एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल

सन् २०२३ काे जुलाई ३१ मा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको डेल्टाको एन्नासिस टापुमा जहाजबाट आइपुगेपछि पंक्तिबद्ध रूपमा पार्क गरिएका नयाँ निसान कारहरू । फाइल तस्बिर । काठमाडौं । जापानी र दक्षिण कोरियाली कार निर्माता र उनीहरूका आपूर्तिकर्ताहरूको सेयर सोमबार गिरावट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस क्षेत्रका निर्यातकर्ताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको, क्यानडा र चीनमा लगाएको व्यापक भन्सार महसुलबाट प्रभावित भएकाले सेयरमा गिरावट आएको हो । विश्वको शीर्ष अटो निर्माता टोयोटा र सानो प्रतिद्वन्द्वी निसानको सेयर ५ प्रतिशतभन्दा बढीले घटे । होन्डा ७ प्रतिशतभन्दा बढीले घट्यो । ट्रम्पको उक्त कदम अपेक्षित भए पनि विश्वका केही सबैभन्दा ठूला उत्पादकहरूलाई धक्का दियो किनकि लगानीकर्ताहरू विश्वको शीर्ष अर्थतन्त्रबाट कमजोर माग र अझ चिन्ताजनक रूपमा विश्व वृद्धिमा गिरावटको सम्भावनासँग जुधिरहेका थिए । ट्रम्पको निर्णयले अटो निर्माताहरू सबैभन्दा बढी प्रभावित भएका छन् । धेरै जापानी र दक्षिण कोरियाली कार निर्माताहरू र उनीहरूका आपूर्तिकर्ताहरूको मेक्सिकोमा कारखाना छन् र त्यहाँ बनाएका कारहरू लामो समयदेखि संयुक्त राज्य अमेरिकामा निर्यात हुँदै आएका छन् । निसानका प्रमुख कार्यकारी अधिकृत माकातो उचिदाले नोभेम्बरमा मेक्सिकोका कारखानाबाट करिब ३ लाख सवारीसाधन अमेरिकामा निर्यात हुने बताएका थिए । उनले भनेका थिए, ‘निसानका मेक्सिकोमा दुई कारखाना छन्, जहाँ यसले अमेरिकी बजारका लागि सेन्ट्रा, भर्सा र किक्स मोडेलहरू बनाउँछ । यसले वार्षिक लगभग ३ लाख सवारीसाधनहरू अमेरिकामा निर्यात गर्छ ।’ होन्डाले आफ्नो मेक्सिकन उत्पादनको ८० प्रतिशत अमेरिकी बजारमा पठाउँछ र यसका मुख्य सञ्चालन अधिकृत शिन्जी अयोमाले नोभेम्बरमा यदि अमेरिकाले आयातित सवारीसाधनहरूमा स्थायी भन्सार महसुल लगाएमा उत्पादन स्थानान्तरण गर्ने बारे सोंच्नु पर्ने चेतावनी दिएका थिए । दक्षिण कोरियाको किया मोटर्सको सेयर पनि लगभग ७ प्रतिशतले घट्यो । दक्षिण कोरियाली विद्युतीय सवारी ब्याट्री फर्महरू र ब्याट्री सामग्री निर्माताहरू जसले जीएम, फोर्ड र अन्य कम्पनीहरूलाई आपूर्ति गर्न क्यानडामा कारखाना निर्माण गर्ने योजना बनाएका थिए, उनीहरू अन्यौलमा परेका छन् । पोस्को फ्युचर एम र इकोप्रो बीएम क्रमशः ९.१ प्रतिशत र ८.७ प्रतिशतले घटे । मुख्य चीनको बजार ‘लुनार न्यू इयर’ बिदाको लागि बन्द भए पनि हङकङमा सूचीकृत चिनियाँ स्टकहरूमा सोमबार गिरावट आयो । अस्ट्रेलियाका ठूला फलाम खानी कम्पनीहरू बीएचपी, रियो टिन्टो र फोर्टेस्क्यु सोमबार २ देखि ५ प्रतिशतको बीचमा घटे किनभने भन्सार महसुलले विश्व वृद्धिलाई रोक्ने सम्भावना थियो । रियो टिन्टो क्यानडेली एल्युमिनियम व्यवसायको कारण सबैभन्दा बढी जोखिममा देखिएको छ । विश्लेषकहरूको अनुमानअनुसार यसले वार्षिक लगभग १.३५-१.६ मिलियन मेट्रिक टन अमेरिकामा बेच्छ । मेक्सिकोमा कारखाना भएका ताइवानी टेक कम्पनीहरूको पनि सेयर घटेको छ । फक्सकन ८ प्रतिशत, क्वान्टा लगभग १० प्रतिशत र इन्भेन्टेक ८ प्रतिशतले घटेका छन् । (एजेन्सीहरूको सहयोगमा) ट्रम्पको भन्सार महसुल : प्रतिशोधमा क्यानडा र मेक्सिको, वार्ताको तयारीमा चीन ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर

टाटा नेक्सन केथ्री ईभी सार्वजनिक, यसकारण हुनसक्छ ‘गेम चेन्जर’

काठमाडौं । टाटाको नेक्सन केथ्री ईभी नेपालमा सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा सार्वजनिक भएको उक्त एसयूभी कारको ट्यागलाइन ‘गेम चेन्जर’ रहेको छ । नेपालका लागि टाटाको आयातकर्ता तथा बिक्रेता सिप्रदी ट्रेडिङले कार सार्वजनिक गर्दै उक्त कार गेम चेन्जरको भूमिका खेल्ने दाबी गरेको हो । सिप्रदी टेडिङका वरिष्ठ प्रवन्धक निर्मल खत्रीले उक्त कारको पाँचवटा पिल्लर रहेको र सोही पिल्लरहरूले सो कारलाई गेम चेन्जर बनाउने दाबी गरे । उनका अनुसार डिजाइन, प्रविधि, अल्ट्रा कम्फर्टको फिचरहरू, सूरक्षा र पफर्मेन्सले सो कारलाई गेम चेन्जरको रूपमा परिवर्तन गर्नेछ । कारमा नयाँ र डिजिटल डिजाइन हुनुका साथै फ्युचरस्टीक, इनोभेटिभ र यूजर फ्रेण्डली प्रविधि रहेको खत्री बताउँछन् । नेक्सन केथ्री ईभको डिजाइनमा बाइफङ्सनल एलईडी रहेको छ । सेन्टर पोजिसन ल्याम्प र पछाडि एनटूएन कनेक्टेड डीआरएल रहेको छ । यसले गाडीलाई विशेष लुक्स दिएको उनको भनाइ छ । यसका साथै नयाँ डिजिटल ड्यासबोर्ड र स्मार्ट डिजिटल स्टेरिङ ह्वील रहेको छ । खत्रीका अनुसार सो गाडीमा भएको स्मार्ट डिजिटल शिफ्टर फिचरले ड्राइभ मोड सेलेक्सन गर्न सजिलो पनि बनाउने छ । सो कारमा १२.३ इन्चको अल्ट्रा एचडी सिनेम्याटिक टच स्क्रीन र १०.२ इन्चको अर्काे इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । जसलाई चाहेअनुसार कस्टमाइज पनि गर्न सकिन्छ । जसमा म्याप पनि हेर्न सकिन्छ । गाडीमा जडित जेबीएलको साउण्ड सिस्टम र ९ वटा स्पीकर सिस्टमले थ्रीडी साउण्ड सुन्न सकिन्छ । यो गाडीको सबैभन्दा महत्वपूर्ण फिचर भनेको ‘भेहिकल टु भेहिकल फिचर’ पनि हो । अर्काे गाडीलाई सो नेक्सन केथ्री ईभीले चार्ज गर्न सकिन्छ । जसका लागि बाइडीरेक्सनल चार्जिङ सपोर्ट गर्ने कार हुनु पर्दछ । सो गाडीमा भेहिकल टु लोड पनि छ । अर्थात गाडीलाई पावर बैंकको रूपमा प्रयोग गर्न पनि सकिन्छ । कुनै पनि विद्युतीय उपकरणहरू सो गाडीबाट चार्ज गर्न सकिन्छ । गाडीमा अगाडि ११.६ लिटरको फ्रङ्क र पछाडि ३.१५ लिटरको बुट स्पेस रहेको छ । यसैगरी, गाडीमा ३६० डिग्री क्यामेरा रहेकाले टर्निङ गर्दा, साँघुरो बाटोमा गाडी चलाउँदा सजिलो हुने जनाइएको छ । फ्रन्ड पार्किङ सेन्सरका साथै ईलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम रहेको छ । सो प्रोग्रामअन्तर्गत अन्य ११ वटा सुरक्षाका फिचरहरू रहेका छन् । यसका साथै ६ वटा एयर ब्याग सो गाडीमा रहेको खत्रीले जानकारी दिए । ९८ किलोवाटको मोटर रहेको सो गाडीमा ४५ किलोवाटको ब्याट्री रहेको छ । सो गाडी एक पटक चार्ज गरेपछि ३२५ किलोमिटर गुड्ने जनाइएको छ । ७.२ किलोवाटको चार्जर सो गाडीमा पाइन्छ । ६ घण्टा ३६ मिनेटमा उक्त गाडी फुल चार्ज हुन्छ । ६० किलोवाटको डीसी फाष्ट चार्जरले ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सो गाडीमा सीटी, ईको र स्पोटर्स गरी तीनवटा मोडहरू पाउन सकिन्छ । आफ्नो अनुकूलताअनुसार ती मोडहरू परिवर्तन गर्दै गाडी चलाउन सकिन्छ । गाडी ५ वटा रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजुबाबु श्रेष्ठले बुकिङ खुल्ला भएको बताए । यसका साथै हाललाई सो गाडीमा अफर रहेको पनि उनले जानकारी दिए । उनका अनुसार अफरको समयमा सो गाडी खरिद गर्ने ग्राहकले ७.२ किलोवाटको चार्जर फ्रिमा पाउनेछन् । सो चार्जरको मूल्य १ लाख ३५ हजार रहेको छ । गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

ओमोडा जेकोको बसुन्धारा शोरुम उद्घाटन गर्दै कुलमानले भने- नेपालमा ईभीको भविष्य राम्रो छ

काठमाडौं । ओमोडा एन्ड जेको कम्पनीको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा जेकोको बसुन्धारा शोरुम उद्घाटन गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शोरुम उद्घाटन गरेका हुन् । कार्यक्रममा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एबीटी मोटर्सको तर्फबाट प्रबन्ध निर्देशक सचिनकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । शोरुम उद्घाटनका क्रममा घिसिङले नेपालमा ईभीको भविष्य राम्रो भएको बताए । उनले भने, ‘नेपालमै उत्पादित विद्युत खपत हुन गई पेट्रोलियम पदार्थको आयात कम गर्न र व्यापार घाटा कम गराउन ईभीले ठूलो भूमिका खेलेको छ । प्रतिकिलोमिटर ईभीमा अधिकतम डेढदेखि दुई रुपैयाँसम्म पर्नेमा पेट्रोलियम गाडीमा यो १० देखि १५ पर्ने देखिएको छ । यसले गर्दा पनि ईभी नेपालका लागि राम्रो रहेको छ । यसकाे भविष्य राम्राे छ ।’ एसपीजी अटोमोबाइल्सका निर्देशक शारडाले छोटो समयमै नेपालमा ओमोडा जेको अत्यधिक रुचाइएको र ८०० भन्दा बढी युनिट बिक्री भइसकेको जानकारी दिए । एबीटी मोटर्सका श्रेष्ठले ओमोडा गाडीको आधिकारिक वितरक र ग्राहकबीच ईभीको बढ्दो मागलाई पूर्ति गर्न पाउँदा खुसी व्यक्त गरे। पूरानो गाडीको खरिदबिक्रीबाट सुरु भएको व्यवसाय आज यहाँसम्म आउँदा ग्राहकको साथ पाएकोमा कृतज्ञता पनि व्यक्त गरे । एबीटी मोटर्स एसपीजीको आधिकारिक डिलर हो ।