कामना सेवा विकास बैंकले विद्यालयलाई दियाे डस्टबिन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई डस्टविन उपलब्ध गराएको बताएको छ । बैंकले आफ्नो शाखा कार्यालय पद्सरिमार्फत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा रहेको बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन दिएको हो । बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई डस्टबिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयकातर्फबाट विद्यार्थी तथा शिक्षकहरु र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सीजी डिजिटलको नयाँ सोरुम गट्ठाघरमा

काठमाडौं । मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स सोरूम सीजी डिजिटलको नयाँ सोरूम भक्तपुरको गट्ठाघरमा संचालनमा आएको छ । बुधबार भक्तपुरका समाजसेवी तथा भूतपूर्व मन्त्रि महेश बस्नेतले सोरुमको उद्घाटन गरेका थिए । उक्त सोरुममा सीजी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एलजी, सीजी, गोदरेज, टिसिएल। सेन्सी केन्ट, पिजन, एलिका, ब्ल्याक डेकोर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ । साथै, ग्राहक वर्गलाई मध्यनजर गर्दै सोरुमले फ्री डेलिभोर, लोयल्टी प्रोग्राम, फ्रि माईक्रोवेभ ओभन कुकिङ क्लासरडेमो, ० प्रतिशत ब्याज दरमा किस्ताबन्दि, एक्स्चेन्ज अफर जस्ता सुविधाहरु पनि उपलब्ध गराएको छ । यो कम्पनीको २३औं सोरुम हो ।

एक वर्षमा ५२ लाख बराबरको दूध विक्री

काठमाडौं । नारायण नगरपालिका क्षेत्रका तीन टोलका किसानले एक वर्षमा ५२ लाख बराबरको दूध बिक्री गरेका छन् । नारायण–११ विन्ध्यवासिनी, नारायण – ६ बिजौरा र नारायण –३ कालीमाटीका किसानले एक वर्षमा ८० हजार लिटर दूध स्थानीय डेरी उद्योगलाई बिक्री गरेका हुन् । किसानले यसवर्षको गत जेठसम्म मात्रै ५२ लाख पैसा बुझेका छन् । ‘ल्याक्टोमिटर’का आधारमा जाँच गरेर राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्थाले दूध घरबाटै खरिद गरेको थियो । स्थानीय सहकारीले घरबाटै दूध लिएपछि बजारमा बिक्री गर्न जाने समयको बचत भएको किसानले जनाएका छन् । नारायण – ३ का दूध उत्पादक किसान मनिषा कठायतले कालीमाटीबाट सदरमुकाम दूध बिक्री गर्न जाँदा–आउँदा तीन घण्टा बचत हुने र उक्त समयमा भैँसीलाई घाँस काट्न सक्ने बताए । डेरीले प्रतिलिटर ६० रुपैयाँका दरले किसानलाई पैसा प्रदान गर्ने गरेको छ । नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले तीन वर्षदेखि किसानलाई अनुदानमा भैँसी वितरण कार्य सुरु भएसँगै किसानले दूध बिक्री गरेर लाखौँ आम्दानी लिन सफल भएका बताए । उनले भने, ‘डेरीमा मात्र बिक्री गर्ने किसानले ५२ लाख पाए । ‘ नारायण नगरपालिकाबाट मात्र वार्षिक करिब एक करोड रुपैयाँ बढी रकमको दूध किसानले बिक्री गर्ने गरेका उनको भनाइ छ । नगरपालिकाले यस वर्ष मात्रै किसानलाई १४ भैँसी अनुदानमा वितरण गरेको छ । दूध उत्पादनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रदेश सरकार, नारायण नगरपालिका र पशुसेवा कार्यालय दैलेखले विगत तीन वर्षदेखि भैँसी वितरण कार्यक्रम सञ्चालन गरेका थिए । केही स्थानमा वितरण गरेका भैँसीबाट प्रतिफल प्राप्त हुन नसकेको भए पनि सक्रिय किसानले दूध बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएका पशु सेवा कार्यालयका प्रमुख भीमबहादुर विष्टले बताए । किसानले २५ प्रतिशत रकम जम्मा गरेर भैँसी खरिद गरेका पशु शाखा दैलेखका चित्र प्याकुरेलले जानकारी दिए । कर्णाली प्रदेश सरकारमार्फत पशु सेवा कार्यालय दैलेखले डेरीमार्फत दूध बिक्री गरेका किसानले वर्षभरि बिक्री गरेको दूधलाई आधार मानेर प्रतिलिटर ५ रुपैयाँ थप अनुदान प्रदान गरेको छ । दैलेखका तीनवटा टोलबाट मात्रै बिक्री गरेको दूधको विवरणलाई आधार मानेर ८० हजार लिटर दूधको प्रतिलिटर ५ रुपैयाँका दरले चार लाख रुपैयाँ थप अनुदान रकम वितरण गरिएको हो । किसानको घरमै पुगेर अनुदानको रकम वितरण गरिएको राष्ट्रसेवक सहकारी संस्था दैलेखका अध्यक्ष लालबहादुर खड्काले बताए । किसानहरूलाई थप उत्साह प्रदान गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल किसानको घरमै पुगेका छन् । सरकारले प्रदान गरेको उत्पादनमा आधारित अनुदान पैसा वितरण गर्न उनी नारायण –३ कालीमाटीका किसानको घरमा पुगे । सो अवसरमा उनले अब हरेक क्षेत्रमा उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने कामलाई सरकारले अझै प्रभावकारी बनाउने बताए । रासस