एकैदिन २९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुन एकैदिन २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ आज प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कायम भएको छ । यस्तै, आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनीको लागि सय भन्दा बढी स्टल बुकिङ

काठमाडौं । भृकुटीमण्डपमा चैत १० गतेदेखि नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदै छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयोजनमा उक्त प्रदर्शनी हुने भएको हो । ‘नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा चैत १० गतेदेखि सुरु भई १२ गतेसम्म सञ्चालन हुने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा बढी स्टल रहने छन् । देशभर रहेका प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङसँग सरोकार राख्ने व्यापार-व्यवसायलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी गर्नका लागि साझा मञ्च प्रदान गर्नका लागि पनि उक्त प्रदर्शनीको आयोजना गरेको भट्टराईले बताए । उनका अनुसार प्रदर्शनी अवधि भर २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा  छ । प्रदर्शनीमा निःशुल्क प्रवेश गर्न सकिने छ । यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस्, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरोगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने जनाइएको छ । तीन दिन सञ्चालन हुने उक्त प्रदर्शनीमा उद्योग र व्यापार-व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने अपेक्षा लिएको पनि भट्टराईले बताए । अहिले सय भन्दा बढी स्टल बुकिङ भइसकेको छ । अहिले पनि उक्त प्रदर्शनीमा स्टल राख्न चाहनेहरूले बुकिङ गर्न सक्ने भट्टराई बताउँछन् । उनका अनुसार सोमबार मंगलबार भित्र स्टल बुकिङ भइसक्छ ।

शिवम् सिमेन्ट किन्ने दुई जनाले पाए ५/५ तोला सुन

काठमडौं । शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ योजनाको मेगा लक्की ड्रबाट कृष्ण मानन्धर र चन्चल चौधरीले ५/५ सुन तोला जितेका छन् । शिवम् सिमेन्टले संचालन गरेकाे उक्त योजनाको मेगा लक्की ड्र अन्तर्गत उनीहरुले ५/५ सुन तोला जितेका हुन् । योजनाको दोस्रो पुरस्कार अन्तर्गत सुरेश प्रसाद, युवराज कार्की, चन्द सिंह र शिवराम भण्डारीले ४ जनाले ३/३ तोला सुन जितेका छन् । यस्तै, तेस्रो पुरस्कार अन्तर्गत ६ जनालाई २ /२ तोला सुन चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् । कम्पनीले लक्की ड्र याेजनाकाे विजेतालाई छिट्टै पुरस्कार प्रदान गर्ने जनाएकाे छ । शिवम् सिमेन्टले गत मंसिर १८ गतेदेखि यस उपहार योजना सार्वजनिक गरेको थियो । कम्पनीले २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्रयाच कुपन प्राप्त गरी २ सयदेखि ५ सय रुपैयाँसम्म नगद तथा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखेकाे थियाे ।