प्रोटोन इ.मास ५ को बुकिङ खुला, अनुमान गरेको मूल्यमै गाडी किन्ने अवसर
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ । कम्पनीले आधिकारिक मूल्य सार्वजनिक हुनुअघि नै ग्राहकलाई आफूले अनुमान गरेको मूल्यमै गाडी खरिद गर्ने अवसर दिने विशेष योजना पनि ल्याएको छ । कम्पनीले ‘गेस एन्ड बुक द अल न्यू इ.मास ५ एट योर प्राइस’ अभियान सञ्चालन गर्दै ग्राहकलाई गाडीको मूल्य अनुमान गरेर सोही मूल्यमा बुकिङ गर्ने अवसर दिएको हो । लन्च मूल्य वा त्यससँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले कम्पनीको वेबसाइटमा गई आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत अनुमानित मूल्य दर्ता गर्न सक्नेछन् । ‘इ.मास ५ प्राइम’ भेरियन्टका लागि २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म र ‘प्रिमियम’ भेरियन्टका लागि ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्मको मूल्य दायरा तोकिएको छ । कम्पनीका अनुसार नियमअनुसार सहभागी भएकामध्येबाट लक्की ड्रमार्फत प्रत्येक भेरियन्टका पाँच–पाँच जना विजेता छनोट गरिनेछ। उनीहरूले आफूले अनुमान गरेको मूल्यमै गाडी खरिद गर्न पाउनेछन् । जगदम्बा मोटर्सले इ.मास ५ को बुकिङ रकम एक लाख रुपैयाँ निर्धारण गरेको छ । ग्राहकले बैंक वा अनलाइनमार्फत रकम भुक्तानी गरी आवश्यक कागजात बुझाएर वा कम्पनीको वेबसाइटमार्फत भौचर अपलोड गरेर बुकिङ गर्न सक्नेछन् । प्रोटोन र जिलीको सहकार्यमा विकास गरिएको इ.मास ५ ले हालै मलेसियामा आयोजित ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि जितेको थियो। कम्पनीका अनुसार यो नेपालमा आफ्नो सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हुनेछ । नेपालमा विद्युतीय सवारीको माग निरन्तर बढिरहेका बेला इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा ग्राहकका लागि आकर्षक विकल्प बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
युवा खेलाडीको प्रतिभा उजागर गर्दै ‘ह्युन्डाई नेक्स्ट जेन कप’ सम्पन्न
काठमाडौं । ह्युन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘ह्युन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगितामार्फत नेपाली फुटबलका युवा प्रतिभालाई अवसर प्रदान गर्दै ग्रासरुट फुटबल विकासमा योगदान पुर्याउने कम्पनीले जनाएको छ । ललितपुरको च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (यू–१६) को एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए । फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा रहेको ह्युन्डाईले ‘नेक्स्ट स्टार्ट्स नाउ’ अवधारणाअनुसार स्थानीय तहबाटै फुटबल प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक–५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० निओस र टिम पालिसेडबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा टिम भेन्यु विजेता बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित भयो । कम्पनीका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास बढाउने तथा खेलप्रतिको समर्पणलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको छ । साथै, एजी–१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको ग्रासरुट विकासलाई दीर्घकालीन रूपमा टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको कमी नभए पनि अवसरको अभाव रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई साकार पार्ने आत्मविश्वास प्रदान गर्ने बताए । ह्युन्डाई नेपालले युवा विकास, समुदायसँगको सहकार्य र ग्रासरुट खेलकुद प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
स्कोडाको नयाँ कुशाक एसयूभी बजारमा, सुरुवाती मूल्य ५७ लाख ९० हजार
काठमाडौं । एमएडब्लु वृद्धि ग्रुपले नेपाली बजारमा स्कोडाको नयाँ एसयूभी कुशाक सार्वजनिक गरेको छ । कम्पनीले १.५ लिटर टिएसआई इन्जिनसहित नयाँ भेरियन्टहरू ‘मोन्टे कार्लो’ र ‘स्पोर्टलाइन’ बजारमा ल्याएको हो । आइतबार (आज) स्कोडा कुशाकको नयाँ फेसलिफ्टसार्वजनिक गर्दै आजदेखि नेपाली बजारमा कुशाक खरिद गर्न सकिने एमएडब्लु वृद्धि ग्रुपका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले बताए । उनले स्कोडाको ऐतिहासिक पृष्ठभूमि र नेपालसँगको भावनात्मक सम्बन्धबारे चर्चा गरे । सन् १८९५ मा चेक गणतन्त्रबाट साइकल उत्पादनबाट सुरु भएको स्कोडाको यात्रा र नेपालजस्तै सानो तर आत्मसम्मानले भरिएको देशको पहिचानलाई उनले जोडेका थिए । उनले भने, ‘चेक गणतन्त्र र नेपाल दुवै ठूला महाद्वीपका साना तर गौरवशाली देश हुन्, जसले गर्दा स्कोडासँग हाम्रो विशेष निकटता छ ।’ अग्रवालका अनुसार कुशाक नेपालको सडक अवस्था र वातावरणलाई ध्यानमा राखेर स्कोडा २.० प्लेटफर्ममा डिजाइन गरिएको पहिलो गाडी हो । उनले यसअघि नै नेपालमा ६०० भन्दा बढी कुशाक बिक्री भइसकेको जानकारी दिँदै यो गाडी नेपाली ग्राहकको रोजाइमा परिसकेको दाबी गरे । युरोपेली प्रविधि, सुरक्षामा ५-स्टार ‘स्कोडाको मुख्य विशेषता भनेकै युरोपेली डीएनए हो, जसको अर्थ ड्राइभिङको वास्तविक आनन्द, उच्च सुरक्षा र पूर्ण आराम हो,’ अग्रवालले बताए । कुशाक युवा तथा बालबालिका दुवैको सुरक्षाका लागि ग्लोबल एनक्यापमा फाइभ स्टार रेटिङ पाउने नेपालकै पहिलो गाडीहरूमध्ये एक भएको उनले उल्लेख गरे । १.५ लिटर टिएसआई इन्जिनले कुशाकलाई अझ बढी शक्तिशाली बनाएको कम्पनीले जनाएको छ । यसमा विश्वकै उत्कृष्ट मानिने डीएसजी जडान गरिएको छ । अग्रवालले यस खण्डकै दुर्लभ मानिने ‘रियर मसाज’ सिटको सुविधा यस गाडीमा थपिएको जानकारी दिए । जसले यात्रुलाई विलासी अनुभव प्रदान गर्नेछ । यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव लिन चाहने ग्राहगहरुका लागि बनाइएको कम्पनीको भनाइ छ । स्कोडाको ९० वर्ष लामो रेसिङ इतिहासलाई सम्मान गर्दै ल्याइएको ‘मोन्टे कार्लो’ भेरियन्टले प्रिमियम र स्पोर्टी लुक चाहने ग्राहकलाई आकर्षित गर्ने उनले विश्वास व्यक्त गरे । कम्पनीले यसको सुरुवाती मूल्य ५७ लाख ९० हजार रहेको छ । अग्रवालले ग्राहकहरूलाई स्कोडाको नयाँ ड्राइभिङ अनुभव लिनका लागि टेस्ट ड्राइभमा सहभागी हुन आह्वानसमेत गरे । हालसम्म स्कोडाका २ हजार गाडी नेपाली सडकमा गुडिरहेको कम्पनीले जनाएको छ ।