विकासन्युज

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा–मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए । राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैँमा एउटा ‘डर्टी गेम’ हो । यसमा अष्टावक्रझैँ टेढा–मेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’ उनले राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा राखे ।

ब्लड सुगर घटाउन मेथीको पानी कति प्रभावकारी ? यस्तो भन्छ अनुसन्धान

काठमाडौं । मधुमेह भएका व्यक्तिमाझ मेथीको पानी लोकप्रिय घरेलु उपाय बनेको छ । बिहान खाली पेट मेथी भिजाएको पानी पिउँदा ब्लड सुगर नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिन्छ । तर मेथीको पानीले वास्तवमै ब्लड सुगर घटाउन मद्दत गर्छ त ? यसबारे वैज्ञानिक अनुसन्धानले केही सम्भावित फाइदा देखाए पनि यसलाई मधुमेहको औषधिको विकल्प भने मानिएको छैन । मधुमेह नियन्त्रणका लागि चिकित्सकले सुझाएको औषधि, सन्तुलित आहार र नियमित व्यायाम महत्वपूर्ण हुन्छ । घरेलु उपायका भरमा मात्रै मधुमेह नियन्त्रण गर्न खोज्नु जोखिमपूर्ण हुन सक्छ ।  मेथीको पानी किन चर्चामा छ ? मेथीका बीउमा घुलनशील फाइबर, प्रोटिन, आइरन, म्याग्नेसियमलगायत विभिन्न जैविक तत्व पाइन्छन् ।अनुसन्धानअनुसार मेथीमा पाइने घुलनशील फाइबरले कार्बोहाइड्रेट पाचन तथा ग्लुकोज शरीरमा अवशोषण हुने प्रक्रियालाई केही ढिलो बनाउन सक्छ। यसले खाना खाएपछि ब्लड सुगर एक्कासि बढ्न नदिन सहयोग गर्न सक्ने मानिन्छ । तर यसको प्रभाव व्यक्तिको खानपान, जीवनशैली, औषधि र मधुमेहको अवस्थाअनुसार फरक हुन सक्छ । त्यसैले मेथीलाई सहयोगी उपायका रूपमा मात्र लिनुपर्ने विशेषज्ञहरूको सुझाव छ ।  मेथीका कुन तत्वले ब्लड सुगरमा असर पार्न सक्छन् ? मेथीमा पाइने ग्यालाक्टोम्यानन नामक घुलनशील फाइबरले कार्बोहाइड्रेट पाचन र ग्लुकोज अवशोषणको गति कम गर्न सक्ने अध्ययनले देखाएका छन् । मेथीमा पाइने ४–हाइड्रोक्सीसोल्युसिन नामक अमिनो एसिडले इन्सुलिनको स्रावमा सहयोग गर्न सक्ने सम्भावनाबारे अध्ययन भएका छन् ।  मेथीमा पाइने ट्राइगोनेलिन नामक प्राकृतिक तत्वले इन्सुलिन संवेदनशीलता बढाउन सक्ने सम्भावनाबारे पनि अनुसन्धान भइरहेको छ । यद्यपि, यी प्रभावलाई स्पष्ट रूपमा प्रमाणित गर्न अझ ठूला र गुणस्तरीय मानव अध्ययन आवश्यक छन् ।  अनुसन्धानले के भन्छ ? केही क्लिनिकल परीक्षण तथा मेटा–विश्लेषणमा मेथी नियमित सेवन गर्दा फास्टिङ ब्लड सुगर र एचबीए१सीमा सामान्य सुधार देखिएको छ । तर उपलब्ध वैज्ञानिक प्रमाणको गुणस्तर मध्यम रहेको बताइएको छ। त्यसैले मेथीको पानीले मात्रै मधुमेह नियन्त्रण गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्न मिल्दैन । आयुर्वेदमा पनि मेथीलाई पाचन सुधार तथा मधुमेह व्यवस्थापनमा सहयोगी आहारका रूपमा प्रयोग गरिँदै आएको छ । ​​​​​​​ मेथीको पानी कसरी बनाउने ? डाक्टरको सल्लाहअनुसार मेथीको पानी सेवन गर्ने हो भने सामान्यतया यसरी तयार गर्न सकिन्छ। -राति एकदेखि दुई चम्चा मेथीका बीउ एक गिलास पानीमा भिजाउने । -बिहान पानी छानेर पिउने । -इच्छा भए भिजाइएका मेथीका बीउसमेत चपाएर खान सकिन्छ । ​​​​​​​​​​​​​​     मेथीको पानीमा पाइने फाइबर तथा जैविक तत्वले ब्लड सुगर नियन्त्रणमा केही सहयोग गर्न सक्ने सम्भावना भए पनि यसलाई मधुमेहको उपचार वा औषधिको विकल्प मान्न मिल्दैन । मधुमेह भएका व्यक्तिले चिकित्सकले तोकेको औषधि आफैं बन्द गर्नु हुँदैन । सन्तुलित आहार, नियमित व्यायाम र चिकित्सकीय निगरानीसँगै मेथीलाई सहयोगी आहारका रूपमा लिन सकिन्छ । विशेषगरी मधुमेहको औषधि सेवन गरिरहेका व्यक्ति वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिले नियमित रूपमा मेथीको पानी सेवन गर्नुअघि चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।  एजेन्सीको सहयोगमा

धमलाले भने- हामीले भाडा तिर्यौं, तर रिपोर्टर्स क्लब अझै बन्द छ

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल ३ महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौता अनुसारको भाडा रकम ३८ हजार ७२१ रुपैयाँ समाज कल्याण परिषदलाई तिरेको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए । धमलाले रिपोर्टर्स क्लबले नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । राजाको शासनकालमा समेत क्लब बन्द नभएको उल्लेख गर्दै उनले अहिले भने क्लब बन्द हुनुपर्ने अवस्था आउनु दुःखद भएको बताए । उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति आफू सकारात्मक रहेको पनि स्पष्ट पारे । काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि आफूले बालेनलाई साथ दिएको र अहिले प्रधानमन्त्री बनेपछि पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने अभियानमा पूर्ण साथ रहेको धमलाको भनाइ छ । ‘बालेनजी मेयर हुँदा पनि साथ दिएँ, आज प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासन कायम गर्न मेरो पूरा साथ छ,’ धमलाले भने, ‘तर आज जनताको आवाज बुलन्द गर्ने रिपोर्टर्स क्लब नै बन्द छ । उनले रिपोर्टर्स क्लबले विभिन्न आन्दोलन तथा राजनीतिक घटनाक्रममा नागरिकको आवाज सम्बन्धित निकाय र जनतामाझ पुर्याउने काम गर्दै आएको बताए । जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका जेनजी अभियन्ताहरूलाई समेत रिपोर्टर्स क्लबले आफ्ना माग, धारणा र आवाज जनतामाझ पुर्याउन महत्वपूर्ण सहयोग गरेको धमलाले स्मरण गरे । कोरोना महामारीका क्रममा क्लब दुई महिनासम्म बन्द हुँदा समेत सरकारले भाडा तिर्न नपर्ने भनिए पनि आफूहरूले सम्झौताअनुसार भाडा तिरेको धमलाले बताए । ‘कोरोनाको समयमा दुई महिना क्लब बन्द भयो । सरकारले भाडा तिर्नुपर्दैन भनेको थियो, तर हामीले भाडा तिर्यौं,’ उनले भने । उनले रिपोर्टर्स क्लबलाई तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्दै क्लब बन्द हुँदा पत्रकार, सञ्चारकर्मी र जनताको आवाज अभिव्यक्त गर्ने एउटा महत्वपूर्ण सार्वजनिक थलो प्रभावित भएको बताए ।

राज्यका सबै शक्ति एकै ठाउँमा केन्द्रित हुँदा सर्वसत्तावाद मौलायो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी (डिफङ्क्ट) भएको दाबी गरे । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारूलगायतका आन्दोलनबाट प्राप्त सङ्घीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उनको आरोप छ । ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरिएको उनले प्रस्ट पारे । संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वउपप्रधानमन्त्री यादवले विगतमा संविधानसभाबाट संविधान जारी नभई केही दलहरूले ‘संविधानको किताब’ मात्र पारित गराएको टिप्पणी गरे । हाल मुलुक संविधानभन्दा बाहिरबाट चलिरहेको जिकिर गर्दै उनले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए । मुलुकमा सुशासनको अभाव, बढ्दो भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा र जर्जर आर्थिक अवस्थाप्रति सङ्केत गर्दै उनले वैदेशिक ऋणको भारले अर्थतन्त्र थप सङ्कटमा परेको बताए । उनले भने, ‘निर्णय प्रक्रिया र शक्तिको केन्द्रीकरण एकै ठाउँमा हुनु सर्वसत्तावादको परिचायक हो । यस्तो प्रवृत्तिले अन्ततः अधिनायकवादलाई जन्म दिन्छ र लोकतान्त्रिक मूल्य–मान्यतालाई समाप्त पार्छ । हामीले मेची–महाकाली सङ्घर्षमार्फत विभेदकारी प्रावधानहरू नराख्न र संविधानलाई समावेशी एवं न्यायपूर्ण बनाउन माग गरेका थियौँ, तर राज्यले दमन र हत्या गरेर जबर्जस्ती संविधान घोषणा गर्‍यो ।’ उनले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय, सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने स्पष्ट पारे । सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुनु नपर्ने भन्दै उनले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढेको बताए ।

पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधा सञ्चालन, दैनिक १६ गाडीलाई सेवा दिने क्षमता

काठमाडौं । बीवाईडीको पोखरामा पूर्ण थ्री–एस सुविधा सञ्चालनमा आएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा–१०, बुद्धचोकमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री–एस) सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् । पोखरा तथा गण्डकी प्रदेश आसपासका बीवाईडी ग्राहकले अब कम्पनीकै आधिकारिक सेवा सञ्जालमार्फत बिक्रीपछिको सेवा पाउने भएका छन् । यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए । अब भने ग्राहकले आधिकारिक सर्भिस सेन्टरबाट अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा पाउनेछन् । साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीको सवारी बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध र जिम्मेवारी कायम रहने बताए । उनका अनुसार पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक र जेन्युइन स्पेयर पार्ट्ससहित ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ । करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टर विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका लागि आवश्यक सुविधासहित निर्माण गरिएको छ । सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट छन् । छुट्टाछुट्टै मर्मत क्षेत्र र हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्रसमेत रहेको कम्पनीले जनाएको छ । त्यस्तै, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बेको सुविधा पनि उपलब्ध छ ।सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ । यसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । ग्राहकले नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स र वारेन्टी सेवा लिन सक्नेछन् । त्यस्तै, जेन्युइन स्पेयर पार्ट्स तथा डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा पनि उपलब्ध हुनेछ । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई कम्पनीले बिक्रीपछिको सेवा सञ्जाल विस्तारको महत्वपूर्ण कदमका रूपमा लिएको छ । आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीले नयाँ पुस्ताका विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिरहेको अवस्थामा सेवा सञ्जाल विस्तारलाई कम्पनीले नेपाल बजारप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा प्रस्तुत गरेको छ ।

इमानदार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा गर्छु, भाग्नेलाई ठाउँ छैन : अध्यक्ष लिङदेन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान् र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् । राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरे । अध्यक्ष लिङदेनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्तरसङ्घर्ष वा विगतका कुनै पनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उनले आफू सबैको अभिभावक भएर काम गर्ने बताए । यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने उनले स्पष्ट पारे । उनले भने, ‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन । सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु । काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैँ धकेलेर बिदा गरिदिन्छु ।’ पार्टीको सङ्गठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै अध्यक्ष लिङदेनले यस कार्यमा तत्काल केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए । अध्यक्ष लिङदेनले योजनाबद्ध ढङ्गले नातागोता र छरछिमेक हुँदै सङ्गठन विस्तारमा लाग्न आग्रह गर्दै निकट भविष्यमा राप्रपामा जनलहर आउने दाबीसमेत गरे । इमानदार भएर वडा जिताउने र पार्टीको जिम्मेवारी बहन गर्ने सङ्कल्पका साथ अघि बढ्न उनले कार्यकर्तालाई हौसला दिए । 

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

काठमाडौं । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन् । त्यसपछि २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाए पनि पुर्जा वितरण हुन सकेन । विगतका आयोगबाट सुरु भएको काम अधुरै रहँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा थिए । हालको समितिको कार्यविधि तथा प्रचलित नियमअनुसार विगतमा भएका अधुरा–अपुरा कामलाई निरन्तरता दिँदै प्रक्रिया अघि बढाइएको हो । सोही क्रममा नियमानुसार राजस्व संकलन गरी विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको प्रक्रिया पूरा गर्दै १२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो । करिब ३८ वर्षअघि नापनक्सा भएर पनि स्वामित्वको कानुनी प्रमाण प्राप्त गर्न नसकेका स्थानीयले लामो समयपछि जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेका  हुन् ।  

नबिल र ग्लोबल आइएमई बैंकमा कुन बलियो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये नबिल बैंक र ग्लोबल आइएमई बैंकको वित्तीय अवस्थालाई विशेष चासोका साथ हेरिएको छ । चौधरी ग्रुपको लगानी रहेको नबिल बैंक र आइएमई ग्रुपको लगानी रहेको ग्लोबल आइएमई बैंक ठूला व्यावसायिक घरानाको लगानी रहेका बैंक हुन् । त्यसैले पनि यी दुई बैंकबीचको वित्तीय प्रतिस्पर्धालाई बैंकिङ क्षेत्रमा चासोका साथ हेर्ने गरिएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा नाफा, कर्जा लगानी, प्रतिसेयर आम्दानी, लाभांश क्षमता तथा खराब कर्जा सुधारमा नबिल बैंक अगाडि देखिएको छ भने निक्षेप संकलन, निक्षेप वृद्धिदर र चुक्ता पुँजीमा ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ । नबिल बैंकको अध्यक्ष निर्वाण कुमार चौधरी र ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । यस्तै नबिलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र ग्लोबल आइएमईको सुरेन्द्रराज रेग्मी रहेका छन् । कुन सूचकमा को अगाडि ? गत आर्थिक वर्षमा नबिल बैंकले ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा एक वर्षमा ३३.५० प्रतिशतले बढेको हो । ग्लोबल आइएमई बैंकले गत वर्ष ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ रहेको बैंकको नाफा २२.६७ प्रतिशतले बढेको हो । नबिल बैंकको खुद ब्याज आम्दानी गत वर्ष ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ८१ हजार रुपैयाँ थियो । ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी भने २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी १६ अर्ब ६७ करोड ९९ लाख ३९ हजार रुपैयाँ थियो । रकम हजारमा खुद शुल्क तथा कमिसन आम्दानीमा भने ग्लोबल आइएमई बैंक अगाडि छ । गत वर्ष बैंकले ३ अर्ब ६४ करोड ५ लाख ५४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब २२ करोड १७ लाख ४२ हजार रुपैयाँ थियो । नबिल बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ५४ करोड १० लाख ७९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ४२ करोड ८८ लाख ७ हजार रुपैयाँ रहेको यस्तो आम्दानीमा वृद्धि भएको छ । नबिल बैंकको कुल सञ्चालन आम्दानी गत वर्ष २२ अर्ब ३३ करोड ४३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २१ अर्ब ६३ लाख ९६ हजार रुपैयाँ रहेको यस्तो आम्दानी बढेको हो । बैंकको सञ्चालन नाफा पनि ९ अर्ब २३ करोड ५४ लाख ५८ हजार रुपैयाँबाट बढेर ११ अर्ब ५६ करोड ४२ लाख २६ हजार रुपैयाँ पुगेको छ । ग्लोबल आइएमईको कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख ६७ हजार रुपैयाँबाट बढेर २१ अर्ब ८० करोड ३९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ७ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँबाट बढेर ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ पुगेको छ । निक्षेप संकलनमा भने ग्लोबल आइएमई बैंकले नबिललाई पछाडि पारेको छ । गत असारसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख रुपैयाँको तुलनामा बैंकको निक्षेप २१.५२ प्रतिशतले बढेको हो । नबिल बैंकको निक्षेप भने ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँबाट बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप वृद्धिदर १२.९५ प्रतिशत रहेको छ । निक्षेपमा ग्लोबल आइएमई अगाडि रहे पनि कर्जा लगानीमा नबिल बैंक अगाडि छ । नबिल बैंकले गत असारसम्म ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष ४ खर्ब १० अर्ब ९९ करोड २० लाख रुपैयाँ रहेको कर्जा लगानी १२ प्रतिशतले बढेको हो । ग्लोबल आइएमईको कर्जा लगानी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख रुपैयाँबाट बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यसको कर्जा वृद्धिदर ७.१२ प्रतिशत रहेको छ । गत असारसम्म नबिल बैंकको निक्षेप-कर्जा अनुपात ८०.१८ प्रतिशत रहेको छ भने ग्लोबल आइएमईको ६८.४३ प्रतिशत छ । रकम हजारमा लाभांश क्षमतामा नबिल अगाडि सेयरधनीका लागि महत्वपूर्ण मानिने लाभांश क्षमतामा नबिल बैंक अगाडि छ । गत आर्थिक वर्षमा नबिलको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.१० प्रतिशत रहेको छ । ग्लोबल आइएमईको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण क्षमता १२.०२ प्रतिशत छ । नबिल बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २१.८९ रुपैयाँबाट बढेर २८.३६ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेको छ । नबिलको मूल्य-आम्दानी अनुपात १८.८६ गुणा र प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैयाँ रहेको छ । ग्लोबल आइएमईको मूल्य-आम्दानी अनुपात १४.६९ गुणा र प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ । नबिल बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा आएको छ । खराब कर्जा घट्नु बैंकका लागि सकारात्मक संकेत हो । तर, ग्लोबल आइएमईको खराब कर्जा भने ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई बैंक अगाडि छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ । नबिलको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ छ । तर जगेडा कोषमा भने नबिल अगाडि छ । नबिलको जगेडा कोषमा ३४ अर्ब ६८ करोड ४ लाख २० हजार रुपैयाँ रहेको छ भने ग्लोबल आइएमईको जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको छ ।