काठमाडौं उपत्यकाको जाम हटाउन १८ मिटर लामो विद्युतीय बस ल्याइने

काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यका साथ शशिला मोटर्स प्रालिले १८ मिटर लामो ‘आर्टिकुलेटेड’ (दुईवटा बस जोडिएजस्तो देखिने) विद्युतीय बस भित्र्याउने तयारी सुरु गरेको छ । चीनको प्रसिद्ध ‘फेन्सर’ कम्पनीले उत्पादन गरेको यो बस नेपालको बढ्दो सहरी जाम र सार्वजनिक यातायातको समस्या समाधानका लागि कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । शशिला मोटर्सका सेल्स हेड सुरेन्द्र रोकायाका अनुसार यो बस हाल सञ्चालनमा रहेका बसभन्दा निकै ठूलो र सुविधायुक्त छ । १८ मिटर लम्बाइ भएको यो आर्टिकुलेटेड बसमा ६४ वटा आरामदायी सिटहरू रहनेछन् ।उभिएर यात्रा गर्ने यात्रुसहित यसले एकैपटक २२० जनासम्मलाई गन्तव्यमा पुर्‍याउन सक्छ । यस बसमा ८०० किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको छ । लो-फ्लोर डिजाइन भएकाले वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू सजिलै चढ्न र ओर्लन सक्छन् । झट्ट हेर्दा रेल जस्तै देखिने यो बस बीचमा लचकदार हुने भएकाले मोडहरूमा सजिलै घुम्न सक्छ । एडीबीको प्रतिवेदन र सरकारी योजनाको साथ एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सन् २०१४ मा तयार पारिएको ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ (केएसयूटीपी) को प्रतिवेदनले उपत्यकाका मुख्य (प्राथमिक) रुटहरूमा १२ देखि १८ मिटर लामा बसहरू चलाउन सुझाव दिएको छ ।  सोही सुझाव र हालै सरकारले बजेटमार्फत सार्वजनिक यातायात सुधारमा देखाएको चासोलाई मध्यनजर गर्दै शशिला मोटर्सले यो प्रक्रिया अगाडि बढाएको हो । शशिला मोटर्सका सेल्स हेड रोकाया भन्छन्, ‘हामी अहिले प्रोडक्ट प्लानिङ फेजमा छौं । यो बस तत्कालै ल्याएर सञ्चालन गरिहाल्ने भन्दा पनि आवश्यक पूर्वाधार र सरकारी तयारीलाई हेरिरहेका छौं । सरकारले रुट पर्मिट र डेडिकेटेड लेनको व्यवस्था गर्ने हो भने हामी यो बस ल्याउन पूर्ण रूपमा तयार छौं ।’ यद्यपि, यति ठूलो बस सञ्चालनका लागि केही चुनौतीहरू पनि छन् । १८ मिटर लामो गाडीका लागि पर्याप्त पार्किङ स्पेस, ८०० किलोवाटको ब्याट्री चार्ज गर्ने पूर्वाधार र उपयुक्त सडक कन्डिसन आवश्यक पर्छ । हाल यो बस उपत्यकाको चक्रपथ (एयरपोर्टदेखि कलंकीसम्म) सजिलै सञ्चालन गर्न सकिने बताइएको छ । यो बस निकै महँगो समेत छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य करिब ३ लाख अमेरिकी डलर रहेको छ । नेपाल ल्याउँदा भन्सार र अन्य करका कारण यसको लागत ६ करोड रुपैयाँभन्दा माथि पर्ने कम्पनीले जनाएको छ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ । एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोंगफेंग मोटर्सका दक्षिण एसिया क्षेत्रीय बिक्री निर्देशक हे जिसिन, क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुंग तथा प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा वर्कसप उद्घाटन गरेका हुन् । दिपल, नामी र सेरेस ब्रान्डका विद्युतीय सवारीसाधनका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त वर्कसपमा विश्वस्तरीय सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कसपमा ९ वटा ‘डेडिकेटेड सर्भिस बे’ रहेका छन् भने २४ जना प्रमाणित इभी प्राविधिकमार्फत दैनिक ३६ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिने व्यवस्था छ । साथै अत्याधुनिक इभी ब्याट्री डायग्नोस्टिक प्रणाली, स्पेयर पार्ट्स भण्डार, प्राविधिक तालिम कक्ष र ग्राहक प्रतिक्षालयसमेत रहेको छ । वर्कसपमार्फत काठमाडौं उपत्यकाभित्र ‘पिकअप एन्ड ड्रप’ सेवा, ‘फास्ट ट्रयाक सर्भिस’, २४ घण्टा सातै दिन ‘ब्रेकडाउन असिस्टेन्स’ तथा ‘डेडिकेटेड सर्भिस हटलाइन’ जस्ता सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो वर्कसपले ‘प्रतिबद्धता, विश्वास र उत्कृष्टता’को मूलमन्त्रलाई व्यवहारमा उतार्दै ग्राहकलाई प्रिमियम सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । 

विद्युतीय गाडीको मूल्य बढ्यो

काठमाडौं । सरकारले विद्युतीय गाडीमा लाग्दै आएको कर परिवर्तन गरेसँगै कम्पनीहरूले गाडीको मूल्य बढाएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले ईभीमा लागू गरेको नयाँ कर व्यवस्थाको प्रभाव बजारमा देखिन थालेको हो ।  बजेट सार्वजनिक भएको केही सातामै विभिन्न ब्रान्डका विद्युतीय गाडीको मूल्य वृद्धि भएको छ भने केही प्रिमियम मोडलको मूल्य एक करोड रुपैयाँभन्दा बढीले बढेको छ । बजारमा स्थापित बीवाईडी, हुण्डाई, टाटा, ओमोडा जेको जे दिपल, एमजी, जिलीलगायत ब्राण्डका विभिन्न सेग्मेन्टमा मूल्य बढेको छ ।  अटो व्यवसायीहरूले नयाँ कर संरचनाले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीलाई बढी प्रभावित गरेको जानकारी दिए । मूल्यका आधारमा कर निर्धारण गरिएकाले प्रिमियम सेग्मेन्टका ईभीको मूल्य बढेको हो ।  नेपालका लागि बीएमडब्लूको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लूका विद्युतीय एसयूभीको मूल्य बढेको जनाएको छ । कम्पनीका अनुसार बजेको सबैभन्दा धेरै असर बीएमडब्लू आईएक्स वानमा परेको छ । यसअघि १ करोड ९९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको उक्त मोडलको मूल्य एकैपटक १ करोड ३० लाख रुपैयाँले बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यसअघि मोटरको क्षमता (किलोवाट) का आधारमा कर लाग्दै आएकोमा अब मूल्यका आधारमा कर निर्धारण हुन थालेपछि बीएमडब्लूजस्ता प्रिमियम ब्रान्डका मोडलमा ठूलो मूल्यवृद्धि भएको हो ।  बजेटपछि विशेष गरी महँगा र उच्च क्षमताका गाडीहरूको मूल्य बढेको छ भने बजारमा ग्राहकहरूको उपस्थितिमा केही सुस्तता व्यवसायीहरूको भनाइ छ । दिपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिकी सेल्स प्रतिनिधि रितु भट्टराईले दिपलका लोकप्रिय मोडलहरूमा मूल्य वृद्धि भएको बताइन् ।  उनका अनुसार दिपल एस ०५ प्लसमा ४ लाख रुपैयाँ र एस ०५ म्याक्समा ३ लाख रुपैयाँले मूल्य बढेर क्रमशः ६३ लाख र ५८ लाख रुपैयाँ पुगेको छ । नयाँ आउने एस ०५ र एस ०७ मोडलहरूको मूल्य ९० लाख रुपैयाँ माथि पुग्न सक्ने आँकलन उनले गरेकी छन् ।  यस्तै, बिवाईडी गाडीका विभिन्न मोडलहरूको पनि मूल्य बढेको छ । बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिकी सेल्ड हेड सन्ध्या श्रेष्ठले एटो ३ को मूल्य २ लाख र एटो २ को मूल्य ३ लाख रुपैयाँले बढेको जानकारी दिइन् ।  उनका अनुसार हाल एटो ३ को मूल्य ६१ लाख ९९ हजार र एटो २ को ४८लाख ९९ हजार रुपैयाँ पुगेको छ । मूल्यवृद्धिका कारण शोरुमहरूमा ग्राहकको उपस्थिति केही पातलिएको उनको अनुभव छ । उनले भनिन्, ‘विशेषगरी विद्युतीय गाडीमा करको भार बढेकाले अहिले धमाधम मूल्य समायोजन गर्नु परेको हो । अहिले ग्राहकहरुको भीड पहिलाजस्तो छैन ।’ यस्तै, ओमोडा जेको गाडीको अधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका मार्केटिङ हेड रूपेश श्रेष्ठले जेको जे ६ को मूल्य १ लाखले बढेर ६९ लाख ९९ हजार पुगेको बताए ।  त्यस्तै, आईकार भि २३ मा ३ लाख रुपैयाँले मूल्य वृद्धि भई ५४ लाख ९९ लाख पुगेको छ । ओमोडा ई ५ को हकमा भने कम्पनीले ५१ लाख ९९ लाखको एमआरपीमा छुट दिएर ४९ लाख ९९ हजार रुपैयाँको इन्ट्रोडक्टरी मूल्यमा उपलब्ध गराइरहेको छ ।  ५० देखि ६० लाखको सेग्मेन्टमा गाडीको माग अझै राम्रो रहेको उनले बताए । यसैगरी, टाटा मोटर्स नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी आधिकारिक बिक्रेता (सिईओ) राजनबाबुका अनुसार बजेटले इन्ट्री लेबल (सानो) गाडीहरूमा खासै असर पारेको छैन । तर महँगा गाडीहरूमा भन्सार ड्युटी बढ्दा मूल्यमा चाप परेको छ ।  उनले भने, ‘२० देखि ३० लाख सम्मका गाडीहरूको मूल्य स्थिर रहे पनि नयाँ मोडलहरूको मूल्य भने कम्पनीले अझै सार्वजनिक गरिसकेको छैन । टाटाले आगामी दिनमा नयाँ मोडलहरू भित्र्याउने तयारी गरिरहेको छ ।’ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले पनि ईभी सेग्मेन्टमा ३ देखि ४ लाख रुपैयाँसम्म मूल्य बढेको तर इन्धन गाडीको मूल्य यथावत रहेको बताए ।  बजेटमा कर घट्ने आशामा बसेका ग्राहकहरू कर बढेपछि केही निराश भएको र त्यसैमा मलमासजस्ता सांस्कृतिक कारणले गर्दा एक महिना बजार सुस्त रहेको उनको विश्लेषण छ । वार्षिक रूपमा १२ देखि १५ हजार गाडीको आयात हुने ट्रेन्ड भने अझै स्थिर रहेको उनले जानकारी दिए । यस्तै, जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले पनि आफ्ना ईभी मोडलको मूल्य समायोजन गरेको छ ।  कम्पनीले जिली ईएक्स फाइभ म्याक्सको मूल्य ३ लाख रुपैयाँ र प्रो भेरियन्टको मूल्य २ लाख रुपैयाँले बढाएको छ । नयाँ मूल्यसूचीअनुसार ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख रुपैयाँ तथा प्रो भेरियन्टको मूल्य ६२ लाख रुपैयाँ पुगेको छ । यसअघि ती मोडल क्रमशः ७० लाख र ५८ लाख रुपैयाँमा बिक्री हुँदै आएका थिए । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि आफ्ना विभिन्न मोडलमा मूल्यवृद्धि गरेको छ । कम्पनीले एमजी एस फाइभ लक्जरी भेरियन्टको मूल्य १ लाख रुपैयाँ तथा एमजी एस सिक्सको मूल्य २ लाख रुपैयाँले बढाएको छ । बजेटअघि ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एमजी एस सिक्स अब ७१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अटो व्यवसायीहरू मूल्य वृद्धिका बाबजुद मलमास सकिएसँगै बजारमा सोधपुछ र चहलपहल बढ्नेमा आशावादी देखिएका छन् । ससाना गाडीहरूको मूल्य स्थिर हुनु र चाडपर्वहरू नजिकिनुले अटो बजार पुनः लयमा फर्किने संकेत देखिएको व्यवसायीहरूको बुझाइ छ ।