बैंकिङ कसुरमा जनता टेलिभिजनका अध्यक्ष पौडेल पक्राउ
काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ परेका छन् । उनलाई कार्यालयबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले विकासन्युजलाई जानकारी दिए । उनलाई सिंहदरबार प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको हो । ‘सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ,’ उनले भने । प्रहरीका एक अधिकृतले एक-डेढ लाख रुपैयाँ चेक बाउन्समा नियन्त्रणमा लिएको विकासन्युजलाई बताए । बानेश्वरबाट नियन्त्रणमा लिएको र सिंहदरबार वृत्तमा ल्याउँदै गरेको ती प्रहरी अधिकृतले बताए । बैंकिङ कसुरमा उनलाई नियन्त्रण लिएको हो । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए ।
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइनबाट कर्पोरेट खाता खोल्ने सेवा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक यस्तो सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै कर्पोरेट खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन् । ग्राहकको समय बचत गर्नुका साथै खाता खोल्ने प्रक्रियामा हुने झन्झट कम गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरेर खाता खोल्ने प्रक्रिया अघि बढाउन सकिनेछ । तर, खाता सक्रिय गर्न आवश्यक प्रमाणीकरण तथा अन्य प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजातसहित आफ्नो नजिकको बैंक शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । बैंकका अनुसार नयाँ सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्न थप सहजता प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग पुग्नेछ । यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
आईजीआई प्रुडेन्सियल र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सेवा सम्झौता
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । एकान्तकुनामा रहेको संघको कार्यालयमा भएको सम्झौता कार्यक्रममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीलगायत उच्च व्यवस्थापन समूह तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रविन लामिछाने, पूर्वअध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थिति थियो । सम्झौताअनुसार संघसँग आबद्ध देशभरका सदस्य तथा व्यवसायीको सम्पत्ति र सवारीसाधनको बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गरिनेछ । साथै, संघ तथा आबद्ध संस्थाबाट बिक्री–वितरण हुने सवारीसाधनको समेत बीमा सेवा उपलब्ध गराइनेछ । बीमा गरिएका सवारीसाधन दुर्घटनामा परी क्षति भएमा सहज र सरल प्रक्रियाबाट दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । सम्झौता कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले संघ तथा संघमा आबद्ध व्यवसायी र ग्राहकलाई सबै प्रकारका निर्जीवन बीमा सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए । उनले बीमालेख खरिद गरी आईजीआई प्रुडेन्सियलबाट सहज, गुणस्तरीय र भरपर्दो बीमा सेवा लिन व्यवसायी तथा ग्राहकलाई आग्रह ग रे। नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष लामिछानेले संघसँग आबद्ध ग्राहकको सन्तुष्टि क्रमशः बढ्दै गएको बताए । उनले आईजीआई प्रुडेन्सियलबाट बीमा सेवा लिन थालेपछि सेवा छिटोछरितो प्राप्त भइरहेको भन्दै सम्झौताप्रति खुसी व्यक्त गरे । कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले आगामी दिनमा पनि सेवा आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा
काठमाडौं । नापी कार्यालय, धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ । मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो । साबिक मिथलेश्वर महुवाही वडा नं। १, २, ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मा सम्पन्न भएको थियो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय, धनुषाले जनाएको छ । पुर्जा प्राप्त गरेसँगै उनीहरूले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
आमाले दिइन् कलेजो, ५ वर्षीया छोरीले पाइन् नयाँ जीवन
ललितपुर । नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल कलेजो प्रत्यारोपण गरिएको छ । किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पतालमा ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो। करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको हो। गत भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो। बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ। यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ। किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा समेत सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। एउटी आमाको त्याग, चिकित्सकहरूको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले ५ वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ। यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको छ।
जब कर बुझाउन जाँदा ३५ लाख घुस मागियो
काठमाडौं । दुई वर्षअघि सिराहाको गोलबजारस्थित गोदाममा अचानक सल्किएको भिषण आगलागीले ’सिरहा सुपरमार्केट प्रा.लि.’ का खाद्यान्न, किचन, इलेक्ट्रोनिक्स र लत्ताकपडा पूर्ण रूपमा खरानी बनाइदियो । एकातिर कोभिड–१९ को दोस्रो लहरको मार र अर्कातिर करोडौँको भौतिक क्षति भोगिरहेको यो फर्ममाथि आन्तरिक राजस्व कार्यालय लहानले आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर परीक्षणको फाइल खोल्यो । कर कार्यालयले आय विवरण, बिलबिजक र बैंक स्टेटमेन्ट १५ दिनभित्र पेस गर्न पत्राचार गरेपछि सञ्चालक जफिर अन्सारी आवश्यक कागजात बोकेर लहान पुगेका थिए । लहानस्थित कर परीक्षण तथा अनुसन्धान शाखा ’क’ मा कार्यरत २९ वर्षीय कर अधिकृत युवराज एम.एस. पालले कागजात मिलाउन हाकिम साबलाई भन्नुपर्ने र नत्र ३० देखि ३५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चेतावनी दिए । आगलागीले ध्वस्त भएको व्यवसायमा यति ठूलो जरिवाना सुन्दा छाँगाबाट खसेझैं भएक अन्सारीले याचना गर्दा अधिकृत पालले मुखले रकम नतोकी टेबुलमा रहेको क्यालकुलेटर थिचेर र औंलाको इसाराबाट सोझै १२ लाख रुपैयाँ माग गरे । दुवै पक्षबीच औंलाको इसारामा मोलमोलाइ हुँदै जाँदा अन्तिममा घुसको रकम ५ लाख रुपैयाँ तय भयो । अधिकृत पालले घुस रकम सोझै आफ्नो हातमा नलिई गोलबजारस्थित आरआरवाई एण्ड एसोसिएट चार्टर्ड एकाउन्टेन्सका सञ्चालक ३४ वर्षीय चार्टर्ड एकाउन्टेन्ट रामरिझन यादवलाई बुझाउन निर्देशन दिए । लगातारको अत्याचार सहन नसकी व्यवसायी अन्सारीले भ्रष्टाचार विरुद्ध उभिने आँट गर्दै २०८३ श्रावण ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा पुगेर घुस माग गर्दाका गोप्य अडियो÷भिडियो रेकर्डिङहरू आयोगसमक्ष बुझाए । योजनाबद्ध ‘स्टिङ अपरेसन’ गरेर रङ्गेहात पक्राउ उजुरी दर्ता भएलगत्तै अख्तियारले डिएसपी सरोज राईको नेतृत्वमा टोली खटाई १ हजार दरका ५०० थान नोटका सिरियल नम्बर दर्ता गरेर अन्सारीको जिम्मा लगायो । श्रावण ७ गते दिउँसो अन्सारीले खैरो लेदरको झोलामा ५ लाख रुपैयाँ राखी अधिकृत पालको टेबुलमा राख्नासाथ अख्तियार टोलीले कार्यालय घेराउ गर्यो । स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा खानतलासी गर्दा टेबुलको झोलाबाट बरामद नोटका सिरियल नम्बरहरू अख्तियारको भरपाईसँग शतप्रतिशत भिडेपछि पाललाई सामसुङ एस२३ मोबाइलसहित नियन्त्रणमा लिइयो । पक्राउ परेपछि अधिकृत पालले रकमबारे आफूलाई थाहा नभएको दाबी गरे पनि वैज्ञानिक अनुसन्धानका अगाडि उनको दाबी टिकेन । अख्तियारको पोलिग्राफ परीक्षणमा पाल र सीए रामरिझन यादव दुवैले झुट बोलेको पुष्टि भयो । साथै टङ्गालस्थित डिजिटल फरेन्सिक ल्याबबाट अडियो÷भिडियोको ह्यास भ्यालु सुरक्षित भेटियो भने नेपाल प्रहरीको ब्युरोले गरेको भ्वाइस टेस्टमा उनीहरूको स्वर शतप्रतिशत म्याच भयो । अनुसन्धान अधिकृतहरू रामकृष्ण देवकोटा, देव सिंह भण्डारी र विनिता दाहालको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा अख्तियारले कर अधिकृत युवराज एम.एस. पाल र सीए रामरिझन यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम ५ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ ।
बेलायत फर्किँदै ह्यारी-मेघन, राजपरिवारसँगको सम्बन्धमा सुधार
काठमाडौं । प्रिन्स ह्यारी र उनकी पत्नी मेघन मार्केलले राजकीय जिम्मेवारीबाट अलग भएको छ वर्षपछि यही महिना बेलायत फर्किने तयारी गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ‘ड्युक एन्ड डचेस अफ ससेक्स’ ह्यारी र मेघन आफ्ना दुई सन्तान ७ वर्षीय प्रिन्स आर्ची र ५ वर्षीया प्रिन्सेस लिलिबेटसहित क्यालिफोर्नियाबाट बेलायत फर्किन लागेका हुन् । उनीहरू लामो समय बेलायतमै बस्ने र दुवै छोराछोरीले आगामी सेप्टेम्बरदेखि त्यहीँ विद्यालय जाने ‘पिपुल’ म्यागजिन र बेलायती पत्रिका ‘द टेलिग्राफ’ले जनाएका छन् । ह्यारी र मेघनले सन् २०२० मा राजकीय जिम्मेवारीबाट अलग भएपछि अमेरिकाको क्यालिफोर्नियास्थित सान्ता बारबरानजिकैको मोन्टेसिटोमा बस्दै आएका थिए । सञ्चारमाध्यमका अनुसार उनीहरूले त्यहाँ १६ वटा बेडरुम भएको घर १ करोड ४७ लाख अमेरिकी डलरमा खरिद गरेका थिए । त्यसपछि ह्यारी र मेघनले विभिन्न टेलिभिजन अन्तर्वार्ता, नेटफ्लिक्सको वृत्तचित्र शृङ्खला र ह्यारीको संस्मरणात्मक पुस्तक ‘स्पेयर’मार्फत बेलायती राजपरिवार र राजसंस्थामाथि पटक–पटक आलोचना गरेका थिए । सन् २०२१ मा ओप्रा विन्फ्रेसँगको अन्तर्वार्ताका क्रममा मेघनले राजपरिवारका एक सदस्यले उनका छोरा आर्चीको छालाको रङ कति गाढा हुन सक्छ भनेर प्रश्न गरेको बताएकी थिइन् । त्यसपछि ह्यारीका दाजु तथा बेलायती राजगद्दीका उत्तराधिकारी प्रिन्स विलियमले बेलायती राजपरिवार जातिवादी रहेको आरोप अस्वीकार गरेका थिए । ह्यारीले आफ्ना पिता राजा चार्ल्स र दाजु विलियमबारे पनि कडा टिप्पणी गरेका थिए । त्यसपछि उनीहरूबीचको सम्बन्ध निकै बिग्रिएको थियो । ह्यारी बेलायती सरकारले आफ्नो सुरक्षा व्यवस्थामा गरेको परिवर्तनप्रति पनि असन्तुष्ट थिए । स्वतः प्राप्त हुने प्रहरी सुरक्षा हटाइएपछि आफ्ना छोराछोरीलाई बेलायत ल्याउन आफू असुरक्षित महसुस गरेको उनले बताएका थिए । बुबा–छोराको सम्बन्धमा सुधार तर गत सेप्टेम्बरमा ह्यारी र राजा चार्ल्सबीचको सम्बन्धमा केही सुधार देखिएको थियो । २० महिनापछि उनीहरू पहिलोपटक छोटो भेटमा सहभागी भएका थिए । राजा चार्ल्सलाई सन् २०२४ मा क्यान्सर भएको पत्ता लागेको थियो । गत डिसेम्बरमा उनले उपचारप्रति आफ्नो शरीरले ‘असाधारण रूपमा राम्रो’ प्रतिक्रिया दिएको र चिकित्सकहरूले उपचार क्रमशः घटाउँदै लगेको बताएका थिए । गत महिना ह्यारी, मेघन र उनका छोराछोरी बेलायत पुगेका बेला राजा चार्ल्सले सन् २०२२ पछि पहिलोपटक आफ्ना नातिनातिनासँग भेट गरेका थिए । राजा चार्ल्सले ससेक्स परिवारलाई अझ बढी भेट्न पाउने अवसरको स्वागत गरे पनि उनीहरू बेलायत फर्किने योजनाबारे भने आइतबार मात्रै जानकारी पाएको समाचारमा उल्लेख छ । ह्यारी र उनका पिताबीचको सम्बन्धमा सुधार आए पनि दाजु विलियमसँग भने उनको सम्बन्ध अझै सामान्य बन्न सकेको छैन । हलिउडमा पनि प्रयास अमेरिका बसेपछि ह्यारी र मेघनले हलिउडमा विभिन्न सञ्चार परियोजना अघि बढाएका थिए । उनीहरूले पोडकास्ट शृङ्खलाका लागि स्पोटिफाइ र विभिन्न कार्यक्रम निर्माणका लागि नेटफ्लिक्ससँग करोडौं डलरका सम्झौता गरेका थिए । तर ती परियोजनाले मिश्रित सफलता पाए । ह्यारीको संस्मरणात्मक पुस्तक निकै सफल भयो भने उनीहरूको पोडकास्ट सम्झौता अन्त्य भयो । मेघनले सञ्चालन गरेको नेटफ्लिक्स कार्यक्रम तेस्रो सिजनका लागि नवीकरण भएन । हलिउड प्रकाशन ‘डेडलाइन’का कार्यकारी सम्पादक डोमिनिक प्याटेनका अनुसार ह्यारी र मेघनले आफूहरूले चाहेको ‘सुपरस्टार’ हैसियत हासिल गर्न नसके पनि उनीहरूले आफ्नो कथाप्रति सार्वजनिक चासो भने कायम राख्न सफल भएका छन् ।
मुक्तिनाथ विकास बैंकको चाडपर्व अफर, कृषि तथा एसएमई कर्जामा छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ । बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जामा आधार दरमा न्यूनतम ०.५० प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ । साथै, कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । बैंकका अनुसार यो योजनाले चाडपर्वको समयमा व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा कार्यशील पुँजी व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन कृषि तथा साना तथा मझौला व्यवसायीलाई सहयोग पुग्नेछ । योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजीलगायत सम्बन्धित प्रयोजनका लागि कर्जा लिन सकिनेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्थानान्तरण गर्नसमेत यो सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ । यो विशेष कर्जा सुविधा बैंकका देशभर रहेका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी कर्जाको प्रकार, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे जानकारी लिन सक्नेछन् । बैंकले विशेष कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ ।