नबिल र ग्लोबल आइएमई बैंकमा कुन बलियो ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये नबिल बैंक र ग्लोबल आइएमई बैंकको वित्तीय अवस्थालाई विशेष चासोका साथ हेरिएको छ । चौधरी ग्रुपको लगानी रहेको नबिल बैंक र आइएमई ग्रुपको लगानी रहेको ग्लोबल आइएमई बैंक ठूला व्यावसायिक घरानाको लगानी रहेका बैंक हुन् । त्यसैले पनि यी दुई बैंकबीचको वित्तीय प्रतिस्पर्धालाई बैंकिङ क्षेत्रमा चासोका साथ हेर्ने गरिएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा नाफा, कर्जा लगानी, प्रतिसेयर आम्दानी, लाभांश क्षमता तथा खराब कर्जा सुधारमा नबिल बैंक अगाडि देखिएको छ भने निक्षेप संकलन, निक्षेप वृद्धिदर र चुक्ता पुँजीमा ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ । नबिल बैंकको अध्यक्ष निर्वाण कुमार चौधरी र ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । यस्तै नबिलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र ग्लोबल आइएमईको सुरेन्द्रराज रेग्मी रहेका छन् । कुन सूचकमा को अगाडि ? गत आर्थिक वर्षमा नबिल बैंकले ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा एक वर्षमा ३३.५० प्रतिशतले बढेको हो । ग्लोबल आइएमई बैंकले गत वर्ष ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ रहेको बैंकको नाफा २२.६७ प्रतिशतले बढेको हो । नबिल बैंकको खुद ब्याज आम्दानी गत वर्ष ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ८१ हजार रुपैयाँ थियो । ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी भने २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी १६ अर्ब ६७ करोड ९९ लाख ३९ हजार रुपैयाँ थियो । रकम हजारमा खुद शुल्क तथा कमिसन आम्दानीमा भने ग्लोबल आइएमई बैंक अगाडि छ । गत वर्ष बैंकले ३ अर्ब ६४ करोड ५ लाख ५४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब २२ करोड १७ लाख ४२ हजार रुपैयाँ थियो । नबिल बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ५४ करोड १० लाख ७९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ४२ करोड ८८ लाख ७ हजार रुपैयाँ रहेको यस्तो आम्दानीमा वृद्धि भएको छ । नबिल बैंकको कुल सञ्चालन आम्दानी गत वर्ष २२ अर्ब ३३ करोड ४३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २१ अर्ब ६३ लाख ९६ हजार रुपैयाँ रहेको यस्तो आम्दानी बढेको हो । बैंकको सञ्चालन नाफा पनि ९ अर्ब २३ करोड ५४ लाख ५८ हजार रुपैयाँबाट बढेर ११ अर्ब ५६ करोड ४२ लाख २६ हजार रुपैयाँ पुगेको छ । ग्लोबल आइएमईको कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख ६७ हजार रुपैयाँबाट बढेर २१ अर्ब ८० करोड ३९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ७ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँबाट बढेर ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ पुगेको छ । निक्षेप संकलनमा भने ग्लोबल आइएमई बैंकले नबिललाई पछाडि पारेको छ । गत असारसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख रुपैयाँको तुलनामा बैंकको निक्षेप २१.५२ प्रतिशतले बढेको हो । नबिल बैंकको निक्षेप भने ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँबाट बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप वृद्धिदर १२.९५ प्रतिशत रहेको छ । निक्षेपमा ग्लोबल आइएमई अगाडि रहे पनि कर्जा लगानीमा नबिल बैंक अगाडि छ । नबिल बैंकले गत असारसम्म ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष ४ खर्ब १० अर्ब ९९ करोड २० लाख रुपैयाँ रहेको कर्जा लगानी १२ प्रतिशतले बढेको हो । ग्लोबल आइएमईको कर्जा लगानी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख रुपैयाँबाट बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यसको कर्जा वृद्धिदर ७.१२ प्रतिशत रहेको छ । गत असारसम्म नबिल बैंकको निक्षेप-कर्जा अनुपात ८०.१८ प्रतिशत रहेको छ भने ग्लोबल आइएमईको ६८.४३ प्रतिशत छ । रकम हजारमा लाभांश क्षमतामा नबिल अगाडि सेयरधनीका लागि महत्वपूर्ण मानिने लाभांश क्षमतामा नबिल बैंक अगाडि छ । गत आर्थिक वर्षमा नबिलको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.१० प्रतिशत रहेको छ । ग्लोबल आइएमईको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण क्षमता १२.०२ प्रतिशत छ । नबिल बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २१.८९ रुपैयाँबाट बढेर २८.३६ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेको छ । नबिलको मूल्य-आम्दानी अनुपात १८.८६ गुणा र प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैयाँ रहेको छ । ग्लोबल आइएमईको मूल्य-आम्दानी अनुपात १४.६९ गुणा र प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ । नबिल बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा आएको छ । खराब कर्जा घट्नु बैंकका लागि सकारात्मक संकेत हो । तर, ग्लोबल आइएमईको खराब कर्जा भने ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई बैंक अगाडि छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ । नबिलको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ छ । तर जगेडा कोषमा भने नबिल अगाडि छ । नबिलको जगेडा कोषमा ३४ अर्ब ६८ करोड ४ लाख २० हजार रुपैयाँ रहेको छ भने ग्लोबल आइएमईको जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
ट्रम्पको ४० करोड डलरको ह्वाइट हाउस बालरुम योजनामा अदालतको रोक
काठमाडौं । वासिङ्टनस्थित एक अमेरिकी सङ्घीय पुनरावेदन अदालतले ह्वाइट हाउसमा ४० करोड अमेरिकी डलरको भव्य बालरुम (नाचघर) निर्माण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम गैरकानुनी भएको फैसला सुनाएको छ । शुक्रबार भएको उक्त फैसलामा अदालतले सो परियोजनामाथि रोक लगाएको हो । अमेरिकी जिल्ला अदालत (डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किट) को पुनरावेदन इजलासले २–१ को बहुमतका आधारमा यस्तो फैसला सुनाएको हो । फैसलामा राष्ट्रपति ह्वाइट हाउसको अस्थायी भाडावाल मात्र भएको र त्यसको मालिक नभएको उल्लेख गरिएको छ । अदालतले भनेको छ, ‘ह्वाइट हाउस र यसको कार्यकारी निवासमा राष्ट्रपतिको कुनै संवैधानिक अधिकार छैन । यो सम्पत्ति वर्तमान र भविष्यका सबै राष्ट्रपतिहरू र अमेरिकी जनताको प्रयोगका लागि निर्माण र संरक्षण गरिएको हो ।’ ‘नेसनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसन’को पक्षमा फैसला सुनाउँदै अदालतले अमेरिकी इतिहासमा यसअघि कुनै पनि राष्ट्रपतिले कङ्ग्रेसको अनुमतिबिना र करदाताको पैसाले बनेको संरचना निजी कोष प्रयोग गरी एकलौटी रूपमा नभत्काएको टिप्पणी गरेको छ । फैसलाका अनुसार सन् २०२५ को अक्टोबरमा मात्र तीन दिनको अवधिमा ट्रम्पले कुनै परामर्श वा कङ्ग्रेसको अनुमतिबिना ९० हजार वर्ग फिटको बालरुम बनाउन ह्वाइट हाउसको ‘इस्ट विङ’ भत्काएका थिए । अदालतले आफ्नो फैसला कार्यान्वयनमा १४ दिनको रोक (स्टे) लगाएको छ, जसले ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने समय उपलब्ध गराएको छ । ट्रम्पको यो प्रस्तावित बालरुम विस्तार योजनालाई ह्वाइट हाउस र कङ्ग्रेसका केही सहयोगीहरूले समर्थन गरे पनि कङ्ग्रेसकै कतिपय रिपब्लिकन सदस्यहरूले भने यसप्रति असन्तुष्टि र चिन्ता व्यक्त गर्दै आएका छन् । गत जुन महिनाको सुरुमा सात जना रिपब्लिकन सिनेटरहरूले डेमोक्र्याटहरूसँग मिलेर कङ्ग्रेसको अनुमतिबिना बालरुम निर्माण वा कोष परिचालन गर्न नपाइने संशोधनको पक्षमा मतदान गरेका थिए ।
भोक पहिलेभन्दा कम लागिरहेको छ ? तनावबाहेक यी पनि हुन सक्छन् कारण
काठमाडौं । पहिलेको तुलनामा भोक कम लाग्ने र दैनिक खाना घट्दै गएको छ भने त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन, तनाव, भाइरल संक्रमण वा औषधिको असरले केही दिनका लागि भोक कम हुन सक्छ । तर लामो समयसम्म भोक कम भइरहेमा, प्रयास नगर्दा पनि तौल घट्न थालेमा वा ज्वरो, बान्ता, पेट दुख्ने तथा खाना निल्न कठिन हुनेजस्ता लक्षण देखिएमा स्वास्थ्य समस्याको संकेत हुन सक्छ । हरेक व्यक्तिको भोक एउटै हुँदैन । उमेर, शारीरिक गतिविधि, मौसम र स्वास्थ्य अवस्थाअनुसार भोकमा परिवर्तन आउन सक्छ । एक–दुई दिन भोक कम लागेर फेरि सामान्य अवस्थामा फर्किएमा सामान्यतः धेरै चिन्ता गर्नुपर्दैन । तर लगातार दुई साताभन्दा बढी समय भोक कम भइरहेमा वा पहिलेको तुलनामा निकै कम खाना खान थालिएमा यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ । लामो समयसम्म भोक कम हुँदा शरीरमा पोषक तत्वको कमी, कमजोरी र तौल घट्ने समस्या हुन सक्छ । कहिले सामान्य र कहिले चिन्ताको विषय ? मेडलाइन प्लसका अनुसार अत्यधिक गर्मी, भाइरल संक्रमण, पेट खराब हुनु, यात्रा, निद्राको कमी वा भावनात्मक तनावका कारण केही दिन भोक कम हुन सक्छ । तर भोकमा आएको कमी लगातार भइरहेमा, प्रयास नगर्दा तौल घट्न थालेमा वा दैनिक कामकाजमा असर पर्न थालेमा शरीरभित्रको कुनै समस्याको संकेत हुन सक्छ । भोक कम हुनुका सामान्य कारण फ्लु, कोभिड–१९, डेंगु, टाइफाइडलगायत संक्रमण हुँदा शरीरको ऊर्जा रोगसँग लड्न प्रयोग हुन्छ । त्यसक्रममा भोक कम हुनु सामान्य प्रतिक्रिया हुन सक्छ । संक्रमण निको भएपछि अधिकांश अवस्थामा भोक पनि सामान्य अवस्थामा फर्किन्छ । पाचन प्रणालीमा समस्या एसिडिटी, ग्यास्ट्राइटिस, अल्सर, कब्जियत, इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) तथा कलेजोसँग सम्बन्धित समस्याले पनि भोक कम गराउन सक्छ । खाना खाएपछि पेट दुख्ने, पोल्ने वा भारी हुने समस्या भएमा मानिसले बिस्तारै खाना कम गर्न सक्छ। औषधिको असर केही एन्टिबायोटिक, क्यान्सरको औषधि, दुखाइ कम गर्ने औषधि, डिप्रेसनको औषधि तथा मधुमेहका औषधिले पनि भोक कम गराउन सक्छन् । नयाँ औषधि सेवन सुरु गरेपछि भोक कम भएको हो भने चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ। तनाव र डिप्रेसनले पनि भोक घटाउन सक्छ मानसिक स्वास्थ्यको असर भोकमा पनि पर्न सक्छ । तनावका कारण शरीरमा कोर्टिसोललगायत हर्मोनको स्तरमा परिवर्तन आउँदा केही व्यक्तिमा भोक बढ्न सक्छ भने केहीमा घट्न सक्छ । डिप्रेसन भएका व्यक्तिमा खाना खाने इच्छा कम हुनु, तौल घट्नु र ऊर्जा कम हुनुजस्ता लक्षण देखिन सक्छन् । यदि दुई साताभन्दा बढी समय उदासी, कुनै काममा रुचि नलाग्ने र भोकमा परिवर्तनजस्ता समस्या कायम रहेमा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ । भोक कम हुनु गम्भीर रोगको संकेत पनि हुन सक्छ लगातार भोक कम लाग्नु कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्याको सुरुवाती संकेत पनि हुन सक्छ । यसमा थाइराइडको समस्या, कलेजो तथा मिर्गौलाको रोग, क्यान्सर र दीर्घकालीन संक्रमण पर्न सक्छन् । थाइराइडसम्बन्धी समस्याले भोक र शरीरको मेटाबोलिज्ममा असर गर्न सक्छ । कलेजो वा मिर्गौलाको समस्या हुँदा शरीरमा विषाक्त पदार्थ जम्मा भएर वाकवाकी लाग्ने र भोक कम हुने हुन सक्छ । त्यस्तै, केही प्रकारका क्यान्सरमा कारणबिना तौल घट्नु र भोक कम हुनु प्रारम्भिक लक्षणका रूपमा देखिन सक्छ । क्षयरोग (टीबी), एचआईभीलगायत लामो समय रहने संक्रमणले पनि भोक घटाउन सक्छ। भोक कम लाग्दैमा सधैं गम्भीर रोग भएको हुँदैन । तर लामो समयसम्म समस्या कायम रहेमा वा तौल घट्ने, लगातार ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने वा अत्यधिक कमजोरी जस्ता लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । समयमै स्वास्थ्य परीक्षण गराउँदा समस्याको कारण पत्ता लगाउन र आवश्यक उपचार सुरु गर्न सकिन्छ । सन्तुलित आहार, नियमित दिनचर्या, पर्याप्त निद्रा र तनाव व्यवस्थापनले पनि भोकलाई सामान्य राख्न सहयोग गर्छ । भोक लगातार कम भइरहेमा आफैं औषधि सेवन गर्नुको सट्टा चिकित्सकसँग परामर्श गर्नु सुरक्षित हुन्छ ।
३४ अंकको गिरावट, २१.९६ अर्बको कारोबार
काठमाडौं । गत साता नेपाली सेयर बजारमा गिरावट आएको छ । साता भर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.२४ अंकले घटेको छ । साताकाे ५ कारोबार मध्ये ४ दिन परिसूचक घट्दा १ दिन मात्रै सामान्य सुधार देखिएको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से २ हजार ६८५.५४ विन्दुमा रहेको थियो । शुक्रबार कारोबार बन्द हुँदा परिसूचक २ हजार ६५०.०९ विन्दुमा झरेको छ । साताको कारोबारमा मंगलबार बजार सबैभन्दा धेरै घट्यो । उक्त दिन नेप्से २१.१५ अंकले घटेर २ हजार ६६३.१८ विन्दुमा बन्द भयो । बुधबार भने बजारमा सामान्य सुधार देखियो । उक्त दिन नेप्से ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको थियो । बिहीबार पुनः बजार १३.८२ अंकले घट्यो । शुक्रबार पनि नेप्से ४.०५ अंकले घटेर २ हजार ६५०.०९ विन्दुमा सीमित भयो । साताभर २१ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पाँच कारोबार दिनमा कुल २१ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, साताभर ४ करोड ६१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कुल कारोबार संख्या २ लाख ८० हजार ४६५ पुगेको छ । शुक्रबार मात्रै ३ अर्ब ६५ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उक्त दिन ८१ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका थिए । साताको कारोबारमा सोमबार ४ अर्ब ५२ करोड, मंगलबार ३ अर्ब ९७ करोड, बुधबार ४ अर्ब ३७ करोड र बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यसरी कारोबार रकम तुलनात्मक रूपमा उच्च रहे पनि बजार परिसूचक भने समग्रमा दबाबमा परेको देखिएको छ ।
शिवमले घोषणा गर्यो नगद लाभांश
काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडले सेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ १४ गते काठमाडौंको अनामनगरस्थित रजिस्टर्ड कार्यालयको सभाहलमा बिहान ११:३० बजे पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले आर्थिक वर्ष २०८२/८३ मा भए गरेका काम–कारबाही तथा कारोबार र सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्नेछ । साथै, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड १६ लाख कित्ता सेयर नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर सर्वसाधारणमा निष्कासन गर्ने सम्बन्धमा यसअघि पेश गरिएको विवरणपत्रलगायत विषयमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, आगामी चार वर्षे कार्यकालका लागि तीन जना सञ्चालकको निर्वाचन तथा मनोनयन गरी सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ । सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको स्वतन्त्र सञ्चालक पदमा मनोनित स्वतन्त्र सञ्चालकलाई पनि साधारणसभाबाट अनुमोदन गरिनेछ ।
प्रधानमन्त्री बालेनलाई कटाक्ष गर्दै मनिष झाले भने : यहाँ कोही एक्लो छैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद मनिष झाले प्रधानमन्त्री बालेनको भनाइलाई लक्षित गर्दै यहाँ कोही एक्लो नभएको भन्दै कटाक्ष गरेका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका हुन् । 'हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ झाले भनेका छन्, 'यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ।' जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र सकारको साथमा रहेकाले यहाँ कोही पनि एकलो नरहेको उनले बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । शुक्रबार राति ११ बजेर ६ मिनेटमा उनले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका हुन् । आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गरेका छन् । 'केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’, उनले लेखेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन ।'
दुर्गमका स्वास्थ्यकर्मीमाथि हातपात हुनु चिन्ताजनक : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललले कालीकोटको पलाँता अस्पतालभित्र पसेर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् । नागरिकको ज्यान बचाउनेहरूको आफ्नै ज्यान जोखिममा पर्दा सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाउन सम्पूर्ण स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न माग गरेका छन् । 'एकातिर दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउनै मुस्किल छ, अर्कोतिर ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक छ,' उनले भनेका छन् । शुक्रबार पलाँता अस्पतालका स्वास्थ्यकर्मीमाथि केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए । दुर्व्यवहार तथा अस्पतालको सामग्री तोडफोड गर्ने तीन जना पक्राउ पनि परिसकेका छन् ।
यस्तो छ कामना सेवा विकास बैंकको लाभांश इतिहास
काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँमध्ये अग्राधिकार सेयर पुँजी ३५ करोड रुपैयाँमा ९ प्रतिशतका दरले १ करोड ४० लाख ६७ हजार रुपैयाँ र साधारण सेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँमा १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त नगद लाभांश कर प्रयोजनका लागि समेत हुने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । यसअघि बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ५.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी १२ प्रतिशत, आव २०७८/७९ मा ४.४१ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद गरी ४.६४ प्रतिशत तथा आव २०७७/७८ मा १८.५ प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आव २०७६/७७ मा ४.४ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद गरी ४.६३ प्रतिशत, आव २०७५/७६ मा ६.८ प्रतिशत नगद, आव २०७४/७५ मा १.५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी ९.५ प्रतिशत तथा आव २०७३/७४ मा ५.५ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसैगरी, आव २०७२/७३ मा २१.५८ प्रतिशत बोनस सेयर, आव २०७१/७२ मा २२.६० प्रतिशत बोनस सेयर र १.१९ प्रतिशत नगद गरी २३.७९ प्रतिशत, आव २०७०/७१ मा २१ प्रतिशत बोनस सेयर र १.१० प्रतिशत नगद गरी २२.१० प्रतिशत, आव २०६९/७० मा १५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी २१ प्रतिशत तथा आव २०६८/६९ मा १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।