चैत १२ देखि देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभलको आयोजना हुँदै

काठमाडौं । एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ ।  आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टीजस्ता सुविधा प्राप्त गर्नेछन् ।  काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिने जनाइएको छ ।  उपत्यका बाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित शोरुमहरूमा आयोजना हुनेछ । कार्यक्रममा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरूजस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने जनाइएको छ । 

नाडामा कस्तो रह्यो करण चौधरीको कार्यकाल ?

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) मा करणकुमार चौधरीको कार्यकाल औपचारिक रूपमा सम्पन्न भएको छ । यो दुई वर्षको कार्यकाल नेपालको अटोमोबाइल इतिहासमा स्मरणीय रहने अटो व्यवसायीहरू बताउँछन् ।  करणको कार्यकालमा भएको संस्थाको ऐतिहासिक फुट अर्थात् विभाजनले करणले राम्रा गरेका काम पनि छायाँमा परेका छन् । उनकै कार्यकालमा विद्युतीय सवारी (ईभी)को प्रयोगमा क्रान्ति नै भएको छ ।  करण चौधरीको कार्यकालमा नाडाले आफूलाई केवल एउटा व्यापारिक संस्थामा मात्र सीमित नराखी नीतिगत बहसको केन्द्रमा उभ्याउन सफल भए पनि त्यो विषय उनै करणको कारण छायामा पर्‍यो ।  उनकै नेतृत्वमा नाडाले नेपाललाई क्षेत्रीयस्तरमै उदीयमान ईभी बजारका रूपमा स्थापित गर्न भूमिका खेल्यो । नीतिगत तहमा भएका पहलले विद्युतीय सवारीको पूर्वाधार र प्रविधिमैत्री वातावरण निर्माणमा टेवा पुर्‍यायो । नाडाको प्रशासनिक संरचनालाई आधुनिक र प्रभावकारी बनाउँदै सदस्यहरूसँगको समन्वयलाई डिजिटल प्रविधिसँग जोड्ने प्रयास भयो । राजस्व नीति र वातावरणीय मापदण्डका जटिलताहरूका बीच नाडाले सरकारसँग निरन्तर पैरवी गर्दै अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्ने प्रयास पनि गर्‍यो ।   अटो क्षेत्र तीव्र परिवर्तनको चरणमा रहेको बेला नाडाको नेतृत्व सम्हालेका चौधरीले आफ्नो कार्यकाललाई संस्थागत सुदृढीकरण, नीतिगत संवाद र नवप्रवर्तन प्रवर्द्धनमा मा केन्द्रित गर्दै सफलतापूर्वक सम्पन्न गरेको दाबी गरे ।   करणका अनुसार नाडाले संगठनात्मक क्षमतामा उल्लेखनीय सुधार गर्दै सदस्यहरूसँगको समन्वय र सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाएको छ । यसले नाडालाई अटोमोबाइल उद्योगको विश्वसनीय र प्रतिनिधिमूलक संस्थाका रूपमा थप स्थापित गरेको छ । आफ्नो कार्यकालभर करणले उद्योग र सरकारबीच सशक्त संवादलाई प्राथमिकता दिएको दाबी गरे । राजस्व नीति, वातावरणीय मापदण्ड तथा अन्तर्राष्ट्रिय व्यापारका जटिलताबीच उद्योगका मुद्दाहरूलाई स्पष्ट र रचनात्मक रूपमा प्रस्तुत गर्दै सन्तुलित नीतिगत वातावरण निर्माणमा योगदान पुर्‍याइएको उनको भनाइ छ ।  छोटो अवधिमै ईभी प्रयोगमा आएको वृद्धि नेपाललाई क्षेत्रीय स्तरमा उदीयमान बजारका रूपमा स्थापित गर्न सफल भएको उनी बताउँछन् । अटोमोबाइल उद्योगभित्रका विभिन्न सरोकारवालाहरू उत्पादक, वितरक, वित्तीय संस्था तथा सेवा प्रदायकहरूबीच सहकार्य सुदृढ बनाउने प्रयास पनि भएको उनले बताए । जसले उद्योगको सामूहिक आवाजलाई अझ बलियो बनाएको उनको बुझाइ छ ।  करणले भने, ‘नेतृत्व पद अस्थायी भए पनि यसको महत्त्व संस्थालाई बलियो बनाउने र उद्योगको दीर्घकालीन विकासमा योगदान दिने क्षमतामा निर्भर हुन्छ ।’ दुःखद नजीरको बीजारोपण  नाडाको नेतृत्वमा बसेर करण चौधरीले जे जति काम गरेका छन्, तिनको प्रशंसाको साटो उनले आलोचना बढी महसुस गरे । नाडाभित्रको आन्तरिक कलह र फुटले चौधरीको कार्यकालमाथि ठूलो प्रश्नमात्रै उठेको छैन, समग्र अटो व्यवसायीको छाता संस्थाको रूपमा रहेको नाडाकै इतिहासमा एउटा दुःखदायी नजीरको बिजारोपणसमेत भएको छ ।  लामो समयदेखि एक भएर हातेमालो गर्दै आएका अटो व्यवसायीहरू करणकै कार्यकालमा विभाजित हुन पुगे । जसलाई नाडाकै पूर्वअध्यक्षहरू र समग्र अटो व्यवसायीहरू सम्झिन पनि चाहँदैनन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले करण चौधरीमाथि विश्वासघात र अधिनायकवादको गम्भीर आरोप लगाए । थापाका अनुसार नाडालाई निर्विरोध लैजाने उद्देश्यले करण चौधरी र आकाश गोल्छाबीच आलोपालो नेतृत्व गर्ने जुन लिखित सहमति भएको थियो, नेतृत्वमा पुगेपछि चौधरीले त्यसलाई लत्याइदिए । ‘आकाश गोल्छाजी मेरो प्यानलको हुनुहुन्थ्यो । तर, संस्थाको हितका लागि मैले नै पहल गरेर यो पटक करणजीलाई अध्यक्ष स्वीकार्ने र अर्को पटक आकाशलाई दिने सहमति गराएको थिएँ,’ थापाले भने, ‘तर नेतृत्वमा पुगेपछि चौधरीजीले लिखित सम्झौताको धज्जी उडाउनुभयो र ठूलो विश्वासघात गर्नुभयो ।’ अध्यक्ष करण चौधरीले पदाधिकारी चयन, सदस्य मनोनयन र समिति गठनमा एकलौटी गरेको र पूर्वसहमति पालना नगरेकै कारण नाडाभित्र विद्रोह सुरु भएको थापाको बुझाइ छ । त्यही विवादका कारण नेपाल अटोमोबाइल इम्पोटर्स एशोसिएशन (नाइमा) गठन भएको र नाडा विभाजित भएको उनले बताए ।  थापाका अनुसार अध्यक्ष करणले पदाधिकारी चयन र समिति गठनमा एकलौटी गरेको भन्दै प्रमुख आयातकर्ताहरूले नाडाबाट अलग्गिएर नेपाल अटोमोबाइल इम्पोटर्स एशोसिएशन (नाइमा) गठन गरे । जसका कारण नाडा अहिले दुई विभाजित भएको छ । ‘नाडा अहिले पूर्णतः विभाजित छ, यो अवस्थामा पुग्नुको मुख्य कारक नै उहाँ हो,’ उनले भने ।  पूर्वअध्यक्ष थापाले करण चौधरीको कार्यकाललाई नाडाको इतिहासकै सबैभन्दा खराब कार्यकालको संज्ञा दिए । उनले भने, ‘जसको कार्यकालमा संस्था विभाजित हुन्छ, त्यो नेतृत्व पूर्ण रूपमा असफल हो । नाडाको जुन उचाइ र सम्मान थियो, त्यो सबै गुमेको छ ।’ उनले नाडाको पछिल्लो साधारणसभा र अधिवेशन पनि विधानसम्मत नभएको टिप्पणी गरे । ‘अधिवेशनमा एकजना पनि पूर्वअध्यक्ष सहभागी नहुनुले नै संस्था कति संकटमा छ भन्ने पुष्टि गर्छ । पूर्वअध्यक्ष नपाएर पुराना महासचिवलाई अतिथि बनाउनुपर्ने अवस्था आउनु लज्जास्पद हो,’ थापाले थपे ।  प्रमुख आयातकर्ताहरूले नाडा बहिष्कार गरेर नयाँ संस्था नाइमा बनाएपछि अब नाडाको हैसियत डिलर र पार्टस् एशोसिएसन जस्तो मात्रै भएको थापाको विश्लेषण छ ।  उनले भने, ‘ठुला आयातकर्ताहरू कोही पनि नाडामा छैनन्, अब यो संस्था पहिलाको जस्तो प्रभावशाली रहेन ।’ अदालतमा मुद्दा विचाराधीन रहेको र आकाश गोल्छाको टिमले नाडाका गतिविधि बहिष्कार गरिरहेको अवस्थामा नाडाको भविष्य नै संकटमा परेको थापाले बताए ।  यसैगरी, पूर्वअध्यक्ष कृष्ण दुलालले पनि चौधरीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । उनले भने, ‘हामीलाई कुनै पनि कार्यक्रममा सहभागी गराइएन, जसका कारण हामी टाढिन बाध्य भयौं । अबको नयाँ नेतृत्वले यो फुटेको मन र संस्थालाई जोड्नुपर्ने ठूलो चुनौती छ ।’ असन्तुष्ट पक्षले भने उच्च अदालत पाटनले खारेज गरेको रिट पुनरावेदन गरेर सर्वोच्च अदालत जाने बताएको छ । करण चौधरीको बहिर्गमनसँगै सुरेन्द्र उप्रेतीले नाडाको कमाण्ड सम्हालेका छन् । उनले विभाजित संस्था र अदालतमा विचाराधीन मुद्दाहरूलाई अब कसरी अगाडि बढाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।  एकातिर नयाँ सरकारसँग समन्वय गरेर थला परेको अटोमोबाइल बजारलाई चलायमान बनाउनुपर्नेछ भने अर्कोतिर नाडा छोडेर नाइमातिर लागेका प्रभावशाली आयातकर्ताहरूलाई पुनः विश्वासमा लिएर संस्थालाई एकताबद्ध बनाएर चलायमान बनाउनेपर्ने जिम्मेवारीमा उप्रेती छन् । 

‘मेड इन नेपाल’ हुण्डाई कारः स्वदेशी औद्योगिकीकरणको नयाँ अध्यायको दिशामा

काठमाडौं । नेपालमा ‘मेड इन नेपाल’ अवधारणालाई व्यवहारमा उतार्दै नवलपरासीमा स्थापना गरिएको हुण्डाई एसेम्बली प्लान्टले देशको औद्योगिकीकरण यात्रामा महत्त्वपूर्ण मोड ल्याएको छ । करिब दुई वर्षअघि सञ्चालनमा आएको उक्त प्लान्टले छोटो अवधिमै आर्थिक, प्राविधिक र पेशागत क्षेत्रमा सकारात्मक प्रभाव देखाउन थालेको छ ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले हालसम्म करिब दुई हजारभन्दा बढी हुण्डाई गाडी नेपाली इञ्जिनियर र प्राविधिकहरूको सक्रिय सहभागितामा उत्पादन भइसकेको जानकारी दिए । उनका अनुसार यो उपलब्धि केवल उत्पादनको हिसाबले मात्र महत्त्वपूर्ण नभई नेपाली जनशक्तिको क्षमता, दक्षता र आत्मविश्वासको प्रमाण पनि हो ।  सन् २०२४ बाट औपचारिक उत्पादन सुरु गरेको यस उद्योगले अहिले ‘भेन्यू’ र ‘क्रेटा’ जस्ता लोकप्रिय मोडेलका गाडीहरू नेपालमै एसेम्बल गर्दै आएकाे छ । थपलियाका अनुसार हाल दैनिक ८ घण्टाको एउटै सिफ्टमा ८ वटा गाडी उत्पादन भइरहेका छन् ।  उद्योगको वार्षिक उत्पादन क्षमता ५ हजार युनिटसम्म रहेको कम्पनीका महाप्रबन्धक थपलियाले जानकारी दिए । उनले उत्पादन योजना, गुणस्तर सुनिश्चितता, उपकरण सञ्चालनदेखि अर्ध-रोबोटिक एसेम्बली प्रक्रियासम्मका काममा नेपाली प्राविधिकहरूले प्रत्यक्ष अनुभव हासिल गरिरहेको बताए । यसले नेपाली प्राविधिकहरूलाई आधुनिक औद्योगिक प्रणालीसँग परिचित गराउँदै भविष्यका ठूला औद्योगिक परियोजनाका लागि तयार बनाइरहेको उनको भनाइ छ ।  थपलियाका अनुसार यस पहलले कार उत्पादन मात्र होइन, औद्योगिक अनुशासन, प्रक्रियागत मानकीकरण र सूक्ष्म इञ्जिनियरिङ जस्ता पक्षहरूलाई पनि स्थानीय स्तरमै स्थापित गर्न मद्दत गरिरहेको छ । यस्तो अनुभवले दीर्घकालीन रूपमा नेपालको आफ्नै औद्योगिक क्षमता निर्माणका लागि महत्त्वपूर्ण आधार तयार गर्ने उनले बताए । थपलियाले स्थानीय प्रतिभामा आधारित यस्ता उद्योगहरूले अर्थतन्त्रका विभिन्न तहमा मूल्य अभिवृद्धि गर्दै आपूर्ति शृङ्खलालाई बलियो बनाउने र नेपाललाई क्रमशः आत्मनिर्भर औद्योगिक प्रणालीतर्फ लैजान सहयोग गर्ने उल्लेख गरे ।  उनका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरूको उपस्थितिले लगानीसँगै प्रविधि, व्यवस्थापन प्रणाली र औद्योगिक कार्यसंस्कृति पनि भित्र्याउँछ । जब नेपाली इञ्जिनियर र प्राविधिकहरूले यस्तो संरचित वातावरणमा काम गर्ने अवसर पाउँछन्, उनीहरूले उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण र औद्योगिक सञ्चालनका आधुनिक तरिका प्रत्यक्ष रूपमा सिक्ने मौका पाउँछन् ।  यसका साथै यस्ता उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने, प्राविधिक सीप विकास गर्ने तथा ढुवानी र सहायक सेवाजस्ता क्षेत्रलाई पनि सक्रिय बनाउने उनले बताए । यसबाट देशको समग्र आर्थिक गतिविधि विस्तार हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गरिएको छ ।  थपलियाले आगामी दिनमा सीप विकासलाई अझ गहिरो बनाउने, उत्पादन क्षमता विस्तार गर्ने र औद्योगिक उत्पादनको सटीकता सुधार गर्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनका अनुसार यस्तो मोडललाई निरन्तरता दिन सकिएमा नेपाल व्यापारमा आधारित अर्थतन्त्रबाट उत्पादनमुखी, सीप–आधारित र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम अर्थतन्त्रतर्फ अघि बढ्न सक्नेछ ।  उनले ‘मेड इन नेपाल’ हुण्डाई कार उत्पादनको पहलले नेपालमा औद्योगिकीकरण सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको र स्थानीय जनशक्ति, प्रविधि हस्तान्तरण तथा सीप विकासमार्फत देशको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।  सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुण्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात सुरु गरेको थियो । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको यो प्लान्टमा ५ हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरूको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीको छ । लक्ष्मी ग्रुपले आधुनिक पूर्वाधारसहित स्थापना गरेको यो उद्योग १० बिघा क्षेत्रफल (६८ हजार वर्ग मिटर) मा फैलिएको छ भने एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ । कुल २ अर्ब ६५ करोड लगानीमा स्थापना गरिएको यस परियोजनाले औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको लक्ष्मी ग्रुपले दाबी गरेको छ ।