बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक मोडल सिगलले २०२५ वर्ल्ड अर्बन कार अफ द इयर को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कमा अप्रिल १६ मा सम्पन्न न्युयोर्क इन्टरनेसनल अटो शोमा आयोजित वर्ल्ड कार अवार्ड कार्यक्रममा यो सम्मान घोषणा गरिएको हो । कम्पनीका अनुसार विश्वभरका ११ उत्कृष्ट अर्बन सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडी सिगलले यो अवार्ड जित्दै इतिहास रच्यो । यो अवार्ड जित्ने बीवाईडी पहिलो चिनियाँ अटोमोबाइल कम्पनी बनेको छ, जसले विश्व बजारमा चिनियाँ इलेक्ट्रिक कारको उपस्थिति बलियो बनाएको छ । बीवाईडी सिगलको डिजाइन 'ओसन एस्थेटिक्स' दर्शनमा आधारित छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचरहरू र उत्कृष्ट अर्बन परफर्मेन्सका कारण यो मोडल विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा बेस्ट सेलर बन्न सफल भइरहेको छ । वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरू सिगलको अग्रगामी डिजाइन, अर्बन मोबिलिटी प्रदर्शन, र विश्वव्यापी बजार अपिलबाट प्रभावित भएका थिए । बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला ली भन्छिन्, 'सिगललाई ‘वर्ल्ड अर्बन कार’ को उपाधि प्राप्त हुनु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो । यसले विश्वभरका ग्राहकलाई दिगो प्रविधि र उत्कृष्ट सेवामा हाम्रो प्रतिबद्धता पुष्टि गर्छ ।' बीवाईडीले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य उचाइ लिँदै आएको छ । २०२४ मा बीवाईडी डल्फिन पनि अर्बन कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो भने बीवाईडी सिल 'वर्ल्ड कार अफ द इयर' कै शीर्ष ३ मा पुगेको थियो, जुन कीर्तिमान अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको थिएन । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले पहिले नै बीवाईडी सिगलको परीक्षण नेपाली सडकमा गरिसकेको छ । कम्पनीले छिट्टै यसलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने संकेत दिएको छ । नेपालमा यो मोडल निकै प्रतिक्षित रहेको बताइएको छ । बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने अभियानमा योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक

काठमाडौं । चीनले सवारीसाधन निर्माता कम्पनीहरूलाई ड्राइभिङ सहायतासम्बन्धी सुविधाहरूको विज्ञापन गर्दा 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोग गर्न निषेध गरेको छ । र त्यस्ता प्रविधि सुधारहरूमाथि नियमहरू कडा बनाउने जनाएको छ । सरकारका अनुसार उद्योग प्रतिनिधिहरूसँगको एक बैठकको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । यस विज्ञापनसम्बन्धी निर्देशन चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार झण्डै ६० वटा सवारी कम्पनीका प्रतिनिधिहरूसँगको बैठकमा दिएको हो ।  यो निर्णय शाओमी कम्पनीको सबैभन्दा धेरै बिक्री भएको एसयू सेभेन सेडानसँग सम्बन्धित घातक दुर्घटनापछि आएको हो । उक्त घटना मार्च महिनामा भएको थियो र जसले सवारीसाधनको सुरक्षाबारे व्यापक चिन्ता उत्पन्न गराएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सो कार ९७ किमी प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएपछि आगो लागेको थियो, केही सेकेन्डअघि मात्र चालकले उन्नत ड्राइभिङ सहायता प्रणाली (एडीएएस) बाट नियन्त्रण आफैले लिएको बताइएको छ । मन्त्रालयले बुधबारको बैठकबारे एक संक्षिप्त वक्तव्यमा पुष्टि गर्दै भन्यो कि फेब्रुअरीमा प्रकाशित नयाँ नियमबारे सवारीसाधन कम्पनीहरूलाई स्पष्ट जानकारी दिइएको हो, जसमा स्मार्ट सवारीसाधनको ओभर-द-एयर (ओटीए) प्रविधि सुधारसम्बन्धी प्रावधानहरू समावेश छन् । नयाँ नियमअनुसार कम्पनीहरूले ग्राहकलाई डेलिभरी भइसकेका सवारीसाधनहरूमा अनुमति बिना ओटीएमार्फत एडीएएस प्रणाली परीक्षण तथा सुधार गर्न नपाउने छन् । अब कम्पनीहरूले सो प्रणाली विश्वसनीय छ भन्ने कुरा पर्याप्त परीक्षणद्वारा प्रमाणित गर्नुपर्नेछ र त्यसपछि मात्र सम्बन्धित अधिकारीहरूबाट स्वीकृति लिएर सार्वजनिक रूपमा लागू गर्न पाउनेछन् । बैठकमा सहभागी कम्पनीहरूमा हुवावे पनि थियो, जसले अडीसहित सातभन्दा बढी ब्रान्डलाई एडीएएस प्रविधि आपूर्ति गर्छ । हुवावेले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको थिएन । यो नियामक कदम सवारीसाधन कम्पनीहरू स्मार्ट ड्राइभिङ विशेषताका साथ नयाँ मोडेलहरू सार्वजनिक गर्दै तीव्र प्रतिस्पर्धामा सामेल भइरहेका बेला आएको हो । यो प्रतिस्पर्धा चीनको अटोमोबाइल बजारमा लगातार तेस्रो वर्षसम्म कायम छ । बीवाईडी कम्पनीले फेब्रुअरी महिनामा १० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा २१ भन्दा बढी मोडेल सार्वजनिक गरेको थियो, जसमा 'स्मार्ट ड्राइभिङ' सुविधा निःशुल्क दिइएको थियो । लीपमोटर,टोयोटाजस्ता अन्य कम्पनीहरूले पनि यस्तै सुविधा भएको किफायती मोडेलहरू बजारमा ल्याएका थिए । चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको ट्राफिक सुरक्षा अनुसन्धान केन्द्रले सोमबार भनेको छ कि सहायक ड्राइभिङ सुविधा झुटो वा अतिरञ्जित रूपमा प्रस्तुत गरेर उपभोक्तालाई भ्रममा पार्ने कम्पनीहरूले चीनको विज्ञापन कानुनअनुसार विज्ञापन खर्चको ५ देखि १० गुणासम्म जरिवाना भोग्नुपर्नेछ वा उनीहरूको व्यावसायीक अनुमतिपत्रसमेत रद्द हुन सक्छ । यदि त्यस्तो झुटो विज्ञापनले दुर्घटना र मानवीय क्षति निम्त्यायो भने फौजदारी कानुनअन्तर्गत मुद्दा चल्न सक्ने र दोशीले दुई वर्षसम्मको जेल सजाय भोग्न सक्ने केन्द्रको भनाइ छ । चीनका नियामक निकायहरू इलेक्ट्रिक सवारी प्रविधिमाथि कडाइ गर्न थालेका छन्, किनभने यो उद्योग अपेक्षाभन्दा छिटो बढिरहेको छ । गत वर्षको अन्त्यतिर ईभी तथा हाइब्रिड गाडीहरूको बिक्री कुल सवारी बिक्रीको ५० प्रतिशत नाघेको थियो- जुन लक्ष्य सरकारले तय गरेको समयभन्दा अगावै प्राप्त भएको हो । नियामक निकायहरूले आगलागी तथा विस्फोटको जोखिम कम गर्नका लागि ईभी ब्याट्री सम्बन्धी मापदण्डहरू पनि कडा बनाउँदैछन् । विश्लेषक र उद्योग स्रोतहरूका अनुसार यस्ता कडा नियमले लागत बढाउने, प्रविधिको विकास ढिलो पार्ने खतरा त छ, तर यसले चीनको भीडभाड भएको अटो उद्योगमा बहुप्रतीक्षित समायोजनलाई पनि तीव्रता दिन सक्छ, जसले दीर्घकालीन रूपमा उद्योगलाई सन्तुलनमा ल्याउने सम्भावना छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

रोयल इनफिल्ड क्लासिक ३५० नयाँ लुक्सका साथ बजारमा, सुरुवाती मूल्य ५.५५ लाख

काठमाडौं । रोयल इनफिल्डले लोकप्रिय मोडल क्लासिक ३५० को पाँच भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमै रहेको सिकेडी प्लान्ट (सीकेडी) मा उत्पादन गरिएको यो नयाँ संस्करण सात आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक ३५० को सुरुवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । आधुनिक प्रविधिसहित यस मोटरसाइकलमा डुअल च्यानल एबीएस, एलईडी हेडलाइट, यूएसबी चार्जर, गियर इन्डिकेटर जस्ता सुविधाहरू उपलब्ध छन् । अबदेखि क्लासिकका सबै भेरियन्टहरूमा एबीएस अनिवार्य हुने छ । पाँच भेरियन्टकाे मूल्य यस्तो  हेरिटेज (मद्रास रेड, जोधपुर ब्लू) :  ५ लाख ५५ हजार रुपैयाँ हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज) : ५ लाख ६६ हजार  सिग्नल्स (कमाण्डो सेण्ड) : ५ लाख ६६ हजार डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) : ५ लाख ७३ हजार क्रोम (इमराल्ड ग्रीन) : रू ५ लाख ७९ हजार ९०० वीरगञ्जस्थित सिकेडी प्लान्टमा उत्पादन सुरु गरेपछि रोयल इनफिल्डले नेपालमा प्रिमियम मोटरसाइकल क्षेत्रलाई अझ सशक्त बनाएको छ । वार्षिक २० हजार युनिट उत्पादन क्षमता रहेको यस प्लान्टबाट उत्पादित क्लासिक ३५० आजैदेखि बुकिङ, टेस्ट राइड र विक्रीका लागि उपलब्ध गरिएको छ । कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले क्लासिक ३५० ले पुरानो विरासतलाई आधुनिक शैलीमा अघि बढाउने विश्वास व्यक्त गर्दै भने, 'नेपाल हाम्रो लागि सधैं विशेष बजार रहँदै आएको छ । ग्राहकहरूको मायाले हामीलाई उत्साहित बनाएको छ ।' कम्पनीका अनुसार क्लासिक ३५० सँगै रोयल इनफिल्डले बुलेट ३५०, हन्टर ३५०, मेटेओर ३५०, सुपर मेटेओर ६५०, हिमालयन एड्भेन्चर ४५० लगायतका मोडलहरू पनि नेपालमा उपलब्ध गराइरहेको छ । क्लासिक डिजाइन, शक्तिशाली इञ्जिन र नवीन प्रविधिको संयोजनले क्लासिक ३५० ले रोयल इनफिल्डको सांस्कृतिक र प्राविधिक विरासतलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।