधेयकमा छलफल हुँदै आएको छ । विधेयकका बुँदाबुँदामा शिक्षा समिति अन्र्तगतको उपसमितिले गहनरूपमा छलफल गरेको छ । धेरै विषयमा सहमति जुटाउन सके पनि केही विषयमा सहमति जुट्न सकेको छैन । शिक्षा विधेयकलाई अझ गहनरूपमा छलफल गर्न गठन गरिएको उपसमितिले पनि निजी विद्यालयलाई गुठीमा राख्ने कि नराख्ने भन्ने विषयमा सहमति जुटाउन सकेन । उपसमितिले बालविकास केन्द्र कति वर्षको बनाउने, निजी विद्यालयलाई गुठीमा राख्न के गर्ने भन्ने लगायतका केही विषयलाई नटुग्याउँदै विधेयक शिक्षा समितिलाई पठाएको थियो । विवादित विषयमा फेरि समितिले छलफल अगाडि बढाएको छ । तर दुई साताभन्दा बढी समयमा समितिको पनि बैठक नबस्दा विवादित अन्योल सिर्जना भएको हो । यस्ता अन्योलमा रहेका विषयमा सहमति जुटाउनुपर्ने भएपनि बैठक बस्न नसक्दा शंका उत्पन्न भएको हो । कडा आन्दोलन गर्ने चेतावनी विवादित विषयमा सहमति जुटाइ गत वैशाख १७ गते सरकारसँग लिखित गरेको शिक्षक महासंघ भने कुनैपनि हालतमा १५ गते विधेयक आउनुपर्ने बताएको छ । महासंघका अध्यक्ष, सहअध्यक्षदेखि महासचिवहरू अहिले पनि नियमित सरकारसँग छलफलमा छन् । निरन्तर छलफल संवादमा रहका महांसघका प्रतिनिधि विधेयक पास गरेरमात्र घर फर्किने बताउँछन्। उनीहरू विवादित विषयमा सहमति जुटाइ तोकिएको मितिमा विधेयक नआए कडा खालको आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी अब पनि सरकारले छक्याउन खोजे नराम्रो मूल्य चुकाउनुपर्ने बताउँछन् । पटक-पटक सडक र भेटघाटमार्फत सरकारलाई दबाब दिँदै आएको स्मरण गर्दै उनले विद्यालय शिक्षा ऐन जसरी पनि तोकिएको समयमा आउनुपर्ने जिकिर गर्छन् । महासंघका सहअध्यक्ष नानुमाया पराजुली देशको राम्रो शिक्षा नीति बनाउन भनेर सरकारलाई यसरी दबाब दिइराख्नु नै अचम्मको विषय भएको बताउँछिन् । ‘हामीले हाम्रो व्यक्तिको समस्या समाधान गर भनेको होइन, शिक्षा नीति राम्रो बनाऔं, देश राम्रो बनाऔं भन्दा पनि पटक–पटक सडकमा पुग्नुपर्ने अवस्था आउनु विडम्बना हो,’ उनी भन्छिन् । यता प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदमप्रसाद गौतम शिक्षा ऐन आउनुपर्छ तर प्रगतिशील आउनुपर्ने बताउँछन् । भन्छन्, ‘हतार गरेर पछि विरोध गर्नुभन्दा सबै कुरा समेटेर विधेयक आउनुपर्छ, हतार गरेर पूरानै ढर्राको आउने हो भने अवस्था उस्तै हुन्छ, केही दिन तलमाथि भए पनि प्रगतिशील विधेयक आउनुपर्छ ।’ २०७५ सालदेखि छलफलको विषय बनेको विद्यालय शिक्षा विद्येयक अहिलेसम्म टुंगिन नसक्नु बिडम्बना हो । हाल देशमा २०२८ सालको शिक्षा ऐनले काम गरिरहनुपरेको छ । पुरानो शिक्षा ऐनले अहिलेको अवस्था र गुणस्तरलाई समेट्न नसक्ने बताउँदै सरोकारवालाहरू विद्यालय शिक्षा विधेयक ल्याउन ढिलाइ गर्न नहुने बताउँछन् । ८० लाख बालबालिकाको जीवनमा खेलबाड विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षक कर्मचारी पटकपटक सडकमा आउँदा यसको प्रत्यक्ष असर बालबालिकामा परेको छ । अभिभावक संघ नेपालका केन्द्रीय सचिव प्रवीण निरौला ८० लाख विद्यार्थीको पढाइ प्रभावित हुनेगरी शिक्षा क्षेत्रमा भइरहेको प्रवृत्तिले उनीहरूको जीवनमाथि नै खेलबाड भएको बताउँछन् । अभिभावक संघले पनि पटकपटक शिक्षा विधेयक चाँडो आउनुपर्छ भन्दै आवाज उठाइराखेको बताउँदै उनले जेठ १५ गते विधेयक आउनुपर्ने बताउँछन् । पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको प्रवृत्तिले बालबालिकामाथि असर परेको उनी बताउँछन् । उनी भन्छन्, ‘समितिका साथीहरूले नै सरकारले यो विषयमा ध्यान दिएन भन्दै आउनुभएको छ । यो कुरा साँचो हो भने भोलि यसले झन् विकराल अवस्था निम्त्याउँछ। यस्तो अवस्था आउन नदिन सरकारले ध्यान दिनुपर्छ ।’
एआईमा पूर्ण रूपमा भर पर्दा नतिजा खराब आउनसक्छ, अहिले राइट गाइडेन्सको आवश्यकता छ {अन्तर्वार्ता}
काठमाडौं । ‘शिक्षा प्रविधिमैत्री हुनुपर्छ’ अहिले नेपालमा बहस हुँदै आइरहेको यो एउटा विषय हो । सरकारले पनि प्रविधिमैत्री शिक्षा बनाउन कम्प्युटर, ल्यापटप वितरण गर्नेदेखि लिएर विभिन्न विद्यालयमा डिजिटल बोर्डहरू समेत राखेको छ । के हामीले भनेको प्रविधिमैत्री शिक्षा यस्तै हो ? शिक्षा र प्रविधिलाई कसरी सँगै अगाडि बढाउन सकिन्छ । अहिलेको अवस्थामा नेपाल प्रविधिको क्षेत्रमा कुन स्थानमा छ ? कम्प्युटर वैज्ञानिक तथा एआई विज्ञ डा. दोभान राईसँग यही विषयवस्तुसँग सम्बन्धित रही विकासन्युजकी इन्द्रसरा खड्काले गरेको कुराकानीको सम्पादित अंश : नेपाली नागरिकमा प्रविधि पहुँचको अवस्था कस्तो छ ? अहिले प्रायः धेरै नागरिकको पहुँचमा फोन र इन्टरनेट पुगेको छ । सामाजिक सञ्जालको प्रयोग पनि त्यहीअनुसार बढ्दै गएको छ तर कसरी प्रयोग गर्ने भन्ने धेरै अन्यौलता छ । अर्थात सही सदुपयोग हुन सकेको छैन । कसरी यसको सदुपयोग गर्ने, यस्ता प्रविधिबाट के सिक्ने भन्ने विषयमा शिक्षा पनि छैन, जनचेतना पनि छैन । यता सरकारले पनि त्यही अनुसारको गाइड गर्न सकेको छैन । समग्रमा भन्नुपर्दा पहुँच बढिरहेको छ तर प्रयोगमा कसरी ल्याउने भन्ने विषयमा चाहिँ ध्यान दिएको छैन । नम्बर बढाउने किसिमले प्रविधिका पहुँच भनियो तर सही कुरा सिकाइएन । शिक्षामा प्रविधिमैत्री शिक्षा हुनुपर्छ भन्ने बहस धेरै हुन्छ खासमा शिक्षा प्रविधिमा कसरी आधारित हुनुपर्छ ? शिक्षा र प्रविधि आफैमा महत्त्वपूर्ण हुन् । समाजलाई कुन बाटोमा कसरी डोर्याउने भन्ने कुरामा दुवैको भूमिका उत्तिकै हुन्छ । प्रविधिले नयाँ कुरादेखि सहजीकरण गर्न नयाँ सम्भावना खोल्ने काम गर्छ । शिक्षा झन् पुरानो संस्था हो । हुन त एक तरिकाले प्रविधि केलाई भन्ने कुरा पनि आउँछ । मान्छेले आगोको विकास गर्यो, यो पनि त एउटा प्रविधि हो । तर हामीले अहिले जुन डिजिटल प्रविधि भन्छौं यो पनि मान्छेको दिमाग, सूचना सञ्चारसँग सम्बन्धित कुरा हो । शिक्षाले पनि गर्ने त्यही हो । प्रविधि र शिक्षालाई सघाउनुपर्ने भन्ने कुरा अहिले उठिरहेको छ र यसो भन्दैमा यसलाई एउटैमा थुपारेर राख्न पनि हुँदैन । प्रविधिको विभिन्न आयाम हुन्छ । त्यसैले शिक्षामा पनि प्रविधि जोड्न कस्तो खाले जोड्ने, कहाँ के गर्ने, कुन विद्यार्थीलाई कसरी गर्ने भन्ने कुरामा गहन तरिकाले बुझ्न आवश्यक छ । शिक्षामा हुनुपर्ने प्रविधि कस्तो हो ? नेपाली शिक्षा प्रविधिको कुरा गर्दा नेपाल सरकारले आईसीटी एजुकेसन भनेर कार्यक्रम सुरु गरेको पाइन्छ । किन कापी किताबमा मात्रै सीमित हुने, कम्प्युटरबाट पढाऔं भन्ने हिसाबले सुरु गरियो । किताबमा लिमिटेसन हुन्छ । कम्प्युटर जस्तो श्रव्यदृश्य हुँदैन, जिओग्राफी, हिस्ट्री पढ्नलाई किताबको कुरा पढाएर मात्र हुँदैन । त्यो के हो ? कस्तो हुन्छ भने पढाइसँगै देखाउने बुझाउने काम पनि प्रविधिले गर्छ । सूचनालाई विस्तृत तरिकाले रमाइलो गरी कसरी बनाउने भन्नेमा कम्प्युटरको ठूलो भूमिका हुन्छ । किताबको पाना सीमित हुन्छ, प्रिन्ट गर्न पैसा लाग्छ, पटकपटक परिवर्तन गर्न सकिँदैन । योभन्दा कम्प्युटरबाट अथाह सूचना अनि चाँडै जानकारी लिन सकिन्छ । यसरी नेपालको सुरुवातामा शिक्षामा प्रविधि आयो भने बिस्तारै कक्षाकोठालाई पनि एन्टरएक्टिभ ( यस्तो प्रणाली, प्रक्रिया वा प्रविधिलाई जनाइन्छ जसमा प्रयोगकर्ता र प्रणालीबीच दुईतर्फी सञ्चार हुन्छ । ) बनाउन स्मार्टबोर्डको कुरा आयो । यसले शिक्षक, विद्यार्थी र कक्षाकोठामा पनि आकर्षण देखियो । अर्को कुरा नेपालमा कोभिडको समयमा इन्टरनेटमार्फत पनि कक्षा सञ्चालनमा आयो । नयाँनयाँ टुल्सहरू पनि आइरहेका हामी देख्न सक्छौं । अहिले भने एआईको पनि प्रयोग हुन थालिएको छ । शिक्षामा एआईको प्रयोग कसरी गर्न सकिन्छ ? एआई भनेको वृहत प्रविधि हो । यसमा फरकफरक प्रविधि छन् । एउटा शिक्षकले कक्षाकोठाका सबै विद्यार्थीहरूलाई ध्यान दिन सकेको हुँदैन । कुनै विद्यार्थीले धेरै बुझिसकेका हुन्छन् त कसैले बुझेको हुँदैन । कसैलाई एउटै कुरामा धेरै सहयोग चाहिन्छ, कसैलाई एकैपटक भन्दा पनि भइहाल्छ । यस्तो अवस्थामा प्रविधिको साथ आवश्यक पर्छ । कम्प्युटरसँग विद्यार्थीले कुरा गर्दा विद्यार्थी कहाँ अड्केको छ, केमा सिकाउनु पर्ने, कसरी सिकाउनुपर्ने हो भन्ने कुरामा ध्यान दिन्छ । एआईको प्रयोग पढाउनदेखि होमवर्क गराउनसम्म सहज हुन्छ । एउटा शिक्षकलाई ५० जनाको होमवर्क गर्न गाह्रो हुन्छ । यसका लागि पनि एआईले अटोमेट गरिदिने कि भन्ने खालको कुरा पनि आइरहेको छ । एआईसँग विद्यार्थीले आफ्ना जिज्ञासा मेटाउनुका साथै विभिन्न वस्तुमा रुचि बढाउन पनि सक्छन् । एआई च्याटजीपीटीले भनेको उत्तर कति सही हुन्छ ? के विद्यार्थीले यसमा विश्वास गर्न सक्छन् ? नेपालमा कतिपय विद्यार्थीले च्याटजीपीटीलाई गुरु मानेर पनि सिक्न सक्ने वातावरण बनेको छ । तर च्याटजीपीटी, जेमीनी एआई जति पनि अहिले आइरहेका छन् यिनीहरूको आफ्नै विशेषता छ । यो यही कामको लागि भनेर बनाएको होइन । त्यसैले सहयोग पनि गर्न सक्छ तर कहिलेकाँही सोचेको भन्दा विपरीत अर्को परिणाम पनि दिनसक्छ । यसैको भर परिहाल्नु भने हुँदैन । जता पनि बहकिन सक्छ । त्यसैले विद्यार्थीको लागि राइट गाइडेन्स आवश्यक पर्छ । यो प्रविधि प्रयोग पनि गर्नुपर्छ तर यसमा एउटा गाइड गर्ने मान्छेको आवश्यक देखिन्छ । नेपाली शिक्षामा एआईको प्रयोग गर्दा हामी विश्वको कुन स्थानमा छौं ? कुनैकुनै तथ्यांक हेर्ने हो भने धेरै प्रविधि प्रयोग गर्नेमा नेपालीहरू पनि पर्छन् । सामाजिक सञ्जाल फेसबुक, टिकटक, युटुब कन्टेनमा हेर्ने हो भने हामी धेरै अगाडि छौं । यो हामी आफैले स्वस्फूर्त रूपमा चाहेर प्रयोग गरेको भयो । प्रविधिको प्रयोग एक तरिकाले व्यापक छ । तर त्यसको सही प्रयोग भएको पाइँदैन । अघि भनेको जस्तै हामीले टिकटक हेर्नलाई मात्र, युटुब हेर्नलाई मात्र होइन । हुन त यसको पनि आफ्नो भ्यालु छ । तर यसमा सूचना बाहेक हाम्रो आफ्नो नयाँ विचार, तरिका, केही कुरा सिर्जना गर्ने क्षमता अथार्त क्रिएटिभिटी, उत्पादकता अर्थात प्रडक्टिभिटीमा हामी धेरै पछाडि छौं । यसमा मैले यकिन अध्ययन त गरेको छैन तर, समग्ररुपमा हेर्दा यो पाइन्छ । गलत सूचना केही आउनेबित्तिकै पत्याइहाल्ने, त्यसैको पछाडि लाग्ने प्रवृत्ति बढ्दै गइरहेको छ । सही तरिकाले प्रयोग गर्न विद्यार्थी, शिक्षकले कसरी संयमतता अपनाउने ? सरकारले गर्न खोजेको छ तर ढंग पुगेको छैन । सरकारले गर्नुपर्छ भनेर जिम्मेवारी त गराउनुपर्ने नै हो तर हरेक कारण कहिले सत्ता परिर्वतन भइराख्छ । कहिले राम्रो मान्छे सरकारमा सहभागी होलान्, कहिले सही नियत नभएकाहरू पनि सरकारमा पुग्ने हुन्छ । यस्तो अवस्थामा हामीले सरकारलाई झकझक्याइ राख्नुपर्छ तर सबैले सरकारलाई मात्र दोष देखाएर नयाँ युवा, बालबालिकाहरूको भविष्य धरापमा राख्नु भएन । यसका लागि शिक्षक, अभिभावकका संघसंस्थाहरूले सामाजिक जागरण खालको पहल गर्नुपर्ने देखिन्छ । यसो नगरिकन यो समस्या हल हुने म देख्दिनँ । सचेतनामूलक अभियान चलाउनुपर्छ । अहिले नियममात्र बनाएर कुनै एक व्यक्तिले आवाजमात्र उठाएर, माइतीघरमा मात्र आएर समस्या समाधान हुँदैन । यसको लागि ईको सिस्टममा परिवर्तन गर्नुपर्छ । एआईको प्रवेशसँगै हरेक क्षेत्रमा कर्मचारी कटौतीको कुराहरू पनि उत्तिकै सुनिन्छ, के शिक्षा क्षेत्रमा शिक्षकको जागिर जाने सम्भावना पनि छ ? हामीले देख्दै आएको प्रविधि आएपछि केही मान्छेले गर्ने काम परिवर्तन हुँदै नै जाने हो । तर प्रविधि जति शक्तिशाली हुन्छ त्यति मान्छेको जागिर जाने दर पनि बढ्दै जान्छ । यसमा एआई अझ धेरै शक्तिशाली प्रविधि छ । पहिले मान्छेलाई गाह्रो लाग्ने काम मात्र गर्थ्यो भने अहिले सबै कुरा गरिदिन थालेको छ । यसमा आंशिक सत्य पनि छ । नेपालमा अझै पनि एआईको राम्रो एडप्सन भइसकेको छैन । अमेरिकातिर हेर्ने हो भने नयाँनयाँ कलेजबाट निस्केको विद्यार्थीले जागिर पाउन गाह्रो भइसकेको छ । किनभने धेरैकुरा अटोमेट भइरहेको छ । हलिउड, मिडिया लगायतका विभिन्न पेशामा धेरैजनाको जागिर गइरहेको छ । तर यो भन्दैमा शिक्षामा सजिलै जागिर नगइहाल्ला । किन भन्दा एआईले विद्यार्थीलाई पढाउने सम्भावना त राख्छ तर हामीसँग त्यस्तो खालको अवस्था छैन । विद्यार्थीले सिके पनि उसलाई गाइड गर्ने मान्छे चाहिन्छ । स्कुल भनेको सूचनामात्र होइन, चरित्र निर्माण पनि हो । समूहसँग मिलेर काम गर्न, समय व्यवस्थापन गर्न आदि लगायतका कुराहरू सिक्नुपर्ने हुन्छ । शिक्षा भनेको मान्छेलाई मान्छे बनाउने ठाउँ हो । यस्तो अवस्थामा तत्काल शिक्षकहरूको जागिर नै गइहाल्ला भने लाग्दैन । तर मोडालिटी परिर्वतन हुन सक्छ, जबको नेचर परिवर्तन हुन सक्छ । बाहिरतिर पनि उच्च शिक्षामा कलेजको औचित्य केहो त भन्ने प्रश्नहरू पनि आइरहेका छन् । यसले एक किसिमको बहस त ल्याउँछ तर मान्छे नै नचाहिने भन्ने होइन । नेपालको उच्च शिक्षामा एआई प्रविधिको प्रयोग कत्तिको पाउनुभएको छ ? नेपालमा आधिकारिक रूपमा एआईको प्रयोग भइरहेको छ । संस्थाले पनि यो एआई प्रयोग गर, यो नगर भनेर छुट्याएको पनि देखेको छैन । अहिलेसम्म जति गरेको छ व्यक्ति आफैले प्रयोग गरिरहेको पाइएको छ । अहिले शिक्षक विद्यार्थीले एआईको प्रयोग गरिरहेका छन् । एक वर्ष अगाडि टियूले विद्यार्थीलाई एआई प्रयोग गर्न भनेको थियो । एआई परीक्षामा प्रयोग गर्दा कसरी गर्ने, गृहकार्यमा गर्दा कसरी गर्ने, प्रोजेक्टमा कसरी कसरी प्रयोग गर्ने भन्ने विषयमा गहिरो तरिकाले फ्रेमवर्क तयार नगरी चलाउन हुँदैन । पढाइको हिसाबमा स्वदेश र विदेशमा के फरक छ ? म बाहिर पीएचडीको लागि पढ्न जाँदा स्नातक तहका विद्यार्थीलाई पढाउने अवसर पाएकी थिएँ । अमेरिका सबभन्दा सम्वृद्ध देश, नेपाल विकासोन्मुख देश, दुई देशको पढाइको कुरा गर्दा नेपालको केही कमजोर प्रणाली नै छ । यहाँ निजी क्षेत्रमा कुनैकुनै सामुदायिक विद्यालयमा पनि उदाहरणीय काम गरेको छ । तर समग्रमा भन्नु पर्दा नेपालका विद्यार्थीहरूलाई ठूलो अन्याय गरेका छौं । रिसोर्स नै नपुगेपनि जति उपलब्ध छ त्यो अनुसारको ध्यान दिएको पाइँदैन । कक्षा १० सम्म निजी शैक्षिक संस्थामा केही राम्रो प्रयास देखिएपनि उच्च शिक्षामा नेपालको स्थिति भयावह नै छ । जोसँग पैसा छ उसले ब्याचलर्स, मास्टर्सका लागि छोराछोरी बाहिर पढाउँदा यहाँ जसले बाहिर पठाउन सक्दैन उसको बच्चाहरूमात्र अध्ययन गरिरहेको पाइन्छ । बाहिरको कुरा गर्ने हो १२ सम्म सरकारले हेरेपनि माथिल्लो तहमा धनी र गरिबले पढ्ने शिक्षामा फरक नै पाइन्छ । अब भन्नूस् पढाउने तरीका कस्तो हुनुपर्छ त ? त्यहाँ शिक्षकहरू धेरै मिहिनेत गर्नुपर्छ । यति गर्नुपर्छ कि म आफै शिक्षक हुँदा छक्क परेँ । विद्यार्थी भन्दा बढी मिहिनेत शिक्षकले गर्दा नतिजा पनि राम्रो आउँछ । सिस्टम हुन्छ । तर हाम्रो यहाँ यस्तो हुँदैन । शिक्षकले यहाँ मिहिनेत गरेको देखिदैन । यहाँ सबै शिक्षकहरूले आ आफ्नै तरिकाले पढाउँने गरेको पाइन्छ । यो ज्ञान पनि विद्यार्थीले राम्ररी पाएको हुँदैन । कसरी पढाउँदा यसका राम्रो प्रभाव पर्छ यसको रिसर्च पनि हुँदैन । यो विषयमा गहन तरिकाले छलफल पनि भएको पाइँदैन । यहाँ शिक्षण पेशा पनि ज्यालादारी काम जस्तो भएको छ । यसो हुँदा गुणस्तर हुँदैन । मैले यसो भनिरहदा कतिपय राम्रो काम गरिरहेका शैक्षिक संस्थाहरूले गरेको कामलाई नजरअन्दाज गरेको होइन । तर जस्तो हुनुपर्ने त्यो भएन । यसमा हामीले इँटा थप्दै जानुपर्छ । यहाँ यस्तो हुँदैन । नेपालमा भइरहेको प्रयास कस्तो पाउनुभयो ? नेपालमा प्रयास नभएको होइन भएको छ । केही कलेजहरूले नयाँ केही गरौं भन्ने प्रयास छ तर यहाँ के लिमिटेसन देखे भने निजी संस्थाहरूको पनि भरपुर रिसोर्स छैन । भाडा तिर्नुपर्छ आफ्नै बनाउन खोज्नेहरूको पनि पूर्वाधारमै लगानी धेरै लाग्छ । यसले चाहेर पनि शिक्षामा राम्रो गर्न सक्दैन । सामुदायिक विद्यालयमा पूर्वाधार छ तर उसले गरिसकेको छैन । गर्न चाहनेहरूसँग पूर्वाधार छैन, पूर्वाधार भएकाहरूसँग राम्रो जनशक्ति छैन । निजीसँग जनशक्ति छ तर पूर्वाधार छैन । यो लिमिटेसनले गर्दा समस्या भएको देखिन्छ । यहाँ एउटा योजना पनि भएन अर्को दिगो हुन्छ कि हुँदैन भन्ने डर पनि छ । यहाँ कुन पेशामा म कति टिक्छु भन्ने नै यकिन छैन । सबैको ध्यान आफू कसरी टिक्ने भन्नेमा मात्र केन्द्रित भयो यसो हुँदा झन् समस्या निम्तियो । यो प्रवृत्तिले जुन हामीले खोजिरहेको र चाहिएको प्रविधिसहितको शिक्षामा कस्तो असर पर्छ ? अहिले नेपालमा भइरहेका धेरै काम नतिजाका आधारमा भन्दा देखाउने आधारमा भइरहेको पाइन्छ । निजी र सरकारी संस्था मिलेर केही गरौं भन्ने विश्वासको वातावरण नभएसम्म साँच्चिकै गुणस्तरको काम गर्न सकिँदैन । शिक्षामा पनि प्रविधिसहितको शिक्षा भनियो । त्यही अनुसार डिजिटल बोर्ड पनि राखियो तर त्यहाँ के पढाउने भन्ने छैन । आवश्यक भएको ठाउँमा सामग्री छैन, सामग्री भएको ठाउँमा जनशक्ति छैन । सरकारले सामान किन्ने, सफ्टवयेर किन्ने भन्ने छ । यहाँ के कता केही तालमेल नमिलेको अवस्था छ । शिक्षकलाई प्रविधिमैत्री कसरी बनाउने ? नेपालका कुनै सामुदायिक विद्यालयले राम्रो प्रयास गरेका छन् । मेरै मामाघरको एउटा जाल्पा माविले पनि राम्रो प्रयास गरेको मैले देखेकी छु । एउटा सानो विद्यालय, शिक्षकले राम्रो प्रयास गर्यो भने पनि यसको प्रभाव कम हुन्छ । यसो हुँदा उसलाई सहयोग गर्ने सघाउने पनि थाक्छ । यहाँ जति पनि प्रयास भएको छ एकजनाले अलि अलि गरेर भएको छ । प्रयासहरू छिटफुट रूपमा भए तर एकमुष्ट तरिकाले भएनन् । अब हाम्रा बच्चाहरूले अहिलेको अवस्थामा विश्वका मान्छेसँग भिड्नसक्ने चाहिँ बनाउनुपर्छ । नेपालमा सर्टिफिकेट एकदम सस्तो भइसक्यो । यो दिँदा पनि एक मापदण्ड हुनुपर्यो । परीक्षा दिएकै भरमा सर्टिफिकेट पाउने पनि राम्रो भएन । पढाइ केको लागि भन्ने कुरा आउँछ । कुनै पनि व्यक्ति जसले ब्याचलर्स, मास्टर्स गरिसकेको छ भने उसलाई आउनै पर्ने काम के हो ? आईटी पढ्ने विद्यार्थीले कुनै एप्लिकेशन बनाउन सक्नुपर्यो, सामाजिक विज्ञानको विद्यार्थीले एउटा विषलाई विश्लेषण गर्नसक्ने हुनुपर्यो । यस्ता खालका विविध कुराहरू हेरिनुपर्छ । अहिले सूचना प्रर्याप्त छ तर त्यसलाई मूल्यांकन गर्न सक्ने विद्यार्थी हुनुपर्छ । म उपभोक्ता मात्र होइन, म आफैले पनि केही नयाँ दिनसक्नुपर्छ भन्ने हुनुपर्छ । एउटा मास्टर्स गरेको मान्छेले अरुले गराएको काम गर्नेमात्र होइन, यसलाई यो तरिकाले गर्न सकिन्छ कि भन्नसक्ने हुनुपर्छ। शिक्षा र प्रविधि सँगसँगै अगाडि बढाउन के गर्नुपर्छ ? यो एक जना व्यक्ति अथवा संस्थाले गरेर मात्र हुने कुरा होइन । समष्टिगत रूपमा इकोसिस्टममा जानुपर्ने हुन्छ । यसमा अनुसन्धानको पाटो पर्छ, पूँजीको कुरा पर्छ, स्थानीय तहको कुरा आउँछ । मलाई के लाग्छ भने युवाहरू धेरै भएको, शिक्षाको लामो इतिहास नभएको, धेरै शिक्षित नभएको हाम्रो जस्तो मुलुकमा प्रविधि राम्रो पुलको रूपमा आउन सक्छ । तर प्रविधिको सही सदुपयोग गर्न सक्नुपर्छ । यसमा हाम्रो छुटिरहेको पाटो भनेको अनुसन्धान हो । शिक्षा र प्रविधिलाई समेटेर एउटा अनुसन्धान गरेर खाका मात्र बनाउन सक्यो भने पनि राम्रो गर्न सकिन्छ ।
गाउँलेले नपत्याएका डाक्टर अहिले उत्कृष्ट न्यूरो सर्जन
काठमाडौं । एउटा १०/१२ वर्षको बच्चालाई आमाले आँखा चिम्लेर काखमा कसेकी छन् । बच्चा जोडले चिच्याइरहेको छ । यता चिकित्सकले मजाले लुगा सिलाएजस्तै चुँडिन लागेको औंला सिलाइरहेका छन् । अब सम्झनूस् त यो क्षण कस्तो थियो होला ? एउटा बालकलाई कति पीडा भएको हुँदो हो ? बच्चा रोएर छट्पटाएको देख्दा आमाले कसरी आफूलाई सम्हालेकी थिइन् होला ? आजभन्दा करिब १८ वर्ष पहिले दुर्गम पहाडी क्षेत्रको स्वास्थ्य अवस्था यस्तै थियो । कुनै अप्रेसन गर्नुपर्दा घाउमा बोरा सिलाएजस्तै गर्नुपर्थ्यो । जहाँ न कुनै अप्रेसन गर्ने मेसिनहरू थिए न त बिरामीलाई दुखाइ कम गर्ने औषधी नै । डा. सुशीलमोहन भट्टराईलाई अहिले त्यो दृश्य सम्झँदा सपना जस्तै लाग्छ । ‘नाइलनको डोरी भकभक उम्लिरहेको पानीमा पकाएर लुगा सिलाए जस्तै सिलाउँदाको त्यो दृश्य अहिले सम्झँदा पनि डर लाग्छ,’ उनी भन्छन्, ‘मैले पहिलोपटक अप्रेसन यसरी नै गरें, त्यतिबेला बेला न राम्रो औषधी, थियो न उपकरण । जे छ त्यसमै प्रयास गर्नुको विकल्प थिएन ।’ अहिले दूरबिनबाट घाउ नबनाएरै शरीरको अंगअंगको अप्रेसन गरिरहेका भट्टराई आफूले १८ औं शताब्दीको तरिकाले उपचार गरेको अनुभव सुनाउँछन् । डा. सुशीलमोहन भट्टराई नेपालको चिकित्सा क्षेत्रका एक प्रतिष्ठित न्यूरो सर्जन हुन् । अहिले उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जनको रूपमा काम गरिरहेका छन् । यस क्षेत्रमा उनको अनुभव, समपर्ण र दक्षता प्रशंसनीय छ । ब्रेन ट्युमर, इस्पाइनल डिसअर्डर र न्यूरोलोजिकल जटिलताहरूको सजिर्कल उपचारमा गहिरो विशेषज्ञता हासिल भएका भट्टराई आजभन्दा १७ वर्ष पहिले विभिन्न ग्रामीण बस्ती पुग्दा गर्नुपर्ने उपचारको प्रक्रिया माथि उल्लेख गरिएअनुसार थियो । उनी चिकित्सा क्षेत्रमा प्रवेश गरेसँगै धादिङ, इलाम, धरान पुग्दा यसरी उपचार गर्नुपर्ने अवस्था थियो । जहाँ काम गर्दा उनले फरकफरक अनुभव सगाल्ने अवसर पाए । भन्छन्, ‘उपत्यका बाहिर काम गर्दा पाइलापाइलामा फरक अनुभव हुन्छ, प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती हुन आउने महिलालाई मैनबत्ती बालेर सुत्केरी गराउँदाको क्षण कस्तो दर्दनाक थियो, अहिले त नेपालको स्वास्थ्यले धेरै फड्को मारिसक्यो ।’ अवस्था उस्तै रहेन । अहिले सबै अंगप्रत्यंग सजिलै हेर्नसक्ने प्रविधि नेपाली स्वास्थ्य क्षेत्रमा उपलब्ध छन् । होसमै राखेर पीडा हुन नदिनेदेखि बेहोस पारेर हरेक अंगमा देखिएका विकार झिक्न सक्ने उपकरण छन् । यस्ता प्रविधिले उपचार गरिरहँदा कहिलेकाँही विगतका स्मरणले घोच्दा भट्टराईको मन चिसो हुन्छ । अहिले सहरमा मात्र होइन, हरेक वडामा स्वास्थ्य संस्था छन् । हरेक पालिकामा अस्पताल छन् । १८ वर्षमा पनि नेपालको स्वास्थ्य क्षेत्रले निकै ठूलो फड्को मारेको उनी बताउँछन् । गाउँलेले नपत्याएका डाक्टर भट्टराईको बाल्यकाल पोखरामै बित्यो । कक्षा १० सम्म उनले पोखरामै पढाइ गरे । एसएलसीपछि उनी डाक्टर बन्ने सपनामा काठमाडौं पसे । जुन सपना बोकेर काठमाडौं पसेका थिए, यो सपना पूरा भएको १८ वर्ष भइसक्यो । उनले आइएस्सीपछि काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरे । एमबीबीएस सकेर लगत्तै चिकित्सा क्षेत्रमा प्रेवेश गरेका उनी उपत्यकाभन्दा बाहिर कामका लागि गए । ग्रामीण स्थानमा पुग्दा गाउँलेहरूले उनलाई पत्याएनन् । झट्ट हेर्दा भर्खरको २२–२३ वर्षको अल्लारे ठिटो । त्यो बेला गाउँलेहरूलाई उनी डाक्टर हो भन्ने विश्वास नै लाग्दैन्थ्यो । अस्पतालमा आउँदा उनलाई धेरैले सोध्नै चाहँदैनथिए । सोधिहाले पनि उनले प्रेस्क्रिप्सन गरेको औषधी पनि पत्याउँदैनथिए । भन्छन्, ‘ऊ राम्रो डाक्टर हो, भर्खर पढेर आएको भनेर गाउँलेलाई सम्झाउन अस्पतालका नर्स, ल्याब र औषधी पसलेहरूले धेरै मिहिनेत गर्नुपर्यो ।’ उपचार गर्न भारत जानेको लर्को देख्दा अचम्मित भट्टराई जागिरको सिलसिलामा पूर्वी इलाममा पुग्दा अनौठो दृश्य देखे । जहाँ सामान्य बिरामी पर्दा पनि उपचारका लागि नेपालीहरू भारत जान्थे । टाउको दुख्दा होस् या पेट दुख्दा भारतको दार्जिलिङ र सिलगुढीका अस्पतालमा नेपालीको भीड लाग्थ्यो । नेपालमा उपचार हुन्छ, औषधी पाइन्छभन्दा पनि नागरिकहरूले पत्याउँदैन थिए । सामान्य उपचारका लागि भारत पुगेकाहरू फर्किँदा कार्टुनभरि औषधी बोकेर फर्कन्थे। बिस्तारै भट्टराईले जनचेतना अभिवृद्धिका काममा लागे । नेपालमा हुनसक्ने उपचारका लागि भारत गइरहन पर्दैन भन्दै सबै नागरिकलाई सम्झाउन चेतनामूलक कार्यक्रमको आयोजना गरियो । नागरिकले पनि विस्तारै विश्वास गर्दै गए । अहिले त्यो क्षेत्रमा सामान्य उपचारका लागि भारत जाने संख्यामा निकै कमी आएको छ । भन्छन्, ‘यो स्वास्थ्य सेवामा भएको राम्रो प्रगति हो । नागरिक बुझ्न थाले, स्वास्थ्यप्रति ध्यान दिन थाले। यो खुसीको कुरा हो ।’ वीरमा काम गर्दाको अनुभव कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएकोे छ । काठमाडौं बाहिर सामान्य सिटामोल नपाइने अवस्था थियो । अहिले विशेषज्ञ डाक्टर हरेक जिल्लाजिल्ला पुगिसकेको छन् भने सघन उपचार कक्ष (आइसीयु), भेन्टिलेटर सेवा, अप्रेसन आदिइत्यादि सेवा पनि पाइन्छ । भट्टराईले वीर अस्पताल काम गर्न थालेको ९ वर्ष भयो । अहिले उनले टाउकाको जटिल अप्रेसन पनि गर्छन् । यस्ता जटिल अप्रेशन गर्न अनुभव र एउटा टिमवर्क चाहिने बताउँछन् । ‘समूहमा काम गर्दा जटिलता धेरै कम हुन्छ,’ उनी भन्छन्, ‘यो बाहेक कतिपय अवस्थामा जटिलता आउँछन् र तिनीहरूको सही समयमा पहिचान र उपचार गर्दा व्यक्तिको ज्यान जोगाउन सफल भइन्छ ।’ यसका लागि प्रविधिले धेरै सजिलो बनाइदिएको छ । उनी विश्वस्तरिय प्रविधि प्रयोग गरेर उपचार गर्न पाउँदा कृतज्ञ बनेको बताउँछन् । भट्टराई कहिलेकाँही उपचारमा जटिलता आउनुलाई स्वभाविक ठान्छन् । भन्छन्, ‘संसारभरि उपचार गर्दा जटिलता नआउने भनेको हुँदैन । जुनसुकै चिकित्सकले गर्दा पनि यस्तो समस्या आउँछ । तर हरेक चिकित्सकले आफ्नो विशेषज्ञाता भित्र आफ्नो उपचारलाई सही सटिक र प्रभावकारी बनाउने हरेक प्रयास गरेको हुन्छ ।’ कहिलेकाँही विरामीको अवस्था देखेर आफन्तहरूले आस मारिसकेको अवस्थामा उपचारपछि बिरामी हिँडेर घर जाँदाको खुसी अर्कै हुन्छ । नसोचेको खुसी केही समय पहिले एकजना महिलालाई प्रहरीले बोकेर अस्पताल ल्यायो । बेवारिसे अवस्थामा सडकमा भेटिएकी उनी अचेत थिइन् । इमरर्जेन्सीमा ल्याएर उनको सिटिस्क्यान गरियो । टाउकोमा ठूलो परिमाणमा रगत जमेको देखियो । ती महिलाको धड्कनमात्र बाँकी थियो । बाँच्ने आशा समेत कमै थियो । अस्पतालले सबै व्यवस्थापन गरेर उपचार गर्यो । भेन्टिलेटरमा राखेर उपचार गर्दा उनको बल्ल प्राण जोगियो । उपचार गरेको तेस्रो दिन बल्ल उनले आँखा खोलिन् भने चौथो दिन बोल्न थालिन्, पाँचौं दिन बुझिने गरी कुरा गर्न थालेपछि चिकित्सकहरूले सोधे । धेरै दिनसम्म उनी को हुन् भनेर पहिचान हुन सकेन । चिकित्सकले आईसीयूमै विभिन्न प्रश्न गरे । लामो प्रयासपछि उनलाई आफन्त कसैको नम्बर याद छ भनेर नम्बर सोध्न सुरु गरियो । उनले नम्बर भन्दै गइन्, चिकित्सकले नम्बर डायल गर्दै फोन गर्न थाले । तर नम्बर जहिल्यै गल्ती हुन्थ्यो । तर एक दिन उनले भनेको नम्बरमा फोन गर्दा फोन सम्पर्क हुन सक्यो । बल्ल सही नम्बर थाहा भयो । छोरीसँग कुरा हुनेबित्तिकै दुई घण्टाभित्र उनको परिवार आइपुग्यो । उनी उपत्यका बाहिरकी रहेछिन् । उनी कसरी काठमाडौं आइपुगिन् भन्ने समेत परिवारलाई थाहा थिएन । प्रहरीले अन्तिम अवस्थामा अस्पताल पुर्याएकी महिलालाई बचाएर परिवासँग मेल गरायो । भट्टराई यो सबैभन्दा खुसीको क्षण भएको बताउँछन् । उनका अनुसार अस्पतालमा यस्ता घटनाहरू प्रायः भइरहन्छन् । नेपालमै पढाइ नेपालमै काम न्यूरो सर्जनका रूपमा काम गरिरहेका डा. सुशील नेपालमै पढेर विशेषज्ञता हासिल गरेका व्यक्ति हुन् । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मास्टर रेजिडेन्सटी गरे । विद्यावारिधी तहको एमसीएच न्यूरोसर्जरी तालिम वी अस्पतालबाट गरेका हुन् । हरेक व्यक्तिका रुचि, इच्छा र चाहना फरक हुन्छन् र ती सानैदेखि हुन्छन् । कसैलाई परिवारले गाइड गर्छन् । कोही सानै उमेरमा कसैलाई देखेर पनि सपना बुन्छन् । त्यही सपनालाई पच्छ्याउँदै जाँदा कतिपय सफल हुन्छन् त कोही असफल । कसैले अर्कै बाटो रोज्छन् जुनमा सफल हुन्छन् । यही क्रमम आफू चिकित्सक बनेको भट्टराई बताउँछन् । उनी डाक्टर बन्नुको पछाडि डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइराला हुन् । उनीहरूलाई नदेखेर नचिनेर पनि उनले रोलमोडलको रूपमा देखे । उनीहरूका अन्तर्वार्ता टिभीमा आउँदा कहिल्यै नछुटाएर हेर्थे । उनले पढ्नेक्रममा थुप्रै चिकित्सकलाई भेट्ने चिन्ने अवसर पाए । त्यसपछि उनको मनमा झन् चिकित्सकप्रति सम्मान बढ्दै गयो । डाक्टर हुनु र बन्नुमा फरक धेरैजसो अभिभावकको सपना आफ्ना बच्चाहरू डाक्टर बनून् भन्ने हुन्छ । विद्यार्थीहरूको इच्छा पनि यसैमा हुन्छ । तर डाक्टर बन्ने चाहना राख्नु र बन्नुमा धेरै फरक हुन्छ । अहिले नेपालमा शिक्षाको नाममा चरम व्यापारीकरण हुँदै गएको छ । डाक्टर बन्न खोज्नु र हुनुमा के फरक छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिक्षा किन्न सक्ने क्षमता छ भने डाक्टर हुन त्यति गाह्रो छैन । तर चिकित्सक बन्न एक तहको तपस्या, मिहिनेत गर्नैपर्छ । अहिले यो पेशामा लाग्ने अठोट सानै उमेरमा बनाइसक्नुभएको छ भने योसँग सम्बन्धित संघर्षलाई अगाल्ने अठोट गर्नुपर्छ ।’ ‘यो पेशा भनेको यस्तो हो कि यसले प्रतिफल दिन्छ तर सधैं दिन्छ भन्ने हुँदैन । कहिलेकाँही तपाईंले गरेका संघर्षभन्दा ठूलो प्रतिफल दिन्छ, कहिले कम दिन्छ । कहिल्यै यो प्रतिउत्पादक पनि हुन सक्छ,’ उनले थपे ।
नक्कली अकाउन्टले चिकित्सकको छवि बिगार्दै
काठमाडौं । ‘डाक्टरसाब तपाईंको फेसबुक अकाउन्टबाट पैसा माग्ने काम भइरहेको छ । मलाई यो काम तपाईंको होइन जस्तो लाग्यो र म्यासेज गरें,’ न्युरो सर्जन डा. प्रकाश काफ्लेलाई चिनेका साथीले केही दिनअघि म्यासेज गरे । काफ्ले साथीको यो म्यासेज देखेपछि झस्के । उनले तुरुन्तै कल गरे । त्यसपछि थाहा भयो– उनको नामबाट नक्कली अकाउण्ट बनाएर पैसा माग्ने काम भइरहेको रहेछ । प्रकाशलाई एकजना साथीले मात्र भनेनन् । थुप्रैले फेसबुक म्यासेन्जरमा साथी बनाउने त्यसपछि पैसाको बार्गेनिङ गर्ने गरेको पनि गुनासो गरे । आफूले गर्दै नगरेको काम साथीहरूले सुनाएपछि प्रकाशले अर्को फेसबुक अकाउन्ट कुन छ भनेर हेर्न खोजे । तर उनले भेटाएनन् । उनको नक्कली अकाउन्टबाट चिनेका करिब १२ जनालाई नै पैसा माग्नेदेखि अनेकन प्रलोभन देखाउने गरेको थाहा पाए । साथीहरूको कुरा सुनिसकेपछि उनले आफ्नो फेसबुकमा लामो स्टाटस नै लेखे । जहाँ उनले लेखेका छन्, ‘मेरो नामबाट नयाँ नक्कली फेसबुक अकाउन्ट खोलिएको जानकारी प्राप्त भएको छ, उक्त नक्कली अकाउन्टबाट फेसबुक मेसेन्जरमा पैसा माग्ने लगायत अनावश्यक कुरा गरिँदैछ । कृपया त्यो नक्कली अकाउन्टबाट आएको रिक्वेस्ट स्वीकार नगर्नुहोला र कुनै हालतमा पैसा नपठाउनुहोला ।’ प्रकाश काफ्ले विराटनगरको नोबेल मेडिकल कलेजको न्युरो सर्जरी विभाग प्रमुख हुन् । लामो समयदेखि न्युरो सर्जनको रूपमा काम गर्दै आएका उनी आफ्नै नामको नक्कली आइडीबाट आफन्त र चिनजानका साथीहरूलाई ठग्न खोज्नु साइबर अपराध भएको बताउँछन् । उनी भन्छन्, ‘मलाई त यो कुरा थाहै थिएन । चिनेकै साथीहरूलाई रिक्वेस्ट पठाएर पैसा माग्ने, अनावश्यक प्रलोभन देखाउने काम भइरहेको रहेछ, यो पक्कै पनि कुनै ठगको काम हुनुपर्छ ।’ प्रकाशले आफ्नै नामको दुई तीनवटा नक्कली आइडी बनाएर ठगी भइरहेको पाइएको बताए । नेपाली चिकित्सकहरू आफूलाई लक्षित गरी नक्कली अकाउण्ट बनाएर ठगी गर्ने प्रवृत्ति बढिरहेको बताउँछन् । चिकित्सकहरूको प्रोफाइल फोटो, नाम र काम गर्ने अस्पतालको विवरण प्रयोग गरेर नक्कली अकाउन्ट बनाउने गरिएको पाइन्छ । यस्ता अकाउन्टहरू विशेष गरी फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा सक्रिय हुन्छन् । कतिपयले आफ्ना नियमित सेवाग्राहीसँग पैसा मागेको पाइन्छ भने कतिपयले साथीभाइसँग मागेको पीडितहरू बताउँछन् । प्रकाशको नामबाट ठगी गर्ने ठगले हरेक व्यक्तिको मोबाइल नम्बरको कनेक्सन बैंक अकाउन्टसँग हुने भएकाले प्रायः सबैको मोबाइल नम्बर माग्ने गरेको छ । धेरैजसो व्यक्तिले प्रयोग गर्ने मोबाइल नम्बर सामाजिक सञ्जालदेखि बैंकसम्म जोडिएको पाइन्छ । ठगहरूले त्यही मौका पार्दै व्यक्तिहरूलाई ठगी रहेका छन् । डाक्टर सम्झेर क्युआरमै पैसा पठाउँदा प्रकाशजस्तै अर्को चिकित्सकको नामबाट क्युआरमा धमाधम पैसा लिइरहेको पाइएको छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग एवं टेष्ट ट्युव बेबी विशेषज्ञ डा. नुतन शर्माले आफ्नो नक्कली आईडी बनाएर आफ्नै पेसेन्टबाट क्युआरमै पैसा लिरहेको बताउँछिन् । अहिलेसम्म एक जनाले १० हजार र अर्को एकजनाले ७ हजार पैसा क्युआर गरी पठाएको गुनासो आफूकहाँ आइपुगेको उनले बताइन् । नुतनसँग धेरैजसो दम्पतीहरू फोन गरिरहन्छन् । महिनावारी नियमित नभएकादेखि सन्तान हुन नसकेका दम्पती कोही भेटेर त कोही फोनबाट, सामाजिक सञ्जालबाटै सल्लाह लिन्छन् । उनी सकेसम्म फोन सामाजिक सञ्जाल भन्दा भेटेर कुरा गर्न सल्लाह दिन्छिन् । करिब एक साताअघि उनको मोवाइलमा एक पेसेन्टको फोन आयो । उनले फोन उठाइन् । हत्तपत्त उताबाट एकजना महिलाले भनिन्, ‘डाक्टर खोइ त औषधी अहिलेसम्म पनि आएन । ’ उनको कुरा सुन्दा नुतन अलमलमा परिन् । के को औषधी ? पुरा शब्द सकिन नपाउँदै उतैबाट भनियो, ‘घरमै पठाइदिन्छु भन्दै पैसा पनि लिनुभयो अहिले के को औषधी भन्नुहुन्छ ?’ बुझ्दै जाँदा नुतनको अर्को आइडी बनाइ पेसेन्टलाई सात हजार पैसा लिएर औषधी पठाइदिन्छु भनेको रहेछ । यसबारेमा नुतनलाई थाहै थिएन । उनले ती व्यक्तिसँग भेटेरै कुरा गर्न भनिन् त्यसपछि ती दम्पती बिएण्डबी अस्पतालमै आएपछि आफूहरू ठगिएको थाहा पाए । दिनहुँ अस्पतालमै पैसा पठाइदिएको तर औषधी नपाएको गुनासो बढेपछि नुतनले सामाजिक सञ्जाल टिकटकमै एउटा भिडियो बनाएर पोष्ट गरेकी छिन् । सन्देशमा उनले भनेकी छिन्, ‘मेरो नामको अकाउन्टबाट मेरा पेसेन्टसँग कुरा गरेर क्युआर पठाएर पैसा लिएको गुनासो आएको छ, अनलाई पेमेन्टको कुरा वा औषधीको कुरा गरेर म्यासेजको भरमा पैसा नपठाउनुहोला ।’ उनले कसैले यसरी पैसा मागेमा आफ्नो नम्बरमा फोन गर्न भन्दै सन्देशमा आफ्नो नम्बर पनि दिएकी छन् । चिकित्सकको आग्रह धेरैजसो सामाजिक सञ्जालका अकाउन्टहरू सक्कली, नक्कली कुन हुन् भन्ने छुट्याउन गाह्रो हुन्छ । त्यसमाथि चिकित्सकको फ्रेन्ड रिक्वेस्ट आएपछि धेरैजसोले हत्तपत्त स्वीकारी हाल्छन् । सामाजिक सञ्जालमा ठगी गर्नेहरू यतिसम्मको चतर हुन्छिन् कि उनीहरूले फेसबुकका साथी, र म्युचुअल फ्रेण्ड सबै सक्कलीको जस्तै देखाउन सक्छन् । यसले गर्दा पनि सर्वसाधारणलाई फेक आइडी छुट्याउन गाह्रो हुन्छ । चिकित्सक नुतन शर्मा कुनै पनि चिकित्सकसँग कुरा गर्न सामाजिक सञ्जालको प्रयोगभन्दा कि फोनमा कुरा गर्न र कि प्रत्यक्ष भेटेरैमात्र गर्न सल्लाह दिन्छिन् । भन्छिन्, ‘अहिले धेरै ठगीका घटनाहरू भइरहेका छन्, कसैले म डाक्टर हुँ भन्दै औषधी र काउन्सिलिङको कुरा गरेर आर्थिक लेनदेनको कुरा गर्न हुँदैन, कसैले यस्तो गर्छ भने कि एक पटक अस्पतालमै आएर भेट्दा ठगिने सम्भावना हुँदैन ।’ डा. प्रकाश पनि यस्तो ठगीबाट बच्न आग्रह गर्छन् । आजभोलि सामाजिक सञ्जालमा पाएको सूचनाले ठगहरूले सबै विवरण संकलन गर्नेसम्मको हैसियत राख्ने भएकाले सकेसम्म आफ्नो पुरै विवरण सामाजिक सञ्जालमा नराख्न सल्लाह दिन्छन् । १० महिनामा ७ हजार ठगीका उजुरी चिकित्सकहरूको फोटो र विवरण राखेर ठग्ने क्रम भइरहे पनि चिकित्सककै नामबाट ठगिएको यकिन उजुरीको तथ्यांक भने छैन । नेपाल साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थी समग्र रूपमा ठगीका घटनाको दर निकै बढेको भएपनि चिकित्सकहरूबाटै ठगिएको भनेर छुट्टै उजुरीको तथ्यांक नरहेको बताए । उनी भन्छन्, ‘ठगीका घटना दिनहुँ बढिरहेका छन्, सामान्य किनमेलदेखि सेयरसम्मको ठगी भइरहेको हुन्छ तर, छुट्टै यो क्षेत्र, ऊ क्षेत्र भनेर छुट्याएको छैन ।’ सामाजिक सञ्जाल ह्याक गर्ने, नक्कली आइडी बनाएर आफन्तसँग पैसा माग्न, विदेशमा रहेका आफन्तहरूलाई पैसा माग्नेक्रम बढिरहेको पनि अवस्थीले बताए । चालु आर्थिक वर्षको १० महिनामा साइबर ब्यूरोमा साढे १६ हजार उजुरी परेका छन् । जसमा ठगीका मात्र ७ हजार बढी उजुरी रहेका छन् । अवस्थी करिब ४० प्रतिशत उजुरी ठगीका आउने गरेको बताउँछन् । चिकित्सकको नक्कली आइडी बनाएर अनलाइन काउन्सिलिङको नाममा पनि ठगी हुने गरेको पाइएको छ ।