पुरस्कार विजेता प्रोटोन ई.एमएएस-५ नेपालमा आउँदै

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ विकल्प थपिने भएको छ । जगदम्बा मोटर्सले विश्वस्तरीय पुरस्कार प्राप्त कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन ई.एमएएस–५ छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार पूर्ण रूपमा विद्युतीय यो एसयूभी आधुनिक प्रविधि, स्मार्ट फिचर र विश्वस्तरमा प्रमाणित गुणस्तरका साथ नेपाली ग्राहकका लागि ल्याउन लागिएको हो । बदलिँदो जीवनशैली र विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै विकसित गरिएको ई.एमएएस–५ ले सुरक्षित, सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रोटोनले विश्वका अग्रणी अटोमोबाइल समूहहरूमध्ये एक जिलीसँगको रणनीतिक सहकार्यमा यो मोडल विकास गरेको जनाएको छ । जिलीको अत्याधुनिक विद्युतीय प्रविधि र प्रोटोनको इन्जिनियरिङ क्षमताको संयोजनले गाडीलाई विश्व बजारमै प्रतिस्पर्धी बनाएको कम्पनीको दाबी छ । प्रोटोन ई.एमएएस–५ ले हालै मलेसियाको प्रतिष्ठित एलायन्स डीएसएफ भेहिकल अफ द इयर अवार्ड–२०२६ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि जितिसकेको छ । आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी फिचर र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । ई.एमएएस–५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा समावेश गरिएको छ । यसमा अगाडि ७० लिटर क्षमताको फ्रङ्क (फ्रन्ट स्टोरेज), सिटमुनि २८ लिटर क्षमताको स्टोरेज र सेन्टर कन्सोलमुनि २० लिटर क्षमताको स्टोरेज रहेको छ । कम्पनीका अनुसार यी सुविधाले दैनिक प्रयोगका सामग्री व्यवस्थित राख्न र गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सहयोग गर्नेछ । जगदम्बा मोटर्सले प्रोटोन ई.एमएएस–५ ले नेपाली ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, व्यवहारिकता र उत्कृष्ट मूल्य–प्रतिफल उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार विश्वस्तरीय पुरस्कार प्राप्त यो विद्युतीय एसयूभी छिट्टै नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ गाडी लन्च हुने, ५१ वटा स्टल बुक

काठमाडौं । सवारीसाधनका सौखिन र खरिदकर्ताहरूका लागि प्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको तयारी र यसका मुख्य आकर्षणहरूबारे विस्तृत जानकारी दिएको हो । नाइमाका अनुसार ६ दिनसम्म चल्ने यस वृहत् प्रदर्शनीमा ५३ भन्दा बढी अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डहरूको सहभागिता रहनेछ । अटोमोबाइल क्षेत्रको यो महाकुम्भमा ४० भन्दा बढी नयाँ सवारीसाधनहरू (दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक, विद्युतीय र हाइब्रिड) नेपाली बजारमा पहिलो पटक सार्वजनिक (लन्च) गरिने नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । वैद्यले भनिन्, ‘एक वर्षअघि २१ वटा सदस्य कम्पनीबाट सुरु भएको नाइमामा अहिले ३६ वटा कम्पनीहरू आबद्ध भइसकेका छन् । यसले नेपालको अटोमोबाइल क्षेत्रमा बढ्दै गरेको विश्वासलाई झल्काउँछ ।’ टिकट आम्दानीको १० प्रतिशत अनुसन्धानमा खर्च गरिने नाइमाले घोषणा गरेको छ । एक्स्पोबाट संकलित टिकट बिक्रीको कुल रकममध्ये १० प्रतिशत अनुसन्धान फेलोसिपका लागि छुट्याइनेछ । यस रकमबाट मोबिलिटी क्षेत्रमा गरिने अनुसन्धानका प्रतिवेदनहरूलाई नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिनेछ । जसले नेपालको यातायात प्रणालीको विकास र तथ्याङ्क व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले नेपालको अटोमोबाइल क्षेत्रले भोगिरहेको नीतिगत र पूर्वाधारजन्य समस्याबारे पनि चर्चा गरिन् । पूर्वाधारले गर्दा प्रदर्शनीमा कठिनाइ हुने गरेको भन्दै नाइमाले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर निर्माणका लागि सरकारसँग माग गरेको छ । साथै सवारीसाधनमा लाग्ने उच्च कर घटाउन र खुकुलो मौद्रिक नीति (विशेषगरी ८०/२० को लोन रेसियो) का लागि सरकारका विभिन्न मन्त्रालयहरूसँग निरन्तर लबिङ गरिरहेको जानकारी बताएको छ ।  नाइमाले केवल व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिएको छ । नाइमाले १ हजार ६१० जना ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम दिइसकेको छ भने एक्स्पोको अवधिमा ‘मोबिलिटी संवाद’ जस्ता लर्निङ सेसनहरू सञ्चालन गरिनेछ । यसबाट विद्यार्थी, पेशेवर र आम उपभोक्ताले यातायात क्षेत्रको नयाँ प्रविधि र सडक सुरक्षाबारे जानकारी पाउनेछन् । नाइमाका अनुसार एक्स्पोका लागि ५१ वटा स्टलहरू छुट्याइएकामा पूर्ण रूपमा बुक भइसकेका छन् । माग अत्यधिक भएका कारण केही ब्रान्डहरूलाई स्थान अभावका कारण पाइपलाइनमा राख्नुपरेको छ ।  यस वर्ष पनि विद्युती सवारीसाधन (ईभी) को विशेष आकर्षण रहने बताइएको छ । नाइमाका अनुसार एक्स्पोमा प्रख्यात फोर-ह्विलर ब्रान्डहरू जस्तै टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलका साथै ओमोडा, जेइकु, आयन, र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछ । दुई पाङ्ग्रेतर्फ पनि इलेक्ट्रिक स्कुटर र बाइकहरूको ठूलो उपस्थिति रहनेछ । प्युजो, एनआईयु, याडिया, एसर र ग्यारो जस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फ जस्ता स्थापित ब्रान्डहरूले पनि आफ्ना नयाँ उत्पादनहरू मेलामा राख्ने नाइमाले जनाएको छ ।  २१ सदस्यबाट सुरु भएको नाइमामा हाल ३६ वटा सदस्य कम्पनीहरू आबद्ध भइसकेका छन् । ‘सबैका लागि मोबिलिटी’ भन्ने मूल नाराका साथ आयोजना हुने यस एक्स्पोले नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास आयोजकले लिएको छ । एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ भने पावर्ड बाई पार्टनरको रूपमा रेड बुल नेपाल जोडिएको छ । टिकेटिङ पार्टनरको रूपमा आईएमई पे रहेको छ । एक्स्पोको टिकट दर विद्यार्थीका लागि १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको छ ।