विकासन्युज

पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयपछि आगामी बिहीबार (साउन २८ गते) स्वदेश फर्किँदैछन् । करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका देउवाको स्वागतका लागि कांग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा ठूलो उपस्थिति देखाउने तयारी गरेको नेताहरूले बताएका छन् । देउवा स्वदेश फर्किने भएपछि उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले संस्थागत रूपमै नेता कार्यकर्तालाई विमानस्थल पुग्न आह्वान गरेको छ ।  देउवा मध्यान्ह साढे १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिने जनाइएको छ । उनी काठमाडौं उत्रिनु अगाडि नै नेता तथा कार्यकर्तालाई विमानस्थल पुग्न आग्रह गरिएको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार देउवाको स्वागतका लागि कांग्रेसका हजारौं नेता/कार्यकर्ता विमानस्थल पुग्ने तयारीमा रहेका छन् ।  लामो समयपछि देउवा स्वदेश फर्किन लागेकाले उनको स्वागतलाई विशेष बनाउने तयारी गरिएको उनले बताए । देउवा पछिल्लो समय लामो समयदेखि स्वदेशबाहिर रहँदै आएका थिए । यसबीचमा कांग्रेसभित्र पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको बहस तथा नेतृत्व र संगठनसम्बन्धी विषयमा तीव्र राजनीतिक गतिविधि भइरहेका छन् ।  देउवा स्वदेश फर्किन लागेसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। कांग्रेस संस्थापनइतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन् । उक्त भेलामा देउवा पनि सहभागी हुने बताइएको छ ।

नागरिकलाई आफ्नै भाषामा सूचना दिनु लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । काठमाडौंमा सोमबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भूमिकाको प्रशंसा गरिन् । मन्त्री गौतमले राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरिन् । राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा उनले जोड दिइन् । मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यका गतिविधिबारे थाहा पाउनुपर्ने बताइन् । मन्त्री गौतमले मातृभाषाका पत्रकारहरूले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको बताइन् । उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रस्ताव (बुँदागत सुझाव) पेश गर्न पत्रकारहरूलाई आग्रह गरिन् । मन्त्री गौतमले भनिन्, ‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ । नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व हो ।’ उनले भाषाहरूको संरक्षण र पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाइन् । अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विभिन्न देशका अभ्यास र अनुभव आदानप्रदान हुने र यसले राज्यलाई स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा मन्त्री गौतमले व्यक्त गरिन् । विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त सम्मेलनले मातृभाषा पत्रकारितालाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरिन् ।

२६ वर्षदेखि पर्यटन व्यवसायमा जमेका देवकटाको नाटाको महासचिवमा उम्मेदवारी

काठमाडौं । पर्यटन व्यवसायी राजकुमार देवकोटाले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।   वल्ड फेभर एण्ड टुर्सका सञ्चालक देवकोटाले भरतजंग पाण्डेको समूहबाट महासचिव पदमा उम्मेदवार घोषणा गरेका हुन् । उनी २६ वर्षदेखि नेपालको पर्यटन उद्योगमा निरन्तर सक्रिय रहँदै आएका छन्।  देवकोटाले  पर्यटन व्यवसायसँगै नाट्टाको संस्थागत गतिविधिमा समेत लामो समयदेखि योगदान दिँदै आएका छन्। उनी २०२०/ २२ को नाट्टा कार्यसमितिमा सदस्य तथा २०२२–२४ मा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। पर्यटन क्षेत्रमा संगालेको अनुभवलाई आगामी कार्यकालमा संस्थाको सुदृढीकरणका लागि उपयोग गर्ने उनले बताए। नाट्टाको स्थापनाकालदेखि संस्थाको विकास र उद्देश्य प्राप्तिका लागि योगदान पुर्‍याउँदै आएका अग्रजहरूको योगदानलाई सम्मान गर्दै सदस्यहरूको  हकहितमा काम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको देवकोटाले  बताएका छन्। उनले नाट्टालाई पारदर्शी, सबल, प्रभावकारी र सदस्य केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन व्यवसायीका समस्या समाधान, संस्थागत क्षमता अभिवृद्धि तथा पर्यटन क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ। २०२६ साउन १४ गते हुने नाट्टाको कार्यसमिति निर्वाचनमा महासचिव पदमा उम्मेदवारी मनोनयनदर्ता गरिसकेपछि देवकोटाले   ‘सशक्त नाट्टा, समृद्ध पर्यटन’ आफ्नो मुख्य प्रतिबद्धता रहेको बताएका छन्।

सातै प्रदेशलाई एउटै मञ्चमा ल्याउने प्रयासमा कांग्रेस इतर समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टी भित्रको आन्तरिक विवादको विषयमा छलफल गर्न राष्ट्रिय भेला बोलाएको छ । उक्त पक्षले विशेष महाधिवेशनसँग जोडिएको कानुनी तथा राजनीतिक प्रश्न र आगामी कार्यदिशाबारे पनि साझा धारणा बनाउन राष्ट्रिय भेला आयोजना बोलाएको हो । भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना हुने जनाइएको हो ।  गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको अगुवाइमा हुन लागेको भेलामा पार्टीको तल्लो तहदेखि केन्द्रीय तहसम्मका नेता तथा प्रतिनिधिलाई सहभागी गराउने तयारी रहेको पूर्वप्रवक्तासमेत रहेका नेता डा. प्रकाशशरण महतले जानकारी दिए । भेलामा कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने जनाइएको छ । देउवा करिब पाँच महिनापछि साउन २८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ ।  स्वदेश फर्किएको भोलिपल्टदेखि सुरु हुने भेलामा उनको सहभागितालाई कांग्रेसभित्रको बदलिँदो शक्ति समीकरणका दृष्टिले समेत महत्त्वका साथ हेरिएको छ । संस्थापनइतर पक्षले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेटेर यसअघि नै सातै प्रदेशमा भेला तथा छलफल गरिसकेको छ । प्रदेशस्तरबाट आएका सुझाव र पार्टीभित्रको पछिल्लो अवस्थालाई समेटेर राष्ट्रिय भेलाबाट आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे साझा धारणा बनाउने तयारी गरिएको नेता महतले जानकारी दिए । राष्ट्रिय भेलामा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संयोजक कोइरालाले सातै प्रदेशका सभापतिलाई औपचारिक निम्तो पठाएको नेताहरूले बताएका छन् । कोइरालाले पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न आयोजित भेलामा सहभागी हुन आग्रह गर्दै साउन २२ गते प्रदेश सभापतिहरूलाई पत्र पठाएका हुन् । यसअघि संस्थापनइतर पक्षका भेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका सभापतिमात्रै सहभागी हुँदै आएका थिए । अन्य प्रदेशका सभापतिहरू संस्थापन पक्षसँग नजिक रहेकाले संस्थापनइतर पक्षले आयोजना गरेका कार्यक्रममा उनीहरूको सहभागिता देखिँदैनथ्यो । यसपटक भने सातै प्रदेशका सभापतिलाई औपचारिक निम्तो पठाएर कांग्रेसका सबै पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयास गरिएको अर्का नेता जितजंग बस्नेतले जानकारी दिए । प्रदेश सभापतिहरूको सहभागिताले भेलालाई पार्टीको एउटा समूहको कार्यक्रमभन्दा व्यापक राजनीतिक छलफलको स्वरूप दिने अपेक्षा संस्थापनइतर पक्षको छ । कोइरालाले राष्ट्रिय भेलामा पार्टीका विभिन्न तह र पुस्ताका नेताहरूलाई सहभागी गराउने तयारी गरेका छन् ।भेलामा गाउँ र नगर सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापति र जिल्ला सभापति सहभागी हुने जनाइएको छ । महतका अनुसार पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री तथा पूर्वपदाधिकारीलाई समेत भेलामा सहभागी हुन आग्रह गरिएको छ ।  राष्ट्रिय भेलाका लागि आवश्यक तयारी अघि बढाउन संयोजक कोइरालाले विभिन्न समिति गठन गरिसकेका छन् । स्रोतका अनुसार भेलामा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन तयार पार्ने कामसमेत अघि बढाइएको छ । ‘प्रतिवेदनमा पार्टीको पछिल्लो राजनीतिक तथा सांगठनिक अवस्था, विशेष महाधिवेशनपछि विकसित परिस्थितिको समीक्षा, पार्टीभित्रको एकताको आवश्यकता र आगामी कार्यदिशालगायत विषय समेट्ने तयारी छ,’ स्रोतले भन्यो । प्रदेशस्तरीय भेलाबाट प्राप्त सुझावलाई समेत राष्ट्रिय भेलाको राजनीतिक प्रतिवेदनमा समेटिने स्रोतको दाबी छ । कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विवादका बीच सर्वोच्च अदालतले उक्त मुद्दामा पुनरावलोकनका लागि अनुमति दिएपछि राष्ट्रिय भेलाको राजनीतिक महत्त्व थप बढेको छ । विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएसँगै विवादित विषयमा अदालतबाट पुनः सुनुवाइ हुने अवस्था बनेको हो। विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट उत्पन्न राजनीतिक तथा संगठनात्मक विवादका विषयमा अदालतको अन्तिम निर्णयलाई कांग्रेसका दुवै पक्षले चासोका साथ हेरिरहेका छन् । यही पृष्ठभूमिमा हुन लागेको राष्ट्रिय भेलामा विशेष महाधिवेशनसम्बन्धी विवादबारे समेत छलफल हुने तयारी छ । पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री देउवा राष्ट्रिय भेलामा सहभागी हुने भएपछि कांग्रेसभित्र यसको राजनीतिक अर्थबारे समेत चर्चा सुरु भएको छ । देउवा करिब पाँच महिनापछि साउन २८ गते नेपाल फर्किँदैछन् । उनी स्वदेश फर्किएको भोलिपल्टै संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु हुनेछ । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आयोजना गरेको भेलामा देउवाको सहभागिताले पार्टीभित्र संवाद र सहकार्यको सम्भावना बढाउन सक्ने संस्थापनइतर पक्षका नेताहरूको बुझाइ छ । यद्यपि देउवाको सहभागिता कुन भूमिकामा हुनेछ र भेलामा उनले गर्ने सम्बोधनले कांग्रेसको आगामी आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई समेत महत्त्वका साथ हेरिएको छ । संयोजक कोइरालाले भेलाको मुख्य उद्देश्य पार्टीभित्रको एकता कायम गर्दै कांग्रेसको भावी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्नु रहेको बताएका छन् । विशेष महाधिवेशनपछि बढेको आन्तरिक विवाद, नेतृत्वबीचको दूरी, संगठनको अवस्था र आगामी राजनीतिक चुनौतीबारे भेलामा छलफल हुने तयारी रहेको डा कोइरालाले बताएका छन् । संस्थापनइतर पक्षले पार्टी विभाजन वा थप ध्रुवीकरणको बाटोमा जानुभन्दा सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने विषयलाई प्राथमिकतामा राखेको दाबी गरेको छ । तीन दिनसम्म चल्ने भेलाले पार्टीको आगामी रणनीति र नेतृत्वसँग सम्बन्धित विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरेको विश्लेषकहरू बताउँछन्। राजनितिक विश्लेषक परसुराम घिमिरेका अनुसार भेला विशेष महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको, पार्टीभित्र शक्ति सन्तुलन परिवर्तनको कारक बन्न सक्छ । उनका अनुसार सातै प्रदेशका नेता तथा प्रतिनिधिलाई एउटै मञ्चमा ल्याउने तयारी भइरहेका बेला हुन लागेको यो भेलालाई कांग्रेसको आगामी आन्तरिक राजनीतिका लागि महत्त्वपूर्ण घटना हो । भेलामा देउवासहित विभिन्न तहका नेताहरूको सहभागिता, प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र त्यसबाट तय हुने भावी कार्यदिशाले कांग्रेसको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट, द्विपक्षीय सहकार्यबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।

ईयरबड्स लगाएर सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

काठमाडौं । राति गीत, पोडकास्ट, ध्यान (मेडिटेसन) सुन्दै ईयरबड्स लगाएर सुत्ने मानिसको संख्या बढ्दो छ । केहीलाई यसरी सुन्दा छिटो निद्रा पनि लाग्छ । तर, हरेक रात ईयरबड्स लगाएर सुत्ने बानी स्वास्थ्यका लागि कति सुरक्षित छ ? विशेषज्ञका अनुसार दैनिक रूपमा रातभर ईयरबड्स कानमा राखेर सुत्दा कानको स्वास्थ्यमा असर पर्न सक्छ ।यसले कानमा संक्रमण, इयरवाक्स जम्मा हुने, दुखाइ र सुनाइ क्षमतामा समेत असर पार्न सक्छ ।  युनिभर्सिटी अफ रोचेस्टरका अनुसार कहिलेकाहीँ करिब ६० प्रतिशत वा त्यसभन्दा कम आवाजमा छोटो समयका लागि ईयरबड्स प्रयोग गर्नु अधिकांश स्वस्थ व्यक्तिका लागि गम्भीर जोखिम मानिँदैन । तर, हरेक दिन रातभर ईयरबड्स लगाएर सुत्दा कानको नलीमा लगातार दबाब पर्न सक्छ । यसबाट कानको छालामा जलन हुन सक्छ, कानमा इयरवाक्स जम्मा हुन सक्छ, ब्याक्टेरिया बढ्ने सम्भावना पनि हुन्छ । काेल्टे फेर्दा ईयरबड्स कानभित्र दबिन सक्छ । यसले कान दुख्ने वा सामान्य चोट लाग्ने समस्या निम्त्याउन सक्छ।  सुत्दा कानमा के हुन्छ ? सुतिरहेको समयमा कान पनि आरामको अवस्थामा हुन्छ । लामो समयसम्म ईयरबड्स कानभित्र राख्दा कानको नलीमा हावाको प्रवाह कम हुन सक्छ । त्यसपछि संक्रमणको जोखिम बढ्न सक्छ । कानमा धेरै इयरवाक्स बन्ने मानिसमा ईयरबड्सले त्यसलाई अझ भित्र धकेल्न सक्छ । यसले कान बन्द भएको महसुस हुन सक्छ । यसका साथै सुनाइ कम हुने वा कानमा असहजता महसुस हुने समस्या पनि देखिन सक्छ ।  नियमित रूपमा सफा नगरिएका ईयरबड्समा ब्याक्टेरिया र फङ्गस जम्मा हुन सक्छ । लामो समयसम्म ईयरबड्स लगाउँदा कानभित्र आद्रता बढ्छ । यसले बाहिरी कानमा संक्रमण हुने जोखिम बढाउन सक्छ । विशेषगरी ‘ओटाइटिस एक्स्टर्ना’ अर्थात् बाहिरी कानको संक्रमणको जोखिम बढ्न सक्छ । ईयरबड्स अरूसँग साटेर प्रयोग गर्दा संक्रमणको जोखिम झनै बढ्न सक्छ । त्यसैले ईयरबड्स नियमित रूपमा सफा गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । अरूसँग ईयरबड्स साटेर प्रयोग नगर्न पनि उनीहरूको सुझाव छ ।  केही मानिसलाई ह्वाइट न्वाइज, मेडिटेसन वा शान्त संगीत सुन्दा निदाउन सजिलो हुन्छ । विशेषगरी वरपर धेरै आवाज हुने अवस्थामा यस्ता ध्वनिले आराम महसुस गराउन सक्छन् । तनाव कम गर्न र निदाउन लाग्ने समय घटाउन पनि यसले सहयोग गर्न सक्छ । तर, रातभर लगातार अडियो बजिरहँदा भने निद्राको प्राकृतिक चक्र प्रभावित हुन सक्छ । त्यस्तै, बारम्बार नोटिफिकेसन आउनु वा आवाज धेरै ठूलो हुनु पनि निद्रामा बाधा बन्न सक्छ । यसले बिहान उठ्दा थकान महसुस हुन सक्छ ।  कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ? कहिलेकाहीँ कम आवाजमा छोटो समय ईयरबड्स प्रयोग गरेर सुत्नु अधिकांश मानिसका लागि गम्भीर जोखिम मानिँदैन । तर, हरेक रात ईयरबड्स लगाएर सुत्ने बानी छ भने सावधानी अपनाउनुपर्छ । ईयरबड्सको आवाज कम राख्नुपर्छ । सम्भव भएसम्म ‘स्लीप टाइमर’ प्रयोग गर्नुपर्छ । ईयरबड्स नियमित रूपमा सफा गर्नुपर्छ । रातभर कानमा ईयरबड्स राखिरहनुभन्दा केही समय अडियो सुनेर सुत्नु राम्रो विकल्प हुन सक्छ । कानमा दुखाइ, चिलाउने, पानी आउने, कान बन्द हुने वा सुनाइमा कमी जस्ता समस्या देखिएमा आफै औषधि प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा कान, नाक तथा घाँटी (ईएनटी) विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ ।

सहकारीका भीआईपी बचकर्ताको बचत फिर्ताको प्रक्रिया सुरु

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका ठूला बचतकर्ताको बचत फिर्ताको प्रक्रिया सुरु गरेको छ । समितिले ठूला बचतकर्ताको तथ्यांक राख्न र बचत फिर्ता गर्न प्रक्रिया सुरु गरेको हो ।  विभिन्न समयमा घोषणा गरेका समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूमध्ये एक करोड वा सोभन्दा बढी बचत रकम भएका तथा अनलाइन मागदाबी प्रणालीमा दाबी गरेका बचतकर्ताले संलग्न बमोजिमको स्वघोषणा फाराम भरी समितिमा बुझाउन आग्रह गरिएको छ ।  बचतकर्ताले फाराम भर्दा बचत रकम पूर्णरूपमा वैधानिक, नैतिक र प्रचलित कानून बमोजिमको आयस्रोत (जस्तैः व्यापार, पारिश्रमिक, घरजग्गा विक्री, पैतृक सम्पत्ति, वैदेशिक रोजगारी आदि) बाट आर्जन गरी जम्मा गरेको भन्ने विषय खुलाउनु पर्नेछ ।  उल्लिखित रकम आर्जन गर्दा प्रचलित कानून बमोजिम लाग्ने सम्पूर्ण कर चुक्ता गरेको, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिमको कसूर, आतङ्कवादमा वित्तीय लगानी, भ्रष्टाचार वा अन्य कुनै पनि प्रकारको फौजदारी कसूरजन्य कार्यबाट आर्जित गरिएको होइन भन्ने विषय खुलाउनु पर्नेछ ।  बचत फिर्ता सम्बन्धी विषयमा कुनै अड्डा, अदालत, न्यायिक वा अर्धन्यायिक निकाय, प्रहरी वा अनुसन्धान गर्ने निकायमा कुनै पनि नालेस÷दाबी÷उजुरबाजुर गरेको छैन भन्ने विषय पनि खुलाउनुपर्नेछ भने बचत मिलानको रकम बराबरको बचतको हकमा बचत फिर्ताको विषयलाई लिएर भविष्यमा समेत कतै नालेस वा उजुरबाजुर गर्ने छैन भन्ने विषय पनि प्रतिवद्धता गर्नु पर्नेछ ।   

२० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार (आज) नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् । छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ । मन्त्रालयको सुवर्ण हलमा आज मध्यान्ह १२ बजे उक्त छलफल सुरु हुन लागेको हो । छलफलमा अर्थमन्त्री डा. वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने सचिवालयले जनाएको छ । यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् ।  यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् ।