चार रुटमा गुड्दै छन् साझाका बस, थप दश वटा डिलक्स बस सञ्चालन गरिँदै

काठमाडौँ, २९ कात्तिक । साझा यातायातले उपत्यकाभित्र चार वटा बाटो (रुट)मा नयाँ बस गुडाउने भएको छ । साझाले भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत कात्तिक २४ गते बाटो अनुमति (रुट पर्मिट) का लागि पत्राचार गरेको थियो । सर्वसाधारण जनतालाई सुविधा दिन उपत्यकाका चार बाटामा ३० वटा नयाँ र हाल सञ्चालनमा रहेका आठवटा पुराना बसले सेवा दिने साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले भने – “अब, एक÷दुई दिनमै रुट पर्मिट पाउने विश्वास लिएका छौँ । पर्मिट पाएलगत्तै बस सञ्चालन गर्ने तयारीमा छौँ ।”    कार्यकारी अधिकृत पाण्डेका अनुसार उपत्यकाका प्रमुख गन्तव्यलाई समेटेर चारवटा रुटमा सेवा सञ्चालन गर्ने गरी रुट पर्मिट मागिएको छ । रुट नं १ मा लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुसी चोक हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी बस सञ्चालन हुनेछ । त्यस्तै, रुट नं २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगङ्गा, गौशाला, रातोपुल, जैनभवन, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क, सहिदगेट, नयाँसडक, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँबजार, बालाजु वाइपास हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी हुनेछ । रुट नं ३ अन्तर्गत कोटेश्वर, तीनकुने, मीनभवन, बानेश्वर, माइतीघर, सिंहदरबार, सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, रविभवन, कलङ्की, सीतापाइला हुँदै स्वयम्भूसम्म बस चल्नेछ । यी तीनवटै रुटमा नयाँ बस सञ्चालन हुने साझाले जानकारी दिएको छ । त्यसैगरी, रुट नं ४ मा ग्वार्को, सातदोबाटो, लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, नयाँसडक, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, सहिद गङ्गालाल, हात्तीगौडा हुँदै बूढानीलकण्ठसम्म दुईतर्फी आठवटा पुराना बस सञ्चालन गरिने छ । साझासँग हाल नयाँ ३० समेत गरी ४६ वटा बस छन् । अबको केही दिनभित्रै उपत्यकामा साझाका ३८ वटाले सेवा दिनेछन् । बाँकी आठवटाले उपत्यका बाहिरका चार गन्तव्यमा नियमित जस्तै सेवा दिनेछन् । थप दश वटा डिलक्स बस सञ्चालन गरिँदै साझा यातायातले आफ्नो सेवा विस्तार गरी गुणस्तरीय सेवा दिन लामो दूरीमा थप १० वटा डिलक्स बस सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै उपत्यकामा एक ‘सेमी डिलक्स’ नमुनाका रुपमा सञ्चालन गरिँदै छ । साझाले आफ्नै स्रोतबाट डिलक्स बस खरिद प्रक्रिया अघि बढाएको कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।  रासस

यातायात व्यवस्थाका थप कार्यालय, अनलाईनबाटै व्यवस्थित गर्ने निर्देशन पालन भएन

काठमाडौं २९, कात्तिक । यातायात व्यवस्था विभागका थप नयाँ कार्यालयहरू मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी साधनको दर्ता, नवीकरण र चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको चाप बढेर सेवाग्राहीले सास्ती भोग्नु परेपछि सरकारले तत्काल थप कार्यालय स्थापना गर्न दिएको निर्देशनअनुसार कार्यालय सञ्चालनमा ल्याउन लागिएको हो। थप तीन कार्यालय कलङ्की, चाबहिल र सल्लाघारीमा हुने छन् । यातायात व्यवस्था विभागका अनुसार उक्त तीन कार्यालयले पनि एकान्तकुनाको यातायात कार्यालयले जस्तै सवारी साधनसम्बन्धी सबै काम गर्ने छन् । कार्यालय स्थापनाका लागि बजेट र दरबन्दी स्वीकृत भइसकेको विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए। उनका अनुसार थप कार्यालयमा २६ देखि २८ जना कर्मचारी उपसचिवको नेतृत्वमा रहने छन् ।  गएको भदौ ६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई यातायात कार्यालय तत्काल थप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए। काठमाडौँमा दुई र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गर्न निर्देशन थियो । निर्देशनपछि १५ दिनभित्र थप कार्यालय सञ्चालनमा आउने बताइए पनि अहिलेसम्म कार्यालय सञ्चालनमा आउन सकेका छैनन् । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाका लागि स्कुल, कलेज वा घर भाडामा लिएर भए पनि एकैचोटि पाँच हजारसम्मको परीक्षा लिने व्यवस्था गर्न, नवीकरण, रुटपरमिट, कर लगायत कामलाई अनलाइनबाटै व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन थियो । तर, अहिलेसम्म यी कामहरू हुन सकिरहेका छैनन्। गोरखापत्र दैनिकबाट ।

बन्दले छोएन साझा यातायातलाई, आइतबार पनि बस सञ्चालनमा

काठमाडौँ ,२८ कात्तिक । उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्बाह नगरी आफ्नो सेवालाई आइतबार पनि निरन्तरता दिएको छ । बन्दमा सर्वसाधारणलाई सेवा पु¥याउन नियमित जस्तै ११ बसबाट सेवा दिइएको साझा यातायात प्रालिले जनाएको छ । साझाका उपत्यकाका सबै मार्गमा बस निर्बाध रुपमा सञ्चालन भइरहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए । नेकपा (माओवादी)ले खाद्य सुरक्षाको माग गर्दै आज बन्दको आह्वान गरेको छ । बन्दले कामकाजी सर्वसाधारण मर्कामा परेका छन् भने उपत्यकामा पातलो सङख्यामा सवारी साधन गुडिरहेका छन् । साझाले विगतका बन्द, हडताल, भूकम्प र नाकाबन्दीका बेला पनि निरन्तर सेवा दिँदै आइरहेको छ । उसले तीन सय ६५ दिनै सेवा दिने घोषणा गरेअनुरुप महत्वपूर्ण चाड दसैँ, तिहार, छठ लगायत बेला पनि सेवा दिने गरेको जनाएको छ । नयाँ बस सञ्चालनको तयारी साझा यातायातले उपत्यकामा थप सेवा विस्तार गर्नका लागि नयाँ ३०  बस सञ्चालन गर्ने तयारी गरेको छ । मार्ग इजाजतका लागि वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा निवेदन दिइएको र इजाजत पाउनेबित्तिकै सेवा सुरु गरिने कार्यकारी अधिकृत पाण्डेले बताए । उनका अनुसार साझाका नयाँ बस साझाको परिसरभित्रै छन् । साझाले हाल ४६ बस मार्फत सेवा दिँदै आएको छ । तीमध्ये आठ वटा लामो दूरीमा चल्छन् । गत दसैँदेखि साझाले  गोरखा, लुम्बिनी, वीरगन्ज र भैरहवामा साझाले सेवा दिँदै आएको छ । रासस