विकासन्युज

सेयर बजार ९ अंकले घट्यो, साढे ३ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २६४१ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३५२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिडि पावरको २९ करोड, फस्ट माइक्रो फाइनान्सको १२ करोड, सप्तकोशी डेभलपमेन्टको ९ करोड र आँखु खोलाको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज ४ वटा उपसमूहको सूचक बढेको छ । हाइड्रोपावर ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत, माइक्रोफाइनान्स ०.१९ प्रतिशत र नन लाइफ इन्स्योरेन्स ०.०४ प्रतिशत बढेको छ ।   

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।  महानगर प्रमुख चिरीबाबु महर्जनले ८२ जना विद्यार्थीलाई सम्मान स्वरूप नगद प्रदान गरेका हुन् । नगदसहित सम्मानित हुने विद्यार्थीहरूमा सामुदायिकबाट ७ र संस्थागत तर्फबाट ७५ जना रहेका छन् । सम्मानित हुने सामुदायिक विद्यालयले चार लाख प्राप्त गरेको छ भने सम्मानित विद्यार्थीले जनही दुई लाख प्राप्त गरेका छन् ।  त्यस्तै, संस्थागत विद्यालयका विद्यार्थीले जनही २ लाख रूपैयाँ प्राप्त गरेका छन् भने विद्यालयले सम्मान स्वरूप प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रममा सामुदायिकबाट ४ र संस्थागतबाट २३ विद्यालयलाई सम्मान गरेको छ । संस्थागतबाट जेम्स स्कुलका सबैभन्दा धेरै १७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । त्यस्तै,  सेन्ट जेभियर्स माविका ८ जनाले ४ जिपिए ल्याएका छन् ।  ४ जीपिए ल्याउने संस्थागत विद्यालयहरूमा  रातो बङ्गला, ओमेगा इन्टरनेशनल, लिटिल एन्जल्स, आदर्श विद्या मन्दिरलगायत छन् ।  सम्मानित हुनेमा सामुदायिक विद्यालयहरूमा  श्री आदर्श शौल युवक माध्यमिक विद्यालय, श्री त्री पदमा विद्याश्रम माध्यमिक विद्यालय, श्री प्रभात माध्यमिक विद्यालय, श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालय रहेका छन् । सामुदायिक विद्यालयबाट ३.९५ जीपीए ल्याएपनि उनीहरूलाई ४ जीपीएसरह सम्मान गरेको महानगरले जनाएको छ ।  विद्यालय र विद्यार्थीले सम्मान गदै  महानगरका प्रमुख महर्जनले विद्यार्थी र विद्यालयलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । एसईईमा ४ जीपीए ल्याउने विद्यालय

हरि ढकाललाई सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ?

काठमाडौं । नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएकी हुन् । सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने तर्क गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै सांसद घतानीले ‘सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ?’ भन्दै प्रश्न गरिन् । उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्नसमेत चेतावनी दिइन् । सांसद घतानीले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप लगाइन् । उनले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारीपीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् । किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन पनि उनले सरकारसँग माग गरिन् । उनले भनिन्, ‘जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् । ग्यासको अभाव तत्काल समाधान गरियोस् । स्वास्थ्य बीमा कार्यक्रम पुनः प्रभावकारी बनाइयोस्, ताकि गरिब तथा विपन्न नागरिक उपचारबाट वञ्चित हुन नपरोस् ।’  सांसद घतानीले सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित र युवाका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । ‘सबैको एउटै प्रश्न छ– सरकार हामीलाई कहिले देख्छ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र ? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ । बन्द गरियोस्,’ उनले भनिन् । जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ भन्ने प्रश्न सांसद घतानीले सरकारसमक्ष राखेकी छन् ।

यी हुन् अर्थमन्त्रीले पत्याएका ठूला करदाता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार (आज) नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीसँग छलफल गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूका प्रतिनिधिसँग उनले अर्थमन्त्रालयमा छलफल गरेका हुन् । ठूला करदाता तथा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे । ‘नेपालमा अझ ठूलो लगानी गर्नूहोस् । भएका उद्योग विस्तार गर्नूहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नूहोस् । नयाँ प्रविधि भित्र्याउनूहोस् र नयाँ रोजगारी सिर्जना गर्नूहोस्,’ उनले भने, ‘सरकार तपाईंहरूको साथमा उभिनेछ ।’ सबैभन्दा धेरै कर तिर्ने बहुराष्ट्रिय कम्पनी: एनसेल आरती स्ट्रिप्स प्रालि गोर्खा ब्रुअरी प्रालि हिमालय एयरलाइन्स होङ्शी शिवम् सिमेन्ट डुसान इनरबिलिटी कम्पनी लिमिटेड डाबर नेपाल बोटलर्स नेपाल (तराई) लिमिटेड यूनिलिभर नेपाल लिमिटेड एशियन पेन्टस (नेपाल) प्रालि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना गोर्खा लहरी प्रालि ह्वासिन सिमेन्ट नारायणी प्रालि न्यू होप एग्रो बिजनेस नेपाल प्रालि नेपाल वेलहोप एग्रिटेक प्रालि वरुण वेभरेज नेपाल प्रालि टर्किस एयरलाइन्स ईन्कर्पोरेसन प्रालि भोटेकोशी पावर कम्पनी प्रालि बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् ।  यस्तै, उनले नेपालका ‘क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् । करदातालाई अर्थमन्त्रीले भने- अझै ठूलो लगानी गर्नूहोस्, सरकार साथमा छ

प्रधानमन्त्रीलाई सांसद काउचाले भनिन्– कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने बताइन् । तर, लोकतान्त्रिक व्यवस्था र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने उनको भनाइ छ । सांसद काउचाले प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गरिन् । संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ पनि उनले ध्यानाकर्षण गराइन् । प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै उनले प्रधानमन्त्री एक्लै नरहेको बताउँदै ‘कालो चस्मा खोल्न’ आग्रह गरिन् । संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्नसमेत गरिन् । उनले भनिन्, ‘म यो सदनबाट प्रधानमन्त्रीज्यूलाई स्पष्टसँग भन्न चाहन्छु, कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन । प्रधानमन्त्रीज्यू, तपाईं मान्नुस् या नमान्नुस्, तपाईं सत्तापक्षको मात्रै प्रधानमन्त्री होइन ।’ उनले प्रतिपक्षले प्रधानमन्त्रीको अपमान नगरेको बताइन् । ‘हामी तपाईंको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ,’ उनले भनिन् । प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीका कारण मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि प्रश्न उठ्नु दुःखद् भएको उनको भनाइ थियो । सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजिरहेको पनि स्पष्ट पारिन् ।

करदातालाई अर्थमन्त्रीले भने- अझै ठूलो लगानी गर्नूहोस्, सरकार साथमा छ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रलाई राजस्वको स्रोतका रूपमा मात्र नभई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा हेरेको बताएका छन् ।  उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट पारे । ठूला करदाता तथा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए। उनले व्यवसायीलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे । 'नेपालमा अझ ठूलो लगानी गर्नुहोस् । भएका उद्योग विस्तार गर्नुहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नूहोस् । नयाँ प्रविधि भित्र्याउनुहोस् र नयाँ रोजगारी सिर्जना गर्नुहोस्,' उनले भने, 'सरकार तपाईंहरूको साथमा उभिनेछ ।' वाग्लेले अर्थतन्त्रको रूपान्तरण सरकार वा कुनै एउटा मन्त्रालयको प्रयासबाट मात्रै सम्भव नहुने बताए । त्यसका लागि सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार पछिल्ला दिनमा उद्योगी-व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग भएका छलफलबाट पनि आर्थिक रूपान्तरणमा सरकार र निजी क्षेत्रले संयुक्त रूपमा नेतृत्व गर्नुपर्ने साझा निष्कर्ष आएको छ । अर्थमन्त्रीले सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने पुरानो प्रवृत्तिबाट बाहिर निस्कन खोजिरहेको बताए । सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको उनले स्पष्ट पारे । उनले उद्योगले कमाएको नाफा पुनःलगानी हुँदा उत्पादन विस्तार हुने, उत्पादन बढ्दा रोजगारी सिर्जना हुने, रोजगारीबाट आम्दानी बढ्ने र आम्दानी बढेपछि बजार विस्तार हुने उल्लेख गरे । अन्ततः यही प्रक्रियाबाट राज्यको राजस्वसमेत बढ्ने भएकाले सरकार र निजी क्षेत्रको सम्बन्ध एकअर्काको सफलतासँग जोडिएको उनको भनाइ थियो ।  'सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग सम्बन्ध होइन,' वाग्लेले भने, 'दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ ।' अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जित सम्पत्ति र आर्जित नाफाको सुरक्षा सरकारको प्राथमिक जिम्मेवारी भएको बताए । लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य आफ्नो साझेदारका रूपमा उभिएको अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ छ । ठूलो लगानी आकर्षित गर्न र उद्योग विस्तार गर्न विश्वासको वातावरण आवश्यक रहेको उनले बताए । 'त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन । विश्वास निर्माण नगरी उद्योग विस्तार हुँदैन। र विश्वास निर्माण नगरी आर्थिक रूपान्तरण सम्भव हुँदैन,' उनले भने ।  उनले व्यवसायीलाई सरकारबाट अपेक्षा गरिएका सुधार र विद्यमान अवरोधबारे स्पष्ट धारणा राख्नसमेत आग्रह गरे। व्यवसाय विस्तारमा अझै मुख्य समस्या कहाँ छन् भन्ने विषयमा सरकार निजी क्षेत्रबाट प्रत्यक्ष सुझाव लिन इच्छुक रहेको उनले बताए । अर्थमन्त्रीले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात तथा कानुनी र सरकारी प्रक्रियालगायतका क्षेत्रमा रहेका समस्या पहिचान गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे । सरकारले सुरु गरेका सुधारहरू व्यवहारमा कत्तिको प्रभावकारी भएका छन् र व्यवसाय विस्तारका क्रममा अझै कुन-कुन अवरोध कायम छन् भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट धारणा आवश्यक रहेको उनले बताए । त्यसैगरी आगामी छ महिनाभित्र सरकारले लिनुपर्ने पाँच महत्वपूर्ण निर्णयबारे पनि व्यवसायीबाट ठोस सुझाव मागिएको छ । वाग्लेले छलफलबाट प्राप्त सुझावलाई केवल संकलन गरेर थन्क्याउने नभई कार्यान्वयनयोग्य कार्यसूची बनाउने प्रतिबद्धता जनाए । छलफलमा उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने र अर्थ मन्त्रालयले निरन्तर अनुगमन गर्ने उनले बताए । अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक कर तिर्ने व्यवसायी तथा करदातालाई राज्यले उच्च सम्मान दिनुपर्ने बताए । सरकारको दृष्टिमा करदाता केवल राजस्वको स्रोत नभई राष्ट्र निर्माणका साझेदार भएको उनको भनाइ छ । नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई सामाजिक सम्मान दिलाउने दिशामा सरकारले काम गरिरहेको उनले बताए । सरकारले उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ताले आफ्नो लगानी सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्न खोजिरहेको उनले बताए । वाग्लेले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाएर आगामी दशकलाई ठूलो लगानी, उत्पादन, रोजगारी र आर्थिक आत्मविश्वासको दशक बनाउनुपर्नेमा जोड दिए । छलफलमा २० ठूला करदाता सहभागी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा विभिन्न क्षेत्रका २० ठूला करदाता तथा उद्योग-व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी भएका थिए । छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राईप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, वोटलर्स नेपाल (तराई), यूनिलिभर नेपाल, एशियन पेन्ट्स (नेपाल), पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस नेपाल, नेपाल वेलहोप एग्रि–टेक, वरुण बेभरेज नेपाल, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) का प्रतिनिधि सहभागी थिए । यी संस्थाहरू उत्पादन, दूरसञ्चार, पेय पदार्थ, सिमेन्ट, ऊर्जा, हवाई सेवा, निर्माण, कृषि, उपभोग्य वस्तु तथा अन्य विभिन्न क्षेत्रमा सक्रिय छन् । सरकारले अर्थतन्त्रमा ठूलो लगानी, रोजगारी र राजस्व योगदान गर्ने निजी क्षेत्रका प्रतिनिधिबाट व्यवसाय सञ्चालन तथा विस्तारका क्रममा देखिएका समस्या र नीतिगत सुधारका विषयमा सुझाव लिन छलफल आयोजना गरेको हो ।

पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयपछि आगामी बिहीबार (साउन २८ गते) स्वदेश फर्किँदैछन् । करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका देउवाको स्वागतका लागि कांग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा ठूलो उपस्थिति देखाउने तयारी गरेको नेताहरूले बताएका छन् । देउवा स्वदेश फर्किने भएपछि उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले संस्थागत रूपमै नेता कार्यकर्तालाई विमानस्थल पुग्न आह्वान गरेको छ ।  देउवा मध्यान्ह साढे १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिने जनाइएको छ । उनी काठमाडौं उत्रिनु अगाडि नै नेता तथा कार्यकर्तालाई विमानस्थल पुग्न आग्रह गरिएको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार देउवाको स्वागतका लागि कांग्रेसका हजारौं नेता/कार्यकर्ता विमानस्थल पुग्ने तयारीमा रहेका छन् ।  लामो समयपछि देउवा स्वदेश फर्किन लागेकाले उनको स्वागतलाई विशेष बनाउने तयारी गरिएको उनले बताए । देउवा पछिल्लो समय लामो समयदेखि स्वदेशबाहिर रहँदै आएका थिए । यसबीचमा कांग्रेसभित्र पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको बहस तथा नेतृत्व र संगठनसम्बन्धी विषयमा तीव्र राजनीतिक गतिविधि भइरहेका छन् ।  देउवा स्वदेश फर्किन लागेसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। कांग्रेस संस्थापनइतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन् । उक्त भेलामा देउवा पनि सहभागी हुने बताइएको छ ।

नागरिकलाई आफ्नै भाषामा सूचना दिनु लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । काठमाडौंमा सोमबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भूमिकाको प्रशंसा गरिन् । मन्त्री गौतमले राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरिन् । राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा उनले जोड दिइन् । मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यका गतिविधिबारे थाहा पाउनुपर्ने बताइन् । मन्त्री गौतमले मातृभाषाका पत्रकारहरूले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको बताइन् । उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रस्ताव (बुँदागत सुझाव) पेश गर्न पत्रकारहरूलाई आग्रह गरिन् । मन्त्री गौतमले भनिन्, ‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ । नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व हो ।’ उनले भाषाहरूको संरक्षण र पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाइन् । अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विभिन्न देशका अभ्यास र अनुभव आदानप्रदान हुने र यसले राज्यलाई स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा मन्त्री गौतमले व्यक्त गरिन् । विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त सम्मेलनले मातृभाषा पत्रकारितालाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरिन् ।