चीनको पूर्वी क्षेत्रमा ‘डल्फिन आँधी, १० लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । चीनको पूर्वी क्षेत्रमा ‘डल्फिन’ नामक आँधी प्रवेश गरेपछि १० लाखभन्दा बढी मानिसलाई घरबाट सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण राजधानी साङ्घाईसहित विभिन्न क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित भएको छ । मौसम विभागका अनुसार डोल्फिन आँधीले आइतबार साँझ करिब ५ः३० बजे झेजियाङ प्रान्तको युहुआनमा पहिलोपटक स्थल प्रवेश गरेको थियो । त्यसबेला आँधीको अधिकतम गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको थियो । त्यसको करिब एक घण्टापछि आँधीले वेनझोउ सहरमा दोस्रोपटक स्थल प्रवेश गरेको थियो । आँधीका कारण साङ्घाईमा मात्रै करिब १ हजार ४०० उडान रद्द गर्नुपरेको छ । यसबाट ठूलो संख्यामा यात्रु प्रभावित भएका छन् । चिनियाँ अधिकारीहरूले डोल्फिन आँधीलाई लिएर यसअघि उच्चतम तहको रेड अलर्ट जारी गरेका थिए । तर, सोमबार बिहान आँधीको तीव्रता घटेपछि चेतावनीको स्तर पनि कम गरिएको छ । मौसम विभागका अनुसार आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढिरहेको छ। अधिकारीहरूले बुधबारसम्म मुसलधारे वर्षा, बाढी र पहिरोको जोखिम रहेको भन्दै चेतावनी जारी गरेका छन् । शानडोङ, हेनान, हुबेई, आन्हुई, जियाङ्सु र झेजियाङ प्रान्तसँगै साङ्घाईमा सोमबार पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।
नाइमा एक्स्पोमा टोयोटाका गाडीमा २१ लाखसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुने
काठमाडौं । टोयोटा नेपालले आगामी नाइमा एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि आकर्षक छुट तथा विशेष योजना घोषणा गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गते (अगस्ट ११ देखि १६) सम्म आयोजना हुने अटो शोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नेछन् । एक्स्पोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी समेत गरेको छ । एक्स्पो अवधिभर टोयोटाका गाडी बुकिङ गर्दा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनेछ । यो छुट केवल एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र लागू हुनेछ । टोयोटाले नेपाली अटोमोबाइल बजारमा आफ्नो पहुँच विस्तार गर्दै दुई नयाँ मोडल सार्वजनिक गर्दैछ । गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत छानिने एक जना भाग्यशाली विजेताले जोडीसहित इलिट एक्स्प्लोरर्स कन्याकुमारी ड्राइभमा सहभागी हुने अवसर पाउनेछन् । नाइमा एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा भाग लिन पाउनेछन् । टोयोटा नेपालका अनुसार यो विशेष योजना केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई ठूलो बचत, नयाँ प्रविधि, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले ल्याइएको हो । कम्पनीले साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने अटो शोमा सहभागी भई नयाँ मोडलहरूको अवलोकन र विशेष अफरको लाभ लिन सम्पूर्ण ग्राहकहरूलाई आह्वान गरेको छ ।
सेवा सुधारमा उत्कृष्ट अस्पताललाई मन्त्रालयले पुरस्कृत गर्ने
काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेका सबै सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट नतिजा हासिल गर्ने अस्पताललाई पुरस्कृत गर्ने जनाएको छ । मन्त्रालयले अस्पताललाई निकट भविष्यमा सम्मान तथा पुरस्कृत गर्ने योजना बनाएको जनाएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारको पहिलो प्राथमिकतामा अस्पताल सेवाको सुधार राखिएको थियो । सोही निर्णयअनुसार अस्पताल सेवा सुधार कार्यविधि, २०८२ कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ । कार्यविधि लागू भए पनि अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर, नागरिकमैत्री सेवा र व्यवस्थापनमा अपेक्षित सुधारका लागि थप पहल आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । यही पहलअन्तर्गत उत्कृष्ट अस्पताल छनोट गरी प्रोत्साहन गर्न लागिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी अस्पताललाई कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ । अस्पतालहरूले सेवा प्रवाहलाई जनअपेक्षाअनुरूप सुधार गर्दै उत्कृष्ट कार्यसम्पादन देखाउनुपर्ने सूचनामा उल्लेख छ । उत्कृष्ट अस्पताल छनोटको मुख्य उद्देश्य सरकारी अस्पतालबीच स्वस्थ प्रतिस्पर्धा बढाउनु, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र नागरिकलाई प्रभावकारी तथा उत्तरदायी सेवा उपलब्ध गराउनु रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अस्पताल तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । ‘सबै अस्पताल एवं कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन मन्त्रालय प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ ।
कार बेचेर घडीको व्यवसाय सुरु, अहिले ४० करोड कारोबार
काठमाडौं । यदि कपडा र गहना आफ्नो रुचिअनुसार बनाउन सकिन्छ भने घडी किन बनाउन नसकिने ? यही सोच र घडीप्रतिको गहिरो रुचिले भारतको जयपुरका गौरव मेहतालाई अनौठो व्यवसाय सुरु गर्ने प्रेरणा दियो । उनले सन् २०१३ मा जयपुर वाच कम्पनी स्थापना गरे । कम्पनीले पुराना सिक्का, हुलाक टिकट, चित्रकला तथा विशेष डिजाइन प्रयोग गरेर आफूले चाहेजस्तो घडी तयार गर्छ । सुरुवाती चरणमा भने यो व्यवसायमा निकै चुनौती थिए । भारतमा त्यतिबेला महँगा घडीको बजारमा विदेशी कम्पनीहरूको दबदबा थियो । भारतीय घडी विदेशी ब्रान्डजत्तिकै राम्रो हुँदैनन् भन्ने धारणा पनि मानिसहरूमा थियो । तर पनि गौरवले गरेरै छाड्छु भन्ने अठोट लिए । गौरवले सन् २०१३ मा कम्पनी सुरु गर्न करिब ३० लाख भारु लगानी गरे । त्यसका लागि उनले आफ्नो बीएमडब्ल्यू कार बेचे र साथीहरूबाट समेत पैसा सापटी लिए । सुरुवातमा उनले घडी बनाउने कला बुझ्न निकै अध्ययन तथा अनुसन्धान गरे । यस क्रममा उनले पुराना सिक्काका विशेषज्ञ तथा घडी निर्मातासँग काम गरे । सन् २०१३ मा गौरवले जयपुर वाच कम्पनीको फेसबुक पेज बनाएर सशुल्क विज्ञापन सुरु गरे । दिल्लीका एक ग्राहकले घडी नहेरी नै उनका तीनवटा घडी खरिद गरे । यसबाट गौरवलाई निकै हौसला मिल्यो । त्यसपछि मुम्बईको एउटा ठूलो कलेक्टिबल्स स्टोरले उनका घडी बिक्री गर्न थाल्यो । करिब २३ हजार भारु मूल्य पर्ने पहिलो कलेक्सन दुई महिनामै बिक्री भयो । त्यसपछि उनले ताज र ओबेराय समूहका केही होटलमा समेत घडी बिक्री गर्न थाले । सन् २०१५ मा उनले बेंगलुरुमा उत्पादन इकाइ स्थापना गर्न करिब १ करोड २० लाख भारु लगानी गरे । कम्पनी सन् २०१७ मा नाफा–नोक्सान बराबरी अर्थात् ब्रेक–इभन अवस्थामा पुग्यो । जयपुर वाच कम्पनीका घडीको सबैभन्दा ठूलो विशेषता तिनको अनौठो डिजाइन हो । घडीका डायलमा पुराना सिक्का, हातले बनाइएका चित्र, हुलाक टिकट, देवी–देवताका तस्बिर, क्यालिग्राफी तथा बहुमूल्य पत्थर प्रयोग गरिन्छ । कम्पनीका घडीहरू करिब १५ हजारदेखि २४ लाख भारुसम्म मूल्यमा बिक्री भएका छन् । २४ लाख भारुको एउटा विशेष घडी ग्राहकका लागि बनाइएको थियो, जसमा सुन र हिराबाट फूलजस्तो डिजाइन तयार गरिएको थियो । कम्पनीले बेलायतका राजा जर्ज छैटौंका पुराना सिक्का प्रयोग गरेर ३५ वटा घडीको कलेक्सन समेत बनाएको छ । त्यस्तै जयपुरका महाराजा सवाई मानसिंह द्वितीयका पुराना सिक्का प्रयोग गरेर ५० वटा घडीको कलेक्सन तयार गरिएको छ । प्रधानमन्त्री मोदीले पनि किने घडी गौरवको व्यवसायमा अर्को ठूलो मोड सन् २०२५ को अन्त्यतिर आयो । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा जयपुर वाच कम्पनीको घडी देखिएको जानकारी भयो। सुरुमा उनले यो कुरामा विश्वास गरेनन् । पछि उनको टोलीले प्रधानमन्त्रीका आधिकारिक तस्बिरहरू जाँच गर्दा उक्त घडी वास्तवमै आफ्नै कम्पनीको भएको पुष्टि भयो । अझ रोचक कुरा त्यसका लागि कुनै सशुल्क अभियान, सेलिब्रिटी समर्थन वा पीआर अभियान चलाइएको थिएन । त्यसपछि कम्पनीको अनलाइन माग तीव्र रूपमा बढ्यो। पहिलोपटक कम्पनीको कारोबारमा अनलाइन बिक्रीले अफलाइन खुद्रा व्यापारलाई उछिन्यो । हाल कम्पनीको करिब ७० प्रतिशत कारोबार अनलाइन बिक्रीबाट आउने गरेको छ । कम्पनीले स्विट्जरल्यान्ड र जापानसहित ४० भन्दा बढी देशबाट अर्डर प्राप्त गरिरहेको छ । रिपोर्टअनुसार कम्पनीले गत वर्ष करिब २५ करोड भारु (४० करोड रुपैयाँ) को कारोबार गरेको थियो । चालु वर्षमा भने कारोबारलाई ७५ देखि ८० करोड भारु (१ अर्ब २० करोडदेखि १ अर्ब २८ करोड रुपैयाँ) सम्म पुर्याउने लक्ष्य राखिएको छ ।
सिप्रदीको कपन वर्कसप अब सौर्य ऊर्जाबाट चल्ने, ८६.४ किलोवाटको प्लान्ट सञ्चालन
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट क्षमताको रूफटप सोलार पीभी प्लान्ट सञ्चालनमा आएको छ । उक्त सोलार प्लान्टको उद्घाटन सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन कार्यक्रममा सिप्रदीका सीईओ श्रेष्ठले विद्युतीय सवारीसाधनको बिक्री तथा वितरणमा मात्र सीमित नभई यसको सम्पूर्ण प्रयोग र सर्भिसिङ प्रक्रियालाई वातावरणमैत्री र दिगो बनाउने कम्पनीको प्रतिबद्धता रहेको बताए । उनका अनुसार कपन ईभी वर्कसपमा सौर्य ऊर्जा प्लान्ट स्थापना हुनु सोही प्रतिबद्धताको महत्वपूर्ण कदम हो । अब ईभी चार्जिङदेखि मर्मत तथा सर्भिसिङसम्मका काममा स्वच्छ ऊर्जाको प्रयोग गर्न सकिने उनले बताए । प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले विद्युतीय सवारीसाधनलाई ऊर्जा प्रदान गर्ने स्रोत पनि स्वच्छ हुनुपर्ने बताए । उनले सौर्य ऊर्जामार्फत ईभी इकोसिस्टमलाई थप दिगो र कार्बन उत्सर्जनमुक्त बनाउने उद्देश्य रहेको बताए । सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्ससँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोगको सम्भावना प्रस्तुत गरेको उनको भनाइ छ । उनका अनुसार परियोजनाले विद्युत् खर्च घटाउन सहयोग गर्नुका साथै अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रको कार्बन उत्सर्जन घटाउन पनि योगदान पुर्याउनेछ । सम्झौता भएको तीन महिनामै निर्माण सम्पन्न गरी प्लान्ट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ । यसबाट वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित स्वच्छ ऊर्जाले कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको दाबी छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला ईभीसँगै त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङमा समेत स्वच्छ ऊर्जाको प्रयोग आवश्यक रहेको कम्पनीहरूले बताएका छन् । सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्यले नेपालको कर्पोरेट क्षेत्रमा व्यावसायिक सौर्य ऊर्जाको एकीकरणका लागि नयाँ उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ । स्वच्छ ऊर्जा उत्पादन र अटोमोबाइल सर्भिसिङलाई एकै ठाउँमा जोडिएको यस परियोजनाले नेपाललाई शून्य उत्सर्जनतर्फ लैजाने लक्ष्यमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
भदौ ९ देखि नाडा अटो शो, भृकुटीमण्डपमा २०० स्टल रहने
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ । नेपाली अटोमोबाइल क्षेत्रकै ठूलो तथा प्रतीक्षित मेलाका रूपमा लिइने नाडा अटो शोमा यसपटक २०० वटा स्टल रहनेछन् । प्रदर्शनीमा २२ वटा ब्रान्डका प्यासेन्जर कार, १६ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् । त्यस्तै, ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् । नाडाका अनुसार देशभरका अटो व्यवसायीमा मेलालाई लिएर उत्साह देखिएको छ। स्टलका लागि अझै पनि उच्च माग भइरहेको आयोजकले जनाएको छ । तर प्रदर्शनीस्थलमा पर्याप्त ठाउँ नभएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको नाडाले जनाएको छ । अटो शोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहनेछ । सुस्ताएको अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन अटो शोले महत्वपूर्ण भूमिका खेल्ने नाडाको अपेक्षा छ । नाडाले स्वर्ण जयन्तीको अवसरमा आयोजना गर्न लागेको अटो शोले अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीलाई व्यापार प्रवर्द्धन र नयाँ उत्पादन सार्वजनिक गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने जनाएको छ ।
अनलाइन ठगीको सञ्जाल : विवाहको प्रलोभनमा एक महिलाले गुमाइन् ३१ लाख
काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार ती महिलाको ठगीको कथा फेसबुकबाट शुरु भएको थियो । बेलायत (युके) को कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए । कुराकानीकै क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पूर्ण सम्पत्ति बेचेर नेपाल आउन लागेको र नेपालमै घरजग्गा किनेर उनीसँगै जीवन बिताउने आश्वासन दिएका थिए । महिलालाई विश्वस्त तुल्याउन ती व्यक्तिले विमानस्थलका भिडियोहरू पठाउने र भिडियो कल गर्ने समेत गरेका थिए । केही समयपछि उनले आफू भारतको बाटो हुँदै नेपाल आउन लागेको जानकारी दिए । लगत्तै, भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर (डीपी) भएको ह्वाट्सएप नम्बरबाट ती महिलालाई फोन आयो । फोनमा भनिएको थियो, ‘तपाईँको साथी ठूलो परिमाणको नगद र सम्पत्तिसहित समातिएका छन्, उनलाई छुटाउन भन्सार र जरिवाना बापत रकम तिर्नुपर्छ ।’ आफ्नो भावी श्रीमान् ठानिएका व्यक्ति समस्यामा परेको ठानेर ती महिलाले सुरुमा पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन् । यति रकम पठाएपछि आफू ठगिएको आशङ्कामा उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन् । प्रहरीले अनुसन्धान गरी यो स्पष्ट रूपमा ठगी भएको र अब थप एक रुपैयाँ पनि नपठाउन उनलाई सचेत गरायो । तर ठगको मनोवैज्ञानिक प्रभाव यति बलियो थियो कि प्रहरीको चेतावनीका बाबजुद ती महिलाले पुनः २२ लाख रुपैयाँ पठाइन् । प्रहरीकाअनुसार ती व्यक्तिले ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भनी भावनात्मक ब्ल्याकमेल गरेका थिए । अन्ततः ३१ लाख रुपैयाँ गुमाएपछि र भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति अपराधी भएको पुष्टि भएपछि मात्र ती महिलाले आफू ठगिएको यथार्थ स्वीकार गरिन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानकाअनुसार यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । अहिले बजारमा ठगीका अनेकौँ शैलीहरू सक्रिय छन् । फेसबुक र टिकटकमा सस्तो सामानको विज्ञापन राख्ने, अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपीमार्फत बैंक खाताबाट पैसा उडाउने गरिएको छ । नजिकका साथी वा आफन्तको फेसबुक र ह्वाट्सएप ह्याक गरी ‘म संकटमा छु, तुरुन्तै पैसा पठाइदेऊ’ भन्दै म्यासेज गरेर पैसा असुल्ने गरिएको छ । आकर्षक देशहरूको लोभ देखाएर नक्कली कागजात बनाउने र प्रोसेसिङका नाममा मोटो रकम ठग्ने गिरोह उत्तिकै सक्रिय छ । बैंक वा ई–सेवा, खल्ती जस्ता संस्थाको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ओटीपी माग्ने र खाताबाट रकम स्थानान्तरण गर्ने प्रवृत्ति पनि बढेको छ । सुरुमा सानो रकमको दोब्बर फिर्ता दिएर विश्वास जित्ने र पछि लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन हुने ‘अनलाइन बेटिङ’ र नक्कली लगानीका स्किमहरू पनि सक्रिय छन् । सूचना अधिकारी पासवानले अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । ‘कुनै पनि अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा दिएको प्रलोभनमा नपर्नुस् । थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो’, उनले भने । प्रहरीले आफ्नो बैंक खाताको विवरण, पिन नम्बर र ओटीपी कसैलाई नदिन, शंकास्पद लिंकहरू नखोल्न, अनधिकृत एपहरू डाउनलोड नगर्न र कुनै पनि अनलाइन कारोबार गर्नुअघि आधिकारिकता बुझ्न सर्वसाधारणलाई अपिल गरेको छ । यदि ठगी भएको शंका लागेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।
भारतीय र चिनियाँ राजदूतसँग आज प्रधानमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता गर्ने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे दुवै राजदूतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो । कार्यक्रमअनुसार प्रधानमन्त्री शाहले सुरुमा भारतीय राजदूतसँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै उनले नेपालका लागि चिनियाँ राजदूतसँग भेट गर्नेछन् । प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलोपटक नेपालका दुई ठूला छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् । यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि उनले नेपालमा रहेका विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । प्रधानमन्त्री शाहको आजको भेटवार्तामा नेपाल–भारत तथा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र समसामयिक कूटनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसैबीच, प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।