तोलामा ६ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाादीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँ पुगेको छ । यसको मूल्य सोमबार १४ सय ६० रुपैयाँ थियो ।
माटोको प्रयोग बिना तरकारीखेती, उत्पादन दोब्बर हुने
गण्डकी । पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका)बाट तरकारीखेती सुरु गरिएको छ । माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोब्बर हुने आधुनिक प्रविधि भित्र्याएर वृद्धाश्रममा तरकारीखेती सुरु गरिएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए। ‘सहयोगदाताबाट आएको खाद्यान्नले आश्रम चलेको छ’, उनले भने, ‘तरकारीमा मात्रै वार्षिक चारदेखि पाँच लाख खर्च हुने गरेको छ ।’ प्रविधि सफल भएमा आश्रमलाई तरकारीमा आत्मनिर्भर बनाउँदै बाहिर बिक्री गरेर थप आयआर्जन गर्ने लक्ष्य रहेको अध्यक्ष पराजुलीको भनाइ थियो । ‘लहरै मिलेका पोलिथिन पाइपको माथिल्लो भागमा पारिएका प्वालमा सानो फमको टुक्राको बीचमा राखिएका पेपर कपमा लगाइएका गोलभेँडा र सलाद सागका बिरुवा फस्टाएका छन्’, उनले भने, ‘परीक्षणका लागि जमिनमा फलामको फ्रेम र भवनको तेस्रो तलाको रेलिङबारमा गरि कूल दुई सय ७० बिरुवा लगाइएको छ ।’ अध्यक्षय पराजुलीका अनुसार आश्रमको छानाबाट वर्षात्को पानी सङ्कलन गरी मोटरको सहायताले पाइपमार्फत सञ्चालन गरिएको छ । बिरुवालाई पोषणका रुपमा प्रयोग हुने न्युटेसन महँगो हुँदा उत्पादन लागत बढ्ने देखिएको उनले बताए । हाइड्रोपोनिक प्रविधि संयोजक सिद्धिकुमार रेग्मीका अनुसार गोदावरी नगरपालिकाको ठेचोस्थित कुशल गुरुङले सञ्चालन गरेको उक्त प्रविधिको स्थलगत अवलोनपश्चात् आश्रममा सो प्रविधिबाट तरकारीखेती सुरु गरिएको हो । पहिलो पटक सुरु गरिएको उक्त प्रविधिअन्तर्गत न्युटेसनको मात्रा नमिल्दा र खुला स्थलमा भएको हुँदा सोचेजस्तो नभए पनि आगामी दिनमा व्यवस्थित गर्दै आश्रमलाई आवश्यक तरकारी उत्पादन गर्ने अभियानमा जुटेको उनको भनाइ छ । आश्रममा समाजका विपन्न, असहाय र अपहेलित ज्येष्ठ नागरिक र सेवकसेविका गरी कूल ५५ जना आश्रित छन् । आश्रमको गोठमा सानाठूला गरी छ गाई रहेको बताउँदै रेग्मीले भने, ‘गाईको दूधले आमाबुवालाई पुगेको छ भने मलले वृद्धाश्रमको हातामा परम्परागतरुपमा मौसमअनुसारको तरकारीखेती गरिएको छ ।’ रासस
गाउँ फर्किएका नेपालको कृषि फार्म, वार्षिक १५ लाख आम्दानी
भोजपुर । बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन् । विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन भोजपुर फर्किएका थिए । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउँछन् । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फलको खेती गर्दै आएका छन् । ती खेतीबाट नेपालले वार्षिक लाखौं रुपैया आम्दानी पनि गरिरहेका छन् । किसान नेपाल आफू कागती खेतीको विस्तारमा जुटेको बताउँछन् । कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको विस्तारमा लागेको नेपालले बताए । उनले लगाएको एक बोट कागतीको बोटमा एक हजारसम्म कागती उत्पादन हुने गरेको छ । कागतीसहित किसान नेपालले ड्रागन खेतीसमेत गर्दै आएका छन् । उनले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढदै गएको छ । धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको नेपालको भनाइ रहेको छ । करिब ४३ रोपनी जग्गामा किसान नेपालले अहिले कृषि कर्म गर्दै आइरहेका छन् । करिब हजार बोटले कागतीको फल समेत दिन थालिसकेका छन् । ‘बजारमा कागतीको माग राम्रो छ यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबका दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ’ सफल किसान नेपालले भने । उनले कागतीसँगै ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आएका छन् । किसान नेपालले वार्षिक १५ लाख रुपैयाँ भन्दाबढी आम्दानी गरिरहेको अनुभाव सुनाए । बसाइँ गइसकेकाले गाउँमा फर्किएर पुनः व्यवसाय सुरु गर्दा धैरेले विश्वास नगरेको बताउने नेपालकै प्रेरणाले अहिले अरु किसान पनि पनि ड्रागन फलको खेतीतिर आकर्षित भएका रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताए । ‘यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ’ उनले भने । लगाएको बालीसमेत बाँदरका कारण भित्र्याउन समस्या भइरहेको अवस्थामा अहिले किसानले त्यसको विकल्पका रुपमा टिमुर, कागती, ड्रागन जस्ता बाली लगाउन सुरु गरेका छन् । खालीखेतीयोग्य जग्गामा किसानले बाँदरले दुःख नदिने प्रजातीका फलफूल खेती गरेर मनग्गे आम्दानी लिन थालेका हुन । कागती र ड्रागन खेतीसँगै दूध सङ्कलन केन्द्रको विस्तार गर्ने अभियानमा पनि आफू लागेको किसान नेपालले बताए । जिल्लाका विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरी गाडीमार्फत् दूधलाई सहर पठाउने सोच रहेको नेपालले बताए । ‘गाउँगाउँका किसानले उत्पादन गर्ने दूध सहर पठाउने सोच राखेको छु, यसका लागि टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा सङ्कलन केन्द्र राखेर यसबाट दैनिक सङ्कलन भएको दूध गाडीमार्फत सहर पठाउने योजना बनाएको छु’, नेपालले भने । किसान नेपालको प्रेरणाले युवा पुस्तामा पनि कृषि पेसातर्फ मोह बढेको र ड्रागन फलको खेती पनि विस्तार हुँदै गएको युवा व्यवसायी एक्सन राईको भनाइ छ । रासस