विकासन्युज

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन जना विजेतालाई सुनको बल हस्तान्तरण

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।  अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेता प्रमेश केसी, तिप्सिका राणा र सबिना थापालाई शुक्रबार काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजित समारोहबीच जनही ३.५ तोलाको सुनको गोल्डेन बल हस्तान्तरण गरिएको छ ।  विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताले क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी सहभागिता जनाएका थिए ।  पुरस्कार ग्रहणपछि विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उपभोक्तामुखी अभियानहरू सञ्चालन गर्न अपेक्षा व्यक्त गरेका छन् ।  सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो, जसमा समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन् ।  युवापुस्तामाझ लोकप्रिय बन्दै गएको यस इनर्जी ड्रिंक ब्रान्डले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री तथा सिर्जनात्मक अभियानमार्फत नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

पाँच वर्ष बित्दा पनि अस्पताल नबनेपछि ठेक्का रद्द गर्न मन्त्री लम्सालले दिए निर्देशन

काठमाडौं । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण पूरा हुन नसकेपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार अस्पतालको निरीक्षण गर्दै ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् ।  अनुगमनका क्रममा निर्माण कम्पनी, इन्जिनियर र अस्पताल प्रशासनसँग प्रगति तथा ढिलाइको कारणबारे जानकारी लिँदै मन्त्री लम्सालले थप ढिलाइ अब कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।  करिब २५ करोड ९५ लाख ६४ हजार रुपैयाँ लागतमा पाँच तले भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भई २०८० असार १७ गतेभित्र सक्ने लक्ष्य राखिए पनि स्वच्छन्द–बानियाँ जेभीको लापरबाहीका कारण पटक-पटक म्याद थपिँदै आएको छ ।  भारत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत बन्दै गरेको यस भवनको भौतिक प्रगति ९१ प्रतिशतभन्दा बढी भएर करिब ६ करोड रुपैयाँ बराबरको काम बाँकी रहेको बताइए पनि नयाँ भवन समयमै नबन्दा गुल्मी अस्पताल अझै पुरानै भवनबाट सेवा दिन बाध्य छ ।  पर्याप्त वार्डको अभावमा बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोगिरहेका छन् भने नयाँ भवन सञ्चालनमा आएपछि व्यवस्थित ओपीडी, आपत्कालीन, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको छ । वि.सं. २०११ मै ५० शय्यामा स्तरोन्नति भए पनि भौतिक पूर्वाधारको अभावमा सेवा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीको लामो प्रतीक्षालाई ध्यानमा राखेर अब निर्माणमा जरा पनि ढिलाइ गर्न नहुने बताए ।

इरानका राष्ट्रपति पेजेस्कियान र सर्वोच्च नेता खामेनीबीच के भयो कुराकानी ?

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो राष्ट्रपति कार्यकालको तेस्रो वर्षको सुरुवातमा इरानका सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गरेका छन् । इरानका सर्वोच्च नेताको वेबसाइटले उक्त भेटवार्ताबारे जानकारी दिएको हो । बीबीसी फारसीले सरकारी रिपोर्टलाई उद्धृत गर्दै जनाएअनुसार भेटवार्तामा देशका वर्तमान समस्या र जनताको दैनिक आवश्यकताहरू पूरा गर्ने विषयमा छलफल भएको थियो ।  साथै युद्धको वर्तमान अवस्था र आगामी दिनमा आइपर्न सक्ने चुनौतीबारे पनि कुराकानी भएको थियो । भेटवार्ताका क्रममा सैन्य क्षेत्रमा भइरहेको परिवर्तन, देशको वित्तीय तथा विदेशी मुद्रा स्रोत परिचालन, खर्च व्यवस्थापन र ऊर्जासँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो ।  यसका साथै अन्य देशसँगको आर्थिक सम्बन्धबारे समेत विचार–विमर्श भएको जनाइएको छ । मोज्तबा खामेनीलाई इरानको तेस्रो सर्वोच्च नेता चयन गरिएपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै नयाँ तस्बिर वा आवाजसमेत सार्वजनिक गरिएको छैन । यसअघि राष्ट्रपति पेजेस्कियानले मोज्तबा खामेनी सर्वोच्च नेता बनेपछि आफूले उनीसँग भेट गरिसकेको बताएका थिए । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गरेको विषय सार्वजनिक भएको यो पहिलोपटक हो ।

ट्रम्पको गाजा योजनालाई नेतन्याहूले गरे ठाडै अस्वीकार

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ सूत्रीय योजनालाई अस्वीकार गरेका छन् । उनले हमासले पूर्ण र वास्तविक रूपमा हतियार नत्यागेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने स्पष्ट पारेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले भने, ‘इजरायल १५ सूत्रीय दस्तावेज स्वीकार गर्दैन ।’ उनले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म इजरायली सेना फिर्ता नहुने र इजरायलले आफ्ना सैनिक तथा नागरिकविरुद्ध हुन सक्ने कुनै पनि खतरा रोकिरहने बताए । गत महिना ट्रम्पको ‘बोर्ड अफ पिस’ले गाजामा हमास र अन्य सशस्त्र समूहको ‘पूर्ण निशस्त्रीकरण’ गर्ने विषयमा सहमति भएको जनाएको थियो ।  तर, हमासले भारी हतियार बुझाउने निर्णय इजरायलले सबै प्रकारका आक्रमण रोक्ने र गाजाबाट आफ्ना सेना फिर्ता बोलाउने विषयमा निर्भर हुने बताएको थियो । नेतन्याहूले हमासले पहिले हतियार त्याग्नुपर्ने र यो प्रक्रिया कागजमा मात्र सीमित वा देखावटी हुन नहुने बताए । उनका अनुसार यस विषयमा अमेरिकी अधिकारीहरूसँग वार्ता भइरहेको छ । अमेरिकाले अघि सारेका केही प्रस्ताव इजरायलले स्वीकार गर्न सक्ने भए पनि केही प्रस्तावमा भने आफूहरू सहमत नरहेको उनले बताए । ट्रम्पको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र गाजाको पुनर्निर्माणको योजना समावेश छ । सम्झौता कार्यान्वयनको निगरानी गर्न ‘बोर्ड अफ पिस’ गठन गर्ने प्रस्तावसमेत गरिएको छ । नेतन्याहूको पछिल्लो अडानले ट्रम्पको गाजा शान्ति योजनामा थप चुनौती सिर्जना भएको छ । इजरायलका दक्षिणपन्थी गठबन्धन साझेदारहरूले पनि उक्त योजनाको विरोध गरिरहेका छन् । राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्विरले समेत मस्यौदा स्वीकार गर्न अस्वीकार गरेका छन् ।

सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंमा देखियो चेरी क्यू

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु हुनुअघि नै काठमाडौंका सडकमा चेरीका नयाँ विद्युतीय गाडी देखिन थालेका छन् ।  आगामी अगस्ट ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमामा चेरी क्यू लगायतका गाडी सार्वजनिक प्रदर्शनमा राखिने तयारी भइरहेका बेला चेरी क्यू काठमाडौंमा देखिएको हो । नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले चेरी क्यूको आधिकारिक सार्वजनिक प्रस्तुति नाइमामार्फत हुने जनाएको छ ।  नाइमामा आगन्तुकले पहिलोपटक चेरी क्यूलाई नजिकबाट अवलोकन गर्न पाउनेछन् । चेरीको नयाँ पुस्ताको विद्युतीय सवारीमध्ये एक चेरी क्यूलाई आधुनिक सहरी जीवनशैली लक्षित अर्बन क्रसओभरका रूपमा प्रस्तुत गरिएको छ ।  यसको नयाँ डिजाइन र प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा बटुल्दै आएको कम्पनीले जनाएको छ । चेरी क्यूमा ४१.२ किलोवाट–घण्टा ब्याट्री रहेको छ भने एकपटकको चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ ।  गाडीमा ५४० डिग्री सराउन्ड क्यामेरा, १७५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स र ७० लिटर फ्रंक स्पेस उपलब्ध छन् । त्यस्तै, यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम लगायतका सुविधा छन् । यी सुविधाले सहरी यात्रालाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ । चेरी क्यूले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०३५ तथा आईएफ डिजाइन अवार्डसमेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।  काठमाडौंमा आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै देखिएपछि यो गाडी सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ ।

बीवाईडीका पुराना ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । बीवाईडीका पुराना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले नेपालका लागि आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।  कम्पनीका अनुसार अभियान देशभर रहेका बीवाईडीका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा एकसाथ लागू भएको छ । अभियानअन्तर्गत विशेषगरी सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीसाधनमा ती सुविधा निःशुल्क उपलब्ध गराइनेछ ।  त्यस्ता ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा प्राप्त गर्नेछन् । साइमेक्सका अनुसार अभियानले बीवाईडी ग्राहकको बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेको छ । यसका लागि एनसेल, शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग सहकार्य गरिएको छ । ‘केयर प्लस’ अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीन मुख्य आधारमा विभाजन गरिएको छ । ‘केयर प्लस’अन्तर्गत बीवाईडीका आधिकारिक सर्भिस सेन्टरबाट सवारीको विस्तृत निरीक्षण, जेन्युइन स्पेयर पाट्र्स, प्रोफेसनल डायग्नोस्टिक सेवा र प्रमाणित प्राविधिकमार्फत सर्भिस उपलब्ध गराइनेछ । त्यस्तै, ‘कनेक्ट प्लस’अन्तर्गत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर र इन्फोटेनमेन्ट कनेक्टिभिटी सेवा उपलब्ध हुनेछ । यसका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ । ‘प्रोटेक्ट प्लस’अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ । यसमा १० वर्षसम्मको विस्तारित वारेन्टी सम्बन्धी सुविधा पनि समावेश रहेको कम्पनीले जनाएको छ । दुर्घटनाको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरणसमेत गरिनेछ । यसका लागि शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन् । अभियानअन्तर्गत योग्य बीवाईडी ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १०–१० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, ग्राहकले एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि प्राप्त गर्नेछन् । बीवाईडी एप कनेक्टिभिटी सुविधा यसअघि नपाएका योग्य ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क कनेक्टिभिटी डेटा पाउने कम्पनीले जनाएको छ । साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी डेलिभरीपछि सुरु हुने बताए । उनले बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरबाट सेवा उपलब्ध गराउन अभियान सुरु गरिएको बताए । बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क हाल नेपालका धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोड गरी १३ स्थानमा रहेको छ । ग्राहकलाई थप सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान नाइमा मोबिलिटी एक्स्पो २०२६ को पूर्वसन्ध्यामा सुरु गरिएको हो ।  आगामी अगस्ट ११ देखि सुरु हुने एक्स्पोमा बीवाईडीले आफ्ना नवीनतम उत्पादन तथा सेवाहरू प्रस्तुत गर्ने तयारी गरेको छ ।

बनकालीमा साढे ३ करोड बढीको सम्पदा पुनरुत्थान

काठमाडौं । काठमाडौंको बनकालीमा रहेको प्राचीन धर्मशाला र धर्मशाला परिसरमा पार्क, वरिपरि पर्खाल निर्माण गर्ने कार्यको शिलान्यास भएको छ ।  आइतबार (आज) काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पूजाआजा गरेर निर्माण कार्यको शिलान्यास गरेका हुन् । शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले, पशुपति क्षेत्रमा आउने श्रद्धालुहरुले पशुपति क्षेत्रमै बास बसेर दर्शन गर्न पाउने वातावरण बनाउन लगानी गरिएको बताइन् । ‘१ वर्षमा काम सम्पन्न गर्ने लक्ष्यसहित योजना अगाडि बढाएका छौं । वडाले नेतृत्व लिएको छ । पशुपति क्षेत्र विकास कोषसँग समन्वय छ । सबैको सक्रियतामा योजना सम्पन्न हुनेछ,’ उनले भनिन् । वडाध्यक्ष एवं समितिका संयोजक संगतले प्राचीन पहिचान पुनःस्थापना गर्ने लक्ष्यसहित काम गर्न लागेको जानकारी दिए । उनले भने, ‘बनकाली धर्मशालाको पुनरुत्थानका लागि २ चरणमा काम हुँदैछ । पहिलो चरणमा धर्मशालाको छाना मर्मत, छानामा फल्याक राख्ने, वाटर प्रफिङ गर्ने, छाना नभएको ठाउँमा राख्ने काम भएको छ । यस क्षेत्रको प्राचीन पहिचान पुनःस्थापना गर्ने लक्ष्यसहित काम गर्दैछौं । २०४५ सालदेखि २०५० साल तिर पुरिएको पोखरी पुनरुत्थान गर्नेछौं ।’  छाना मर्मतका लागि सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ३२ लाख ५४ हजार ६१३ रुपियाँमा अगाडि बढाइएको हो । यसको अहिले ९० प्रतिशत काम सकिएको छ ।  यो परियोजनाको गुरुयोजना सहरी योजना आयोगले तयार पारेको हो । आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईका अनुसार पशुपति क्षेत्र बिकास कोष अन्तर्गत रहेको करिब १२ रोपनी ६ आना क्षेत्रफलमा निर्माण कार्य हुनेछ ।  यसको लागत करसहित ३ करोड ६५ लाख १३ हजार ४३२ रुपैयाँ रहेकाे महानगरले जनाएकाे छ । कामका लागि निर्माण पक्षसँग असार १७ गते सम्झौता भएको थियाे । आगामी वर्षको असार १० गतेसम्म काम सकिने जनाइएकाे छ ।   करिब एक रोपनी क्षेत्रफलमा ३६ कोठे धर्मशाला भवन रहेको काठमाडौं महानगरले जनाएको छ । महानगरका अनुसार भवन पुरानो र जीर्ण भएको, झ्याल ढोका मक्किएको, थामले ठाउँ छोडेको, छाना चुहिने भएको, कति ठाउँमा छानो नभएकोले यसमा मानव बसोबास हुनसक्ने अवस्था थिएन ।  अब भवनलाई मौलिक स्वरूपमा जीर्णोद्धार गरिने भएको हो ।  त्यस्तै, श्रद्धालुको बसोबासलाई सहज बनाउन हरेक तलाका दुवैतर्फ महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नान कक्ष बनाइने पनि महानगरले जनाएको छ । यसपछि धर्मशालामा २४ वटा शौचालय र २० वटा स्नान कक्ष हुनेछन्।  महानगरका अनुसार धर्मशाला भवनमा सरसफाइ र स्वच्छताको काम हुनेछ । पानीका लागि पाइप जडान र विद्युत जडानको काम हुनेछ ।  धर्मशालामा रहने श्रद्धालुहरूका लागि मनमोहक पार्क डिजाइन गर्दा सबै उमेर समूहका व्यक्तिहरूलाई ध्यानमा राखिएको छ ।  आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार ६ हजार ३८१ वर्ग मिटर क्षेत्रको सरसफाइ गरेपछि काम थालनी गरिनेछ ।  पोखरी निर्माणसहित बगैँचा बनाउन करिब ३ हजार २३० घन मिटर माटो, बालुवा घटु चाः (पोखरी बनाउने माटो) प्रयोग हुनेछ ।  त्यसैगरी, बगैँचामा ४ फिट उचाइका १५० वटा र ८ फिट उचाइका ३० वटा विरुवा रोपिनेछन् । ६ सय वटा मौसमी फूल रोपिनेछन् भने २५० वटा पोली हेज सहितको हरियाली क्षेत्र निर्माण हुनेछ ।  करिब ३५० मिटर लम्बाईको सिमाघेरा पर्खाल लगाइनुका साथै पर्खालको १ हजार ३५४ वर्गमिटर क्षेत्रमा दछी आपा राखिनेछ । पर्खाल कासिमो बुट्टा र पालेफो बुट्टासहितको हुने महानगरले जनाएकाे छ ।  त्यस्तै, भुइँको २२७ दशमलव ७९ वर्गमिटर क्षेत्रमा परम्परागत तेलिया टायल राखिनुका साथै भुइँ र पर्खाल गरी ३९७ दशमलव ९९ वर्गमिटर क्षेत्रमा टायल राखिने जनाइएकाे छ ।

काभ्रेबाट बेपत्ता दम्पतीमध्ये तिलकुमारीको शव ओखलढुंगामा फेला

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका- ८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये वृद्धाको शव ओखलढुंगामा फेला परेको छ । मण्डनदेउपुर नगरपालिका- ७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार (आज) ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो । स्थानीयले सुनकोशी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार सुनकोशी नदीमा फेला परेको शवको हुलिया काभ्रे पठाइएको थियो ।  आफन्तले शव तिलकुमारीकै भएको पहिचान गरेका छन् । थप पुष्टिका लागि उनका आफन्त ओखलढुंगा पुगेका छन् । तिलकुमारीसँगै बेपत्ता भएका उनका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ । पराजुली दम्पती बुधबार साँझ दोलालघाटबाट बेपत्ता भएका थिए । उनीहरू बेपत्ता भएपछि प्रहरीले खोजीका लागि टोली परिचालन गरेको थियो । प्रहरीले केदारनाथको खोजी जारी राखेको जनाएको छ ।