शक्तिशाली टर्बो इन्जिनसहित स्कोडाको ‘काइल्याक’ नेपाली बजारमा, सुरुवाती मूल्य ४५ लाख ९० हजार

काठमाडौं । एमएडब्लु ग्रुपले स्कोडाको ‘काइल्याक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्समा मंगलबार एक कार्यक्रमको आयोजना गरी नयाँ गाडी सार्वजनिक गरिएको हो । १.० लिटरको शक्तिशाली टर्बो इन्जिन जडित काइल्याकलाई कम्पनीले पकेट रकेटको संज्ञा दिएको छ । यसले आफ्नो सेगमेन्टमै सबैभन्दा बढी ११५ बीएचपी पावर र १७८ एनएम टर्क पैदा गर्छ ।  लन्च कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवालले भने, ‘यो गाडीको अद्भूत क्षमता प्रदर्शन गर्न नै हामीले चन्द्रागिरी जस्तो उकालो र कठिन बाटो रोजेका हौं । यसको पावर र पर्फर्मेन्सले जो कोहीलाई आकर्षित गर्नेछ ।’ स्कोडा काइल्याकको सुरुवाती मूल्य ४५ लाख ९० हजार रुपैयाँ (म्यानुअल) र ५२ लाख ९० हजार रुपैयाँ (अटोमेटिक) तोकिएको छ । अग्रवालका अनुसार यो आफ्नो श्रेणीमा नेपालकै सबैभन्दा किफायती अटोमेटिक एसयूभी हो । उनले एमएडब्लुले विगत ६० वर्षदेखि नेपाली ग्राहकहरूको सेवा गरिरहेको र स्कोडासँगको १८ वर्ष लामो सहकार्यले विश्वासको नयाँ उचाइ छोएको बताए ।  ‘हाम्रो मुख्य मन्त्र ‘कस्टमराइजेसन’ हो । हामी जे गर्छौं, ग्राहकलाई केन्द्रमा राखेर गर्छौं,’ अग्रवालले भने । नेपालभर ५८० भन्दा बढी टचप्वाइन्टहरू मार्फत एमएडब्लुले विश्वस्तरीय सेवा दिइरहेको उनले जानकारी दिए । अग्रवालले सन् २०१२ को एउटा व्यक्तिगत घटना सुनाउँदै स्कोडाको सुरक्षा पक्षको प्रशंसा गरे । काठमाडौंबाट बर्दिया जाने क्रममा उनको परिवार सवार स्कोडा गाडी दुर्घटनामा परी ६ फिट गहिरो खाडलमा खसेको थियो । ‘विपरीत दिशाबाट आएको बसका कारण भएको त्यो भयानक दुर्घटनामा पनि स्कोडाको मजबुती र युरोपियन सेफ्टी स्ट्यान्डर्डका कारण मेरो परिवारका सबै सदस्य सुरक्षित रहे,’ उनले भावुक हुँदै भने । उनले स्कोडा केवल एउटा गाडी मात्र नभई सुरक्षाको पर्याय भएको दाबी गरे । धेरैमा स्कोडाका पार्टपुर्जाहरू महँगो हुन्छन् भन्ने भ्रम रहे तापनि काइल्याकको हकमा ९५ प्रतिशत पार्टपुर्जाहरू छिमेकी राष्ट्र भारतमै उत्पादन हुने भएकाले यसको मर्मत खर्च निकै सस्तो र सुलभ हुने कम्पनीले दाबी गरेको छ । युरोपियन सुरक्षा मापदण्ड र बलियो बिल्ड क्वालिटी यसको अर्को मुख्य विशेषता हो । कम्पनीका अनुसार स्कोडाका गाडीहरू आफ्नो मजबुती, टिकाउपन र उत्कृष्ट ड्राइभिङ अनुभवका लागि चिनिन्छन् ।  काइल्याकले पनि सोही विरासतलाई निरन्तरता दिँदै नेपाली ड्राइभरहरूलाई आत्मविश्वास र सुरक्षाको अनुभूति गराउने कम्पनीको विश्वास छ ।  १८ वर्षअघि स्कोडा र्यापिडबाट सुरु भएको यो यात्रा आज कुसाक र कोडाक हुँदै काइल्याकसम्म आइपुग्दा नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । अग्रवालले स्कोडा काइल्याकले नेपाली अटो बजारमा नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरे ।  अग्रवालले भने, ‘आज पनि लामो दूरी र कठिन बाटोका लागि मानिसहरू इन्धन गाडीमै बढी विश्वस्त छन् । हाल हाइवेमा गुड्ने ८५ प्रतिशत गाडीहरू अझै पनि इन्धनबाट चल्ने नै छन् ।’ उनका अनुसार युरोपियन प्रविधि, सस्तो मर्मत खर्च र शक्तिशाली इन्जिनका कारण स्कोडा काइल्याक नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्नेमा एमएडब्लु ग्रुप ढुक्क देखिएको छ ।  देशभर रहेका स्कोडा शोरुमहरूबाट यो गाडीको टेस्ट राइड र बुकिङ खुला गरिएको छ । कम्पनीका अनुसार यो गाडीलाई बजारमा ल्याउनुअघि नेपालका कठिन भौगोलिक क्षेत्रहरू मनाङ, ढोरपाटन र तिन्जुरेजस्ता ठाउँमा लगेर परीक्षण गरिएको थियो । कम्पनीका अनुसार स्कोडाको ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’ मा तयार गरिएको काइल्याकको लुक्सदेखि फिचर र सेफ्टीसम्म सबै पक्ष प्रभावशाली देखिन्छन् ।  एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक रोनक अग्रवालका अनुसार काइल्याकको अगाडिको भागमा एलइडी डे-टाइम रनिङ लाइटसहितको स्प्लीट हेडल्याम्प क्लस्टर र निकै स्लीम डिजाइनको ग्रिल प्रयोग गरिएको छ । बनेटमा दिइएका क्रिजहरूले यसलाई थप आक्रामक बनाएका छन् भने पछाडिको भागमा ‘टी’ आकारको एलइडी टेललाइट प्रयोग गरिएको छ, जसले यसलाई भीडमा पनि अलग पहिचान दिन्छ । अग्रवालका अनुसार काइल्याकको लम्बाइ ३९९५ एमएम छ । यसको २५६६ एमएम ह्वीलबेसले केबिनमा प्रशस्त स्पेस दिने अपेक्षा गरिएको छ । १८९ एमएम ग्राउण्ड क्लियरेन्स, १७ इन्चका ह्वील, रुफ रेल र क्लाइडिङका कारण काइल्याकले साँचो एसयूभी लुक्स पाएको छ । खराब बाटोमा पनि सहज ड्राइभिङका लागि यो उचाइ पर्याप्त रहेको अग्रवालको दाबी छ ।  काइल्याकको ड्यासबोर्ड स्कोडा कुशकसँग मिल्दोजुल्दो छ । ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १० इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, टु-स्पोक स्टेरिङ ह्वील, एसी भेन्ट र क्लाइमेट कन्ट्रोल प्यानलले यसलाई प्रिमियम अनुभूति दिन्छ । टप भेरियन्टमा स्कोडाले सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट र लेदरेट सिट जस्ता फिचर दिएको छ । सेफ्टीका मामिलामा पनि काइल्याक मजबुत देखिएको छ । भारत एनक्याप क्र्यास टेस्टमा यसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसमा ६ एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल र इलेक्ट्रोनिक डिफ्रेन्सियल लकजस्ता अत्याधुनिक सेफ्टी फिचर उपलब्ध छन् । काइल्याकमा फक्सवागेन ग्रुपको १.० लिटर टीएसआई थ्री-सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यही इन्जिन कुशकमा पनि प्रयोग हुँदै आएको छ, जसले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्स विकल्प उपलब्ध छन् । स्कोडा काइल्याकले केवल १०.५ सेकेण्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने क्षमता छ । आधुनिक डिजाइन, प्रिमियम फिचर, उच्च सेफ्टी र दमदार इन्जिनका कारण स्कोडा काइल्याकले सब-कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।  

नेपालमा साना गाडीको कथा बदल्ने ह्युन्डाई स्यान्ट्रो

काठमाडौं । नेपाली साना गाडीको बजारमा नयाँ पहिचान स्थापित गर्न सफल ह्युन्डाई स्यान्ट्रोले २५ वर्षे यात्रा पूरा गरेको छ । सन् १९९९ मा ह्युन्डाई इन्डियाले पहिलो मोडेलका रूपमा सार्वजनिक गरेको स्यान्ट्रो नेपालमा प्रवेश गर्दा साना गाडीको बजारमा जापानी ब्रान्डहरूको प्रभुत्व रहेको थियो । स्यान्ट्रो नेपालमा प्रवेश गरेसँगै भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास विस्तारै विकास हुँदै थियो । दैनिक प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको आरामदायी स्यान्ट्रो सुरुदेखि नै फरक पहिचान बनाउन सफल भयो । नेपाल ह्युन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजार बनेसँगै यो मोडेल ह्युन्डाई र नेपाल दुवैका लागि गर्वको विषय बनेको थियो । स्यान्ट्रोले नेपाली ग्राहकहरूको ह्याचब्याकप्रतिको धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सानो गाडी पनि भरपर्दो, आकर्षक, मर्मतमा सजिलो तथा नेपाली सडक र पारिवारिक आवश्यकताअनुसार उपयुक्त हुन सक्छ भन्ने सन्देश स्यान्ट्रोले दिएको थियो । समयसँगै स्यान्ट्रो केवल एउटा सवारीसाधन मात्र नभई नेपाली परिवारहरूको विश्वासिलो साथीका रूपमा स्थापित भयो । स्यान्ट्रोबाट सुरु भएको यही भरोसाको आधारमा ह्युन्डाईले नेपालमा आफ्नो बजार विस्तार गर्दै आएको छ । आज स्यान्ट्रोको २५ वर्ष पूरा भएको अवसरमा ह्युन्डाईले एक प्रतिष्ठित मोडेल मात्र होइन, त्यसबाट सुरु भएको विश्वासको विरासतलाई समेत सम्मान गरिरहेको जनाएको छ । यस विशेष अवसरमा ह्युन्डाई इन्डिया र ह्युन्डाई नेपालको सहकार्यमा सन् २००० मोडेल वर्षका ह्युन्डाई स्यान्ट्रो प्रयोगकर्ताहरूलाई ह्युन्डाई नेपालसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । छनोटमा परेका ग्राहकहरूले ह्युन्डाईद्वारा तयार गरिएको विशेष सरप्राइजको अनुभव गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

इटहरीमा बतास एमएडब्लूको बिक्री, सेवा तथा स्पेयर पार्ट्स केन्द्र सञ्चालनमा

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रालिले सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर बिक्री, सेवा तथा स्पेयर पार्ट्स केन्द्र सञ्चालनमा ल्याउँदै पूर्वी नेपालमा भोल्भो–आइशर सञ्जाल विस्तार गरेको छ । गत माघ २१ गते सम्पन्न उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बतास तथा भिई कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष अमन अरोरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिँदै एमएडब्लू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिकले नयाँ केन्द्रले ग्राहकलाई विश्वस्तरीय सेवा र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे । नव उद्घाटित केन्द्र दक्ष प्राविधिक, आधुनिक परीक्षण उपकरण तथा पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स केन्द्रसहित सञ्चालनमा आएको छ । यसले छिटो सेवा प्रदान गर्दै सवारी साधनको अधिकतम सञ्चालन समय सुनिश्चित गर्ने बताइएको छ । रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापाले यस डिलरशिपले स्थानीय रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले ग्राहक–केन्द्रित सेवा प्रणाली, दक्ष जनशक्ति र उन्नत पूर्वाधारमा गरिएको लगानीले बदलिँदो बजार आवश्यकतालाई सम्बोधन गर्ने बताए । भिई कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष अमन अरोराले नेपालमा बलियो बिक्रीपछिको सेवा प्रदान गर्नु कम्पनीको प्राथमिकता रहेको बताए । कार्यक्रमको अन्त्य सवारी प्रदर्शनी, सरोकारवाला तथा ग्राहकहरूसँगको अन्तरक्रिया तथा सञ्जाल विस्तार कार्यक्रमसँगै सम्पन्न भएको थियो ।