भायानेटकी सीईओ बोहरा व्यवसायिक महिलाको रूपमा सम्मानित

काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यवसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ । स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३ मा आयोजित एक समारोहमा उनलाई सम्मान गरेको हो । यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउँछ। सिइओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो । सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम प्रविधि पहिलो पटक नेपालमा संचालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा, उनले नेपाली घर-घरमा इन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् । सिइओ बोहराको दूरदर्शी मार्गदर्शनमा, भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ । ५१ शाखाहरू स्थापना गरेको छ र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ। भायानेट कम्युनिकेशन लिमिटेडमा बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको छ। कम्पनी अत्याधुनिक उत्पादन र सेवाहरू प्रदान गर्न समर्पित छ जसले आफ्ना ग्राहकहरूको विकासशील आवश्यकताहरू पूरा गर्दछ। भरपर्दो र उच्च गतिको इन्टरनेट लाई देशका बिभिन्न शहर र दुरदराजमा समेत सेवा बिस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने भायानेटको निरन्तर प्रयास रहेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १७ औं बर्षमा प्रवेश, ब्राण्ड एम्बासडरमा कलाकार जितु नेपाल नियुक्त

काठमाडौं । सटी एक्सप्रेस मनी ट्रान्सफर १६ बसन्त पार गरेर १७ औं बर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा बिहान आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।  

बेमौसमी बन्दाखेतीबाट मनग्य आम्दानी गर्दै दलवीर पुन

म्याग्दी । जिल्लाको मंगला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दा खेती गरेको बताए । ‘बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याएको हो’, उनले भने, ‘वैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ। साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु।’ पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रीन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताए। ‘बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ’, उनले भने, ‘बेमौसममा उत्पादन भएको बन्दाले बजार र मूल्य राम्रो पाउँछ।’ तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गरेका हुन् । उनको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताए । पुन २०५७ देखि २०६८ सालसम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ति सेनाका रूपमा सहभागी भएका थिए । नेकपा (माओवादी केन्द्र)को वडा कमिटी अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब पाँच वर्ष रोल्पामै व्यापार, व्यवसाय गरेका थिए । सात वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेका थिए । बाख्रापालनबाट फार्म सुरु गरेका पुन तीन वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित भएका छन् । फार्ममा हालसम्म ५० लाख रुपैयाँ लगानी भएको पुनले बताए। ‘कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश जान छाडेर यही खेती गरेर बसेको हुँ’, उनले भने, ‘आम्दानीबाट सन्तुष्ट छु । फार्मको पूर्वाधारमा लगानी विस्तार गरेको छु ।’ दुई जना छोराछोरीलाई बेनीमा निजी विद्यालयमा पढाएका छन् । बिहान झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकताअनुसार स्थानीय मजदुरलाई ज्यालामा काम गराउँदै आएका छन् । मसलेदार फल टिम्मुर पनि खेती गरेका पुनले जडीबुटी खेती गर्ने योजना बनाएका छन् । सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ। सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताए । बेनी, बागलुङमा खपत नभएको तरकारी पोखरा पठाउने गरेका छन् । सामाजिक सञ्जालमार्फत तरकारीको बजारीकरण गरेको पुनले बताए । रासस