फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने
काठमाडौं । फूडमान्डुले ५०० रुपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ । अब ग्राहकहरुले ५०० रुपैयाँ भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र ५० रुपैयाँको न्युनतम शुल्क लाग्नेछ । ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीती परिर्वन गरेको हो । अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, फूडमान्डुले आफ्नो डेलिभरी शुल्कको नितीमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरुलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि ५० रुपैयाँको न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दुरीका लागि थप २५ रुपैयाँ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, १ हजार रुपैयाँ भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढिमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ । नयाँ नीतीबारे बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागी हटाएका छौँ । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाईदा हुनेगरि केहि हेरफेर गरेका छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरुलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।’
क्यान महासंघले आयोजना गर्न लागेको ‘नेपाल ब्लकचेन कन्क्लेभ २०२३’ स्थगित
काठमाडौं । क्यान महासंघले यहि भदौ ३१ मा आयोजना गर्ने भनिएको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करण स्थगित गरेको छ । नेपालमा ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले आयोजना हुन लागेको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करण यो पटक भदौ ३१ गते हुने गरी तयारी गरिएको परिस्थितिका कारण स्थगित गरिएको क्यान महासंघले जनाएको छ। महासचिव चिरन्जीबी अधिकारीद्वारा जारी क्यानको प्रेस विज्ञप्तिमा सो स्थगित हुनुको कारण स्पष्ट खुलाईएको छैन। र त्यसमा क्यान महासंघका पदाधिकारीको निर्णयअनुसार अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गरिएको उल्लेख छ । नेपाल ब्लकचेन कन्क्लेभ २०२३ को तयारीको क्रममा सहयोग पुर्याउने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगितका कारण पर्न गएको असुविधा प्रति सम्बन्धित सबैसँग क्यान महासंघले क्षमासमेत मागेको छ ।
कनेक्ट आईपीएसले सुरु गर्यो ‘रिफर अ फ्रेन्ड’ अफर
काठमाडौं । भुक्तानी सेवाप्रदायक कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सञ्चालनमा ल्याएको छ । तीन महिनाका लागि ल्याइएको अफर अन्तर्गत रिफरर (रिफर गर्ने) र रिफरी (नयाँ रजिस्टर हुने) दुवैले रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ । ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन् । अफरअन्तर्गत भदौ १७ देखि मंसिर १६ सम्म रिफरीले बैंक खाता भेरिफाई गराएपछि रिफररले २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ बैंक खातामा प्राप्त गर्न सक्नेछन् । अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ । रिफरीले कनेक्ट आईपीएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरेपश्चात रिफररले २५ र रिफरीले ५० रुपैयाँ पाउने कम्पनीले जनाएको छ । कनेक्ट आईपीएस बैंकका ग्राहकका लागि एकै प्ल्याटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्नका निम्ति एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाखसम्म र मोबाइल एपमार्फत प्रतिकारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ ।