महिन्द्राका गाडी बेच्ने अग्नि इन्कर्पोरेटेडले गर्याे ७.१३ अर्ब रुपैयाँ आम्दानी
काठमाडौं । महिन्द्रा सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले एक वर्षमा ७ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । सन् १९९१ मा स्थापित अग्नि इन्कर्पोरेटेडले नेपालमा महिन्द्राका स्कोर्पियो, बोलेरो, यात्रुवाहक सवारी र ट्रयाक्टरहरू बिक्री गर्दै आएको छ । कम्पनीले सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको सञ्चालन गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २८.२६ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बराबर आम्दानी गरेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीले ५ अर्ब १४ करोड ५० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार सन् २०२२ मा १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१९ मा ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१८ मा १६ अर्ब २५ करोड ९० लाख रुपैयाँ र सन् २०१७ मा १६ अर्ब ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०१६ मा कम्पनीले १३ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आफ्नै १७ शोरूम तथा बिक्री आउटलेट र १६ क्षेत्रीय डिलरशिप आउटलेटमार्फत महिन्द्राका सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्मा कम्पनीका सेयरधनीहरू हुन् । साथै सञ्चालक पनि रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३५ करोड रुपैयाँ दीर्घकालिन र २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।
फक्सवागनको ठूलो दाउ : बजार जोगाउन १८६ अर्ब डलर लगानी गर्ने
काठमाडौं । फक्सवागन समूहले सन् २०३० सम्म १६० अर्ब युरो (१८६ अर्ब डलर) लगानी गर्ने योजना बनाएको छ । उक्त घोषणा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले गरेका हुन् । कम्पनीका दुई प्रमुख बजारहरू चीन र संयुक्त राज्य अमेरिकामा आएको ठूलो संकटको बीच यूरोपको शीर्ष अटो निर्माता खर्च कटौतीतर्फ उन्मुख भएको संकेत हो। वार्षिक रूपमा अपडेट गरिने फक्सवागनको पाँच वर्षे लगानी योजनाअनुसार कुल खर्च २०२५–२०२९ अवधिका १६५ अर्ब युरो र २०२४–२०२८ अवधिका १८० अर्ब युरोसँग तुलना हुन्छ । २०२४ लाई खर्चको शीर्ष वर्षका रूपमा लिइएको थियो । त्यसयता पोर्शे र अडी ब्रान्ड समेट्ने फक्सवागन अमेरिकाबाट आयातमा लगाइएका शुल्क र चीनमा देखिएको तीव्र प्रतिस्पर्धाबाट दबिएको छ । यसले विशेषगरी पोर्शेको नाफामा ठूला असर पारेको छ किनकि पोर्शेले आफ्ना करिब आधा कार यिनै दुई बजारमा बेच्ने गर्छ । पोर्शेले आफ्नो विद्युतीय सवारीसाधन रणनीतिमा व्यापक कटौती गर्ने घोषणा पनि गरिसकेको छ । साप्ताहिक पत्रिका फ्याङ्कफुर्टर फ्रान्कफुर्टर आल्गेमाइन सोन्टाग्सायतुङसँगको कुराकानीमा ब्लुमेले नयाँ खर्च योजनाको केन्द्रबिन्दु ‘जर्मनी र यूरोप’ हुने बताए । उनले पोर्शेमा थप बचत कार्यक्रमबारेको छलफल २०२६ सम्म जारी रहने बताए । जनवरीदेखि पोर्शे सीईओ पद छोडेर केवल फक्सवागनको नेतृत्वमा ध्यान दिने ब्लुमेले जनाएछन् । उनका अनुसार अडीका लागि सम्भावित अमेरिकी प्लान्टको निर्णय वाशिङ्टनले दिने आर्थिक सहयोगको स्तरमा निर्भर हुनेछ । चीनमा पोर्शेको वृद्धि अपेक्षित नभए पनि ब्लूमेले फक्सवागन समूहभित्र स्थानीय उत्पादन सम्भव हुने बताए । साथै चीनका लागि छुट्टै डिजाइन गरिएको पोर्शे मोडेल भविष्यमा अर्थपूर्ण हुनसक्ने टिप्पणी गरे । फक्सवागन ग्रुपले २०२५ को तेस्रो त्रैमासिकमा १.३ अर्ब यूरो सञ्चालन घाटा दर्ज गरेको छ । विगत वर्षको सोही अवधिमा कम्पनीले २.७ अर्ब यूरो नाफा कमाएको थियो । कम्पनीका अनुसार घाटाको मुख्य कारण पोर्सेको विद्युतीय कार रणनीतिमा गरिएको पुनरावलोकन हो, जसअन्तर्गत आएको खर्च वृद्धि तथा एकमुष्ट खर्चले समूहको नतिजालाई ठूलो दबाबमा पारेको छ । यसबाहेक अमेरिकी आयातशुल्कले पनि फक्सवागनको व्यापार लागत उल्लेख्य रूपमा बढाएको बताइएको छ।
एक्साइड ब्याट मोबाइल सेवा ५० हजार ग्राहकसम्म पुग्यो
काठमाडौं । एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहकलाई सेवा पुर्याउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस उपलब्धिले एक्साइड ब्याट्री सेवाको इतिहासमै एउटा उल्लेखनीय माइलस्टोन स्थापित गरेको छ । सन् २००७ फेब्रुअरीमा सुरु भएको एक्साइड ब्याटमोबाइलले सुरुका दिनमा मासिक जम्मा २७ वटा कल मात्र पाएको थियो । तर समयसँगै सेवा दायरा बढ्दै गएपछि हाल दैनिक २८ भन्दा बढी ग्राहकले यस सेवामार्फत सहयोग प्राप्त गर्दै आएका छन् । सेवा सुरु भएको दिनदेखि अविराम रूपमा निरन्तर सञ्चालनमा रहने प्रतिबद्धता कम्पनीले जनाएको छ । कम्पनीले एक्साइड ब्याटमोबाइल सेवालाई 'लाइक एन अनबिटेबल किङ्ग अफ ब्याट्री' भनेर परिभाषित गरेको छ । नेपालकै नम्बर एक ब्याट्री ब्रान्डको दाबी गरिएको एक्साइड सिप्रदी ट्रेडिङ प्रालिको सुपरभिजनमा सञ्चालन हुँदै आएको छ । ग्राहकहरूका अनुसार नेपालमा पूर्ण रूपमा निःशुल्क प्रदान गरिने यो एक मात्र ब्याट्री सेवा हो, जसले गर्दा यसप्रति विश्वास र आकर्षण बढ्दै गएको कम्पनीले उल्लेख गरेको छ । सुरुवाती चरणमा चार टेक्निसियन, दुई ड्राइभर, एक टेक्निसियन कम ड्राइभर र एकको अर्डिनेटरसहित सञ्चालित सेवाले मारुती सुजुकी ओमनी भ्यानमार्फत काठमाडौं उपत्यकाभित्र बिहान ६ बजेदेखि राति ९ बजेसम्म निरन्तर सेवा उपलब्ध गराउँदै आएको थियो। टेकु शोरुमबाट सुरु भएको सेवा पछि पचली भैरवस्थित एक्साइड केयर सेन्टरमा स्थानान्तरण भयो र अहिले बागडोल एक्साइड केयर सेन्टरबाट सञ्चालन भइरहेको छ। कम्पनीले २०१६ फेब्रुअरीदेखि स्कुटरमार्फत पनि सेवा विस्तार गरेको र हाल देशभरका ११ शाखाबाट एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको जनाएको छ । काठमाडौंसँगै पोखरा र नारायणघाट क्षेत्रमा पनि सेवा माग तीव्र रूपमा बढिरहेको कम्पनीको भनाइ छ । एक्साइड ब्याटमोबाइल सेवा कार, एसयूभी तथा ईभी ट्याक्सीका लागि निःशुल्क स्टार्ट सेवा उपलब्ध गराउँदै आएको छ । 'हेल्प अन द वे, एनीटाइम—एनी ब्याट्री' नाराका साथ वर्षभरि ३६५ दिन सेवा सञ्चालनमा रहने कम्पनीले जनाएको छ । ५० हजार सेवा कलको उपलब्धिलाई कम्पनीले अत्यन्तै महत्वपूर्ण सफलता मान्दै वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीको मार्गदर्शन र योगदानप्रति आभार प्रकट गरेको छ ।