बीवाइडीको हाइब्रिड पिकअप ‘सार्क- ६ ’को बुकिङ खुला, मूल्य करिब डेढ करोड
काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) बीवाईडीको हाइब्रिड पिकअप शार्क- ६को बुकिङ खुला भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकका मार्केटिङ हेड समिद नकर्मीले जानकारी दिए। नेपालमा शार्क- ६ बीवाईडीको पहिलो हाइब्रिड गाडी हो । कम्पनीले गाडी ‘हाइटेक वीक’ मार्फत पहिलो पटक भित्र्याएको तर लन्च भने नगरेको जनाएको छ । यद्यपि बुकिङ भने गर्न सकिने कम्पनीको भनाइ छ । बीवाइडीको सार्क- ६ मा कम्पनीले ‘डीएमओ’ प्लेटफर्म प्रयोग गरेको छ । यसको अर्थ यो गाडी जस्तोसुकै कठिन सडक (अफरोड) मा पनि सहजै गुड्न सक्छ । यसमा १.५ लिटरको टर्बो फोर सिलिण्डर पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयोजन छ । फ्रन्ट मोटरले १७० किलोवाट र रियर मोटरले १५० किलोवाट पावर दिन्छ । पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयुक्त पावर ४३० हर्सपावर रहेको छ, जुन यो सेगमेन्टकै उत्कृष्ट मानिन्छ । यसको गति पनि लोभलाग्दो छ । बीवाइडी सार्कले ० देखि १०० किलोमिटरको गति मात्र ५.७ सेकेन्डमा तय गर्न सक्छ भने यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा रहेको छ । हाइब्रिड मोडल भएकाले यसमा रेन्जको कुनै समस्या छैन । यसमा बीवाइडीको सुरक्षित मानिने २९.५८ किलोवाट आवरको ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएको छ । ब्याट्री मात्र प्रयोग गरेर १०० किलोमिटर गुड्न सकिन्छ । इन्धन र ब्याट्री दुवैको प्रयोग गर्दा यो पिकअपले एक पटकमा ८४० किलोमिटर को लामो यात्रा तय गर्न सक्छ । कम्पनीका अनुसार यसले १०० किलोमिटर गुम्न केवल ७.५ लिटर इन्धन खपत गर्छ । गाडीमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, डिजिटल की र भ्वाइस कन्ट्रोल कनेक्टिभिटी रहेको छ । वायरलेस फोन चार्जर, हेडअप डिस्प्ले र रिमोट भेहिकल मेनेजमेन्ट सुविधा रहेको छ । यस्तै, ३६० डिग्री क्यामरा सिस्टम, अफरोड क्षमता र डाइमेन्सनको समेत सुविधा रहेको छ । पूर्ण रूपमा ४ बाई ४ सिस्टममा आधारित यो डबल क्याब पिकअपमा बालुवा, हिलो र हिउँ गरी ३ वटा ड्राइभ मोडहरू उपलब्ध छन् । साइमेक्स इंकले यसको आधिकारिक मूल्य ठ्याक्कै तोकिसकेको छैन । यद्यपि यो प्रिमियम र पावरफुल हाइब्रिड पिकअप खरिद गर्न चाहने ग्राहकले कम्तीमा १ करोड ५० लाख रुपैयाँ हाराहारी बजेट छुट्याउनु पर्ने कम्पनीको भनाइ छ ।
एमएडब्लू वृद्धिले गर्यो नेपालगञ्जमा डीपल एस ०५ र नामी भिगो सार्वजनिक
नेपालगञ्ज । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालगञ्जमा डीपल एस ०५ र नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभलाई तोकेको छ । कार्यक्रममा कार्यक्रमका नेपाल उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी, कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई, एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका सीईओ ज्ञानेन्द्र चन्दको उपस्थिति थियो। त्यस्तैगरी, पानस अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालको पनि उपस्थिति थियो । यससँगै अब चर्चित विद्युतीय एसयूभी दीपल एस ०५ नेपालगञ्जमा उपलब्ध भएको छ। दीपलसँगै एमएडब्लू वृद्धि मोटर्सले डोंगफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूभी नामी भिगो पनि सार्वजनिक गरेको छ । नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरक नियुक्त भएसँगै, अब यस क्षेत्रका ग्राहकहरूले डीपल र नामी दुवै ब्रान्डका गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ र आफ्टर–सेल्स सपोर्ट आफ्नै शहरमै सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ । ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (एन१६०) पुरस्कारस्वरुप प्रदान गरेको हो । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन् । विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो । लामिछानेले १७ विकेट हात पारेका हुन् । यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल (एन१६०) प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ । यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने– 'कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं ।' यसअघि कात्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो । कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरू भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ ।