पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने भएको छ । पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण विश्व बजारमै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य उच्चदरले बढिरहेको निगमले जनाएको छ । यसले आपूर्ति प्रणालीमा समेत समस्या सिर्जना गरेको बताइएको छ । निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । नयाँ समायोजनअनुसार तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) मा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ । त्यसैगरी, पहिलो वर्गका क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज आदि) मा पेट्रोल १६९.५० र डिजेल १४९.५० रुपैयाँमा उपलब्ध हुनेछ । दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १७१ र डिजेलको १५१ रुपैयाँ तोकिएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको वास्तविक मूल्यअनुसार समायोजन नगरेमा भारतलाई भुक्तानी गर्नुपर्ने बक्यौता बढ्ने र आपूर्ति प्रणाली नै प्रभावित हुन सक्ने अवस्था रहेको छ । विगतमा पनि मूल्य वृद्धि समायोजन गर्न नसक्दा निगमले ठूलो आर्थिक दायित्व व्यहोर्नुपरेको उल्लेख गरिएको छ । निगमले सार्वजनिक सवारीसाधन तथा ढुवानी क्षेत्रमा असर कम पार्न डिजेलको मूल्य वृद्धि अपेक्षाकृत कम राख्ने रणनीति अपनाइएको जनाएको छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य घटाइने प्रतिबद्धता व्यक्त गरिएको छ । मूल्य वृद्धि पश्चात पनि निगमलाई करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको लागत प्रतिसिलिण्डर २१६ रुपैयाँले बढेको भए पनि हाललाई यसको बिक्री मूल्यमा कुनै फेरबदल नगरिएको निगमको भनाइ छ । 

चीनमा फक्सवागनको पुनरागमन, सरकारी अनुदान घट्दा बीवाईडी चौथो स्थानमा खुम्चियो

काठमाडौं । चीनमा कार बिक्रीमा भक्सवागन फेरि शीर्ष स्थानमा पुगेको छ भने हरित (विद्युतीय) सवारीसाधनका लागि दिइने अनुदान घट्दै जाँदा बीवाईडी चौथो स्थानमा झरेको छ । विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा २०२६ का पहिलो दुई महिनामा फक्सवागनले फेरि कार बिक्रीमा अग्रता हासिल गरेको हो । सोही अवधिमा टोयोटाले पनि आफ्नो बजार हिस्सा केही पुनः बढाएको छ ।  दुवैले स्थानीय इलेक्ट्रिक गाडी निर्माता बीवाईडीलाई उछिन्दै अघि बढेका हुन्, जबकि वातावरणमैत्री सवारीका लागि दिइने सरकारी अनुदान क्रमशः घट्दै गएको छ । चीनका सरकारी कम्पनी एफएडब्ल्यू ग्रुप र एसएआईसी मोटरसँगको साझेदारीमार्फत फक्सवागनका संयुक्त उद्यमहरूले यात्रुवाहक सवारी बजारमा कुल १३.९ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसपछि जीलीको १३।८ प्रतिशत बजार हिस्सा रहेको छ भने टोयोटाका जीएसी ग्रुप र एफएडब्ल्यू ग्रुप‍सँगका संयुक्त उद्यमहरूको संयुक्त हिस्सा ७.८ प्रतिशत रहेको चीन प्यासेन्जर कार एसोसिएसनको तथ्यांकले देखाएको छ । स्थानीय इलेक्ट्रिक सवारी उत्पादकसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका पुराना (परम्परागत) अटो निर्माता कम्पनीहरूको बजारमा पुनरागमन यस्तो समयमा भएको हो, जब चीनमा इलेक्ट्रिक कार खरिदमा दिइने कर छुटको म्याद सकिँदै गएको छ र सरकारले ईभी साटासाट (ईभी ट्रेड) मा दिँदै आएको अनुदान पनि घटाउँदै लगेको छ । अनुदान घट्दै जाँदा टोयोटाले विशेष रूपमा उत्पादन गर्ने हाइब्रिड गाडीले केही उपभोक्तालाई प्लग-इन हाइब्रिड (पीएचईभी) गाडीबाट टाढा लैजान थालेको चीन प्यासेन्जर कार एसोसिएसनका महासचिव कुई डोङ्शुले बताएका छन् । सस्तो मूल्यका इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीमा निर्भर स्थानीय अटो निर्माता कम्पनीहरूलाई अनुदान कटौतीको सबैभन्दा ठूलो असर परेको छ । सन् २०२४ मा चीनमा कार बिक्रीका आधारमा फक्सवागनलाई पछि पार्दै सबैभन्दा ठूलो कार निर्माता बनेको बीवाईडीले गत वर्ष पनि शीर्ष स्थान जोगाएको थियो । तर २०२६ को जनवरी–फेब्रुअरी अवधिमा यसको बजार हिस्सा ७.१ प्रतिशतमा झर्दै चौथो स्थानमा पुगेको छ, जुन महामारीयता यसको कुल बिक्रीमा देखिएको सबैभन्दा ठूलो गिरावट हो ।

सुरेन्द्रकुमार उप्रेतीले सम्हाले नाडाको नेतृत्व

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । नाडाको नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गर्दै पद तथा गोपनीयताको सपथ लिएका छन् । फागुन २८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई विधिवत रूपमा पदभार हस्तान्तरण गरेका थिए । सो अवसरमा चौधरीले उप्रेतीलाई सफल कार्यकालको शुभकामना दिँदै नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । पदभार ग्रहणपछि अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य–मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले सदस्य व्यवसायीहरूको हकहित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् । मनोनित सदस्यहरूलाई स्वागत गर्दै उनले संस्थाका आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । त्यसैगरी, केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।