बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापाले लिए शपथ
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (आज) प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आजै नियुक्त भएका थापा बागमतीका सातौं मुख्यमन्त्री हुन् । एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । यसअघि एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपश्चात प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । एमालेबाट मुख्यमन्त्रीसहित तीन, नेकपाबाट दुई र राप्रपाबाट तीन जना मन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
नाबालिकाको चरित्र हत्या गर्ने आरोपमा १९ वर्षीय युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग सम्बन्धित विषयमा आपत्तिजनक सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमा नाबालिकासँग प्रेमसम्बन्धमा रहेको भन्दै विभिन्न सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको सम्बन्धमा परेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको हो । प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त गतिविधिमा संलग्न रहेको खुलेपछि नुवाकोटको शिवपुरी गाँउपालिका–७ बस्ने १९ वर्षीय सुदीप कटवाललाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । ब्युरोबाट खटिएको टोलीले कटवाललाई भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । साइबर ब्युरोका अनुसार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
बेनिभिस आइसक्रिमको ब्रान्ड एम्बेसडरमा मिस नेपाल अर्थ २०२२ डा. सरीशा श्रेष्ठ
काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनिभिस आइसक्रिमले मिस नेपाल अर्थ-२०२२ डा. सरीशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । फिसटेल डेरी प्रालि अन्तर्गत सञ्चालित बेनिभिस आइसक्रिम र डा. श्रेष्ठबीच ब्रान्ड एम्बेसडरसिपसम्बन्धी सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो । सम्झौतामा डा. श्रेष्ठ र बेनिभिस आइसक्रिम, फिसटेल डेरी प्रालिका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले हस्ताक्षर गरे । मेडिकल डाक्टर, टेलिभिजन प्रस्तोता तथा सौन्दर्य प्रतियोगिताकी विजेता डा. श्रेष्ठले नेपालमा आफ्नो छुट्टै पहिचान बनाएकी छन् । व्यावसायिक दक्षता, सञ्चार क्षमता, आत्मविश्वास तथा युवा पुस्तामाझको लोकप्रियताका कारण उनलाई बेनिभिसको ब्रान्ड एम्बेसडरका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ । डा. श्रेष्ठले मिस अर्थ २०२२ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा उनले एसिया तथा ओसियाना क्षेत्रका लागि बेस्ट इको-भिडियो अवार्डसमेत प्राप्त गरेकी थिइन् । वातावरणीय सचेतना र सञ्चारसँग जोडिएको उक्त उपलब्धिले उनको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको छ । पेजेन्ट यात्रासँगै डा. श्रेष्ठले मेडिकल क्षेत्रमा आफ्नो पेशागत पहिचान कायम राख्दै टेलिभिजन प्रस्तोताका रूपमा पनि काम गरेकी छन् । उनको बहुआयामिक व्यावसायिक यात्राले विभिन्न वर्गका दर्शक तथा उपभोक्तासँग जोडिन सक्ने क्षमता प्रस्तुत गरेको कम्पनीको भनाइ छ । बेनिभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले डा. श्रेष्ठलाई बेनिभिस परिवारमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनले डा. श्रेष्ठका उपलब्धि, पेशागत पृष्ठभूमि, व्यक्तित्व र सकारात्मक सार्वजनिक छवि बेनिभिसले प्रतिनिधित्व गर्न चाहेका मूल्यसँग मेल खाने बताए । बेनिभिसले आगामी दिनमा डा. श्रेष्ठसँग अर्थपूर्ण तथा आकर्षक ब्रान्ड अभियान सञ्चालन गर्ने अपेक्षा राखेको छ । डा. सरीशा श्रेष्ठले बेनिभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी व्यक्त गर्दै नेपाली ब्रान्डसँग सहकार्य गर्न उत्साहित रहेको बताइन् । स्वाद, गुणस्तर र खुसीका क्षण सिर्जना गर्ने ब्रान्डको उद्देश्यसँग जोडिन पाउँदा आफू उत्साहित भएको उनले बताइन् । सम्झौताअनुसार डा. श्रेष्ठ बेनिभिसका विभिन्न ब्रान्ड अभियान, फोटोसुट, डिजिटल सामग्री, प्रचारात्मक गतिविधि, उपभोक्ता संलग्नता कार्यक्रम तथा अन्य ब्रान्ड सञ्चार गतिविधिमा सहभागी हुनेछिन् । कम्पनीका अनुसार यो सहकार्यले बेनिभिसको युवा र ताजगीपूर्ण ब्रान्ड पहिचानलाई डा. श्रेष्ठको पेशागत उत्कृष्टता, अन्तर्राष्ट्रिय अनुभव तथा युवा पुस्तामाझको प्रभावसँग जोड्नेछ । यस सहकार्यबाट उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउँदै नयाँ, आकर्षक र स्मरणीय ब्रान्ड अनुभव सिर्जना गर्ने बेनिभिसको लक्ष्य छ । डा. श्रेष्ठ र बेनिभिसबीचको औपचारिक सम्झौताले दुवै पक्षबीचको नयाँ सहकार्यको सुरुवात गरेको छ । बेनिभिस आइसक्रिम फिसटेल डेरी प्रालिको ब्रान्ड हो । कम्पनीले गुणस्तरीय आइसक्रिम उत्पादन तथा उपभोक्ताका लागि स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । नवीन उत्पादन, सिर्जनात्मक मार्केटिङ अभियान, उपभोक्ता सक्रियता तथा आकर्षक ब्रान्ड अनुभवमार्फत बेनिभिसले नेपालमा आफ्नो बजार उपस्थिति विस्तार गर्दै आएको छ ।
राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलले लिए शपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहणसँगै उनले पदबहालीसमेत गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावललाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । त्यसपछि २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । कार्यकारी निर्देशकमा पदोन्नतिपछि रावलले बैंकको सुपरीवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।
‘हामी उत्पादनसँगै ग्राहकको भरोसा पनि बेचिरहेका छौं’
भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमा नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) को १८औं नाडा अटो शोको आयोजना हुँदैछ । अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । नाडाका अनुसार २ सय वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा गाडीसँगै रोबोट र विभिन्न कम्पोनेन्टहरू पनि रहनेछन् । यसै सन्दर्भमा अटाे क्षेत्रको ठूलो घराना एमएडब्लु वृद्धि ग्रुपले आउँदै गरेको नाडा अटो शोमा कुन कुन ब्राण्डहरू प्रदर्शनीमा राख्दैछ ? अवलोकनकर्ताले यसपटक एमएडब्लु वृद्धिका स्टलहरूमा नयाँ अनुभव र फरक के पाउनेछन् ? एमएडब्लु वृद्धिको उपस्थिति कस्तो रहनेछ ? यिनै समग्र विषयमा एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् । नाडा अटो शोमा तपाईंको तयारी के-कस्तो छ ? हामी धेरै उत्साहित छौं । वास्तवमा भन्नुपर्दा नाडा अटो शो हाम्रो लागि सधैं विशेष रहँदै आएको छ । गत वर्ष पनि हामीले यसमा सहभागिता जनाएका थियौं र ग्राहकहरूबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका थियौं । यो वर्ष पनि हामीले नाडा अटो शोमा निकै उत्साहजनक र भव्य उपस्थितिको अपेक्षा गरेका छौं । हाम्रो तयारी निकै व्यापक छ । यसपटक हामीले डोङफेङका लागि एउटा ठूलो र आकर्षक स्टल राखेका छौं । त्यहाँ हामीले भर्खरै सार्वजनिक गरिएको नामी बक्स र भिगो ई-टु मात्र प्रदर्शन गर्ने छैनौं । डोङफेङले अहिलेसम्म उत्पादन गरेका उत्कृष्ट गाडीहरूमध्येको एक एम-हिरोलाई पनि विशेष आकर्षणको रूपमा राख्दै छौं । एम–हिरो धेरैले प्रतीक्षा गरिरहेको गाडी हो । यसको उपस्थितिले नाडा अटो शोमा छुट्टै रौनक थप्नेछ भन्ने हाम्रो विश्वास छ । १८औं नाडा अटो शो अघिल्ला संस्करणहरूभन्दा यसपटक कसरी फरक हुनेछ ? अवलोकनकर्ताहरूले एमएडब्लु वृद्धिका स्टलहरूमा कस्तो नयाँपनको अनुभव गर्न पाउनेछन् ? पक्कै पनि यसपटकको नाडा अटो शोमा नयाँपन धेरै हुनेछ । यो संस्करणमा नयाँ उत्पादनहरूको बाहुल्यता रहनेछ । जसमा कुनै शङ्का छैन । हाम्रा जति पनि ब्रान्डका स्टलहरू हुनेछन्, ती हरेकमा ग्राहकले कम्तीमा एउटा यस्तो नयाँ गाडी देख्न पाउनुहुनेछ, जुन उहाँहरूले पहिले कहिल्यै देख्नुभएको छैन । हामीले केवल गाडीहरू प्रदर्शन गर्नेमात्र होइन, एउटा अन्तरक्रियात्मक वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौं । जहाँ हाम्रा दक्ष प्रतिनिधिहरूले ग्राहकलाई प्रत्येक गाडीको प्रविधि, सुविधा र उपयोगिताबारे निकै गहिराइमा गएर बुझाउनुहुनेछ । हामी चाहन्छौं कि अवलोकनकर्ताहरूले त्यहाँ पुग्दा एउटा नयाँ प्रविधिको संसारमा पुगेको अनुभव गरून् । यसपटकको अटो शोमा कुन-कुन ब्रान्ड र मोडलहरूलाई विशेष प्राथमिकतामा राखिएको छ ? हामीसँग ब्रान्डहरूको ठूलो पोर्टफोलियो छ । नाडा अटो शोमा हामीले नामीलाई त मुख्य प्राथमिकतामा राखेका छौं । यसका साथै दिपल, स्कोडा, यामाहा र फोटोनजस्ता ब्रान्डहरूलाई पनि उत्तिकै महत्त्वका साथ प्रदर्शन गर्नेछौं । नामीले ईभी सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । दिपालले प्रिमियम र आधुनिक प्रविधिको प्रतिनिधित्व गर्छ । स्कोडा र यामाहाले आफ्नो गुणस्तर र विरासतलाई निरन्तरता दिइरहेका छन् । फोटोनका पनि नयाँ र उपयोगी सवारीहरू ग्राहकले देख्न पाउनुहुनेछ । यसरी हेर्दा हामीले सबै प्रकारका ग्राहकहरूको चाहनालाई सम्बोधन गर्ने गरी तयारी गरेका छौं । गत वर्ष तपाईंहरूले चाङ्गनको उड्ने कार ल्याउनुभएको थियो, जसमा मानिसहरूको निकै भिड लागेको थियो । यसपटक त्यस्तै कुनै आश्चर्यजनक वस्तु वा गाडी ल्याउने सोच छ कि ? पक्कै पनि गत वर्षको अटो शोमा उड्ने कारले धेरैको ध्यान तानेको थियो । त्यो एउटा प्रविधिको नमूना थियो । तर यो वर्ष हामीले उड्ने कारभन्दा पनि गुड्ने कारहरूमा बढी केन्द्रित भएका छौं । हामीले नेपाली सडकका लागि उपयुक्त धेरै नयाँ र आकर्षक मोडलहरू ल्याएका छौं । मलाई विश्वास छ, यसपटकका हाम्रा नयाँ मोडलहरू देखेर पनि ग्राहकहरू र अवलोकनकर्ताहरू उत्तिकै प्रभावित हुनुहुनेछ । नाडा अटो शोमै सार्वजनिक वा लन्च हुने नयाँ मोडलहरू कुन-कुन हुन् ? धेरै कुराहरू त नाडा शोमै देख्नुहुनेछ । तर केही झलकहरू म दिन्छु । हाम्रो एम–हिरो त छँदैछ । भिगो इ–टु को संस्करण पनि आइसकेको छ । सबैभन्दा नयाँ कुरा दिपलको नयाँ गाडी दिपल नेभो क्यू जिरो फाइभ आउँदै छ । यो प्रतिस्पर्धात्मक सेग्मेन्टमा र निकै आकर्षक मूल्यमा उपलब्ध हुनेछ । यो गाडी विशेष गरी कार्यकारी व्यक्तिहरूले रुचाउने खालको अत्यन्तै आरामदायी र प्रविधिमैत्री हुनेछ । यस्तै, स्कोडामा हामीले कुशाक र काइलाक गरी दुईवटा नयाँ गाडीहरू राख्दैछौं । मोटरसाइकलतर्फ यामाहाको नयाँ बाइक एक्सएसआर १५५ पनि हामीले ल्याउँदै छौं । त्यसैले यसपटकको प्रदर्शनी उत्पादनहरूको हिसाबले निकै सुसज्जित हुनेछ । बुधबारबाट सार्वजनिक भएको नामीको भिगो ई-टुको पर्फर्मेन्स र नेपाली भूगोलमा यसको सान्दर्भिकता कस्तो छ ? कतिपयले अझै पनि इभीले पहाडी बाटो धान्दैन कि भन्ने आशङ्का गर्छन् नि ? यो निकै सान्दर्भिक प्रश्न हो । नामी भिगो ई-टु को पर्फर्मेन्स उत्कृष्ट छ । म के स्पष्ट पार्न चाहन्छु भने हाम्रा गाडीहरूले नेपालका सबैभन्दा कठिन मानिने भूगोलहरू मनाङ, मुस्ताङ र सोलुखुम्बु जस्ता ठाउँहरूको यात्रा सफलतापूर्वक गरिसकेका छन् । यी गाडीहरूले ती कठिन सडकहरूमा आफूलाई प्रमाणित गरिसकेका छन् । मैले एउटा अर्को महत्त्वपूर्ण तथ्याङ्क पनि सेयर गर्न चाहन्छु । हाम्रा नामी गाडीहरूमध्ये केही त यस्ता छन्, जसले दुई वर्षको छोटो अवधिमा ७० हजार किलोमिटरभन्दा बढी दूरी पार गरिसकेका छन् । एउटा गाडीका लागि योभन्दा ठूलो प्रमाण अरू के हुन सक्छ ? यो आफैमा एउटा प्रोभन भेइकल र भरपर्दो एसयूभी हो । नेपाली सडक र वातावरणका लागि यो पूर्ण रूपमा उपयुक्त छ । हाल नेपाली सडकमा नामीका ईभीहरू कति संख्यामा गुडिरहेका छन् ? हालसम्म नेपाली सडकमा नामीका २ हजारभन्दा बढी विद्युतीय सवारीहरू गुडिरहेका छन् । यो संख्याले देखाउँछ कि नेपाली ग्राहकहरूले नामी ब्रान्डमाथि कति ठूलो विश्वास देखाउनुभएको छ । अहिले नेपाली बजारमा पेट्रोलियम (आईसीई) इन्जिन भएका गाडीभन्दा ईभीको क्रेज धेरै देखिन्छ । यसलाई एमएडब्लु वृद्धिले कसरी हेरिरहेको छ ? हामी यसलाई एउटा ठूलो अवसरको रूपमा हेरिरहेका छौं । विश्वव्यापी रूपमै र नेपालमा पनि वातावरणमैत्री र किफायती सवारीको माग बढ्दो छ । हामीले यो अवसरलाई सदुपयोग गर्दै ग्राहकहरूलाई कसरी उत्कृष्ट प्रविधि र सेवा दिन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गरेका छौं । तर, हामीले केवल गाडी बेच्ने कुरामा मात्र ध्यान दिएका छैनौं । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्टर सेल्स सर्भिस अर्थात् बिक्रीपछिको सेवा हो । गाडी किनेपछि ग्राहकलाई कुनै पनि समस्या नहोस् र उहाँहरूले ढुक्क भएर चलाउन सक्नुहोस् भन्नका लागि हामीले आफ्नो सर्भिस नेटवर्कलाई पनि निकै बलियो बनाएका छौं । हामी उत्पादनसँगै भरोसा पनि बेचिरहेका छौं । के नेपाली सडकमा एमएडब्लु वृद्धिले ईभीको नेतृत्व गर्न सक्ला ? नेपाली अटो बजारमा अहिले ठूलो परिवर्तन आइरहेको छ । केही वर्षअघिसम्म ह्याचब्याक गाडीहरू लोकप्रिय रहे पनि अहिले ग्राहकको आकर्षण एसयूभीतर्फ बढेको छ । सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लूको यात्रा अहिले नेपालको सबैभन्दा ठूलो अटो समूहमध्ये एक बन्न सफल भएको छ । जसरी पहिले पेट्रोल गाडीमा ह्याचब्याकबाट एसयूभीमा सिफ्ट भयो । अब ईभी सेग्मेन्टमा पनि सोही परिवर्तन देखिँदै छ । एमएडब्लुले नेपालको ईभी ट्रान्स्फर्मेसनमा नेतृत्वदायी भूमिका खेल्नेमा हामी विश्वस्त छौं । देशभर चार्जिङ स्टेसन कति छन्, थप्ने योजना के छ ? देशभर हामीसँग हाल २ सयभन्दा बढी चार्जिङ स्टेसनहरू रहेका छन् । यसमा हामीले राम्रो लगानी गरिरहेका छौं । यो वर्षमात्रै १०० वटा थप्ने योजना बनाइरहेका छौं । मलाई लाग्छ, यसमा कसैलाई कसुर नराखिकन सेवा दिइरहेका छौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा सिबिफिनको गम्भीर ध्यानाकर्षण
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुसन्धान गर्दै केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिबिफिनले बैंकले प्रचलित कानूनअनुसार सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि लागू भएका क्षेत्रगत नियमावलीले निष्प्रभावी बनाउन सक्ने वा नसक्ने विषयमा स्पष्टता आवश्यक रहेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाले कानूनबमोजिम सिर्जना गरेको अधिकारको आधारमा कर्जा प्रवाह तथा असुली प्रक्रिया अघि बढाउने भन्दै सिबिफिनले कानूनी तथा नीतिगत अस्पष्टताले बैंकिङ क्षेत्रको निर्णय प्रक्रियामा असर पार्न सक्ने बताएको छ । सिबिफिनका अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह, धितो सुरक्षण, कर्जा असुली तथा लिलामसम्बन्धी निर्णयको प्राविधिक र नियामकीय परीक्षण गर्ने प्राथमिक अधिकार नेपाल राष्ट्र बैंकमा निहित छ । त्यसैले यस्ता विषयमा अन्य निकायबाट थप अनुसन्धान तथा कारबाही अघि बढाउनुअघि नेपाल राष्ट्र बैंकबाट आवश्यक प्राविधिक तथा नियामकीय परीक्षण गरिनुपर्ने उसको धारणा छ । सिबिफिनले बैंकको व्यावसायिक निर्णय, नियामकीय त्रुटि र आपराधिक कार्यबीचको कानूनी भिन्नता स्पष्ट हुनुपर्नेमा जोड दिएको छ । भिन्नता नछुट्याई अनुसन्धान तथा अभियोजन गर्दा बैंकिङ क्षेत्रको निर्णय क्षमता, संस्थागत सुशासन, नेतृत्वको मनोबल र आम जनविश्वासमा नकारात्मक असर पर्न सक्ने उसको भनाइ छ । त्यस्तै, अनुसन्धानका क्रममा प्राप्त ग्राहकसम्बन्धी सूचना, बैंकका आन्तरिक निर्णय, व्यावसायिक विवरण तथा व्यक्तिगत तथ्यको गोपनीयता कानूनबमोजिम संरक्षण गरिनुपर्ने सिबिफिनले जनाएको छ । सिबिफिनले यस घटनाले जलविद्युत्, दूरसञ्चार तथा पूर्वाधारलगायत सरकारी अनुमतिपत्रमा आधारित क्षेत्रमा प्रवाह हुने कर्जाको सुरक्षण र जोखिम वहनबारे समेत गम्भीर प्रश्न उठाएको बताएको छ । अनुमतिपत्रसम्बन्धी पछिल्लो निर्णयका कारण बैंकमा पहिले नै सिर्जना भएको स्वामित्व वा सुरक्षण अधिकार अनिश्चित हुने अवस्था आएमा यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्ने बैंकले जोखिम मूल्याङ्कन कसरी गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने सिबिफिनको भनाइ छ । उसले बैंक, ऋणी र सरकारबीचका मूलतः देवानी तथा नियामकीय प्रकृतिका विवादलाई स्पष्ट आपराधिक आधारबिना फौजदारीकरण गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने जनाएको छ । यस्ता विवादलाई प्रचलित देवानी, व्यावसायिक तथा नियामकीय प्रक्रियाबाटै समाधान गर्नुपर्ने सिबिफिनको धारणा छ । सिबिफिनले कानूनभन्दा माथि कोही पनि हुन नहुने स्पष्ट गर्दै कानूनविपरीतका गतिविधि प्रमाणित भएमा प्रचलित कानूनअनुसार कारबाही हुनुपर्ने जनाएको छ । सम्मानित अदालतमा विचाराधीन विषयमा न्यायिक प्रक्रिया, अदालतको स्वतन्त्रता र निष्पक्षताप्रति उच्च सम्मान रहेको जनाउँदै सिबिफिनले संविधान, कानून, स्थापित नजिर र न्यायिक अभ्यासअनुसार विवादको उचित निरूपण हुने विश्वास व्यक्त गरेको छ ।
१२औं तहका अधिकारी मन्त्रालयमै, ११औं तहका हाकिमको भरमा विभाग
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा १२औं तहका दुई अतिरिक्त सचिव कार्यरत रहे पनि स्वास्थ्य सेवा विभाग भने ११औं तहका अधिकृतको निमित्त नेतृत्वमा सञ्चालन भइरहेको छ । स्वास्थ्य क्षेत्रको प्रमुख कार्यान्वयनकारी निकायलाई लामो समयसम्म महानिर्देशकविहीन बनाइएको भन्दै स्वास्थ्य प्रशासनभित्रै प्रश्न उठ्न थालेको छ । मन्त्रालयमा डा. संगीता कौशल मिश्र र डा. श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिवका रूपमा कार्यरत रहेका छन् । डा. मिश्र र मन्त्रालयका सचिव डा. विकास देवकोटा सचिव नियुक्तिको समयका प्रतिष्पर्धी समेत हुन् । फागुन २१ को मन्त्रीपरिषद बैठकले डा. देवकोटालाई सचिव नियुक्त गरेको थियो । त्यसयता डा. देवकोटा र डा. मिश्रको सम्बन्ध सुमधुर नरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । स्वास्थ्य सेवा विभागको संरचनाअनुसार महानिर्देशक पद १२औं तहका अधिकारीले नेतृत्व गर्नु पर्दछ । मन्त्रालय स्रोतका अनुसार डा. मिश्रलाई रोक्न ११औं तहका डा. अनुज भट्टचनलाई निमित्त दिएर राखिएको बताइएको छ । स्वास्थ्यमन्त्री निशा मेहताले गत वैशाख ३० गते मन्त्रीस्तरीय निर्णयमार्फत अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त महानिर्देशकको जिम्मेवारी भट्टचनलाई दिएकी थिइन् । त्यसयता विभाग निमित्तकै भरमा चलिरहेको छ । स्वास्थ्य सेवा विभाग स्वास्थ्य नीति तथा कार्यक्रम कार्यान्वयन, स्वास्थ्य संस्थाको व्यवस्थापन, जनशक्ति परिचालन, रोग नियन्त्रण, स्वास्थ्य सूचना प्रणाली तथा स्वास्थ्य सेवा विस्तारका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने निकाय हो । यस्तो संवेदनशील निकाय लामो समयसम्म निमित्तको नेतृत्वमा सञ्चालन हुँदा दीर्घकालीन निर्णय, प्रशासनिक कार्यसम्पादन र जवाफदेहितामा असर परीरहेको विभागका एक उच्च अधिकारीले जानकारी दिए । निमित्त प्रमुख डा. भट्टचन भने आफूलाई राज्यले विश्वास गरेर दिएको जिम्मेवारी पुरा गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘लामो समय प्रदेशमा काम गरेर आएकोले पनि आफूलाई विभाग सञ्चालन गर्न असहज लागेको छैन ।’ वीर अस्पतालमा पनि १२औं तहको पद रिक्त स्वास्थ्य सेवा विभागमा मात्रै होइन, देशकै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा समेत १२औं तहको महत्त्वपूर्ण पद लामो समयदेखि रिक्त छ। कोभिड–१९ महामारीका बेला वीर अस्पताललाई युनिफाइड अस्पतालका रूपमा सञ्चालन गर्ने क्रममा मन्त्रालयले प्रमुख विशेषज्ञ १२औं तहको एक पदलाई पुल दरबन्दीका रूपमा कायम गरेको थियो । मन्त्रिपरिषद्ले २०७८ सालमै उक्त तहको विशेषज्ञ वीर अस्पतालमा खटाउने निर्णयसमेत गरेको थियो । तर, निर्णय भएको लामो समय बितिसक्दा पनि उक्त दरबन्दीमा कर्मचारी पदस्थापन हुन सकेको छैन ।
एनएमबि बैंकले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा
काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा आवेदन र ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले यो सेवासँगै कर्जा आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रिया डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले जुनसुकै स्थानबाट कर्जाका लागि आवेदन दिन सक्नेछन् । आवेदन पेश गरेपछि आफ्नो कर्जा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी पनि ‘रियल–टाइम’ मा ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ । एनएमबि बैंकले यस सेवाले बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हटाउने विश्वास व्यक्त गरेको छ । साथै कर्जा स्वीकृतिको समय घट्नुका साथै सम्पूर्ण प्रक्रिया थप पारदर्शी, सरल र वातावरणमैत्री हुने बैंकको दाबी छ । यसरी दिन सकिन्छ अनलाइन कर्जा आवेदन ग्राहकले बैंकको डिजिटल पोर्टलमा लगइन गरी लोन सर्भिसमा गएर एक्सपोलर प्रोटक्स विकल्प छनोट गर्नुपर्नेछ । त्यसपछि आवश्यक कर्जा शीर्षक चयन गरी विवरण भरेर आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ । आवेदन पेश गरेपछि ग्राहकले तुरुन्तै अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन् । सोही आईडी प्रयोग गरेर कर्जा आवेदनको अवस्था अनलाइनमै हेर्न सकिनेछ । बैंकका अनुसार यो सेवा नेपालमा आधुनिक र कागजरहित बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । कर्जा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउँदै ग्राहकको समय बचत गर्न र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्न बैंक प्रतिबद्ध रहेको जनाएको छ । हाल एनएमबि बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।