ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी
काठमाडौं । प्रायः सबै प्रमुख अटो निर्माता कम्पनीहरूको प्रतिनिधित्व गर्ने एक व्यापार समूहले क्यानडा र मेक्सिकोबाट आयातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको नयाँ २५ प्रतिशत ट्यारिफले सवारीसाधनको मूल्यमा अत्यधिक वृद्धि गर्ने चेतावनी दिएको छ । ‘क्यानडा र मेक्सिकोमा लगाइने यी ट्यारिफले सबै अटो निर्माता कम्पनीहरूलाई असर गर्नेछ,’ अमेरिकी प्रमुख अटो निर्माता कम्पनीहरू (टेस्लाबाहेक) को प्रतिनिधित्व गर्ने ‘अलायन्स फर अटोमोटिभ इनोभेसन’ का प्रमुख जोन बोजेलाले मंगलबार भने । यस समूहका सदस्यहरूमा जनरल मोटर्स, फर्ड, टोयोटा, फक्सवागन, हुन्डाई र स्टेलान्टिस रहेका छन् । ‘धेरै कम्पनीहरूले केही सवारीसाधन मोडेलहरूको मूल्य २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरेका छन् र सवारीसाधनको मूल्य तथा उपलब्धतामा पर्ने नकारात्मक असर तुरुन्तै महसुस गरिनेछ,’ बोजेलाले थपे । अटो निर्माता कम्पनीहरूले चेतावनी दिएका छन् कि यी ट्यारिफहरूले २५ वर्षभन्दा बढी समयदेखि कायम रहेको उत्तर अमेरिकी आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गर्नेछन् । केही अटो पाट्र्स अन्तिम असेम्ब्ली हुनुअघि छ वा सोभन्दा बढी पटक सीमाना पार गर्छन् । ‘अटोमोबाइल उत्पादन र आपूर्ति श्रृंखलालाई रातारात सार्न सकिँदैन । यही नै चुनौती र दुविधा हो । उत्तर अमेरिकामा अटो ट्यारिफले उपभोक्ताहरूका लागि लागत बढाउन सक्छ,’ बोजेलाले भने । स्टेलान्टिसले मंगलबार डिलरहरूलाई कम्पनी ट्रम्प प्रशासनसँग निरन्तर छलफल गरिरहेको सूचना दिएको थियो । किनभने यी ट्यारिफले ग्राहकहरूलाई थप ‘लागतको बोझ पार्नेछ । ‘यी ट्यारिफले स्टेलान्टिसको प्रमुख क्रिसलर, डोज, जीप र राम ब्रान्डहरूलाई कोरियन, जापानी र युरोपेली आयातकर्ताहरूको तुलनामा प्रतिस्पर्धात्मक रूपमा कमजोर बनाउन सक्छ,’ कम्पनीले रोयटर्सले देखेको इमेलमा उल्लेख गरेको छ । वाणिज्य सचिव हावर्ड लुटनिकसँग गत हप्ता धेरै अटो निर्माता कम्पनीहरूले भेट गरे र व्यापक ट्यारिफ वृद्धिलाई अगाडि नबढाउन प्रशासनलाई आग्रह गरेका थिए । गत महिना फर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम फार्लीले मेक्सिको र क्यानडामा २५ प्रतिशत ट्यारिफले अमेरिकी अटो उद्योगलाई ‘ठूलो घाटा’ पुर्याउने चेतावनी दिएका थिए । ‘हामीले अहिले धेरै लागत, धेरै अव्यवस्था देखिरहेका छौं,’ उनले भनेका थिए । यता युनाइटेड अटो वर्कर्स (यूएडब्ल्यू) संघले ट्रम्पको समर्थन गर्दै अप्रिलमा प्रस्तावित थप ट्यारिफ योजनालाई स्वागत गरेको छ । ‘हामी अमेरिकी राष्ट्रपतिद्वारा गरिएको आक्रामक कारवाहीलाई देखेर खुसी छौं । हामी ह्वाइट हाउससँग मिलेर अप्रिलको अटो ट्यारिफ योजनालाई श्रमिक वर्गको हितमा विकास गर्न तत्पर छौं,’ संघले भनेको छ । अमेरिकी अन्तर्राष्ट्रिय अटोमोबाइल डिलर्स एसोसिएसनले पनि टिप्पणी गर्दै डिलरहरू पहिले नै बढ्दो सवारीसाधन तथा पाट्र्स मूल्यहरू र उच्च ब्याज दरहरूको सामना गरिरहेको बताएको छ । ‘ट्यारिफहरूले सिधै सवारीसाधनको मूल्यमा हजारौं डलरको वृद्धि गराउन सक्छ,’ समूहले जनाएको छ । (एजेन्सीहरूको सहयोगमा) निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै
बजाजको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सुरु, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ । मंगलबारदेखि सुरु भएको बेला आगामी सोमबारसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा सञ्चालन हुनेछ । यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सक्ने कम्पनीले जनाएकाे छ । यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त १० हजार रुपैयाँ भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ । साथै अन द स्पट फाइनान्स सुविधाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ । यसैगरी, ग्राहकहरुले ७ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिने कम्पनीले जनाएकाे छ । साथै शून्य प्रतिशत सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ ।
लिपमोटर टीओथ्री सार्वजनिक, मूल्य २८ लाख ९९ हजार
काठमाडौं । लिपमोटर टीओथ्री नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको छ। साङ्ग्रिला मोटर्स प्रालिले मंगलबार एक विशेष समारोहको आयोजना गर्दै लिपमोटर टीओथ्री सार्वजनिक गरेको हो । समारोहमा बोल्दै साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे । लिपमोटर टीओथ्रीमा ३७.३ किलोवाट हर्स ब्याट्री रहेको छ जसले डब्ल्यूएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ । यसमा लेभल २ एडभान्स्ड लीप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गरेका थिए। साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ । नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित भएको सांग्रिला मोटर्सले जनाएको छ । साङ्ग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको सदस्य हो ।