यसरी हुँदैछन् ५५ ब्राण्डका स्टल निर्माण, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी धमाधम चलिरहेको छ । एक्स्पो सुरु हुन एक दिन मात्र बाँकी रहँदा विभिन्न अटोमोबाइल ब्रान्डहरू आफ्ना स्टल सजाउन व्यस्त छन् । प्रदर्शनी स्थलमा रातिसम्मै स्टल निर्माण तथा सजावटको काम भइरहेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा (भोली) साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो सञ्चालन हुँदैछ ।
२८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा लिन्छ : नेता बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्ब निकास दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सिन्धु–काठमाडौंले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिएका हुन् । निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी उनले दिए । उनले मुलुकमा बढ्दै गएको निरङ्कुशतालाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ शक्तिका रूपमा स्थापित गर्नुको विकल्प नरहेको बताए । देशभरका युवा कार्यकर्तालाई आ–आफ्नो जिल्लामा एकीकृत भएर सङ्गठन सुदृढीकरणको अभियान अघि बढाउनसमेत उनले आह्वान गरे । नेता बस्नेतले भने, ‘मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो । मुलुकको भविष्य हाँक्न, सबै राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै देशलाई निकास दिन र बढ्दै गएको निरङ्कुश प्रवृत्तिलाई रोक्न सक्षम कांग्रेस निर्माण गर्नुपर्छ । यदि २८ गतेसम्म गगन थापाजीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिन सक्छ, त्यो २९ गतेबाट सुरुवात हुन्छ ।’ वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै देशलाई सही निकास दिन कांग्रेसले आन्तरिक रूपमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।
नाइमा एक्स्पोको तयारी पूरा, मंगलबारदेखि ५५ ब्रान्डहरूको कुम्भमेला
काठमाडौं । राजधानीको भृकुटीमण्डप यतिबेला नयाँ र आधुनिक गाडीहरूको चमकधमकले भरिने पर्खाइमा छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणका लागि तयारी अन्तिम चरणमा पुगेको छ । ५५ ब्रान्ड र ५१ स्टलहरूको रौनक मंगलबारदेखि सुरु हुने यस एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहने जनाइएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलभित्र ५१ वटा भन्दा बढी स्टलहरू निर्माण भइरहेका छन् । निर्माण कार्यमा संलग्न कामदारहरू दिनरात नभनी स्टलहरूलाई अन्तिम रूप दिन व्यस्त देखिन्छन् । कोही पेन्टिङमा व्यस्त छन् भने कोही लाइटिङ र डेकोरेसनमा । कतिपय स्टलहरूले आफ्नो ब्रान्डको पहिचान झल्काउने गरी विशेष र विलासी डिजाइनहरू तयार पारेका छन् । यस पटकको एक्स्पोको मुख्य आकर्षण भनेको ४० वटा नयाँ ब्रान्ड तथा मोडलहरूको सार्वजनिक हुनु हो । अटो प्रेमीहरूका लागि यो निकै उत्साहजनक खबर हो । प्रदर्शनीमा बिवाइडी, निसान, टाटा, टोयोटा, हुण्डाई, किया, महिन्द्राजस्ता स्थापित ब्रान्डका साथै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससजस्ता नयाँ ब्रान्डहरू पनि देखिनेछन् । यसैगरी पारामाउन्ट मोटर्सको स्टलमा विशेष आकर्षण रहनेछ होङ्ची गुओली ब्रान्डको गाडी । यो त्यही ब्रान्ड हो जुन चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रयोग गर्ने गर्छन् । पारामाउन्ट मोटर्सले मात्रै ८ वटा नयाँ मोडल लन्च गर्दैछ । त्यस्तै, टोयोटाले आफ्नो स्टलमा दुईवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । टोयोटाले एक्स्पो अवधिभर गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको भारी छुट दिने घोषणा समेत गरेको छ । जसले ग्राहकहरूलाई निकै आकर्षित गर्ने देखिन्छ । दुई पाङ्ग्रे सवारी र विद्युतीय प्रविधि एक्स्पोमा चार पाङ्ग्रे मात्र नभई दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको पनि उत्तिकै बलियो उपस्थिति रहनेछ। टिभीएस लगायतका ब्रान्डहरूले आफ्ना नयाँ स्कुटर र बाइकहरू प्रदर्शन गर्नेछन् । पछिल्लो समय लोकप्रियता कमाइरहेका विद्युतीय सवारी (ईभी) हरू यस मेलाको मुख्य हिस्सा रहनेछन । प्रदर्शनी हेर्न आउने दर्शकहरूको सुविधाका लागि नाइमाले हलभित्र स्पष्ट दिशा निर्देश र पर्याप्त वासरुमको व्यवस्था गरेको छ । वर्षायामको मौसम भएकाले बिजुली जाने समस्यालाई मध्यनजर गर्दै ठूला क्षमताका जेनेरेटरहरूको ब्याकअप राखिएको छ, जसले गर्दा प्रदर्शनीमा कुनै पनि समय अन्धकार नहुने र उज्यालोको चमक कायमै रहने सुनिश्चित गरिएको छ । एक्स्पोमा ग्राहकले विभिन्न छुट अफरमा आफ्नो रोजाइका सवारी बुकिङ गर्न सक्नेछन् । नाइमाका अनुसार एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा र मोबिलिटीसम्बन्धी विभिन्न उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । यात्रुवाहक विद्युतीय सवारीसाधनसमेत एक्स्पोको प्रमुख आकर्षणका रूपमा रहनेछन् । गत वर्ष पहिलोपटक आयोजना गरिएको नाइमा एक्स्पोले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि यसपटक अझ व्यापक बनाइएको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले बताइन् । उनले गत वर्षको सफलताले एक्स्पोलाई थप विस्तार गर्ने आधार तयार भएको बताइन् । ‘एक्स्पोमार्फत हामीले आफूलाई नयाँ संस्थाका रूपमा स्थापित गर्न सफल भयौं,’ उनले भनिन्, ‘गत वर्ष ४२ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका थिए । यसपटक त्यो संख्या बढेर ५५ पुगेको छ । ब्रान्डको सहभागिता बढ्नु पनि हाम्रो लागि महत्वपूर्ण सफलता हो ।’ उनका अनुसार नाइमा एक्स्पो केवल सवारीसाधन प्रदर्शन गर्ने थलोमा सीमित नभई अटोमोबाइलप्रेमी, व्यवसायी र आम उपभोक्तालाई एउटै छानामुनि जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । ‘अटोप्रेमीको एउटा हिस्सा बन्ने गरी नाइमा एक्स्पो आयोजना गर्दैछौं,’ वैद्यले भनिन्, ‘यसलाई अटोमोबाइल क्षेत्रको प्रविधि, नयाँपन र सम्भावनासँग नजिकबाट जोडिने अवसरका रूपमा विकास गर्न चाहन्छौं ।’ गत वर्षको तुलनामा ब्रान्डहरूको संख्या बढेर ४२ बाट ५५ पुग्नुले नेपालको अटोमोबाइल क्षेत्रमा बढ्दो उत्साहलाई झल्काउँछ । साउन २६ गतेदेखि सुरु हुने यो ६ दिने मेलाले नेपालको यातायात क्षेत्रको भविष्य र नयाँ प्रविधिको दिशा तय गर्ने अपेक्षा गरिएको छ । गत वर्ष एक्स्पोमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको नाइमाले जनाएको छ । यसपटक भने गत वर्षभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य नाइमाको छ ।
चीनका राजदूतसँग प्रधानमन्त्री शाहको छलफल, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार (आज) उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए । राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
शिक्षामन्त्री र सम्पादकबीच छलफल, सरकारी सूचना प्रवाह पारदर्शी बनाउन आग्रह
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्ने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री पोखरेलले सरकारका कामकारबाहीबारे नागरिकलाई समयमै र सहज रूपमा जानकारी गराउन सूचना प्रवाहलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् । छलफलमा सहभागी सञ्चारमाध्यमका प्रधानसम्पादक तथा प्रतिनिधिहरूले प्रधानमन्त्री तथा अन्तरमन्त्रालयका गतिविधि, सरकारी निर्णय र सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताए । उनीहरूले मन्त्रालयले रणनीतिक महत्वका नीतिगत निर्णय गर्दा सरोकारवालासँग पर्याप्त छलफल गरी राय–सुझाव लिनुपर्नेमा समेत जोड दिए । नीतिगत निर्णयअघि सरोकारवालासँग छलफल गर्दा त्यसको स्वीकार्यता, गरिमा र दिगोपना बढ्ने उनीहरूको भनाइ थियो । पत्रकारहरूले विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यवहारिक, वैज्ञानिक तथा जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको पनि औंल्याए । मन्त्री पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको बताए । वर्तमान सरकार लोकतान्त्रिक प्रक्रिया र प्रणालीबाट आएको उल्लेख गर्दै उनले सरकारका सबै कामकारबाही लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुने स्पष्ट पारे । 'वर्तमान सरकार एक्सनबाट होइन, प्रजातान्त्रिक प्रक्रियाबाट जनमत लिएर आएको हो । त्यसैले सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता रहन्छ,' मन्त्री पोखरेलले भने, 'जनताको आशा र भरोसालाई साकार पार्न अहोरात्र खटिएका छौँ ।' उनले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई प्राथमिकता दिइएको बताए । विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको दाबी गर्दै उनले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए । मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मन्त्रालय र सञ्चारमाध्यमबीच बलियो तथा प्रभावकारी समन्वय कायम गर्दै सूचना प्रवाहलाई थप सहज बनाइने बताए । विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउनुका साथै शिक्षा क्षेत्रको समग्र सुधारका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको उनले उल्लेख गरे । कार्यक्रममा सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिहरूले सरकारी सूचना प्रवाहलाई थप सहज र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । देश सञ्चार डटकमका सम्पादक तथा वरिष्ठ पत्रकार युवराज घिमिरेले सरकारी सूचना समयमै, सहज र पारदर्शी ढङ्गले सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने बताए । हिमालय टेलिभिजन तथा अनलाइनखबरका समूह सम्पादक उमेश चौहानले जनताको भरोसा र जनमत प्राप्त सरकारले जनआकाङ्क्षा पूरा गर्दै शिक्षा क्षेत्रमा रहेका बेथितिलाई नीतिगत रूपमा सुधार गर्नुपर्ने बताए । सेतोपाटी डटकमका सम्पादक सुदीप श्रेष्ठले सरकारले कसरी काम गरिरहेको छ र भइरहेका सुधारबारे आम नागरिकले सहज रूपमा जानकारी पाउनुपर्ने बताए । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सरकार र सञ्चारमाध्यमबीच निरन्तर छलफलले सूचनाको सहजता बढाउनुका साथै दुवैबीचको दूरी कम गर्न मद्दत पुग्ने बताए । कान्तिपुर दैनिकका प्रधानसम्पादक गोकर्ण अवस्थीले सूचना सहज रूपमा प्रवाह हुन नसके ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ को जोखिम बढ्ने बताए । शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विश्वविद्यालयप्रतिको विश्वासलाई संस्थागत रूपमा बलियो बनाउन आवश्यक नीतिगत परिवर्तन गर्नुपर्ने बताए । पत्रकार बिनु सुवेदीले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउँदै सूचना प्रवाह र जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने धारणा राखिन् । द काठमाडौं पोस्टका समाचार सम्पादक विनोद घिमिरेले सरकारी सूचना दिने प्रणालीलाई सरल र सहज बनाउनुपर्नेमा जोड दिए । शिक्षामन्त्रीका सल्लाहकार सरोज गौतमले छलफलको सहजीकरण गरेका थिए ।
नेशनल लाइफको ब्रान्च मेनेजर्स कन्फरेन्स सम्पन्न, एआई र डिजिटल मार्केटिङमा जोड
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको बताइन् । प्रतिस्पर्धामा अब्बल बन्न कर्मचारीले आफूलाई सोहीअनुसार तयार गर्नुपर्ने उनको भनाइ थियो । उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले आवश्यक तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको बताइन् । पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जीवन बीमा क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने भन्दै उनले एआईसम्बन्धी ज्ञानलाई डिजिटल मार्केटिङमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । कम्पनीले कर्मचारीको वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको उनले बताइन् । आगामी दिनमा पनि कर्मचारीको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वास उनले व्यक्त गरिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आर्थिक वर्षसँगै नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात भएको बताए । उनले नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको दिन नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्याउने अवसर भएको बताए । सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए । जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएको भन्दै उनले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीलाई यस विषयमा चनाखो र जिम्मेवार भएर काम गर्न आग्रह गरे । त्यस्तै, एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रशिक्षण दिएका थिए । उनले विभिन्न एआई टुल्सबारे जानकारी दिँदै यसको प्रयोगबाट बीमा व्यवसायको डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन सकिने उपायबारे प्रशिक्षण दिए । श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती र व्यावसायिक सफलता हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए । उनले बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो । त्यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन र बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष सिंहले उत्कृष्ट शाखा कार्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् । सम्मेलनमा कर्मचारीको क्षमता विकाससँगै मनोरञ्जन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि आयोजना गरिएको थियो । पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए । चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
दूधखोला जलविद्युत आयोजनामा एनएमबी र सानिमा बैंकले १० अर्ब लगानी गर्ने
काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएपछि आयोजना निर्माणको बाटो खुलेको हो । सम्झौताअनुसार आयोजनामा लिड बैंकका रूपमा रहेको एनएमबी बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सहायक बैंकका रूपमा रहेको सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन् । दुई बैंकले आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । मनाङमा निर्माण हुने आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । प्रति मेगावाट लागत २० करोड रुपैयाँभन्दा कम रहेकाले आयोजनालाई आकर्षक मानिएको कम्पनीले जनाएको छ । बैंकहरूको लगानीबाहेक आवश्यक रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ । वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम अघि बढाउने कम्पनीको तयारी छ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य कम्पनीले लिएको छ । माउण्टेन इनर्जीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना र ५ मेगावाट क्षमताको ताँदीखोला जलविद्युत् आयोजनाबाट हाल नियमित रूपमा विद्युत् उत्पादन भइरहेको छ ।
ठगीधन्दामा टिकटकको ‘लक्ष्मी कलेक्सन’, सामान किन्न खोज्दा बैंक खातै रित्तियो
काठमाडौं । सामाजिक सञ्जालमा आकर्षक सामानको विज्ञापन देखाई ग्राहकलाई ह्वाट्सएपसम्म पुर्याउने र त्यसपछि बैंक खातामै पहुँच बनाएर रकम निकाल्ने ठगीको जोखिम बढ्दै गएको छ । यस्तै घटनामा ‘लक्ष्मी कलेक्सन स्टोर’ नामक टिकटक अकाउन्टबाट सामान खरिद गर्न लागेका केही उपभोक्ता ठगीमा परेको भन्दै प्रहरीमा पुगेका छन् । महिला तथा बालबालिकालाई लक्षित कपडा, जुत्ता लगायतका सामग्रीका १७३ वटा भिडियो पोस्ट गरिएको उक्त टिकटक अकाउन्टमा भिडियोमा न आवाज सुनिन्छ, न अनुहार देखिन्छ। भिडियोको शैली हेर्दा एआईबाट निर्मित सामग्रीजस्तो देखिए पनि हजारौं उपभोक्ताले ती भिडियोको कमेन्टमा सामान खरिदबारे जिज्ञासा राखेको देखिन्छ । ग्राहकको जिज्ञासामा स्टोरको तर्फबाट अधिकांश अवस्थामा ह्वाट्सएप नम्बरमात्र उपलब्ध गराइएको पाइएको छ। ह्वाट्सएपबाट सम्पर्क गरी सामान खरिद गर्ने भन्दै रकम पठाएका केही ग्राहक पछि ठगीमा परेका हुन् । नवलपरासी पूर्वको हुप्सेकोटकी नानुमाया विक पनि यही जालोमा परेको उजुरीमा उल्लेख छ । उनले उक्त स्टोरले दिएको माध्यमबाट सामान खरिदका लागि रकम पठाइन् । तर, सामान नआएपछि उनले स्टोरमा गुनासो गरिन् । स्टोरले रकम प्राप्त नभएको भन्दै बैंक स्टेटमेन्ट पठाउन भन्यो । उनले विश्वास गरेर बैंक स्टेटमेन्ट पठाएपछि त्यसमा रहेको विवरण प्रयोग गरी उनको बैंक खाताबाट रकम निकालिएको पाइएको छ । यसरी उनको खातामा रहेको रकम नै निकालिएको उजुरीमा उल्लेख छ । काठमाडौंको बौद्धका छिरिङ लिम्जोम लामा पनि यही स्टोरको सम्पर्कमा पुगेपछि ठगीमा परेको प्रहरीले जनाएको छ । दुवैजनाले प्रहरीमा उजुरी दिएका छन् । तर, उनीहरूको रकम फिर्ता हुने वा नहुनेबारे यकिन भइसकेको छैन । अनलाइन खरिद गर्दा केमा ध्यान दिने ? सामाजिक सञ्जालमा देखिएको विज्ञापनकै आधारमा अनलाइनबाट सामान खरिद गर्दा उपभोक्ता थप सचेत हुनुपर्छ । सामान खरिद गर्नुअघि बिक्रेताको वास्तविक पहिचान, व्यवसाय सरकारी निकायमा दर्ता भए/नभएको तथा आधिकारिक सम्पर्क विवरण जाँच गर्नु पर्दछ । अनलाइन कारोबार गर्दा अपरिचित व्यक्तिले पठाएका लिंकमा क्लिक नगर्न, ओटीपी, बैंकिङ पासवर्ड, कार्डसम्बन्धी विवरण तथा अन्य संवेदनशील व्यक्तिगत जानकारी कसैलाई पनि उपलब्ध नगराउन प्रहरीले समेत आग्रह गर्दै आएको छ । सामान खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिनु पनि महत्त्वपूर्ण हुन्छ । २५० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा प्यान वा भ्याट नम्बर उल्लेख भएको बिल लिने उपभोक्तालाई सरकारले प्रोत्साहन गर्ने व्यवस्था समेत गरेको छ । त्यसैले सामाजिक सञ्जालमा देखिएको आकर्षक विज्ञापनकै भरमा सामान खरिद गर्नुको सट्टा बिक्रेताको आधिकारिकता जाँच गर्ने, सुरक्षित माध्यमबाट भुक्तानी गर्ने र अनिवार्य रूपमा बिल लिने गर्नुपर्दछ । हेर्नूहोस् भिडियो :