घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य घटेको छ । तोलामा १ हजार २ सय रुपैयाँले घटी ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँ बढी ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत पाँच दिनमा २४ हजार २ सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटी ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत वर्षको माघ १५ गते सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
नाइमा एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक, १५ लाख ५० हजारसम्मको लाभ
काठमाडौं । नेपालमा एमजीको सबैभन्दा ठूलो र शक्तिशाली एसयूभी एमजी मेजेस्टर सार्वजनिक भएको छ । जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा मेजेस्टर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार मेजेस्टर भारतको पहिलो डी–प्लस एसयूभी हो । यो पूर्ण आकारका एसयूभीभन्दा माथिल्लो श्रेणीमा पर्छ । ५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ रहेको मेजेस्टरको सडकमा आकर्षक उपस्थिति देखिन्छ । यसमा २१९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २६५/५५ आर१९ अल–टेरेन टायर प्रयोग गरिएको छ । २१५.५ पीएस पावर मेजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन जडान गरिएको छ । यसले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ । यसलाई ८–गियर स्वचालित गियरबक्ससँग जोडिएको छ । मेजेस्टर दुई पांग्रे र चार पांग्रे दुवै सञ्चालन प्रणालीमा उपलब्ध छ । नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यसमा १० वटा अफ–रोड मोड उपलब्ध छन् । स्यान्ड, स्नो, मड र रक मोडलगायत सुविधा छन् । त्यस्तै, अगाडि, बीच र पछाडिको गरी तीनवटा डिफरेन्सियल लक तथा ८१० मिलिमिटरसम्म पानीमा चल्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । ६ र ७ सिटको विकल्प मेजेस्टरमा ६ सिट र ७ सिटको विकल्प उपलब्ध छ । ६ सिटको संस्करणमा दोस्रो पंक्तिमा क्याप्टेन सिट राखिएको छ । अगाडिका सिटमा एम–लाउन्ज बहु–मोड मसाज र भेन्टिलेसन सुविधा छ । त्यस्तै, पानोरामिक ग्लास रूफ, १२.३ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन र ७५ भन्दा बढी कनेक्टेड कार सुविधा उपलब्ध छन् । मेजेस्टरमा ६ वटा एयरब्याग, लेभल–२ एडीएएस, ३६० डिग्री क्यामेरा र इलेक्ट्रोनिक पार्किङ ब्रेकलगायत सुरक्षा सुविधा छन् । गो अटोमोबाइल्सले मेजेस्टरमा ५ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ । नेपालभर २४ घण्टा सेवा उपलब्ध हुने सडक सहायता पनि दिइने कम्पनीले जनाएको छ । नाइमा एक्स्पोमा १५ लाख ५० हजारसम्मको लाभ नाइमा एक्स्पोमा मेजेस्टर बुक गर्ने ग्राहकले १५ लाख ५० हजार रुपैयाँसम्मको मूल्य लाभ पाउनेछन् । यसअन्तर्गत ८ लाख रुपैयाँ नगद छुट, एक वर्षको पूर्ण बिमा र प्रिमियम एसेसरिज निःशुल्क उपलब्ध गराइनेछ । त्यस्तै, १० हजार रुपैयाँभन्दा माथिको बुकिङमा उपहार प्याकेज तथा सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
इरानी मिसाइल हमलाको डरले ट्रम्पले चुपचाप बदलेका थिए विमान
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्किने क्रममा आफूले चुपचाप विमान परिवर्तन गरेको बताएका छन् । सम्भावित सुरक्षा जोखिमका कारण गोप्य रूपमा विमान परिवर्तन गरिएको उनको भनाइ छ । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले सिक्रेट सर्भिस र सेनाको सुझाव पालना गरेको बताए । उनले भने, ‘म सिक्रेट सर्भिस र सेनाको कुरा मान्छु। उनीहरूले मलाई अर्को उडान र अर्को विमानबाट जान भनेका थिए । मैले उनीहरूले भनेअनुसार गर्नुपर्थ्यो ।’ यो जानकारी जुलाई ८ मा ट्रम्प टेलिभिजन क्यामेराको उपस्थितिमा ‘एयर फोर्स वन’ मा चढेको देखिएको घटनासम्बन्धी रिपोर्टहरू सार्वजनिक भएपछि बाहिर आएको हो । त्यसपछि उनलाई क्याटरिङ ट्रकमार्फत एउटा सैन्य विमानमा लगिएको थियो । अन्तिम समयमा विमान परिवर्तन गरिएको घटनाले ट्रम्पलाई देखावटी रूपमा ‘एयर फोर्स वन’मा चढाइएको थियो कि भन्ने प्रश्नसमेत उठेको छ । उक्त विमानमा रहेका पत्रकार र ह्वाइट हाउसका कर्मचारीलाई राष्ट्रपति विमानमा नरहेको जानकारीसमेत दिइएको थिएन । तर ट्रम्पले मंगलबार आफूपछि चढेको सैन्य विमान नै ‘झन् बढी जोखिममा’ रहेको बताए । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजलाई अधिकारीहरूले दिएको जानकारीअनुसार इरानले विमानमा क्षेप्यास्त्र आक्रमण गर्न सक्ने आशंका थियो । त्यसैको सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्रम्पलाई गोप्य रूपमा अर्को विमानमा सारिएको थियो । ट्रम्पले टर्कीको राजधानी अंकारामा भएको नेटो सम्मेलनका क्रममा आफू इरानको ‘टार्गेट नम्बर एक’ रहेको यसअघि नै बताएका थिए । मंगलबार उनले भने, ‘मेरो अनुमानमा कुनै खतरा थियो । मैले त्यसबारे धेरै जानकारी मागिनँ। मलाई धेरै धम्की आउँछन् ।’ ‘यस्ता धेरै धम्की आउँछन् जसबारे तपाईंहरूलाई समेत थाहा हुँदैन,’ उनले थपे । यो गोप्य सुरक्षा कदम अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता भंग भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य हमला सुरु गरेको समयको हो । त्यसको भोलिपल्ट ट्रम्पले विमान परिवर्तन गरेका थिए । ट्रम्प कतारले उपलब्ध गराएको नयाँ बोइङ ७४७–८ विमानबाट टर्की पुगेका थिए । तर उनले ‘पुराना दिनको सम्झनाका लागि’ पुरानो एयर फोर्स वनबाट फर्किने बताएका थिए । जुलाई ८ मा सार्वजनिक भिडियोमा ट्रम्प अंकारा विमानस्थलमा राष्ट्रपति सवार हुने विमानमा चढिरहेको देखिएका थिए । तर ‘द वासिङ्टन पोस्ट’ का अनुसार त्यसपछि ट्रम्प एयर फोर्स वनबाट क्याटरिङ ट्रकमा गए । उक्त ट्रकलाई विमानको तहसम्म उठाइएको थियो । त्यसपछि उनलाई गोप्य रूपमा सानो सी–३२ए सैन्य विमानमा लगियो । यो बोइङ ७५७ को परिमार्जित संस्करण हो, जसलाई प्रायः अमेरिकी उपराष्ट्रपतिले प्रयोग गर्छन् । रक्षामन्त्री पीट हेगसेथ पनि छुट्टै बाहिरी भर्याङबाट सी–३२ एमा चढेका थिए । यसबाट उडान सामान्य रूपमा भइरहेको देखाउने प्रयास गरिएको थियो । यसैबीच पत्रकार र ह्वाइट हाउसका केही कर्मचारी भने एयर फोर्स वनमै बसे । उनीहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्न भनिएको थियो । राष्ट्रपति विमानमा नरहेको कुरा उनीहरूलाई थाहा थिएन । एयर फोर्स वनमा रहेका एक पत्रकार टोलीका सदस्यका अनुसार उडानका क्रममा असामान्य रूपमा पत्रकारहरूलाई झ्यालका पर्दा बन्द राख्न भनिएको थियो । एक फोटोग्राफरले केही समयका लागि पर्दा खोलेपछि तत्काल बन्द गर्न भनिएको थियो । उनलाई यो राष्ट्रपति सुरक्षामा खटिएको सिक्रेट सर्भिसको अनुरोध भएको बताइएको थियो । ह्वाइट हाउस संवाददाता संघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पत्रकारहरू विमानमा पुग्दा विमानको अगाडि र पछाडि दुईवटा क्याटरिङ ट्रक देखिएका थिए । विमानस्थलमा पत्रकारहरूलाई बोक्ने सवारीसाधन पनि राष्ट्रपतिको सवारीभन्दा निकै पछाडि राखिएको थियो, जसका कारण उनीहरूले ट्रम्प विमानमा चढेको तस्बिर खिच्न सकेनन् । प्राविधिक रूपमा अमेरिकी राष्ट्रपति सवार जुनसुकै विमानको कलसाइन ‘एयर फोर्स वन’ हुन्छ । तर उक्त अवसरमा सी–३२ए विमानले ‘रिच १८’ कलसाइन प्रयोग गरेको थियो । पत्रकारहरूलाई बोकेको विमानले भने ‘एएफ १’ कलसाइन नै प्रयोग गरिरह्यो, ताकि राष्ट्रपति अझै त्यही विमानमा रहेको देखियोस् । ट्रम्प त्यसपछि अमेरिका फर्किने क्रममा बेलायत पुगे। त्यहाँ उनले पुरानो एयर फोर्स वनमा पुनः यात्रा गरे । आरएएफ मिल्डेनहलमा विमान अवतरण गरेपछि उनलाई त्यसबाट ओर्लिएको देखिएको थियो। तर सी–३२एबाट उनी कसरी पुरानो एयर फोर्स वनमा पुगे भन्ने स्पष्ट छैन । त्यसपछि ट्रम्प कतारले उपलब्ध गराएको नयाँ एयर फोर्स वनमा चढेर वासिङ्टन फर्किएका थिए । त्यस उडानमा उनले विमानमा रहेका पत्रकारहरूसँग कुरा गरेका थिए । उनले इरानबाट उत्पन्न हुन सक्ने खतराबारे उल्लेख गरे पनि आफूले टर्कीबाट फर्किँदा विमान परिवर्तन गरेको विषय भने बताएनन् । टर्कीबाट उडेको विमानमा पत्रकारहरूलाई झ्यालका पर्दा बन्द राख्न किन भनिएको थियो भन्ने प्रश्नमा ट्रम्पले त्यतिबेला भनेका थिए, ‘सायद तपाईं खतरनाक उडानमा हुनुहुन्छ । हामीले सामना गर्नुपर्ने घटिया मानिसहरूका कारण ।’ उनले आफ्नो ज्यानलाई ‘हरेक समय खतरा’ रहेको र इरानको ‘सूची’ मा आफू ‘नम्बर एक’ मा रहेको समेत बताएका थिए । (बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित)
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याजमा ३३.३३ प्रतिशतसम्म छुट
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले कर्जाको प्रिमियम दर र सेवा शुल्क दुवैमा ३३.३३ प्रतिशतसम्म छुट पाउनेछन् । गाडी खरिद गर्न इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकैको बैंक शाखामा पुगेर कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । आवश्यक कागजात पूरा गरेपछि बैंकले गाडी खरिदका लागि तत्काल स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ । यस अफरसम्बन्धी थप जानकारी लिन ग्राहकले बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, बैंकको कल सेन्टर नम्बर ०१–५९७०१६१ मा फोन गरेर पनि जानकारी लिन सकिने बैंकले जनाएको छ ।
पाल्पा सिमेन्टको २ लाख ८१ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लकइन अवधि सकिँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरेको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ देखि सकिने जनाएको छ । कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । त्यसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर छुट्याइएको थियो । बाँकी १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको थियो । त्यस्तै, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ८१ हजार २५० कित्ता सेयर छुट्याइएको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषका योजनालाई बाँडफाँट गरिएको सेयर सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइन राख्नुपर्ने व्यवस्था रहेको जनाएको छ । सोहीअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको सेयरको लकइन अवधि भदाै २८ गते समाप्त हुने कम्पनीले जानकारी गराएको छ ।
कोलम्बिया भूकम्प : मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार यस विपदमा परी अन्य १ हजार ६ सय ७७ जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार क्याली शहरमा ९५ जनाको मृत्यु भएको छ भने ९ सय ९७ जना घाइते भएका छन् । त्यसैगरी परेरा शहरमा ७९ जनाको ज्यान गएको र २ सय ७८ जना घाइते भएको तथ्याङ्क छ ।एसोक्यापिटल्सकाअनुसार प्रभावित क्षेत्रहरूमा उद्धार तथा क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको छ । संस्थाले बेपत्ता भएका व्यक्तिहरूको खोजी र उनीहरूको सूचना सङ्कलनका लागि एक विशेष रिपोर्टिङ प्रणाली समेत शुरु गरेको छ ।
राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?
काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले उक्त नाफा कमाएका हुन् । गत आर्थिक वर्षको नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ६३.६८ प्रतिशत अर्थात् ३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा यी बैंकहरूले कुल ५ अर्ब २८ करोड ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक रहेको छ। बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, लुम्बिनी विकास बैंकको खुद नाफा २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ८२.९६ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ थियो । महालक्ष्मी विकास बैंकले ४८.४६ प्रतिशतले नाफा बढाउँदै ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४६.९६ प्रतिशतले बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ थियो । गरिमा विकास बैंकले ३५.३४ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ थियो । त्यसैगरी, कामना सेवा विकास बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथ विकास बैंकको खुद नाफा भने १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कुमारी बैंकको नाफा ७.३८ अर्ब, वितरणयोग्य नाफा धनात्मक
काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३०५.९५ प्रतिशत बढेर ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशत बढेर १२ अर्ब १ करोड ३० लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ६२ करोड १५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४ करोड ८८ लाख ६४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा ११ अर्ब २३ करोड ५५ लाख २५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख २० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ५८ करोड ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ३.०२ प्रतिशत रहेको छ । २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७७ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १०.४४ प्रतिशत बढेर ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ र कर्जा लगानी ४.०७ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ९२ करोड २२ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब ३२ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । अघिल्लो वर्ष ६.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २८.१७ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात गुणा छ भने प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ छ । बैंकको खराब कर्जा ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ ।