केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सम्पन्न

काठमाडौं । केटिएम नेपालले हालसालै  ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यही कार्तिक ०९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजित यो २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’ मा सहभागी हुने अवसर प्रदान गरेकाे थियाे । कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए । साथै अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो । दोस्रो दिन ‘हट ल्याप च्यालेन्ज’ आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले छ–छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो । ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटिएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ जसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनायो ।

चीनमा सम्पन्न भयो ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिटअन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौं महासचिव वान की-मुनले सहभागिता जनाएका थिए । सम्मेलनमा ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच ‘चेरिस नेचर’ नामक ग्लोबल कोअपरेसन प्रोजेक्ट (सहयोग परियोजना)मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो । सम्मेलनमा वान की-मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र (ग्लोबल न्यू इनर्जी सेक्टर)मा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीको योगदानप्रति प्रशंसा गरे । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो-कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे । सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङले पनि सहभागिता जनाएका थिए । आफ्नो ग्रुपभरिमा नै नयाँ ऊर्जाको क्षेत्रमा अग्रणी ब्रान्ड रहेको ओमोडा एन्ड जेइको, इएसजी इनिसिएटिभको अग्रपङ्क्तिमा रहेर विश्वव्यापी रणनीतिहरूमार्फत स्थानीय विकास(लोकल डेभलपमेन्ट) प्रवर्द्धन गर्दै प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन (इनोभेसन) गर्न प्रतिबद्ध रहेको छ । यसका साथै, ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई ‘उत्पादन-उन्मुख’ बाट ‘प्रविधि-उन्मुख’ तर्फ सफलतापूर्वक परिवर्तन गरेको छ । नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यक्तालाई प्राथमिकतामा राखी, नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली (ग्लोबल प्रोडक्ट सिस्टम) सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको छ । एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल्स लिमिटेडको आधिकारिक वितरक हो ।

ड्राइभ गर्दा कारको झ्याल खुल्ला राख्नुहुन्छ ? यस्ता छन् बेफाइदा, स्वास्थ्यमा पनि जोखिम

काठमाडौं । के तपाईं  गाडी चलाउँदा झ्यालको सिसा खोल्नुहुन्छ ? कार चलाउँदा मानिसहरू रहरले सिसा वा सनरुफ खोल्छन् तर के तपाईंलाई थाहा छ- त्यसो गर्नु घातक हुन सक्छ ? यदि तपाईंलाई थाहा छैन भने आज हामी तपाईंहरूलाई यसबारेमा संक्षिप्तरूपमा बताउन गइरहेका छाैं । यस्ताे बानीले तपाईंकाे कारको साथसाथै तपाईंको स्वास्थ्यका लागि पनि हानिकारक हुन सक्छ । कारकाे इन्धन खपतमा वृद्धि गाडी चलाउने क्रममा कारको झ्याल खोल्दा हावा कारभित्र आउँछ र एयर ड्र्याग बनाउँछ । यो एयर ड्र्याग कम गर्न कारले कडा मेहनत गर्नुपर्छ र यसले इन्धन खपत बढाउँछ । झ्याल खोलेर चलाउँदा एसीको तुलनामा १० प्रतिशतसम्म इन्धन खपत बढ्न सक्छ । झ्यालहरू खुला राख्नाले गाडीभित्र धुलो र फोहोर पनि जम्मा हुन्छ । प्रदूषणको खतरा जब तपाईं झ्याल तल राखेर कार चलाउनुहुन्छ तब तपाईं सिधै वायु प्रदूषणको सामना गर्नुहुन्छ । बाहिरी हावामा रहेको धुलोधुवाँ र हानिकारक ग्यासहरू तपाईंको शरीरमा प्रवेश गर्न सक्छन् । लामो समयसम्म प्रदूषित हावामा सास फेर्दा सास फेर्न समस्या, आँखा जलन र अन्य स्वास्थ्य समस्याहरू हुन सक्छन् । कारका झ्यालहरू खुला राख्नाले बाहिरी आवाज सिधै तपाईंको कानमा पुग्छ, जसले तपाईंको कानमा पनि क्षति पुर्‍याउन सक्छ । सुरक्षासँग सम्बन्धित खतराहरू पनि झ्यालहरू खुला राख्दा चोरहरू सजिलै कारभित्र घुस्न सक्छन् । साथै झ्यालको सिसा खुलै राख्दा कारभित्र लामखुट्टे र अन्य कीरा पस्न सक्छन्, जसले समस्या निम्त्याउन सक्छ । तपाईं कारको झ्याल कुनबेला खुला राख्न सक्नुहुन्छ ? छोटो दूरीमा यात्रा गर्दै हुनुहुन्छ भने झ्याल खोल्नु राम्रो हुन्छ । तर, काठमाडाैंदेखि भरतपुर अथवा पाेखरा जाँदै हुनुहुन्छ भने यस्तो गल्ती नगर्नूहोस्, किनकि प्रदूषण अत्यधिक छ । यदि तपाईं सफा हावा भएको क्षेत्रमा जाँदै हुनुहुन्छ भने तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ । यदि तपाईंको कारको एसी बिग्रिएको छ भने पनि तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ ।