अब सवारी लाइसेन्सको अवधि १० वर्ष
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि बढाएकाे छ । सरकारले सवारी चालक अनुमतिपत्र अवधि ५ वर्षबाट बढाएर १० वर्ष पु¥याएको हाे । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गर्दै लाइसेन्सको अवधि थप ५ वर्ष बढाएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधि ५ वर्ष छ । संशोधित व्यवस्था अनुसार अब जारी हुने तथा नवीकरण हुने सवारी साधनको इजाजतपत्रको अवधि १० वर्ष हुने छ ।
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि सुरु, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही श्रावण १८ देखि २० गतेसम्म मनसुन फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । लगातार परिरहेको वर्षाका कारण सवारीसाधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ । यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो । यस क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ । कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ३ जना भाग्यमानी ग्राहकहरूले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
दुर्लभ चुम्बकीय तत्वको अभावपछि रोयल इनफिल्डले सुरु गर्यो वैकल्पिक सामग्रीको प्रयोग
काठमाडौं । भारतको आइचर मोटर्सले दुर्लभ चुम्बकीय तत्व (रेयर अर्थ म्याग्नेट्स) को अभावका कारण आफ्नो पहिलो त्रैमासिकमा उच्च प्रदर्शन गर्ने मोटरसाइकल उत्पादनमा असर परेको जनाएको छ । चीनले ती तत्वको निर्यातमा लगाएको रोकका कारण कम्पनीले वैकल्पिक सामग्री प्रयोग गर्न थालेको बताइएको छ। ’हामीले तीनदेखि चार महिनाअघि नै वैकल्पिक सामग्रीमा काम गर्न थालेका थियौं । अहिले त्यो वैकल्पिक सामग्री आयात गर्नु ठूलो समस्या छैन,’ आइचर मोटर्सका प्रबन्ध निर्देशक बी. गोविन्दराजनले आम्दानीपछि विश्लेषकहरूसँगको छलफलमा बताए । उक्त महत्त्वपूर्ण सामग्रीको अभावले रोयल इनफिल्डको हिमालयन, स्क्राम र गुएरिल्ला मोटरसाइकलको उत्पादन प्रभावित भएको गोविन्दराजनले थप बताए । भारतीय दुईपांग्रे सवारी निर्माता, विशेषगरी ई-स्कुटर उत्पादकहरू अहिले दुर्लभ चुम्बकीय तत्वको विकल्प खोजिरहेका छन् किनभने चीनले विश्व उत्पादनको ९० प्रतिशत नियन्त्रणमा राखेको छ । यसै दिन भारतको प्रमुख ई–स्कुटर निर्माता टीभीएस मोटर्सले मोटरहरूमा प्रयोग हुने दुर्लभ तत्वको विकल्प खोजिरहेको जनाएको थियो । त्यस्तै, ओला इलेक्ट्रिकले दुर्लभ चुम्बकीय तत्वरहित मोटर विकास गरिसकेको जनाएको छ जुन मोटरहरू डिसेम्बर त्रैमासिकदेखि प्रयोगमा ल्याइनेछ । चीनले दुर्लभ तत्वको निर्यातमा लगाएको प्रतिबन्धले विश्वभरको अटो उद्योगमा असर पारेको छ जसले आपूर्ति संकट उत्पन्न हुने चेतावनीसमेत दिइएको छ । भारतमा प्रिमियम मोटरसाइकल बजारको नेतृत्व गरिरहेको रोयल इनफिल्ड निर्माता आइचर मोटर्सले बलियो आन्तरिक र अन्तर्राष्ट्रिय मागका कारण अनुमानभन्दा बढी नाफा कमाएको छ । कम्पनीले जुन ३० मा समाप्त त्रैमासिक अवधिमा १२.०५ अर्ब भारतीय रुपैयाँ (१ सय ३७.६ मिलियन अमेरिकी डलर) नाफा कमाएको छ जुन गत वर्षको सोही अवधिमा भएको ११.०१ अर्ब रुपैयाँभन्दा बढी हो । विश्लेषकहरूले अनुमान गरेको ११.१७ अर्ब रुपैयाँभन्दा पनि यो नाफा बढी हो । कम्पनीको सेयर मूल्य परिणाम सार्वजनिक हुनु अघि ०.२ प्रतिशतले घटेको थियो । तर २०२५ को सुरुदेखि हालसम्म १३.४ प्रतिशतले वृद्धि भएको छ ।