स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, नवी, भूजीलगायतका ठाउँमा स्याउ उत्पादन गरिँदै आएकामा अहिले निसीखोला, ताराखोला र बडिगाडको माथिल्लो क्षेत्रमा स्याउ खेती गर्न थालिएको छ । पछिल्लो पाँच वर्षयता जिल्लाको तल्लो भेगमा स्याउ लगाउने कृषकको संख्या पनि बढ्दै गएको छ । करिब २२ सय मिटरको उचाईदेखि स्याउ उत्पादन हुने हुँदा कृषकको आकर्षण बढेको पाइन्छ । जिल्लामा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रलाई लिन्छ । यी क्षत्रेमा दुई दशकभन्दा अगाडिदेखि व्यावसायिक स्याउ उत्पादन हुँदै आएको पाइन्छ । पछिल्लो समय ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको उच्च क्षेत्रमा स्याउ खेती विस्तार गरिएको छ । ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा १ सय ८० वटा स्याउको बिरुवा लगाइएको छ । बिरुवा लगाएको दुई वर्षमै फल्ने हुँदा कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् । गाउँपालिकाको ५ नम्बर वडामा उन्नत प्रजातिको गोल्डेन, गाला, रोटा र फुजी प्रजातिको स्याउ लगाइएको गाउँपालिकाका सायक पशु चिकित्सक प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । यस वर्ष पनि गाउँपालिकाले आठ सय स्याउका बिरुवा खरिद गरी किसानलाई वितरण गरेको बताए। अघिल्लो वर्ष ताराखोला गाउँपालिकाले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट उन्नत जातका स्याउका बिरुवा लिएर कृषकलाई दिएको भन्दै ती बिरुवा सप्रिदै गएको उनको भनाइ छ । उन्न्त जातका स्याउका बिरुवालाई सरसफाई गर्न, बगैंचामा विषादी व्यावस्थापन र कलमी गर्न सजिलो हुने भएकाले किसानले खेती गर्न चासो देखाएको शर्माले बताए । अघिल्ला वर्षहरुमा १४ रोपनी क्षेत्रमा स्याउ खेती भएको भन्दै यस वर्षदेखि एक रोपनीमै चारदेखि पाँच हजार बिरुवा लगाउन मिल्ने खालको स्याउका बिरुवा विस्तार गर्ने योजना रहेको उनले बताए । निसीखोला गाउँपालिका–५ मा पनि गाउँपालिकाले स्याउ खेती विस्तार गरेको छ । सिप, भल्कोट लगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञान बिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि उत्साहित भएका छन् । भौगोलिक वनावट, हावापानी र स्थानीयवासीको मागअनुसार निसीखोलाको माथिल्लो क्षेत्रमा स्याउ खेती विस्तार गर्न थालेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । यस वर्ष वडा नम्बर ५ र ६ मा ४५० स्याउका बिरुवा लगाएको अध्यक्ष घर्ती मगरले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको सात लाख रुपैयाँबाट स्याउ खेती विस्तार गर्न थालेको उनको भनाइ छ । निसेलढोर बाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाइएको छ । ‘बागलुङ जिल्लामा स्याउ फल्ने ठाउँका रुपमा निसेलढोर र उत्तरगङ्गा ढोरपाटनलाई चिनिदै आएको छ, हामीले अहिले तल्लो क्षेत्रमा पनि स्याउ उत्पादन गर्ने गरि किसानलाई बिरुवा दिएका छौँ, यहाँका किसानले स्याउ लगाएको स्थान उच्च पहाडी क्षेत्र पर्छ, कृषि प्राविधिकहरुको टोलीले माटो परीक्षण गरेर उन्नतजातका स्याउका बिरुवा लिएर लगाइएको छ, यी बिरुवाले एक/दुई वर्षमै उत्पादन दिन्छन् भन्ने छ, यसले कृषिकलाई उत्पादन गर्नेतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने छ ।’ निसीखोला गाउँपालिकामा दर्ता भएका कृषि फर्म तथा समूहलाई स्याउका बिरुवा प्रदान गरेको उनले बताए। वडा नं ५ र ६ का ४५ समूहलाई चार सय ५० स्याउका बिरुवा दिएको उनले बताए । पाल्पामा उत्पादन गरिँदै आएको स्याउको बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको हो । निसीखोलामा दुई हजारदेखि चार हजार उचाईसम्म स्याउका बिरुवा लगाइने उनको भनाइ छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने, सिप, चोरबास, कोस्काँ लगायतका क्षेत्र भने २८ सय आसपासको उचाइमा पर्छन् । निसीखोला गाउँपालिका–२ अर्नाकोटमा पनि अघिल्लो वर्षदेखि व्यावसायिक स्याउ खेती सुरु भएको छ । स्थानीय दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाएको बिरुवाले अहिले फल दिएको छ । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि उनी उत्साहित भएका छन् । ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाएका छन्। सुरुमाल लगाएका बाइस बिरुवामध्ये दुई वटा मरेको भन्दै अहिले २० वटा बोटमा स्याउ फलेको उनले बताए । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । ओलीले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ जना कृषकले पनि बिरुवा लिएर लगाएको बताए । वर्षौँदेखि गाईभैँसी र खेती किसानी गर्दै आएका किसान अहिले स्याउ खेती गर्नेतर्फ ध्यान दिएको उनको भनाइ छ । हाल उनको बगानमा २७ नयाँ बिरुवा र  पोहोर साल लगाएका २० गरी ४७ स्याउका बोट रहेको उनले बताए । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन जानकारी पाएपछि ओलीले परीक्षणका लागि स्याउ लगाएको बताए । परीक्षणका लागि लगाएको स्याउले एकै वर्षमा फल दिएपछि थप उत्साहित भएको उनको भनाइ छ । उनले भने, ‘अर्नाकोट क्षेत्रमा स्याउ लगाउने चाहना पहिलेदेखि नै थियो तर विभिन्न कारणले गर्दा लगाउन पाएको थिएन, पोहोर साल ल्याएर लगाएको अहिले फलेको छ, यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिएन । यस ठाउँमा पानीको समस्या भएकाले सिँचाइको कारण बिरुवा बचाउन सकिन्न कि भन्ने उनलाई निकै डर थियो तर यसमा धेरै सिँचाइ गर्नुपर्ने नपर्ने हुँदा उहाँमा चिन्ता रहेन । अब उनलाई व्यावसायिकरुपमा धेरै स्याउ उत्पादन गर्ने उत्साह बढेको छ ।’ स्थानीय चेतबहादुर कुँवरले पनि दुई वर्ष अगाडि २७ वटा बिरुवा लगाउनु भएको थियो । अहिले सबैले बिरुवामा स्याउ फलेका छन् । कुँवरले लगाएकै सालमा फूल फूल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताए । स्याउ खेती व्यवस्थित गर्नका लागि गाउँलेलाई नै यसतर्फ आकर्षित गर्न थालेको उनको भनाइ छ । आफूले स्याउ लगाएको क्षेत्र अलि बढी सुख्खा भएको हुँदा स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उनले बताए । गाउँमा पछिल्लो समय सयौँ रोपनी जग्गा खाली हुँदै गएको र यी जग्गालाई सदुपयो गरी स्याउ खती गर्ने योजना रहेको उनको भनाइ छ । एउटा व्यक्तिले मात्रै बाँझो जमिन सदुपयोग गर्न नसक्ने हुँदा यसका लागि गाउँले नै सक्रिय हुनु पर्ने कुँवरले बताए । गाउँमा अघिल्लो वर्षसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको उनले बताए । यस वर्ष गाउँमा स्याउका बिरुवा लगाउनेको संख्या बढेको उनले बताए  । ‘हामी सानो–सानो हुँदा ढोरपाटन पुगेर स्याउ खाने गरिन्थ्यो, पहिले त अहिलेको जस्तो बजारमा विदेशी स्याउ पनि आउँदैनथे, अहिले त जता पनि छ्याप्छ्याप्ती पाइन्छन्, हामीले पनि गाउँमा स्याउ लगायौँ, हाम्रो गाउँ स्याउ फल्ला भन्ने कल्पना पनि थिएन, अहिले चकित पार्ने गरी सानै बोटमा फल्यो, स्याउ फलेपछि गाउँका धेरैलाई आश्चर्य बनाएको छ,’ उनले भने, ‘यो ठाउँ खानेपानीको अभाव भएको ठाउँ हो, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरुलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आश पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।’ कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनमगरले जिल्लामा स्याउ खेती विस्तारका लागि ज्ञान केन्द्रबाट कृषकलाई प्रोत्साहन गरेको र उन्नत जातका स्याउका बिरुवासमेत वितरण गर्दै आएको बताए । स्याउ खेतीप्रति किसानले चासो देखाएपछि ज्ञान केन्द्रले यस वर्ष २५ सय बढी बिरुवा वितरण गरेको छ । उनका अनुसार हाल बागलुङमा ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । यसमध्ये ५५ हेक्टरमा लगाइएका स्याउका बोटले उत्पादन दिएको उनले बताए । जिल्लाको माथिल्लो क्षेत्रमा स्याउ खेतीका लागि हावापानी उपयुक्त भएकाले हरेक वर्ष जिल्लामा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने किसानहरुले आशा गरेका छन् । रासस

बिहीबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । बुधबार तोलाको एक लाख १२ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार चार सय ८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अर्ग्यानिक खेतीमा रमाँउदै

गलेश्वर । म्याग्दीमा पछिल्ला दुई वर्षयता कृषि क्षेत्रमा युवाहरुको संलग्नता उत्साहाजनक रुपमा बढेको छ । कृषिमा युवाहरुको प्रवेशसँगै ग्रामीण क्षेत्रका खेतबारी र पाखो जमिनमा समेत कृषि प्रविधिको प्रयोग हुन थालेपछि यहाँका किसानहरु अर्ग्यानिक खेती विस्तारमा जुटेका छन् । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा जिल्लाको कृषकहरुले आग्र्यानिक खेती प्रणाली सुरु गरेका हुन् । विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि यहाँ कृषिले व्यावसायिक रुप लिनाका साथै कृषिमा प्रविधिको प्रयोग र आग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो । विगत दुई वर्षयता जिल्लामा आग्र्यानिक खेती सुरु भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताहरुले बताएका छन् । तीन वर्षअघि सम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ताहरु अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन् । ‘अहिले सदरमुकाम बेनीका प्रायः सबै घरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ’, बेनीबजारका व्यवसायी राधिका केसीले भने, ‘ग्राहकहरु स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट आग्र्यानिक तरकारी बजारमा झर्न थालेपछि आयातित तरकारीको माग घटेको छ ।’ त्यसैगरी कृषकले पनि बजारमा आग्र्यानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छोडेका छन् । करिब ४० वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग परेका छन् । घर नजिकैको १४ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले दुई वर्षअघि सम्म कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउउको थिएनन् । ‘म विगत ४० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने, ‘तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।’ युवाहरु नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयवासीको भनाइ छ  । ‘लाहुरेहरुको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाहरुको सङ्ख्या बढ्दै जान थालेको छ । खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसानलगायतका जिल्लाका २४ भन्दा बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीको सुरुआत गरेका छन् । विगतमा तरकारी बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०८० को साउनसम्म तरकारी बिक्री गरेर  ४० लाखभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डडुवाका मोहन भण्डारी पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको जानकारी दिए । कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको खबराका कृषक शोभित सापकोटाले बताए । अर्ग्यानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक बारीमा नै आउन थालेका छन् । कोरोनापछि अग्र्यानिक तरकारी खोज्दै उनको बारीमा धेरै उपभोक्ता पुग्छन् । प्राङ्गारिक तरकारी खेती गर्न पाउँदा एकदम खुसी लागेको उनी बताउछन् । जिल्लका छवटा स्थानीय तहमा गरी दुई सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ  । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्य आम्दानी गर्न थालेका कृषि प्राविधिकजगत् बानियाँको अनुभव रहेको छ । बानियाँ भन्छन्, ‘कोरोना कहर सुरु भएयता मानिसले अग्र्यानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’ विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अग्र्यानिक खेती गर्नु कृषिविज्ञको भनाइ रहेको छ । म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषिफार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनीनगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब  १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मङ्गला गाउँपालिकाको हिदीमा  तीन करोडको लगानीमा प्राङ्गारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएका छन् । म्याग्दीमा पछिल्लो समय अर्ग्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् । कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका म्याग्दीका युवा कृषिमा प्रविधिको प्रयोग गरी बाँझो जमिन जोत्ने र खाद्यान्न उत्पादन बढाउने काममा लागेका छन् । सरकारले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याई कृषि उपकरण लगायत मल र बीउको पनि सहज रुपमा व्यवस्था गर्न थालेपछि कृषि क्षेत्रमा पनि युवाहरुको आकर्षण बढ्दै जान थालेको हो । विगत दुई वर्ष अघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजहरुको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । दुई वर्षअघि सम्म कूल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ । रासस