प्रधानमन्त्री कृषि आधुनिकीकरणमा तीन अर्ब २२ करोड रकम
काठमाडौं । सरकारले आगामी आर्थिक २०८०/८१ को लागि वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि तीन अर्ब २२ करोड रुपैयाँ रकम विनियोजन गरेकाे छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि ३ अर्ब २२ करोड रुपैयाँ रकम छुट्याएको बताएका हुन् ।
जेठ १७ गतेदेखि जुत्ता चप्पल मेला हुँदै, ५ करोडको कारोबार गर्ने लक्ष्य
काठमाडौं । नेपाल जुत्ता चप्पल उत्पादक समूहले ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ को आयोजना गर्ने भएको छ । सो समूहले ललितपुरमा जेठ १७ गतेदेखि जुत्ता चप्पल व्यापार मेलाको आयोजना गर्ने भएको हो । मेलाका संयोजक दिवाकर गिरीले मेला असारको १७ गतेसम्म सञ्चालन हुने बताए । एक महिना सञ्चालन हुने उक्त मेलामा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेको उनले बताए । नमस्ते फुटवेयरको संयोजकत्वमा हुने मेला ललितपुर महानगरपालिकाको जावलाखेल खेल मैदानमा हुने पनि गिरीले जानकारी दिए । स्वदेश ब्राण्डका जुत्ता चप्पलहरू उपभोक्ताको बिचमा परिचित गराउने र स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुची जगाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजकले बताएको छ । ‘स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सबै नेपालीहरूमा हुने हो भने देशमा सबै प्रकारका उद्योगहरू खुल्न सक्ने वातावरण बन्न सक्छ, देशको अर्थतन्त्र थोरै भए पनि मेलाले सहयोग पुर्याउने छ,’ संयोजक गिरीले भने । नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनीको सहभागिता रहने मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म संचालन हुनेछ । मेलामा गोल्डस्टार, रोयल शुज, वि.एफ.डियर हिल, वि.एफ स्पोर्ट, क्रस रोड शुज, फस्टवाक शुज, सिल, हाई लाईफ, केटिएम र डि।जे। ब्राण्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने पनि बताइएको छ । आयोजककाअनुसार मेला अवधिभर एक जोरी जुत्ताको खरिदमा न्यूनतम २० देखि ५० प्रतिशतसम्म छुट पाइनेछ ।
कालीगण्डकी करिडोर २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सम्पन्न
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ । सरकारले २०८१ सम्मको लक्ष्य राखेपनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो । कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी सम्मको सडकखण्ड भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ । आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तिब्रता पाएको बताए । देशभरका निर्माणका काममा ढिलासुस्ती भएपनि कालीगण्डकी करिडोरको काम चुस्त रुपमा भइरहेको पाएको भन्दै उनले खुशी व्यक्त गरे । ‘राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको छ, कालीगण्डकी करिडोर धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्गका रुपमा महत्वपूर्ण हुनेछ, देशले अब त्रिदेशीय मार्गको उचित लाभ लिन सक्नुपर्छ, कालीगण्डकी करिडोरको सम्पूर्ण काम ढिलोमा तीन वर्षसम्म पूरा गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, राष्ट्रिय सभा सदस्य राजेन्दलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रुपमा राम्रो भएपनि पुल निर्माणमा भने समस्या देखिएको बताए । गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको कुल २५ अर्ब लागत रकम रहेकोमा हालसम्म कुल १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन भइसकेको छ ।