मुलुक गम्भीर सङ्कटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छ : अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक सङ्कटबाट मुक्त गर्न आफ्नो पार्टी बलियो हुनुपर्ने बताएका छन् । राप्रपा काठमाडौं महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोसेढुङ्गा’ का रूपमा चित्रण गरेका हुन् । पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पङ्क्ति तयारीमा केन्द्रित भएको उनले जानकारी दिए । विगतका ठूला दलहरूप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाका बीच वर्तमान राजनीतिक समीकरण निर्माण भए पनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको उनको तर्क छ । उनले दैनिक ज्याला–मजदुरी गर्ने श्रमिकदेखि निजी क्षेत्रसम्म अहिले असुरक्षित र आतङ्कित महसुस गरिरहेको दाबी गरे । अध्यक्ष लिङदेनले भने, ‘अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मङ्सिरमा हुने महाधिवेशन हो । यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ । देशमा महँगीले सीमा नाघेको छ र बजारमा कृत्रिम अभाव व्याप्त छ, तर यसबारे बोल्ने कोही छैन । मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको छ । यस्तो अवस्थामा गरिब, सुकुम्बासी र आम सर्वसाधारणका लागि उभिने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ ।’ उनले देशलाई विद्यमान सङ्कटबाट निकाल्न राप्रपा नयाँ सोच र दृष्टिकोणका साथ जनताको माझमा जानुको विकल्प नरहेको उल्लेख गरे । हाल भइरहेका स्थानीय तहका अधिवेशनहरूलाई महाधिवेशनको पूर्वतयारी र सङ्गठन सुदृढीकरणको महत्त्वपूर्ण आधारका रूपमा उपयोग गर्नसमेत उनले कार्यकर्ताहरूलाई निर्देशन दिए ।
कालिकोटमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ
काठमाडौं । पलाँता अस्पतालमा प्रवेश गरेर चिकित्सक एवम नर्समाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ परेका हुन् । उनीहरुले अस्पतालमा प्रवेश गरेर सामानहरू तोडफोड गरेको कालिकोट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश खत्रीले बताए । उनका अनुसार तोडफोडमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ । शुक्रबार उनीहरूले अनाधिकृत रुपमा अस्पतालमा प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।
ऋण असुलीबाट ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
बुढीचौरको प्राकृतिक सुन्दरतामा रमाउँदै आन्तरिक पर्यटक
काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित बुढीचौर पछिल्लो समय आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यका रूपमा उदयमान भइरहेको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व, धार्मिक सम्पदा र साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा पर्न थालेको हो । तराईको राप र हेटौँडाको गर्मीबाट राहत खोज्नेहरूका लागि करिब २० देखि २५ किलोमिटरको दूरीमा रहेको बुढीचौर एक शीतल गन्तव्य बनेको छ । यहाँको स्वच्छ हावापानी र यात्राका क्रममा देखिने मनोरम पहाडी दृश्यले पर्यटकलाई निकै लोभ्याउने गरेको छ । पछिल्लो समय यहाँ निर्माण गरिएको रेलिङ र पदमार्ग सामाजिक सञ्जालमा चर्चामा आएपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन् । हाल बुढीचौरमा दैनिक १५० देखि २०० सम्म मोटरसाइकल, अटो, साना विद्युतीय गाडी (ईभी) तथा टाटा सुमोमार्फत पर्यटकहरू पुग्ने गरेका छन् । काठमाडौं र हेटौँडालगायतका क्षेत्रबाट आउने पर्यटकहरूले यहाँको शान्त वातावरण र प्राकृतिक दृश्यलाई अन्तर्राष्ट्रिय स्तरका च्यानलमा देखिने दृश्यसँग तुलना गर्ने गरेका छन् । हेटौँडाबाट घुम्न पुगेका पर्यटक दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘तराईको गर्मीबाट केही किलोमिटरकै यात्रामा यस्तो शीतल र शान्त ठाउँ भेटिनु अद्भुत छ । यहाँको वातावरण निकै आनन्ददायी छ ।’ पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको बुढीचौर आन्तरिक पर्यटकका लागि एक आकर्षक गन्तव्यका रूपमा उदय भइरहेको छ । सुरुमा सामान्य गाउँ वा जमघट हुने थलोका रूपमा चिनिए पनि प्रत्यक्ष भ्रमणका क्रममा यस क्षेत्रको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आकर्षित गरिरहेको पाइएको छ । बुढीचौर पुग्ने पर्यटकहरूले यस क्षेत्रको प्राकृतिक बनावट र दृश्यलाई विश्वस्तरीय च्यानलहरूमा देखाइने मनोरम दृश्यहरूसँग तुलना गर्न थालेका छन् । नजिकैको गर्मी क्षेत्रबाट करिब २०–२५ किलोमिटरको दूरीमा रहेको यो स्थान पुग्ने बाटो र वरपरको वातावरण निकै मनमोहक रहेको भ्रमणमा आएका पर्यटकहरू बताउँछन् । विशेष गरी मोटरसाइकल यात्रामार्फत यहाँ पुग्नेहरूले बाटोमा देखिने प्राकृतिक दृश्यहरूको उच्च प्रशंसा गरेका छन् । पर्यटक राम श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा देखिएको भन्दा प्रत्यक्ष भ्रमणमा बुढीचौर अझ उत्कृष्ट र सुन्दर रहेको छ । उहाँले यस क्षेत्रको भौगोलिक बनावट र वातावरणीय अनुकूलताले जोसुकैलाई पनि मोहित पार्ने उल्लेख गरे । यस क्षेत्रको विकासका सम्बन्धमा श्रेष्ठ भन्छन्, ‘सरकारले यस ठाउँको विकासमा अलिकति मात्र ध्यान पुर्याउने हो भने बुढीचौरलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य र स्थानीय आयस्रोतको बलियो माध्यम बनाउन सकिने देखिन्छ ।’ प्रचुर पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माण र सरकारी स्तरबाट ठोस योजनाको खाँचो रहेको सरोकारवालाहरूको बुझाइ छ । बुढीचौरको धार्मिक तथा ऐतिहासिक पक्ष पनि उत्तिकै सबल छ । यहाँको रिखेश्वर गुफा धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण मानिन्छ । ऐतिहासिक रूपमा खुडेधार पदमार्गलाई नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले प्रयोग गरेको सम्भावित गुप्त मार्गका रूपमा स्थानीयले चर्चा गर्ने गरेका छन् । यस क्षेत्रमा रहेको सामरी खोलाको मुहान र प्राकृतिक झरनाहरूले पर्यटकलाई थप आकर्षण प्रदान गर्दछन् । बुढीचौरको अर्को मुख्य विशेषता यहाँको क्षण–क्षणमा बदलिने मौसम हो । कहिले कुहिरोले डाँडाकाँडा ढाक्ने त कहिले खुल्ने दृश्यले यहाँको सौन्दर्यमा निखार ल्याउँछ । बाह्रै महिना चिसो हावापानी रहने यस क्षेत्रलाई तरकारी खेतीको महत्त्वपूर्ण ‘हब’ का रूपमा पनि चिनिन्छ । यहाँ उत्पादित ताजा गोलभेंडा, काउली, बन्दागोभी, आलु र सागसब्जीले स्थानीय अर्थतन्त्रमा टेवा पुर्याएका छन् । पर्यटकीय चहलपहल बढ्न थालेपछि स्थानीय बासिन्दाले रैथाने उत्पादनहरू जस्तै काँक्रो, दही, दूध र मोही बिक्री गरेर आम्दानी गर्न थालेका छन् । स्थानीय बासिन्दा कर्णराज विश्वकर्माले भने, ‘पर्यटकको आगमनले स्थानीय उत्पादनको बजारीकरणमा ठूलो सहयोग पुगेको छ ।’ बुढीचौरलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदयात्रा (ट्रेकिङ), क्याम्पिङ, साइक्लिङ र फोटोग्राफीका पूर्वाधारहरू थप गर्नुपर्ने देखिन्छ । स्थानीयले खुडेधार पदमार्गको स्तरोन्नति, सूचना केन्द्रको स्थापना, विश्रामस्थल, दृश्यावलोकन टावर (भ्यू टावर) र होमस्टे सञ्चालनमा सरकारले लगानी गर्नुपर्ने माग गरेका छन् । सरकारी स्तरबाट योजनाबद्ध रूपमा पूर्वाधार विस्तार र प्रचारप्रसार गर्न सके बुढीचौर निकट भविष्यमै बागमती प्रदेशकै एक उत्कृष्ट प्राकृतिक, ऐतिहासिक र साहसिक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।
सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँ : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख ४ गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उनले अदालतको प्रक्रियालाई स्वाभाविक रूपमा लिइएको बताए । अदालतको पछिल्लो आदेशमाथि प्रतिक्रिया दिँदै उपसभापति शर्माले कुनै नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग बाझिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानुनी मान्यता रहेको बताए । यद्यपि, यस प्रकरणमा कुनै नयाँ तथ्य वा नजिरसँग बाझिने अवस्था आफूहरूले नदेखेको उनको जिकिर छ । उपसभापति शर्माले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम महाधिवेशनपश्चात् विवरण अध्यावधिक गर्ने क्रममा सुनुवाइ गर्ने परम्परा नरहेको स्पष्ट पारे । उपसभापति शर्माले भने, ‘हिजोको आदेशले पुनरावलोकनको ढोका मात्र खोलेको हो । निर्वाचन आयोगले अध्यावधिक गर्दा निवेदन दिने पक्षको सुनुवाइ नगरेको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिइएको देखिन्छ । तर यो दल विभाजनसम्बन्धी मुद्दा नभएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ यसमा आकर्षित हुँदैन ।’ पार्टीको विशेष महाधिवेशनपछि तत्कालीन कार्यवाहक सभापतिसहितको टोलीले निर्वाचन आयोग पुगेर आफ्ना तर्कहरू राखिसकेकाले त्यसलाई एक प्रकारको सुनुवाइ नै मान्न सकिने उनको तर्क छ । साथै, सर्वोच्च अदालतमा समेत लामो समय बहस र सुनुवाइ भएपछि मात्र वैशाख ४ को फैसला आएकाले ‘सुनुवाइको मौका नदिइएको’ भन्ने तर्क खण्डित हुने शर्माले बताए । पार्टी अहिले १५औँ महाधिवेशनको संघारमा रहेको स्मरण गराउँदै उपसभापति शर्माले राजनीतिक दलका आन्तरिक विवादहरू मूलतः निर्वाचन आयोगबाटै निरूपण हुनु उपयुक्त हुने धारणा राखे । उनले भने, ‘अदालतको आदेश र व्याख्यालाई हामी सम्मान गर्छौं । पुनरावलोकनको प्रक्रियामा हामी विशेष महाधिवेशनको वैधानिक र राजनीतिक तथ्यहरू पुनः केस्रा–केस्रा केलाएर राख्नेछौँ । यसलाई हामीले तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौँ ।’ नेपाली कांग्रेस सबै नेता तथा कार्यकर्तालाई गोलबद्ध गर्दै विधान र संविधानको परिधिभित्र रहेर अगाडि बढ्न प्रतिबद्ध रहेको समेत उनले प्रस्ट पारे ।
नेपाल विनटेक एक्स्पो असोज २३ देखि, ६५ भन्दा बढी प्रदर्शनी स्टल रहने
काठमाडौं । विनटेक एलायन्स नेपालले नेपाल विनटेक एक्स्पो २०२६ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । एक्स्पो आगामी असोज २३, २४ र २५ गते अर्थात् अक्टोबर ९, १० र ११ मा ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना हुनेछ । पहिलो संस्करणको सफलतापछि यसपटक एक्स्पोलाई थप भव्य र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यस वर्ष एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ । पहिलो संस्करण भने दुई दिनमा सीमित थियो । एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् । दुईवटा एक्सपेरियन्स जोनसमेत राखिनेछ । स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीले आफ्ना उत्पादन तथा प्रविधि प्रदर्शन गर्नेछन् । कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, एम्बेडेड फाइनान्स र लेन्डिङ टेक्नोलोजीलगायतका प्रविधि प्रस्तुत गरिनेछ । विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादन तथा सेवाको औपचारिक सार्वजनिकसमेत गर्ने आयोजकले जनाएको छ । एक्स्पोको उद्घाटन समारोह अक्टोबर ९ मा हेरिटेज गार्डेन परिसरस्थित क्लासिक भेन्युमा हुनेछ । आयोजकका अनुसार एक्स्पोमा ६ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप तथा विद्यार्थीको सहभागिता रहनेछ । हाल विनटेक एलायन्स नेपालमा ५३ वटा कर्पोरेट सदस्य आबद्ध छन् । संस्थाले नेपालको फिनटेक इकोसिस्टमलाई बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । एक्स्पोमा टाइटल स्पोन्सर, पावर्ड बाइ पार्टनर, गोल्ड, सिल्भर तथा नेटवर्किङ स्पोन्सरका रूपमा सहकार्य गर्न सकिनेछ । प्रदर्शकका लागि प्रतिस्टल ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ । एलायन्सका कर्पोरेट सदस्यलाई भने ५० प्रतिशत छुट दिइनेछ। अन्तर्राष्ट्रिय प्रदर्शकका लागि प्रतिस्टल ७५० अमेरिकी डलर शुल्क तोकिएको छ । एक्स्पोको पहिलो दिन साँझ स्पोन्सर, प्रदर्शक, साझेदार, नियामक निकाय, बैंक तथा फिनटेक कम्पनीका प्रतिनिधिबीच नेटवर्किङ डिनरसमेत आयोजना गरिनेछ । यसपटक पहिलोपटक प्रिमियम लाउन्ज सेवाको व्यवस्था गरिएको छ । प्रिमियम पासवाहक, विशिष्ट अतिथि तथा आमन्त्रित प्रतिनिधिले उक्त सेवामार्फत विशेष आतिथ्य र व्यवसायिक नेटवर्किङ सुविधा पाउनेछन् । खल्तीलाई एक्स्पोको आधिकारिक टिकटिङ पार्टनर नियुक्त गरिएको छ । सर्वसाधारणका लागि प्रवेश शुल्क २ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । आयोजकले एक्स्पोलाई वित्तीय प्रविधि, नवप्रवर्तन, सहकार्य तथा डिजिटल रूपान्तरणलाई अघि बढाउने साझा मञ्चका रूपमा विकास गर्ने जनाएको छ ।
अमेरिकासँग हतियारको भण्डार पर्याप्त छ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको समग्र गोलाबारुद भण्डार पर्याप्त भएपनि केही विशिष्ट प्रकारका हतियारहरूको आपूर्तिमा केही दबाब रहेको बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामीसँग यस्ता केही प्रकारका हातहतियार छन् जुन निकै शक्तिशाली छन् र तिनको आपूर्ति लगभग असीमित छ । यद्यपि, केही अन्य प्रकारका हतियारको उपलब्धता भने थोरै कम छ, जसलाई हामीले दैनिक रूपमा आपूर्ति गरिरहेका छौँ ।’ इरानसँगको तनावका बीच अमेरिकी सेनाले आफ्नो प्रमुख क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका करिव ८० प्रतिशत इन्टरसेप्टर (प्रतिरोधी क्षेप्यास्त्र) प्रयोग गरिसकेको र सैन्य कमान्डरहरूले गोलाबारुदको भण्डार खतरनाक रूपमा न्युन भएको चेतावनी दिएको समाचार सार्वजनिक भएको दुई दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो । यसैबीच, द वासिङ्टन पोस्टले गत साता क्याम्प डेभिडमा आयोजित शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्प र रक्षामन्त्री पिट हेगसेथबीच अमेरिकी क्षेप्यास्त्र आपूर्तिको विषयलाई लिएर विवाद भएको उल्लेख गरेको थियो । स्रोतलाई उद्धृत गर्दै प्रकाशित उक्त समाचारमा क्षेप्यास्त्रको मौज्दात घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो । तर राष्ट्रपति ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेका छन् । उनले ती दाबीहरूलाई झुटो र पूर्णतया निराधार हल्लाको संज्ञा दिएका छन् ।
घाटाका संस्था नाफामा, बन्द उद्योग सञ्चालनमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वर्षौंदेखि बन्द, घाटामा रहेका तथा निराशाजनक अवस्थामा पुगेका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालन गरी प्रतिस्पर्धी बनाउने सरकारको प्रयासले सकारात्मक परिणाम दिन थालेको बताएका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योगको पुनर्जीवनका लागि सरकारले सुरुदेखि नै सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताए । ‘जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्,’ उनले भने । उनका अनुसार कानुनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेका छन् । सरकारले सार्वजनिक गरेको विवरणअनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको प्रधानमन्त्री शाहको भनाइ छ । नेपाल औषधि लिमिटेडले आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्यसमेत लिएको छ । चालु आर्थिक वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । हाल लिमिटेडबाट ११ प्रकारका औषधि उत्पादन भइरहेका छन् । यसैगरी, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको प्रधानमन्त्री शाहले बताए । परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने तयारी छ । नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा पनि सुधार देखिएको प्रधानमन्त्रीको दाबी छ । गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो । सो अवधिमा निगमको सिट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो । निगमले जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरेको जनाएको छ । दुग्ध विकास संस्थान (डीडीसी)मा पनि सुधारका प्रयास थालिएको प्रधानमन्त्री शाहले बताएका छन् । किसानको दूधको बक्यौता भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको र बक्यौता रकम ७२ करोडबाट घटाएर ३५ करोड रुपैयाँमा सीमित गरिएको जनाइएको छ । किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । डीडीसीको सुधारपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको दाबी गरिएको छ । कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू तथा दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको जनाइएको छ । डीडीसीले खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गर्नुका साथै नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी गरेको छ । त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समितिको उत्पादन र कारोबारमा समेत वृद्धि भएको प्रधानमन्त्री शाहले बताए । सरकार गठनपछि वैद्यखानाले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको र गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको जनाइएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो । वैद्यखानाले हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ काम गरिरहेको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेकोमा चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै, पाउडर र ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत लिइएको छ । प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रूग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरे । उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनको भनाइ छ ।