पन्च ईभीको मूल्य सार्वजनिक, कुन भेरियन्टको कति ?

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बहुप्रतिक्षित पन्च ईभी सार्वजनिकसँगै मूल्य पनि तोकेको छ । नाडा अटो शो २०२४ को उद्घाटनसँगै सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी सार्वजनिक र मूल्य तोकेको हो । पन्च ईभीको न्यूनतम मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, हाई भेरियन्टको मूल्य भने ३८ लाख ९९ हजार र मिडियम रेन्जको ३६ लाख ९९ हजार रूपैयाँ तोकिएकाे छ । पन्च ईभीको प्रि-बुकिङ भने केही सयम अगाडिबाट नै खुला भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा रहेको छ । भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल भित्रिएको हो । पन्च ईभी भारतमा मासिकरूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । उनका अनुसार यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको  छ । त्यस्तै, टाटा पन्च ईभीमा दुई वटा ब्याट्री विकल्प छन् । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । अहिले ३५ किलोवाट ब्याट्री क्षमताको गाडी नेपाल आएको उनले बताए । यस गाडीको मोटर पावर ९० किलोवाटको रहेको छ भने डाएमेन्सन ३.८ मिटर लम्बाइ रहेको छ । त्यस्तै, फुल चार्ज रेन्ज ४२१ किलोमिटर, चार्जिङ टाइम ५६ मिनेटमा फुल र टर्क पावर १९० एनएम रहेको उनले बताएका छन् । हाल ५ कलरमा यो गाडी सार्वजनिक गर्ने भएको छ । पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको सिजापतिले बताएका छन् । पन्च ईभीले नेपालमा टाटालाई नम्बर वान बनाइराख्न मद्दत गर्ने उनको भनाइ छ ।

नाडा अटो शोमा सार्वजनिक भयाे जोइलोङ्ग तथा एसआरएमका ८ मोडल, मूल्य ३६ देखि ७६ लाखसम्म

काठमाडौं । भीजी मोटर्स कम्पनीले नाडा अटो शोलाई मध्यनजर गरी प्रख्यात चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरूलाई नेपाली बजारमा प्रवेश गराएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरूले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरूका माग पूरा गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । जोइलोङ्ग तथा एसआरएम चीनको सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रूपमा चिनिन्छ । हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लर उद्योगबाट उत्पादन भएका हुँदा कालान्तरमा उपभोक्ताले बिक्री पश्चातको सर्भिस तथा पार्ट पुर्जा उपलब्धतामा दुःख पाउने सम्भावना अत्यधिक रहेको र यस सम्भावनालाई मध्यनजर गरी भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा विश्वस्तरीय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनी जोइलोङ्ग तथा एसआरएमका गाडी नेपालमा भित्रयाएको कम्पनीले जनाएको छ । यसले कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्ष सम्म यी कम्पनीहरूले राम्रो सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्ने कम्पनीको भनाइ छ । जोइलोङ्ग कम्पनीका ठूला १५/१७/२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक श्री ज्याङ्गले भने, ‘जोइलोङ्गका ठूला माइक्रोबसहरू वर्षौंदेखि अध्ययन र अनुसन्धान तथा परिक्षण गरि डिजाइन गरिएको हुन्छ ।’ जस्तोसुकै बाटोमा चलाउन सकिने गरि यी गाडीहरू डिजाइन गरिएको कम्पनीको भनाइ छ । हाल जोइलोङ्गका गाडीहरू विकसित मुलुकहरू अस्ट्रेलिया, सिंगापुर, मलेसियाजस्ता देशमा अत्याधिक रूचाइएका हुन् । बजारमा उपलब्ध अन्य गाडीहरूभन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठूलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेको महाप्रबन्धक ज्याङ्गले बताए । उक्त पत्रकार सम्मेलनमा भीजी मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरी ५ वटा विभिन्न प्रकारका गाडीहरू पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरूमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ । हाल नेपाली बजारमा प्रयोग भइरहेका प्रदुषण गर्ने डिजेल गाडीहरूलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक लि ग्वाले भने, ‘साना कमर्सियल र विद्युतीय कमर्सियल गाडीहरू सबै बाहिरबाट हेर्दा उस्तै देखिए पनि एसआरएम कम्पनी बाट उत्पादन गरिने गाडीहरू सबैभन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबिएसजस्ता सुरक्षाका उपकरणहरू जडान गरेर पठाउने गरेको छ ।’ भीजी मोटर्सका सीइओ विवेक बिजुक्छेले भने, ‘कमर्सियल इलेक्ट्रिक गाडीहरूको बजारको कुरा गर्ने हो भने हाल नेपालले विश्वका सबै देशहरूलाई पछाडि पारेको छ । यो ट्रेन्डलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनुपर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु भन्दा निजि क्षेत्रले आफैले चार्जिंङ स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा भीजी मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिंङ स्टेसन र नेपालभरि १८ वटा इलेक्ट्रिक गाडीहरूको सर्विस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।’ उनले सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नको लागि अनुरोध गरेका छन् । कार्यक्रममा विक्री सुरुवात गरिएको ओइलोङ्ग मोडलका विवरण निम्न प्रकारका छन् । जोइलोङ्ग इए ४, १५ सिटर (रु ६४ लाख, ८६ kwh) जोइलोङ्ग इए ५. १७ सिटर (रु ६० लाख, ६० kwh) जोइलीङ्ग  इए ६, २० सिटर (रु ७६ लाख, ८६ kwh) त्यसै गरी एसआरएमका मोडलका विवरण निम्न प्रकारका छन् । एसआरएम टी-३ पिकअप (रु ३६ लाख, ४२ kwh) एसआरएम २ सिटर कार्गो (रु ३८ लाख, ४२ kwh) एसआरएम ५ सिटर कार्गो (रु ४० लाख, ४२ kwh) एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ kwh) एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ kwh)

अर्थमन्त्रीले भने : अवैध व्यापार नगर्नू, व्यवसायीको गुनासो- सरकारको साथ मिलेन

काठमाडौं । नाडा अटो शोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अटो व्यवसायीहरूबीच सांकेतिक रूपमा आरोप प्रत्यारोप भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री पौडेल समक्ष व्यवसायीले सरकारको साथ नमिलेको बताएका हुन् । नाडा अध्यक्ष करण चौधरीले कार्यक्रमको सुरुमै अतिथिहरूलाई स्वागत गर्दै अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे । ‘हामी निकै पारदर्शी छौं, यो क्षेत्रमा एक खर्ब बढी लगानी छ, ठूलो मात्रामा राजस्व तिर्छौं तर सरकारले हामीलाई सहयोग गरेन,’ उनले गुनासो गर्दै भने । अध्यक्ष चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने र अवैध व्यापार रोक्नका लागि बोर्डर टाइट गर्नुपर्ने धारणा राखे । उनले अटो क्षेत्रमा नीगित स्थिरता पनि आवश्यक भएको धारणा राखे । हाइब्रिड र विद्युतीय सवारीसाधनहरूको प्रवद्र्धनका लागि सरकारको स्थिर नीति अपरिहार्य रहेको उनको भनाइ छ । यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रलाई सरकारले विलासी वस्तुको रूपमा परिभाषा गर्न नहुने धारणा राखे । अटो क्षेत्र महत्वपूर्ण र आवश्यक क्षेत्र हो, रोजगारी र राजस्वको क्षेत्रमा यो क्षेत्रले ठूलो योगदान गरेको छ, त्यसैले पनि यो क्षेत्रलाई विलासिका रूपमा हेर्नु हुँदैन,’ उनले भने, ‘बरु सरकारले प्राथमिकतामा राख्द्यनुपर्छ ।’ यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि सरकारले अटो क्षेत्रलाई हेर्ने नजर परिवर्तन गर्नुपर्ने बताए । अर्थतन्त्रमा देखिएको सुस्सताको कारण अटो क्षेत्र पनि त्यसको प्रत्यक्ष प्रभावमा परेको बताउँदै अब सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने धारणा राखे । ‘मौद्रिक नीतिले केही सहज भएको देखिन्छ, त्यसैले पनि यो अवस्थामा यस्तो किसिमको अटो शो आयोजना गर्ने आँट गरिएको हो, सरकारले थप सहजीकरण गर्न आवश्यक छ,’ उनले भने । यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले अटो क्षेत्रका लागि पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने बताए । उनले अटोमोबाइल क्षेत्रमा लगाइने करको दर धेरै भएकोले त्यसलाई करेक्सन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ । अर्थमन्त्रीले भने : अवैध बाटो नअँगाल्नूस् कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका अर्थमन्त्री पौडेलले व्यवसायीका कुरा सुन्दै सरकार सबै समस्याहरूमा सहजीकरण गर्न तयार रहेको बताएका छन् । उनले अटो क्षेत्रले रोजगारी सिर्जना र राजस्वमा ठूलो योगदान गरेको भएपनि केही व्यवसायी अवैध व्यापारमा लागेको दाबी गरे । ‘अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारी सिर्जनामा पु¥याएको योगदानको सरकारले प्रशंसा गर्छ । तर, अवैध गतिविधिमा व्यवसायीले लाग्नु हुँदैन,’ उनले भने । अध्यक्ष चौधरीको मागको सम्बोधन गर्दै उनले सरकारले अटो क्षेत्रमा स्थिर नीति अगाडि सार्ने बताए । उनले वर्तमान सरकार पनि स्थिर रहेकोले अटो क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा स्थिरता कायम गर्न सरकार तयार रहेको धारणा राखे । उनले विद्युतीय सवारी साधनका लागि नीतिग स्थिरता र पूर्वाधार निर्माणमा सरकारले विशेष चासो दिएको पनि बताए । आजदेखि सुरु भएको नाडा अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । यो प्रदर्शनीमा अधिकतम् २० अर्ब रुपैयाँसम्म कारोबार हुने नाडाको अपेक्षा छ । नाडा अटो शोमा ७५ हजार मानिसले अवलोकन गर्न सकिने अनुमान छ ।